शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२९७ - उत्प्रेषण समेत

भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११

निर्णय नं.७२९७     ने.का.प.२०६० अङ्क ११.१२

                       

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

सम्वत् २०५९ सालको रिट नं......२९९३

आदेश मितिः २०६०।११।२६।३

 

विषय : उत्प्रेषण समेत ।

 

निवदेकः ललितपुर उपमहानगरपालिका वडा नं.११ नेउट टोल बस्ने योगेन्द्रराज जोशी 

विरुद्ध

विपक्षीः श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय हरिहर भवन समेत

 

§  समान प्रकृतिको कानूनी व्यवस्थाको सम्वन्धमा यस अदालतवाट प्रतिपादित सिद्धान्त त्यस्तै प्रकृतिको अर्को कानूनी व्यवस्थाको सम्वन्धमा लागू हुन नसक्ने वस्तुनिष्ठ आधार र कारण विद्यमान नरहेको अवस्थामा यस अदालतको बृहत पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्तसंग असहमत हुनुपर्ने अवस्था नदेखिने ।

§  शैक्षिक योग्यताको प्रमाण पत्रवाट निवेदकको उमेर १५ अप्रिल १९४५ तद्अनुसार वि.सं.२००२।१।१ भन्ने देखिइरहेको र महालेखा परीक्षकका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२(३) को कानूनी व्यवस्था तथा यस अदालत बृहत पूर्ण इजलासवाट प्रतिपादीत सिद्धान्त समेतको आधारमा नोकरी प्रवेश गर्नु अघि नै प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएसम्म सो प्रमाणपत्रमा उल्लेखित जन्म मितिले नै मान्यता पाउने   देखिएको हुँदा निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई मान्यता दिएको मिति २०५२।४।३१ को विपक्षी निजामती किताबखानाको निर्णय सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशनको आधारमा रद्द गरी सिटरोलमा लेखिएको उमेरको आधारमा जन्ममिति कायम गरिएको विपक्षी निजामती कितावखानाको मिति २०५८।८।५ को निर्णय तथा सोही मितिको पत्र तथा सो निर्णयको आधारमा रिट निवेदकलाई मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश दिनु भनी लेखिएको मिति २०५९।४।९ को पत्र समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

§  निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको आधारमा उमेर गणना गर्दा मिति २०६०।१।१ मा निजको उमेर ५८ वर्ष पूरा भएको देखिएको र सोही मितिवाट निजले अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा सो मिति सम्म निजको सेवा अवधि मानी नियमानुसार निजले पाउने तलव भत्ता तथा सुबिधा समेत दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने ।

(प्र.नं. १० र ११)

 

निवेदकतर्फवाटः

विपक्षीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा

अवलम्वित नजिरः

 

आदेश

प्र.न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत   रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :

            २.    निवेदकले श्री ५ को सरकार ललितपुर नगर हुलाकमा मिति २०१९।१०।१४ देखि २०२०।९।१६ सम्म बहिदार पदमा रही सेवा गरेको र मिति २०२३।७।२३ मा महालेखापरीक्षकको विभागमा लेखापरीक्षक निरीक्षक खरिदार पदमा नियुक्ति पाई हाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको नायबलेखा परीक्षक पदमा कार्यरत छु । महालेखा परीक्षकको विभागका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२ अनुसार अन्ठाउन्न वर्ष उमेर नपुगेसम्म सेवामा बहाल रहन पाउने व्यवस्था छ । सो नियम अनुसार सेवामा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षवाट र त्यस्तो अभिलेख नभएमा सेवामा प्रवेश गर्दा वैयक्तिक नोकरी विवरणमा लेखिदिएको जन्म मिति वा वर्षवाट उमेरवाट गणना गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार निजामती किताबखानाको मिति २०५२।५।४ को पत्रवाट मेरो एस.एल.सी. परीक्षाको प्रमाणपत्रको आधारमा इ.स. १९४५ अप्रिल १५ (वि.सं.२००२।१।१) जन्ममिति कायम गरिएको थियो । त्यसको ६ बर्षपछि सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशन बमोजिम मेरो जन्म मिति २००१।१०।१४ कायम गरिएको भन्ने निजामती कितावखानाको मिति २०५८।८।५ को पत्र प्राप्त भयो । सो सम्वन्धमा बहिदार पदमा सेवा गर्नु भन्दा अगावै एस.एल.सी. परीक्षा उत्तीर्ण गरेकोले सो परीक्षाको प्रमाणपत्रमा लेखिएको जन्ममितिको आधारमा उमेरको गणना गरिनु पर्ने भनी निवेदन गरेकोमा सो कुरालाई मान्यता नदिई शुरु भर्ना हुंदा वैयक्तिक विवरणमा १८ वर्ष उल्लेख भएकोले सो अनुसार जन्ममिति २००१।१०।१४ कायम हुने हुँदा मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश दिनु भनी किताबखानाको मिति २०५९।३।१२ को पत्रवाट विभागलाई तथा मिति २०५९।४।९ को पत्रवाट निवेदकलाई जानकारी गराइयो ।

            ३.    निवेदकले शुरु सेवा प्रवेश गर्नुभन्दा पहिले नै एस.एल.सी. परीक्षा उत्तीर्ण गरिसकेको र सो लगायत सबै तहको शैक्षिक योग्यताको प्रमाणपत्रमा निवेदकको जन्ममिति १५ अप्रिल १९४५ भएको निर्विवाद रुपमा उल्लेख गरिएकोछ । सेवा प्रवेश गर्दा नै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरिएकोले माथि उल्लेखित नियमको व्यवस्था अनुसार शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख गरिएको जन्ममितिको आधारमा नै उमेर गणना गरिनु पर्ने स्पष्ट छ । यसर्थः विपक्षी निजामती किताबखानाको मिति २०५९।३।१२ र मिति २०५८।८।५ को पत्र तथा उक्त पत्रमा उल्लेखित सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशन तथा सो निर्देशनको आधारमा निवेदकलाई मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश दिनु भनी लेखिएको निजामती किताबखानाको मिति २०५९।४।९ को पत्र समेतबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रदत्त निवेदकको मौलिकहक तथा अन्ठाउन्न वर्षसम्म सेवा गर्न पाउने कानूनी हकमा आघात पर्न गएकोले संविधानको धारा २३ तथा ८८(२) बमोजिम उल्लेखित पत्र तथा कामकारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई मान्यता दिएको विपक्षी किताबखानाको मिति २०५२।५।४ को पत्र अनुसार उमेरको गणना गरी मिति २०६०।१।१ देखि मात्र अनिवार्य अवकाश दिने कार्य गर्नु गराउनु भनी परमादेशको आदेश समेत जारी गरीपाउँ । साथै निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म मिति २०५९।४।९ को पत्र बमोजिम अनिवार्य अवकाश नदिनु नदिलाउनु भनी अन्तरीम आदेश समेत जारी गरीपाउँ भन्ने समेत व्यहोराको निवेदन पत्र ।

            ४.    यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो विपक्षीहरुवाट लिखित जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु  साथै सेवा प्रवेश गर्नु भन्दा अगावै उत्तीर्ण गरेको एस.एल.सी.परीक्षाको प्रमाणपत्रवाट निवेदकको जन्ममिति १५ अप्रिल १९४५  देखिंदा निजामती किताबखानाको मिति २०५९।४।९ को पत्र अनुसारको कार्य कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत जारी गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५९।१०।७ को आदेश ।

            ५.    निजामती सेवा ऐन, २०४९ को दफा ३३ मा भएको कानूनी व्यवस्था अनुसार अनिवार्य अवकाश सम्वन्धी काम कारवाही गर्न यस मन्त्रालयले दिएको निर्देशनवाट निवेदकको हकमा आघात पुर्‍याएको मान्न नमिल्ने हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सामान्य प्रशासन मन्त्रालयको लिखित जवाफ ।

            ६.    निवेदकले मिति २०१९।१०।१४ मा बहिदार पदमा सेवा प्रवेश गर्दा पेश गरेकोे एक पाने सिटरोलमा उमेर १८ वर्ष भन्ने उल्लेख भएकोले निजको जन्ममिति वि.सं. २००१।१०।१४ कायम भएको अभिलेखवाट देखिएको हुँदा मिति २०५९।१०।१४ मा निजको उमेर ५८ वर्ष पुग्ने भनी लेखिएको पत्र कानूनसम्मत हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको निजामती किताबखानाको लिखित जवाफ ।

            ७.    निजामती किताबखानाले राखेको कर्मचारीहरुको अभिलेख अनुसार सेवावाट अनिवार्र्य अवकाश दिनु भनी लेखिआए अनुसारको कार्य कार्यान्वयनसम्म गरिएको तथा निवेदकको हकहितमा असर पर्ने गरी कुनै कार्य नगरिएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको महालेखा परीक्षकको विभागको लिखित जवाफ ।

            ८.    नियमानुसार पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदकलाई रोहवरमा राखी विपक्षीतर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले गर्नु भएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

९.    यसमा निवेदकले मिति २०१९।१०।१४ मा सेवा प्रवेश गर्नु भन्दा अगावै प्राप्त गरेको एस.एल.सी. परीक्षाको चारित्रिक प्रमाणपत्रमा जन्ममिति १५ अप्रिल १९४५ तद्अनुसार २००२।१।१ उल्लेख भएको र महालेखा परीक्षकको विभागका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२ अनुसार सेवामा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्र्रमाणपत्र भएसम्म सो प्रमाणपत्रमा किटिएको जन्ममिति अनुसार नै उमेरको गणना गर्नुपर्नेमा सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशनको आधारमा निवेदकद्वारा मिति २०१९।१०।१४ मा सेवा प्रवेश गर्दा भरिएको सिटरोलमा उमेर १८ वर्ष उल्लेख गरिएको भन्ने आधारमा निवेदकको जन्ममिति २००१।१०।१४ कायम गरी मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश हुने भनी गरिएको विपक्षी निजामती किताबखानाको मिति २०५९।४।९ को पत्र लगायतका सम्पूर्ण कामकारवाही बदर गरी पाउँ भन्ने निवेदन मागदावी रहेको देखिन्छ । विपक्षीहरुको लिखित जवाफमा निवेदकले सेवा प्रवेश गर्दा भरेको सिटरोलमा निजको उमेर १८ वर्ष भन्ने उल्लेख गरेकोले सो आधारमा निजको उमेर गणना गर्ने गरी भएका कामकारवाही कानूनसम्मत हुँदा रिट निवेदन खारेज हुनुपर्ने जिकिर लिएको पाइन्छ ।

१०.    महालेखा परीक्षकको विभागका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२ को उपनियम (१) मा अन्ठाउन्न वर्ष उमेर पुगेका कर्मचारीले सेवावाट अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको देखिन्छ । सोही नियमको उपनियम (३) मा भएको व्यवस्था अवलोकन गर्दा कर्मचारीको उमेरको गणना गर्ने प्रयोजनका लागि सेवामा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्रमाण पत्रमा किटिएको जन्मदिन वा वर्षवाट हुन आएको उमेर तथा सो अनुसारको अभिलेख नभएमा निजले सेवामा प्रवेश गर्दा वैयक्तिक नोकरी विवरण सिटरोलमा लेखिदिएको जन्म मिति वा वर्षवाट हुन आएको उमेरको आधारमा उमेर गणना गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था गरिएको पाइन्छ । निजामती सेवामा कार्यरत कर्मचारीहरुको उमेर ५८ बर्ष पुगेको भन्ने आधारमा अनिवार्य अवकाश दिइने प्रयोजनका लागि उमेरको गणना गर्ने सम्वन्धमा निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (३) मा माथि उल्लेख गरे अनुसारको समान प्रकृतिको कानूनी व्यवस्था रहेको देखिन्छ । सो कानूनी व्यवस्थाको सम्वन्धमा यस अदालतको पाँच सदस्यीय बृहत पूर्ण इजलासवाट सम्वत् २०५८ सालको रि.पूू.ई.नं. ३३ निवेदक रामगोपाल वरुण विरुद्ध सामान्य प्रशासन मन्त्रालय समेत भएको उत्प्रेषण विषयको रिट निवेदनमा मिति २०५९।१०।२ मा शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा सेवा प्रवेश गर्ने कर्मचारीहरुको हकमा सेवा प्रवेश गर्दा उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरिएको छ भने सिटरोलमा उल्लेख गरिएको बेग्लै जन्ममिति वा बेग्लै उमेरले मान्यता पाउन सक्ने हुँदैन भनी सिद्धान्त प्रतिपादन भइसकेको समेत देखिन आउँछ । समान प्रकृतिको कानूनी व्यवस्थाको सम्वन्धमा यस अदालतवाट प्रतिपादित सिद्धान्त त्यस्तै प्रकृतिको अर्को कानूनी व्यवस्थाको सम्वन्धमा लागू हुन नसक्ने वस्तुनिष्ठ आधार र कारण विद्यमान नरहेको अवस्थामा यस अदालतको बृहत पूर्ण इजलासवाट प्रतिपादित उल्लेखित सिद्धान्तसंग असहमत हुनुपर्ने अवस्था देखिंदैन ।

११.    प्रस्तुत मुद्दामा रिट निवेदकले मिति २०१९।१०।१४ मा सेवा प्रवेश गरेपछि भरेको वैयक्तिक विवरण फारममा निजको उमेर १८ वर्ष उल्लेख गरेको देखिन्छ । सोही फारममा निजले आफूले एस.एल.सी., निजामती उत्तीर्ण गरेको भन्ने उल्लेख गरेको पाइन्छ भने निजको एस.एल.सी. परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा निजको जन्म मिति १५ अप्रिल १९४५ उल्लेख भएको मिशिल संलग्न प्रमाण पत्रको प्रतिलिपिवाट देखिन्छ । निवेदकले सेवा प्रवेश गर्नु भन्दा अगाडि नै हाशिल गरेको शैक्षिक योग्यताको प्रमाण पत्रमा उल्लेखित निजको जन्म मितिलाई मान्यता नदिई निजले सेवा प्रवेश गर्दा भरेको सिटरोलमा उमेर १८ वर्ष भन्ने उल्लेख गरेको भन्ने मात्र आधारमा निजको जन्म मिति २००१।१०।१४ कायम गर्दा विपक्षी किताबखानाले कुनै ठोस आधार देखाउन सकेको पाइदैन । शैक्षिक योग्यताको प्रमाण पत्रवाट निवेदकको उमेर १५ अप्रिल १९४५ तद्अनुसार वि.सं.२००२।१।१ भन्ने देखिइरहेको र महालेखा परीक्षकका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२(३) को कानूनी व्यवस्था तथा यस अदालत बृहत पूर्ण इजलासवाट प्रतिपादीत उल्लेखित सिद्धान्त समेतको आधारमा नोकरी प्रवेश गर्नु अघि नै प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएसम्म सो प्रमाणपत्रमा उल्लेखित जन्म मितिले नै मान्यता पाउने देखिएको हुँदा निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई मान्यता दिएको मिति २०५२।४।३१ को विपक्षी निजामती किताबखानाको निर्णय सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशनको आधारमा रद्द गरी सिटरोलमा लेखिएको उमेरको आधारमा जन्ममिति कायम गरिएको विपक्षी निजामती कितावखानाको मिति २०५८।८।५ को निर्णय तथा सोही मितिको पत्र तथा सो निर्णयको आधारमा रिट निवेदकलाई मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश  दिनु भनी लेखिएको मिति २०५९।४।९ को पत्र समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएकोे जन्म मितिको आधारमा उमेर गणना गर्दा मिति २०६०।१।१ मा निजको उमेर ५८ वर्ष पूरा भएको देखिएको र सोही मितिवाट निजले अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा सो मिति सम्म निजको सेवा अवधि मानी नियमानुसार निजले पाउने तलव भत्ता तथा सुबिधा समेत दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षीहरुको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमानुसार मिसिल बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छु ।

 

न्या.चन्द्रप्रसाद पराजुली

 

इति सम्वत् २०६० साल फागुन २६ गते रोज ३ शुभम्  .........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु