निर्णय नं. १६०१ - अंश

निर्णय नं. १६०१ ने.का.प. २०३९ अङ्क ११
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको देवानी पुनरावेदन नं. ४४४
फैसला भएको मिति : २०३९।१०।७।६ मा
पुनरावेदक/प्रतिवादी : जि.सुनसरी मघेली गा.पं.वा.नं.९ बस्ने दरवारी साहुतेलीसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने वनवारी साहुतेली
मुद्दा : अंश
(१) अलग अलग भई अंश लिई मानो छुट्टि बेगल भई बसेकोले मुलुकी ऐन अंशबण्डाको १८ तथा ३० नं.ले व्यवस्था गरे अनुसार प्रतिवादीबाट वादीलाई अंशमा दावा गर्ने हक पुग्न र प्रतिवादीबाट अंश दिलाई दिनुपर्छ भन्न न्यायोचित नदेखिने ।
(प्रकरण नं. ११)
फैसला
न्या.वासुदेव शर्मा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुने आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :
२. बाबु गोपालीका २ छोरामा जेठा म र कान्छा अन्याय दरवारी साहु भएको, बाबु गोपाली भारत जिल्ला लहसा थाना वीरपुर परमानन्द गा.पं.अन्तर्गतमा जग्गा अर्जी सोही ठाउँमा घर बनाई बसेका अवस्था, नेपाल सरहद आई ९९ सालदेखि हामीले बनिया पेशबाट काम गरी २००० साल फाल्गुणदेखि तेल पेलाउने काम गर्दै रही यसै जिल्ला मघेली पञ्चायतमा घर–घडेरी गरी ठाउँ–ठाउँमा जग्गा आर्जन गर्दै जानु भएको, म पनि बाबुसँग आई यसै ठाउँमा काम गर्दै भएका सम्पत्तिबाट जग्गा खरीद गरी दर्ता गराउँदा अन्याय भाइ सगोलकै हुँदा निजको नाउँमा दर्ता गराएको, भारततर्फ बाबुका नाउँमा ३ विगाह जग्गा भएको अन्यायका नाउँमा पनि २।। कठ्ठा र मेरा नाउँमा पनि सोही बमोजिम दर्ता भई रहेको, २००७ साल चैत्रमा बाबु गोपाली स्वर्गे हुनु भई दाजुभाईका परिवार मिल्न नसकी बेग्लै रहँदा भारततर्फको आयस्ता यता र यहाँको भारततर्फ समेत लाने गरेको र भारततर्फ बसेको अवस्था श्री ५ को सरकारले नागरिक टोली खटाएको रहेछ। मेरो छोराहरु समेतको जन्म नेपालमै भएको भाइले टोलीलाई छली अर्को पञ्चायतबाट भएको यी प्रमाणपत्र लिई भारत घरमा नै मलाई तिम्रो छोराको नागरिक प्रमाणपत्र लिएनन्, अब नेपालको सम्पत्ति तिमीले अंश पाउँदैनौ भनी मेरा र निजका चौपाया जग्गा जमीन गैर जमीन निजकै जिम्मा रहेकोमा धमाधम एकलौटी विपक्षीले बेच्ने गरेको थाहा भई मघेली गा.पं.कार्यालयमा आई फाँट दिलाई पाउँ भनी निवेदन दर्ता गरेको कुरा विपक्षीले थाहा पाई, अन्यायका नाउँका दर्ता जग्गा छोरा जहानका नाउँमा नामसारी दर्ता समेत गराएको र अंश लाग्ने जग्गा देउ भन्दा यहाँको अंश पाउँदैनौ भनेकाले विपक्षी र म अंश छुट्टिएको कागज पास नभएकोले फिराद परेका दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाका ३५ नं.२ नं.बमोजिम फिराद गर्न आएको छु । अंशबण्डाको २० नं.बमोजिम तायदाती फाँट लिई २ भागको १ भाग अंश छुट्याई दिलाई चलन चलाई पाउँ, भन्ने समेत मिति ०३४।७।२२ को बनवारी साहुतेलीको फिरादपत्र ।
३. वादी दावा झुठ्ठा हो । यी वादी हाम्रो देश नेपालका नागरिक होइनन् । विदेश भारत, मौजा प्रमानन्द थाना, वीरपुर जिल्ला, सहर्सा थाना नं.१९५ नौ.जि.नं.५६६२ मा घरबास गरी पुर्खौलीदेखि बसोबास गरी आएका भारतीय नागरिक भएकोले मुलुकी ऐन अदलका महलको २ नं.ले यस नेपाल सरहदको भित्रको अचल सम्पत्ति लिन समेत नपाउने हुँदा निजले हामी उपर अंशमा दावा गरी अंश लिन पाउने होइन । विपक्षीका नाउँमा उक्त प्रमानन्द वीरपुरको जग्गा दर्ताको खाता नं.९४ मा समेत जमीन दर्ता छ । विपक्षी म दरवारीको सहोदर दाजु हुनुहुन्छ । तर, १९९९ साल मार्गमा मेरा पिता र विपक्षीसँग नराम्रो गृह कलह हुँदा मैले आफ्नो देश घरद्वार सवै परिवार त्याग गरी यस नेपाल सरहदको शरणागतमा आई नेपालकै नागरिक मेरो श्रीमती अनुपीदेवीलाई विवाह गरी नेपाल भित्र मजदुरी गरी सम्पत्ति उपार्जन गर्दै केही अचल सम्पत्ति समेत आर्जन गरेको हुनाले यसै नेपाल सरहद भित्र जन्मेका मेरा छोरा हामी प्र.मध्येकै कुशेश्वर, जुगेश्वर, विशेश्वर समेत ३ भाइले र म दरवारीले आर्जेको अचल सम्पत्ति जोत कमोद गरी निर्वाह गरी आएका छौं । म अनुपीले पनि माइतीबाट केही दाइजो पाएकोले सोबाट बढे बढाएको धनजेथाबाट जग्गा लिई केही विक्री गरी सकेको छु । विपक्षी कहिले काँही भेटघाटमा आउने जाने गर्नुहुन्थ्यो र अंश पाउने लालच लिई हामी उपर दिएको झुठ्ठा बनावटी फिरादबाट पाउँ भन्ने समेत दरवारी साहुतेली, विशेश्वर साहुतेली, जुगेश्वर साहुतेली र अनुपीदेवी साहुतेलीनी, समेत जना ५ को संयुक्त प्रतिउत्तरपत्र रहेछ ।
४. वादी भारतीय नागरिक र प्रतिवादी नेपाली नागरिक भएमा वादीले स्वीकार गरेको देखिन आएकोले यी वादी प्रतिवादीहरु सगोलका हुन भन्न सकिएन । अंशबण्डाको १८ नं.ले प्रतिवादीहरुको नाम दर्ताको जग्गा प्रतिवादीहरुको निजी आर्जन देखिएको हुँदा वादी दावी बमोजिम वादीले यी प्रतिवादीहरुबाट अंश पाउने नदेखिँदा वादी दावा झुठ्ठा ठर्हछ भन्ने समेत सुरु सुनसरी जिल्ला अदालतको मिति ०३६।२।२९ को फैसला रहेछ ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा अदलको २ नं.ले विदेशी नागरिकलाई नेपालको अचल सम्पत्तिमा अंश प्राप्त हुन सक्दैन भनी निधेष गरेको देखिँदैन । अदलको ३ नं.ले पनि विदेशी नागरिकले नेपालको सम्पत्तिमा अंश प्राप्त भए नेपाली नागरिकलाई हक छाडी विक्री गर्न पाइने हुँदा विदेशी भएकै नाताले अदलको २ नं.को आधारमा अंश पाउन नसक्ने भन्ने प्रतिवादी जिकिर पुग्न आउने भन्न मिल्दैन । पुनरावेदक वादी वनवारी साहु सहोदर दाजु हुन भन्ने प्रतिउत्तरमा उल्लेख हुँदा अंशियार हुन् भन्ने कुरा प्रतिवादीले स्वीकार गरेको देखिन्छ । भारततर्फ जग्गा दर्ता रहेको सम्म कारणले नेपाल अधिराज्यमा आर्जन गरेको सम्पत्तिमा वादीको अंश हक लाग्दैन भन्न मिल्ने देखिँदैन । नेपालको सम्पत्ति मेरो आर्जनको हो भन्ने प्रतिवादी जिकिर देखिए पनि बण्डा छुटेको प्रमाणको त्यस्तो आर्जन सगोलको सम्झन पर्ने हुन्छ । वादी अंश लिई छुट्टिसकेको कुराको कुनै प्रमाण प्रतिवादीबाट पेश हुन सकेको देखिँदैन । फिराद दावी बमोजिम अंश नपाउने भन्न नमिली सुरुको इन्साफ गल्ती हुँदा बदर हुने र दावीबमोजिम पुनरावेदक वनवारी साहुले आधी अंश पाउने समेत ठर्हछ । फिराद परेको मिति ०३४।७।२२ गते मानु छुट्टिएको कायम हुने हुँदा सो अघिल्ला दिन ०३४।७।२१ गते सम्मको अंशबण्डाको २०, २१, २२ नं.बमोजिम तायदाती लिई कानून बमोजिम आधि अंश वादीलाई छुट्याई दिनु भनी रुजु रहेका पुनरावेदकलाई तारेख तोकी सुरु मिसिल समेत सुनसरी जि.अ.मा पठाई दिने, भन्नेसमेत पू.क्षे.अ.को मिति ०३८।२।२१।४ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी दरवारी साहु तेली समेतको निवेदन बेञ्च समक्ष पेश हुँदा वादी दावी र प्रतिउत्तर जिकिरबाट वादी प्रतिवादीहरु सगोलका हुन् भन्न सकिएन । वादीले प्र.हरु बाट अंश पाउने नदेखिँदा वादी दावी झुठ्ठा ठर्हछ भनी सुरु सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई बदर गरी विपक्षी वादीले अंश पाउने ठहराएको पू.क्षे.अ.को फैसला अंशबण्डाको १८ र ३० नं.को समेत प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि गरी फैसला गरेको देखिएबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत डिभिजनबेञ्चको मिति ०३८।११।१८।२ को आदेश ।
७. उक्त आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई विपक्षी वादी वनवारी साहुतेलीका नाउँमा पठाएको सूचना म्याद भित्र ०३९।२।१५ मा तामेल भएकोमा सो म्याद गुजारी हाजिर हुन नआएको र तारेखमा रहेको पुनरावेदक प्रतिवादी दरवारी साहुतेली समेतको वारेस सुधिरकुमार कर्णलाई प्रस्तुत मुद्दा पेश हुँदाका बखत निजको नाम उच्चारण गरी पुकार गर्न लगाउँदा समेत निज बेञ्च समक्ष हाजिर हुन नआई निज तर्फका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसको बहस समेत सुनियो ।
८. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव या गल्ती के हो ? निर्णय दिनु परेको छ ।
९. यसमा बाबु गोपालीका २ छोरामा जेठा र कान्छा अन्याय दरवारी भएको, बाबु गोपाली भारत परमान्दमा जग्गा आर्जी बसेको अवस्था, ९९ सालदेखि हामीले बनिया काम गरी नेपाल सरहद आई २००० सालदेखि यसै जिल्ला मघेली गा.पं.मा घर–घडेरी गरी ठाउँ–ठाउँ जग्गा खरीद गरी दर्ता गराउँदा अन्याय भाइका नाउँमा दर्ता गराएको । २००७ साल चैत्रमा बाबु स्वर्गे हुनु भई परिवार मिल्न नसकी बेगल रहँदा भारततर्फ भएको अवस्था नागरिक टोलीबाट अस्थाई प्रमाणपत्र लिई भारत घरमा गई मलाई तिम्रो छोराले नागरिक प्रमाणपत्र लिएनन्, अब नेपालको सम्पत्ति तिमीले अंश पाउँदैनौ भनेकाले मेरा र निजका चौपाया जग्गा जमीन गैर निजै जिम्मा रहेकोमा धमाधम बेच्ने गरेको थाहा पाई मेरो अंश लाग्ने जग्गा देउ भन्दा यहाँको अंश पाउँदैनस् भनेकाले फिराद परेका दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाको २० नं.बमोजिम तायदाती लिई २ भागको एक भाग अंश छुट्याई दिलाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी र विपक्षी विदेशी भारतीय नागरिक भएकोले निजले हामी उपर नालेस गरी अंश लिन पाइने होइन भन्ने समेत प्रतिवाद जिकिर भएको प्रस्तुत मुद्दामा यी वादी प्रतिवादी सगोलका हुन् भन्न सकिएन । अंशबण्डाको १८ नं.ले प्र.हरुका नाउँ दर्ताका जग्गा प्र.हरुको निजी आर्जन देखिएको हुँदा वादी दावी बमोजिम अंश पाउने नदेखिँदा वादी दावा झुठ्ठा ठर्हछ भन्ने समेत सुरु सुनसरी जिल्ला अदालतको र वादी अंश लिई छुट्टिसकेको प्रमाणबाट पेश हुन सकेको देखिँदैन । फिराद दावी बमोजिम वनवारी साहुले आधि अंश पाउने ठर्हछ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको देखिन्छ ।
१०. मुलुकी ऐन अंशबण्डाको १८ नं.ले कुनै अंशियारले आफ्नो ज्ञान वा शीप या प्रयासबाट निजी आर्जन गरेको वा कसैबट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति अंशियारको निजी ठहरी आफू खूस गर्न पाउँछ, बण्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेको वा रजिष्ट्रशन नगरी खतिउपति आफ्नो–आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठर्हछ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो हुन्छ भन्ने र सोही अंशबण्डाको ३० नं.ले यो ऐन प्रारम्भ हुँदासम्म बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भागशान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भई सकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन, वा बण्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने समेत व्यवस्था भएको पाइन्छ ।
११. फिरादपत्र लेखबाट २००७ साल चैत्र महिनामा बाबु गोपाली स्वर्गे हुनु भई दाजुभाइका परिवार मिल्न नसकी बेगल रहेको भन्ने र प्रतिउत्तर जिकिरबाट १९९९ साल मार्गमा पिता र विपक्षीसँग नराम्रो गृह कलह हुँदा मैले आफ्नो देश घरद्वार सबै परिवार त्याग गरी नेपाल सरहदको शरणागतमा आई मजदुरी गरी केही सम्पत्ति उपार्जन गर्दै अचल सम्पत्ति आर्जन गरेकोले विपक्षीले अंश पाउन लालच लिई हामी उपर दिएको झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने समेत उल्लेख भएको देखिँदा यी वादी प्रतिवादी अघि २००७ देखि नै अलग–अलग भई अंश लिई मानो छुट्टिई बसेको भन्ने सिद्ध हुन आउँछ । अतः यसरी मानु छुट्टिई बेगल भई बेगल बसेकोले उपरोक्त मुलुकी ऐन अंशबण्डाको १८ तथा ३० नं.ले व्यवस्था गरे अनुसार प्रतिवादीबाट वादीलाई अंशमा दावा गर्ने हक पुग्न र प्रतिवादीबाट अंश दिलाई दिनु पर्छ भन्न न्यायोचित नदेखिँदा वादी दावा नपुग्ने ठहराई सुरु सुनसरी जिल्ला अदालतबाट भएको फैसला मनासिव ठर्हछ । वादी वनवारी साहूतेलीलाई प्रतिवादी दरवारीबाट अंश दिलाउने गरेको मिति ०३८।२।२१।४ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलासँग सहमत हुन सकिएन । तसर्थ उक्त फैसला गल्ती भई उल्टी हुने ठर्हछ । तपसील बमोजिम बुझाई दिनु ।
तपसील
पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति ०३८।२।२१।४ को फैसला बमोजिमको लगत कायम राख्न नपरी सो लगत कट्टा गरिदिनु भनी सुरु सुनसरी जिल्ला अदालतमा पत्र लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु.................................१
वादी वनवारी साहुतेलीले प्रतिवादीहरुबाट रु.२५।–कोर्टफी भराई पाउने गरेको कलम.............................................२
तायदाती दाखिल भएपछि वादीले पाउने अंशभागको हुने कोर्टफी फिराद साथ दाखिल भएको रु.२५। मिन्हा दिई नपुग भए प्र.हरुबाट जरिवाना सरह असुल गर्ने गरेको समेतको कलम............................३
प्रतिवादी देहायका मानिसहरु कै निजहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.२५।–वादीबाट भराई माग्न वादीको यसै सरहदको जेथा देखाई कोर्टफी ऐनका म्याद २ वर्ष भित्र निज प्र.हरुको दरखास्त परे दस्तुर केही नलिई वादीबाट देहायका प्र.हरुलाई बराबरका दरले भराई दिनु भनी ऐ.ऐ.................................................४
दरवारी साहुतेली १, कुशेश्वर साहुतेली, १, विशेश्वर साहुतेली १, जुजेश्वर साहुतेली १, अनुपीदेवी साहुतेली १
यो फैसला भएको जनाउ वादी वनवारी साहुतेलीलाई दिनु...............५
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०३९ साल माघ ७ गते रोज ६ शुभम् ।