शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४७४ - प्रतिषेध, परमादेश

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४७४    ने.का.प. २०४९ ()    अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४७ सालको रिट नं. ९३३

आदेश भएको मिति २०४८।११।११।१ मा

निवेदक      : भ.पु.न.पं. वा.नं. १६ तेखाचो बस्ने गोविन्द आचाजु

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने कृष्णलक्ष्मी आचाजुसमेत

मुद्दा : प्रतिषेध, परमादेश

(१)    रिट निवेदकको मुलतवी राख्नु पर्ने भन्ने माग दावी बमोजिम अञ्चल अदालतमा रहेको फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंशबण्डाको फैसला कार्यान्वयन सम्बन्धमा कारवाही गर्ने गरी अ.बं. १२ नं. बमोजिम मुलतवी राख्ने आदेश भइसकेको र सो सम्बन्धमा त्यसपछि कुनै डोर खटाइएको समेत छैन भनी जिल्ला अदालतबाट लिखितजवाफ प्राप्त हुन आएकोले रिट निवेदकको माग बमोजिम प्रतिषेधको आदेश जारी गरिरहनु पर्ने अवस्था भएको नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ।

(प्रकरण नं. ६)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी

आदेश

न्या.हरगोविन्द सिंह प्रधान

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    भ.पु.जि.अ. को फैसलामा चित्त नबुझी वा.अं.अ. मा पुनरावेदन परी कारवाही चलीरहेकोले यस मुद्दाको अन्तिम टुंगो लागेको छैन । अतः भ.पु.जि.अ. ले अंश छुट्याउन डोरको तारेख तोकेको कार्य गैरकानुनी हुँदा सो सबै काम कारवाही अ.बं. १२ नं. बमोजिम मुलतवी राखी पाउँ भनी मैले भ.पु.जि.अ.मा २०४७।८।२ मा निवेदन दिएको थिएँ । अर्थात् अं.अ. मा परेको पुनरावेदनको अन्तिम टुंगो लागेपछि मात्र यस अंश मुद्दाको अंश छुट्याउने कार्य अघि बढाउन मिल्ने हो अन्यथा होइन भन्ने मेरो मुख्य निवेदन जिकिर हो । विपक्षीहरु बीच मिलोमतो गरी २०३७।९।१६ मा अंश मुद्दा परेको हो र मेरो अंश छोडपत्र लिखत २०३६।२।११ मा रजिष्टे«शन पारीत लिखत हो । यस्तो अवस्थामा मेरो अंश छोडपत्र भित्रको सम्पत्ति समेत भित्र पारी अंश मुद्दामा फैसला गरे गराएकोले सो बदर गरी पाउन भ.पु.जि.अ. मा मेरो समेत फिराद परी वा.अं.अ. मा मेरो समेत पुनरावेदन परेकोे हो । भ.पु.जि.अ. मा २०४७।८।२ मा मैले चडाएको निवेदनमा सिर्फ आलटाल गरी मलाई दुःख दिएकोले मेरो पुनरावेदन समेतको अन्तिम टुड्डो नलागी भ.पु.जि.अ.ले अंश छुटाउने कुनै काम कारवाही गर्नु गराउनु पूर्णरुपेण गैरकानुनी भएकोले प्रतिषेध मिश्रित परमादेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।

३.    यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

४.    मेरो खसम स्वर्गे भए देखि नै मलाई अनेकौं दुःख दिई आइरहेको तथा मलाई अंश समेत केही नदिई २०२४।११।१५ देखि घरबाट निकाला गरिदिएकोले म तथा मेरो छोरा डेरा गरी बसी अर्काको ज्याला मजदुरी गरी जीवन गुजारा गर्न मुस्कील परी ०३७।९।१६ मा अंश मुद्दामा फिराद गरी कारवाही चल्दै जाँदा ०४३।९।३० मा म.क्षे.अ. बाट अन्तिम फैसला भएकोमा जनकलालको छोरा गोविन्द आचाजुले फेरि उक्त अंश मुद्दाको फैसला बदरमा फिराद गरि ०४६।८।११ मा भ.पु.जि.अ.बाट फैसला भइसकेपछि उक्त अंश मुद्दामा भएको फैसला अनुसार अंश भरी पाउन मैले भ.पु.जि.अ. मा दर्खास्त दिई हाल तारेखमा बसी आएको छु । विपक्षको निवेदन कथन अनुसार अंश छुट्याउन डोर समेत गई नसकेको हुँदा निवेदन दावी झुठ्ठा हो । कुन मुद्दामा भ.पु.जि.अ. बाट कुन मितिमा फैसला भयो कहिले पुनरावेदन परेको हो सो समेत उल्लेख विपक्षीको निवेदनमा छैन । भ.पु.जि.अ. मा म र मेरो छोरा समेतको संयुक्त दर्खास्त दिएकोमा मलाई मात्र विपक्ष बनाएको मेरो छोरालाई विपक्ष बनाउन सकेकोे छैन तसर्थ उक्त निवेदन रीतपूर्वकको छैन । यसरी म निरक्षर विधवा स्त्रीलाई केवल दुःखै मात्र दिने नियतले दायर गरेको हुँदा प्रतिषेध मिश्रित परमादेश वा उपयुक्त अन्य जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी हुन सक्ने नहुँदा निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत विपक्षी कृष्णलक्ष्मी आचाजुको लिखितजवाफ ।

५.    अंश पाउने सबै फैसलाहरु बदर गरी पाउँ भनी यसै भ.पु.जि.अ. को फैसला उपर श्री वा.अं.अ. मा पुनरावेदन परी कारवाही चली रहेकोले सो अन्तिम किनारा नलागेसम्म कारवाही गर्न नमिल्ने हुँदा अंश छुट्याउने कार्य अ.बं. १२ नं. बमोजिम मुलतवी राखी पाउँ भनी फैसला बदर मुद्दाका वादी गोविन्द आचाजु तथा प्र.जनकलाल आचाजु समेतका छुट्टा छुट्टै निवेदन पर्न आएको र सोही बामेजिम गोविन्द आचाजु समेतका पुनरावेदन परेको छ छैन भनी वा.अं.अ. मा पत्र लेखी पठाएकोमा पुनरावेदन परेको छ भनी जवाफ प्राप्त भएकोले मिति २०४७।१०।१४ गते फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंशबण्डाको फैसला कार्यान्वयन पत्र सम्बन्धी मुद्दामा कारवाही गर्ने गरी अ.बं. १२ नं. बमोजिम मुलतवी आदेश समेत भएको र गोविन्द आचाजु तथा जनकलाल आचाजु समेतले मुलतवी राखी पाउँ भनी निवेदन दिएका मितिदेखि डोर खटाइएको समेत मिसिलबाट नदेखिएकोले निवेदनपत्रबाट कारवाही गर्नु पर्ने समेत नदेखिँदा खारेज गरी पाउँ भन्ने समेत विपक्षी भक्तपुर जिल्ला अदालतको लिखितजवाफ ।

६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठले भक्तपुर जिल्ला अदालतबाट अंश मुद्दामा भएका फैसला बदर गरी पाउन निवेदकले वागमती अञ्चल अदालतमा पुनरावेदन दिएको अवस्था अंश छुट्याउन डोरको तारेख तोकेको गैरकानुनी छ मुलतवी रहनु पर्छ भन्ने समेतको र विपक्षी भक्तपुर जिल्ला अदालततर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानीले फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंशबण्डाको फैसला कार्यान्वयन गर्ने गरी अ.बं. १२ नं. बमोजिम मिति २०४७।१०।१४ गते मुलतवी राखिएको छ भन्ने समेतको प्रस्तुत गर्नु भएको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकको मुलतवी राख्नु पर्ने भन्ने माग दावी बमोजिम वागमती अञ्चल अदालतमा रहेको फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंश बण्डाको फैसला कार्यान्वयन सम्बन्धमा कारवाही गर्ने गरी अ.बं. १२ नं. बमोजिम मुलतवी राख्ने आदेश मिति २०४७।१०।१४ मा भइसकेको र सो सम्बन्धमा त्यसपछि कुनै डोर खटाइएको समेत छैन भनी भक्तपुर जिल्ला अदालतबाट लिखितजवाफ प्राप्त हुन आएकोले रिट निवेदकको माग बमोजिम प्रतिषेधको आदेश जारी गरिरहनु पर्ने अवस्था भएको नहुँदा प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४८ साल फाल्गुण ११ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु