निर्णय नं. ९१११ - नकबजनी चोरी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की
फैसला मिति M २०७०।५।१८।३
संवत् २०६८–CR–१०८०
मुद्दा M नकबजनी चोरी
पुनरावेदक/वादी M जसमाया वि.क.को जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी M स्याङ्जा जिल्ला, पुतलीबजार न.पा. वडा नं. ३ बस्ने शम्भे नेपाली
- मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलको सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था भएको अवस्थामा अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमतिले वा कुनै पक्षले घटाउन बढाउन वा परिवर्तन गर्न नसक्ने ।
- इलाकाको अड्डाबाट हेर्न पर्ने भनी मुद्दा नै किटान गरी तोकेका मुद्दाहरूमा कानूनको मनसायविपरीत काठमाडौंको इलाकामा घटेको वारदातलाई जाहेरी दिँदा सो तथ्य नै लुकाई स्याङ्जा जिल्लाको ईलाकामा घटेको बनाई जानी जानी अन्यत्र अड्डामा मुद्दा दर्ता गर्न पीडित पक्षको भूमिका समेत मुद्दा उठानको क्रममा स्वभाविक नदेखिएकोले अड्डाको गल्तीले अर्को ईलाकामा मुद्दा दर्ता भएको भन्न पनि नमिल्ने ।
(प्रकरण नं.२)
पुनरावेदक/वादीका तर्फबाट M सहन्यायाधिवक्ता श्री महेश थापा
विपक्षी/प्रतिवादीका तर्फबाट M
अवलम्बित नजीर M
सम्बद्ध कानून M
- मुलुकी ऐन, अदालती वन्दोवस्तको महलको २९ को देहाय २, ७
शुरू फैसला गर्ने M– मा.न्या.श्री माधवेन्द्रराज रेग्मी
पुनरावेदन फैसला गर्ने M– मा.मुख्य न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या.श्री किशोर सिलवाल
फैसला
न्या.गिरीशचन्द्र लाल M न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यस प्रकार छ M–
मिति २०६५।११।२९ गते रातको समयमा निदाई रहेको अवस्थामा एक्कासी केही चीज वस्तु ठोकिए जस्तो लागी उठी हेर्दा जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने शभ्मे नेपालीले घर कोठाको लेडिज व्यागभित्र रहेको नगद रू.२६,५००।– टेबुलमाथि राखेको नोकिया मोवाईल सेट थान १ चोरी गरी भागेको र हार गुहार गरी पछि लाग्दासमेत भेट्न नसकेकाले निजलाई खोजतलास पक्राउ गरी कानूनबमोजिम कारवाही गरी चोरी भएको सामान दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको जसमाया वि.क.को जाहेरी दरखास्त ।
खोजतलासको क्रममा पक्राउ परेका प्रतिवादीलाई खानतलासी लिँदा निजको साथबाट नोकिया मोवाईल सेट थान १२ फेला परेको, पक्राउ गरी बरामद गरिएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का कागज ।
जिल्ला स्याङ्जा, खिलुङ्गा देउराली गा.वि.स. वडा नं. ९ घर कोठास्थित मिति २०६५।११।२९ गते राति प्रतिवादी शम्भे नेपालीले जाहेरवाला जसमाया वि.क.को कोठामा राखिएको नगद तथा नोकिया मोवाईल सेट थान १ चोरी गरी भागेको भन्ने घटनास्थल चार किल्ला विवरण कागज ।
प्रतिवादी शम्भे नेपालीको खोजतलास गर्दा फेला परेकोले पक्राउ गरी दसीको मोवाईल सेट थान १ सहित बरामद गरी दाखिला गराइएको भन्नेसमेत व्यहोराको प्र.ज.रवि पौडेलको प्रतिवेदन ।
