शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१२८ - कर्तव्यज्यान ।

भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक:

निर्णय नं.६१२८ ने.का.. , ०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

सम्वत् २०४९ सालको फौ.पु.नं. .........५९१

फैसला मितिः- २०५२।९।४।३

विषय: कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादीःरीमा चक्रवर्तीको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादीः- जिल्ला सुनसरी रामगंज गा.वि.. वडा नं. ४ बस्ने रतिलाल यादव ।

            मानिस मरेको हो वा होइन र त्यस्तो मानिस काल वा कर्तव्य केबाट मरेको हो सो एकिन गर्न लाशको ठुलो महत्व हुने । 

                        (प्र.नं.१७)

            परिस्थितिजन्य प्रमाण बलियो र अटुट रुपमा हुनुपर्छ । नेपालबाट भारत तर्फ प्र. रतिलाल यादव र उज्वल कुमार चक्रवर्ती गएको आधार मिसिलमा देखाउदैमा प्र. रतिलाल यादवले उज्वल कुमार चक्रवर्तीलाई मारेको भनी एकिनसाथ भन्न नमिल्ने ।                        

            (प्र.नं.१७)

            अनुमानको पुष्टि प्रमाणयुक्त तथ्यहरुबाट पुष्ट्याई हुनुपर्ने  ।

 (प्र.नं.१९)

           

पुनरावेदक तर्फबाटः-

            विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठक

विपक्षी तर्फबाटः-

            विद्वान अधिवक्ता श्री रामकृष्ण विष्ट ।

अवलम्वीत नजीरः

 

फैसला

            न्या. त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत विराटनगरको मिति २०४९।७।१९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः-

            .         मिति २०४४।१२।२६ गते मेरो पति उज्वल चक्रवर्ती राजगंज सिनुवारी ४ बस्ने रतिलाल यादवसंग मोटरसाइकल खरिद गर्न रु.१२,०००।- लिई गएकोमा ऐ. २७ गते रतिलाल मात्र फर्कि आई मेरो पतिलाई खोजेको हुँदा तपाईसंगै गएको आएको छैन, भन्दा फर्कि गएपछि चिठ्ठी आएकोले खोली हेर्दा मेरो पतिको हातले लेखेको नहुँदा शंका लागि मिति २०४५।१।४ गते रतिलालको घरमा गई सोधपुछ गर्दा मलाई थाहा छैन भनेका र पुनः भोलीपल्ट जाँदा भागी भारततर्फ गई बसेकोले खोज तलास गरी पाऊँ भन्ने रिमा चक्रवर्तीको जाहेरी दरखास्त ।

            .         रतिलालले मेरो पति उज्वल चक्रवर्तीलाई भारतीय मोटर साइकल सस्तोमा खरिद गराई दिन्छु भनी मिति २०४४।१२।२६ गते लिई गएको ऐ. २७ गते रतिलाल मात्र फर्कि आएको र ऐ. २८ गते गोपाल निरौलाले मेरो दाजु रामबाबु श्रेष्ठलाई सम्बोधन गरेको पति उज्वलको नामबाट एउटा चिठ्ठी ल्याई दिएकोले सो चिठ्ठी खोली हेर्दा मेरो दाजुको नाम बाबु राम हुनु पर्नेमा रामबाबु भएको र बाहिर पाउनेमा पनि उज्वल चक्रवर्तीकै नाम लेखिएको हुँदा शंका लागि निज गोपाललाई पक्राउ गरी काका ससुरा रविन्द्र चक्रवर्ती कहाँ लगी सोधनी गर्दा सो चिठ्ठी रतिलालले मलाई पुर्‍याई दिनु भनेकोले मैले ल्याई दिएको हुँ भनेकाले रतिलाल भागी भारततर्फ गई बसेको हुँदा पतिको आजसम्म पत्ता कही नलागेको हुँदा निजले नै कर्तव्य गरी मारेको विश्वास हुँदा कारवाही गरी पाऊँ भन्ने रिमा चक्रवर्तीको दोश्रो जाहेरी दरखास्त ।

            .         उज्वल चक्रवर्तीले सस्तोमा भारतीय मोटरसाइकल खरिद गराई दिनुहोस् भनेकोले निजसंग रुपैया रहेछ भनी सो रुपैया हत्याउने विचार आई म भारत बबुआनमा गई मो पूर्व परिचित नुनूवा मियांलाई भन्दा लिएर आउनु भनेकोले फर्कि आई निज उज्वललाई मोटरसाइकल किनाई दिन्छु भनी २०४४।१२।२८ गते निजलाई साथमा लिई गै नुनूवा मियां कहाँ पुर्‍याई निजको सल्लाह अनुसार नेपाल भारत सिमानाको धुस्की नजिक पुर्‍याई मैले घाटी र अरुले हात खुट्टा समाई लडाई मारी नजिकै भारतको खाल्टो दलदले हिलोमा गाडी निजसंग भएको रु.१३,०००।- मध्ये मेरो हिस्सामा रु.३०००।- लिई आई गोपाल निरौलालाई उज्वलको तर्फबाट चिठ्ठी लेखाई निजको डेरामा पठाउँदा खुलदुल हुन थालेकोले भागी भारत तर्फ गै बसेको थिए भन्ने रतिलाल यादवको प्रहरीमा भएको बयान  ।

            .        २०४४।२।२७ गते बिहान पूर्व परिचित रतिलाल यादव म कहाँ आई उज्वलको नामबाट एउटा चिठ्ठी लेखि दिनु भनेकोले इनरुवा बजार बस्ने हरिश्चन्द्र पोखरलको चिया पसलमा गै कागज किनी निजले नै जस्तो व्यहोराको यो चिठ्ठी मैले नै लेखी मैले रिमा चक्रवर्तीलाई पुर्‍याई दिएको हुँ, यो हस्ताक्षर मेरै हो भन्ने गोपाल निरौलाको कागज ।

            .         मिति २०४४।१२।२८ गते गोपाल निरौलालाई बुहारी रिमा चक्रवर्तीले पक्री म कहाँ ल्याई निज गोपालले दिएको चिठ्ठी देखाएकोले सोधनी गर्दा सो चिठ्ठी रतिलालले लेखाई पुर्‍याउन लगाएकोमा सावित भएको हुँदा शंका लागि म समेत रतिलालको घरमा जाँदा निज भागी भारत तर्फ गै बसेको बुझिएको र भतिजको खोज तलास गर्दा आजसम्म फेला नपरेको हुँदा निजै रतिलालले पैसाको लालचमा परी भतिजी उज्वललाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास भएको हुँदा कानूनी कारवाही गरी पाऊँ भन्ने रविन्द्र चक्रवर्तीको कागज ।

            .        संकलित मिसिल प्रमाणबाट रतिलाल यादवले पैसाको प्रलोभनमा परी निज उज्वललाई कुख्यात अपराधी नुनूवा मियांको मद्दत समेत लिई नेपाल भारतको सिमाना धुस्की छेउमा लगी रतिलालले पछाडीबाट उज्वलको घांटिमा समाई अन्यले हात खुट्टा पक्री लडाई निर्ममतापूर्वक मारी लास भारत तर्फ फाली बेपत्ता पारेको कुरा स्वसिद्ध हुन आएको हुँदा निज नुनूवा मियां भारतीय मुलको भएकोले नेपाल सरहदमा फेला परी दाखेल गराएका अवस्थामा कारवाही हुने र पक्राउ परेका रतिलाल यादव समेतलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. को प्रतिकुल कसूर गरेकोमा ऐ. ऐनको १३() बमोजिम सजाय हुन र अन्य २ जनाको नाम, थर, वतन पत्ता लागेको अवस्थामा मुलुकी ऐन अ.बं. ८८ नं. बमोजिम थप प्रहरी प्रतिवेदन समेत पेश गरिने व्यहोराको साथै विरुद्ध खण्डमा उल्लेखित प्रतिवादी मध्ये रतिलाल यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको मिति २०४७।३।२४ को आदेशले केही सार्वजनिक अपराध मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने निर्णय भएको हुँदा निज प्रस्तुत मुद्दामा तारेखमा छुटी जाने भए सो केही सार्वजनिक अपराध मुद्दामा थुनामा राख्न पठाउनका लागि यस कार्यालयमा फिर्ता पठाउन समेत अनुरोध गर्दछु भन्ने समेत प्रहरी प्रतिवेदन ।

            .         मिति २०४४।१२।२६ गते ३ बजे म घरमा छु । प्रहरीमा गरेको कागज मेरो स्वइच्छाले गरेको होइन, मलाई यातना दिई नङहरुमा पिनले घोची कागज गराएको हो । पढि नसुनाई मलाई सहिछाप गराएको हो । सस्तोमा मोटरसाइकल किनी दिन्छु भनी उज्वल चक्रवर्तीलाई मैले साथ लिई भारत गएको छैन । हाल उज्वल कहाँ छन् । निजलाई चिन्दिन जाहेरवालालाई चिन्दिन । रविन्द्र चक्रवर्तीलाई भोट दिन्न भनी २०३३ सालको निर्वाचनमा भनेकोले यो अभियोग लगाएको हो । नुनूवा मियाँ मेरो साथी पनि होइन । रतिलाललाई मैले देखेको पनि छैन । देखाएको फोटोको मानिस चिन्दिन, देखाएको २०४४।१०।२८ को चिठ्ठी हेरे सो पत्र कसले कसलाई लेखेको हो । भाषा नजानेको हुँदा मलाई थाहा छैन । मिति २०४४।१२।२६ को उज्वल चक्रवर्तीका नामबाट रामबाबु श्रेष्ठलाई लेखेको चिठ्ठीको हस्ताक्षर कस्को हो चिन्दिन, प्रहरीमा मैले भनेर लेखाएको होइन, डर त्रासमा परी सही गरिदिएको । उज्वल मरेको बाचेको थाहा छैन र चिन्दा पनि चिन्दिन । मिति २०४४।१२।२६ गते म आफ्नै घरमा छु । प्रहरी प्रतिवेदन माग दावी बमोजिम मैले सजाय पाउन पर्ने होइन भन्ने प्रतिवादी रतिलाल यादवले अदालतमा गरेको बयान ।

            .         जाहेरवाला प्रहरीमा कागज गर्ने र प्रतिवादीका साक्षीहरुको बकपत्र भएको रहेछ ।

            १०.       प्रतिवादीले उज्वललाई कर्तव्य गरी मारेको कुरा पुष्टि हुन आएकोले ज्यान सम्बन्धी महलको १३() अनुसार सजाय हुने ठहर्छ । मिसिल संलग्न कागजातको अध्ययनबाट परिस्थितिजन्य प्रमाणको आधारमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३() अनुसार सजाय तोकिएको छ तापनि लासको अभावमा सजाय चर्को हुने चित्तमा लागेकोले पूर्पक्षका लागि थुनामा रहेको अविधिलाई मात्र सजाय कायम गर्नु पर्ने देखि अ.बं. १८८ नं. अनुसार छुट्टै राय साथ जाहेरी फैसला गरियो भन्ने सुनसरी जिल्ला अदालतको २०४९।१।११ को फैसला ।

            ११.        शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो इन्साफ उल्टाई सफाई पाउन सम्मानीत अदालत समक्ष अनुरोध गर्दछु भन्ने प्रतिवादी रतिलाल यादवको पुनरावेदन पत्र ।

            १२.       सबुद प्रमाणको मुल्यांकनको सन्दर्भमा विपक्षी झिकाई छलफल गर्नु पर्ने भएकोले अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने २०४९।४।१९।२ को आदेश  ।

             १३.     लास प्राप्त हुन नसकेको चश्मदित व्यक्ति वा जाहेरवाला समेत कसैले पनि रतिलालले मारेको भनी लेख्न बताउन नसकेको, प्रहरीमा भएको साविति अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको नदेखिँदा शंकाको सुविधा अभियुक्तले पाउने भएबाट प्रतिवादीले वादी दावी बमोजिमको कसूर गरेको ठहराएको शुरु सुनसरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भै प्रतिवादी रतिलाल यादवले सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०४९।७।१९।४ को फैसला ।

            १४.       उक्त फैसलामा चित्त बुझेन, इस्लाम खाँ दर्जिको बकपत्रबाट समेत प्रतिवादीले उज्वललाई संगै जिउदै लगेको देख्दा देख्दै पनि प्रतिवादीलाई सफाई दिएको नमिलेकोले दुई अदालतको फैसलामा तात्विक भिन्नता भएकोले उक्त फैसला उल्टाई शुरु अदालतको सजाय गर्ने फैसला कायम गरी पाऊँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र  ।

            १५.       प्रतिवादीको मौकाको साविति अनुसार मृतकसंग भएको पैसा लिन खानका लागि अन्य व्यक्ति समेत भै मारी लाश भारतको सीमा पारी दलदलमा हालेको भन्ने देखिँदा मृतक उज्वल चक्रवर्ती हालसम्म जिवित रहे भएको पनि कहीबाट नदेखिएको परिप्रेक्ष्यमा मृतकको लाश फेला पर्नु कुनै सम्भावना नरहेको अवस्थामा लाश बरामद हुन नसकेको मात्र कारणले अन्य प्रमाणको आधारमा अभियोग कायमै नहुने भनी सम्झन नमिल्ने भएबाट शुरु इन्साफ उल्टी गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने समेत यस अदालतको मिति २०५१।१२।२२।४ को आदेश ।

            १६.       नियम बमोजिम पेशी सूचीमा चढि पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल समेत अध्ययन गरी पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठकले प्रतिवादी प्रहरीमा सावित भएको र अन्य सबुद प्रमाणले पनि समर्थन भएको छ, गोपाल निरौलाले रतिलाले भनेर चिठ्ठी मैले लेखि दिएको भनेको र उज्वल र रतिलाल दुबै मेरो दोकानमा आई कुर्ता सिलाई गएका हुन् भनी इस्लाम खाँ दर्जीको बकपत्रबाट देखिँदा समेत प्रतिवादीले मर्ने उज्वललाई संगै लगेको देख्दा देख्दै प्रतिवादीलाई सफाई दिएको नमिलेकोले शुरु फैसला सदर हुनु पर्छ भन्ने समेतको र प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामकृष्ण विष्टले मेरो पक्ष अदालतमा कसूर गरेमा इन्कार छ, प्रहरीमा भएको सावितलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन, लाश बरामद समेत हुन नसकेको, मेरो पक्षले उज्वल चक्रवर्तिलाई मारेको भनी कोही कसैले भन्न लेख्न नसकेको हुँदा पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेको हुँदा सो सदर हुनु पर्छ भन्ने समेतको गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएकोले पुनरावेदन अदालत विराटनगरले यी प्रत्यर्थी प्रतिवादी रतिलाल यादवलाई सफाई दिने गरेको इन्साफ मुनासिव छ, छैन भनी निर्णय दिनु परेको छ ।

            १७.       यसमा मिति २०४५।१।८ मा रिमा चक्रवर्तीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा मौकाको शुरु जाहेरी दरखास्त दिएको पाइन्छ । उक्त शुरु जाहेरी दरखास्तमा जाहेरवाली रिमा चक्रवर्तीले निजको पति उज्वल कुमार चक्रवर्तीलाई प्रतिवादी रतिलालले कर्तव्य गरी मारेको भनी लेखि दिएको पाइन्न । रतिलाल यादवसंग मोटर साइकल खरिद गर्न मिति २०४४।१२।२६ मा गएको र रतिलाल फर्की आएको तर निजको पति फर्कि नआएको कुरा दर्शाइ निज रतिलाल यादवलाई पक्राउ गरी ल्याई सोधपुछ गरी मेरो पति कहाँ छन् खोज तलास गरी मेरो पति सुरक्षित पाऊँ भनी चिठ्ठी समेत साथै राखी जाहेरी दरखास्त दिएको पाइन्छ । उक्त जाहेरी दरखास्त बमोजिम मौकामा प्रहरीबाट अनुसन्धान भएको पाइन्न । मिति २०४७।३।२३ मा रिमा चक्रवर्तीले मेरो पति उज्वल चक्रवर्तीको ज्यान रतिलाल यादवले मारेको पूर्ण विश्वास भएको भन्दै पुनः जाहेरी दरखास्त दिएको पाइन्छ । आफ्नो मौकाको मिति २०४५।१।८ को जाहेरी दरखास्तमा प्रतिवादी रतिलाल यादवले निज रिमाको पति उज्वल कुमार चक्रवर्तीलाई मारे तर्फ शंकासम्म पनि गरेको पाइन्न । मिसिल संलग्न कागजात अध्ययन गर्दा प्रतिवादी  रतिलाल  यादवको प्रहरीमा भएको कागजातबाट उज्वल कुमार चक्रवर्तीलाई रतिलाल समेत भई भारत र नेपालको बोर्डर (सिमाना) नजिक कर्तव्य गरी मारेको र निजको लाश भारतको खाल्टो दलदल हिलोमा गाडेको भन्ने दखिन्छ । उक्त वारदात भएको भनिएको नजिक धुस्कीमा भएको सरजिमनका मानिसहरुले पनि प्रहरीमा प्र. रतिलाल यादवको कागज बमोजिमको वारदात एवं हादसा भएको भनी लेखी दिन सकेको पाइन्न । मानिस मरेको हो वा होईन र त्यस्तो मानिस काल वा कर्तव्य केबाट मरेको हो सो एकिन गर्न लाशको ठूलो महत्व हुन्छ । तर प्रस्तुत केशमा लाश बरामद भएको पाइदैन । यी प्रतिवादी रतिलाल यादवले उज्वल कुमार चक्रवर्तीलाई मारेको र मार्न लागेको चश्मदित गवाहको सर्वथा अभाव देखिन्छ । परिस्थितिजन्य प्रमाणबाट यी प्रतिवादी रतिलालले उज्वल कुमार चक्रवर्तीलाई मारेको भन्नेलाई मारेतर्फ अटुट कडीको रुपमा कुनै तथ्युक्त प्रमाण वादी पक्षले जुटाउन सकेको पाइएन । परिस्थितिजन्य प्रमाण बलियो र अटुट रुपमा हुनुपर्छ । नेपालबाट भारततर्फ प्रतिवादी रतिलाल यादव र उज्वल कुमार चक्रवर्ती गएको आधार मिसिलमा देखाउदैमा प्रतिवादी रतिलाल यादवले उजवल कुमार चक्रवर्तीलाई मारेको भनी एकिनसाथ भन्न मिल्दैन । अनुमानको पुष्टी एकिनसाथ भन्न मिल्दैन । अनुमानको पुष्टी प्रमाणयुक्त तथ्यहरुबाट पुष्ट्याई हुनुपर्छ । उसमा पनि उज्वल कुमार को संग साथमा गएकोमा प्रतिवादी रतिलाल यादव अदालतमा इन्कार छ । प्रहरीमा भएको प्रतिवादी रतिलाल यादवको साविति स्वतन्त्र प्रमाणबाट समर्थित हुनुपर्नेमा त्यस्तो कुनै स्वतन्त्र प्रमाणबाट प्रतिवादी रतिलाल यादवले उज्वल कुमार चक्रवर्तीलाई मारेको प्रमाणित हुन आएको छैन । यस अदालतबाट भएको विपक्षी झिकाउने आदेश हेर्दा सोमा प्रतिवादी रतिलाल यादवले उज्वल कुमारलाई कर्तव्य गरी मारेतर्फ कुनै तथ्युक्त कडीको रुपमा रहेको परिस्थितिजन्य प्रमाणको उल्लेख गर्न नसकेको देखिँदा विपक्षी झिकाउने आदेश संग सहमत हुन सकिएन । उज्वल कुमार चक्रवर्तीलाई कर्तव्य गरी मारेतर्फ प्रहरीमा कागज हुँदा सावित भएकै कारणबाट स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादी रतिलाल यादवलाई दोषी ठहराउन नमिल्ने हुँदा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी रतिलाल यादवलाई सफाई दिने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ मुनासिव ठहर्छ । फैसलाको प्रतिलिपि सहित मुद्दा किनारा भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ओमभक्त श्रेष्ठ

इति सम्बत् २०५२ साल पौष १४ गते रोज ३  शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु