शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५६३ - धर्मलाप

भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक:

निर्णय नं. ८५६३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री सुशीला कार्की

२०६४ सालको दे.पु.नं. ३५६

फैसला मितिः २०६६।१२।१०।३

मुद्दा :धर्मलोप 

पुनरावेदक वादीः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ बस्ने ज्ञानेन्द्ररत्न        तुलाधर

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ असन न्हैकन्तला     बिहारटोल बस्ने रेशमान तुलाधर समेत

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री विनोदमोहन आचार्य

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या. श्री जगदीश शर्मा पौडेल

 

§  गुठीका गुठियारहरूको प्रमुख उद्देश्य अघिदेखि चली आएको पूजाआजा चलाई सामूहिक रुपले थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डीकरण गरी गुठीको सनातनदेखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यताविपरीत हुने 

§  गुठीको एउटै जग्गा एकाको नाउँमा हक कायम हुँदा गुठी कायम हुने र अर्काको नाउँमा हक कायम हुँदा गुठी नहुने भनी अर्थ गर्न समेत मिल्दैन । अतः उक्त जग्गाको साविकको हकको स्रोत एवं २०५४ सालमा भएको मिलापत्र समेतबाट वादी प्रतिवादीहरू दुवै पक्षको हक कायम भएको जग्गाको साविकको स्रोत र स्रेस्ता नै परिवर्तन हुने आधार नदेखिँदा सो जग्गा गुठी नै कायम हुने गरी जग्गाको आयस्ताबाट सनातनदेखि चली आएको पर्व पूजालाई निरन्तरता दिनुपर्ने 

(प्रकरण नं.५)

§  गुठीको मूल उद्देश्यलाई प्रतिकूल असर नपर्ने गरी गुठियारले गुठीको सम्पत्तिउपर आफ्नो दायित्व बोध गर्नसम्म मिल्ने देखिए तापनि गुठीलाई नै मास्ने वा गुठीको मान्यता र प्रयोजनविपरीत हुने कुनै कामकारवाही गर्न गुठियार स्वतन्त्र हुन्छन् भन्न गुठीको जग्गाको प्रकृतिबाट समेत नमिल्ने 

(प्रकरण नं.६)

§  गुठियारहरू मध्ये कसैको भाग बाँकी राखी बाँकीले तजवीज गर्दै जाने गर्दा कालान्तरमा गुठीको एकत्व जोगाउन नसक्ने गरी खण्डित र विलय हुने अवस्था सिर्जना हुन जान्छ । गुठीको सम्पत्तिको संरक्षण र गुठियारहरूको हितको संयुक्तता नै गुठीको मुख्य मर्म हुन्छ । गुठीको सम्पत्ति क्षयीकरण गुठीको उद्देश्यभित्र पर्न सक्दैन । आफूखुशी गुठीको जग्गा विक्री गर्ने कार्यले गुठीको आधारभूत प्रयोजन समाप्त हुन जाने 

§  कुनै एक पक्षले मात्र अर्को पक्षको सहमतिबेगर गुठी जग्गामध्ये केही भागको हकमा गुठी जग्गा रैकरमा परिणत गरी अक्षयकोष खडा गर्ने र केही भागको हकमा गुठी जग्गा नै यथावत् राखी गुठी जग्गा खण्डिकरण गरी रुपान्तरण गर्न मिल्ने देखिएन । यस्तो विषयमा प्रचलित कानूनबमोजिम गुठीको उद्देश्यविपरीत नहुने गरी गुठियारहरूबाट उपयुक्त निर्णय गर्न सकिने भएतापनि गुठियारहरू नै विभाजित भई गुठीको सम्पत्ति नै खण्डित गरी विभिन्न रुप दिन नमिल्ने 

(प्रकरण नं.८)

§  गुठी सञ्चालन गर्ने उद्देश्य र प्रयोजनको निमित्त आफ्ना पूर्खाहरूद्वारा राखिएको जग्गा मिलापत्रबाट नै हक छुट्टी सकेको अवस्थामा सोही जग्गाउपर नामसारी दा.खा. समेतको दावी लिई पुनः विवाद सिर्जना गर्नु गुठीको उद्देश्यविपरीत हुन जाने 

(प्रकरण नं.११)

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री विश्वप्रकाश भण्डारी र श्री मुक्ति प्रधान

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री बद्रीप्रसाद शर्मा र श्री सुशीलकुमार पन्त

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

फैसला

न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            हाम्रा पिता पूर्खाले विभिन्न गुठी चलाउन राखेका जग्गाहरू मध्ये नापी हुँदा निजी गुठी जनिई विपक्षीको नाउँमा नाप नक्सा भएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२०(घ) कि.नं.५९ र ६० को क्षेत्रफल क्रमशः २० र १० जग्गा कुलधर १, हर्क नारा १, भाजुमनी १ र हेलथकू उदासनी १, समेतका नाममा दर्ता रहेकोमा हेलथूकको निधन पश्चात् निजको हकमा निजको छोराहरू मेरा पिता जगतरत्न १ र विपक्षीमध्येका काका रेशमान १ समेतका २ जनाको हक स्थापित भएको थियो । उहाँहरूको बीचमा मिति २०१०।२।२७ मा अंशबण्डा हुँदा अबण्डा गोश्वारा राखिएको थियो । मेरो पिताको २०३३।४।११ मा निधन भएपश्चात् मालपोत कार्यालय काठमाडौंबाट मिति २०३८।१०।८ मा निर्णय गराई उक्त जग्गा विपक्षी काका रेशमानले आफ्नो नाउँमा मात्र नामसारी दर्ता गराई लिए । उक्त जग्गाको विषयमा अदालतमा निर्णय दर्ता बदर हक कायम, जालसाजी, लिखत बदर समेत मुद्दा चलेकोमा उक्त जग्गा ८ भागको १ भाग म फिरादी समेतका नाउँमा हक कायम दर्ता गर्ने गरी निजी गुठी यथावत कायम राखी मिति २०५४।१०।१५ मा मिलापत्र भएको थियो । मिलापत्रअनुसार म फिरादीको हक स्वामित्व निहित रहेको कि.नं. ५९ र ६० को २ कित्ता जग्गाको आयस्ताबाट पूर्खौली दँपा गुठीको गुठीयारहरूले प्रत्येक वर्ष श्रावण महिना भरी आआफ्ना स्वर्गीय पूर्खाहरूको सम्झनामा आर्यमहाप्रतिसरा महाविधाराजमहामानशुत्र भन्ने अर्को आर्यमहासाह्रसुप्रमर्ध्दनीको महायान सुत्रको पूजा पाठ गर्ने र वहाः पूजा सिन्हापूजा गर्ने र अन्तमा समापन पूजा आफैले एकलौटी खाने । काठमाडौं जिल्ला अदालतमा भएको मिलापत्रअनुसार गुठी कायम नगरी निजी गुठी पनि नजनाई स्थाई जग्गाधनी प्रमाणपूर्जा लिई विक्री वितरण गर्ने ग्राहक खोजी हिड्ने आदि कार्य विपक्षीहरूले गरी रहनु भएको, गुठीको महलको ३ नं. मा बेचबिखन दानदातव्य गरी वा जम्मै भोग धितो राखी वा लिखत बमोजिमको काम समेत नगरी धर्मलोप गर्नु हुँदैन । सन्तान हकदारहरूले लिखत बमोजिमको काम चलाएन वा खान पाउने शेष भोग धितो देखि वाहेक बेचबिखन दानदातव्य र अरु जम्मै गुठी वेच लिखत दानदातव्य वा भोग धितो समेत गरी धर्मलोप गर्‍यो भने त्यसलाई सो गुठीको पालो आउँदैन र ऐ. को ४ नं. मा धर्मलोप गर्नेलाई खारेज गर्ने र ऐ. का ६ नं. मा गुठीयारले गुठीको सम्पत्ति नासे मासेकोमा धर्मलोप गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था छ । विपक्षीहरू उपर उक्त जग्गा विक्री वितरण गर्न लागेकोले रोकी पाऊँ भनी पुनरावेदन अदालत पाटनमा निषेधाज्ञा मुद्दा कारवाहीयुक्त अवस्थामा छ । मैले नै हालसम्म उक्त जग्गाको आयस्ताबाट गुठी पूजापाठ गरी धर्मसंस्कार अनुसार गुठी सञ्चालन गरी आइरहेको छु । गुठीको पूजापाठ नगरी आफ्नो धर्म संस्कार लोप गर्ने विपक्षीहरूको कार्यलाई गुठीको महलको ३, ४ र ६ नं. अनुसार धर्मलोप ठहर्‍याई निजहरूलाई गुठी संस्थान ऐन, २०३३ को दफा ५७ अन्तर्गत हदै सम्मको सजाय गरी उक्त कि.नं. ५९ र ६० समेतका २ कित्ता निजी गुठीको म फिरादी समेतका धर्मलोप नगर्नेहरूको नाममा दर्ता हुने ठहर्‍याई नामसारी गरी हक इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको ज्ञानेन्द्ररत्न तुलाधरको फिराद दावी 

            विपक्षी निवेदक भई दिएका निषेधाज्ञा मुद्दा र प्रस्तुत फिराद समेत तत् तत् अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । फिरादमा उल्लिखित कि.नं. ५९ र ६० को जग्गा गुठी जनिई विपक्षीको भाग हिस्सा जति अंकित भएको भन्ने कुरा फिरादमा स्वीकार गरिएकै छ । निजी गुठीको काम श्रावण महिनामा दँपा गुठीका गुठीयारहरूले आलोपालोमा आर्यमहाप्रतिसार महाविधाराज महायान सुत्रभन्ने र अर्को आर्यमहासारा सुप्रदर्मीनी महायानशुत्रको पाठ गरी अन्तमा समापन पूजागर्ने कार्य हामीले गरी आएका छौं । विपक्षीबाट सर्वप्रथम आफ्नो हक र गुठी नदेखाई नजनाई अन्यथा गर्न लागे भनी मालपोत कार्यालयलाई र त्यस जग्गामा हाल नगर विकास योजना लागू भएकोले सो समेतलाई प्रत्यर्थी कायम गरी हामी समेतका उपरमा मुद्दा नं. ४२१ को निषेधाज्ञा मुद्दा पुनरावेदन अदालतमा विचाराधीन छ । ती मुद्दामा अन्तरिम आदेशको माग भएकोमा हामीलाई समेत बोलाई छलफल हुँदा अन्तरिम आदेश भएन । वादी हुने विपक्षीले आफ्नो दावी प्रमाणित गर्न सक्नु पर्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा २६ मा छ । सो बमोजिम कुन सालमा कसले के गरे ? भन्न नसकी गुठीको काम सम्पन्न श्रावणमा भएपछि पौषमा सो मुद्दा उक्त विविध कारणले दिएको समेतको आधारबाट अ.वं. १८० नं. बमोजिम खारेज गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादी रेशमान तुलाधर समेतको प्रतिउत्तर जिकीर 

            “दँपा गुठीवादी पक्ष ज्ञानेन्द्ररत्न तुलाधरले चलाई आएको, आयस्था पनि वहाँले नै लिई रहनु भएको छ । देवता गुठी सञ्चालन गर्ने ज्ञानेन्द्ररत्न तुलाधरको घरमा छ, थाहा भएअनुसार लगातार ५ वर्ष ज्ञानेन्द्ररत्नले गुठी चलाउँदै आई रहनु भएको छ । प्रतिवादीहरूले गुठी सञ्चालन गरेका छैनन् । निजहरूले गुठीबाट भएको आयस्था गुठीमा नलगाएकोले वादी ज्ञानेन्द्ररत्न तुलाधरले गुठी चलाउँदै आएको हो । मैले सुन्नामा आए अनुसार प्रतिवादीहरूले निजी गुठीको जग्गा विक्री गर्न खोजेको हो । निजी गुठीको जग्गा विक्री गर्न खोज्नु आफ्नो गुठी नचलाउनु धर्मलोप नै हो भन्ने समेत व्यहोराको वादीका साक्षी गोर्की श्रेष्ठले गरेको बकपत्र 

            विवादित जग्गा आआफ्नो पालामा गुठी सञ्चालन गर्ने हो र गर्दै आइरहेको छ , श्रावण महिनामा वुद्ध भगवानको पूजा गर्दै आएको हो । यसमा कुनै धर्मलोप गर्ने कार्य गरेको छैन । वादी ज्ञानेन्द्ररत्न तुलाधरले नै आफ्नो पालामा झै झगडा गर्दै आएको र विवादित गुठीको नाम दँपा हो कति वटा देवता छन् मलाई थाहा छैन । यो चाहीँ पूर्खाहरूको पूजा गर्नको लागि राखिएको जग्गा हो । त्यस मध्ये रेशमान तुलाधरको आधा भाग खाने ज्ञानेन्द्ररत्न तुलाधर, महेन्द्ररत्न तुलाधर र ज्ञानेन्द्ररत्न तुलाधरको आमा हुनुहुन्छ । म गुठीमा भोज खान गएको छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी राजकुमार अमात्यले अदालतमा गरेको बकपत्र 

            यी प्रतिवादीहरूले उक्त दँपा नामका निजी गुठीको महलको ३ र ४ नं. एवं गुठी संस्थान ऐन, २०३३ को दफा ५७ बमोजिम दँपा निजी गुठी धर्मलोप गरेको ठहर्छ । यी प्रतिवादीहरूलाई सो गुठी पूर्ववत् रुपमा सञ्चालन गर्न र गर्न लगाउनु पर्ने हुँदा जरीवानातर्फ अरु केही बोलिरहनु नपर्ने ठहर्नुका साथै साविक कि.नं. ५९ र ६० हाल कि.नं. ७७ र १२०१ को जग्गा दर्ता गरिपाऊँ भन्ने वादीको अर्कोदावी रहे तर्फ हेर्दा, सो जग्गामा हाल पनि यी वादीको दर्ता एवं केही हक निहित रही रहेकै देखिँदा त्यस तर्फको फिराद वादीका हकमा अरु विचार गरी रहन नपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।५।११ को फैसला 

            मेरो फिराद दावी अनुसार धर्मलोप गर्ने विपक्षीहरूलाई गुठीको पालो नपाउने गरी हटाउनु पर्नेमा सो नगरी दँपा गुठीमा यथावत गुठियार रहने भनी भएको शुरुको फैसला कानूनसम्मत छैन । विपक्षीहरूको हक स्वामित्व तथा दर्ता खारेज गरी धर्मलोप नगर्ने म फिरादीको नाउँमा मात्र नामसारी दा.खा. दर्ता गरिनु पर्नेमा सो नहुने ठहर्‍याएको शुरुको फैसला त्रुटिपूर्ण छ । मेरो नाउँमा पूरै जग्गा दर्ता नहुने ठहराएको हदसम्म शुरुको फैसला बदर गरी मेरो फिराद दावीअनुसार गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी डा. ज्ञानेन्द्ररत्न तुलाधरको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

            शुरु जिल्ला अदालतले हामीलाई हराई गरेको फैसलामा चित्त बुझेन । विपक्षीको हाँगाको १/८ भाग यथावत राखी हाम्रो ७/८ भागका हामीले सञ्चालनको व्यवस्थाको लागि सरकारी नीति निर्देशनभित्र रही सरकारी कार्यालय मालपोतबाट नै अक्षयकोष व्यवस्था गरी सट्टा पट्टाको लिखत पास गरी अक्षय कोष राखी त्यसको आयस्ताबाट आफ्नो गुठीको नित्यकर्म पाठपूजा चलाई आएका छौं । हामीले धर्मलोप गरेको ठहर गरेको शुरुको फैसला मिलेको छैन । हामीलाई हराइएको हदसम्म शुरुको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रेशमान तुलाधर समेतको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

            यसमा शुरुको फैसलाउपर दुवै पक्षको पुनरावेदन परेको हुँदा एक पक्षको पुनरावेदन अर्को पक्षलाई परस्पर सुनाई लगाउका मुद्दा साथै राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

            जग्गा प्रशासन निर्देशिकाले निर्दिष्ट गरेको व्यवस्था अपनाएर निजी गुठीको नित्य पाठपूजा समेतको व्यवस्थालाई कायमै राखी आफ्नो हक हिस्साको जग्गा रैकर परिणत गरी विक्री वितरण गरेपनि मूलधन मास्न नपाउने गरी अक्षयकोषको व्यवस्था गरेको हुँदा सो कोषबाट प्राप्त हुने व्याज लगायतका आयबाट निजी गुठीको साविक बमोजिम धार्मिक पाठपूजा लगायतका कार्य सञ्चालन हुन सक्ने अवस्था रहेको देखिन्छ । अतः निज प्रतिवादीहरूको कार्यले धर्मलोप भएको नदेखिनुको साथै मिति २०५४।१०।१५ को मिलापत्रको विपरीत समेत भएको अवस्था नदेखिँदा धर्मलोप गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याई फैसला गर्नुपर्नेमा धर्मलोप गरेको ठहर्‍याएको हदसम्म शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।५।१ मा भएको फैसला मिलेको नदेखिँदा सो हदसम्म शुरु फैसला उल्टी भई धर्मलोपको वादी दावी पुग्न सक्दैन । साथै धर्मलोप गरेको नठहरेकाले पुनरावेदक वादीको प्रतिवादीहरूलाई गुठीको पालोबाट हटाई पाऊँ भन्ने समेतको वादी पक्षको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६४।३।१० गतेको फैसला 

            काठमाडौं जिल्ला अदालतको मिति २०६३।५।१ को फैसला उल्टी हुने र मेरो पुनरावेदन जिकीर पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६४।३।१० को फैसला गैरकानूनी एवं त्रुटिपूर्ण छ । विपक्षीहरूले आफ्ना पिता पूर्खाले सञ्चालन गरी आएको दँपा गुठीको निजी गुठीको विवादित जग्गाको आयस्ताबाट गुठी सञ्चालन नगरी नासेर, मासेर जग्गा विक्री वितरण गरी व्यक्तिगत प्रयोजनको लागि खर्च गरेको कार्यलाई विपक्षीहरूले धर्मलोप गरेको मान्नु पर्दछ , अतः काठमाडौं जिल्ला अदालतको मिति २०६३।५।१ को फैसला उल्टी गरी मेरो पुनरावेदन जिकीर पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६४।३।१० को त्रुटिपूर्ण फैसला बदर गरी काठमाडौं जिल्ला अदालतले विपक्षीहरूले धर्मलोप हुने ठहर्‍याएको फैसला सो हदसम्म सदर कायमै राखी विपक्षीहरूलाई गुठीको पालोबाट नहटाउने, जरीवाना नगर्ने र मेरो नाउँमा उक्त २ कित्ताको पुरै जग्गा दर्ता नहुने ठहराएको हदसम्म काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी फिराद दावी अनुसार विपक्षीहरूलाई उक्त गुठीबाट हटाई धर्मलोप गरेको हदसम्म जरीवाना समेत गरी विवादित कि.नं. ५९ र ६० को २ कित्ता पुरै जग्गा धर्मलोप नगर्ने गुठीयार म पुनरावेदकको नाउँमा मात्र नामसारी दा.खा. दर्ता हुने ठहर्‍याई हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक/वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

            यसमा यस अदालतको विशेष इजलासबाट अधिवक्ता प्रकाशमणि शर्मा समेत विरुद्ध नेपाल सरकार समेत भएको उत्प्रेषण परमादेश समेतमा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दाको विवादमा आकर्षित हुने हो वा होइन ? भन्ने प्रश्नको व्याख्या हुनुपर्ने भई पुनरावेदन अदालतको फैसला विचारणीय देखिँदा प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।३।२१ गतेको आदेश 

            नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता विश्व प्रकाश भण्डारी र मुक्ति प्रधानले विवादित कि.नं. ५९ र ६० का २ कित्ता जग्गा गुठीको हो भन्नेमा विवाद छैन । जगतरत्न र रेशमान बीच २०१०।२।२७ मा अंशबण्डा हुँदा केही जग्गा अबण्डा गोश्वारामा राखिएको थियो । विवादित जग्गा त्यही अबण्डा जग्गा हो, उक्त जग्गा विपक्षी/प्रतिवादी रेशमान तुलाधरले मिति २०३८।१०।८ मा मालपोत कार्यालय काठमाडौंंबाट निर्णय गराई आफ्नो नाउँमा मात्र नामसारी दर्ता गराएकाले विपक्षीहरू उपर काठमाडौं जिल्ला अदालतमा निर्णय दर्ता बदर हक कायम, लिखत दर्ता बदर र जालसाजी समेतका मुद्दा चलेकोमा उक्त जग्गाको ८ भागको १ भाग मेरो पक्षले पाउने र निजी गुठी यथावत कायम राख्ने गरी दुवै पक्षबीच काठमाडौं जिल्ला अदालतमा मिलापत्र भएको, विपक्षीहरूले उक्त मिलापत्रको विपरीत उक्त गुठीको जग्गा विक्री वितरण गर्ने र गुठीको पूजा पाठ नगरी धर्मलोप गरेकाले विपक्षी/प्रतिवादीहरूलाई गुठी संस्थान ऐन, २०३३ को दफा ५७ अनुसार कारवाही हुनु पर्दछ । विपक्षीहरूले आफ्नो हकको जग्गाको रकम अक्षयकोषमा राखेकोले धर्मलोप नगरेको जिकीर लिएपनि अक्षयकोष राख्दा सबै गुठियारको सहमति हुनुपर्नेमा हाम्रो सहमति नलिई व्यक्तिको नाममा अक्षयकोष राखेको कार्य कानूनसम्मत छैन । विपक्षीहरूको कार्य मुलुकी ऐन, गुठीको महलको ३, ४ र ६ नं. विपरीत भएको र सर्वोच्च अदालतबाट प्रकाशमणि शर्मा विरुद्ध नेपाल सरकार मन्त्रिपरिषद सचिवालय सिंहदरबार समेत भएको उत्प्रेषण परमादेश मुद्दा (नेकाप २०६४ अङ्क १०, नि.नं. ७८८५ पृष्ठ १२७७) मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई निज विपक्षीहरूले धर्मलोप गरेको प्रमाणित भएको छ । प्रतिवादीहरूले गुठीको सम्पत्ति एवं आयस्ता नै नष्ट गर्ने काम गरेका छन् । मेरो पक्षले आफैले जग्गा खान मुद्दा गरेको होइन । सबैको हितको लागि गुठी चलोस भनेर मुद्दा गरेको हो । अतः पुनरावेदन अदालत पाटनले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो । विपक्षीबाट उपस्थित विद्वान अधिवक्ताहरू बद्रीप्रसाद शर्मा र सुशीलकुमार पन्तले गुठीलाई लोप गरेर अर्कै प्रकृतिको बनाउनु धर्मलोप हो । यहाँ प्रतिवादीहरूले गुठी नै लोप हुने प्रकृतिको कुनै कार्य गरेका छैनन् । प्रतिवादीहरूले आफ्नो भाग तर्फको सम्पत्ति मात्र अक्षयकोषमा राखेकोले निजी गुठी सट्टापट्टाबाट रैंकर गर्ने कार्य धर्मलोपको परिभाषाभित्र पर्दैन । वादी पक्षको भाग बाँकी राखेर अक्षयकोष राखिएको छ । २०५४।१०।१५ मा भएको मिलापत्र बमोजिम ८ भागको १ भाग सम्पत्ति वादीको बाँकी नै छ । अक्षयकोष राखेको लिखतलाई धर्मलोप मान्न मिल्दैन, गुठी मासिएको छैन । गुठीको निरन्तरता कायमै छ । रु.४०,७९,५००।नेपाल बैङ्क लिमिटेडमा राखी अक्षयकोष खडा गरेको अवस्थामा धर्मलोप गरेको भन्ने प्रश्ननै सिर्जना हुँदैन । वादी पक्षको जग्गा यथावत राखी बाँकी जग्गाबाट अक्षयकोष राखेको हुँदा यहाँ अक्षयकोष राख्दा वादीको सहमति लिनु पर्ने अवस्था छैन । तसर्थ वादी पक्षले दावी लिए जस्तो धर्मलोप गरेको नहुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो 

            दुवै पक्षबाट उपस्थित कानून व्यवसायीहरूले गर्नु भएको बहस सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ ? हेरी निर्णय गर्नुपर्ने देखिन आयो 

पिता पुर्खाले गुठी चलाउन जग्गा राखेकोमा विपक्षीहरूले गुठीको उद्देश्यअनुसार पाठ पूजा नगरी आफ्नो धर्म संस्कार लोप गरेकाले मुलुकी ऐन गुठीको महलको ३, ४ र ६ नं. अनुसार धर्मलोप गरेको ठहर्‍याई प्रतिवादीहरूलाई गुठी संस्थान ऐन, २०३३ को दफा ५७ बमोजिम हदैसम्मको सजाय गरी कि.नं. ५९ र ६० समेतका २ कित्ता निजी गुठीको जग्गा म फिरादी समेत धर्मलोप नगर्ने गुठियारहरूका नाममा दर्ता हुने ठहर्‍याई नामसारी गरी हक इन्साफ पाऊँ भन्ने फिराद दावी देखिन्छ । दावी बमोजिम धर्मलोप नगरेकोले फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकीर भएकोमा शुरु काठमाडौं जिल्ला अदालतले दपाँ नामकनिजी गुठी प्रतिवादीहरूले धर्मलोप गरेको ठहराएकोमा पुनरावेदन अदालत पाटनले धर्मलोप गरेको ठहर्‍याएको हदसम्म शुरु काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी धर्मलोपको वादी दावी पुग्न नसक्ने ठहराई भएको फैसलाउपर वादीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा, पोता नं. २४५/२२७ को कि.न.. २३६, १५७, ५९, ६० समेतका जग्गा वादी प्रतिवादीका पूर्खा कूलधर, भाजुमुनी, हर्कनारा, र हेलथकु उदासनी समेतको नाममा दर्ता भएकोमा हेलथकु उदासनीको भागको जग्गा निजको मृत्यु पश्चात् हिरारत्नका छोराहरू अर्थात् हेलथकुका नाती यी पुनरावेदक वादीका पिता जगतरत्न र प्रतिवादीमध्येका रेशमान तुलाधर बीच मिति २०१०।२।२७ मा अंश बण्डा भएको भन्ने देखिन्छ । सो बण्डापत्रमा उल्लिखित विवादित जग्गाहरू गोश्वारामा राखी आलोपालोको रीतले गुठी सञ्चालन गर्ने भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । जगतरत्नको मृत्यु पश्चात् विवादको जग्गा प्रतिवादी रेशमानले आफ्नो नाउँमा एकलौटी दर्ता गराएकोमा यिनै वादी समेतको तर्फबाट जालसाजी निर्णय दर्ता बदर हक कायम समेतका मुद्दाहरू परेकोमा उल्लिखित जग्गामध्ये कि.नं. ५९ र ६० को जग्गाको आठ भागमा एक भाग वादीको हक कायम हुने ठहरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५४।१०।१५ मा वादी प्रतिवादीहरू बीच मिलापत्र भएको देखिन्छ । सो मिलापत्र उपर कसैको दावी विरोध रहेको देखिदैन 

            ३. काठमाडौं जिल्ला अदालतबाट मिलापत्र भएपछि प्रतिवादीहरूको हकमा परेको जग्गा विक्री वितरण गरी प्राप्त रकम अक्षयकोषमा राखी अक्षयकोषको व्याजबाट गुठी सञ्चालन गरी आएको भनी प्रतिवादीहरूको प्रतिवाद जिकीर रहेको देखिन्छ । यस्तो जग्गा विक्री गरी प्राप्त रकम अक्षयकोष राखे उपर गुठीको जग्गा नास्न, मास्न नपाउने र त्यसरी नासे, मासेमा धर्मलोप गरेको ठहर हुने भन्ने कानूनी प्रावधान उल्लेख गरी प्रतिवादीहरूले धर्मलोप गरेकाले उक्त जग्गा आफ्ना नाउँमा दा.खा. समेत गरिपाऊँ भनी वादीले मूल दावी लिएको देखिन्छ । वादी प्रतिवादीहरूको भनाई समेतबाट विवादित कि.नं. ५९ र ६० को जग्गा निजी गुठीको जग्गा भएको तथ्यमा दुवै पक्षले विवाद उठाएको पाईदैन । वादी प्रतिवादीका पुर्खाले दपाः नामक निजी गुठी सञ्चालन गर्न केही जग्गा राखेको र सोही जग्गामा पछि वादी प्रतिवादीहरूले मिलापत्रबाट गुठीमा आआफ्नो हक कायम गराई लिएकोसम्म देखिन्छ । गुठीको सम्बन्धमा रहेको कानूनी प्रावधान हेर्दा गुठी संस्थान ऐन, २०३३ को परिभाषा खण्डको दफा २(ग) मा गुठी भन्नाले कुनै मठ वा कुनै देवी देवताको पर्वपूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला,पाटी, पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग, बगैचा, जंगल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमारत वा संस्था बनाउने चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चलअचल सम्पत्ति वा आयस्था आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनु पर्दछभन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै सोही दफाको खण्ड (च) मा निजी गुठी भन्नाले राजगुठी र छूट गुठी बाहेकको दुनियाको निजी गुठी सम्झनु पर्दछ”  भन्ने उल्लेख भएको पाइदा विवादित जग्गा उल्लिखित ऐनको व्यवस्था बमोजिम दपाँ गुठीनामको निजी गुठी कायम गरी गुठियारहरूले प्रत्येक वर्ष आफ्ना स्वर्गीय पुर्खाहरूको सम्झनामा पूजा पाठ गर्ने भन्ने उद्देश्य राखेको भन्ने देखिन्छ । उक्त कानूनी व्यवस्था बमोजिम आफ्ना पूर्खाहरूले विवादको जग्गा निजी गुठीमा राखेकोमा सो जग्गाको आयस्ताबाट छोरा नातीहरू गुठियारले प्रत्येक वर्ष पुर्खाहरूको सम्झनामा विभिन्न पूजा गर्ने, जग्गाको संरक्षण गरी त्यसको आयस्ताबाट मात्र गुठी सञ्चालन गर्नुपर्ने देखिन्छ 

            ४. दपाँ गुठीनामक उक्त गुठीको जग्गा फिरादीका पिता जगतरत्नको मृत्यु पश्चात् प्रतिवादी रेशमान तुलाधरले मिति २०३८।१०।८ मा आफ्नो नाउँमा एकलौटी दर्ता गरेकोमा यिनै वादी समेतले प्रतिवादी रेशमान समेतलाई विपक्षी बनाई काठमाडौं जिल्ला अदालतमा जालसाजी, लिखत दर्ता बदर, निर्णय दर्ता बदर हक कायम समेतको मुद्दाहरू दायर गरेको देखिन्छ । ती मुद्दामध्ये जालसाजी र लिखत दर्ता बदर मुद्दामा वादी दावी छाडी तथा निर्णय दर्ता बदर हक कायम मुद्दामा कि.नं. ५९ र ६० को दुई कित्ता जग्गामा फिरादीको माग दावी बमोजिम आठ भागको एक भाग जग्गा फिरादीको हक कायम भई सो बमोजिम गुठी नै कायम राखी दर्ता जनिई दर्ता गर्ने गरी मिति २०५४।१०।१५ गते काठमाडौं जिल्ला अदालतबाट मिलापत्र भएको देखिन्छ । उक्त मिलापत्र व्यहोराबाट विवादित जग्गा वादी प्रतिवादीका पूर्खाहरूले राखेको निजी गुठी भन्ने उल्लेख गरी सो जग्गा मध्ये वादीका भागमा ८ भाग को १ भाग जग्गा र प्रतिवादीहरूको भागमा बाँकी सात भाग जग्गाको हक कायम भएकोसम्म देखिन्छ । उक्त मिलापत्र व्यहोरामा विवादित जग्गा गुठीको प्रयोजन र उद्देश्य वाहेक अन्य रुपमा प्रयोग वा उपयोग गर्न छूट दिएको भन्ने देखिएन । मिलापत्रको व्यहोरा समेतबाट गुठीको जग्गामा जुनसुकै गुठियारको हक कायम भएको भएतापनि सो जग्गाको आयस्ताबाट गुठीको उद्देश्यअनुरूप पुजापाठ गरी आफ्नो धर्म संस्कार अनुसार गुठी सञ्चालन गर्नुपर्ने हुन्छ र सोही प्रयोजनको लागि जग्गा गुठीमा दर्ता भएको हुन्छ । कि.नं. ५९ र ६० को जग्गाको आयस्ताबाट पुख्र्यौली दपाँ गुठीका गुठियारहरूले प्रत्येक वर्ष श्रावण महिना भरी आआफ्ना स्वर्गीय पुर्खाहरूको सम्झना आर्य महाप्रतिसरा महाविधाराजमहामानशुत्र भन्ने र आर्यमहासाह्रसुप्रमद्देनीको महायान शुत्रको पुजापाठ गर्ने र वहाः पुजा, सिन्हा पूजा गर्ने र अन्तमा समापन पूजा समेत गर्ने भन्ने गुठीको मूल उद्देश्य रहेको कुरालाई वादी प्रतिवादीले स्वीकार गरेको पाइन्छ 

            ५. गुठीका गुठियारहरूको प्रमुख उद्देश्य अघिदेखि चली आएको पूजा आजा चलाई सामुहिक रुपले स्थिति बन्देजअनुसार भोग चलन गर्न पाउने सम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डिकरण गरी गुठीको सनातन देखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यता विपरीत हुने हुन्छ । मिति २०५४।१०।१५ को मिलापत्रबाट गुठीको सम्पत्तिमा वादी प्रतिवादीको हक कायमसम्म भएको देखिएता पनि सो सम्पत्तिको साविकको स्रोत गुठी देखिएपछि त्यसमा वादी प्रतिवादीको हक कायम भएकै कारणले साविकको स्रोत र स्रेस्ताको हैसियत परिवर्तन हुन सक्ने देखिँदैन । न त अघि देखि चली आएको गुठीको उद्देश्य विपरीत काम गर्ने आधार हासिल भएको मान्न मिल्ने हुन्छ । मिलापत्रमा वादीको हक कायम भएको जग्गा गुठीमा नै कायम राख्ने उल्लेख भएबाट प्रतिवादीको जिम्मामा रहेको जग्गा समेत गुठी वाहेक अन्य रहेछ भनी अनुमानको भरमा भन्न मिल्ने हुँदैन । गुठीको एउटै जग्गा एकाको नाउँमा हक कायम हुँदा गुठी कायम हुने र अर्काको नाउँमा हक कायम हुँदा गुठी नहुने भनी अर्थ गर्न समेत मिल्दैन । अतः उक्त जग्गाको साविकको हकको स्रोत एवं २०५४ सालमा भएको मिलापत्र समेतबाट वादी प्रतिवादीहरू दुवै पक्षको हक कायम भएको जग्गाको साविकको स्रोत र स्रेस्ता नै परिवर्तन हुने आधार नदेखिँदा सो जग्गा गुठी नै कायम हुने गरी जग्गाको आयस्ताबाट सनातन देखि चली आएको पर्व पूजालाई निरन्तरता दिनुपर्ने हुन्छ 

            ६. मिति २०५४।१०।१५ को मिलापत्रले गुठीको जग्गामा गुठियारको अधिकारलाईसम्म सुनिश्चितता प्रदान गरेको देखिन्छ । त्यस्तो अधिकारभित्र गुठीको सम्पत्ति नास्न, मास्न वा गुठीको उद्देश्य विपरीत हुने गरी एकलौटी खान गुठियार मध्येका कसैलाई पनि हक प्रदान गरेको सम्झन मिल्ने हुँदैन । गुठीको मान्यता र उद्देश्य विपरीत गुठीको जग्गा खण्डिकरण गरी बेचविखन गर्न वा अन्य कुनै अमुक उद्देश्यले प्रेरित भई गुठीको अस्तित्वलाई नै लोप हुने गरी वा साविकदेखि चली आएको गुठिलाई नै निमिट्यान्न पार्ने क्रियाकलाप गर्नु गराउनुले गुठीको मूल उद्देश्य नै निष्प्रयोजित हुन जान्छ । मूलतः गुठीको मूल उद्देश्यलाई प्रतिकूल असर नपर्ने गरी गुठियारले गुठीको सम्पत्ति उपर आफ्नो दायित्व बोध गर्नसम्म मिल्ने देखिएतापनि गुठीलाई नै मास्ने वा गुठीको मान्यता र प्रयोजन विपरीत हुने कुनै कामकारवाही गर्न गुठियार स्वतन्त्र हुन्छन् भन्न गुठीको जग्गाको प्रकृतिबाट समेत मिल्ने देखिदैन 

            ७. प्रस्तुत मुद्दामा २०५४।१०।१५ मा भएको मिलापत्रको आधारमा वादीको भागमा पर्ने ८ भागको १ भाग छुट्याइएको भन्ने आधारमा अन्य गुठियारले वादीको भागलाई बाहेक गरी वादीको सहमति बेगर आफ्नो बाँकी भाग वापत अक्षयकोष खडा गरी गुठी जग्गा विक्री गरेको देखिन्छ । यसबाट गुठियारहरू मध्ये कुनै गुठिजग्गा बाँकी राख्ने र कुनैको हकमा अक्षयकोष खडा गरेको देखिन आउँछ तर त्यसरी गुठी जग्गा विभिन्न रुपमा खण्डित वा रुपान्तरित हुन पुगेको देखिन्छ 

            ८. उपरोक्त अवस्थामा विवादित साविक कि.नं. ५९ र ६० को जग्गामा गुठियारहरू बीच मिलापत्र र गुठी संस्थान ऐन, २०३३ को कानूनी व्यवस्था समेतको अधिनमा रही संयुक्त हक रहने गरी प्रतिवादीहरूले वादी गुठियारको मञ्जूरी नलिई निजको भाग बाँकी राखी प्रतिवादी मध्येका बाँकी गुठियारहरूले गुठीको उद्देश्य विपरीत आफूखुशी अक्षयकोष खडा गरी जग्गा रैकरमा परिणत गरेको कार्यले गुठीको जग्गा खण्डिकरण हुन गई गुठीको उद्देश्य अनुरूपको कार्य हुन नसक्ने स्थिति सिर्जना भएको देखिन्छ । गुठियारहरू मध्ये कसैको भाग बाँकी राखी बाँकीले तजवीज गर्दै जाने गर्दा कालान्तरमा गुठीको एकत्व जोगाउन नसक्ने गरी खण्डित र विलय हुने अवस्था सिर्जना हुन जान्छ । गुठीको सम्पत्तिको संरक्षण र गुठियारहरूको हितको संयुक्तता नै गुठीको मुख्य मर्म हुन्छ । गुठीको सम्पत्ति क्षयिकरण गुठीको उद्देश्य भित्र पर्न सक्दैन । आफूखुशी गुठीको जग्गा विक्री गर्ने कार्यले गुठीको आधारभूत प्रयोजन समाप्त हुन जाने हुन्छ । उल्लिखित २०५४।१०।१५ को मिलापत्रले ८ भागको १ भाग गुठी जग्गामा वादीको हक कायम भएको बाँकी ७ भाग जग्गामा प्रतिवादीहरूको हक कायम भएको देखिएता पनि गुठीको समुच्चा उद्देश्य पूरा गर्न वादी प्रतिवादी दुवैपक्षको संयुक्त सहमति र सहभागिता आवश्यक पर्ने हुन्छ । कुनै एक पक्षले मात्र अर्को पक्षको सहमति बेगर गुठी जग्गा मध्ये केही भागको हकमा गुठी जग्गा रैकरमा परिणत गरी अक्षयकोष खडा गर्ने र केही भागको हकमा गुठी जग्गा नै यथावत राखी गुठी जग्गा खण्डिकरण गरी रुपान्तरण गर्न मिल्ने देखिएन । यस्तो विषयमा प्रचलित कानूनबमोजिम गुठीको उद्देश्य विपरीत नहुने गरी गुठियारहरूबाट उपयुक्त निर्णय गर्न सकिने भएतापनि गुठियारहरू नै विभाजित भई गुठीको सम्पत्ति नै खण्डित गरी विभिन्न रुप दिन नमिल्ने हुनाले प्रतिवादीहरूको त्यस्तो कार्य कानूनसंगत मान्न मिलेन 

९. विवादित जग्गा वादी प्रतिवादीका पूर्खाहरूले निजी गुठी राख्नुको उद्देश्यलाई नै प्रकारान्तमा फरक पार्ने किसिमबाट मिलापत्रको व्यहोरा विपरीत चल सम्पत्तिमा परिणत गरेको कार्यले गुठीको लिखत बमोजिम धार्मिक वा अन्य कुनै पर्व पूजाले निरन्तरता पाउँछ भन्ने कुरा निश्चित देखिन्न 

            १०. गुठी जग्गाको आयस्ताले गुठी चलाउन नसकिने भएमा गुठीको उद्देश्य विपरीत नहुने गरी सबै गुठियारको आम सहमति कायम गरी कानूनबमोजिम अक्षयकोष राख्न सकिने भएतापनि कुनै एक पक्षले मात्र निर्णय गरी अक्षयकोष राख्न मिल्ने देखिँदैन । प्रस्तुत मुद्दामा के कति कारणले गुठी चलाउन कठिनाई भयो ? र के कुन कारणले अक्षयकोष खडा गरेको हो ? भन्ने कुरा वस्तुपरक रुपमा पुष्टि हुन सकेको पाइदैन । तसर्थ गुठी संस्थान ऐन, २०३३ को दफा ५७ विपरीत प्रतिवादीहरूले दपाँ गुठीनामक निजी गुठीको उद्देश्य विपरीत काम गरी धर्मलोप गरेको देखियो 

            ११. अब प्रतिवादीहरूलाई गुठियारबाट हटाई कि.नं. ५९ र ६० का जग्गाहरू आफ्ना नाउँमा नामसारी गरी पाउन भनी वादीले पुनरावेदन जिकीर लिएतर्फ हेर्दा उल्लिखित कि.नं. ५९ र ६० का जग्गा समेत दपाँ गुठीभित्रको जग्गा भन्नेमा विवाद छैन । प्रतिवादीहरूले मिलापत्रबाट प्राप्त गरेको आठ भागको सात भाग जग्गा विक्री गरी अक्षयकोष राखेउपर धर्मलोप गरेको भनी यिनै वादीले लिएको दावीबाट नै प्रतिवादीहरूले धर्मलोप गरेको ठहरी फैसला भएको अवस्थामा वादीले लिएको धर्मलोपको दावी एवं फैसलाबाट नै कि.नं. ५९ र ६० का जग्गा आफ्ना नाउँमा नामसारी गरिपाऊँ भन्ने दावी स्वयं खण्डित भएको देखिन्छ । गुठी सञ्चालन गर्ने उद्देश्य र प्रयोजनको निमित्त आफ्ना पूर्खाहरूद्वारा राखिएको यस्तो प्रकृतिको जग्गा मिलापत्रबाट नै हक छुट्टि सकेको अवस्थामा सोही जग्गा उपर नामसारी दा.खा. समेतको दावी लिई पुनः विवाद सिर्जना गर्नु गुठीको उद्देश्य विपरीत हुने देखिन्छ । गुठियारहरू बीच सामुहिक दायित्व निर्वाह गरी वा गुठीको उद्देश्य बमोजिम पर्व पूजा सञ्चालन गर्नुपर्नेमा सो कर्तव्यतर्फ उदासिन रही जग्गा दावी लिएकै आधारमा विवादित कि.नं. ५९ र ६० का जग्गा वादीको मागबमोजिम निजको नाममा निजी सरह नामसारी दाखेल खारेज हुने अवस्था देखिएन 

            १२. उल्लिखित विवेचना समेतका आधारमा २०५४।१०।१५ को मिलापत्र कायम रहेकै अवस्थामा वादीको हकलाई छुट्टयाई बाँकी राखी प्रतिवादीहरूले आफ्नो गुठी हक जतिमा स्वामित्व नै हस्तान्तरण गरी गुठी जग्गालाई अंश अपुतालीकै जस्तो रुपमा खण्डित गर्न तथा गुठी जग्गालाई आंशिक रुपमा नगदी तथा जग्गामा रुपान्तरण गर्न दिन नमिल्ने हुनाले प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनले मिति २०६४।३।१० मा गरेको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीहरूले धर्मलोप गरेको ठहराई गुठी संस्थान ऐन, २०३३ को दफा ५७ बमोजिम उक्त निजी गुठी पूर्ववत् रुपमा नै सञ्चालन गर्न लगाउने गरेको तथा विवादित जग्गा आफ्नो नाउँमा एकलौटी दर्ता गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई भएको काठमाडौं जिल्ला अदालतको मिति २०६३।४।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएकाले पुनरावेदन अदालतको तपसील खण्डमा राखिएको लगत कायम नरहने हुँदा सो फैसलाको तपसील खण्डबमोजिम राखेको लगत कट्टा गरी शुरु काठमाडौं जिल्ला अदालतको फैसलाबमोजिमको लगत कायम राख्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू –––

            पुनरावेदन गर्दा प्रतिवादीले र.नं.०८६ बाट राखेको धरौटी रकम रु. १००।वादीलाई फिर्ता दिनु भनी भनी पुनरावेदन अदालतमा लगत दिनू १

            प्रस्तुत फैसलाको जानकारी गुठी संस्थानलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––––––––

उक्त रायमा सहमत छु 

न्या.सुशीला कार्की

इति संवत् २०६६ साल चैत १० गते रोज ३ शुभम्

इजलास अधिकृत : उद्धव गजुरेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु