शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५८८ - अंश

भाग: २४ साल: २०३९ महिना: पौस अंक:

निर्णय नं. १५८८     ने.का.प. २०३९ अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३८ सालको दे.फू.नं. २००।२०१

फैसला भएको मिति  : २०३९।९।१८।१ मा

पुनरावेदक/वादी : ल.पु.जि सैंभुभैसेपाटी गा.पं.वार्ड नं.४ बस्ने मानकुमारी थापा, ऐ.ऐ. बस्ने      अम्बरबहादुर थापा

विरुद्ध

पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने वद्रीबहादुर थापा, ऐ.ऐ.बस्ने पदमबहादुर थापा

मुद्दा : अंश

(१)                अंश भई सकेको भन्न केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भई रहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम अचल सम्पत्तिको हक हिस्सा पाउने ।

 (प्रकरण नं. ८)

वादी पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

प्रतिवादी विपक्षीतर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद भण्डारी र विद्वान व.अ.श्री सर्वज्ञरत्न तुलाधर

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     हामीहरुका बाजे तथा ससुरा मानबहादुरका छोराहरुमा जेठा हामीहरुका पिता तथा पति कृष्णबहादुर, माहिला, म मानकुमारीको देवर म अम्बरबहादुरका काका पदमबहादुर १ वद्रीबहादुर १ थिए । हामीहरुका पति तथा पिता कृष्णबहादुर २०२० सालमा र बाजे ससुरा ०२५ सालमा बजै सासु ०३१ सालमा परलोक हुनु भयो । निज सासु ससुरा तथा छोराहरु ३ जना समेतको चल सम्पत्ति जति भाग शान्ति बण्डा गरी ००५ साल चैत्र २५ गते आफ्नु भागबण्डा बुझी लिई सकेको बाँकी अचल सम्पत्ति घरजग्गा सासु ससुराको जिवनभर बण्डा नगर्ने गरी सगोलमै राखी मानु छुट्टिई बेगल बसी आएका थियौं । विपक्षीहरुसँग रीत पूर्वकको अंशबण्डा गरी दिनुहोस् भनी बराबर भन्दा विपक्षीहरुले मात्र खाने नियत गरे, विवाह खर्च पर सार्नु पर्ने केही नभएको हुँदा घर जग्गाको ३ बण्डा गरी हामी फिरादीहरुको १ भाग छुट्याई अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी दावी ।

२.    वादीको दावी लेखाई झुठ्ठा हो । ००५।१२।२५ गते जग्गा जमीन घर समेत बण्डा गरी विपक्षीहरु आफ्नो आफ्नो भागको घर जग्गामा बसी भोग चलन गरी आएका छन् । बाबु आमालाई कसैले हेरविचार गरेको छैन, बाचुञ्जेल हेरविचार पालनपोषण र स्वर्गे भएपछि दागबत्ति काजकृया समेत मैले नै गरेको । बाबु आमा क्रमशः ०२५ र ०३१ सालमा स्वर्गवास भए पछि उहाँहरुको भागको घर जग्गा मलाई दिई जानु भएको, विपक्षी अम्बरबहादुर पदमबहादुरले आमाले आफ्नु सम्पत्ति जसलाई दिए पनि उजूर गर्ने छैन भनी ०२६।१०।१८ गते छोडपत्र गरी दिनु भएको थियो । यसरी बण्डापत्र भैसकेकोमा सो कुरालाई दवाई झुठ्ठा उजूर गरेकोले अंशबण्डाका ३० नं.ले नालेस खारेज गरी झुठ्ठा वादी दावीबाट मुक्त हुन पाउँ भन्ने समेत व्यहोराको प्र.वद्रीबहादुरको प्रतिउत्तरपत्र ।

३.    वादी दावी अनुसार मानु छुट्टिएको मिति ००५ साल चैत्र २५ गते सत्य हो  । ००५।१२।२५ मा मानु छुट्टिँदा चल सम्पत्ति प्राप्त गरेको अचल कमसल खालेको केही रैकर पाएको हुँ । सो लिखत पछि जेठा दाई कृष्णबहादुर भिन्न हुनु भयो । म चाँही बद्रीबहादुर आमा बाबुसँगै बसी भाइ बहिनीको विवाह समेत मैले नै गरी ०११ सालमा म पनि अलग भएको सो अवस्थाको बण्डापत्र भएको छैन । मलाई उक्त ००५ सालमा छुट्याएको अचल सम्पत्ति मध्ये अर्काको विर्ता रोपनी ३।८।२ र रैकर ५१५० मात्र पाएको थिएँ, अरु घर जग्गा केही पाएको छैन । मानो छुटिएपछि घर म आफैंले बनाई बसें । साविक रसिद १३९० को डाँडा बारी खेतको हाल सैंभु भैंसेपाटी गा.पं.बडा नं.४ (क) कि.नं. १, १३, १४, १५ को खेत जम्मा रोपनी ४१ बाबुको मौखिक सल्लाह अनुसार बहिनीको भएपछि दाइजोकै रुपमा छुट्याएको जग्गाको भनिएको मोल रु.८००।बाबु आमाको सल्लाह अनुसार म भाइ बद्रीबहादुर रु.२००।नगदै रु.६००।चेकद्वारा बुझी लिएको अधकट्टि मसँग छ । भोगबाट सो जग्गा मेरो हक कायम छ । उपर्युक्त तथ्यबाट सगोलको सम्पत्ति मसँग कुनै पनि नभए नरहेकोले वादी दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत पदमबहादुरको प्रतिउत्तरपत्र ।

४.    २००५ साल चैत्रको बण्डापत्र र पदमबहादुर र मैले खेमकुमारीलाई गरी दिएको भनेको ०२६।१०।१८ को छोडपत्र समेतको सक्कल कागज देखें, सुनें । म नाबालक अवस्थाको हुँदा ००५ सालको कुरा मलाई केही थाहा छैन । त्यसकारण सो बण्डापत्रलाई म केही जवाफ दिन सक्तिन । ०२६ सालमा पनि बण्डापत्र भएको थियो  । त्यसैको आधारमा गरी दिएको छोडपत्र सद्दे हो, अघि भएका बण्डापत्र बमोजिमको सम्पत्ति भोग गर्न पाएको छैन र नालेस गरेको हो भन्ने समेत वादीको वा.अम्बरबहादुरको बयान ।

५.    २००५ साल चैत्रको बण्डापत्र कीर्ते जालसाजी हो भन्ने भनाई नभएको, रेखकुमारीलाई ०२६ सालमा गरिदिएको छोडपत्र सद्दे हो भन्ने वादीको बयान भएको र साक्षीको बकाई समेतबाट प्रतिवादी छुट्टिई अंश लिनु दिनु गरिसकेको देखिने, ३४ साल अगावै घरसारमा बण्डापत्र भई अंश लिनु दिनु गरिसकेकोमा अंशबण्डाको महलको ३० नं.ले सो कायम रहने हुँदा वादी दावी बमोजिम प्रतिवादीबाट वादीले अंश नपाउने ठर्हछ भन्ने समेत ल.पु.जि.अ.को ०३५।७।५।१ को फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.पदमबहादुरको र वादी मानकुमारीको छुट्टाछुट्टै म.क्षे.अ.मा दिएको पुनरावेदन । सगोलको अंशियार बीच भएको बण्डापत्रको उपस्थितिमा पूर्खाको नामको दर्ताखारेज नगर्दैमा बण्डापत्रको व्यहोरालाई असर गर्ने कुरा हुन आउँदैन । आफ्नो अंश भागको जग्गा आफैंले भोग गर्न सक्नु पर्दछ । आफूले भोग नगरेको कारणले अरु अंशियारलाई असर गर्न पाउने व्यवस्था छैन । आफ्नो अंश भागको जग्गा भोग गर्न पाएको छैन भन्ने पुनरावेदकहरुको जिकिर छैन । यसरी आफूले भोग्न पाउने जग्गा आफूले भोग गर्न वा विक्री व्यवहार गर्ने आफ्नो खुशीको कुरा हुँदा सुरु ल.पु.जि.अ.को फैसला मनासिव ठर्हछ भन्ने समेत म.क्षे.अ.को ०३७।५।१८।४ को फैसला । उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी मानकुमारी अम्बरबहादुरको पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई देवानी पुनरावेदनमा दर्ता गरी विपक्षलाई तारेखमा राखी पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिलेको छ, छैन के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

७.    वादी पुनरावेदक तर्फबाट उपस्थिति हुनु भएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादीले दुई भाग पाउने कुनै कारण छैन, आमाले निजलाई कुनै लिखत समेत गरी दिएको छैन। वादी दावी बमोजिम अंश पाउनै पर्छ भन्ने र विपक्षी प्रतिवादी पदमबहादुरका तर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले आमाले आफ्नो सम्पत्ति कसैलाई लेखेर दिनु भएको छैन भन्ने समेत र प्रतिवादी बद्रीबहादुर तर्फबाट उपस्थित हुन आएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले २००५ सालमै बण्डापत्र खडा भई तदनुसारको सम्पत्ति वादीले भोग चलन गरी राखेको र थोरदेरका लागि मानी लिउँ ०२६ सालमा नै बण्डापत्र भएको भए पनि यसमा ४ बण्डा (अंशियार) खडा भएको वादी र प्रतिवादी दुवै पक्षले आफ्नो आफ्नो भागमा परेको जग्गा भोग चलन गरी राखेको छ । क्षेत्रीय अदालतले पनि स्वीकार गरी राखेको छ । त्यसकारण मध्यमाञ्चल क्षे.अदालतको इन्साफ सदर हुनु पर्ने भन्ने समेत वहस प्रस्तुत गर्नु भएको छ ।

८.    यसमा २००५।१२।२५ मा चल सम्पत्ति लिई बेग्लै बसेको हुनाले अचल सम्पत्तिका हकमा ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी दावी भएकोमा हामी अघी नै छुट्टिई सकेका छौं भनी प्रतिवादी जिकिर भएको पाइन्छ । मिसिल संलग्न सबूत प्रमाणबाट कुनै पास भएको बण्डापत्र दाखिल हुन नसकेको वा आफ्नो आफ्नो हक हिस्साको अचल सम्पत्ति आफ्ना आफ्ना नाउँमा दाखिल खारेज गराई भोग चलन गरी राखेको देखिन आएको छैन । त्यस्तो स्थितिमा वादी प्रतिवादीका बीच अंश भई सकेको भन्न मिल्ने देखिँदैन । अद्यापि केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भइरहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम ३ भागको १ भाग अचल सम्पत्तिको हक हिस्सा पाउने ठर्हछ । मानो छुटिएको लिखत पास नहुँदा फिराद परेको मितिले मानो छुट्टिएको मिति कायम गरी कानून बमोजिमको तायदाती वादी प्रतिवादीबाट लिई अंशबण्डा छुट्याई दिनु भनी दुवै थरलाई तारेख तोकी सुरु मिसिल सहित ललितपुर जिल्ला अदालतमा पठाई अरु तपसील बमोजिम गर्नु ।

तपसील

बादी मानकुमारी, अम्बरबहादुर, के निजहरुले सुरु ल.पु.जि.अ.मा फिराद गर्दा मिति ०३४।४।१२।४ मा कोर्टफी रु.२५। र इतलायनामा साक्षी समेत के रु.९।८० समेत जम्मा रु.३४।८० र निज वादीहरुले नै मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा मिति ०३५।९।१३।५ मा राखेको कोर्ट फी रु.२५। र सर्वोच्च अदालतमा निज वादीहरुले नै पुनरावेदन गर्दा मिति ०३८।५।१ मा राखेको कोर्टफी रु.२५। समेत जम्मा कोर्ट फी रु.८४।८० (चौरासी रुपैयाा असीपैसा) भराई पाउँ भनी प्रतिवादी पदमबहादुर र बद्रीबहादुरको यसै सरहदको जेथा देखाई कानूनका म्याद भित्र वादीहरुको दर्खास्त परे दस्तुत केही नलिई प्रतिवादीहरुबाट वादीहरुलाई भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु...........................................................१

रेकर्ड मिसिल नियम अनुसार गरी बुझाई दिनु.......................................................................................२

 

उक्त रायमा म सहमत छु ।

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०३९ साल पौष १८ गते रोज १ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु