निर्णय नं. १५९३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरि पाऊँ ।

निर्णय नं. १५९३ ने.का.प. २०३९ अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३९ सालको रिट नम्बर ११२५
आदेश भएको मिति : २०३९।१०।२५ मा
निवेदक : सिं.पा.व.सिंधुकोट गा.पं.वार्ड नं.६ को हाल बाँसवारी गा.पं.वडा नं.२ आपचौर घर भई हाल सिं.पा.जि.चौतारा कारागारमा गैरकानूनी थुनामा रहेको माधवप्रसाद नेपालको हकमा शिवलोचन नेपाल
विरुद्ध
विपक्षी : जिल्ला कार्यालय सिं.पा.जि.चौताराका प्रमुख जिल्ला अधिकारी
विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
(१) केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को संशोधन सहितको दफा ५ (३) बमोजिम चित्त नबुझ्नेको पुनरावेदन सुन्ने अञ्चल अदालतमा उजुर लाग्न सक्ने ।
(प्रकरण नं. ८)
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लिखित मुद्दा :
आदेश
न्या.बासुदेव शर्मा
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी रिट निवेदन मिति २०३९।८।२८।२ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन : केही सार्वजनिक अपराध गरे भन्ने पुण्यमाता नेपालको जोहेरी दर्खास्तले वादी श्री ५ को सरकार भएको मुद्दामा १० दिन भित्र हाजिर हुन आउनु भन्ने ०३७।९।१४ मा टाँसी म्यादमा हाजिर नभएकोले कसुर गरेकोमा स्वतः प्रमाण भएको भनी छोरा माधवप्रसाद नेपाललाई केही सार्वजनिक अपराध ऐनको दफा ६ बमोजिम रु.५००।–जरिवाना ३ महिना कैद हुन्छ, पुनरावेदन नलाग्ने भनी जिल्ला कार्यालय चौताराबाट ०३९।८।१० मा फैसला गरेको । फैसला हुनु भन्दा ३ दिन अघि ०३९।८।८ मा प्रहरीद्वारा पक्राउ गराई ८ गते बाहुनीपाटी प्रहरी अस्थायी चौकी र ९।१० गते प्रहरी कार्यालय चौतारामा थुनी ११ गते सिं.पा.कारागारमा पठाएको र उक्त मुद्दामा जारी भएको १० दिने म्याद ०३७।९।१४ मा तामेल गर्दा अ.बं.११० नं.को रीत नपुर्याई तामेल भएकोले थाहा पाउन नसकी हाजिर हुन प्रतिवादीको बयान गर्न नपाई ०३९।८।१० मा एकतर्फि फैसला भएकोले प्रतिवादी पेश गर्न वा प्रतिवादीको बयान गर्न पाउँ भनी अ.बं.११०।२०८ नं.समेत अन्तर्गत छोरा माधवप्रसाद नेपालले ०३९।८।२२ मा नं.२८ को निवेदन सिं.पा.जि.चौतारा कारागारमा दर्ता गर्दा ०३९।८।२३ मा च.नं.१३३ बाट जिल्ला कार्यालय सिं.पा.चौतारा दाखिला भयो । सो दाखिला हुने बित्तिकै छिनुवा मिसिलको तामेली म्याद हेरी अ.बं.२०८ नं.बमोजिम पर्चा आदेश गरी कैद थुनाबाट झिकी प्रतिवादी दिनु, अ.बं.नं.१२७ बमोजिम ७ दिनको म्याद दिनु वा ठाडो बयान गराई कैद थुनाबाट मुक्त गराई तारेखमा छाडी दिनु पर्नेमा उक्त निवेदनमा कुनै आदेश नगरी गैरकानूनी थुनामा राखी छाडेकोले गैरकानूनी थुनामा रहने छोरा माघवप्रसाद नेपाललाई थुनाबाट मुक्त गरी पाउन एकाघरका बाबु म शिबलोचन नेपालले निवेदन गर्न आएको छु भनी उल्लेख गरेको रहेछ ।
३. विपक्षीहरुद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०३९।८।२९।३ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन :
४. निवेदन जिकिर अनुसारको तामेली म्याद कानून अनुसार साक्षी राखी तामेल भएको हुँदा बदर हुने अवस्था छैन । निवेदक मनचिन्ते भनाईबाट उक्त म्याद बदर गराउने सम्बन्धको उजुर समेत अ.बं.१७ नं.बमोजिम पुनरावेदन सुन्ने कार्यालयमा निवेदन समेत दिनु पर्ने सो दिएको छ भनी निवेदकले लेख्न नसकेको समेत हुँदा कानून अनुसार भएको फैसला थुनुवा पूर्जी दिई कैदमा राखिएको निजको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिपाउँ भन्ने सिन्धुपाल्चोक जिल्ला कार्यालयका प्रमुख जिल्ला अधिकारी ।
५. तारेखमा रहेका निवेदक बन्दी माघबप्रसाद नेपालको हकमा शिवलोचनलाई रोहवरमा राखी निवेदकको रिट निवेदन जिकिर र विपक्षी जिल्ला कार्यालय कारागार सिन्धुपाल्चोक तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
६. प्रस्तुत केशमा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
७. यसमा पुण्यमाता नेपालको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी माघवप्रसाद नेपालल समेत भएको केही सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा मिति २०३९।८।१० मा फैसला हुँदा निवेदकलाई ३ (तिन) महिना कैद र रु.५००।–जरिवाना भएकोले अ.बं.१२१ नं.बमोजिम निवेदकलाई सिन्धुपाल्चोक कारागारमा कैदमा बसी (ख) श्रेणीको सिदा खाने गरी मिति २०३९।८।११ मा निवेदकलाई थुनुवापूर्जी दिएको पाइन्छ ।
८. माथि व्यक्त गरिएअनुसार अधिकार प्राप्त प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिएको र म्याद बेरीत भयो भन्ने निवेदकको जिकिरको हकमा केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को संशोधन सहितको दफा ५ (३) बमोजिम चित्त नबुझ्नेको पुनरावेदन सुन्ने अञ्चल अदालतमा उजुर लाग्न सक्ने अन्य उपचारको व्यवस्था भएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहनु परेन, प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठर्हछ ।
९. नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०३९ साल माघ २५ गते रोज ३ शुभम् ।