शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४७८ - लागू औषध

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४७८    ने.का.प. २०४९ ()    अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको फौ.पु.नं. ३८४

फैसला भएको मिति : २०४९।१।१०।४ मा

पुनरावेदक/प्रतिवादी: का.न.पं. वडा नं. ओमबहाल डेरा गरी बस्ने दिपक अरोरा

विरुद्ध

विपक्षी/वादी: श्री ५ को सरकार

मुद्दा : लागू औषध

(१)    आफ्नो पेन्टको पकेटमा राखेको २५ ग्राम सेतो हेरोइन बरामद भएको ठीक हो भनी लेखाई सही समेत गरी दिएबाट बरामद गरेको होइन भन्न नमिल्ने ।

(प्रकरण नं. २०)

विपक्षी/वादीतर्फबाट: विद्वान न्यायाधिवक्ता श्री मोहन थपलिया

फैसला

न्या.लक्ष्मणप्रसाद अर्याल

१.     म.क्षे.अ. को इन्साफमा चित्त नबुझी दायर हुन आएको पुनरावेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।

२.    दिपक अरोराले अवैध लागू औषध हेरोइनको व्यापार गर्ने गरेको छ, भन्ने बुझिन आएकोले कानुन बमोजिम होस् भन्ने समेतको ०४३।६।२० को प्र.ह. चोकबहादुरको प्रतिवेदन ।

३.    बसन्तपुर डवलीमा दिपक अरोराको जिउ तलासी लिँदा निजले लगाएको पेन्टको दाहिने पट्टिको पाकेटमा प्लाष्टिकको कागजभित्र पोको पारी राखेको हेरोइन सेतो २५ ग्राम लागू औषध फेला परी बरामद भएको ठीक छ भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

४.    दिपक अरोरालाई खोजी गर्दा फेला परी निजको जिउ तलासी लिँदा २५ ग्राम हेरोइन लागू औषध बरामद भएकोले बरामदी मुचुल्का र सामान समेत कारवाहीका लागि पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.नि.भरतबहादुर जि.सी. समेतको प्रतिवेदन ।

५.    ०४३।७।२ गते म बसन्तपुरमा घुमी रहेको बखत मलाई प्रहरीले पक्राउ गरेको हो, र मेरो पेन्टको गोजीबाट २५ ग्राम हेरोइन बरामद भएको होइन, बरामदी मुचुल्का खडा भएको रहेछ सो बारे मलाई केही थाहा छैन । अहिलेसम्म मैले कुनै लागू औषधको कारोवार गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक अरोराले प्रहरीमा गरेको बयान ।

६.    २५ ग्राम हेरोइन दिपक अरोराबाट बरामद भएको विश्वास लाग्दैन निज रेडिमेड व्यापार गर्ने मानिस हुन् त्यस्तो लागू औषधको कारोबार गर्ने खालको मानिस होइन भन्ने समेत सरजमीन मुचुल्का ।

७.    उपरोक्त सबूद प्रमाणको आधारमा छानबीन गर्दा ०४३।७।२ गते प्रतिवादी दिपक अरोरालाई प्र.नि. भरतबहादुर जि.सी. समेतले पक्राउ गरी निजको शरीर तलासी लिँदा निजले लगाएको पेन्टको खल्तीबाट २५ ग्राम हेरोइन फेला परी बरामद भएको मौकाको मुचुल्काबाट देखिन आएकोले प्रतिवेदन मौका मुचुल्का समेतको आधारबाट प्रतिवादीले कसूर गरेमा इन्कार रहेको भए पनि दिपक अरोराले लागू औषध हेरोइन २५ ग्राम खल्तीमा राखी बिक्री गर्न लिई हिँडेको भन्ने देखिन आयो । सो देखिँदा दिपक अरोराले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ)(च) को कसूर गरेको प्रष्ट देखिन आएकोले निज उपर उक्त ऐनको दफा १४(ख)(ग) अनुसार कारवाही सजायँ हुन बरामदका लागू औषध र दिपक अरोरालाई यसै प्रहरी प्रतिवेदन साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

८.    प्रहरी समक्ष भएको बयानमा भएको हस्ताक्षर सही मेरो हो । बयान व्यहोराको हकमा ०४३।७।२ गते बसन्तपुरमा घुमिरहेको बखत पक्राउ गरेको भन्ने भनाई झुठ्ठा हो । ०४३।७।२ गतेको बरामदी मुचुल्का झुठ्ठा हो । सो मुचुल्कामा मलाई पहिलो पटक म्याद थप गर्नु भन्दा २।३ दिन अघि प्रहरीले पढी वाची नसुनाई कुटपिट गरी जबरजस्ती सहिछाप गरिएका हुन । सहिछाप मेरो हो । प्रहरी प्रतिवेदन साथ दाखिल हुन आएको २५ ग्राम हेरोेइन मेरो होइन, प्रहरीले कहाँबाट ल्याए मलाई थाहा छैन भन्ने समेत व्यहोराको वागमती विशेष अदालतमा प्रतिवादी दिपक अरोराले गरेको बयान ।

९.    दिपक अरोराको पसलमा म भाद्र १९ गतेका दिन फरेन्स गुडको कारोवार सम्बन्धमा गएको थिएँ । प्रहरी आई दिपकलाई सोधपुछ गर्न अधिकारीज्यूले बोलाएको छ भनी लगेका थिए । त्यस दिन देखि नै निजलाई छाडेको छैन । फेरि कार्तिक २ गते कहाँको पाइन्टबाट लागू औषध कसरी बरामद हुन सक्छ । निज त्यस्तो काम गरी खाने मानिस होइन निजको चालचलन राम्रो छ र रेडिमेट कपडाको काम गर्दछन् भन्ने समेत व्यहोराको प्रतिवादी दिपक अरोराको साक्षी परशुराम तामाङले वागमती विशेष अदालतमा गरेको बयान ।

१०.    दिपक अरोरा १०।१५ वर्ष देखि मेरो घरमा बसेको हुँदा म निजलाई राम्रोसँग चिन्दछु । दिपकले रेडिमेड कपडाका व्यवसाय गर्नु हुन्छ । निज भाद्र महीना देखि नै प्रहरी हिरासतमा रहेको अवस्थाको व्यक्तिसंग कार्तिक २ गते कसरी हेरोइन बरामद हुन सक्छ निजबाट हेरोइन बरामद भएको होइन भन्ने समेत व्यहोराको वागमती विशेष अदालतमा प्रतिवादी दिपक अरोराको साक्षी दुर्गा दास मानन्धरले गरेको बकपत्र ।

११.    निजले पहिले देखि नै रेडिमेड कपडाको व्यापार गरी आएका छन् । चालचलन राम्रो छ अहिलेसम्म कुनै बदमासी काम गरेको थाहा छैन । भ्राद १९ गतेदेखि नै थुनामा बसेको मानिसको साथमा कार्तिक २ गते लागू औषध कसरी आयो । निज उपर झुठ्ठा अभियोग लगाइएको हो भन्ने समेत व्यहोराको प्रतिवादी दिपक अरोराको साक्षी त्रिरत्न साहीले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१२.   दावीको लागू औषधि निजबाट बरामदै नभएको भए २५ ग्राम हेरोइन निजबाट बरामद भएको भनी लागू औषध समेत दाखेला गरी अभियोग लगाउनु पर्ने औचित्य पनि देखिन्न । अतः बरामद भएको लागू औषध कसरी बरामद भयो त्यसको औचित्यतर्फ प्रतिवादीले केही उल्लेख गर्न नसकेबाट निजबाट बरामद भएको तथ्य निर्विवाद देखिएको आधारमा बिक्री वितरणार्थ बोकी हिँडेको देखिँदा निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ) को कसूर गरेको देखिन आएकोले ऐ. ऐनको तत्काल प्रचलित दफा १४(ख) बमोजिम निजलाई पाँच वर्ष कैद र रु. ४०००।जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४६।५।५।२ को वागमती विशेष अदालतको फैसला ।

१३.   प्रहरीको घोर यातनाबाट मलाई सा¥है कुटपिट गरी जवरजस्ती बरामदी मुचुल्कामा सही गराएका हुन् सो कुरा मैले अदालत समक्ष गरेको बयानमा समेत प्रष्ट उल्लेख गरेको थिएँ तर विशेष अदालतको न्यायकर्ताहरुको ध्यान त्यसतर्फ नगई मन गढन्त रुपबाट मलाई दोषी प्रमाणित गरिएको विलकूल न्यायिक संगत नहुँदा उक्त फैसला बदर गरी म निर्दोष व्यक्ति भएकोले सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिपक अरोराको मिति ०४६।६।२९।१ को म.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

१४.   लागू औषध बिक्री वितरणमा सजायँ भए पनि लागू औषध (नियन्त्रण) ऐनको दफा ४(च) को समेत उक्त कानुन कायम हुनेमा सो कसूरतर्फ केही नबोलेको सम्म फैसला उक्त प्रकरण अनुसार मिलेको छैन । सो दफाको समेत कसूर कायम गरी सजाय बोल्नु पर्नेमा त्यति माग दावीतर्फ निर्णय नगरेको फैसला अपूर्ण रुपको रहेको हुँदा बदरभागी छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको मिति ०४६।१०।११।४ को पुनरावेदनपत्र ।

१५.   प्रतिवादीले लागू औषध ब्राउन सुगर बिक्री वितरण गरेको प्रमाण पुगेको नभई निजको पेन्टको खल्तीबाट बरामदसम्म भएको अवस्थामा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) को कसूर ठहराई ऐ.ऐनको दफा १४(ख) बमोजिम सजायँ गरेको वागमती विशेष अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुन्छ । मौकैमा लागू औषध ब्राउन सुगर प्रतिवादीबाट बरामद भएको देखिएकोले ऐ.ऐनको दफा ४(घ) को कसूर गरेको भई दफा १४(ग) बमोजिम १ वर्ष कैद र रु. १०,०००।जरिवाना हुने ठहर्छ भन्ने म.क्षे.अ. को फैसला ।

१६.    म.क्षे.अ. को फैसलामा प्रमाण ऐन, २०३१ को दफा १८ र ५४, मुलुकी ऐन अ.बं. १७२ नं. को त्रुटि गरी भएको फैसला बदर गरी सफाई पाउँ भन्ने यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

१७.   प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बरामदी मुचुल्काका व्यक्तिलाई साक्षी सरह नबुझी सो बरामदी मुचुल्कालाई प्रमाण लगाई कसूरदार ठहराएको म.क्षे.अ. को फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

१८.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकलाई बारम्बार पुकार गर्दा उपस्थित नभएको र विपक्षीतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री मोहन थपलियाले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ८(२) मा एकजना कर्मचारी साक्षी हुनु पर्ने ३ मध्ये १ निकायका प्रतिनिधि भए पुग्दछ । सरकारी मुद्दा सम्बन्धी नियमावली, ०१८ को नियम ४(छ) ले कसैको नाम लेखाउन छूट भएको कारणले बेरीत नमानिने व्यवस्था भएकोले म.क्षे.अ. को इन्साफ सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नुभयो।

१९.    म.क्षे.अ. को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

२०.   यसमा निर्णयतर्फ विचार गर्दा यी पुनरावेदकले प्रहरीमा कागज गर्दा स्वइच्छाले गरेको भन्ने देखिन्छ भने अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी मुचुल्कामा सही गराएको भन्ने तर्फमा जाँच गराउन माग गरेको र सो गर्न सकेको देखिँदैन । आफ्नो पेन्टको पकेटमा राखेको २५ ग्राम सेतो हिरोइन बरामद भएको ठीक हो भनी लेखाई सही समेत गरी दिएबाट बरामद गरेको होइन भन्न मिलेन । मौकैमा प्रतिवादीबाट लागू औषध ब्राउन सुगर बरामद भएको हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च) अनुरुपको कसूर प्रतिवादीले गरेको देखिन आयो । मौकैमा लागू औषध ब्राउन सुगर प्रतिवादीबाट बरामदी भएको देखिएको र अन्य किसिमबाट प्राप्त भएको भन्ने विश्वास लायक प्रमाण पेश दाखिल हुन आएको नदेखिँदा म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४९ वैशाख १० गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु