शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४७१ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४७१    ने.का.प. २०४९ ()  अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४८ सालको फौ.पु.नम्बर ३३१

”          २९४

फौ.सा. नं. ८४

फैसला भएको मिति : २०४९।२।७।४ मा

पुनरावेदक/प्रतिवादी: कारागार शाखा गुल्मीमा थुनामा रहेको गोगबहादुर थापा मगर

विरुद्ध

विपक्ष/वादी: विष्णुबहादुरको जाहेरीले श्री ५ को सरकारसमेत

पुनरावेदक/प्रतिवादी: भैरहवा जेलमा थुनामा रहेको धनिराम थापामगर

विरुद्ध

विपक्ष/वादी: विष्णुबहादुरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    लास प्रकृति मुचुल्का, सरजमीन साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीको प्रहरीमा भएको साविती बयान तथा सहअभियुक्तको पोल समर्थित हुन आएको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहराएको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्ने ।

(प्रकरण नं. २९)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     प.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    मेरी साइली आमा हिमकुमारी बस्नेत गौतम बुद्ध जयन्तीको दिन गरिने दिपावलीको निमन्त्रणा मान्न अ.आ. पटौरी गा.पं. वा.नं. ५ कुडापानी बस्ने मामा नाता पर्ने हरिलाल थापाको घर ०४४।१।३० गते साँझ आएको, ३१ गते अं. २ बजे आफ्नो घर जान हिंडेकी, घर नगई घरबाट खोजतलाश हुँदा जि.अ.खा. पोखराथोक गा.पं. वा.नं. ८ तुसारेको खोलाको किनारमा निजको लास ०४४।२।४ गते देखिएकोले जाहेर गर्न आएको छु भन्ने समेत विष्णुबहादुर बस्नेतको जाहेरी दर्खास्त ।

३.    बायाँ कान मुनि किराले खाई प्वाल भएको हड्डी देखिएको, बायाँ कान काटिएको, अनुहार किराले खाई चिन्न नसकिएको, सम्पूर्ण शरीर किराले छोपिएको, हाट खुट्टा सडी गली गएको, बायाँ हातमा १ बिता लामो कालो दाग देखिएको, कान जोर्निमा ढुंगाले थिचिएको घाउ भएको भन्ने समेत २०४४।२।८ को लास प्रकृति मुचुल्का ।

४.    ०४४।१।३१ गते दिनको १२।१ बजे तिर पटौरी गा.पं. वा.नं. ४ कुपापानी बस्ने जितबहादुरको छोरी अ.बर्ष १० कि एकर बस्ने ऐ.श्यामबहादुरको छोरी अं.वर्ष ११ की २ जना पाल्पा बल्डेड्डगडी गा.पं. खुर्सानी मावल जाँदा घटनास्थल तुसारे खोला नजिक २०।२२ वर्षको नचिनेको ३ जना हतार हतार गरी सालझण्डी जाने बाटो हुँदै गएको र ३ जना मध्ये १ जनाले केटीहरुको घर सोधी कुडापानी दुर्गेको घर देखि कता गई भनी सोधेको दुर्गेलाई बुटवलमा झोला दिएको थिएँ भनी कुरा गरेको निज २ केटीले सुनेको र दुर्गे भन्ने व्यक्ति बुझ्दै जाँदा पटौरी गा.पं. का उप प्र.पं. ओमबहादुर क्षेत्रीको छोरा भएको बुझिएकोले निज दुर्गे क्षेत्री संग बुझ्दा मा.जुठापौवा गा.पं. वा.नं. ३ चहल बस्ने हरीबहादुर खत्रीले घटना भएको ८।१० दिन पहिला झोला दिएको र ५।७ दिन पछि घुम्न आउँछु भनेको (साविक पेज नं. १५१) समेत बुझिएको प्रतिवेदन साथ हाजिर हुन आएका छौं भन्ने समेत प्र.स.नि. मानबहादुर पछाई समेतको २०४४।२।२३ को प्रतिवेदन ।

५.    मृतक मेरी श्रीमती ०४४।१।३० गते विहान घरबाट हिंडी आफ्नो मावली पर्ने हरीलाल थापा क्षेत्रीको घरमा आएकी, निज मावली आउँदा लगाएको सुन ढुंगरी डेढ तोला, माडवारी फुली, मुन्द्री अं. डेढ तोला समेत अं. ३ तोला गहना लगाई आएकी थिइन, भोलीपल्ट फर्कदा तुसारे खोलामा बदमासहरुले कर्तव्य गरी मारी धनमाल लुटी लगे भन्ने सुनें भन्ने समेत प्रेमसिंह बस्नेतको प्रहरीमा भएको कागज ।

६.    ०४४।१।३१ गते दिनको १२।१ बजे हामी २ दिदी बहिनी तुसारे खोलो बाटो जाँदै गरेको समयमा पाल्पा खुर्सानी निरबाट ३ जना केटाहरु कुडापानी तर्फ आइरहेको देख्यो, तिनीहरुले कहाँ जाने कस्को छोरी भन्दा कुडापानी घर हो मावल जान हिंडेको भन्दा १ जनाले कुडापानी दुर्गबाहदुर क्षेत्रीको घर देखि कता पर्दछ भन्दा ३ जना मध्येका दोश्राले दुर्गाबहादुर भन्ने को हो भन्दा त्यस केटाले दुर्गाबहादुर क्षेत्री भन्ने मेरो चिनजानको साथी हो, निजलाई ७।८ दिन पहिले बुटवलमा भेट्दा झोला दिएको छु भनेको सुनियो, त्यसपछि सोलीमा एउटा बच्चा बोकेकी आइमाई हाम्रो अगाडि जाँदै थियो, पछाडि कुडापानीको आधी उकालीमा एउटा आइमाई लौरो टेक्दै पछाडि कुम्लो बोकेर तुसारे खोलातिर झर्दे आइरहेको देखेका थियौं । ढुङ्गेखोल फटके निरको मिलमा पुगेपछि अघिका ३ जना बडो हतार हामी खेलीरहेकै बाटोबाट खुर्सानी गाउँ तर्फ फर्केर दौडँदै थियो त्यतिबेला ती ३ जनाले पहिले खोलामा देख्दा लगाएको पैण्ट र कमिज नलगाई भेष्ट र कट्टु मात्र लगाएको, धोएर निचरेको कमिज हातमा लिई दौडेको थियो भन्ने समेत तुलसा घिमिरे र मानकुमारी घिमिरेको प्रहरीमा भएको कागज ।

७.    ०४४ बैशाख २१ गते म काम विशेषले बुटबल जाँदा हरीबहादुरसंग भेट भई कुरा गर्दा मैले एउटा झोला किन्नु छ भन्दा हरीबहादुर क्षेत्रीले मेरो साथमा भएको झोला हुन्छ भने लैजानु भए हुन्छ भनेकोले मेरोे साथमा भएको झोला रु. ४०।दिई लिएको र निजले पूर्णिमा राम हेर्न कुडापानीतिर आउँछु भनेका थिए भन्ने समेत दुर्गाबहादुर थापा क्षेत्रीको कागज ।

८.    ०४४ साल बैशाख ३१ गते म, धनीराम थापा र गोगबहादुर थापा मगर अं. १२।३० बजे कुडापानी खोलामा पुगी बाटोको छेउमा बस्दा २ जना केटीहरु भेट भई कुराकानी गरी उनीहरु खोर्सानी गाउँ तर्फ गए त्यसपछि एकजना डोको वा सोली बोकी सो माथि बच्चा बोकेकी कानमा माडवारी नाकमा फुली बुलाकी लगाएकी आइमाई आइन गहना खोसौं भन्दा गोकबहादुरले गहना थोरै छ केही नगरौं भनेकोले छोडी दियौं । अं. १५ मिनेट पछि ६०, ६५ वर्षकी हामी बसेको ठाउँमा आइपुगी बसिन् मैले चुरोट दिएँ । चुरोट खाँदै कुराकानी गर्दा निजले लगाएको सुनको गहना देखी लोभ लाग्यो र बुढीलाई त्यहाँबाट जाउँ भनी संगै अं. १०।१५ मिनेट हिंडी घटनास्थल कुडापानी देखि तल तुसारे खोलामा आइपुगी बुढीलाई मार्ने सल्लाह गरी बुढी पहरोको ढीकमा पुग्ने वित्तिकै मैले घच्चाडी तल खसाली ढुंगाले टाउको र मुख हानें गोकबहादुरले ढुंगाले टाउको र मुख गालामा हान्यो, धनीरामले छालाको बुटले मुखमा र टाउको गालातिर हान्यो र बुढी मरिन् । बुढीले लगाएको नाकको फुली बुलाकी मैले निकाले, गोकबहादुरले एकापट्टीको कानको ढुंग्री माडवारी निकाल्दा धनीरामले अर्कोपट्टी निकाल्यो । त्यसपछि लासलाई तीनैजनाले उठाई अलिक पर सारी ओढार भित्र लगी कोल्टो अवस्थामा राखी पटुकाले मुख ढाकी दियो र बुढीको पोका लौरो चप्पल पनि लास नजिकै राखी तीनै जनाले नजिकै खोला गई लगाएको पैन्टमा लागेको रगत पखाली हातमा लिई घटनास्थलबाट हामी आएकै बाटो मदेश तर्फ फक्र्यौं भन्ने समेत हरिबहादुर खत्री क्षेत्रीले प्रहरी समक्ष गरेको बयान ।

९.    २०४४ साल बैशाख ३१ गते विहान हरीबहादुर मेरा घरमा आई कुडापानीसम्म जाने काम छ तपाई पनि जाउँ भने, त्यस्तैमा गोकबहादुर पनि मेरो घरमा आई कुराकानी हुँदा निज समेत तिनैजना कुडापानी तर्फ जान खोलै खोला हिंडेको अं. १२:३० बजेतिर सितलमा बस्दा कुडापानी तर्फबाट दुईजना केटीहरु आई पुगी हरीले बहिनीहरुको घर कहाँ हो कता जानु हुन्छ भनी सोधनी गर्दा केटीहरुले कुडापानी घर हो खोर्सानी गाउँ जान भनी हिंडेको भनी कुरा गरी खोर्सानी तर्फ गए । त्यसपछि एकजना आइमाई बच्चा डोको माथि बोकी आइपुगे हामीले कहाँ जानु हुन्छ दिदी भनी सोधनी गर्दा खोर्सानी गाउँ तर्फ जान्छु भनिन् । निजसंग गहना थोरै भएकोले केही नगरौं भनी इसारा गरी केही गरेनौं । त्यसपछि एकजना आइमाई हामी भएको ठाउँमा आईपुगी कुराकानी गरी हरीले चुरोट निकाली हामीलाई र आइमाईलाई दियो । बुढीले गहना लगाएको देखी म समेत तिनै जनाले लुट्ने विचार गरी बुढीसंगै हिंडी घटनास्थलमा आइपुगी सोही ठाउँमा गहना लुट्यौं र भागौं भनी आपसमा हिन्दी र थारु भाषामा सल्लाह गर्दा बुढीले हल्ला गरे पक्राउ परिन्छ मार्नु पर्छ भनी सल्लाह भई पहरो माथि आइपुग्दा गोकबहादुरले खसाल्ने इसारा दियो र हरीले बुढीलाई घचेटी दियों बुढी तल खसिन हामी तीनै जना मिली ढुंगाले टाउको मुख गालामा हानी बुढी मरिन । त्यसपछि हरीले नाकको फुली बुलाकी निकाल्यो मैले र गोकबहादुरले कानका ढुंग्री माडवारी निकाली लासलाई ढुंगाको ओडार मुनी लगी पसारी दियौं । खोलामा गई सर्ट पैन्टमा लागेको रगत र हात गोडा पखाली सर्ट पैन्ट बोकी फक्र्यौं भन्ने समेत धनीराम थापा मगरले प्रहरी समक्ष गरेको बयान ।

१०.    २०४४ बैशाख ३१ गते तुसारे खोलामा दिनको अं. १२/१ बजेको समयमा कुराकानी गरी चिनेको ३ जना मध्ये १ जना अग्लो पातलो हाल नाम सुनी थाहा पाएका हरीबहादुर खत्री १ हो, दोस्रो अग्लो गोरो मोटो शरीर भएको दाहिने आँखाको छेउ कन्चटमा रातो रातो दाग भएको हाल नाम सुनी थाहा भएको धनिराम मगर नै हो, १ जना डोरमा उपस्थित भएका छैनन्, निज हेर्दा मगर जस्तो मुखमा डण्डीफोर दाग टाटो वा कोठी जस्तो देखिन्छ भन्ने समेत तुल्सा घिमिरे र मानकुमारी घिमिरेको सनाखत कागज ।

११.    मृतक हिमकुमारी बस्नेत मेरो भान्जी नाता पर्छिन, २०४४ बैशाख ३० गते दिवालीको निम्ता मान्न मेरो घरमा आएकी ३१ गते अं. ११ बजे विदा भई घर जान्छु भनी गएकी, ,५ दिन पछि तुसारे खोलामा १ जना आइमाई मारी फालेछन् भन्ने हल्ला सुनी घटनास्थलमा गई हेर्दा थाहा पाएँ, निजले लगाएको गहना पनि देखिन । बुझ्दै जाँदा उक्त दिन मेरै गाउँका २ जना केटीहरुले कुडापानी तल फेदी खोलामा ३ जना केटाहरु भेटी कुरा गरेको पछि तिनीहरु जाने भनेको ठाउँमा नगई बीच बाटोबाटै फर्की गएको भन्ने थाहा भएको, डोरमा उपस्थित गराइएका हरीबहादुर खत्री क्षेत्री, धनीराम थापा मगर, पक्राउ नपरेको गोकबहादुर समेतका जना ३ को घर गाउँमा पनि बुझ्दा समय र मौका परेमा गुण्डागर्दी गर्ने लुटपीट मच्याउने चालचलन भएका व्यक्तिहरु भन्ने बुझिएकोले निजहरुले हिमकुमारीलाई कर्तव्य गरी मारी, निजका सुनका गहना लिई भागेकोमा पूरा विश्वास लाग्छ भन्ने समेत हरीलाल थापा क्षेत्रीको कागज ।

१२.   ०४४ बैशाख ३० गते पर्वमा मावली गई ३१ गते माइत जाँदा कुडापानी फेदी खोलामा नचिनेका ३ जना केटाहरु भेट भयो उनीहरुले मलाई पछाडि कोही आउैछन् की दिदी भनी सोधे मैले मलाई थाहा छैन भने त्यसपछि निजहरुले मैले नबुझ्ने गरी सुस्त स्वरमा कुरा कानी गरेकाले मलाई डर लाग्यो, त्यसपछि तुरुन्तै मलाई तिमी जाउ भने म गएँ । जंगलको बीचतिर पुग्दा छोरा रोएकोले चौतारीमा बसी दुध ख्वाउदै थिएँ अघि भेटेका केटाहरु फर्के, ३ जना मध्येका दुई जना डोरमा उपस्थित गराइएको हाल नाम थाहा भएका हरीबहादुर र धनीराम थापा मगर हुन भन्ने समेत ज्ञानकुमारी रेस्मी मगरको कागज ।

१३.   मृतकको नाक कानमा लगाएको सुनको गहना लुट्ने उद्देश्यले समातेपछि नमारेमा बुढीले चिन्न सक्छ भन्ने सोची हरीबहादुर, धनीराम र गोकबहादुर हिमकुमारी बस्नेतलाई मारेकोमा पूरा विश्वास लाग्छ भन्ने समेत एकै मिलानको सरजमीन मुचुल्का ।

१४.   पक्राउमा परेका अभियुक्त हरीबहादुर खत्री क्षेत्री, धनीराम थापा मगर र पक्राउमा नपरेका गोकबहादुर थापा उपर चोरीका १४(३) नं. बमोजिम अपराध गरेकोले सो अपराध कायम भई ऐ. १०(३) बमोजिम बिगो भराई दिन र ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

१५.   म धनीराम र गोकबहादुर कुडापानी जाँदा बाटोमा भेटेका बुढीलाई मार्ने सल्लाह भई घटनास्थलमा पुग्नासाथ गोगबहादुरले मलाई बुढीतिर घचेटी दियो । म बुढी माथि पर्दा मेरो धक्काले बुढी र म एकैचोटी तलतिर खस्न पुग्यौं, गोगबहादुर र धनीराम आई पुगी गोगबहादुरले अं. ५,६ पटक ढुंगाले बुढीको टाउकोमा हिर्काए धनीरामले हाने हानेनन् थाहा पाइन, मैले एक चोटी पनि हानिन, मेरो र बुढीको एउटै जिल्ला रहेछ नमारौं भन्दा पनि गोगबहादुरले मलाई हप्काए । बुढी मरेपछि गोगबहादुरले गहना झिकी रुमालमा पोको पारी मेरो झोलामा हाली बोकाए प्रहरीमा राजिखुशीले बयान गरेको हो भन्ने समेत प्रतिवादी हरीबहादुर खत्री क्षेत्रीको अदालतमा भएको बयान ।

१६.    प्रहरीमा कुटपिट गरी बयान गराएको हो । ०४४ बैशाख पूर्णिमाको दिन म ससुरालीमा थिएँ । प्रतिवादी गोगबहादुरलाई चिन्दछु । प्र.हरीबहादुरले पिप्रामा संगै पढेको भन्दथे तर मलाई याद छैन । हरीबहादुरले प्रहरी र अदालतमा बयान गर्दा मलाई समेत किन पोल्यो जान्दिन । कुडापानी भन्ने ठाउँमा बुढी आइमाइलाई मारेको भन्ने कुरा प्रहरी कार्यालय र सरजमीनमा थाहा पाएको हुँ भन्ने समेत प्रतिवादी धनीराम थापा मगरको अदालतमा बयान ।

१७.   अर्घाखाँचीमा १ जना आइमाइलाई मारे रे भन्ने कुरा असार महीनामा मेरै गाउँ घरमा सुनेको हुँदा थाहा पाएँ, कसले मारेको हो मलाई थाहा छैन । प्र.धनीराम मेरा इविवाला व्यक्ति भएको हुँदा मलाई समेत पोलेको होला, मैले मृतकलाई कर्तव्य गरी मारेको छैन । म पेट सम्बन्धी रोगको उपचार गर्न बैशाख ३० गते काठमाडौं हिंडी काठमाडौंमा उपचार गराई जेष्ठ ५ गते मात्र घर आएको हुँ भन्ने समेत प्रतिवादी गोगबहादुर थापा मगरले अदालतमा गरेको बयान ।

१८.   जाहेरवाला, सरजमीनका मानिस, प्रहरीमा कागज गर्ने व्यक्तिहरु र प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेको ।

१९.    घटना घटेकै दिन भेट्ने मानकुमारी, तुलसा घिमिरे समेतको सनाखत तथा बकपत्र तथा सरजमीनका मानिसहरुको लेखाई समेतबाट हिमकुमारी बस्नेतलाई लात, ढुंगाले हानी ३ जना अभियुक्तहरुको सामूहिक चोटबाट मृत्यु भएको ठहर्न आएकोले ज्यान सम्बन्धीको १३(३) नं. अनुसार हरीबहादुर खत्री, धनीराम थापा र गोगबहादुर थापा समेतलाई जनही जन्म कैदको सजायँ हुने र बिगो सामूहिक रुपमा भराई पाउने ठहर्छ भन्ने समेत मिति २०४६।३।२५।१ को अर्घाखाँची जिल्ला अदालतको फैसला ।

२०.   उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.गोगबहादुर र धनीराम थापाको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

२१.   वारदातको दिन घटनास्थलमा उपस्थित रही मृतकलाई कर्तव्य गरी मारेको भन्ने कथन स्वतन्त्र र प्रत्यक्ष प्रमाणबाट देखिन ठहर्न आएको हुँदा पुनरावेदक समेतलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको निर्णय मनासिब ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको २०४६।१२।१४ को फैसला ।

२२.   जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी हरीबहादुर खत्रीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

२३.   पुनरावेदक हरीबहादुर खत्रीका सम्बन्धमा पनि कसूर ठहरी साधकको रोहबाट बोली सकेको हुँदा पुनरावेदन जिकिरका सम्बन्धमा विचार गरी रहन परेन भन्ने समेत लुम्बिनी अञ्चल अदालतको २०४७।३।१४।४ को फैसला ।

२४.   जिल्ला एवं अञ्चल अदालतले प्रमाणको प्रत्यक्ष त्रुटि गरी गरेको फैसलाहरु बदर गरी प्रहरीको झुठ्ठा दावी अभियोगबाट सफाई पाउँ भन्ने समेत धनीराम थापा मगर र गोगबहादुर थापा मगरको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

२५.   शुरु अर्घाखाँची जिल्ला अदालतको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ. को २०४७।११।६।२ को फैसला ।

२६.   नावालकको सनाखत र बकपत्र तथा सहअभियुक्तको पोलको आधारमा मात्र कसूरदार ठहर्‍याएको कानुन विपरीत हुँदा उक्त फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेत प्रतिवादी धनीराम थापा मगरको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२७.   वारदातको अवस्थामा म विरामी भई उपचारको लागि काठमाडौंमा रहेको कुरा डाक्टरको प्रमाणपत्र र साक्षीहरुबाट पुष्टि भएकोमा मेरो हकमा सनाखत सम्म पनि नगराई बिना प्रमाण कसूरदार ठहर्‍याएको त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सफाई पाउँ भन्नेसमेत प्रतिवादी गोगबहादुर थापा मगरको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२८.   नियम बमोजिम पेशी सूचीमा चढी साधकको रोहबाट समेत निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी गोगबहादुर थापा मगरका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहाल, श्री शम्भु थापा र कृष्णप्रसाद सापकोटा र पुनरावेदक प्रतिवादी धनीराम थापा मगरको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिक्ता श्री होमनाथ ढुंगानाले प्रस्तुत गर्नु भएको बहस समेत सुनी यसमा प.क्षे.अ. ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिन पर्ने हुन आयो ।

२९.   निर्णय तर्फ हेर्दा मृतक हिमकुमारी बस्नेतको गहना लुटी कर्तव्य गरी मारेको अभियोगमा पुनरावेदक प्रतिवादीहरु गोगबहादुर थापा मगर, धनीराम थापा मगर र प्रतिवादी हरीबहादुर खत्री क्षेत्रीलाई ज्यान सम्बन्धी १३(३) नं. बमोजिम सजाय गर्ने गरी शुरु अर्घाखाँची जिल्ला अदालतले गरेको फैसलालाई लुम्बिनी अञ्चल अदालत र प.क्षे.अ. समेतबाट सदर भएको रहेछ । पुनरावेदक प्रतिवादीहरु मध्ये धनीराम थापा मगरका हकमा विचार गर्दा निज प्रहरी समक्ष सावित भई बयान गर्दै अन्य प्रतिवादीहरु समेतलाई पोल गरेको र अदालतमा आई इन्कार गर्दै वारदातको दिन घटनास्थलमा उपस्थित नभएको दावी लिएका छन् । निज प्रतिवादी धनीरामले अदालतमा बयान गर्दा उक्त वारदातको दिन २०४४ साल बैशाख ३१ गते ससुराली गएको र हरीबहादुरलाई नचिनेकोे भने तापनि अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा हरीबहादुर निजको घरमा आई तिनैजना संगै कुडापानी तर्फ गएको बाटोमा २ जना केटीहरु भेट भई कुराकानी गरेको र मृतकलाई गहना लुट्नको लागि ढुंगाले टाउको मुख गालामा हानी मारेको भनी वारदातको दिनको सम्पूर्ण घटना विवरण वर्णन गरी बयान गरेको देखिन्छ । प्रस्तुत मुद्दाका अर्को प्रतिवादी हरीबहादुर खत्री क्षेत्रीले पनि सम्पूर्ण रुपमा सोही घटना विवरण उल्लेख गर्दै अधिकार प्राप्त अधिकारी र अदालतमा समेत साविती बयान गरी पुनरावेदक प्रतिवादीहरु धनीराम थापा मगर र गोगबहादुर थापा मगरलाई समेत पोलेको पाइन्छ । उक्त सहअभियुक्तको पोल र पुनरावेदक प्रतिवादी धनीराम थापा मगरको प्रहरी समक्ष भएको साविती बयानलाई समर्थन हुने गरी वारदातको अघि र पछि समेत प्रतिवादीहरुलाई भेट्ने तुल्सा घिमिरे र मनकुमारी घिमिरेले प्रतिवादीहरुलाई सनाखत समेत गरी बकपत्र गरी दिएका छन् । मिसिल सामेल रहेको मृतकको लास प्रकृति मुचुल्का हेर्दा पनि मृतकको गहना लुट्नको लागि कान समेत काटिएको र निजले लगाएको गहना नभएको तथा कान जोर्नीमा ढुंगाले थिचिएको घाउ भएको भन्ने समेतबाट प्रतिवादीहरुले ढुंगाले हानी मारेको भन्ने सहअभियुक्त हरीबहादुर खत्रीको पोल र पुनरावेदक प्रतिवादी धनीराम थापा मगरको प्रहरी समक्ष भएको साविती बयान पुष्टि हुन आएको छ । यी तिनैजना प्रतिवादीहरुसंग प्रहरीमा कागज गर्ने र अदालतमा आई बकपत्र समेत गर्ने साक्षीहरु तुल्सा घिमिरे, मानकुमारी घिमिरेले बाटोमा भेटी कुराकानी गर्दा कुडापानी जाने भनेको तर केही बेर पछि उही बाटो हतार हतार फर्केर आएको भनी भनेबाट पनि निज प्रतिवादीहरुले मृतक हिमकुमारीलाई कर्तव्य गरी मारी सकेपछि त्यही बाटो फर्केर भागेको भन्ने प्रमाणित हुन आएको छ । निजहरुलाई घटनास्थलमा गएको र सोही बाटो फर्केको देख्ने अर्को साक्षी ज्ञानकुमारी रेग्मी मगरको प्रहरीमा भएको कागज र अदालतमा भएको बकपत्रबाट पनि सो कुरा पुष्टि हुन आएको छ । अतः मिसिल संलग्न लास प्रकृति मुचुल्का, सरजमीन, साक्षीहरुको बकपत्र समेतबाट पुनरावेदक प्रतिवादी धनीराम थापा मगरको प्रहरीमा भएको साविती बयान तथा सहअभियुक्तको पोल समर्थित हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको निर्णय सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहराएको प.क्षे.अ. को निर्णय मिलेकै देखिँदा मनासिब ठहर्छ पुनरावेदक प्रतिवादी धनीराम थापा मगरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

३०.   पुनरावेदक प्रतिवादी गोगबहादुर थापा मगरका हकमा विचार गर्दा प्रहरी समक्ष बयान गर्दा प्रतिवादीहरु हरीबहादुर खत्री र धनीराम थापा मगर दुवैले निज गोगबहादुर समेतलाई पोलेका, हरीबहादुरले अदालतमा समेत आफू सावित भई निजलाई समेत पोलेको छ । निज पुनरावेदक प्रतिवादी गोगबहादुर थापा मगर प्रहरीमा पक्राउ नपरी अदालतबाट जारी भएको म्यादी पूर्जी बमोजिम हाजिर हुन आई बयान गर्दा वारदातको बेला सो ठाउँमा नरहेको, काठमाडौंमा रहेको दावी लिदैं कर्तव्य गरेमा इन्कार रहेको देखिन्छ । पुनरावेदक प्रतिवादी गोगबहादुरसमेत भै मृतकलाई कर्तव्य गरी मारेको भन्ने सहअभियुक्तको पोल प्रतिवादीहरुलाई भेट्ने मानकुमारी, तुल्सा घिमिरे समेतको सनाखत, बकपत्र समेतबाट समर्थित हुन आएको देखिँदा निज समेत भई कर्तव्य गरी मारेको ठहराई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्‍याएको शुरु जिल्ला, अञ्चल र प.क्षे.अ. समेतको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन ।

३१.   साधकको हकमा विचार गर्दा प्रतिवादी धनीराम थापा मगर र गोगबहादुर थापाका सम्बन्धमा पुनरावेदनको रोहबाट नै निर्णय भइसकेको प्रतिवादी हरीबहादुर खत्री क्षेत्रीका हकमा निज मृतकलाई कर्तव्य गरी मारेकोमा प्रहरी र अदालत समक्ष समेत सावित रहेका, र निजको साविती बयान मिसिल संलग्न लास प्रकृति मुचुल्का, सरजमीन साक्षीहरुको बकपत्र समेतबाट समर्थित भएको हुँदा ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्‍याएको शुरु अर्घाखाँची जिल्ला अदालतको फैसला सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहराएको प.क्षे.अ. को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इतिसम्वत् २०४९ साल जेष्ठ ७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु