निर्णय नं. ४४८१ - ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान

निर्णय नं. ४४८१ ने.का.प. २०४९ (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०४७ सालको साधक नं. ३१५
फैसला भएको मिति : २०४९।२।७।४ मा
पुनरावेदक/वादी: खडकबहादुर कवरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: दाङ जिल्ला मानपुर गा.वि.स. वडा नं. १ बस्ने रामकिशन गुप्ता
मुद्दा : ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान
(१) सवारी ऐन, २०२० दफा २ को खण्ड (छ) र (क) को उपखण्ड (झ) मा गरिएको परिभाषाले “मोटर” भन्नाले ट्याक्टर भन्ने पनि देखिने ।
(प्रकरण नं. १५)
(२) अभियोग पत्रबाट प्रतिवादी उपर सवारी ऐन, २०२० को दफा ५१(१) को प्रष्ट किटान अभियोग नलगाई ज्या.सं.को १३(३) को अभियोग लगाइएको देखिन्छ दफा ५२(१)(क) को सजायँको माग लिंदैमा दफा ५१(१) को माग दावी रहेको भनी भन्ने ऐनको बनोटले नमिल्ने ।
(प्रकरण नं. १५)
(३) सवारी ऐन, २०२० को दफा ५१ (१) क सवारी ऐनको अन्य दफाले हुने सजायँमा सजाय थप गर्ने व्यवस्था गरेकोसम्म देखिने ।
(प्रकरण नं. १५)
(४) सवारी ऐन, २०२० को दफा ५१ (१) ले सवारी चलाई मानिस मर्दैमा ज्या.सं. १३(३) को अपराध भएको भनी मानिहाल्ने अवस्था नहुने ।
(प्रकरण नं. १५)
(५) सवारी ऐन, २०२० को दफा ५१(१) ले मारौं भन्ने नियत लिई ट्याक्टर चलाएको र मानिस मरेको भन्न नसकिएको र प्रमाणबाट नदेखिएको अवस्थामा ज्या.सं. १३(३) को कसूर गरेको भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
(६) प्रतिवादीले प्रहरीको बयान बमोजिम ट्याक्टर चलाई लगेको भए पनि आफूले गरेको कामले मानिस मर्ला भन्ने जस्तो नदेखिई लग्दा ढेबलीमा ठोकी ठक्कर लागी गाडीको अगाडि भागको दाहिने चक्काले मृतकलाई लाग्न गई मर्न गएको भवितव्य परी मर्न गएको देखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.कृष्णजंग रायमाझी
१. म.प.क्षे.अ. को फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. मिति ०४५।३।२२ गते दिनको अं. ११.०० बजेको समयमा तुलसीपुर (छ) लाइन तर्फबाट आएको लुम्बिनी अञ्चल (थ) ८०२ नं. को ट्याक्टर चालक रामकिशन गुप्ताले चलाएको ट्याक्टरले मेरो ६ वर्षको छोरा प्रवीन कवरलाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएकोले जाहेरी गर्न आएको छु भन्ने समेत खडकबहादुर कवरको मिति २०४५।३।२२ को जाहेरी दर्खास्त ।
३. ट्याक्टर चालक रामजिवन हलवाई घर गएका र ट्याक्टर बनाउन हामिद गुप्ता कहाँ दिएकोमा बनाई ठिक भएको देखेकोले उक्त ट्याक्टर मेरो ज्वाई गंगाराम गुप्ताको भएको हुँदा आफू खुसी ट्याक्टरलाई ज्वाईको घर तर्फ लैजान लाग्दा गणेश होटलको देबलीमा ठोकी ठक्कर लागी अगाडिको भागको दाहिने चक्काले जाहेरवालाको छोरा प्रवीन कवरलाई किची मारेको भन्ने समेत प्र.रामकिशन गुप्ताले प्रहरीमा गरेको बयान ।
४. ट्याक्टर चलाउन नजान्ने र अनुमति बिनाको हँकाइबाट प्रवीनको मृत्यु हुन गएकोले निज प्रतिवादीलाई कानुन बमोजिम सजायँ हुनु पर्छ भन्ने समेत गाउँ सरजमीन मुचुल्का ।
५. मिति २०४५।३।२२ गतेका दिन प्रतिवादी रामकिसन गुप्ताले दाङ तुल्सीपुर गा.पं. वडा नं. ५ तुल्सीपुर बजारमा सवारी चलाउने अनुमति पत्र नलिई लु.अ.थ. ८०२ नं. को टेक्टर चलाई प्रवीन कवर योगीलाई ठक्कर दिई किची मारेकोले प्रतिवादीले सवारी ऐन, २०२० को दफा ३(१), दफा २८(१) र मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को कसूर गरेको देखिएकोले सवारी ऐन, २०२० को दफा ४४ तथा दफा ४६(१)(क) दफा ५१(१) क र मुलुकी ऐन ज्यान सम्बन्धी १३(३) अनुसार सजायँ माग दावी लिई अ.बं. ११८ नं. अनुसार थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भन्ने समेत व्यहोराको ०४५।४।९ को प्रहरी प्रतिवेदन ।
६. म उक्त टेक्टरको खलासी भएको हुँदा ०४४।३।२२ को दिन दिनको ११ बजेको समयमा मैले टेक्टर सफा गरी रहेको अवस्थामा मेरो खुट्टा क्लजमा पर्न गएको र टेक्टर ओरालो ठाउँमा राखिएको हुँदा गुडन गई देवलीमा ठक्कर खाई बच्चा किचिएको हो मृतकलाई मार्ने मेरो कुनै मनसाय थिएन भन्ने समेत प्र.रामकिसन गुप्ताले अदालतमा गरेको बयान ।
७. प्रतिवादीले टयाक्टर सफा गर्दा क्लज दविन गई टयाक्टर चलेको कारणबाट ढेब्रीमा लागी ढेब्रीले ठक्कर दिई ट्याक्टर दुर्घटनाबाट भवितव्यमा परी मृतक ६ वर्षको बालक मरेको देखिन आएकोले प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) बमोजिम कैद महीना ६ र जरिवाना रु. ३००।– हुन्छ । साथै प्रतिवादीसंग अनुमतिपत्र नभएको हुँदा सवारी ऐन, २०२० को दफा ४४ को प्रहरी प्रतिवेदनको माग दावी बमोजिम कैद महीना २ (दुई) समेत सजायँ हुने ठहर्छ भन्ने शुरु दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०४५।१२।१४ मा भएको फैसला ।
८. ती वादी रामकिसनले प्रहरी प्रतिवेदन माग दावी अनुसारको आरोपित अपराध गरेको प्रमाण परिबन्द पुगेको स्पष्ट हुँदा हुँदै प्रहरी प्रतिवेदन माग दावी विपरीत भवितव्य ठहर्याई शुरु जिल्ला अदालतले गरेको इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ समेत गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट राप्ती अञ्चल अदालतमा परको पुनरावेदनपत्र ।
९. प्रतिवादी रामकिसनले चलाएको ट्याक्टर ठोकिन गई जाहेरवालाको छोरा प्रविनको मृत्यु हुन गएको भन्ने मिसिल संलग्न कागजातबाट देखिन आएको हुँदा ज्यान सम्बन्धीको ५ नं. को कसूर अपराध गरेकै देखिन आएकोले ऐ. ऐनको दफा ६ को उपदफा (२) अनुसार कैद वर्ष २ र लाइसेन्स नलिए वापत सवारी ऐन, २०२० को दफा ४४ बमोजिम कैद महीना ३ र ऐ. ऐनको दफा ५१(क) अनुसार मानिस मरेकोले थप सजायँ रु. २०००।– हुन्छ शुरु दाङ देउखुरी जिल्ला अदालतले गरेको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत ०४७।२।३।५ को राप्ती अञ्चल अदालतको फैसला ।
१०. प्रतिवादी रामकिसन गुप्तालाई ट्याक्टर चलाउने अनुभव नभएको र अनुमतिपत्र बिना ट्याक्टर चलाई दुर्घटना गरी प्रविनको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । मानिस मर्न सक्छ भन्ने सम्भावनालाई ख्याल नराखी जानी जानी लापरवाही गरी गाडी हाँकेकोमा मानिस मार्ने नियत थिएन भन्ने जिकिरको आधारमा भवितव्य ठहर्याई ज्यान सम्बन्धीको ६(२) अनुसार गरेको राप्ती अञ्चल अदालतको फैसला बदर गरी पूर्व प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको म.प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
११. प्रतिवादी रामकिशन गुप्ताले चलाई ल्याएको ट्याक्टरले जाहेरवालाको छोरा प्रविन कवरलाई ठक्कर दिई किचिई मृत्यु भएको देखिन आएकोले शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ केही गल्ती ठहर्याई प्रतिवादीलाई ज्यान सम्बन्धीको दफा ६(२) अनुसार कैद वर्ष २ र लाइसेन्स नलिए वापत सवारी ऐन, २०२० को दफा ४४ बमोजिम कैद महीना ३ र ऐ. ऐनको दफा ५१(क) अनुसार मानिस मरेकोले थप सजायँ रु. २,०००।– गरेको राप्ती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । वादी दावी पुग्न सक्दैन भन्ने म.प.क्षे.अ. को फैसला ।
१२. म.प.क्षे.अ. को फैसला मिलेको छैन । प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीलाई सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले म.प.क्षे.अ. को फैसलाले ज्यान सम्बन्धीको ६(२) लगाई गरेको फैसला मिलेको छैन । ऐ.ऐनको दफा १३(३) बमोजिम प्रतिवादीलाई सजायँ गर्नुपर्छ । सवारी ऐन, २०२० को दफा ५१ मा उल्लेखित “प्रचलित कानुन” को अर्थ ज्यान सम्बन्धीको ६(२) नै हो भन्ने होइन । तसर्थ दावी बमोजिम सजायँ हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
१४. प्रस्तुत मुद्दामा म.प.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. निणर्यतर्फ विचार गर्दा, प्रतिवादी रामकिशन गुप्ता उपर सवारी ऐन, २०२० को दफा ३(१) दफा २८(१) र मुलुकी ऐन ज्या.सं. को १ नं. को कसूर गरेकोले सवारी ऐन, २०२० को दफा ४४ तथा दफा ४६ (१)(क) दफा ५१(१)(क) मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) अनुसार सजायँको माग दावी लिई प्रहरी प्रतिवेदन परेको देखिन्छ । सवारी ऐन, २०२० को दफा ५१(१) हेर्दा, कसैले यो ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची वा ठक्कर लागी सो मानिस मरेमा मारौं भन्ने नियत लिई गरेको भए वा मारौं भन्ने नियत र मार्न पर्ने सम्मको इवी अखचन नभए पनि यस्तोमा यसरी सवारी हाँकेमा मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही गरी हाँकेकोबाट दुर्घटना भई घाउ चोट लागी मुलुकी ऐन ज्यान सम्बन्धीको महलको म्यादभित्र मानिस मर्न गए सो चालकलाई ज्यान सम्बन्धी प्रचलित नेपाल कानुन बमोजिम सजायँ गर्न पर्छ । त्यस्तो नियत वा अवस्था नभई ज्यान मर्न गएमा अन्य दफाले हुने सजायँमा देहाय बमोजिमको सजायँ थप हुन्छ भन्ने व्यवस्था गरी देहाय (क) मा मोटर सवारी भए दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको देखिन्छ । सवारी ऐन, २०२० दफा २ को खण्ड (छ) र (क) को उपखण्ड (झ) मा गरिएको परिभाषाले मोटर भन्नाले ट्याक्टर भन्ने पनि देखिन आयो । राप्ती अञ्चल अदालतले प्रतिवादीलाई ज्या.सं. को ६(२) अनुसार कैद वर्ष २ र लाइसेन्स नलिए वापत सवारी ऐन, २०२० को दफा ४४ बमोजिम कैद महीना ३ र ऐ. ऐनको दफा ५१(क) अनुसार मानिस मरेकोले थप सजायँ रु. २०००।– समेतको सजायँ गर्ने गरेको फैसला उपर प्रतिवादीको पुनरावेदन परेको देखिएन । यस्तो अवस्थामा वादी तर्फबाट दावी बमोजिम सजायँ हुनु पर्ने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा यस अदालतबाट विचार गर्नु पर्ने हुन आई त्यस तर्फ हेर्दा, प्रथमतः अभियोग पत्रबाट प्रतिवादी उपर सवारी ऐन, २०२० को दफा ५१(१) को प्रष्ट किटान अभियोग नलगाई ज्या.सं. को १३(३) को अभियोग लगाइएको देखिन्छ दफा ५१(१)(क) को सजायँको माग लिंदैमा दफा ५१(१) को माग दावी रहेको भनी भन्ने ऐनको बनोटले मिल्ने देखिँदैन । दफा ५१(१)क सवारी ऐनको अन्य दफाले हुने सजायँमा सजायँ थप गर्ने व्यवस्था गरेको सम्म देखिन्छ । सवारी ऐन, २०२० को दफा ५१(१) ले पनि सवारी चलाई मानिस मर्दैमा ज्या.सं. १३(३) को अपराध भएको भनी मानी हाल्ने अवस्था हुँदैन । ज्या.सं. १३(३) मा मार्ने नियतको तत्वको आवश्यकता हुन्छ नियत थियो थिएन भन्ने कुराको निष्कर्ष अभियुक्तको क्रिया, प्रयोग भएको हतियार तथा साधन दुर्घटनाको अवस्थाबाट पनि अदालतले निकाल्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीको बयान र स्वयं अभियोगपत्र दुर्घटनाको अवस्थाबाट पनि मार्ने नियत रहेको भन्ने देखिँदैन । सवारी ऐन, २०२० को दफा ५१(१) ले मारौं भन्ने नियत लिई ट्याक्टर चलाएको र मानिस मरेको भन्न नसकिएको र प्रमाणबाट नदेखिएको अवस्थामा ज्या.सं. १३(३) को कसूर गरेको भन्न मिल्ने देखिएन । प्रतिवादी रामकिशन गुप्ताको प्रहरीमा भएको बयानमा ज्वाई गंगाराम गुप्ताको ट्याक्टर बनाउन दिएको ठीक भएको देखिएकोले आफू खुसी ट्याक्टर चलाई ज्वाईको घरतर्फ लैजान लाग्दा गणेश होटलको ढेवलीमा ठोकी ठक्कर लागी अगाडि भागको दाहिने चक्काले जाहेरवालाको छोरा प्रविन कवरलाई किची मारेको हो भन्ने र ट्याक्टर सफा गरी रहेको अवस्थामा मेरो खुट्टा क्लजमा पर्न गएको ट्याक्टर ओरालो ठाउँमा राखिएको हुँदा ट्याक्टर गुड्न गई ढेवलीमा ठक्कर खाई बच्चा किचिएको हो मृतकलाई मार्ने कुनै मनसाय थिएन भन्ने अदालतको बयानमा व्यक्त गरेका कुराबाट सवारी चलाउने लाइसेन्स नलिएको भन्ने देखिएपनि उल्लेखित अवस्थामा सवारी हाँकेमा मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ हाँकेको भन्ने देखिन आएको छैन । प्रतिवादीले प्रहरीको बयान बमोजिम ट्याक्टर चलाई लगेको भए पनि आफूले गरेको कामले मानिस मर्ला भन्ने जस्तो नदेखिई लग्दा गणेश होटलको ढेवलीमा ठोकी ठक्कर लागी गाडीको अगाडि भागको दाहिने चक्काले मृतकलाई लाग्न गई मर्न गएको भवितव्य परी मर्न गएको देखिएको छ । प्रहरी प्रतिवेदनमा उल्लेखित ने.का.प. २०४३, अंक ९, ९४३ पृष्ठ, नि.नं. २८६४ मा प्रकाशित नजीरका सम्बन्धमा, उल्लेखित मुद्दामा यस अदालतबाट ०४३।९।२३ मा फैसला हुँदा सो मुद्दाको प्रमाण तथ्यको आधारमा ज्या.सं. १३(३) को सजायँ गरिएको छ । प्रस्तुत मुद्दामा ज्या.सं. १३(३) को सजायँ गर्ने आधार प्रमाण तथा अवस्था रहे भएको देखिएन । अतः उल्लेखित नजीरको आधारमा ज्या.सं. १३(३) बमोजिम सजायँ हुनु पर्छ भन्ने देखिएन तसर्थ प्रतिवादीले लाइसेन्स नलिई हेलचक्र्याई तथा लापरवाही साथ ट्याक्टर चलाई मृतकलाई किची मारेको देखिँदा ज्या.सं. १३(३) बमोजिम सजायँ हुनुपर्दछ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । म.प.क्षे.अ. को फैसला सदर हुन्छ । श्री ५ को सरकारको पुनरावेदन परेको हुँदा केही गर्नु परेन । यो फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई पठाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४९ साल जेष्ठ ७ गते रोज ४ शुभम् ।