शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२९० - उत्प्रेषण, परमादेश

भाग: ४५ साल: २०६० महिना: पौस अंक:

निर्णय नं.७२९०      ने.का.प.२०६० अङ्क ९.१०

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

सम्बत् २०६० सालको रिट नं. ..३३०९

आदेश मितिः २०६०।१०।१३।३

 

विषय :उत्प्रेषण, परमादेश ।

 

निवेदकः दोलखा जिल्ला फस्कु गा.वि.स. वडा नं. ८ घर भै हाल का.जि.का.म.न.पा. वडा नं. ३० वस्ने कुमार खड्का

बिरुद्ध

विपक्षीः का.जि.का.म.न.पा. गौशाला स्थित माइती नेपाल समेत

 

§  कानून वमोजिम अधिकार प्राप्त निकाय देखि वाहेकको अन्य निकायले गराएको कानून विपरीतको कुनैपनि व्यहोराको कागजले कानूनी मान्यता प्राप्त गर्न सक्ने हुदैन । निवेदन जिकिर वमोजिम जवरजस्ती कागज गराएको अवस्थामा निवेदकले अ.वं. ३८ नं. वमोजिम करकापमा उजुर गर्न सक्ने स्थिति रहेकोमा सो उपचारको मार्ग अवलम्वन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिदा प्रस्तुत निवेदनवाट कारवाही अगाडि वढाउन उपयुक्त नहुँदा विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरिरहनु नपरी प्रस्तुत निवेदन खारेज हुने।

(प्र.नं. ४)

रिट निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री लेखनाथ अधिकारी र श्री उत्तमप्रसाद पन्त

विपक्षी तर्फवाटः

अवलम्वित नजिरः

 

आदेश

      न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः

      २.    म निवेदक एक निर्धन मजदुरी गरी खाने व्यक्ति हुँ । विपक्षी मध्ये गिता खड्कासंग मेरो परम्परागत रुपमा २०४२ सालमा विवाह भै चार सन्तानको जायजन्म समेत भएकोमा निजले विगत चार वर्षदेखि मलाई छाडी स्वतन्त्र रुपमा वस्दै आइरहेकी छिन । यस वीचमा उनले मलाई पटक पटक प्रहरी लगाइ दुःख दिने काम गर्दै आइरहेकी छिन । यसै वीच उनले दिएको झुठ्ठा उजुरीका आधारमा मलाई मिति २०६०।१०।७ मा प्रहरीले पक्राउ गरी माइती नेपालमा लगी जर्वजस्ती एउटा कागजमा सहीछाप गर्न लगाएका थिए । उक्त कागजमा के व्यहोरा छ भनी पढ्न पनि दिएनन । अव आइन्दा प्रत्येक महिना माना चामल वापत दश हजार रुपैया माइती नेपालमा ल्याएर वुझाउनु नवुझाएमा कारवाही हुन्छ भनी वताए । विपक्षी माइती नेपाल एवं प्रहरी कार्यालयलाई समेत मलाई वलजफ्ती पक्राउ गर्ने एवं कागज गराउने कुनै अधिकार छैन। विपक्षी गिता खड्कालाई दिनुपर्ने अंश सम्वन्ध विच्छेद भए पनि दिन तयार छु भनी सम्वन्ध विच्छेद मुद्दामा स्वीकार गरेकै छु । यसप्रकार मैले कुनै गल्ती अपराध नगरेको स्थितिमा मलाई पक्राउ गरी जर्वजस्ती कागज गराउने जस्ता कार्यवाट मेरो संविधानप्रदत्त हक अधिकारमा गम्भिर आघात पर्न जानुका साथै विपक्षीहरुका सो कार्यका विरुद्ध अन्य प्रभावकारी उपचारको वाटो नभएकाले मिति २०६०।१०।७ को कागज उत्प्रेषणको आदेशद्वारा वदर गरी म निवेदकलाई कुनै प्रकारको धरपकड नगर्नु नगराउनु भनी परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

      ३.    नियम वमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा मिसिल संलग्न रिट निवेदन समेतका कागजातहरु अध्ययन गरी निवेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री लेखनाथ अधिकारी तथा श्री उत्तमप्रसाद पन्तले प्रहरी एवं माइती नेपाललाई लोग्नेस्वानीको सम्वन्ध विच्छेद, अंश, माना चामल जस्तो देवानी विषयमा निवेदन लिने, पक्राउ गर्ने एवं कागज गर्ने जस्तो कार्य गर्ने अख्तियारी नभएकाले विपक्षीहरुको कार्य प्रचलित कानून प्रतिकूल भएकाले निवेदन माग वमोजिमको आदेश जारी हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      ४.    यी रिट निवेदक र विपक्षी मध्येका गीता खड्का वीच विवाद उत्पन्न भएकोमा माइती  नेपाल  नामक  संस्थाले  यी निवेदकलाई पक्राउ गरी जवरजस्ती  महिनावारी दश हजार रुपैंया माना चामल वापत गिता खड्कालाई भराइ दिने छु भन्ने व्यहोराको कागज गराएकोले सो कागज वदर गरी पाउँ भन्ने निवेदकको मुख्य माग दावी देखिन्छ । जर्वजस्ती कागज गराएको भनी दावी गरिएको माइती नेपाल कुनै कानुनी निकाय (Statutory Body) हो भन्ने जिकिर निवेदकले लिन सकेको देखिदैन । कानून वमोजिम अधिकार प्राप्त निकाय देखि वाहेकको अन्य निकायले गराएको कानून विपरीतको कुनैपनि व्यहोराको कागजले कानूनी मान्यता प्राप्त गर्न सक्ने हुदैन । निवेदन जिकिर वमोजिम जवरजस्ती कागज गराएको अवस्थामा निवेदकले अ.वं. ३८ नं. वमोजिम करकापमा उजुर गर्न सक्ने स्थिति रहेकोमा सो उपचारको मार्ग अवलम्वन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिदा प्रस्तुत निवेदनवाट कारवाही अगाडि वढाउन उपयुक्त नहुँदा विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरिरहनु परेन । प्रस्तुत निवेदन खारेज हुने ठहर्छ। मिसिल नियमानुसार वुझाई दिनु ।

 

इति सम्वत २०६० साल माघ १३ गते रोज ३ शुभम् .. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु