शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४४८ - उत्प्रेषण

भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक:

निर्णय नं. ४४४८    ने.का.प. २०४९ ()  अङ्क १

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको रि.पु.इ.नं. ४५

आदेश भएको मिति : २०४८।१२।११।३ मा

निवेदक/प्रत्यर्थी: का.न.पं. वा.नं. ७ बस्ने चिरन्जिवीप्रसाद रिमाल

विरुद्ध

विपक्षी/रिट निवेदक: ऐ.ऐ. बस्ने ऋषिराम रिमाल

विषय : उत्प्रेषण

(१)    मोहियानी हकको घर जग्गा एकपटक आफूले छोडपत्र गरी सकेपछि पुनः सोही घर जग्गाको मोहियानी हकमा रिट निवेदकले दावी गर्न सक्ने स्थिति नरहने ।

(प्रकरण नं. १३)

(२)   भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था अनुसार पक्की घर सहितको मोहियानी हकको घर जग्गा मोहिले बेचविखन गर्न वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सक्ने ।

(प्रकरण नं. १३)

निवेदक/प्रत्यर्थीतर्फबाट      : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

आदेश

प्र.न्या.विश्वनाथ उपाध्याय

१.     श्री ५ महाराजाधिराज सरकारको हजूरमा मुद्दा दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ । भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।४।२३ मा तोक लागी आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    चावेल गा.पं. वा.नं. ७(ख) कि.नं. ११६ कित्ताकाट भई कि.नं. ३७५ र ३७६ को जम्मा जग्गा रोपनी ०३ को जोताहा मेरो पिताजी गणेशप्रसाद रिमाल हुनु भएको हुँदा उहाँ ०२५ सालमा परलोक हुनु भएकोले मेरो नाउँमा जोत नामसारी गरिपाउँ भन्ने मेरो उजुरी ।

३.    विपक्षी चिरन्जिवीले पनि साविक कि.नं. १११ र ११६ को जोताहा मेरो दाजु गणेशप्रसाद परलोक भई हकदार छोरा ऋषिरामले मलाई छोडपत्र गरी दिनु भएकोले मेरो नाउँमा जोत कायम गरिपाउँ भन्ने विपक्षी चिरंजिवीप्रसाद रिमालको उजुरी ।

४.    जग्गावाला बुझिएकोमा ऋषिरामलाई मोही पत्याई बयान समेत गरिदिएकोमा भू.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार हकदार छोरा छँदाछँदै भाइ चिरंजीवीप्रसाद रिमालका नाउँमा मोहियानी सर्ने व्यवस्था नभएको र नाउँसारी गरिपाउँ भन्ने छोरा ऋषिराम रिमालले पहिला नै छोडपत्र गरिदिइसकोले छोडपत्र गरी दिइसकेकोले छोडपत्र दिइसकेको कुरामा दावी पुग्न नसक्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी ०४०।२।१५ मा भू.सु.का. काठमाडौंबाट भएको निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(१) तथा अ.बं. ८२ नं. र अ.बं. १८० नं. को प्रतिकूल हुनुको साथै प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत विपरीत हुन गएको र संविधानको धारा १०(१), ११(२)(ङ)र धारा १५ ले प्रदत्त हकमा समेत आघात पुग्न गएकोले विपक्षी भू.सु.अ. ज्यूबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई कानुन बमोजिम हक प्राप्त व्यक्तिको उजुरीमा कारवाही किनारा गर्नु भनी परमादेशको आदेश जारी गरी संवैधानिक तथा कानुनी हकको प्रचलन कायम गराई पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ ।

५.    विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने स.अ. सिंगलबेञ्चको आदेश ।

६.    रिट निवेदकको दावीका सम्बन्धमा पहिले नै छोडपत्र गरी दिइसकेकोले यसरी छोडपत्र गरी सकेको कुरामा पुनः दावी पुग्न सक्ने नहुँदा भूमिसम्बन्धी ऐन नियम बमोजिम अधिकार प्राप्त अधिकारीबाट भएको निर्णय कानुनसंगत नै हुँदा रिटनिवेदन खारेज हुनु पर्ने सविनय अनुरोध गर्दछु भन्ने समेत भू.सु.का. को लिखितजवाफ रहेछ ।

७.    बसोवासको कि.नं. ११ र ११६ को विवादको घर जग्गा समेत अंश भाग रु. ७००।का दरले म बाट बुझी लिई छोडपत्र गरी दिएको सो लिखत पारीत गरी नदिएमा मेरो फिराद परी २०३२।१।३१।४ मा लिखत पारीत हुने ठहरी २०३३।५।६ मा भू.प्र.का. बाट पारीत भई रिट निवेदकको हक छुटिई सकेको छ, भूस्वामित्वाधिकारको निर्विवाद हक स्थापित बेगर ऋषिरामको संविधान प्रदत्त मौलिक हकाधिकार निजको छ भन्न नसकिने र सोमा आघात भएको छ भन्ने रिट उजुरी खारेज गरिपाउँ भन्ने चिरन्जीवीप्रसाद रिमालको लिखितजवाफ ।

८.    विवादको जग्गा निवेदकले चिरन्जीवीप्रसादलाई छोडपत्र गरिदिएको हामीलाई थाहा छैन । भू.सु. ऐन अनुसार निवेदककै नाममा नामसारी हुनु पर्ने हो भन्ने समेत व्यहोराको रामजीप्रसाद न्यौपानेको लिखितजवाफ रहेछ ।

९.    यसमा भू.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार दाजु परलोक भएपछि हकदार छोरा छँदा छँदै भाइ चिरन्जीवीप्रसाद रिमालका नाउँमा मोहियानी सर्ने व्यवस्था नभएको र नाउँसारी गरिपाउँ भन्ने छोरा ऋषिराम रिमालले पहिला नै छोडपत्र गरी दिइसकेकोेले छोडपत्र गरी सकेको कुरामा दावी पुग्न नसक्ने हुँदा यो मुद्दा खारेज हुने ठहराई भू.सु.का. ले निर्णय गरेको देखिन्छ । यसरी अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिटनिवेदन पत्र खारेज हुने ठहर्छ भन्ने मिति २०४१।४।५ को यस सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।

१०.    श्री ५ महाराजाधिराजबाट उक्त निर्णय नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई दिनु भन्ने हुकुम बक्स भई आए बमोजिम पेश हुन आएकोमा कि.नं. ३७५ र ३७६ को जग्गाको मोही रिट निवेदकका बाबु गणेशप्रसाद रिमाल भएकोमा विवाद देखिएन । भू.सं. ऐनको दफा २६(क) ले छोडपत्रको आधारमा मोहियानी हक समाप्त हुन नसक्ने । मोहिका छोरा ऋषिराम रिमालको नाममा मोहियानी नामसारी हुने वा नहुने निर्णय गर्नु पर्नेमा सो नगरी दाजु परलोक भएपछि छोरा छँदा छँदै भाई चिरन्जीवीप्रसादका नाममा मोहियानी सर्ने व्यवस्था नभएको र नामसारी गरिपाउँ भन्ने छोरा ऋषिराम रिमालले पहिला नै छोडपत्र गरी दिइसकेको दावी पुग्न नसक्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी ०४०।२।१५ मा भू.सु.का. काठमाडौंले गरेको निर्णय त्रुटिपूर्ण देखिँदा रिटनिवेदन खारेज गर्ने गरेको स.अ. डिभिनजबेञ्चका निर्णय मिलेको देखिएन । अतः भू.सु.का. काठमाडौंले गरेको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब कानुन बमोजिम निर्णय गर्नु भनी भू.सु.का. काठमाडौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत पूर्णइजलासको मिति २०४२।३।२८।६ को निर्णय आदेश ।

११.    श्री ५ महाराजाधिराज सरकारका हजूरमा निवेदक प्रत्यर्थी चिरन्जीवी रिमालले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आए अनुसार नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रत्यर्थीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले विवादको जग्गा घर सहितको जग्गा हो । अंश वापत रिट निवेदक समेतले छोडपत्र गरी दिएको हो । सो छोडपत्र पास गराई पाउँ भन्ने मुद्दा परी काठमाडौं जिल्ला अदालतको ०३३।१।२३ को फैसला बमोजिम ०३३।५।६ मा छोडपत्र पास भएको छ सो फैसला लिखत बदर गराउन सकेको छैन । घर सहितको जग्गा रिट निवेदकका नाउँमा मोही नामसारी हुन सक्दैन । तसर्थ रिटनिवेदन खारेज हुनुपर्दछ । सर्वोच्च अदालत पूर्णइजलासको फैसला मिलेको छैन भन्ने समेत बहस गर्नु भयो ।

१२.   विपक्षी भू.सु.का. तर्फबाट बहस गर्न उपस्थित हुनु भएको विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले फुलबेचको निर्णय अनुसार निर्णय हुन बाँकी नै छ । रिट निवेदकको नाममा मोही हक आएकै छैन । निजले छोडपत्र गर्न सक्ने होइन तसर्थ पूर्णइजलासको निर्णय सदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो ।

१३.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत विषयमा निर्णयतर्फ विचार गर्दा चाबेल गा.वि.स. वार्ड नं. ७(ख) कि.नं. ११६ कित्ताकाट भई कायमी कि.नं. ३७५ र ३७६ समेतको जग्गाको जोताहा मोही गणेशप्रसाद रिमाल भएकोमा विवाद छैन । गणेशप्रसादको २०२५ सालमा निधन भएकोले मेरो नाउँमा मोही नामसारी गरिपाउँ भनी ऋषिरामले र सो घर जग्गा गणेशप्रसाद परलोक भइसकेपछि निजको हकदार छोरा ऋषिराम समेतले मलाई छोडपत्र गरी दिनु भएकोले मेरो नाममा जोत नामसारी गरिपाउँ भनी चिरन्जीवीप्रसादले छुट्टाछुट्टै निवेदन भू.सु.का. काठमाडौंमा दिएकोमा ऋषिरामले पहिले नै छोडपत्र गरी दिइसकेकोले छोडपत्र गरी सकेको कुरामा दावी पुग्न नसक्ने भन्ने समेत आधारमा मुद्दा खारेज हुने ठहर्‍याई भू.सु.का. बाट निर्णय भए उपर प्रस्तुत रिटनिवेदन पर्न आएको देखिन्छ । गणेशप्रसाद रिमालको छोरा रुद्रप्रसाद र ऋषिरामले अंश हक वापत जनही रु. ७००।का दरले बुझी लिई मोहियानी हकको घर जग्गा चिरन्जीवीप्रसादलाई मिति २०३२।१।३१ मा छोडपत्र लिखत गरिदिएको र सो लिखत पारीत गरी नदिएकोले पारीत गरिपाउँ भनी चिरन्जीवीले यी रिट निवेदक ऋषिराम समेत उपर नालेश गरेकोमा दावी बमोजिम लिखत पारीत हुने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट मिति २०३३।१।२३ मा फैसला भई अन्तिम रुपमा रहेको र सो फैसला बमोजिम मिति २०३३।५।६ मा लिखत पारीत समेत भइसकेको देखिन्छ । यसरी मोहियानी हकको घर जग्गा एकपटक आफूले छोडपत्र गरी सकेपछि पुनः सोही घर जग्गाको मोहियानी हकमा यी रिट निवेदकले दावी गर्न सक्ने स्थिति रहन्न । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था अनुसार पक्की घर सहितको मोहियानी हकको घर जग्गा मोहिले बेच विखन गर्न वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सक्ने स्पष्ट छ । यसर्थ आफूले एकपटक छोडपत्र गरी सकेको र सो छोडपत्र अदालतको फैसला बमोजिम पारीत भइसकेको देखिँदा सोही विषयमा यी रिट निवेदकको दावी पुग्न नसक्ने हुँदा रिटनिवेदन खारेज हुने ठहर्‍याएको हदसम्म सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४१।४।५ को निर्णय मनासिब ठहर्छ । निवेदकको माग बमोजिमको आदेश जारी गर्ने गरेको पूर्णइजलासको मिति २०४२।३।२८ को निर्णय मिलेको देखिएन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.ओमभक्त श्रेष्ठ,

न्या.मोहनप्रसाद शर्मा,

न्या.केशवप्रसाद उपाध्याय,

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४८ साल चैत्र ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु