शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४८५ - उत्प्रेषण

भाग: ३४ साल: २०४९ महिना: जेष्ठ अंक:

निर्णय नं. ४४८५    ने.का.प. २०४९ ()    अङ्क २

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४८ सालको रि.नं. २०५०

आदेश भएको मिति : २०४९।१।२८।१ मा

निवेदक      : जि.सप्तरी औरही गा.वि.स.वार्ड नं.५ बस्ने अनुरवती मण्डल धनुकाइन

विरुद्ध

विपक्षी : सप्तरी औरही गा.वि.स. वार्ड नं. ६ बस्ने रामकुमार मण्डलसमेत

विषय : उत्प्रेषण

(१)    निवेदिकाको लोग्नेको मृत्यु भइसकेको थियो वा निज जीवित थिए भन्ने तथ्यको जाँचबुझ गरी सबूद प्रमाण बुझ्ने प्रकृया रिट उपचारबाट सम्पन्न गर्न प्राविधिक बाधा पर्ने ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री रामकृष्ण गौतम

आदेश

न्या.केदारनाथ उपाध्याय

१.     नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    विपक्षी रामकुमार मण्डलले मिति २०४१।१२।२४ गते मात्र दानपत्र पाएको जि.सप्तरी गा.पं. औराही वार्ड नं. ६(ख) को कि.नं. १७७ को ज.वि. ११० जग्गामा निवेदिकाको पति सेवन्त मण्डल मोही भएकोमा निज आफ्नो कालगतिले २०४२।९।२४ गते स्वर्गवास भएको हुँदा मोहीको हक निज मरेपछि विपक्षीले म निवेदिकालाई पत्याई मैले एका सगोलको मेरो परिवार समेतको परिश्रमले जग्गा आवाद गरी बाली लगाई साल साल विपक्षीलाई बाली बुझाउँदै आएकोमा मरिसकेको मेरो पतिले २०४३ सालको बाली लगाएको बाली दिएन बाली दिलाई मोही निस्कासन गरिपाउँ भनी मरी सकेको व्यक्ति उपर विपक्षी रामकुमार मण्डलले तथ्य लुकाई नालेश दिएका रहेछन् म मोही छँदाछँदै मेरो नाममा म्याद तामेल नगरी छोरा मणिलाललाई मरी सकेको व्यक्तिको म्याद बुझाएको रहेछ गुज्रेको म्याद थामी प्रतिवाद गर्न जाँदा तिम्रो नाउँमा मुद्दा दिएको होइन अ.बं. ६२ नं. ले तिमीलाई सकार गराई प्रतिवादी लिन मिल्दैन भन्ने भू.सु.अ. ले जवाफ दिएकोले त्यसै बसें । विपक्षीले २०४४ सालको बाली बुझ्न नआउँदा धरौट राखेकोले बुझी लिएँ २०४६ सालको कुतवाली साविक बमोजिम घरसारमा बुझी लिएकोमा कुत बुझाएन बुझाई पाउँ भनी म निवेदिका उपर छुट्टै नालिश दिएका रहेछन् । कुत बुझेर पनि किन झुठ्ठा नालिश दिएको भन्दा तिमीले धन्दा मान्नु पर्दैन । अब उप्रान्त लिखित भर्पाई गरिदिनेछु । प्रतिवादी दिने खर्च नगर म मिलाई हाल्छु भनेकोले विपक्षीको विश्वासमा परी प्रतिउत्तर गरिन २०४७ सालको बाली बुझाउँदा भूमि सम्बन्धी ऐनको दफा ३४ को उपदफा ३ सँग सम्बन्धित भनी जग्गा धनीमा विपक्षीको मोहीमा म निवेदिकाको नाम भर्पाईमा लेखी विपक्षीको एकासगोलको आमा जग्गावालाको प्रतिनिधि भएकोले कुत बुझी भर्पाई गरिदिएको छ । २०४८ सालको बालीमा समेत मैले नै जग्गा मोही भई आवाद गरी धान बाली लगाएको छु । विपक्षीले अशान्ति गर्ने जस्तो ठानी गा.वि.स. मा उजूर गर्दा हानी नोक्सानी नगर्ने भन्ने कागज गरेको गा.वि.स. बाट थाहा भयो, भू.सु.का. मा गई बुझ्दा विपक्षीले दिएको मुद्दा फैसला भएको थाहा पाई ०४८।८।१६ मा रीतपूर्वक नक्कल लिई हेर्दा फैसला भएको कुरा थाहा भयो । म निवेदिका उपर विपक्षीले मेरो स्वर्गीय पतिको शेषपछि मलाई जग्गा कमाउन दिई मोही रोजेको मोही भएको २०४६ सालको कुत दिलाई पाउँ भन्ने मुद्दामा यो प्रतिवादी दावी बमोजिमको जग्गाबाट २०४३ सालको बाली दिलाई मोही निस्कासन कुत मुद्दाबाट मोही हक निस्कासन भइसकेकोले यस मुद्दाबाट केही कारवाही गरी रहनु परेन तामेलीमा राखी दिने भन्ने २०४८।२।१९ मा निर्णय भएको रहेछ । मरी सकेको व्यक्ति उपर दिएको बाली दिलाई मोही निस्कासन मुद्दामा म्याद बुझी प्रतिवाद नगरेको २०३९।४०।४२ समेतका सालहरुमा कुत नबुझाएकोमा कुत भराउँदै आएको र यसपछि २०४६ सालमा पनि कुत नबुझाएकोमा यस कार्यालयमा कुत दिलाई पाउँ भन्ने मुद्दा समेत चली रहेको देखिँदा मोहीले आफ्नो कर्तव्य पूरा गरेको देखिँदैन । २०४३ सालको मुद्दामा पनि प्रतिवाद समेत नगरेकोले मोहीलाई कायम राख्दा न्यायोचित नहुने हुँदा भू.सु. ऐनको दफा २९(१) बमोजिम प्रतिवादी मोही हकबाट निस्कासन हुने ठहर्छ । कुत भराई रहनु परेन भन्ने २०४८।२।२९ मा निर्णय भएको रहेछ । तामेलीमा राखिने ठहराए उपर मैले कहीं उजूर गर्न परेन विपक्षीलाई सुनाएको पुनरावेदन गरेको तथा मलाई झिकाएको समेत छैन मरिसकेको व्यक्तिले कर्तव्य पूरा नगरेको भन्ने म जीवित मोही छँदा छँदै मरेको मोहीलाई निस्कासन गर्ने गरी विपक्षी भू.सु.का. बाट निर्णय भएको सो निर्णयले मेरो संवैधानिक तथा कानुनी हक हनन् भई कुण्ठित समेत पारेको हुँदा यो निवेदन चढाउन आएको छु ।

३.    विपक्षी रामकुमारको आमा चनरवती तथा रामचरण मण्डलले समेत मेरा पतिलाई मोही प्रमाणपत्र दिएको निर्णय बदर गरी पाउन स.अ. मा रिट दिएकोमा २०४२।१२।५ मा रिट खारेज भयो । विपक्षी भू.सु.का. मा मेरो पति मरी सकेको प्रमाण २०४२ सालमा नै पेश भई मुद्दा समेत मैले सकार गरेको छँदैछ । मरी सकेको व्यक्ति उपर झुठ्ठा नालेश गरेको भन्ने देखिँदा देखिंँदै म हकवालालाई बुझ्दै नबुझी र विपक्षीले मलाई मोही रोजी स्वीकार गरी राखेकोमा मेरो हकहितमा प्रतिकूल असर पर्ने गरी निर्णय गरिएको छ । भू.सु. ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही हक म निवेदिकामा सरिसकेको र साल सालको कुत बुझाई सकेको अवस्थामा झुठ्ठा नालिश गर्दैमा मोही निस्कासन गरेको कानुन व्याख्या सम्बन्धी प्रश्नमा गम्भीर त्रुटि भएको छ । मरिसकेको व्यक्ति उपरको उजूरी खारेज हुन्छ, र विभिन्न सिद्धान्त समेत प्रतिपादन भएका छन् । विवादको जग्गामा २०३९, २०४०, २०४१ सालको बालीमा विपक्षीको हक पुगेको थिएन । किनभने विपक्षीले २०४२।१२।२५ मा मात्र दानपत्रबाट पाएको जग्गा भएकोले त्यसको प्रमाण लगाउन मिल्दैन । ०४६ सालको बालीमा मेरो स्वर्गे पति उपर कुनै नालेश परेको छैन । भू.सं. ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही हुनलाई जग्गावालाले मोही पत्याए पुग्ने दफा ३४(१) बमोजिम कबूलियतको आवश्यकता नपर्ने भन्ने स.अ. फुलबेञ्चबाट २०३४ सालको रि.फु.नं. २९ मा २०३४।१०।४ मा निर्णय समेत गरी कानुनी सिद्धान्त प्रतिपादित भएको छ । अतः भू.सु.का. सप्तरीको निर्णयले मेरा उक्त कानुनी तथा संविधानद्वारा प्रदत्त मौलिक हक हनन् भएकोले संविधानको धारा ८८ अन्तर्गत उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी विपक्षी भू.सु.का. सप्तरीको कानुनी त्रुटिपूर्ण निर्णय तथा काम कारवाही समेत बदर गरी निवेदिकाको कानुनी तथा संवैधानिक हकको संरक्षण समेत गरिपाउँ भन्ने रिटनिवेदन जिकिर ।

४.    नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश भइआएको प्रस्तुत विषयमा रिट निवेदकतर्फबाट बहस को लागि उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री रामकृष्ण गौतमले मेरो पक्ष रिट निवेदिकाको लोग्नेको मृत्यु भईसके पश्चात जग्गा धनीले पत्याई मोही भई कमाई साल सालको बाली समेत बुझाउँदै आएकोमा मरिसकेको पतिको नाममा उजूर गरी मोही निस्कासन समेत हुने ठहर गरेको विपक्षी कार्यालयको निर्णय मिलेको छैन । कबूलियत नभए पनि जग्गावालाले पत्याएमा मोही कायम हुनसक्ने विभिन्न नजीर समेत प्रतिपादन भएका र अञ्चल अदालतमा पुनरावेदन गर्न जानु भनी भू.सु.का. ले सुनाएको भए तापनि रिट क्षेत्रबाट समेत हेर्न मिल्ने हुँदा उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी भू.सु.का. को त्रुटिपूर्ण निर्णय बदर हुन विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिरसमेत सुनियो ।

५.    प्रस्तुत विषयमा रिटनिवेदनमा लिएका जिकिर तथा विद्वान अधिवक्ताले बहसको क्रममा उठाउनु भएका जिकिरहरु लाई समेत दृष्टिगत गर्दै विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने नपर्ने नै मुख्यतः निर्णय दिनु पर्ने हुन आयो ।

६.    यसमा मरिसकेको व्यक्ति उपर उजूर गरी मोही निस्कासन हुने ठहर गरेबाट रिट निवेदकका मौलिक हकमा हनन् हुन गएको भन्ने मुख्य निवेदन जिकिर देखिन्छ ।

७.    भू.सु.का. सप्तरीको मोही निस्कासन हुने ठहर गरेको उक्त निर्णय हेर्दा एकासगोलका छोरा आफ्नो हातबाट म्याद बुझी म्यादभित्र प्रतिवाद नगरी म्याद थामी पाउँ भनी हु.प्र. मा दिएको निवेदनमा म्याद थामी आउँदा प्रकाशित भएको सूचनाको म्यादभित्र प्रतिवाद नै नगरी म्याद गुजारी बसेको र यसै जग्गामा विपक्षी मोहिले २०३९, ०४०, ०४२ समेतका सालहरुमा कुत नबुझाएकोमा कुत भराउँदै आएको र त्यसपछि २०४६ सालमा पनि कुत नबुझाएकोमा यसै कार्यालयमा कुत दिलाई पाउँ भन्ने मुद्दा समेत चली रहेको देखिँदा मोहिले आफ्नो कर्तव्य पूरा गरेको देखिँदैन । ज.ध. लाई बुझाउनु पर्ने कुत नबुझाई धरौटी समेत नराखी यो २०४३ सालको मुद्दामा प्रतिवाद समेत नगरेकोले मोहीलाई कायम राख्दा न्यायोचित नहुने हुँदा भू.सं. ऐनको दफा २९(१) बमोजिम प्रतिवादी मोही हकबाट निस्कासन हुने ठहर्छ । ०४३ सालको बालीमा मोही निस्कासन भई कुत भराई रहनु परेन । यस निर्णयमा चित्त नबुझेमा ऐनका म्याद ३५ दिन भित्र सगरमाथा अञ्चल अदालत रा.वि. बेञ्चमा पुनरावेदन गर्नु भनी २०४८।२।१९ मा निर्णय भएको देखिन्छ ।

८.    निवेदिकाले आफ्नो रिटनिवेदनमा जिकिर लिए बमोजिम मरी सकेको व्यक्ति उपर नालेश दिई निर्णय गराएको भए कानुन बमोजिम मुद्दाको पूर्पक्षमा रहन अन्य उपचार समेत उपलब्ध रहे भएकोमा तदनुसार कानुनद्वारा उपलब्ध वैकल्पिक उपचारको उपभोग नगरी प्रस्तुत रिटनिवेदन दिएको देखियो । निवेदिकाको लोग्नेको मृत्यु भइसकेको थियो वा निज जीवित थिएँ भन्ने तथ्यको जाँचबुझ गरी सबूद प्रमाण बुझ्ने क्रिया रिट उपचारबाट सम्पन्न गर्न प्राविधिक बाधा पर्ने समेत देखिन्छ । प्रस्तुत रिट निवेदिकाले माग गरेको रिट उपचार प्रदान गर्न उपर्युक्त कारणहरुले गर्दा नमिलेकोले लिखितजवाफ मगाई पक्ष विपक्षहरुलाई तारेखमा झुलाई राख्नु अनुचित देखिएकोले प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

इतिसम्वत् २०४९ साल बैशाख २८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु