निर्णय नं. ४४७३ - लागू औषध

निर्णय नं. ४४७३ ने.का.प. २०४९ (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत २०४७ सालको फौ.पु.नं. २१९
सम्वत् २०४७ सालको फौ.पु.नं. २२०
फैसला भएको मिति : २०४९।२।२६।२ मा
पुनरावेदक/प्रतिवादी: सदरखोर डिल्लीबजारमा थुनामा रहेको घनश्याम अधिकारी
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार
पुनरावेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी: का.न.पं. वार्ड नं. १३ ताहाचल बस्ने घनश्याम अधिकारी
मुद्दा : लागू औषध
(१) प्रतिवादीको पुनरावेदनमा मात्र सीमित भई क्षे.अ. ले निर्णय गरेको मिलेकै हुँदा प्रतिवेदन माग अनुसार घर जफत हुनु पर्ने भन्ने अनुमति तहमा मात्र जिकिर लिई लगाउको कारणले सम्म अनुमति प्राप्त गरेको देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ विचार गरी रहन नपर्ने ।
(प्रकरण नं. २३)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी.
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. म.क्षे.अ. को इन्साफ उपर उभय पक्षलाई पुनरावेदनको अनुमति प्रदान भई आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।
२. मैले लागू औषध चरेशको बन्द व्यापार गरेको ०३९ सालदेखि हो, सो सालमा क्षेत्रपाटी बस्ने गुम्छा आचिङसंग ५०० ग्राम ह्वाइट सुगर भन्ने लागू औषध खरीद गरी प्रतिग्राम रु. २००।– का दरले इटालीमा लगी बिक्री गरे त्यसपछि ताहाचल बस्ने शिव श्रेष्ठ संग २००।– ग्राम चरेश प्रतिग्राम रु. १००।– मा खरिद गरी इटालियन मचेलो मिचेलो भन्ने विदेशीहरुलाई प्रतिग्राम रु. २००।– का दरले बिक्री गरिसकेपछि गत ३ महिना अगाडि का.जि. लाजिम्पाट बस्ने फुन्जा गुरुङबाट ७०० ग्राम ब्राउन सुगर प्रतिग्राम रु. २००।– मा खरीद गरी सितापाइला बस्ने देवेन्द्र कपालीलाई र सानेपा बस्ने अग्नीकुमार भट्चन ३।३ सय ग्राम ब्राउन प्रतिग्राम रु. २५०।– का दरले बिक्री गरिसके र ६० ग्राम ब्राउन सुगर देखे चिन्ने मान्छेलाई उसै बखत सोही रेटमा बिक्री गरिसके बाँकी ४० ग्राम मेरो कोठामा थियो । मिति ०४२।१२।१३ गते प्रहरीले खानतलासी लिई बरामद गरेको हो चरेशको व्यापार गर्दा खेरी नाम थाहा नभएको विदेशीसंग चरेश पेल्ने प्रेस मेसिन खरिद गरेको थिएँ । सो मेसीन झंसीखेल डेरामा राखेको हुँ र पहिला पनि लागू औषध बिक्री गरेमा सजायँ समेत पाएको हुँ भन्ने समेत व्यहोराको पुनरावेदन प्रतिवादी घनश्याम अधिकारीको मिति ०४२।१२।१४ गते प्रहरी समक्ष भएको बयान ।
३. घनश्याम अधिकारीको झंसीखेलको डेराबाट चरेश प्रेस गर्ने मेसिन फेला परेको ठीक हो भन्ने समेत व्यहोराको मिति ०४२।१२।१४ को बरामदी मुचुल्का ।
४. हाल पक्राउमा परेको घनश्याम अधिकारीले पहिले पनि लागू पदार्थको कारोबार गर्छन भन्ने कुरा मलाई केही थाहा छैन । हाल कारवाही भइरहेको भन्ने कुरा लागू औषध सन्दर्भमा लागू पदार्थ कति बरामद गरेको हो थाहा भएन । लागू पदार्थमा कारवाही भएकोसम्म थाहा पाएको हुँ अरु केही थाहा छैन भन्ने समेत शरण काफ्ले र ब्राउन सुगर कारोवार गर्दछन भन्ने कुरा हामीलाई विश्वास लाग्दैन भन्ने समेत व्यहोराको अन्य व्यक्तिहरुको मिति ०४२।१२।२७ को सरजमीन मुचुल्का ।
५. संकलन हुन आएको सबूद प्रमाणको आधारमा छानबीन गर्दा घनश्याम अधिकारीको घर तलासी लिंदा ४० ग्राम ब्राउन सुगर हिरोइन तथा चरेश प्रेस गर्ने प्रेश मेसिन समेत बरामद भएको र विभिन्न व्यक्तिबाट लिई विभिन्न व्यक्तिलाई बिक्री वितरण गरेको देखिएको हुँदा उपरोक्त आधार र प्रमाणबाट माथि लेखिए बमोजिम घनश्याम अधिकारीले ब्राउन सुगर कलरको हिरोइन बिक्री वितरण गर्ने र विदेश इटालीमा समेत निकासी गरेको प्रष्ट देखिन आयो । सो देखिँदा निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ)(ङ) को कसूर गरेको स्पष्ट देखिन आयो । लागू औषध बिक्री वितरण गरेको मुद्दामा घनश्याम अधिकारी उपर यस कार्यालयबाट पटक पटक गरी मिति ०३५।१२।२, मिति ०३६।८।१३ र ०४१।१०।२१ मा अदालत समक्ष मुद्दा दायर भएको अभिलेखबाट देखिएकोले प्रस्तुत मुद्दामा प्रतिवादीले पाँचौ पटक वादी बारम्बार लागू औषध बिक्री वितरण निकासी समेत गरेको देखिन्छ । तसर्थ निज घनश्याम अधिकारी उपर सोही ऐनको दफा १४(ख) र १६ अनुसार कारवाही सजायँ भई निजको लागू औषध राखी बिक्री वितरण गर्ने घर समेत ऐ. ऐनको दफा १५ अनुसार जफत हुन समेत अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन जिकिर ।
६. प्रहरीमा भएको बयान मेरो हो । उक्त बयान मेरो राजीखुसीबाट भएको होइन प्रहरीले डर त्रासबाट कुटपिट समेत गरी शारीरिक तथा मानसिक यातना समेत दिई नभएको नगरेको कुराहरुको बयान कागज गराई पढी बाची समेत नसुनाई बयान कागज समेतका विभिन्न कागजहरुमा सहीछाप गराएको हो बयान तथा प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसारबाट कुनै अपराध तथा कसूर भएको हैन । ०४२।१२।७ गते विहान मर्निङ वाक गरी आएको बखत बाहिर बाटोमा सिभिल ड्रेसमा ७ जवान मानिस आई मलाई एस.पी. ले बोलाएको छ भनी प्रहरी तालीम केन्द्र महाराजगंजमा लगे । त्यहाँ ७ दिनसम्म मलाई कुटपिट गरी यातना दिइराखेको र त्यसपछि मिति ०४२।१२।१७ गते मात्र जि.प्र.का. लाँदा मलाई अदालतमा म्याद थप गर्न ल्याएको हो प्रहरीले कुटपिट गरेकोमा चोटहरु जँचाई पाउँ प्रहरीले मलाई पक्राउ गरेपछि मेरो घर कुनै खानतलासी गरेको छैन मेरो घर तथा म बाट कुनै लागू औषध बरामद भएको समेत छैन । प्रहरीले बरामद गरेको ४० ग्राम ब्राउन सुगर मबाट बरामद भएको होइन प्रहरीले नै कहाँबाट ल्याएको हो मलाई थाहा छैन र बरामदी मुचुल्कामा प्रहरीले मलाई जबरजस्ती कागज गराएका हुन् । शिव श्रेष्ठ, देवेन्द्र नेपाली, अग्नीकुमार भट्चन तथा फि.जि. समेतको मानिसलाई म चिन्दीन तसर्थ मैले कोही कसैसंग लागू औषध खरिद बिक्री गरेको छैन, मिति ०३५।१२।२ र ०३६।८।१३ को मुद्दा सम्बन्धमा मलाई केही थाहा छैन । ०४१।१०।२१ मा दायर भएको भनिएको हकमा सो मुद्दाको का.जि.अ. को फैसला उपर म.क्षे.अ. मा पुनरावेदन दिनेछु भन्ने सोही व्यहोराको प्र.घनश्याम अधिकारीले का.जि.अ. मा गरेको बयान ।
७. प्रतिवादी घनश्याम अधिकारीले अदालतमा इन्कार रही बयान गरे तापनि कसूरमा स्वीकार गरी स.स.अ. तथा प्रहरी अधिकृत समक्ष बयान गरेकोले कैद जरिवाना वापत हुन सक्ने रु. २,०२,२६०।– दुईलाख दुई हजार दुईसय साठी रुपैयाँ नगद धरौट वा जेथा जमानी दिए तारेखमा राखी नसके थुनामा पठाई दिने भन्ने का.जि.अ. को मिति ०४३।१।३।४ को आदेश ।
८. घनश्याम अधिकारीले लागू औषध कारोबार गर्नु भन्ने बुझिए अनुसार निजको घर तलासी लिई लागू औषध फेला परे बरामद गरी ल्याउनु भनी मिति ०४२।१२।१३ गते मलाई र प्र.ना.नि. निलबहादर के.सी. लाई खटाई पठाए अनुसार निजको घरमा तलासी लिन जाँदा म निजको घरभित्र पसिन म बाहिर नै बस्ने प्र.ना.नि.निलबहादुर के.सी. र बरामती मुचुल्कामा लेखिएका मानिसहरु सो घरभित्र पसेका थिए ४० ग्राम ब्राउन सुगर फेला पर्यो भनी निलबहादुर खत्रीले भन्थे मैले आफ्नो आँखाले देखिन चरेश प्रेस गर्ने मेसिन मैले बरामद गरेको होइन । कहाँबाट बरामद भयो मलाई थाहा छैन भन्ने समेतको प्र.ह.जयबहादुर खड्काले वा.वि.अ. मा मिति ०४३।६।२१ मा गरेको बकपत्र ।
९. मिति ०४२।१२।७ गते विहान अन्दाजी ७:०० बजे विहान घुमेर २।४ जना साथी सहित घर तर्फ आउँदै हुनुहुन्थ्यो घरको ढोका अगाडि ६।७ जना मानिस बसी रहेका थिए बाटामा ती व्यक्तिहरुले घनश्यामलाई रोकी खलबल गर्न लागेपछि म र राम डंगोल सहित त्यहाँ गयौं उनीहरुले श्यामलाई एस.पि. कार्यालयमा जानु भनी जबरजस्ती समाती लान लागेका थिए र निज सिभिल ड्रेसका प्रहरीहरु र घनश्याम कुनै पनि व्यक्ति भित्र नपसी बाटैबाट लिएर गएका हुन भन्ने श्याम महर्जनको बकपत्र ।
१०. मिति ०४२।१२।७ गते विहिबार विहान करीव ६।३० बजे म बाहिरबाट फर्कदा उहाँ पनि घुमी आउँदै हुनु हुँदोरहेछ र साधारण कुराकानी गर्दा निजको घरनिर पुगेपछि मलाई चिया खाएर जाउँ भन्नु भएकोले म पनि साथैमा जाँदै थिएँ । निजको ढोकानिर ६।७ जना (साविक पेज न. १६२) सिभिल ड्रेसमा आएका मानिसले तपाईलाई एस.पि. सापले बोलाउनु भएको छ भनी घनश्यामलाई भित्र पस्न नदिई बाहिरबाटै लगेको देखेको हुँ र त्यस ठाउँमा सरजमीन समेत केही भएको छैन र घनश्याम अवैध व्यापार गर्ने व्यक्ति होइन र ब्राउन सुगर उहाँहरुको घरबाट लिएको होइन प्रहरी आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको दिनेश कर्णेलको बकपत्र ।
११. मिति ०४२।१२।७ गते छोराको विवाहको भोजमा म घरमै इष्टमित्रसंग थिएँ र ऐ. ७ गते विहान अं. ७:०० बजेतिर घनश्यामको घरको ढोका बाहिरको बाटोमा अं. ६।७ जना सिभिल ड्रेसमा बसेका मानिसले घनश्याम बाहिरबाट घुमेर फर्कदा ढोका बाहिर समाउन खोज्दा हल्ला भएकोले म पनि त्यही बसेकोे थिएँ त्यसै बेला निज ६।७ जनाले बोलाउन पठाएको छ जाउन भनी कहाँ लिएर गए थाहा भएन भोलिपल्ट बुझ्दा लागू औषध मुद्दामा थुनामा राखेको सुनेको हुँ ती सिभिल ड्रेसका मानिसहरु घनश्यामको घरको ढोका भित्र पसेका थिएन र बाटै बाट घनश्यामलाई लिएर गएका हुन् त्यस ठाउँमा सरजमीन र अन्य मुचुल्का भएको छैन भन्ने समेत व्यहोराको राम डंगोलको बकपत्र ।
१२. प्रस्तुत मुद्दामा लागू औषधको अतिरिक्त चरेश पेल्ने मेसिन समेत बरामद भएकोले निज प्रतिवादी घनश्याम अधिकारी लागू औषध कारोवारमा संलग्न रहेनछ भन्ने अवस्था देखिएन । अपराधको अवस्था र लागू औषधको परिणामलाई विचार गर्दा निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ) (ङ) अनुसारको अपराध गरेको ठहर्छ सो ठहर्नाले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा १४(ख) बमोजिम कैद वर्ष ६ र लागू औषधको दफा १६ बमोजिम थप कैद वर्ष १ समेत कैद वर्ष ७ सात रु. २०,०००।– बीसहजार जरिवाना हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको मिति ०४४।३।८ को फैसला ।
१३. वागमती विशेष अदालतबाट मलाई ७ वर्ष कैद र २०,०००।– जरिवाना गर्ने गरी भएको फैसलामा प्रदत्त कानुनी त्रुटि हुनुका साथै प्रर्वाग्र रही न्यायिक मन प्रयोग नगरी भएको हुँदा उक्त फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.घनश्याम अधिकारीको मिति ०४४।५।१ को म.क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।
१४. प्रतिवादी फिन्जी गुरुङको हकमा मौन रही प्र.घनश्याम अधिकारीलाई कम सजायँ गर्ने गरेको वागमती विशेष अदालतको फैसला बदर गरी दुवै प्रत्येवादीहरुलाई वादी दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१५. प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको र बरामदी मुचुल्का तथा मौकाको सरजमीन मुचुल्काबाट समेत प्रतिवादीले लागू औषधको संचय गरेको शंकास्पद देखिने तथा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) (ङ) अन्तर्गत लगाएको आरोप पुष्टि हुन आएको समेत नदेखिँदा प्रतिवादीलाई ऐनको दफा १४(ख) बमोजिम सजायँ गर्ने गरेको शुरु वि.अ. को फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ र क्षे.अ. नियमावली, ०३६ बमोजिम छलफलको लागि श्री महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ. संयुक्तइजलासको मिति ०४६।२।१७ को आदेश ।
१६. प्रतिवादी घनश्याम अधिकारीको हकमा अपराधीको अवस्था र बरामद भएको लागू औषधको परिणामलाई विचार गर्दा निजले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) (ङ) अनुसारको अपराध गरेको ठहर्याई ऐ.ऐनको दफा १४(ख) र दफा १६ बमोजिम कैद र थप कैद समेत र जरिवाना गर्ने गरेको वागमती विशेष अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने म.क्षे.अ. को फैसला ।
१७. म.क्षे.अ. को फैसलामा अ.बं. १८४(क), १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, २२, २४ र ५४ तथा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ)(च) र स.अ. बाट प्रतिपादित सिद्धान्त विपरीत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी घनश्याम अधिकारीको यस अदालतमा दायर हुन आएको निवेदनपत्र ।
१८. म.क्षे.अ. को फैसलामा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १५ को प्रत्यक्ष त्रुटि भएकोले पुनरावेदनको अनुमती पाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१९. म.क्षे.अ. को फैसलामा लागू औषध (नियन्त्रण) ऐन, ०३३ को दफा ४ र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि विद्यमान रहेको देखिँदा न्याप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख)(ग) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले मेरो पक्षले लागू औषध बिक्रीको लागि राखेको भन्ने कुनै प्रमाण छैन र बिक्री गर्दा गर्दै फेला पारेको अवस्था पनि होइन । लागू औषध नियन्त्रण ऐन, २०३३ ले संचय गर्नेलाई १ वर्षसम्म कैद हुने हो ०४३।७।२४ को संशोधनले मात्र ५ वर्षदेखि २० वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । वारदात २०४२।१२।१३ को हुँदा ०४३ सालको संशोधन लागू हुने होइन । प्रस्तुत मुद्दा साधक जाहेर नहुने मुद्दा हो अतः स्वतः माथिल्लो अदालतको विचाराधीन हुनु पुनरावेदन पर्नै पर्छ घर जफतको मुद्दामा वादीको पुनरावेदन परेको छैन । अतः श्री ५ को सरकारको पुनरावेदन खारेज हुनुपर्छ र मेरो पक्षले सफाई पाउनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो । श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले पुनरावेदनको हक भएपछि पहिलोमा चित्त बुझाए पनि पछि पुनरावेदन गर्न पाउँछ । घरधनीले नै लागू औषध संचय गरेपछि घर जफत हुन्छ । प्रेस मेसिन सहित ४० ग्राम ब्राउन सुगर बरामद भएको छ अधिकार प्राप्त अधिकारी समक्ष साविती छ । व्यापारिक प्रयोजनको लागि होइन भन्ने प्रमाण प्रतिवादीले गुजार्न सकेको नहुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
२१. म.क्षे.अ. को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
२२. यसमा निर्णयतर्फ विचार गर्दा मिति ०४२।१।२।१४ मा ४० ग्राम ब्राउन सुगर र प्रेस मेशिन प्रतिवादीको घर खानतलासी गर्दा बरामत भएको र प्रहरी प्रतिवेदनमा प्रतिवादीलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(ख) बमोजिम सजायँ गरी ऐ. ऐनको दफा १५ बमोजिम घर समेत जफत गरिपाउँ भन्ने माग दावी गरेकोमा वागमती विशेष अदालतबाट ०४४।३।८।२ मा फैसला हुँदा दावीको पहिलो खण्डको सम्बन्धमा मात्र निर्णय बोलिएको र सो निर्णय उपर म.क्षे.अ.मा प्रतिवादी घनश्याम अधिकारीको मात्र पुनरावेदन परि म.क्षे.अ. बाट शुरु फैसला सदर गर्ने गरी निर्णय भएको पाइन्छ । सो निर्णय उपर यी पुनरावेदक प्रतिवादीले यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरी आएको र वादी श्री ५ को सरकारको पुनरावेदनको अनुमतिको निवेदन पनि प्रतिवादीले अनुमति प्राप्त गरेको लगाउको भनी अनुमति प्रदान भएको देखिन्छ ।
२३. वादी श्री ५ को सरकारले आफ्नो मागदावी बमोजिम घर समेत जफत गर्नु पर्ने भन्ने सम्बन्धमा शुरु विशेष अदालतले नबोलेपछि म.क्षे.अ. मा दावी बमोजिम हुनु पर्ने भनी पुनरावेदन गर्नु पर्नेमा सो बमोजिम गरेको देखिएन । प्रतिवादीको पुनरावेदनमा मात्र सीमित भई म.क्षे.अ.ले निर्णय गरेको मिलेकै हुँदा प्रतिवेदन माग अनुसार घर जफत हुनु पर्ने भन्ने अनुमति तहमा मात्र जिकिर लिई लगाउको कारणले सम्म अनुमति प्राप्त गरेको देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ विचार गरी रहन परेन । पुनरावेदक प्रतिवादीले पुनरावेदनको सम्बन्धमा निजको घरबाट ४० ग्राम ब्राउन सुगर र प्रेस मेसिन बरामद भई अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेको पाइन्छ । यी पुनरावेदकले वैध कामको लागि संचय गरेको भनी जिकिर लिएको पनि देखिँदैन । शुरु विशेष अदालतको इन्साफ सदर गर्ने गरेको म.क्षे.अ.को इन्साफ मुनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी घनश्याम अधिकारी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले वागमती विशेष अदालतले ७ वर्ष कैद र २०,०००।– जरिवाना गर्ने गरेको इन्साफ सदर गरेको म.क्षे.अ.को फैसला सदर भएकोले दोश्रो तहको पुनरावेदन हुँदा अ.बं. २०३ नं. बमोजिम ५ प्रतिशतले थप कैद ४ महिना ६ दिन, थप जरिवाना रु. १०००।– हुन्छ । बेरुजु हुँदा लगत कसी असूल उपर गर्नु भनी का.जि.अ. तहसीलमा लगत दिनु.......१, फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु .....२, मिसिल नियमानुसार गरी बुझाई दिनु ......३
उक्त रायमा म सहमत छु ।
न्या.लक्ष्मणप्रसाद अर्याल
इतिसम्वत् २०४९ साल जेष्ठ २६ गते रोज २ शुभम् ।