मिति २०६५।११।२९ गते म घुमफिर गर्दै जाँदा स्याङ्जा, खिलुङ्गादेउराली गा.वि.स. वडा नं. ९ स्थित जाहेरवाला जसमाया वि.क.को घरमा पुगेको थिएँ । जाहेरवालाको घरमा पुगेपछि त्यस घरमा केटा मान्छे कोही नभएको जाहेरवालाको नाति नातिना पनि सानै देखेकोले र जाहेरवालाको घरमा निकै धनमाल होला भन्ने विचारले रातको समयमा ढोकामा लगाएको ताला फोडी घरभित्र रहेको नोकिया मोवाईल सेट थान १ र नगद रू.५,५००।– चोरी गरी भाग्न लागेको अवस्थामा जाहेरवालाले थाहा पाई हार गुहार गर्न लागेपछि म त्यस ठाउँबाट भागेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी शम्भे नेपालीले प्रहरीसमक्ष गरेको साबिती बयान कागज ।
वारदात मिति समयमा मेरो घरबाट चोरी लगेको हाल बरामद भै आएको नोकिया मोवाईल सेट देखाउँदा देखेँ चिनेँ सो मोवाईल मेरै हो सनाखत गरी दिएँ, नगद के कहाँ छ शम्भे नेपालीले नै जानून् भन्नेसमेत व्यहोराको जाहेरवाला जसमाया वि.क.को सनाखत कागज ।
शम्भे नेपाली पहिलादेखिनै खराब आचरणका व्यक्ति हुन् । निजले धेरै पटक धेरै जनाको चोरी गर्दै हिड्ने गर्दैछन् । निजले वारदात मिति समयमा जाहेरवाला जसमाया वि.क.का घरबाट नगद रू.२६,५००।– नोकिया मोवाईल सेट थान १ चोरी गरी हिडेका हुन् । अतः हाल निजको साथबाट मोवाईल सेटमात्र बरामद भएको छ । नगद के कँहा छ थाहा भएन, निजलाई कडाभन्दा कडा कारवाही गरी चोरी भएको सामान दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको वस्तुस्थितिका मानिसहरू सिर्जना वि.क. समेतको कागज ।
मिसिलसाथ रहेका आधार प्रमाणहरूबाट मिति २०६५।११।२९ गते राति ११M३० बजेको समयमा प्रतिवादी शम्भे नेपालीले जाहेरवालीको घर धन्सार कोठाको ताला फोडी नगद रू.२६,५००।– र मूल्य रू.६,५००।– पर्ने नोकिया मोवाईलसमेत गरी जम्मा बिगो रू.३३,०००।– बराबरको धनमाल चोरी गरी मुलुकी ऐन, चोरीका महलको १ र ३ नं. मा परिभाषित कसूर गरेको देखिएकोले उक्त कसूर गरेमा प्रतिवादी शम्भे नेपालीलाई सोही ऐनको महलको १४(१) नं. बमोजिम सजाय गरी मङ्गली नेपालीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निजै शम्भे नेपाली भएको नकबजनी चोरी मुद्दाको अभियोगपत्र आजै प्रस्तुत गरिएको हुँदा प्रस्तुत मुद्दामा दोस्रो पटक कायम गरी सजाय हुन र सोही महलको १० र २१ नं. बमोजिम चोरी भएको धनमाल जाहेरवालीलाई दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
जाहेरवाला जसमाया वि.क.को छोरीको काठमाडौं गोंगबु नयाँ बसपार्कमा न्यू कोशी गेष्ट हाउस छ । म सोही गेष्ट हाउसमा काम गर्ने क्रममा म त्यहाँ रहेको अवस्था गेष्ट हाउसको काउन्टरमा रहेको नगद रू.२,५००।– र सोही गेष्टहाउसका म्यानेजर जाहेरवाला जसमाया वि.क.का छोरा दिपक गहतराजको विस्ताराको सिरानीमुनि रहेको नगद रू.३,०००।– र नोकिया मोवाईल सेट मिति २०६५।११।२७ गते चोरी गरी भागेको हुँ । मैले जाहेरवाला जसमाया वि.क.को घरबाट केही पनि चोरी गरेको होइन, अभियोग व्यहोरा झूठ्ठा हो भन्नेसमेत व्यहोराको शम्भे नेपालीले शुरू अदालतमा गरेको बयान कागज ।
अदालतका आदेशानुसार जाहेरवाला जसमाया वि.क.को बकपत्र भै सो बकपत्रसमेत मिसिल सामेल रहेछ ।
कस्तो प्रकृतिको मुद्दा कुन कहाँको अदालतले हेर्ने भन्नेबारेमा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलमा व्यवस्था गरेको र सो महलको २९ नं. हेर्दा चोरीको महलले सजाय हुने मुद्दा अपराध भएको इलाकाको अड्डाबाट हेर्नुपर्छ भनी प्रष्ट उल्लेख भै रहेको र प्रस्तुत मुद्दा पनि नकबजनी चोरी भै चोरीका महलको १४(१) नं. को सजाय मागदावी गरी दायर हुन आएको देखिन्छ । जाहेरवालाको बकपत्र र प्रतिवादीको यस अदालतमा भएको बयानसमेतबाट प्रस्तुत बारदात काठमाडौं जिल्लामा घटेको पुष्टि हुन आएकोले उल्लिखित अदालती बन्दोवस्तको महलको अ.बं. २९ नं. अनुसार यस स्याङ्जा जिल्लाको अधिकारक्षेत्र अनुसारको घटना वारदात नभएबाट यस अदालतले अधिकारक्षेत्र ग्रहण गरी निर्णय गर्न मिल्ने देखिएन । तसर्थ, काठमाडौं जिल्लामा भएको वारदातलाई यस स्याङ्जा जिल्लाअन्तर्गतको वारदात भनी दायर भएको प्रस्तुत मुद्दाको अभियोगपत्र अ.बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने शुरू स्याङ्जा जिल्ला अदालतको मिति २०६६।२।२९ को फैसला ।
शुरू स्याङ्जा जिल्ला अदालतको मिति २०६६।२।२९ को फैसलामा चित्त बुझेन । अपराध अनुसन्धान बेईलाकाको प्रहरी कार्यालयबाट भएमा बेरीतको हुने वा बेईलाकाको सरकारी वकीलबाट दायर अभियोगपत्र गैरकानूनी हुने भनी प्रचलित नेपाल कानूनले भनेको अवस्था छैन । यी प्रतिवादी अदालतमा बयान गर्दासमेत चोरी गरेकोमा साबित छन् भने निज प्रतिवादीबाट चोरी गरेको सामान बरामद भएको छ । यस बाहेक मङ्गली नेपालीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निजै भई दायर गरिएको नकबजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट मिति २०६६।२।१९ मा अपराध गरेको ठहर भएबाट यी प्रतिवादी पटके अपराधी पनि देखिएको अवस्था छ । तसर्थ मुलुकी ऐन, अ.बं. २९(७) बमोजिम प्रस्तुत मुद्दा हेर्ने क्षेत्राधिकार प्राप्त अदालतमा कानूनबमोजिम मुद्दा पठाई कानूनबमोजिम गर्नु भन्नुपर्नेमा क्षेत्राधिकारभित्र नपरेको हुँदा अभियोग माग दावी खारेज हुने ठहर्छ भनी भएको फैसलामा कानूनी त्रुटी देखिँदा सो फैसला बदर गरी क्षेत्राधिकारप्राप्त काठमाडौं जिल्ला अदालतबाट मुद्दाको सुनुवाइ गरी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारले पुनरावेदन अदालत, पोखरामा लिएको पुनरावेदन जिकीर ।
मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलले सजाय हुने मुद्दा अपराध भएको इलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था गरेको परिप्रेक्ष्यमा अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमति वा कुनै पक्षले घटाउन बढाउन परिवर्तन गर्न नसक्ने भएकोले र जाहेरवालाको बकपत्र, प्रतिवादीले शुरू जिल्ला अदालतमा बयान गर्दासमेत प्रस्तुत वारदात स्याङ्जा जिल्लामा घटेको नभई काठमाडौं जिल्लाअन्तर्गतको वारदात भनी देखिन आएकोले क्षेत्राधिकारबिहीन अदालतमा दायर गरेको अभियोग दावी खारेज गर्ने ठह¥याएको शुरू स्याङ्जा जिल्ला अदालतको मिति २०६६।२।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६६।१२।१०को फैसला ।
अपराधको अनुसन्धान बेईलाकाको प्रहरी कार्यालयबाट भएमा बेरीतको हुने र बेईलाकाको सरकारी वकीलबाट दायर अभियोगपत्र गैर कानूनी हुने भनी प्रचलित कानूनले भनेको अवस्थासमेत छैन । प्रतिवादी अदालतमा बयान गर्दा चोरीमा साबित छन् भने चोरी सम्बद्ध भौतिक दसीबाट सो तथ्य स्थापित छ । प्रतिवादी पटके अपराधकर्ता भन्नेमा समेत द्विविधा नदेखिएको अवस्थामा निजलाई सजाय गर्न प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं. २९(७) नं. बमोजिम क्षेत्राधिकार प्राप्त अदालतमा पठाउनुपर्नेमा सो नभै क्षेत्राधिकारविहिन अदालतमा दायर गरेको अभियोग दावी खारेज हुने भनी गरिएको फैसलामा गम्भीर कानूनी त्रुटी हुँदा उक्त फैसला बदर उल्टी गरी पाऊँ भन्ने वादी नेपाल सरकारले यस अदालतमा लिएको पुनरावेदन जिकीर ।
यसमा प्रतिवादी शम्भे नेपालीले नगद रू.२६,५००।– र मोवाइल सेट थान एक चोरी गरी भागेकोले कारवाही गरी पाऊँ भन्नेसमेत जसमाया वि.क.को जाहेरी दरखास्त परेको तथा प्रतिवादीले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष जाहेरवालाको स्याङ्जा जिल्लास्थित घरबाट नगद तथा मोवाईल फोन चोरी गरेकोमा साबित भई गरेको बयानसमेतका आधारबाट स्याङ्जा जिल्ला अदालतमा अभियोगपत्र दायर भएको देखिन्छ । निज प्रतिवादी शम्भे नेपालीले अदालतसमक्ष बयान गर्दा जाहेरवालाको छोरीको काठमाडौं स्थित गेष्ट हाउसको काउन्टरबाट रू.२५००।– र सिरानीमुनीको रू.३०००।– तथा मोवाईल सेटसमेत चोरी गरी भागेको हुँ भनी बयान गरेको अवस्थामा काठमाडौं जिल्लामा चोरी भएको वारदात स्थापित भएको भन्ने निष्कर्षमा पुगी स्याङ्जा जिल्लाको क्षेत्राधिकारभित्र नपरेको भनी अभियोगदावी खारेज गर्ने गरी भएको शुरू स्याङ्जा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत, पोखराबाट सदर भएको पाइन्छ । यसरी प्रतिवादीले आफूले चोरीको कसूर गरेको तथ्यमा अदालतमा समेत साबित भईरहेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २९(७) नं. बमोजिम बेइलाकाको अड्डामा नालिस पर्न आएको भएपनि इलाकाको अड्डामा पठाई कारवाही गर्न सकिने कानूनी व्यवस्था हुँदाहुँदै सोतर्फ विचार नगरी अभियोग दावी नै खारेज गर्ने गरेको पुनरावेदन अदालत, पोखराको इन्साफमा मुलुकी ऐन, अदालती बन्दोबस्तको २९(७) नं. को व्याख्यात्मक त्रुटी विद्यमान रहेको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा मुद्दा दोहो¥याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६८।११।१९ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री महेश थापाले प्रतिवादी शम्भे नेपालीले अदालतसमक्ष बयान गर्दा जाहेरवालाको छोरीको काठमाडौंस्थित गेष्ट हाउसको काउन्टरबाट रू.२५००।– र सिरानीमुनीको रू.३०००।– तथा मोवाईल सेटसमेत चोरी गरी भागेको हुँ भनी चोरी गरेको तथ्यमा साबिति बयान गरेको अवस्था छ । प्रतिवादीको अदालतको बयान तथा जाहेरवालाको अदालतको बकपत्रको आधारमा काठमाडौं जिल्लामा चोरी भएको वारदात स्थापित भएको भन्ने निष्कर्षमा पुगी स्याङ्जा जिल्लाको क्षेत्राधिकारभित्र नपरेको भनी अभियोगदावी खारेज गर्ने गरी भएको शुरू स्याङ्जा जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत, पोखराबाट सदर भएको पाइन्छ । यसरी प्रतिवादीले आफूले चोरीको कसूर गरेको तथ्यमा अदालतमा समेत साबित भई रहेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २९(७) नं. बमोजिम बेइलाकाको अड्डामा नालिस पर्न आएको भएपनि इलाकाको अड्डामा पठाई कारवाही गर्न सकिने कानूनी व्यवस्था हुँदाहुँदै सोतर्फ विचार नगरी अभियोग दावी नै खारेज गर्ने गरेको पुनरावेदन अदालत, पोखराको इन्साफमा मुलुकी ऐन, अदालती बन्दोवस्तको २९(७) नं. को व्याख्यात्मक त्रुटी विद्यमान भएकोले उक्त फैसला बदर उल्टी गरी अभियोग दावी बमोजिम सजाय गरी पाऊँ भनी गर्नु भएको बहससमेत सुनियो ।
यसमा प्रतिवादी शम्भे नेपालीले जाहेरवालाको स्याङ्जा जिल्ला खिलुङ्गदेउरालीस्थित घरमा मिति २०६५।११।२९ गते राती बिगो रू.३३,०००।– को (नगद र मोवाईल सेट) धनमालसमेत चोरी गरेकोले चोरीको महलको १ र ३ नं. को कसूरमा ऐ.को १४(१) नं. बमोजिम दोस्रो पटक कायम गरी सजाय गरी पाऊँ भन्ने अभियोग मागदावी रहेकोमा प्रतिवादीले शुरू अदालतमा बयान गर्दा जाहेरवालाको छोरीको काठमाडौं गोंगबु नयाँ बसपार्कमा न्यू कोशी गेष्ट हाउसमा काम गर्ने क्रममा गेष्ट हाउसको काउन्टरमा रहेको नगद रू.२५००।– दुई हजार पाँचसय र सो गेष्ट हाउसको मेनेजरको विस्तराको सिरानीमुनी रहेको नगद रू.३०००। (तीनहजार) र नोकिया मोवाईल सेट १ मिति २०६५।११।२७ गते चोरी भागेको हुँ । जाहेरवाला जसमाया वि.क.को घरबाट केही चोरी गरेको होईन भनी उल्लेख गरेको पाईन्छ । जाहेरवाला जसमाया वि.क.ले जाहेरी दिँदा स्याङ्जा जिल्लामा वारदात भएको भनी उल्लेख गरेको भएतापनि शुरू जिल्ला अदालतमा बकपत्र गर्दा मिति २०६५।११।२७ मा प्रतिपादीले मोवाईल र नगद काठमाडौं गेष्टहाउसमा छोरा दिपक गहतराज कहाँबाट चोरी गरेको भनी काठमाडौंमा चोरी भएको कुरा उल्लेख गरी बकपत्र गरेको समेतका मिसिल प्रमाणबाट प्रतिवादी शम्भे नेपालीले काठमाडौंस्थित वारदातस्थलवाट चोरी गरेको भन्ने निज प्रतिवादीको अदालतसमक्षको बयान समर्थित भईरहेको देखियो ।
माथि विवेचित आधार प्रमाणबाट प्रस्तुत मुद्दामा प्रतिवादीले काठमाडौं जिल्लाको वारदातस्थलवाट चोरी गरेको तथ्य स्थापित भएको र स्याङ्जा जिल्लामा प्रस्तुत मुद्दाको शुरू कारवाहीको उठान भएकोमा क्षेत्राधिकारको विषयलाई लिई प्रस्तुत मुद्दा खारेज गर्ने गरी शुरू स्याङ्जा जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत, पोखराले सदर गरेउपर वादी नेपाल सरकारले उक्त मुद्दा दोहोर्याई हेर्न माँग गरेकोमा निस्सा प्रदान भएको देखियो । जाहेरवालाको अदालतसमक्षको बकपत्र र प्रतिवादीले शुरू जिल्ला अदालतमा बयान गर्दासमेत प्रस्तुत वारदात स्याङ्जा जिल्लामा घटेको नभई काठमाडौं जिल्लाअन्तर्गतको वारदात भनी खुलाएको देखिन आएको र प्रस्तुत मुद्दा नकबजनी चोरी भएकोले अदालती बन्दोवस्तको महलको २९नं.को देहाय २ बमोजिम ईलाकाको अड्डा अर्थात् काठमाडौं जिल्ला अन्तर्गतको देखिन आयो ।
अब एक अड्डामा दायर हुनुपर्ने मुद्दा अर्को अड्डामा दर्ता गरेको अवस्थामा अदालती बन्दोवस्तको २९नं.को देहाय ७ बमोजिम क्षेत्राधिकारप्राप्त अदालतमा पठाउनुपर्ने भनी वादी पक्षले जिकीर लिएको देखिएकोले सो प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. अदालती वन्दोवस्तको २९ नं. को देहाय ७ हेर्दा “इलाका बाहेक बेईलाकाको अड्डामा फिरादपत्र दिन ल्याएमा ईलाका पर्ने फलाना अड्डामा जानु भनी सो फिरादपत्रको पीठमा लेखी छाप लगाई तुरून्त फिर्ता दिनुपर्छ । ऐनबमोजिमको म्यादभित्र दिन ल्याएमा ईलाकाको अड्डावाट सो दरपीठ भएकै फिरादपत्र दिए पनि लिई मुद्दा हेरी दिनुपर्छ । फिरादपत्र दर्ता भैसकेपछि माथि दफा दफामा लेखिए बमोजिम अरू अड्डामा पठाउँदा पनि तारेखमा रहने झगडियालाई तारेख तोकी जुन अड्डावाट सो मुद्दा हेर्नुपर्ने हो सो अड्डाबाट बुझी कानूनबमोजिम गर्नु भनी अड्डाको लेखोटसाथ पठाउनुपर्छ । अड्डाले पनि सो आएको मुद्दा बुझी आफूले हेर्नु नपर्ने भए तापनि फिर्ता गर्नु हुँदैन । बाधा परे आफ्नो पुनरावेदन सुन्ने अड्डामार्फत जाहेर गरी निकासा भई आएबमोजिम गर्नुपर्छ । निकासा दिने अड्डाबाट पनि ऐनबमोजिम जो मनासिब हो तोकी पठाई दिनुपर्छ ।” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलको सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था भएको देखिन्छ । साथै अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमति वा कुनै पक्षले घटाउन बढाउन वा परिवर्तन गर्न सक्ने विषय होईन । इलाकाको अड्डाबाट हेर्न पर्ने भनी मुद्दा नै किटान गरी तोकेका मुद्दाहरूमा कानूनको मनसायविपरीत काठमाडौंको इलाकामा घटेको वारदातलाई जाहेरी दिँदा सो तथ्य नै लुकाई स्याङ्जा जिल्लाको ईलाकामा घटेको बनाई जानी जानी अन्यत्र अड्डामा मुद्दा दर्ता गर्न पीडित पक्षको भूमिका समेत, मुद्दा उठानको क्रममा स्वभाविक नदेखिएकोले अड्डाको गल्तीले अर्को ईलाकामा मुद्दा दर्ता भएको भन्ने पनि रहेन । अदालती बन्दोवस्तको २९नं.को देहाय ७ फिरादपत्रबाट दायर हुने प्रकृतिका केही मुद्दामा आकर्षित हुने देखिए तापनि अ.बं.को २९नं.को देहाय २ को किटानीरूपमा उल्लेख गरेका फौजदारी मुद्दा खास गरी अभियोगपत्रबाट दायर हुने मुद्दाका सन्दर्भमा भने आकर्षित हुने भन्न मिलेन । त्यसकारण, क्षेत्राधिकार बिहीन अदालतमा दायर गरेको अभियोग दावी खारेज गर्ने ठहर्याएको शुरू स्याङ्जा जिल्ला अदालतको मिति २०६६।२।१९ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६६।१२।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन ।
उक्त रायमा सहमत छु ।
न्या.प्रा.डा.भरतबहादुर कार्की
इति संवत् २०७० भदौ १८ गते रोज ३ शुभम् .............................................
इजलास अधिकृत M हर्कबहादुर क्षेत्री