शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४६७ - अंश

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४६७    ने.का.प. २०४९ ()  अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४६ सालको दे.पु.नं. १०६, १०७

फैसला भएको मिति : २०४९।२।८।५ मा

पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं. ३० असन धालासिको बस्ने तुलसी रत्न तुलाधर मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने ऐ. को छोरा त्रिरत्न तुलाधरसमेत

विरुद्ध

विपक्षी/वादी: का.न.प. वा.नं. ३० असन बस्ने लोक्साङ नामग्याल तुलाधर

मुद्दा : अंश

(१)    राहदानीमा वादीलाई आफ्नो बाबुको छोरा भनी सहिछाप गरी प्रकाश गर्दाका अवस्थामा बाबु जीवित रहेको छ यो वादी निजको छोरा नभए उजूर गरी सो तथ्यलाई बदर गराउन सक्नु पर्ने थियो, तर त्यस बखत कुनै उजूर नभएकोले आफू जीवित रहँदैका अवस्थामा सो तथ्यलाई स्वीकार गरी बसी यो वादीलाई आफ्नो छोरा भनी प्रकाशमा ल्याएको भन्नु पर्ने ।

(प्रकरण नं. २५)

(२)   कुनै जीवित छोरालाई नदेखाई बाबु र अन्य छोराले मानो छुटाउछन् एवं अंश गर्छन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंशबण्डाको लिखतमा नदेखिएको नाताबाट उस्को अंश हक लोप हुन्छ भन्न नमिल्ने ।

(प्रकरण न. २८)

(३)   जन्मको नाताबाट छोराले अंश पाउने कुरा हो, जन्म जीवित छोरालाई लोप गर्दैमा अंश हक लोप हुँदैन ।

(प्रकरण नं. २८)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत, विद्वान अधिवक्ता श्री    गजेन्द्रबहादुर प्रधानाड्ड, विद्वान अधिवक्ता श्री बशन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री    श्यामप्रसाद खरेल

विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद   भण्डारी

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    बाबु केशरत्नका २ श्रीमतीमा जेठी पूर्णमाया तर्फबाट तुल्सीरत्न, धर्मरत्न र कान्छी मइजुला तर्फबाट म लोक्साङ समेत ३ भाई छोरा भएको र बाबु व्यापार गर्न ल्हासामा बस्नु भई म र बाबु, धर्मरत्न, आमा मइजुला समेत ल्हासामा व्यापार गरी बसी, आएकोमा बाबु र आमा एक पटक आउनु भएको र धर्मरत्न र म एक पटक काठमाडौं आई व्यापारले आफ्नो जीविका गर्दै आइ रहेकोमा बाबु ०१८ सालमा र आमा मइजुला ०२६ सालमा तथा जेठी आमा समेत परलोक हुनु भएको र म पनि व्यापारकै कामले कहिले कहाँ कहिले कहाँ गरी हिड्ने गरेको र जहान केटाकेटी समेत भएको सधै यसरी हिडेर जीविका नहुने र आफ्नो बाबुको श्रीसम्पत्तिमा भोगाधिकार हुनाले धर्मरत्न पनि ०३० सालमा परलोक हुनु भएकाले तुल्सीरत्नसँग अंश दिनु होस भन्दा मलाई मात्र के भन्छस् धर्मरत्नको श्रीमतीलाई भन भन्नु भयो र निजसँग भन्दा जेठो तुल्सीरत्न छँदै मैले अंश दिने होइन भन्नु भएकोले फेरि तुल्सीरत्नसँग भन्दा अहिले म अंश बण्डा गर्न सक्दिन जानेको गर भनी जवाफ दिएकाले अंश बण्डाको २०, २१, २२, २३, २४ नं. बमोजिम फाँट लिई जेठा तुलसीरत्न, माहिला धर्मरत्नको श्रीमती र मेरो समेत ३ भाग गरी १ भाग अंश दिलाई छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    ससुरा केशररत्नका २ छोरामा पती धर्मरत्न र जेठाजु तुलसीरत्न भएकोमा चित्त नमिली ३ अंशियार मानु छुट्टि अलग बस्न मन्जूर भई चल धनमाल घरसार मै बण्डा गरी असामी समेत गोश्वारा राखी ००८।६।१२ गते रजिष्ट्रेशन पास भएको र ससुरा परलोक हुँदा २०२१।१।२९ मा जेठाजु र पती बीच अंशवण्डा भइसकेको छ । अंशबण्डा र घरसारको माना छुट्टिएको कागज समेतबाट विपक्षी अंशियार हुन भन्ने कतै देखिँदैन । अतः वादीका झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको मिमा तुलाधरको प्रतिउत्तरपत्र ।

४.    वादी हामी अंशियार भएको भन्ने कुरा विल्कुलै काल्पनिक हो । बाबु केशवरत्नको जेठा र म कान्छो धर्मरत्न मात्र छोरा भएकोमा ३ अंशियार बीच २००८।६।१२ मा मानो छुट्याई रजिष्ट्रेशन गरी बसेका थियौं । बाबुको मृत्यु पछि ०२१।१।२९ मा हामी २ भाई बीच अंश बण्डा रजिष्ट्रेशन पारीत भएको छ । अंशबण्डाको ८ नं. ले प्रकाश नगरी बाहिर राखेको स्वास्नी वा उसबाट जन्मेका छोराले लोग्ने वा बाबु मरेपछि अंशमा दावा गर्नु पाउँदैन भन्ने व्यवस्था हुँदा विपक्षीको आमा मइजुला पिताजीको कान्छी श्रीमती हुन भने तापनि कतै कुनै प्रकारले प्रकाशमा नआएको मइजुलाको छोराले हाम्रो अंशमा दावा गर्ने अधिकार विपक्षलाई छैन । विपक्षीले फिराद गर्नुको कारण तिब्बत ल्हासामा जन्म भई उमेर १७ वर्ष देखि मुडिई भिक्षु भई हिंडी रहेकोमा ०२९ सालमा म र धर्मरत्नलाई बास पाउँ भनी माग्दा पुण्यको लागि १० वर्षको लागि बहाल केही नलिई बस्न दिने गरी असनको घरको जमीन तल्ला पसल बाहेक कबूलियत गरी दिएकोमा १० वर्ष विती घर हामीलाई चाहिएकोले छोडी दिनुस् भनी बारम्बार भन्दा घरबाट उठ्न नपरोस भनी कुनियत चिताई लठ्याउन यस प्रकारको अंश मुद्दा गरेका हुँदा झुठ्ठा फिरादबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको तुल्सीरत्नको प्रतिउत्तरपत्र ।

५.    वादी लोक्साङ नामग्याल केशररत्नको छोरा होइन भन्ने २००८ सालको बण्डापत्रबाट देखिन्छ । केदाररत्न २००२ साल देखि नेपालबाट ल्हासा नगएकोमा वादी केशररत्नबाट ००५ सालमा ल्हासामा कसरी जन्मे ? यसबाट पनि निज केशररत्नको छोरा भनी झुठ्ठा बोली रहेका छन् भन्ने समेत व्यहोराको मिमाको वारेश ज्ञानुरत्नका बयान ।

६.    पिता केशरत्नको २ छोरा म र धर्मरत्न मात्र छन् । मेरो आमा बाहेक पिताको अरु स्वास्नी पनि नहुँदा निज वादी केशररत्नको छोरा होइनन् भन्ने समेत व्यहोराको प्र.तुल्सीरत्नको बयान ।

७.    बाबु केशररत्नको २ श्रीमतीमा जेठी तर्फबाट तुल्सीरत्न र धर्मरत्न कान्छी मइजुलाबाट म एकमात्र छोरा हुँ । म ०१७ सालदेखि आजसम्म बाबुकै घरमा बसी रहेको छु भन्ने समेत व्यहोराको वादी लोक्साङ नामग्यालको बयान ।

८.    २००८ सालको र २०२१ सालको बण्डापत्र समेतको लिखत जालसाजी हो । २०२९ सालको कबूलियत पनि जालसाजी हो भन्ने समेत वादी लोक्साङ नामग्याल तुलाधरको बयान ।

९.    २००८ साल, २०२१ सालको र २०२९ को लिखत समेत जालसाजी होइन सद्दे साँचो हो भन्ने समेत प्र.तुल्सीरत्न तुलाधर, प्र.मीमा तुलाधरको वारीस ज्ञानुरत्न तुलाधरको बयान ।

१०.    वादीबाट पेश भएको ०१७।१।७ को राहदानी ता. १६।४।६१ को नेवारी भाषामा लेखिएको पत्र र ०३२।४।४।१ को सक्कल नागरिकताको प्रमाणपत्र समेत प्रतिवादीहरुलाई देखाएकोमा राहदानीमा लेखिएको व्यहोरा जालसाजी हो । सही धर्मरत्न भनी लेखिएको सही धर्मरत्नको हो होइन मलाई थाहा छैन । नागरिकता प्रमाणपत्र जालसाजी हो भन्ने समेत तुलसीरत्न तुलाधर र मिमा तुलाधरका वा.ज्ञानुरत्न तुलाधरको बयान ।

११.    सरकारी कागजलाई जालसाजी भनेको हुँदा हदैसम्म सजायँ गरी पाउँ भन्ने समेत लोक्साङ नामग्याल तुलाधारको बयान ।

१२.   वादीबाट पेश भएको राहदानी नागरिकताको प्रमाणपत्र विवाद पर्नु अघि श्री ५ को सरकार तर्फबाट जारी भएको समेत हुँदा सद्दे ठहर्छ । प्रतिवादीबाट पेश भएको २००८ र २०२९ सालको कागज कानुन बमोजिम पारीत भएको र वादीले कानुनले अंश पाउनु पर्ने अवस्था भए व्यक्ति विशेष बीच बण्डा भएको आधारले मात्र हक मेटिन नजाने हुँदा समेत लिखत सद्दे ठहर्छ । सद्दे ठहरेको उक्त राहदानीमा वादी केशरत्नको छोरा भन्ने उल्लेख भएको र प्र.बाट प्रमाणमा दिइएको कबूलियतमा वादीले तुल्सीरत्न र धर्मरत्नलाई दाजु भनी संवोधन गरेको देखिँदा वादी केशरत्नको छोरा र प्र.हरुको भाइ देवर नाताको कायम हुने ठहर्छ । ०१७ सालमा श्री ५ को सरकारकोतर्फबाट ल्हासाबाट जारी भएको राहदानीमा वादी केशरत्नको छोरा भनी उल्लेख भएको सो मा धर्मरत्नको सही समेत देखिँदा प्रकाशमा नआएको छोरा भन्न मिल्दैन । ०४१।४।३२ का आदेश बमोजिमको तायदाती सुनाउँदा परस्पर विरोध आएको नदेखिँदा समेत फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम हुन्छ र उक्त फाँटवारी श्री सम्पत्तिको जम्मा ३ भाग लगाई सो बाट १ भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट ०४२।२।२३ मा भएको फैसला ।

१३.   सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र्र.तुल्सीरत्न तुलाधर र प्र.मिमा तुलाधरले म.क्षे.अ. मा दिएको पुनरावेदनपत्र ।

१४.   वादी केशररत्नको छोरा नाता कायम गरी पेश भएको तायदातीबाट ३ भागको एक भाग अंश वादीले पाउने ठहर्‍याई गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने ०४३।१२।११ को म.क्षे.अ. को फैसला ।

१५.   म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा ०४४।१।१३ मा पर्न आएको अनुमतिको निवेदन ।

१६.    न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने मिति ०४४।४।२२ को यस अदालत संयुक्तइजलासको आदेश ।

१७.   सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश हुँदा यसमा प्रत्यर्थी वादी लोक्साङ नामग्याल बाबु केशरत्नको छोरा हैन भए पनि प्रकाशमा नल्याएको हुँदा अंश बण्डाको ८ नं. ले निजलाई अंश दिनु पर्ने होइन भन्ने समेत मुख्य पुनरावेदन जिकिर लिएकोमा ०१७।१।७ मा वादीले श्री ५ को सरकारबाट आफ्नु बाबु जीवित छँदै लिएको राहदानीमा बाबु केशररत्न भनी लेखिएको र सो राहदानीको लागि भरिएको फर्ममा वादीको दाजु धर्मरत्न स्वयंले संरक्षकको हैसियतबाट सही समेत गरेको देखिन्छ । वादी आफ्नो भाइ नभएको भए त्यसरी सही गर्नु पर्ने देखिँदैन । साथै प्रस्तुत विवाद पर्नु अगावै श्री ५ को सरकारबाट जारी भएको वादीको नागरिकतामा बाबुको नाम केशररत्न भन्ने लेखिएको पाइन्छ । २०२९।३।१५ मा वादी लोक्साङले घरमा बस्नको लागि दाजुहरु तुलसीरत्न र धर्मरत्नलाई गरी दिएको कबूलियतनामामा तपाई दाइ तुलसीरत्न र धर्मरत्नसँग बास माग्दा केही मोल नलिई दिनु भएको हुँदा भोग गर्नेछु र म बसुन्जेल सो घर कसैलाई बेच बिखन समेत गर्ने छैन भन्ने उल्लेख भएको समेत देखिँदा वादी केशररत्नको छोरा होइन र भए पनि प्रकाशित भएको छैन भन्ने जिकिरसँग सहमत हुन सकिएन । वादी बाबु केशररत्नको छोरा भएको र निजले अंश लिएको समेत नदेखिँदा वादीले अंश पाउने होइन भन्नलाई मिलेन तसर्थ वादी प्रतिवादी बीच नाता कायम गरी पेश भएका तायदातीबाट ३ भागको एक भाग अंश वादीले पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मनासिब ठहर गरी म.क्षे.अ. बाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरुको जिकिर पुग्न सक्दैन, भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

१८.   यसमा २०१७।१।७ को वादीको तिब्बतबाट नेपाल आउँदा लिएको राहदानी हेर्दा माथि बाबुको नाम केशरत्न तुलाधर लेखेको र राहदानीको पुछार तिर निकटतम सम्बन्धीको नाममा श्री केशरत्न तुलाधर भन्ने लेखी त्यसको तल सही धर्मरत्न तुलाधर भन्ने लेखिएको देखिन आयो । निकटतम सम्बन्धीको नाम लेखिएको केशरत्न तुलाधरले सही गरेको देखिएन । निकटतम सम्बन्धीमा नाम नलेखिएको सही धर्मरत्न तुलाधर भन्ने लेखेको देखिएकोले राहदानी फर्मको ढाँचा अनुसार रीतपूर्वक भएको देखिन आएन । २००८।६।२।३ को मानो छुटिएको लिखत तथा २०२१।१।२९ को बण्डापत्रको लिखतलाई वादीले जालसाजी भने पनि जालसाजी नठराई सद्दे कायम भएपछि प्रमाणमा लिनु पर्ने भयो । २००८।६।२।३ मा बाबु केशरत्न छोराहरु तुलसीरत्न र धर्मरत्न बीच मानो छुट्टिएको लिखतमा हामी अंशियार बाबु छोरा ३ जना बाहेक अरु अंश बण्डा गर्नु पर्ने अंशियार सौता सौती समेत कोही नभएको भन्ने उल्लेख भएकोले वादी र वादीकी आमालाई समेत केशरत्नले पत्नी छोरा छन् भनी नदेखिएको मात्र होइन कि स्पष्ट रुपमा छैन भनी उल्लेख गरेको देखिन आउँछ । ०२१।१।२९ को बण्डापत्रमा पनि वादीलाई अंशियार नदेखाई तुलसीरत्न र धर्मरत्नले सम्पत्ति बाँडफाँड गरी आपसमा बण्डापत्र पारीत गरेको देखियो । उक्त लिखतहरुबाट वादीको हकमा असर पर्ने भए सो लिखतहरु उपर उजूर गरी बदर गराउनु पर्नेमा सो बदर गराएको देखिन आएन । २०२९।३।१५ को वादीले प्रतिवादीहरुलाई घरमा बस्नको लागि गरिदिएको कबूलियतनामाको लिखतमा मुडिई भिक्षु भई बैतडी गएका भन्ने व्यहोराको उल्लेख भएको देखिन्छ । वादी अंशियार भएको भए सगोलको घर कबूलियत गरी बस्नु पर्ने अवस्था देखिँदैन कबूलियतमा दाई भन्ने उल्लेख भएको हकमा नेपालीहरु बीचमा दाई भन्ने सम्बोधन गर्ने गरेको सामान्य चलन हुँदा त्यसको आधारबाट आफ्नै एकासगोलको दाई हुन आउने भन्न मिल्दैन । वादी केशरत्नको छोरा भनी लिएको नागरिकताको हकमा केशरत्न तुलाधर मरेपछि वादीले नागरिकता लिएको देखिन्छ । त्यसको आधारबाट वादी केशरत्नको छोरा हो भन्न मिलेन । प्रकाश नगरी बाहिर राखेका स्वास्नीले वा उसबाट जन्मेका छोराले लोग्ने वा बाबु मरेपछि अंशमा दावा गर्न पाउँदैन भन्ने अंशबण्डाको ८ नं. मा व्यवस्था भएको पाइन्छ । वादीको बाबु २०१८ सालमा मरेकोमा विवाद देखिएन । वादी २०१७ सालमा नेपाल आएपछि निजको बाबु जीवित छँदै निजकी आमा मैजुलालाई पत्नी र वादीलाई छोरा भनी केशरत्नबाट प्रकाशित गराउनु पर्नेमा सो गरे गराएको देखिँदैन । राहदानीमा पनि केशरत्नले सही गरेको देखिएन । २००८ सालको लिखतमा अरु अंशियार छैन भन्ने किटानी उल्लेख भएपछि झन वादीले बाबुबाट छोरा हो भनी प्रकाशित गराउनु पर्ने देखिन्छ । तर सो भए गरे गराएको देखिएन । अंश बण्डाको ८ नं. को व्यवस्थाले बाबु स्वयंले स्वास्नी छोरालाई प्रकाशित गर्न पर्ने हुँदा केशरत्नले आफ्नो जीवनकालमा वादीलाई छोरा हो भनी प्रकाशित नगरेकोले वादीले अंश बण्डाको ८ नं. अनुसार अंश पाउने देखिन आएन । तसर्थ वादीले अंश पाउने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई मनासिब ठहर्‍याएको म.क्षे.अ. को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहज्यूको क्षेत्रीय अदालतको फैसला सदर गर्ने रायसंग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयको लागि पूर्णइजलासमा पेश गर्न भन्ने समेत माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।१०।५।४ को फैसला ।

१९.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तुलसीरत्न तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मिति २००८।६।२ को मानु छुट्टिएको कागज र २०२१ सालको बण्डापत्रमा समेत वादीले आमा भनेका मैजुला र यो वादीको नाम छैन । सो कागज सद्दे ठहरेको छ वादीको जालसाजीमा पुनरावेदन छैन । वादीको उमेर फिराद र पासपोर्टमा फरक छ । मैजुलालाई केशरत्नले आफू जीवित छँदै प्रकाश गरेको छैन । यस्तोमा वादीले अंश पाउँदैन । तसर्थ अंश नपाउने गरेको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सदर हुनु पर्दछ, भन्ने र पुनरावेदक प्रतिवादी तुल्सीरत्न तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्डले २००८ सालको कागजमा केशरत्न समेतले अरु अंशियार छैन भनी गरेको लेखबद्ध सो कागजबाट वादीलाई असर परेको छ तर सो कागज वादीले बदर गराउन सकेको छैन अंशबण्डाको ८ नं. बमोजिम आफू जीवित छँदै लोग्ने बाबु केशरत्नले वादीको आमा र वादीलाई प्रकाशित गरेको छैन । तुल्सीरत्नको चिठीमा भाइ भनी वादीलाई भनेको छैन कबूलियतमा दाई भन्ने भए पनि बाबु छँदै प्रकाशित भएको भन्न मिल्दैन सो साधारण बोलचालको हैसियतले सम्बोधन सम्म गरिएको हो भनी बहस गर्नु भयो ।

२०.   पुनरावेदक प्रतिवादी मिमा तुलाधर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले हाकु भन्ने चुडाराज शमशेर विरुद्ध एकराज शमशेर भएको मुद्दामा बाबुले प्रकाश नगरेकोबाट अंश नपाउने भन्ने फुलबेञ्चबाट सिद्धान्त प्रतिपादित भई ने.का.प. २०२७ अंक ८ नि.नं. ५५३ पृष्ठ २०३ मा प्रकाशित छ । मानो छुट्टिएको अंशबण्डा भएको लिखत बदर गराउन सकेको छैन । पासपोर्टमा गरेको सही धर्मरत्नको हो होइन कसरी भन्ने भनी र अर्को विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले वादीको आमा नेपाल आएको भए पासपोर्ट समेतको प्रमाण हुनुपर्दछ । सो छ भनी भन्न सकेको छैन २००८ र २०२१ सालको लिखत काठमाडौंमा भएको छ केशरत्नले दुई छोरालाई २००८ सालमा छुट्याई दिएको छ । तर बाबुले जालसाजी गर्‍यो भन्न सकेको छैन । प्रतिवादीहरुको बीच अंशबण्डा समेत भइसकेको छ । पासपोर्टबाट तिब्बतमा मात्र प्रकाशित भयो । त्यसलाई कसरी प्रकाशित मान्ने । अतः वादीले अंश पाउने अवस्था छैन भनी बहस गर्नुभयो ।

२१.   विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले प्रस्तुत मुद्दामा उमेर घटबढको निराकरण गर्नु पर्ने प्रश्न नहुँदा पासपोर्ट र फिरादमा उमेर घटबढ हुँदैमा अंश मुद्दामा तात्विक असर पर्ने कुरा होइन । केशरत्नसंग प्रतिवादीहरुको चिठीपत्र आदान प्रदान भए गरेको छ । त्यसमा लोपसाङलाई पासपोर्ट लिई पठाउनु लोपसाङलाई सन्चै छ । लोपसाङलाई भिक्षुको लुगा पठाउनु भन्ने छ । पारिवारिक हैसियतमा नरहेको भए निजको नाम उल्लेख हुन पर्ने थिएन । धर्मरत्नको बाबुलाई आफ्नो बाबु लेखेकोमा धर्मरत्नले सही गरेको छ । २०२९ सालको कबूलियतमा दाई भन्ने लेखिएकोलाई नाताको हैसियतले होइन भन्न मिल्दैन पासपोर्र्ट सरकारी लिखतको प्रमाण ऐनले प्रमाण मान्नु पर्छ । बण्डापत्रमा छोरा उल्लेख नभएकोले छोरा होइन भन्न नमिल्ने भनी पूर्णइजलासबाट नजीर कायम भएको ने.का.प. २०४५ अंक २ पृष्ठ ९२ नि.नं. ३३५१ मा प्रकाशित छ । केशरत्न मर्नु भन्दा अगावै केशरत्नले वादीलाई छोरा भनी प्रकाश गरेको मानी पासपोर्टमा धर्मरत्नले सही गरेको छ । प्रकाश नगरेको भए सही गर्नु पर्ने थिएन भन्ने समेत र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले पासपोर्टमा धर्मरत्नको बाबुलाई वादीले आफ्नो बाबु लेखेकोमा धर्मरत्नले सही गरेको हुँदा केशरत्नको छोरा भनी प्रकाश भएको मान्न पर्छ । २००८ सालको लिखत प्रचलन भन्दा बेग्लै किसिमको छ । सौता सौती छैन अरु अंशियार छैन भन्दा त्यस्तो कुरा अंशबण्डाको लिखतमा किन लेख्नु पर्‍यो । भएकोलाई नभएको देखाउनको लागि सो कुरा लेखेको हो । तुल्सीरत्नले प्रतिवादी दिंदा वादीले विजया होम गरेकोले अंश नपाउने भन्छ । यसबाट निज वादीलाई केशरत्नको छोरा मानेको भन्नु पर्‍यो । कबूलियतमा दाई भन्ने लखेकोलाई सामान्य भन्न मिल्दैन । लिखतको रुपबाट व्याख्या हुनुपर्दछ । मिलुवा बण्डापत्र बदर गराउन कुनै कानुन छैन । तसर्थ वादी केशरत्नको प्रकाशित छोरा हुँदा वादी दावी बमोजिम अंश पाउनु पर्दछ । अंश पाउने ठहराएको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ, भनी बहस गर्नुभयो ।

२२.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ वादीले फिराद गर्दा बाबु केशरत्न तुलाधरको दुई श्रीमती मध्ये जेठी श्रीमती पूर्णमायाबाट तुलसीरत्न तुलाधर र धर्मरत्न तुलाधर तथा कान्छी मइजुलाबाट म लोक्साङ नामग्याल तुलाधर भएको बाबु २०१८ सालमा र आमा मइजुला २०२६ सालमा र जेठी आमा समेत परलोक हुनु भएका माहिला दाजु धर्मरत्न २०३० सालमा परलोक हुन भएको र अंश दिनु होस भनी धर्मरत्नको श्रीमतीलाई भन्दा तुलसी रत्नलाई भन्नु भने तुलसीरत्नलाई भन्दा म अंशबण्डा गर्न सक्दिन भनेकाले ३ भागको १ भाग अंश दिलाई पाउँ भनी दावी लिएको पाइन्छ । ससुरा केशरत्नको मृत्यु पश्चात २०२१ सालमा केशरत्नको मृत्यु भएको लेख्ने वादीले अंशियार थिए भनी किन समयमा उजूर गर्न सकेनन् अंश बण्डाको ८ नं. बमोजिम प्रकाश नगरी बाहिर राखेको स्वास्नीले वा उसबाट जन्मेका छोराले लोग्ने वा बाबु मरेपछि अंशमा दावी गर्न पाउँदैन बाबु केशरत्नको मृत्यु पश्चात विपक्षीलाई अंशमा दावी गर्ने अधिकार छैन भन्ने समेत धर्मरत्नको श्रीमती मिमा तुलाधरको र सोही मिलानको तुल्सीरत्न तुलाधरको प्रतिउत्तर जिकिर देखिन्छ ।

२३.   पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले समेत सर्वप्रथम प्रस्तुत मुद्दामा वादीको अंशमा मैजुलालाई केशरत्नले मेरो स्वास्नी भनी प्रकाश गरेको छैन । यस्तोमा वादीले अंश पाउने स्थिति छैन भनी बहस गर्नु भएकोले यो वादी केशरत्नको छोरा हो भनी प्रकाश गरिएको छ, छैन ? सो नै मुल रुपमा निरोपण हुनु पर्ने देखिएकोले त्यसतर्फ हेरिएमा प्रतिवादीले प्रमाण दिएको मिति २०२१।२।२९ मा तुलसीरत्न र धर्मरत्नको बीच अंश बण्डा भएको रजिष्ट्रेशन पारीत लिखतमा वादीको आमा मैजुला र यो वादीको नाम उल्लेख भए गरेको पाइन्न । सो लिखत नेपाल काठमाडौंमा भएको पाइन्छ । प्रतिवादी तुलसीरत्न र निजका बाबु केशरत्न भाइ धर्मरत्नका बीच मिति २००८।६।१२ मा रजिष्ट्रेशन पास भएको मानु छुट्टिएको लिखतमा घर जग्गाको अतिरिक्त ल्हासा कोठीको काम पनि साविक बमोजिम सगोल गोश्वारामा कायम राखी काम चलाउने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट केशरत्न र निजका परिवार छोराहरु ल्हासामा र नेपाल कामाडौंमा समेत व्यापारको सिलसिलामा आउने जाने गरेको र दुवै ठाउँमा घर वतन रहे भएको भन्ने प्रमाणित हुन्छ । प्रतिवादी तुलसीरत्न र निजका भाइ धर्मरत्नको बीच अंशबण्डा हुँदा वादी काठमाडौंमा नरही ल्हासामा रहन सक्ने स्थिति पनि हुन सक्दछ । यो लिखत भएको कुरा वादीलाई थाहा नहुन सक्ने स्थिति समेत पर्न सक्दछ । अतः यस्तो अवस्थामा उक्त मिति २०२१।२।२९ को अंश बण्डाको लिखतबाट मात्र यो वादीको अंश परेको दावीको सम्बन्धमा निरोपण गर्न पर्याप्त नहुने हुँदा अन्य मिसिल सामेल रहेका लिखत प्रमाणतर्फ हेर्दा वादीको लोक्साङ नाम्गेल तुलाधरले पेश गरेको मिति २०१७।१।७ मा श्री ५ को सरकार कन्सलेट जनरल ल्हासाबाट प्राप्त गरेको राहदानी (पासपोर्ट) को कागज अदालतबाट धर्मरत्नको श्रीमती प्रतिवादी मिमाको वारिस ज्ञानुरत्न तुलाधर र तुलसीरत्न तुलाधरलाई देखाई सुनाएकोमा पासपोर्टमा सही धर्मरत्न तुलाधर भनी लेखिएको सही धर्मरत्नको हो होइन मलाई थाहा छैन वादीबाट लेखिएको व्यहोरा जालसाज हो भनी बयान गरेको छ । तर धर्मरत्नको सही छापलाई जालसाजी अथवा धर्मरत्नको सहिछापै होइन सो कीर्ते हो भनी किटान गर्न नसकी थाहा छैन मात्र भनेको छ । यसबाट सो धर्मरत्नको सही छापलाई अन्यथा भन्न नसकेकोले प्रतिवादीहरुले धर्मरत्नको सहिछापलाई स्वीकारेको एवं सो राहदानी पासपोर्टमा लेखिएको व्यहोरालाई मन्जूर गरी धर्मरत्नले सहीछाप गरेको मान्नु पर्ने हुन्छ । उक्त पासपोर्टमा निज वादी लोक्साङ नाम्गेलले आफ्नो बाबुको नाम केशरत्न तुलाधर भन्ने लेखिएको पाइन्छ । त्यसमा धर्मरत्न तुलाधरको सही परेको देखिन्छ । यो वादी केशरत्नको छोरा नभए वादीले आफ्नो बाबुको नाम केशरत्न लेखिएकोलाई धर्मरत्नले स्वीकार गरी सही गर्नु पर्ने स्थिति थिएन । केशरत्न कै छोरा धर्मरत्नले यो वादी केशरत्नको छोरा भएको स्वीकारी केशरत्न जीवित रहेका अवस्थामा सो राहदानी (पासपोर्ट) मा सहीछाप गरेकोबाट केशरत्न जीवित अवस्थामा धर्मरत्नले यो वादीलाई केशरत्नको छोरा हो भनी प्रकाशमा ल्याएको पाइन्छ । बाबु केशरत्नले सो तथ्यलाई विरोध गरेको देखिन्न ।

२४.   अंशबण्डाको ८ नं. हेर्दा प्रकाश नगरी बाहिर राखेको स्वास्नीले वा उसबाट जन्मेका छोराले लोग्ने वा बाबु मरेपछि अंशमा दावा गर्न पाउँदैन भन्ने लेखिएको देखिन्छ ।

२५.   उपरोक्त कानुनी प्रावधानलाई मध्यनजर राख्दै प्रस्तुत मुद्दातर्फ हेर्दा राहादानीमा स्वयं धर्मरत्नले वादीलाई आफ्नो बाबु केशरत्नको छोरा भनी सही छाप गरी प्रकाश गर्दाका अवस्थामा केशरत्न जीवित रहेको छ । यो वादी केशरत्नको छोरा नभए स्वयं केशरत्नले उजूर गरी सो तथ्यलाई बदर गराउन सक्नु पर्ने थियो । तर त्यस बखत केशरत्नको कुनै उजूर नभएकोले स्वयं केशरत्नले पनि आफू जीवित रहँदैका अवस्थामा सो तथ्यलाई स्वीकार गरी बसी यो वादीलाई आफ्नो छोरा भनी केशरत्नले नै प्रकाशमा ल्याएको भन्नु पर्ने हुन्छ ।

२६.   प्रतिवादीले पेश गरेको मिति २०२९।३।१५ गतेको लोप्साङ नामगेल तुलाधर आगे भएको कबूलियत हेर्दा मलाई घरवास नभएको हुनाले एउटा बस्ने बास पाउँ भनी तपाई दाइ तुलसीरत्न र धर्मरत्नसँग बास माग्दा भन्ने समेत उल्लेख भएको पाइन्छ । सो लिखत सामान्य चिठ्ठीपत्र नभई घरमा बस्न दिने लिखत कबूलियत वादी प्रतिवादीका बीच भएको देखिन्छ । यस्तो लिखतमा परेको बोल सामान्य बोलचालको हिसाबबाट सम्बोधन भएको होला भन्ने स्थिति हुँदैन । सो साधारण बोलचालमा प्रयोग हुने पत्राचार होइन । साधारण बोलचालमा प्रचलन भए अनुसार दाइ भाइ भन्ने बोली यस प्रकारको लिखतहरुमा लेखिने गरेको प्रचलन समेत भएको पनि पाइँदैन । त्यस्तो अवस्थामा सो लिखतमा लेखिएको दाईशब्द सामान्य बोलचाल अनुसार लेखिएको भनी अनुमान गर्नु पर्छ भन्ने कुरा तर्कसंगत एवं न्यायोचित देखिन्न । तसर्थ सो कबूलितमा परेको दाईशब्दलाई नाताको दृष्टिबाट लेखिएको भन्नु पर्ने स्थितिको देखिन्छ ।

२७.   अदालतबाट बुझिएको प्रतिवादीको साक्षी रामलाल कुलु तेजबहादुर श्रेष्ठ र सानुमान श्रेष्ठले वादीलाई चिनेको छैन भनी बकपत्र गरेको देखिन्छ । तर वादीलाई केशरत्नको छोरा अंशियार होइन भनी बकपत्र गर्न सकेको छैन । वादीका साक्षी म्याम्यादिले तुलाधार फिन्जो नुर्बु लोक्साङ छिदिन छेरिङ फिन्जो जोगलाल श्रेष्ठ काजी अवाले पेम्वा ज्योति बज्राचार्य प्राणरत्न दिनाम कंसाकार र प्रेमा ग्यालको समेतले यो वादी केशरत्नको श्रीमती मैजुला तर्फबाट जन्मेको केशरत्नको छोरा हो भनी किटानी साथ बकपत्र गरेको देखिन्छ । अर्का वादीको साक्षी त्रिरत्न तुलाधरले वादी र प्रतिवादीहरु मेरो बाबुको दाजु केशरत्न भएकोले यो वादी र प्रतिवादीहरु भाइ नाता पर्छ । केशरत्नको दुई श्रीमतीमा ल्हासा तर्फका मैजुला तर्फबाट लोसान मगेल छोरा जन्मेको हो भनी किटानीसाथ बकपत्र गरेको पाइन्छ । यो वादी केशरत्नको छोरा नभए त्यसरी किटान गरी केशरत्नको छोरा भनी बकपत्र गर्नु पर्ने कारण नभएको र सो बकपत्रलाई विश्वास मान्न नपर्ने आधारहरु पनि कुनै देखिँदैन । वादीले पेश गरेको प्रतिवादी तुलसीरत्नले केशरत्नलाई ता. १६६१ मा लेखेको नेवारी भाषाको चिठीमा लोसाङ नार्मायात वरे पासांङ मुइत धैडे दियागु तयारी न्याय गु मदुभन्ने अर्थात लोसां नामोलाई बांडा पोसाग सिउन भनी पठाउनु भएको तयारी किन्ने छैन भन्ने समेत उल्लेख भएको र वादीले नाता कायमतर्फ मिति २०४०।१०।१८ मा बयान गर्दा पेश गरेको मैजुलाले धर्मरत्नलाई लेखेको भनेको चिठ्ठीको फोटोकपीमा महाचन्द्र आउने सुन्दछु निजलाई राम्रो सम्झाई तिम्रो भाइ लोपसाङ नामगेललाई पासपोर्ट लिई साथ लगाई पठाउनु भन्ने समेत लेखिएको पाइन्छ । यसबाट पनि यो वादी यी प्रतेवादीहरु समेतको रोहवरमा रहेको भाइ नाताको केशरत्नको छोरा रहेछ भन्ने देखिन्छ ।

२८.   अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरुको जीय जीयको अंश गर्नु पर्छ भन्ने अंशबण्डाको १ नं. ले कानुनी दायित्व तोकेको छ कुनै जीवित छोरालाई नदेखाई बाबु र अन्य छोराले मानो छुटयाउछन् अंश गर्छन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंश बण्डाको लिखतमा नदेखिएको नाताबाट उस्को अंश हक लोप हुन्छ भन्न मिल्दैन । जन्मको नाताबाट छोराले अंश पाउने कुरा हो । जन्म जीवित छोरालाई लोप गर्दैमा अंश हक लोप हुँदैन । तसर्थ २००८ सालमा बाबु केशरत्न र छोरा तुलसीरत्न धर्मरत्नको बीचमा नछुट्टिएको लिखत र केशरत्न परलोक भएपछि निजका छोरा प्रतेवादी तुलसीरत्न र धर्मरत्नको बीच २०२१ सालमा भएको बण्डापत्रमा अरु अंश पाउने अंशियार छैनन् भनी लेखिएको सो लिखत वादीले बदर गराउन नसकेको नाताबाट जीवित अंशियार छोरा यो वादीको अंश हक लोप हुन्छ भन्ने पुनरावेदक प्रतेवादीहरु तर्फका विद्वान वरिष्ठ अधिवक्ता समेतको बहस जिकिरसंग सहमत हुन सकिएन । अतएवं उपर्युक्त तथ्य एवं सबूद प्रमाणहरुबाट यो वादी लोपसाङ नाम्गेल तुलाधर प्रतिवादीहरुको बाबु ससुरा केशरत्नको छोरा र प्रतिवादीहरुको भाइ देवर नाताको रहेछ भन्ने सिद्ध हुन आयो ।

२९.   उपरोक्त मिसिल सामेल रहेको तथ्ययुक्त सबूद प्रमाणबाट यो वादी केशरत्नको छोरा होइन र अंश पाउँदैन भन्न मिल्ने अवस्था रहेन । तसर्थ वादी बीच प्रतिवादी नाता कायम गरी पेश भएको तायदातीबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला मनासिब ठहर गरी मध्यमञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला सदर गरेको सर्वोच्च अदालत संयुक्तइजलासको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह,

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४९ साल जेष्ठ ८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु