शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४६२ - जग्गा खिचोला चलन समेत

भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक:

निर्णय नं. ४४६२    ने.का.प. २०४९ ()  अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४६ सालको फौ.पु.नं. ४४९

फैसला भएको मिति : २०४८।९।८।२ मा

पुनरावेदक/वादी: कपिलवस्तु जिल्ला रामघाट गा.वि.स. वा.नं. ९ बस्ने स्वामिनाथ लाल श्रीवास्तव र रामदुलारी श्रीवास्तवको मु.स. गरी आफ्नो हकमा समेत जगदीशप्रसाद श्रीवातवसमेत   

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: कपिलवस्तु जिल्ला रामघाट गा.वि.स. वा.नं. ९ बस्ने शिवनाथ श्रीवास्तव

मुद्दा : जग्गा खिचोला चलन समेत

(१)    दुवै पक्षको मिलापत्रबाट नै जति पाएको छ त्यतिमै सीमित रहनु पर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५)(ख) को आधारमा यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ ।

२.    हामीहरुको बीचमा चलेको अंश मुद्दामा लुम्बिनी अञ्चल अदालतको २०२९।९।२८ मा भएका मिलापत्र अनुसार तत्कालीन गा.वि.स. मालपारा वा.नं. ९ वीरपुर मध्येको गाउँ ब्लकको पुरानो पूर्व पश्चिम ३० हात, उत्तर दक्षिण ४० हातको पक्की २ नाले चौघेरा घरमध्ये पूर्व तर्फबाट पूर्व पश्चिमको दशरा समेतको घर तथा सहन जग्गा समेत विपक्षीलाई परेको र उक्त पक्की घर जग्गाको उत्तरतर्फको सहन जग्गा मध्ये विपक्षीले पाएको पूर्व पश्चिम ३५ हात उत्तर दक्षिण ७० हातको सहन जग्गा बाहेक धनसार तथा बाँकी पूर्व पश्चिम ४३ हात उत्तर दक्षिण ७० हातको जग्गा हामीहरुले अंश बापत पाएकोमा पुरानो पक्की घर देखि उत्तर विपक्षीहरु र हाम्रो अंशको सहन जग्गाको साँधको ३० हात जग्गा घर बनाउनलाई जग हाली जमीनको सतहसम्म जडाई समेत भइसकेकोमा विपक्षीहरुले घर निर्माण कार्यमा विरोध गरी जि.का. मा निवेदन परी जि.का.बाट घर निर्माण नगर्नु भनी स्वामीनाथ र इश्वरप्रसादका नाममा जि.प्र.का. बाट ०४१।२।२६ मा पत्र प्राप्त भई घर निर्माण कार्यमा बाधा पुग्न गएकोले हाम्रो अंश भागमा परेकोे जग्गा विपक्षीहरुले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद ।

३.    वादी दावी बमोजिम खिचोला गरेको छैन । वादीहरुले पुराना पक्की घर उत्तर विपक्षीहरु र हाम्रा अंशको सहन जग्गा भनी फिरादपत्रमा झगडा देखाउनु भएको वादीहरुको अंश मध्येको जग्गा भन्नेको जग्गा भन्ने कुरा फिराद लेखबाटै प्रष्ट नभएको, उसमा पनि वादीहरुको अघिदेखि एकलौटी चलन भएको फिरादपत्रमा अमुक मितिमा चलन कब्जा गरे भन्ने दावी भएको जग्गा मिच्नेको १ नं. र १४ नं. संग मिल्दो भएन । जग बनाए भनेको मिति किटान नभएको अघि देखिको हाम्रो सन्धि सर्पन आवत जावत गर्ने ठाउँमा वादीहरुले घर वा अन्य कुनै स्थायी निर्माण गर्न पाउने प्रश्नै छैन । अ.बं. ७३ नं., ८२ नं. ले फिराद दावी लाग्न नसक्ने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४.    शुरु अदालतबाट विवादित घर जग्गा सम्बन्धमा नक्सा मुचुल्का समेत भएको रहेछ ।

५.    यसमा आएको नक्सा नं. ९, १०, ११ को छज्जा देखि उत्तर १० फिटको आँगन कायम हुन्छ त्यसतर्फ वादी दावी नपुग्ने र अरु बाँकी जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन । नक्सा नम्बर ९, १०, ११ मा जग्गाको हकमा शुरु फैसला सदर राखी अरु वादी दावी बमोजिम खिचोला गरेको ठहर्‍याएको हदसम्मको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको शिवनाथलाल श्रीवास्तवको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।

७.    उक्त फैसलामा चित्त बुझेन, घरै जग्गा खिचोला गरेको ठहर हुनुपर्ने हुनाले न.नं. ९।१०।११ को हकमा शुरु फैसला बदर गरीपाउँ भन्ने समेतको स्वामीनाथलाल श्रीवास्तवको पुनरावेदन ।

८.    वादी शिवनाथलाल श्रीवास्तव प्रतिवादी स्वामीनाथलाल श्रीवास्तव भएको अंश मुद्दामा यसै लुम्बिनी अञ्चल अदालतबाट मिति २०२९।९।२८ मा मिलापत्र भएको मिसिल हेर्दा अन्य घर जग्गाको अतिरिक्त पक्की घरदेखि उत्तरको पूर्व पश्चिम ७८ हात उत्तर दक्षिणमा ७० हात भएको सहन जग्गा मध्ये पूर्व तर्फबाट उत्तर दक्षिणमा ७० हात पूर्व पश्चिम ३५ हात र सो जग्गामा भएको फुसको छानो भएको घर सूर्यश्वरीप्रसाद श्रीवास्तव र शिवनाथलाल श्रीवास्तवको भागमा परेको पाइन्छ, यस्तै गरेर प्रस्तुत मुद्दाको वादी स्वामीनाथलाल श्रीवास्तव १, श्री शिवकुमारी भन्ने रामदुलारी १, इश्वरीप्रसाद १, परमेश्वरप्रसाद १, जगदीशप्रसाद १, को अंश भागमा पूर्व पश्चिम ७८ हात परेको पाइन्छ । मिसिल संलग्न मिति २०४२।८।२६ को नक्सा मुचुल्का हेर्दा नक्सा नं. १५ र १६ को धनसार घरको पश्चिम देवालबाट पूर्व पश्चिम ४३ हात अर्थात १३, १४१४१, १५, १६ नक्शा नम्बरका जग्गाहरुको पूर्व पश्चिम नापको जग्गाका वादीको हक भएको स्वतः सिद्ध छ, अब वादीका उत्तर दक्षिण हात ७० को सहन जग्गा कुन स्थानबाट शुरु भई कुन स्थानमा समाप्त हुने भन्ने तर्फ न.नं. ११ बाट शुरु हुने हो वा न.नं. १८ बाट शुरु हुने हो भन्नलाई न.नं. ११ बाट ७० हात न.नं. १७ को जग्गा सम्म मात्र हुने र न.नं. १८ को जग्गाबाट वादीले हक गुमाउनु पर्ने र खूद वादीलाई नै दक्षिणतर्फ पूर्व पश्चिम कम जग्गा पर्ने भई मिलापत्र बमोजिमका जग्गा पनि भोग गर्न नपाउने स्थिति उत्पन्न हुन जाने देखिएकोले पक्की घर न.नं. ६।७ देखि उत्तरमा रहेको न.नं. १८ को जग्गा देखि न.नं. १२ र १२१ को जग्गामध्ये वादीको सहन जग्गाको उत्तर दक्षिण लम्बाई ७० हात नपुगेसम्मको जग्गामा मिलापत्रबाट वादीको हक भएको भनी वादीको उक्त जग्गा भित्र प्रतिवादीले खिचोला गरेको ठहर गरी शुरु फैसलालाई सदर गर्ने गरी लुम्बिनी अञ्चल अदालतबाट मिति ०४२।२।१३ मा भएको फैसला ।

९.    यिनै वादीले २०२९।९।२८ मा भएको मिलापत्रबाट प्राप्त गरेको जग्गा २०४२।८।२६ मा भई आएको नक्सामा विवादित न.नं. १२१२१ को दक्षिणतर्फको १० फिट जग्गा कटाउँदा पनि बाँकी उत्तरतर्फको जग्गाबाट पुग्न आएको देखिएको साथै उक्त २०२९।९।२८ मा वादी प्रतिवादी समेतका बीच भएको मिलापत्रमा पक्की घर देखि उत्तर पूर्व पश्चिम ७८ हात, उत्तर दक्षिण ७० हात भएको सहन जग्गामध्ये भन्ने समेत उल्लेख भएकोबाट पक्की घर देखि नै उत्तरतर्फ मिलापत्र वादीको हक भएको भनी भन्न सकिने अवस्था नहुँदा सबूद प्रमाणको मूल्यांकन गरी गरेको लुम्बिनी अञ्चल अदालतको फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने प.क्षे.अ. को एक इजलासको आदेश ।

१०.    प.क्षे.अ. को आदेश अ.बं. १८४क नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशको विपरीत छ । मिति २०२९।९।२८ मा भएको मिलापत्रमा अन्य सम्पत्तिको अलावा पक्की घरदेखि उत्तरको पूर्व पश्चिम ७८ हात उत्तर दक्षिण ७० हात भएको सहन जग्गा मध्ये पश्चिमतर्फ दिएको देवाल खपटाको छाजन भएको ५६ हातको धनसर घर पनि परेको थियो । उक्त मिलापत्रको शर्त अनुसार पक्की घर भन्नाले न.नं. ६ र ७ को घर देखि उत्तरको ७० हात उत्तर दक्षिणको जग्गा अंशमा दिए पछि न.नं. ६।७ को घरको साँध देखि उत्तरतर्फको जग्गा अंशमा परेको कुरामा विवाद छैन । अंशमा दिएको जग्गाको साँध उल्लेख गर्दा पक्की घर न.नं. ६।७ देखि उत्तर तर्फ विपक्षीको कुनै जग्गा नरहेको कुरा मिलापत्रको लिखतबाटै प्रमाणित हुन्छ । न.नं. ९, १०, ११ को न.नं. ६, , ८ को पक्की घरदेखि उत्तरतर्फको जग्गा र सो देखि उत्तरतर्फको उत्तर दक्षिण १० फिट चौडा आँगन र न.नं. १३ को इनारमा जाने बाटो समेत साझा रहने भनी मिति ०२९।९।२८ को मिलापत्रमा कतै उल्लेख छैन । विपक्षी अदालतले वादी दावी भन्दा बढी कुरामा निर्णय दिएको छ अतः प.क्षे.अ. ले पुनरावेदन अनुमति दिन नमिल्ने गरी गरेको ठहर त्रुटिपूर्ण हुँदा पुनरावेदन अनुमतिको आदेश पाउँ भन्ने समेतको स्वामीनाथलाल श्रीवास्तव समेतको पुनरावेदन अनुमतिको निवेदनपत्र ।

११.    यसमा यिनै वादी प्रतिवादीले २०२९।९।२८ मा भएको मिलापत्रमा पक्की घरदेखि उत्तर ७० हात भन्ने उल्लेख भएको पाइन्छ । प.क्षे.अ. बाट अनुमति प्रदान नगरेको आदेशमा पक्की घर देखिने उत्तरतर्फ मिलापत्रबाट वादीको हक भएको भनी भन्न सकिने अवस्था नहुँदा अनुमति प्रदान गर्न मिलेन भनी गरेको आदेशमा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्या सम्बन्धी त्रुटि भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस सर्वोच्च अदालत संयुक्तइजलासको आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले पुनरावेदक वादी र विपक्षीहरु बीच लुम्बिनी अञ्चल अदालतमा अंश मुद्दा चलेको र उक्त अंश मुद्दामा मिति २०२९।९।२८ मा मिलापत्र भए अनुसार उक्त मालपारा वा.नं. ९ वीरपुर मध्येको गाउँ ब्लकको पुरानो पूर्व पश्चिम ३० हात उत्तर दक्षिण ४० हातको पक्की दुई नाले चौघरा घर मध्ये पूर्वतर्फबाट पूर्व पश्चिम दसरा समेतको घर तथा सहन जग्गा समेत विपक्षीहरुलाई परेको र उक्त पक्की घर जग्गाको उत्तर तर्फको सहन जग्गा मध्ये विपक्षीले पाएको पूर्व पश्चिम ३५ हात उत्तर दक्षिण ७० हातको सहन जग्गा बाहेक धनसार तथा बाँकी पूर्व पश्चिम ४३ हात उत्तर दक्षिण ७० हातको जग्गा हामीहरुले अंश बापत पाएकोमा पुरानो पक्की घरदेखि उत्तर विपक्षीहरु र हाम्रो अंशको सहन जग्गाको साँधको ३० हात जग्गा घर बनाउनलाई शुरु गरेको हो । मिलापत्रमा साझा आँगनको व्यवस्था उल्लेख भएको छैन । मिलापत्रको शर्त अनुसार पक्की घर भन्नाले न.नं. ६ र ७ को घरदेखि उत्तरको ७० हात उत्तर दक्षिणको जग्गा अंशमा दिइएपछि न.नं. ६ र ७ को घरको साँध देखि उत्तरतर्फको जग्गा अंशमा परेको कुरामा कुनै विवाद छैन अतः विपक्षीहरुले उक्त मिलापत्र बमोजिम मेरो अंशहकको जग्गामा खिचोला गरेकोले सो खिचोला मेटाई पाउन लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन गरेकोमा सो अदालतले गैरकानुनी निर्णय गरेकोले सो उपर पुनरावेदनको अनुमति पाउन प.क्षे.अ. मा निवेदन गरेकोमा सम्मानीत अदालतले पनि पुनरावेदन अनुमति नदिएको नमिलेकोले पुनरावेदन माग दावी बमोजिम खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने समेत बहस गर्नुभयो । विपक्षी प्रतिवादीतर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले प्रतिवादीले वादी दावी बमोजिम जग्गा खिचोला गरेको छैन । वादीहरुले पुराना पक्की घर उक्त विपक्षीहरु र हाम्रा अंशको सहन जग्गा भनी फिरादपत्रमा झगडा देखाउनु भएको वादीहरुको अंश मध्येको जग्गा भन्ने कुरा फिराद लेखबाटै प्रष्ट छैन, वादीले जग बनाए भनेको किटान गर्न सककोे छैन । उक्त विवादको जग्गा अघि देखि नै हाम्रो सन्धीसर्पन आवत जावत गर्ने साझा गाउँ भएकोले वादीले स्थायी निर्माण गर्न पाउने होइन भन्ने समेतको बहस गर्नु भयो ।

१३.   अब यसमा पुनरावेदक वादीको माग बमोजिम मिति २०२९।९।२८ अंश मुद्दाको मिलापत्र अनुसार प्रतिवादीले वादीको अंश भागमा परेको जग्गा खिचोला गरेको हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।

१४.   प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादी मिति २०२९।९।२८ को अंश मुद्दामा मिलापत्र विपरीत गरी जग्गा खिचोला गरेको भन्ने पुनरावेदक वादी र विवादित जग्गा न.नं. १२ र १२/१ मिलापत्र बमोजिम साझा बाटो भएको हुँदा खिचोला गरेको होइन भन्ने प्रतिवादी जिकिर देखिन्छ । अब यसमा निर्णयतर्फ विचार गर्दा वादी प्रतिवादीले विवादित न.नं. १२ र १२/१ को जग्गाको हकको श्रोतको रुपमा ०२९।९।२८ मा लुम्बिनी अञ्चल अदालतमा भएको मिलापत्रलाई आधार बनाएको कुरामा विवाद देखिन्न । उक्त मिति २०२९।९।२८ को मिलापत्रमा पक्की घर देखि उत्तरको पूर्व पश्चिम ७८ हात उत्तर दक्षिण ७० हात भएको सहन जग्गा मध्ये पश्चिम तर्फबाट इँटाको दिवाल खपडाको दादर भएको ५६ हातको धनसार र सो घरको पश्चिम दिवालबाट पूर्व पश्चिम हात ४३ र उत्तर दक्षिण हात ७० को सहन जग्गा वादीहरुको भागमा पर्ने गरी मिलापत्र भएको देखिन्छ । मिति २०४२।८।२६ को नक्सा मुचुल्काको न.नं. ६, ७ को पक्की घरको उत्तरतर्फबाट ७० हातसम्म वादीहरुको सहन जग्गा रहे भएको देखिन आयो । न.नं. ११, न.नं. ६ को पक्की घरको हजरा न.नं. १० न.नं. ७ को पक्की घरको हजरा देखिन्छ । मिलापत्रमा उल्लेख भए बमोजिम पक्की घरदेखि उत्तर ७० हात लम्बाई सम्मको जग्गा वादीको देखिन आएको छ । मिलापत्रमा उल्लेखित धनसार वादीको कायम भए पनि प्रतिवादीले अर्को धनसार नबनाएसम्म उपभोग गर्न सक्ने भन्ने उल्लेख छ । इनार बाटो प्रयोग गर्नलाई साझा कायम गर्ने भन्ने उल्लेख कतै देखिन आउँदैन । दुवै पक्षको मिलापत्रबाट नै जति पाएको छ त्यति मै सीमित रहनु पर्ने र प्रतिवादीको मूलबाटोमा निस्कने अन्य बाटो पनि देखिएकै छ । यस्तो अवस्थामा विवादित जग्गा उक्त ७० हात उत्तर दक्षिण लम्बाईको जग्गा भित्रकै देखिने जग्गा वादीको होइन भनी भन्न मिल्ने देखिएन । प्रतिवादीको भाग न.नं. ७ को घरबाट उत्तरतर्फको विवाद जग्गामा निस्कने बाटो पनि रहे भएको नक्साबाट देखिन आउँदैन । पक्की घरदेखि उत्तर पट्टिको जग्गामा वादी प्रतिवादी बीचमा बण्डा गरी मिलापत्र भएकोले पक्की घरदेखि उत्तर प्रतिवादी समेतले चलन गर्न पाउने बाटो तथा इनार रहेको भन्न मिलेन । तसर्थ पक्की घरको उत्तरतर्फको विवादित न.नं. १२ र १२/१ को जग्गा वादीको पक्की घरदेखि उत्तरपट्टि ७० हात भित्रको जग्गा देखिएकोले प्रतिवादीले खिचोला गरेको ठहर्छ र सो जग्गा वादीले चलन समेत पाउने ठहर्छ । शुरु जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको लुम्विनी अञ्चल अदालतको इन्साफ मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक स्वामी नाथलाल श्रीवास्तव समेतले फैसला बमोजिम चलन चलाई पाउँ भनी कानुनको म्याद भित्र दर्खास्त दिए कानुन बमोजिम चलन चलाई दिनु भनी शुरुमा लगत दिनु...१, पुनरावेदकले कोर्टफी फिर्ता पाउन निवेदन गरेमा विपक्षी प्रतिवादी शिव नाथलाल श्रीवास्तव समेतबाट कोर्टफी रु. ७।५० कानुन बमोजिम फिर्ता दिलाई दिनु....२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

 

इतिसम्वत् २०४८ साल पौष ८ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु