शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४६६ - अबण्डा अंश छुट्याई पाउँ

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४६६     ने.का.प. २०४९ ()  अङ्क २

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको दे.पु.इ.नं. ८७

फैसला भएको मिति: २०४९।२।२२।५ मा

 

पुनरावेदक/वादी: का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने गुणकेशरी राजभण्डारी

विरुद्ध

विपक्षी/प्रतिवादी: का.न.पं. वा.नं. २ बस्ने गिरिजाभक्त राजभण्डारी मरी मु.स. गर्ने ऐ. के श्रीमती      दुर्गादेवी राजभण्डारीसमेत

मुद्दा : अबण्डा अंश छुट्याई पाउँ

(१)    भाग शान्ति भोग पनि अंश बण्डाको ३५ नं. प्रयोजनार्थ भोग गरेको प्रमाणित हुनु पर्ने ।

(प्रकरण नं. २०)

(२)   दावी बेग्लै र अंशियारहरुको भनाई बेग्लै देखिँदा बुझिएको अंशियारहरुको कुरालाई भर गर्ने स्थिति छैन ।

(प्रकरण नं. २०)

(३)   घर जग्गा वादी समेतको हक लाग्ने भए प्रतिवादीका नाममा नक्सा पास गर्दा र घर बनाउँदाको अवस्था उजूर गर्न सक्नु पर्ने ।

(प्रकरण नं. २०)

(४)   विवादको घरमा बसेको नाताबाट भाग शान्ति भोग गरेको भनी पाँच भागको एक भाग अंश पाउँ भन्ने वादीले गरेको दावी न्यायको दृष्टिमा कानुनसंगत नदेखिने ।

(प्रकरण नं. २०)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री      गुरुप्रसाद बराल

फैसला

न्या. त्रिलोकप्रताप राणा

१.     प्रस्तुत मुद्दा सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश भएकोमा माननीय न्यायाधीश बीच राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मेरा ससुरा हरिचरणको अंश भाग खाने मेरा पति अध्याचरण राजभण्डारी एक, रामभक्त राजभण्डारी एक, लक्ष्मणभक्त राजभण्डारी एक, गिरीजाभक्त राज भण्डारी एक समेत चार छोरा र मेरा पतिको विधुवा भाउजु रामकुमारी राजभण्डारी एक समेत पाँच जना अंशियार हुनु भई सासू ससुरा अघि नै परलोक भई सक्नु भयो । हामी सबै अंशियार सगोलमा बसी सगोलकै धनबाट का.जि. लाजिम्पाट बस्ने आशामरु डंगोलसंग गुठी संस्थान गुठी अधीनस्थ गुठी तहसिलमा सालको धान मुरी १४ नगदी रु. ।१।२। बुझाउनु पर्ने गुठी जग्गा रोपनी १० मिति २०१४।९।२२ मा र का.जि. लैन लाजिम्पाट बस्ने बुद्धमाया डंगोलसंग रु. ३१००।मा मोहियानी हकको जग्गा रोपनी १० जग्गा मिति २०१४।१०।११।३ मा गिरीजाभक्त राजभण्डारीको नाममा पास गराई लिई सो गुठी जग्गा १० मा घर बनाउनलाई सबै अंशियारको सल्लाहले विपक्षी गिरीजाभक्तको नामबाट नक्सापास दर्खास्त पेश गरी २०१४ सालमा नै मेरा पति अध्याचरण र विपक्षी गिरीजाभक्त समेत भई सगोलको धनबाट घर बनाई सकेपछि परस्पर चित्त नबुझी सगोलमा बस्न नसक्दा सबै अंशियारहरुका बीच विपक्षीको नाममा किनेको जग्गा र मेरो पति अध्याचरण र विपक्षी समेतले सगोलमा बनाएको घर बाहेक गरी अरु गैर चल अचल श्री सम्पत्तिको ५ भाग लगाई अंश बण्डा गरी मिति २०१५।१२।७ मा रजिष्ट्रेशन पास गरी सबै अंशियारहरु छुट्टिए पछि म र विपक्षी माथि उल्लेखित घरमा बसी आएकोमा २०२१ सालमा पति अध्याचरण परलोक हुनु भएपछि मलाई विपक्षीले अपहेलना गर्दै आएकोले भूमि सुधार नापी हुँदा का.जि.का.न.पं. वडा नं. २ को ३ कित्ता जग्गा रोपनी १३ को पाँच खण्डको एक खण्ड मोल रु. ६८०।२० ज.रो. ०० र कि.नं. २ जग्गा रोपनी ०१२३ मा बनेको मोल रु. ४५००।जाने पक्की गारो ढलान र कर्कट पाता छाना भएको घरको पाँच खण्डको एक खण्ड मेरो अंश भाग विपक्षीबाट दिलाई अड्डैबाट छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    घर भएको जग्गा मैले मेरो स्वआर्जन नोकरी व्यवस्थाबाट खरिद गरेको जग्गामा नक्सापास पनि मेरै नाममा भएको छ । घर बनाउनलाई मिति २०१५।१२।७ मा छुट्टिए पछि २०१६ सालमा मात्र घर बनाएको हुँ, सगोलको सम्पत्तिबाट बनाएको घर किनेको जग्गा भए बण्डा पत्रमा पनि सोही कुरा उल्लेख हुनु पर्थ्यो । यहि जग्गा नापी हुँदा वादीका सगोलमा बसेका छोरा जयाधीश राजभण्डारी समेतले विवाद उठाउनु भएकोमा मलाई समेत बुझी चार कित्तामा गिरीजाभक्त राजभण्डारीका नाममा दर्ता गराई दिन चित्त नबुझे ३५ दिनभित्र जि.अ.मा नालिश गर्न जानु भनी मिति २०३५।१२।५ मा निर्णय भएकोमा उजूर गर्न नसकी चूप लागी बसी सकेकाबाट पनि वादी दावी झुठ्ठा हुँदा वादीको हकै नभएको सम्पत्तिमा नालिश गरेकोले खारिज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    बण्डापत्र बमोजिम छुट्टी भिन्न भइसकेको लैनचौरको घर बण्डा भइसकेपछि प्रतिवादीले आफ्नो आर्जनबाट २०१६ सालमा मात्र घर बनाई सकेकोले प्रतिवादीको मात्र एकलौटी हो भन्ने रामकुमारीको लैनचौरको घर वादी प्रतिवादीहरुको मात्र हक भएको भन्ने लक्ष्मणभक्त राजभण्डारीको र यो विवाद परेको घर अध्याचरण र गिरीजाभक्तले नै बनाई हालसम्म सोही घरमा बसेका छन् । अबण्डाको सम्पत्ति होइन वादी दावी बमोजिम एक अंश पाउनु पर्ने हो भन्ने नजिकको हकदार विध्याधीश राजभण्डारी समेतले गरेको बयान ।

५.    बण्डापत्र हुँदा यसले खाने भनी किटानी गरी नलेखेकोलाई एक जनाले मात्र खान पाउने बण्डा हुन नपर्ने भनी अंशियारको मन्जूरी बेगर सबैको हक हुने देखिन आएबाट पाँच भागको एक भाग वादीको भागमा पर्न आउने हुँदा निजको भागमा पर्न आएजति अड्डैबाट चलन चलाई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०३८।८।२।३ मा भएको फैसला ।

६.    मेरो नाममा खरिद भएको जग्गामा मेरै नाममा नक्सापास भएको हुँदा अंश बण्डाको ३० नं. अनुसार अबण्डा भन्न नमिल्ने कानुनी व्यवस्था समेतको ध्यान नराखी का.जि.अ. बाट भएको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

७.    वादी गुणकेशरीले पाँच भागको एक भाग अंश पाउने नै हुँदा चलन चलाई दिने समेत ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति २०३९।३।३०।४ मा भएको फैसला ।

८.    २०१५ सालमा नै विधिवत् अंश भइसकेपछि मानो जोडिएको र अंश मिलाएको ऐनले पास भएको लिखतको आवश्यकता हुन्छ । यस्तो बस्तुनिष्ठ निर्णयको सट्टा आत्मनिष्ट निर्णय गरी अंश बण्डाको १८ नं. को अतिरिक्त प्रमाण ऐनको दफा २६ समेत त्रुटि गरी वा.अं.अ. ले गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको आदेश ।

९.    वादीले फिरादमा विवादित घर पाँच जना अंशियारको हक लाग्ने भने तापनि अदालतबाट अन्य अंशियारहरु बुझ्दा उनीहरुले हाम्रो हक लाग्ने होइन भनी बयान गरेको कारण समेतबाट सगोलको धनबाट बनेको भए उक्त अंशियारहरुले आफ्नो हक पनि लाग्दछ भनी दावी बयान गर्नु पर्ने हो तर त्यसरी भन्न सकेको नदेखिएको कारण समेतबाट वादी दावी बमोजिम पाँच भागको एक भाग दिलाई दिने भन्ने का.जि.अ. को निर्णयलाई सदर गरेको बा.अं.अ. को इन्साफ मिलेको देखिएन । तसर्थ वादी दावी पुग्ने ठहर्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४२।३।२ को फैसला ।

१०.    म.क्षे.अ. को फैसलामा चित्त बुझेन साथै उक्त फैसला न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अन्तर्गत सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी गुणकेशरीको यस अदालतमा परेको निवेदनपत्र ।

११.    विवादको घर अंशबण्डा हुनु भन्दा अगाडि नै खरिद भएको कुरालाई सबै अंशियारले स्वीकार गरेको र सोही घरमा हामी र विपक्षी साथ साथै रही बसी आएकोमा विपक्षीले पनि सो घरमा वादी यो घरमा बसेको वा भोग गरेको छैन भनी भन्न नसकेको कारणबाट वादी समेत सो घरमा बसी रहेको देखिएको स्थितिमा पाँच भागको एक भाग दिलाउने गरेको शुरु का.जि.अ. को फैसला सदर गर्ने गरेको वा.अं.अ. को फैसलालाई मिलेको देखिएन भन्न म.क्षे.अ. को इन्साफमा मुलुकी ऐन अंशबण्डाको ३५ नं. को त्रुटि देखिएका समेतबाट पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०४२।५।२६।४ को आदेश ।

१२.   पुनरावेदक वादी गुणकेशरीका पति अध्याचरण समेत पाँच अंशियार भएकोमा कुनै विवाद देखिएन । विवादित जग्गा प्रतिवादी गिरीजाभक्तका नाममा जग्गा खरिद भएको देखिन्छ । यी वादीका पति समेतका अंशियारहरुका बीचमा मिति २०१५।१२।७ मा बण्डा पत्र हुँदा उक्त बण्डापत्रमा हामीहरुको जो भएको श्रीसम्पत्ति घरखेत, नगदी जिन्सीहरु मध्ये भक्तपुर मल्लाछे टोलको घर साझा नै राखिने ठहर भएकाले साझा नै राखी अरु श्रीसम्पत्ति जम्मै घरसारमा बण्डा गरी लिई दिई राखेको र अचल घर जग्गाहरुको हकमा रोखपोख मिलाई तपसील बमोजिम आफ्नो भागमा परेको आफ्नो खुशी गर्ने र दबाई छिपाई राखेको ठहरे पत्ता लगाउनेले नै एकलौटी खानुभनी उल्लेख भएकोबाट उल्लेखित भक्तपुरको घर बाहेक अन्य घर अबण्डा र साझा रहेको देखिएन । सबै अंशियारहरुले आपसमा नरम गरम पारी अंशबण्डा गरी सो अंशबण्डा पारीत समेत गरेको मिसिल संलग्न मिति ०१५।१२।७ गतेको लिखतबाट देखिएको छ । विवादग्रस्त घर २०१४ सालमा नै प्रतिवादी गिरीजाभक्तका नाममा खरिद गरी निजकै नामबाट नक्सा पास समेत भई निर्माण कार्य सम्पन्न भएको कुरा वादी स्वयंले स्वीकार गरेकै देखिन्छ । मिति २०२१ सालमा निज प्रतिवादी कै नामबाट पुनः नक्सापास भई तल्ला समेत थप भएको छ । वादीको पति समेतको अंशियारहरुको सगोलको सम्पत्तिबाट घर बनाएको भए कुनै सबूद प्रमाण यी वादीबाट पेश दाखिल हुनु पर्ने सो केहि देखिदैन । साथै शहरी क्षेत्रको घर जग्गा नापी हुँदा वादीको एकाघर सगोलका छोरा जयाधीश राजभण्डारीले विवाद उठाएकोमा सर्भे नापीबाट विवादित घर गिरीजाभक्तकै नाममा दर्ता गरिदिने चित्त नबुझे ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा नालेश गर्न भनी मिति २०३५।१२।५ मा सो नापीको निर्णयको सूचना प्राप्त गरेपछि पनि यी वादीले त्यस उपर कुनै नालेश उजूर नगरी चुप लागी सो दर्ता निर्णयलाई स्वीकार गरेकै देखिन्छ यस स्थितिमा अब आएर यो अबण्डाको घर म समेतका पाँच अंशियारको सगोलको सम्पत्ति हुँदा पाँच भागको एक भाग दिलाई पाउँ भन्ने वादी दावी स्वतः निरर्थक देखिन्छ । विवादित घर अवण्डाको भएको खण्डमा बण्डापत्रमा कुनै अंशियारले दवाए छिपाएको ठहरे पत्ता लगाउनेले नै एकलौटी खानु भन्ने उल्लेख भएकोबाट कुनै अंशियारले दवाए छिपाएको भए बण्डापत्र बमोजिम ऐनका हदम्याद भित्र नालेश गर्नु पर्ने सो पनि गरेको देखिँदैन । अदालतबाट अन्य अंशियारहरुलाई बुझिएकोमा निजहरुले आफ्नो हक समेत लाग्ने भनी भन्न सकेको पनि देखिँदैन । उपरोक्त प्रमाणहरु समेतबाट विवादित घर अबण्डाको भनी मान्न सकिने अवस्था नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।

१३.   यस्मा वादीका पति अध्याचरण र यी प्रतिवादी गिरीजाभक्त राजभण्डारी समेतको अंशियारहरुका बीचमा मिति २०१५।१२।७ मा विधिवत अंशबण्डा भएको देखिन्छ । उक्त बण्डापत्रको लिखतमा विवादित घर जग्गाको कुनै उल्लेख भएको छैन सो विवादित घर जग्गा बण्डापत्र हुनु पहिले नै अर्थात वादीका पति र प्रतिवादी समेत सगोलमै रहे बसेको अवस्थामा मिति २०१४ सालमा प्रतिवादी गिरीजाभक्त राजभण्डारीको नाममा खरिद भएको छ । सो लिखितमा निजी आर्जनबाट खरीद भएको भन्ने कुनै उल्लेख छैन । अंशियारहरु सगोलमा रहे बसेको अवस्थामा कुनै अंशियारका नाममा घर जग्गा खरिद हुँदैमा सो घर जग्गा खरिद गर्ने अंशियारले मात्र एकलौटी खान पाउँछ भन्न मिल्दैन । विवादित घर जग्गा सगोलमा बसेको अवस्थामा खरिद गरेको भन्ने कुरा निर्विवाद भएपछि मेरो एकलौटी हकको घर हो बण्डा लाग्ने होइन भनी प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम प्रतिवादीले प्रमाणित गर्नु पर्छ अन्यथा निजको मात्र एकलौटी हकको जग्गा हो भनी भन्न मिल्दैन । अंशबण्डाको ३५ नं. मा अंश बण्डा नै नभएको वा बण्डा हुँदा अबण्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब शान्ति दुवैथरको भोग भएकोमा जहिलेसुकै पनि नालिश लाग्न सक्छ भन्ने उल्लेख भएको पाइन्छ । उक्त ३५ नं. को व्यवस्थाको केबल शब्दार्थमा मात्र सीमित रहन मिल्दैन । त्यसको मनसाय समेत विचार गर्न पर्छ । वादीका पति २०२१ सालमा परलोक हुनु भन्दा पहिले देखिबाटै उक्त विवादित घर जग्गामा बसोबास गरी हालसम्म पनि वादी प्रतिवादीहरु बास गरी नै रहेको कुरामा दुवै पक्षको मुख मिलेकै छ । उक्त विवादित घर जग्गामा वादीको पनि भोग रहेको प्रष्ट देखिन आउँछ । २०१५ सालको बण्डापत्रबाट वादीका भागमा अन्य कुनै घर परेको पनि देखिँदैन र वादीका भागमा कुनै घर परेको तथा वादी अन्य ठाउँमा बसोबास गरेको छ भनी प्रतिवादीले भन्न नसकी सोही विवादित घरमा वादी पनि बसी आएको कुरालाई स्वीकार गरेको छ । अदालतबाट अन्य अंशियारहरुलाई बुझिएकोमा रामकुमारी समेतले विवादित घर बण्डा लाग्ने सम्पत्ति हो भनी बयानमा लेखाई दिएको समेत पाइन्छ । यसरी उपरोक्त प्रमाणहरुबाट विवादित घर जग्गा सगोलमा भएको अवस्थामा आर्जन गरेको सम्पत्तिबाट खरीद गरेको र बण्डापत्रमा उल्लेख गर्न सम्म छूट भएको भन्ने देखिन्छ, सगोलमा रहे बसेको अवस्थामा आर्जन गरेको सम्पत्तिलाई कुनै लिखत प्रमाणको अभावमा निजी आर्जनको सम्पत्ति हो भनी प्रमाण अनुमान गरी अदालतले भन्न मिल्दैन । तसर्थ सगोलमा रहे बसेको अवस्थामा खरिद गरेको घर जग्गा बण्डापत्रबाट बण्डा भएको नदेखिँदा र वादीको भोग समेत भएको देखिँदा वादी दावी बमोजिम पाँच भागको एक भाग अंश वादीले पाउने ठहर्‍याउनु पर्नेमा सो नठर्‍याई वादी दावी बमोजिम पाँच भागको एक भाग अंश वादीले पाउने ठहर्‍याउनु पर्नेमा सो नठर्‍याई वादी दावी नपुग्ने ठहर्‍याएको म.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुन्छ । वादी दावी बमोजिम पाँच भागको एक भाग वादीलाई दिलाई दिने गरेको शुरु का.जि.अ. को इन्साफलाई सदर गरेको वा.अं.अ. को फैसला मिलेकै हुँदा मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।२।२३ गतेको फैसला ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारीले सगोलमा रहेका अवस्था प्रतिवादी गिरीजाभक्तका नाममा मिति २०१४।९।२२ मा जगा खरिद भई मिति २०१४।१०।२४ मा नक्सापास गरी वादीका पति र प्रतिवादी समेत भई घर बनेको छ । सो घर जग्गा वादीका पति र प्रतिवादीले मात्र भोग गरेको छ । वादीले भोग गरेकोमा प्रतिवादीले खण्डन गर्न सकेकोे छैन । वादीको भोगमा रहेको घरको बिजुली, धारा, वादीको नाममा रहेको छ । उक्त प्रमाणहरुको आधारमा वादीले प्रतिवादीबाट दावी बमोजिम पाँच भागको एक भाग अंश छुट्याई पाउनु पर्दछ । तसर्थ वादी दावी बमोजिम पाँच भागको एक भाग अंश वादीले पाउने ठहराएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनु पर्दछ, भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले घर भएको जग्गा समेत मोहियानी जग्गा भएको र जग्गा खरिद गरी प्रतिवादीका नाममा नक्सा पास गरी २०१६ सालमा घर बनाएको छ । कि.नं. ३५० जग्गाको जग्गा धनी हक २०२६ सालमा मात्र प्रतिवादीले खरिद गरी लिएको छ । २०२१ सालमा प्रतिवादीका नाममा नक्सा पास गरी तला थपेको छ । मिति २०१५।१२।७ मा अंशबण्डा भएकोमा भक्तपुरको जग्गा अबण्डा रहेको छ । तर यो विवादको घर जग्गा अबण्डा रहेको छैन । प्रतिवादीका नाममा नापी भएकोमा वादीका छोराले उजूर गर्दा नापीले मिति २०३५।२।१२ मा अदालतमा जानु भनी सुनायो । तर वादीको छोरा अदालतमा उजूर गर्न गएन । घर बण्डा हुने भनी प्रस्तुत राय बाझी निर्णयमा बोलेको छ । तर मोहियानी हकको जग्गा बण्डा हुने हो, होइन त्यसतर्फ बोलेको पनि छैन । मोहियानी जग्गा अंशबण्डा लाग्दैन । अरु अंशियारहरुले हाम्रो हक लाग्ने भनी भन्न सकेको छैन । बण्डापत्रमा बण्डा गर्ने सम्पत्ति छैन भनेको छ । तसर्थ वादीलाई अंश छुट्याई दिनु पर्ने होइन । वादी दावी नपुग्ने गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने र अर्का विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले अघि नै अंशबण्डा भइसकेको छ । सो कुरा वादीले स्वीकार गरेको छ । दपोटमा वादीले दावी लिई फिराद गर्न सकेको छैन । वादी दावीको घर जग्गा अबण्डा भित्र पर्दैन तसर्थ वादी दावी नपुग्ने गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

१५.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ विचार गर्दा गुठी अधीनस्थ जग्गा १० मिति २०१४।९।२२ मा र बुद्धमायासंग मोहियानी हक जग्गा १० मिति २०१४।१०।११ मा विपक्षी गिरीजाभक्तका नाममा राजीनामा लिई सबै अंशियारको सल्लाहले निजका नामबाट नक्सापास गरी २०१४ सालमा मेरा पति अध्याचरण र विपक्षी समेत भई सगोलको धनबाट घर बनाई सकेपछि सो घर बाहेक गरी अरु गैर चल अचल श्रीसम्पत्ति पाँच भाग लगाई अंशबण्डा गरी मिति २०१५।१२।७ मा रजिष्ट्रेशन पास गरी सबै अंशियार भिन्न बसेको र मेरा पति अध्याचरण विपक्षी समेत भई बनाएको घरमा विपक्षी र मेरा पति म समेत बसी भोगचलन गरी आएको सो घर जग्गा मध्ये पाँच खण्डको एक खण्ड मेरो अंश भाग छुट्याई नदिएकोले पाँच खण्डको एक खण्ड मेरो अंश छुट्याई पाउँ भनी वादीले आफ्नो फिरादमा दावी लिएको देखिन्छ । यसबाट मिति २०१५।१२।७ मा रजिष्ट्रेशन पारीत गरी सबै अंशियारहरु बीच अंशबण्डा गरेको कुरा स्वयं वादीले स्वीकार गरेको पाइयो ।

१६.    सो अंशबण्डाको लिखतमा के कस्तो व्यहोरा लेखिएको रहेछ, भनी हेर्दा हामीहरुको जो भएको श्रीसम्पत्ति घर खेत, नगदी, जिन्सीका सामानहरु मध्ये भक्तपुर मल्लाछे टोलको घर साझा नै राखी चल जति जम्मै घरसारमा बण्डा गरी लिई दिई राखेको र अचल घर जग्गाहरुको हकमा रोखपोख मिलाई तपसील बमोजिम आफ्नो आफ्नो भागमा परेको आफूले बुझी लियुं दियुं दबाई छपाई राखेको ठहरे पत्ता लगाउनेले एकलौटी खानु भनी लेखिएको देखिन्छ । उक्त पारीत मिति २०१५।१२।७ को बण्डापत्रको लिखतमा विवादको घर जग्गा अबण्डा रहेको भन्ने देखिँदैन ।

१७.   वादीले विवादको घरमा आफ्नो भोग देखाउँदै पाँच खण्डको एक खण्ड अंश छुट्याउन दावी गरेको पाइन्छ । अंशबण्डाको ३५ नं.मा अंशबण्डा नै नभएको वा बण्डा हुँदा अबण्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकैपनि र लिखत र भोगै नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा दवाए छिपाएको पाउँ भन्न आएमा भिन्नभिन्न जिउसम्म मात्र नालिश लाग्छ । अबण्डा गोश्वाराको लिखत भएकोमा आफ्नो अंश हक लाग्ने जति अबण्डा आफ्नो खुश हुन्छभन्ने लेखिएको पाइन्छ ।

१८.   प्रस्तुत मुद्दामा अंशबण्डा नभएको होइन । मिति २०१५।१२।७ मा बण्डापत्र रजिष्ट्रेशन पारीत समेत भएको छ । बण्डा हुँदा प्रस्तुत अंशबण्डाको लिखतमा विवादको घर अण्बडा जनिएको छैन । अब वादीले भोगको नाताबाट आएकोले सो तर्फ हेर्दा लिखत नभए पनि हिसाब शान्ति भोग भएकोमा सो बमोजिम पाउने हो । तर वादीले जुन भोग देखाएको छ सो हिसाब शान्ति भोग गरेको देखिन्न भाग हिसाब शान्ति भोग भएको कुरा बुझिएको अरु अंशियारको भनाइबाट पनि समर्थित छैन । बण्डा हुँदा अंशियारहरुको हक लाग्ने सबै चल अचल श्रीसम्पत्ति बण्डा हुन्छ । पछि बण्डा गर्ने गरी अबण्डा रहेकोमा अबण्डा जनिएको हुन्छ । अंशबण्डाको ३५ नं. को अभिप्राय यहि हो र कानुन सम्मत पनि त्यहि नै हो ।

१९.    अंशबण्डाको लिखतबाट जो भएको श्रीसम्पत्ति मध्ये भक्तपुरको घर साझा राखी अरु सबै सम्पत्ति आफ्नु भाग बुझी लियौं दियौं दवाई छपाई राखेको भए पत्ता लगाउनेले खानु भन्ने लिखत भएको पाइन्छ । सो अंशबण्डाको लिखतमा उल्लेख भएको बाहेक अरु सम्पत्ति अंशबण्डा गर्न पर्ने बाँकी छ भन्न मिल्ने कुरा होइन । दपोट भए एकलौटी खानु भन्ने लिखत छ । तर दपोटतर्फ वादीको भनाई दावी छैन । त्यसरी मिति २०१५।१२।७ को पारीत अंशबण्डाको लिखतमा जो भएको श्रीसम्पत्ति मध्ये भक्तपुरको घरमात्र साझा राखी अरु सबै बण्डा गरी दवाए छिपाएको भए उजूर गरी एकलौटी कायम गर्नु भन्ने उक्त लिखतमा लेखिएकोबाट पनि सो लिखतमा लेखिएको भक्तपुरको घर बाहेक अरु अबण्डा रहेको र अंश गर्नु पर्ने घर जग्गा बाँकी रहेको भन्ने देखिँदैन ।

२०.   भाग शान्ति भोग पनि अंशबण्डाको ३५ नं. प्रयोजनार्थ भोग गरेको प्रमाणित हुनुपर्छ बुझिएका अंशियार रामकुमारी राजभण्डारीको वारिश घनश्याम सुवेदीले लैनचौर लाजिम्पाटको घर बण्डापछि २०१६ सालमा गिरीजाभक्तले आफ्नो आफ्नो आर्जनबाट घर बनाई बसेको हो निजको मात्र एकलौटी हकको हो । सबै अंशियारहरुको हक लाग्ने बण्डा पाउनु पर्ने हो भनी बयान गरेको छ । अर्को अंशियार लक्ष्मणभक्तले लैनचौरको घर मैले नलिने भनी छोडी सकेको वादी प्रतिवादीको मात्र हक भएको भन्ने र रामभक्त परलोक भई निजको भतिजा विद्याधीश राजभण्डारीले अंशबण्डाको सम्पत्ति होइन, हाल दुवै थर बसेकोे विवादको मुद्दा परेको घर हो वादी दावी अनुसार वादीले प्रतिवादीबाट एक अंश पाउनु पर्ने हो भनी बयान गरेको पाइन्छ । तर वादी स्वयंले दावी लिंदा उक्त बुझिएका अंशियारहरुले गरेको बयान अनुसार भन्न सकेको छैन । दावी बेग्लै र अंशियारहरुको भनाई बेग्लै देखिँदा बुझिएका अंशियारहरुको कुरालाई भर गर्ने स्थिति छैन । सो विवादको घर जग्गा वादी समेतका अरु अंशियाहरुको हक लाग्ने भए अंश नलिने भनी छोडपत्र गरेको बाहेक छोडेको लिखत प्रमाणहरु देखिनु पर्ने थियो । तर कुनै कानुन अनुरुपको लिखत प्रमाण आउन सकेको पनि देंिखदैन । विवादको जग्गा प्रतिवादीका नाममा खरिद भएको र निजैको नाममा २०१४ सालमा नक्सा पास गरी घर बनाएको २०२१ सालमा नक्सा पास गरी तल्ला थप गर्दा पनि निजै प्रतिवादीको नाममा नक्सा पास भई प्रतिवादीको नाममा बनाएको भन्ने देखिन्छ । उक्त घर जग्गा वादी समेतको हक लाग्ने भए प्रतिवादीका नाममा नक्सा पास गर्दा र घर बनाउँदाको अवस्था उजूर गर्न सक्नु पर्ने थियो । तर त्यसतर्फ वादीले उजूर गर्न सकेको पाइँदैन । वादीका लोग्ने प्रतिवादी समेतका अंशियारहरुको बीच अंशबण्डा नहुँदै जग्गा प्रतिवादीका नाममा खरिद गरेको कारणबाट सो जग्गा सबै अंशियार बीच बण्डा लाग्ने भए उसै बखत बण्डापत्र हुँदा बण्डा लाग्ने वा अबण्डा जनाउने स्थिति थियो । तर सो भएको पाइन्न । बुझिएका अंशियारहरुले वादी र प्रतिवादी दुई जनाको मात्र अंश लाग्ने भन्छन । तर अंशियार पाँच जना छन् भने दुई जनाको मात्र अंश लाग्ने भन्न मिल्ने कुरा होइन । सो बाट पाँच भागको एक भाग छुट्याई पाउँ भनी लिएको उक्त वादीको भनाई दावी मिल्दो पनि देखिँदैन । यस्तो अवस्थामा विवादको घरमा बसेको नाताबाट भाग शान्ति भोग गरेको भनी पाँच भागको एक भाग अंश पाउँ भन्ने वादीले गरेको दावी न्यायको दृष्टिमा कानुनसंगत देखिन आएन । तसर्थ वादी दावी नपुग्ने ठहराएको म.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्तइजलासको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

म.क्षे.अ. का मिति २०४२।३।२ गतेको फैसलाले वादीबाट प्रतिवादी गिरीजाभक्त राजभण्डारीलाई भराउने गरेको कोर्टफी रु. १२४।८० पैसा वादीले यस अदालतमा अनुमतिद्वारा पुनरावेदन गर्दा स.अ.ल.नं. शाखा मार्फत का.जि.अ.त. मा धरौट राखेको मिति २०४२।७।२५ गतेको पत्रबाट देखिँदा सो धरौट राखेकोबाट भराई पाउँ भनी प्रतिवादी गिरीजाभक्त राजभण्डारी परालोक भई मु.स. गर्ने देहायका मानिसहरुको ऐनको म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई उक्त धरौट रहेकोबाट बराबरका दरले भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, दुर्गादेवी राजभण्डारी...१, गुणाधीश राजभण्डारी...१

वादीबाट प्रतिवादी गिरीजाभक्त राजभण्डारीलाई मध्यामाञ्चल क्षेत्रीय अदालतका मिति २०४२।३।२ का फैसलाले भराउने गरेको कोर्टफी रु. १२४।८० उक्त धरौट रहेकोबाट भरी भराउन भएकोले उक्त फैसला बमोजिम कसिएको कोर्टफी रु. १२४।८० पैसाको लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

प्र.न्या.विश्वनाथ उपाध्याय,

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् ०४९ साल जेष्ठ २२ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु