निर्णय नं. ४४७६ - कीर्ते जालसाजी

निर्णय नं. ४४७६ ने.का.प. २०४९ (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री केशबप्रसाद उपाध्याय
सम्वत् २०४६ सालको फौ.पु.नं. ६१६
फैसला भएको मिति : २०४९।२।३२।१ मा
पुनरावेदक/प्रतिवादी: धनकुटा न.पं. वडा नं. ३ बस्ने भद्रनाथ पोखरेल
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने हर्कबहादुर राईसमेत
मुद्दा : कीर्ते जालसाजी
(१) राजीनामा प्राप्त भएको दुई नमूनाको लागि प्राप्त भएको राजीनामाको हस्ताक्षर आपसमा भिडाई जाँच गर्दा सही नक्कल गरी गरेको हुँदा नमूनासँग नभिड्ने भनी सोही रायलाई समर्थन गरी बकपत्र समेत गरेको पाइन्छ । अतः पुनरावेदक प्रतिवादीले तात्कालिन न.पं. कार्यालयमा दिएको निवेदनमा विवादित जग्गा भोगबन्धीमा खाएको भन्ने तथ्य एवं मिति २०२५।१।२५ को चलन पूर्जी सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञको लेखक कारणीको सही असमान रहेको भन्ने समेत आधार प्रमाणबाट २०२५।१।२५ को चलन पूर्जी जालसाज गरी खडा भएको भन्ने देखिने ।
(प्रकरण नं. ११)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्की
फैसला
न्या.केशवप्रसाद उपाध्याय
१. पू.क्षे.अ. बाट मिति २०४५।१०।७ मा भएको आदेश उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. १९९७ साल जाँचमा पगरी मक्कर धोज हैकमसिं संयुक्त जिम्मा दर्ता धनकुटा पासिंक पात्ले तर्फ सि.नं. ९ मा किपटीया तिरो रु. ६।५० भित्र फिरादी सितलमायाको पति म फिरादी हर्कबहादुरका बाबु महाप्रसाद राईका नाउँमा दर्ता भएको जगगाहरु पति तथा पिता मरी हाम्रो हकभोग भई म फिरादी सितलमायाका नाउँमा भू.सु. ७ नं. फाराम भरेको म हर्कबहादुरका नाउँ जि. सुखपालासंग मार्फत तिरो तिर्दै हामीले सगोलबाट भोगी चर्चि आएको जग्गा मध्ये हाल जगतबहादुर श्रेष्ठको बोरी देखि पूर्व ओमबहादुरको बोरी देखि पश्चिम जयबहादुर राईको गैरी वारी देखि दक्षिण ओमबहादुर बस्तेतकै वारीसंग साँध उत्तर यति ४ किल्लाभित्रको बीजन माना ।।३ लाग्ने फिरादी सितलमायाले ७ नं. फाराम क्र.सं. ४ को कुत्यावारी समेतको जग्गा नापीको समयमा दर्ता गर्न कुरा भएको हुँदा कारवाही चलाउन बाँकी नै थियो विपक्षी भद्रनाथले उक्त हाम्रो कुत्यावारी जग्गा रु. ५०००।– मा ०१८ साल देखि भोगबन्धकी खाई ४ नं. जो.अ.नि. पनि भरेको छु, सो जग्गामा खनजोत गर्न दिएन छोरा कुटि दियो भनी ०४२।१०।२३ गते म हर्कबहादुरका नाउँमा ध.न.न.पं. मा उजूर परेकोमा कारवाही चलिरहेको थियो म हर्कबहादुर समेतका नाउँमा लुटपीट मुद्दामा फिराद गरेको कुरा मिति ०४३।५।२२ मा समाव्हान तामेल हुँदा थाहा पाई झुठ्ठा कुरामा किन उजूर गरेको होला भनी हाम्रा साक्षी र गाउँका मानिससंग कुरा गर्दा विपक्षीले हाम्रा हक भोगको कुत्यावारी भन्ने पाखावारी हाम्रा नाउँमा दर्ता गरी धनी पुर्जा लिएको कुरा बताएकोले के रहेछ भनी मा.पो.का. धनकुटामा गई बुझ्दा हाम्रो उक्त कुत्यावारी भन्ने जग्गाको दक्षिण पूर्वतर्फ आधा जति जग्गा साविक धनकुटा बजार गा.पं. वा.नं. ४ को कि.नं. २०२ को रो. १३।१।३ कित्ताकाट भएको जग्गा जिम्मावाला शंखसेर राई जिम्मा भित्रको मिनाहा रु. ३।– दर्ता भएको भन्ने पारी पगरी जि.झुक्कलबहादुर राईबाट मिति ०२५।१।२५।२ मा चलान पूर्जी लिएको जालसाज कीर्ते कागज तयार पारी हाम्रो हक मेटाई आफ्ना नाउँमा दर्ता पाउन मिति ०४२।१२।१६ देखि कारवाही चलाई मिति ०४३।२ मा मा.पो.का. धनकुटाबाट भएको निर्णय अन्य कागजको नक्कल सारी हेर्दा थाहा भयो विपक्षीले हाम्रो हक मेटाई हाम्रो हकभोगको जग्गा कहाँको संग बसी कीर्ते चलानी तयार पारी व्यहोरा र कारणी समेतको सहीछाप कीर्ते गरी आफ्ना नाममा जालसाज दर्ता गरेको बदर गरी हाम्रो हक कायम गरी दर्ता बदर गराउने तर्फ छुट्टै देवानी मुद्दा दायर गरेको छु । यस्मा विपक्षीले ०२५।१।२५।२ मा को संग कुन ठाउँमा बसी जालसाज किर्ते कागज १,३ नं. बमोजिम अन्याय गरेको हुँदा मिति अगाडिको राखी लिखत कीर्ते जालसाजबाट तयार गरेको भए पनि कीर्ते कागजको १८ नं. मा २ वर्षको हदम्याद भए पनि जग्गा हकभोग गर्न आएको मिति देखि हदम्याद शुरु हुने ०३१।९५ निर्णय सारसंग्रह पृष्ठ १८३ भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएकोले विपक्षीले आफ्नो हक निस्सा देखाई मुद्दा चलाएको मा.पो.का. धनकुटाबाट निर्णय र चलानी समेतको नक्कल गरी लिएको मिति ०४३।५।२३।२ को ३५ दिनभित्र फिराद गर्न आएको छु । विपक्षीलाई झिकी म संग जोडी साक्षी समेत बुझी कीर्ते काजको ७, १० नं. बमोजिम दण्ड सजायँ गरी विपक्षीका नाउँमा भएको जग्गा दर्ता बदर गरी हाम्रो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत संयुक्त वादी दावा ।
३. ०९७ साल जाँचमा घक्कर सिं, हैकम सिंको संयुक्त जिम्मा भित्र किपटीया सिं तिरो ६।० भित्रको दर्ता छूट भएको पिता महाप्रसादका नाउँमा दर्ता भएको उल्लेखित ४ किल्ला भित्रको जग्गा मध्ये दक्षिण पूर्व तर्फ आधा जति कि.नं. २०२ को रो. १३।१।३ कित्ताकाट भएको ०२५ सालमा चलानी बनाई विपक्षीले धनी पुर्जा लिएको जग्गाको जालसाज गरे भन्ने वादी दावा झुठ्ठाको वादी दावाको जग्गा ०३१ सालमा सर्भे नापी भएको जग्गाहरु वादीहरुको हकभोगको जग्गा भए जग्गा नाप जाँच ऐन, ०१९ को दफा ५ बमोजिम नापी डोरमा ऐ. दफा बमोजिम धनी पूर्जी वितरण भएको ४५ दिनभित्र उजूर गर्नुपर्ने सो केही नगरी आजसम्म दर्ता तर्फ कुनै कारवाही नगरेको कुरा विपक्षीको फिराद व्यहोराबाट प्रष्ट छ । वादीको जग्गा मैले दर्ता गरेको भए ऐनको म्याद २ वर्षभित्र फिराद गर्नु पर्ने सो केही नगरी नापी भएको १२ वर्ष पछि फेराद गरेको खारेज गरी पाउँ र ०२५ सालमा भएको चलानी पूर्जी ऐजन ४३ सालमा आएर म्याद नाघी फेराद परेको वादी दावाको जग्गा मक्कर धोज, हैकम सिंह संयुक्त जिम्मा भित्रको वादी दावीको जग्गा वादीहरुको पति बाबुको जग्गा नभई उक्त जग्गा संसेर राई जिम्मा भित्र किपटीया तिरो रु. ३।– मा दर्ता भएको कुताहारी पाखावारी जग्गा जिम्मा संख सेरको छोरा पगरी झुक्कलबहादुर राईलाई ४ दाम राखी ०२५।१।२५ मा चलानी पूर्जी लिई सोही साल देखि भोग गरी आएको जग्गा हाल सर्भेमा कि.नं. २०२ रो. १३–१–३ मा नापी भएको मा.पो.का. धनकुटामा कारवाही चल्दा मेरा नाउँमा दर्ता भई धनी पूर्जा प्राप्त गरेको छु । यस्तोमा फेराद दावी नलाग्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत भद्रनाथको प्रतिउत्तरपत्र ।
४. प्रतिवादीले पेश दाखिल गरेको ०२५।१।२५ को सक्कल चलानी पूर्जी देखाई सुनाउँदा देखें सुने सो चलानी पूर्जी सद्दे व्यवहारको होइन कीर्ते हो जिम्मावाल झुक्कलबहादुर सद्दे व्यवहारको लेखन सही छाप र औंठी छाप परेको कागजहरु म संग भएको सद्दे व्यवहारमा लागेको सहिछाप भिडाई जाँची पाउँ भन्ने समेत वादी वा.स. हर्कबहादुरको ०४४।१।२ गतेको बयान रहेछ ।
५. आज यस अदालतबाट मलाई देखाइएको ०२५।१।२५।२ को सक्कल चलानी पूर्जी देखाउँदा देखे सुने यस्मा सद्दे साँचो व्यवहार यो छ कि सो देखाइएको चलानी पुर्जिमा लेखका बायाँ पट्टि किनारमा र मिति बन्दमा मेरा बाबु झुक्कलबहादुर भनी सहिछाप गरेको र तीन औंठीको छाप लगाएको रहेछ । तर सो सहिछाप औंठीको छाप समेत मेरा बुबाको सद्दे व्यवहारको होइन कीर्ते खडा गरी चलानी पूर्जी तयार पारेको रहेछ सो चलानी पुर्जिको लेखक मेरा बुवा र म समेतको होइन मेरो बुबा जिम्मावाल भए पनि बुवाले यो भद्रनाथ पोखरेललाई कुनै व्यवहार र व्यवहारको चलानी पुर्जि गरिदिनु भएको झुक्कलबहाुदरको औंठीको छाप र यसै मुद्दाका प्रतिवादीहरुसंग छ । आवश्यक परे पेश गर्ने नै छु भन्ने समेत बुझिएको हर्कबहादुर राइको ०४४।१।२ गतेको बयान रहेछ ।
६. ०२५।१।२५ गतेको चलानी पूर्जीलाई रेखा विशेषज्ञ मार्फत परीक्षण गराउँदा झक्कलबहादुरको दस्तखत परेको ०३३।२।२९ मा पारीत भएको र ०२८।१०।१२ को लिखत परस्पर भिड्न नसक्ने राय प्राप्त भएबाट ०२५।१।२५ को चलानी पूर्जी कीर्ते ठहर्छ भन्ने धनकुटा जिल्ला अदालतबाट ०४४।११।२५ को भएको फैसला । उक्त फैसला त्रुटिपूर्ण छ भनी प्रतिवादीले दिएको पुनरावेदनमा वादीले फिरादको प्रकरण ५ मा ०१८ साल देखि प्रतिवादीले भोगबन्धकीमा खाइरहेको भनी लेखाएको कुरालाई प्रतिवादीले प्रतिवाद गर्दा खण्डन गर्न नसकी चुप लागी बसेको समेतबाट शुरुले ०२५।१।२५ को चलानी कागज कीर्ते ठहराएको इन्साफ मनासिब ठहर्छ भन्ने मिति ०४५।४।३० गतेको कोशी अञ्चल अदालतको फैसला ।
७. उक्त कोशी अञ्चल अदालतको इन्साफमा कानुनी त्रुटिपुर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत निवेदनमा ०२५।१।२५ को चलानी पूर्जीमा भएको झुक्कलबहादुरको दस्तखत र छाप मेरा बाबु झुक्कलबहादुरको होइन कीर्ते हो भनी बुझिएका झुक्कलबहादुरका छोरा हर्कबहादुरले बयान गरेको पाइन्छ । साथै सो ०२५।१।२५ को चलानी पूर्जीमा लेखेको सहिछाप र ०३३।२।२९ र ०२८।१०।१२।४ मा पारीत लिखतमा लागेको छाप झुक्कलबहादुरको सहिछाप नमिलेको भन्ने ०४४।९।१५ को रेखा तथा लेखा विशेषज्ञको प्रतिवेदन समेत देखिन्छ । तसर्थ ०२५।१।२५ को चलानी पूर्जी किर्ते ठहराएको शुरुको इन्साफ सदर गर्ने गरेको कोशी अञ्चल अदालतको इन्साफमा न्या.प्र.सु. ऐनको दफा १३(४) अन्तर्गतको त्रुटि विद्यमान रहेको नदेखिएकोले पुनरावेदन गर्न अनुमति प्रदान गर्न मिलेन भन्ने समेत पू.क्षे.अ. को मिति ०४५।१०।७ को आदेश ।
८. उक्त आदेश कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अदालत वा साक्षी सरह बयान जिरह नगरी दिएको विशेषज्ञको रायलाई आधार मानी भएको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको पु.क्षे.अ. को उक्त आदेशमा प्रमाण ऐन, ०३१ को दफा २३(७), ५२ को व्याख्यात्मक त्रुटि देखियो । अतः यसमा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस सर्वोच्च अदालत संयुक्तइजलासको आदेश ।
९. नियम बमोजिम दैनिक कजलिष्टमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री शम्भु थापाले झुक्कलबहादुरको सही स्पष्ट नै देखिएबाट चलानी पूर्जी सद्दे व्यहोराको हो चलानी पूर्जी तयार भई पारीत लिखत समेतको आधारमा भोग तिरो गरी आएको जग्गालाई कीर्ते जालसाजी गरी खडा गरिएको भनी ठहराएको कोशी अञ्चल अदालतको फैसला पू.क्षे.अ. को आदेश कानुनी त्रुटिपूर्ण छ भन्ने समेत र पुनरावेदक तर्फकै अर्का विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले जग्गा नाप जाँच भएको मिति ०३०।१०।१४ बाट साविक जग्गा मिच्नेको १८ नं. बमोजिम २ वर्ष भित्र फिराद दायर नभएकोले फिराद खारेज हुनुपर्दछ भन्ने समेत र विपक्षी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री वोर्णबहादुर कार्कीले मिति ०२५।१।२५ को चलानी पूर्जी रेखा विशेषज्ञ जाँच हुँदा लिखत भिड्न नसक्ने र नक्कल गरी झुक्कलबहादुरको सही गरिएको हो भन्ने विशेषज्ञको राय समेतको आधारमा चलानी पूर्जी कीर्ते जालसाजी ठहराएको कोशी अञ्चल अदालतको फैसला एवं पू.क्षे.अ. को आदेश समेत कानुन अनुरुप हुँदा सदर हुनुपर्दछ भन्ने समेतका तर्कहरु प्रस्तुत गर्नु भयो ।
१०. यसमा निर्णयतर्फ हेर्दा, कोशी अञ्चल अदालतबाट मिति ०२५।१।२५ को चलानी पूर्जी लिखत जालसाजी ठहराएको इन्साफ उपर पू.क्षे.अ. बाट अनुमति नहुने आदेश भएको इन्साफ मिले नमिलेतर्फ निर्णय दिनु पर्ने हुन आयो ।
११. हाम्रो पति एवं पिताको नाममा दर्ता रहेको हाम्रो हकको जग्गा विपक्षी प्रतिवादीले २०१८ साल देखि भोगबन्धकी खाइरहेको जग्गामा खनजोत गर्न दिएन भनी ०४३।५।२२ मा फिरादी मध्येका हर्कबहादुरको नाउँमा बाली लुटपीट मुद्दा दायर गरेकोले मालपोत कार्यालय बुझ्दा जिम्मावाल झुक्कलबहादुर राईबाट मिति ०२५।१।२५ मा कीर्ते चलानी पूर्जी तयार पारी हाम्रो हक मेटाई मिति ०४३।४।२८ मा जग्गाधनी पूर्जा लिएको हुँदा उक्त मिति ०२५।१।२५ को चलानी पूर्जी कीर्ते जालसाजी चलानी खडा गरी हाम्रो हकको जग्गा दर्ता गराएको बदर गरी पाउँ भन्ने समेत फिराद दावी देखिन्छ । मिति २०२५।१।२५ मा भएको चलानी पूर्जी एवं मिति २०३०।१०।१४ मा जग्गा नाप जाँच भएकोलाई २०४३ सालमा आएर दावी गरेको फिराद म्याद नाघेको हुँदा खारेज हुनुपर्दछ भन्ने समेत प्रतिउत्तर जिकिर पाइन्छ । २०२५।१।२५ गतेको चलानी पूर्जीमा चारकिल्ला समेत खोली कुत पाखो वारी ३। मध्ये दामासाही तिरो रु. २ तिरो लाग्ने जग्गा देखिएको पाइन्छ । चलानी पूर्जीमा उल्लेख भएको जग्गा र विपक्षी वादीले दावी लिएको जग्गा अलग अलग हो भन्ने देखिन आउँदैन । पुनरावेदक प्रतिवादीले तत्कालीन प्रधानपंच नगर पंचायत कार्यालय, धनकुटामा दिएको निवेदनमा विवादको जग्गा आफूले भोगबन्धकीमा २०१८ सालदेखि भोगेको भनी लेखेकोे कुरालाई जिल्ला अदालत धनकुटाले आफ्नो फैसलाको निर्णयाधार बनाई गरेको फैसलालाई खण्डन गर्न सकेको पाइएन । निवेदन व्यहोरालाई विवादको पुनरावेदक प्रतिवादीले भोगबन्धकीमा भोगेको तथ्य मिति २०४२।१०।२४ मा तात्कालीन न.पं. मा दिएको निवेदनमा स्वीकार गरेकोबाट विवादको जग्गा चलन पूर्जी बमोजिम हक भएको भन्ने देखिन आएन । चलन पूर्जीको लेखक भनी उल्लेख भएको झुक्कलबहादुर राईको मिति २०२५।१।२५ गतेको चलन पूर्जी मेरो बुवाले लेख्नु भएको होइन । कीर्ते चलानी खडा गरेको हो भनी हर्कबहादुर राईले बयान गरेको पाइन्छ । मिति २०२५।१।२५ को चलानी पूर्जीमा भएको झुक्कलबहादुर राईको सहिछाप निजको दस्तखत परेको मिति २०३३।२।२९ र २०२८।१०।१२ गतेको लिखतसंग रेखा तथा लेखा विशेषज्ञको जाँच गराउँदा चलानी पूर्जीमा भएको झुक्कलबहादुरको सहिछापसंग असमान रहेको भनी विवादित हस्ताक्षरमा कलमको हस्ताक्षर कुनै वस्तुले रगडेर अक्षरहरु मेटाउने प्रयासमा हस्ताक्षरको अक्षर लेखिएको भागको केही अक्षर मात्र देखिएको छ तथा रगडेर अक्षर मेटाउने प्रयास भएको भागको कागजमा प्वाल परेको छ । विवादित चलानी पूर्जीमा लेखिएको कारणीको हस्ताक्षर नक्कल गरी लेखिएको छ तथा उक्त हस्ताक्षरमा भएको लेखावटको विशेषतासँग नमुनाको लागि प्राप्त २०२८ र २०३३ सालको पारीत राजीनामामा भएको झुक्कलबहादुरको हस्ताक्षरहरु आपसमा भिड्दैन भनी रेखा विशेषज्ञको हस्ताक्षर जाँच गरेको राय भएको पाइन्छ । यस सर्वोच्च अदालत संयुक्तइजलास समक्ष रेखा तथा लेखा विशेषज्ञ घनश्याम मुखियालाई उक्त राय सम्बन्धमा बकपत्र गराउँदा २०२५ सालको विवादित लिखतमा भएको कारणीको हस्ताक्षरसँग भिडाई जाँच गर्दा २०३३ साल र २०२८ सालको दुई पारीत राजीनामा प्राप्त भएको उक्त नमूनाको लागि प्राप्त भएको हस्ताक्षर आपसमा भिडाई जाँच गर्दा झुक्कलबहादुरको सही नक्कल गरी गरेको हुँदा नमूनासँग नभिड्ने भनी सोही रायलाई समर्थन गरी बकपत्र समेत गरेको पाइन्छ । अतः पुनरावेदक प्रतिवादीले तत्कालिन धनकुटा नगरपञ्चायत कार्यालयमा मिति २०४२।१०।२४ मा २०४२।१०।२४ मा दिएको निवेदनमा विवादित जग्गा भोगबन्धकीमा खाएको भन्ने तथ्य एवं मिति २०२५।१।२५ को चलन पूर्जी सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञको लेखक कारणीको सही असमान रहेको भन्ने समेत आधार प्रमाणबाट २०२५।१।२५ को चलानी पूर्जी कीर्ते जालसाज गरी खडा भएको भन्ने देखिन आयो ।
१२. अतः शुरु धनकुटा जिल्ला अदालतबाट विवादित मिति ०२५।१।२५ को चलानी पूर्जी कीर्ते ठहराएको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ उपर पू.क्षे.अ. ले अनुमति नदिने गरेको आदेशहरुमा समेत कुनै कानुनी त्रुटि भए गरेको नदेखिँदा कुनै परिवर्तन गरी रहनु परेन । आदेश फैसला मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४९ साल जेष्ठ ३२ गते रोज १ शुभम्