निर्णय नं. ८५६८ - कर्तव्यज्यान ।

निर्णय नं. ८५६८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की
२०६५–CR-०१६५
फैसला मितिः २०६७।१२।२
मुद्दा :– कर्तव्यज्यान ।
पुनरावेदक प्रतिवादीः जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं. १४ घर भई हाल जिल्ला कारागार कार्यालय पाल्पामा थुनामा रहेको पदमबहादुर जुगजाली मगर
विरूद्ध
प्रत्यर्थी वादीः शेरबहादुर नेपालीको जाहेरीले नेपाल सरकार
शुरू फैसला गर्नेः–
मा.जि.न्या.श्री रामचन्द्र राई
पुनरावेदन फैसला गर्नेः–
मा.मु.न्या.श्री मोहनप्रकाश सिटौला
मा.न्या.श्री केशवप्रसाद मैनाली
§ मृतकको शरीरमा तथा वारदातस्थलमा कुनै पनि संघर्षका चिन्ह छैनन् । कुनै हतियार वा लाठा ढुङ्गाको प्रयोग भएको देखिएको छैन । समान उमेरका दुई पक्षबीच संघर्ष हुँदा जसको मृत्यु हुन पुगेको छ त्यसको शरीरमा तथा वारदातस्थलमा कुनै न कुनै संघर्षका चिन्ह देखिनु पर्ने ।
§ हातमा लगाएका चुरा फुटेको छैन । खुट्टामा लगाएका चप्पल पनि लगाइएको अवस्थामा जस्ताको त्यस्तै छन् । वारदातस्थलको वरिपरि दोस्रो व्यक्तिको पद चिन्हसमेत छैन भने मृत्युको कारणमा घाँटी थिचिई श्वास प्रश्वाश रोकिएको (asphyxia due to Strangulation) भन्ने उल्लेख छ । तर, मृत शरीर नै सडी गली सकेको र लासजाँच मुचुल्काले यस तथ्यलाई समर्थन नगरेको अवस्थामा सडे गलेको लाशको भिसेरा परीक्षण समेत गर्नुपर्नेमा सो कार्य पूरा नगरी व्यक्त गरेको विशेषज्ञको रायसमेतलाई न्यायको प्रयोजनको लागि भर पर्न नसकिने ।
(प्रकरण नं.३)
§ अनुमान, आशंका र संभावना अनिश्चित तत्व भएकाले यस्ता अनिश्चित तत्वले ज्यान मारेको पुष्टि गर्ने प्रमाणको स्थान ग्रहण गर्न नसक्ने ।
§ प्रतिवादीको प्रहरी हिरासतमा नै रहँदा घाँटी रेटिएको भई घाँउ छ । यसलाई प्रहरी कागजमा आफूले नै ल्याएको दाह्री काट्ने ब्लेडले अपराधबाट बच्न आफैले काटेको भन्ने भनाई कागजमा राखिएको छ । अचानक पक्राउ परेको थुनुवाले दाह्री काट्ने पत्ति पनि साथै ल्याउनु र आफैँले घाँटी काट्नु भनिएको तथ्य पनि शंकाको घेरामा पर्न आउँछ । यस्तो अवस्थाको कतैबाट पुष्टि नहुने अनुसन्धान अधिकारीसमक्षको भनिएको सावितीलाई आधार लिएर ज्यान जस्तो कसूरमा सजाय गर्न नमिल्ने ।
(प्रकरण नं.६)
§ अन्य प्रत्यक्ष वस्तुगत प्रमाणको सर्वथा अभाव रहेको स्थितिमा केवल मौखिक प्रमाणको आधारमा अपराधी घोषित गर्न अदालतले अत्यन्त संयमता अपनाउनु पर्दछ । मौखिक प्रमाण दिने व्यक्ति स्वयमले देखेको, सुनेको र अनुभव गरेको कुरा भरपर्दो देखिएमा मौखिक प्रमाणले पनि उत्तम प्रमाणको रूप ग्रहण गर्न सक्दछ । तर शंकाको भरमा गरिएको अभिव्यक्तिलाई न्यायको रोहमा विश्वास गरिहाल्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री लीलामणि पौडेल
प्रत्यर्थी वादी तर्फबाटःविद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :—
मेरी श्रीमती वर्ष ३४ की सुकमाया नेपाली केही वर्ष पहिलादेखि अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, आफूखुसी हिँड्ने डुल्ने कार्य गर्दैे आएकीमा २०६३।४।२० गतेका दिन १०:०० बजे घरबाट हिंडी गएकी र घरमा नआएकीले छरछिमेक समेतमा खोजतलास गर्दा फेला नपारी खोजतलास गर्दै रहँदा २०६३।४।२४ गते विहान अ.१०:०० बजेको समयमा जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ स्थित प्रताप थापाको खरवारीमा मेरो श्रीमतीको मृत लाश सडी गली कीरा औंसा परी दुर्गन्धित भएको अवस्थामा फेला परेकोले कानूनबमोजिम गरिपाऊँ भन्ने जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ बस्ने शेरबहादुर नेपालीको मिति २०६३।४।२४ को जाहेरी दरखास्त ।
जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ प्रभास भन्ने ठाउँ स्थित पूर्वमा चिरन्जीवी ढुङ्गानाको मकैवारी, पश्चिममा सार्वजनिक बगैचा, उत्तरमा प्रताप थापाको जग्गा, दक्षिणमा सार्वजनिक बाटो यति चारकिल्लाभित्र रहेको प्रताप थापाको खरबारीमा १ मीटर गहिराई र १५ मीटर गोलाईको माटो निकालेको खाडलको पश्चिम किनाराको छेउमा सिरू तथा उन्यूको झाङमा उत्तर टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा रहेको मृतक सुकमाया नेपालीको कीरा औंसा परी दुर्गन्धित अवस्थामा मृत लाश रहेको, शरीरमा सेतोमा रातो र हरियो बुट्टा भएको टेरिकटको साडी, रातो ब्लाउज लगाएको, दुबै खुट्टामा नीलो रङको फितावाला चप्पल लगाएको, दाहिने हातमा रातो रङको काँचको चूरा एकवटा लगाएको, कपालमा रातो रङको डोरी बाँधेको, लाशदेखि ३ मीटर पूर्व सोही खाडलको पूर्वतर्फको ढिकमा रातो रङको उनीको सल एक रहेको भन्ने चारकिल्लासहितको घटनास्थल लाशजाँच मुचुल्का ।
२०६३।४।२४ गते जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ स्थित प्रताप थापाको खरवारीमा सडी गली कीरा औंसासमेत परिसकेको अवस्थामा फेला परेको श्रीमती सुकमायाको लाश जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.१४ बस्ने वर्ष ३३ को पदमबहादुर जुगजालीले नै मारी फालेको हो, निजलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भन्ने व्यहोराको मिति २०६३।४।२८ को जाहेरवाला शेरबहादुर नेपालीको जाहेरी दरखास्त ।
जाहेरवालाकी श्रीमती सुकमाया नेपालीसँग मिति २०६३ साल जेष्ठ महिनादेखि मेरो माया प्रेम बसी हामी दुई जनाबीच बेला बखतमा यौन सर्म्पकसमेत हुँदै आई निज सुकमायाले तिमीले मलाई विवाह गर्नुपर्छ भन्दै आएकीमा मेरो श्रीमती छ म तिमीलाई विवाह गर्न सक्दिन भनी जवाफ दिएतापनि निजले रक्सी सेवन गरी बेला बखतमा मलाई गाली गलौज गर्दै आएकी थिइन् । यस्तैमा २०६३।४।२१ गते राति मलाई रक्सी खान मन लागी म आफ्नो घरबाट हिंडी जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ स्थित होटल गरी बस्ने आमबोटे कृष्ण भन्ने मानिसको होटलमा जाँदा उक्त होटल बन्द रहेकोले म सो ठाउँबाट आफ्नो घरतर्फ फिर्ता आउँदै गर्दा सोही राति २३:३० बजेतिर सोही वडामा पर्ने खरवारीको बाटो भएर निज सुकमाया नेपाली रक्सी खाएको नसामा चिच्याउँदै कराउँदै आउँदै गर्दा निजसँग सोही स्थानमा मेरो भेट भई मलाई तिमीले विवाह गर्नै पर्छ भनी चिच्याउन लागेकोले सो ठाउँ एकान्त भएकोले रीस उठी निजलाई सोही खरवारीमा पल्टाई घाँटी थिची मारेको हुँ । सोपश्चात् २०६३।४।२९ गते म आफ्नै घरमा रहेको बेला प्रहरी आई पुगी मलाई समाती लिई आएका हुन् । मलाई पक्राउ गरी ल्याई हिरासतमा राखेको कोठामा मैले आफू साथ लुकाई लिई आएको दाह्री काट्ने ब्लेडले उक्त अपराधबाट बच्नको लागि आफ्नो घाँटीको छालाको भाग रेटी काटी रहेको बेला प्रहरीले थाहा पाई मलाई तत्काल नियन्त्रणमा लिई औषधि उपचारको लागि लगेका हुन भन्ने समेत व्यहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी पदमबहादुर जुगजाली मगरले गरेको बयान ।
निज सुकमाया नेपालीको मृत्यु घाँटी थिचेको कारण श्वास प्रश्वास बन्द भई भएको हो भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ बस्ने वर्ष २९ को खुमबहादुर वि.क. ऐ. बस्ने वर्ष २३ को नवीन महर्जन, ऐ. बस्ने वर्ष २६ को गणेश कुँवर , ऐ तेल्घा ८ बस्ने वर्ष ३३ को कृष्णबहादुर कुँवर र पक्राउ परी आएको प्रतिवादी पदमबहादुर जुगजाली समेत भई २०६३।४।२१ गते साँझ १९:३० बजेतिर जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं. १३ स्थित जंगलमा अरिङ्गाल पोल्न गई सोही राति २१:३० बजेतिर फर्की आई आ—आफ्नो घर तर्फ गएको हो । सोपश्चात् मिति २०६३।४।२४ गतेका दिन जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ स्थित प्रताप थापाको खरवारीमा जाहेरवालाकी श्रीमती सुकमाया नेपालीको मृत लास सडी गली सकेको अवस्थामा फेला परेको भन्ने गाउँघरमा हल्ला–खल्ला हुँदा हामी समेत उक्त स्थानमा जाँदा निज सुकमाया नेपालीको सडी गली कीरा औसासमेत परेको लाश देखेका हौं । प्रहरी आई उक्त लाशको मुचुल्का समेत गरी पोष्टमार्टमको लागि लाश लिई आएको हो । पछि २०६३।४।२९ गते निज पदमबहादुर जुगजाली मगरलाई प्रहरीले पक्राउ गरी ल्याएपश्चात् निजले नै सुकमाया नेपालीलाई २०६३।४।२१ गते राति कर्तव्य गरी मारी फालेको भन्ने कुरा थाहा पाएका हौं । निज प्रतिवादी पदमबहादुर जुगजाली राम्रो आचरण भएका व्यक्ति होईनन् । निज रक्सी सेवन गरी गाउँघरमा बिना कारण झै–झगडा गरी अशान्ति मच्चाउने किसिमका मानिस हुन् र मृतक सुकमाया नेपालीसँग भित्र्याउने सम्बन्धमा निजको झै–झगडा हुँदै आएको हो । सोही कारणले गर्दा निजले सुकमाया नेपालीलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने एकै मिलानको मिति २०६३।५।६ गते खुमबहादुर वि.क.समेतले गरिदिएको कागज ।
जाहेरवालाकी श्रीमती सुकमाया नेपाली २०६३।४।२० गते आफ्नो घरबाट हिंडी फर्की नआएकीले निजको घर परिवारले खोजतलास गर्दै रहँदा २०६३।४।२४ गतेको विहान जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं.११ स्थित प्रताप थापाको खरवारीमा कीरा परी सडेगलेको अवस्थामा लाश फेला पारी हल्लाखल्ला हुँदा हामीहरूले थाहा पाई उक्त स्थानमा जाँदा लाश देखेका हौं । निज सुकमाया नेपाली तथा हाल पक्राउ गरी आएका प्रतिवादीसँग एकआपसमा भित्र्याउने सम्बन्धमा झै–झगडा समेत हुँदै आएको र पदमबहादुर जुगजाली रक्सी सेवन गरी गाउँघरमा झै–झगडा तथा विनाकारण गाली गलौजसमेत गर्ने गरेको र निजले नै सुकमाया नेपालीलाई कर्तव्य गरी मारेको हो भन्ने समेत एकै व्यहोराको खिमबहादुर थापा समेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी पदमबहादुर जुगजाली र सुकमाया नेपालीका बीचमा अनुचित यौन सम्बन्ध रहेको र भित्र्याउने विषयमा आपसमा विवाद भैरहेको अवस्थामा २०६३।४।२१ गते राति घटनास्थलमा भेट भई झगडा भै प्रतिवादी पदमबहादुरले ज्यान मार्ने मनसायले सुकमायाको घाँटी थिची कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत ऐ.को १३(३) नं. बमोजिमको कसूर गरेकोले निजलाई सोही १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मैले जाहेरवालाको श्रीमतीलाई कर्तव्य गरी मारेको होइन । जाहेरवाला र मेरो बीच दुई महिना अगाडि झगडा परेको थियो । सोही रीस इवीका कारण मलाई किटानी जाहेरी दरखास्त दिएका हुन् । मृतक सुकमाया नेपालीलाई मैले कर्तव्य गरी मारेको नहुँदा झूठ्ठा अभियोग दावीबाट सफाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी पदमबहादुर जुगजाली मगरले अदालतमा गरेको बयान ।
२०६३।४।२१ गते राति पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं ११ को नयाँ गाउँमा अरिङ्गाल पोल्न गएको थिएँ । राति ९ बजेतिर घर फर्केको हो । जाहेरवालाको श्रीमतीलाई को कसले कसरी मारे केही थाहा छैन भन्ने समेत व्यहोराको वादीको साक्षी खुमबहादुर वि.क.ले गरेको बकपत्र ।
२०६३।४।२१ गतेको राति पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं ११ को नयाँ गाउँमा अरिङगाल पोल्न गएको थिएँ । राति ८ बजेतिर घर फर्केको हो । प्रहरीले पदमबहादुरलाई पक्री ल्याएपछि निजले सुकमायालाई मारेको भन्ने सुनेको हो भन्ने समेत व्यहोराको वादीको साक्षी गणेश कुँवरले गरेको बकपत्र ।
श्रीमतीलाई पदमबहादुर जुगजालीले मारेको शंका लाग्छ । मारेको देखेको होइन भन्ने समेत व्यहोराको वादीको साक्षी जाहेरवाला शेरबहादुर नेपालीले गरेको बकपत्र ।
२०६३।४।२१ गतेको राति पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं ११ को नयाँ गाउँमा मसमेत पाँच जना अरिङगाल पोल्न गएका थियौं । राति पोलेको अरिङ्गाल बाँडी आ–आफ्नो घर फर्केको हो । जाहेरवालाको श्रीमतीलाई कसले मारेको थाहा छैन भन्ने समेत व्यहोराको वादीको साक्षी कृष्णबहादुर कुँवर र इन्द्र महर्जनले गरेको एकै मिलानको बकपत्र ।
प्रतिवादीले सुकमायालाई मारेको देखिन भन्ने समेत ब्यहोराको प्रतिवादीको साक्षी शारदा कार्कीले गरेको बकपत्र ।
घटनास्थल तथा लाशजाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, वस्तुस्थिति मुचुल्का तथा प्रहरीमा कागज गर्ने मानिसहरूको भनाई समेतबाट मृतकको मृत्यु कर्तव्यबाट हुन आएको देखिन्छ । मृतकलाई तानसेन नगरपालिका वडा नं.११ स्थित खरवारीमा भेटी सोही स्थानमा घाँटी थिचेर मारेको भनी अनुसन्धान अधिकारीसमक्ष निज प्रतिवादीले बयान गरेको र सोही स्थानमा मृतकको लाशसमेत भेटिएको भन्ने घटनास्थल तथा लाशजाँच मुचुल्काबाट देखिएको तथा जाहेरवाला एवं वस्तुस्थिति मुचुल्का र प्रहरीमा कागज गर्ने व्यक्तिहरूले प्रतिवादीले मृतक सुकमायालाई घाँटी अठ्याएर मारेका हुन भनी बकपत्र गरी लेखाई दिएका आधार प्रमाण समेतबाट निज प्रतिवादी पदमबहादुर जुगजालीले मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नं. विपरीत ऐ.को १३(३) नं.बमोजिमको कसूर गरेको देखिदा निज प्रतिवादी पदमबहादुर जुगजाली मगरलाई ज्यान सम्बन्धी १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने शुरू पाल्पा जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसला ।
जाहेरवालाले शंकासम्म लाग्छ भनी बकपत्रमा लेखाएको, शुरू जाहेरी किटान पनि नभएको तथा बुझिएका साक्षीहरूले समेत प्रत्यक्ष नदेखी भनेको सुनेको हुँ भन्नेसम्म उल्लेख गरी बकपत्र गरिदिएको अवस्था र मेरो अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान स्वेच्छाको नभई जबरजस्ती साविती गराएका हुन भनी अदालतसमक्ष गरेको बयानलाई विचार नगरी कसूरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा शुरू फैसला उल्टी गरी सफाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।
यसमा मृतकको लास खाडलमा रहेको भन्ने घटनास्थल प्रकृति मुचुल्काबाट देखिएको र प्रतिवादी आरोपित कसूरमा अदालतमा इन्कार रहेको अवस्था हुँदा शुरुको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं.२०२ नं.को प्रयोजनार्थ पुनरावेदन सरकारी वकील कार्यालय बुटवललाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६४।११।२० को आदेश ।
जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, लाशजाँच परीक्षण प्रतिवेदन, वस्तुस्थिति मुचुल्काका मानिसहरू र प्रहरीमा कागज गर्ने मानिसहरूको भनाई समेतबाट मृतक सुकमाया नेपालीको मृत्यु स्वभाविकरूपबाट भएको नभई कर्तव्यबाट नै भएको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष कसूर स्वीकार गरी बयान गरेको र लाश परीक्षण प्रतिवेदन हेर्दा घाँटीमा डाम (Ligature mark in neck below thyroid cartilage) देखिनुको साथै मृत्युको कारणमा “Asphyxia due to strangulation” भन्ने वरिष्ठ मेडिकल अधिकृतको रायबाट पनि मृतक सुकमाया नेपालीको घाँटी थिचेर श्वास प्रश्वास रोकी मृत्यु भएको भन्ने देखिएको र निज प्रतिवादीको मौकाको सावितीलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) ले प्रमाण ग्राह्य हुँदा प्रतिवादी पदमबहादुर जुगजाली मगरलाई अभियोग दावीअनुसार ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याएको पाल्पा जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६५।१।२९ को फैसला ।
लाश खाल्डोमा रहेको झ्याङ माथि रहेको देखिन्छ । सुकमायाको मृत्यु हुनुभन्दा पहिले निज रक्सी खाई हिँड्ने भन्ने कुरा जाहेरवालाकै कथनबाट पुष्टि हुन्छ । लाश प्रकृति मुचुल्कामा सुकमायाको दुबै खुट्टामा चप्पल लगाएको अवस्था छ । मानिस मार्दा संघर्ष हुने र मारिने मानिसले आफू बच्नको लागि संघर्ष गर्ने तथा हात खुट्टा फाल्नु स्वाभाविक हो । तर, त्यस्तो व्यक्तिको दुबै खुट्टामा चप्पल लगाएकै अवस्था हुनुबाट सुकमायाको मृत्यु कर्तव्यबाट भएको भन्ने कुनै आधार छैन । पहिलो जाहेरीमा मेरो नाम उल्लेख छैन । दोस्रो जाहेरीमा मात्र नाम उल्लेख गर्नु र अदालतमा गरेको बकपत्रमा मारेको देखिन शंकासम्म लाग्छ भनी उल्लेख गर्नु नै जाहेरवालाका कथन विरोधाभाष छन् । जाहेरवालाको घर र घटनास्थल नजिक भएको जाहेरवाला र मृतकबीच झगडा हुने गरेको अवस्थामा जाहेरवालाको विषयमा कुनै अनुसन्धान नै नगरी शंकाका आधारमा मलाई कसूरदार ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा लाश जाँच प्रतिवेदनमा “Strangulation” को पुष्ट्याई गर्न देखिनुपर्ने लक्षणहरूमा “Decomposed” भनी उल्लेख भएको र विशेषज्ञद्वारा मृत्युको कारण “Asphyxia due to strangulation” लेखिएकोमा सो निष्कर्षलाई पुष्ट्याई गर्ने मृतकका शरीरमा देखिनुपर्ने अन्य चिन्हको अभाव रहेको, यस्तो विरोधाभाषयुक्त प्रतिवेदन दिने विशेषज्ञलाई जिरहसम्म नगरेको र प्रत्यक्ष प्रमाणको अभावमा अनुसन्धानमा भएको सावितीलाई मात्र आधार बनाई भएको पुनरावेदन अदालतको फैसलामा प्रमाणको मूल्याङ्कनमा त्रुटि देखिई फरक पर्न सक्ने देखिँदा महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।७।१८ को आदेश ।
मिति २०६६।७।१८ को आदेशानुसार भएको विशेषज्ञको बकपत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता श्री लीलामणि पौडेलले वारदात कुन मितिको भन्ने नै खुलेको छैन । २०६३।४।२० देखि मृतक हराएकी भन्ने र २०६३।४।२१ गतेको वारदात भनी उल्लेख गरिएको छ । यी प्रतिवादी समेत तेल्घामा अरिङाल पोली आफ्नो घर लागेको भन्ने संगै जाने व्यक्तिहरूबाट खुलेको छ । मृतकले लगाएका हातका चुरा फुटेका छैनन् । खुट्टामा लगाएको चप्पल जस्ताको त्यस्तै अवस्था रहनुले कर्तव्यको वारदात होइन । मृतक रक्सीको कारणले मरेको हो मार्नमा कसैको हात छैन । मानिस मार्दा घटनास्थलमा संघर्षका चिन्ह देखिनु पर्नेमा त्यस्तो कुनै चिन्ह समेत देखिएको छैन । लासचाँच मुचुल्कामा र शव परीक्षण प्रतिवेदनमा कुनै घाचोटका चिन्ह देखिँदैनन् । मार्नु पर्ने कुनै कारण छैन । मेरो पक्ष निर्दोष हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले यिनै प्रतिवादीको कर्तव्यबाट सुकमायाको मृत्यु भएको तथ्यमा विवाद छैन । प्रतिवादीले बयानमा पहिला पनि पटक–पटक यौन सम्पर्क हुने गरेको, तर वारदातको दिनमा यौन सम्पर्क नभएको तर श्रीमती बनाई भित्र्याउनुपर्ने भन्ने मृतकको भनाईको कारण प्रतिवादीले मृतकको घाँटी अठ्याई मारेको भनी स्वीकार गरेकोले कसूरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
यसमा विद्वान अधिवक्ता र विद्वान उपन्यायाधिवक्ताले प्रस्तुत गर्नु भएको बहस जिकीर सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा प्रतिवादी पदमबहादुर जुगजाली मगर र सुकमाया नेपालीका बीचमा अनुचित यौन सम्बन्ध रहेको र भित्र्याउने विषयमा आपसमा विवाद भई २०६३।४।२१ गते राति प्रतिवादी पदमबहादुरले सुकमायाको घाँटी थिची कर्तव्य गरी मारेकोले ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएकोमा अभियोग माग दावीबमोजिम सजाय हुने ठहर गरेको शुरू पाल्पा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत बुटवलको फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पहिलो जाहेरीमा सुकमाया नेपाली केही वर्ष पहिलादेखि अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, आफूखुसी हिँड्ने डुल्ने कार्य गर्दै आएकीमा २०६३।४।२० गतेका दिन १०:०० बजे घरबाट हिंडी गएकी र घरमा नआएकोले खोजतलास गर्दै रहँदा २०६३।४।२४ गते श्रीमतीको मृत लास सडी गली कीरा औसा परी दुर्गन्धित भएको अवस्थामा फेला परेको भन्ने व्यहोरा उल्लेख गरिएको छ भने दोस्रो जाहेरीमा यी प्रतिवादीको नाम किटान गरिएको छ । प्रतिवादी पदमबहादुर जुगजाली मगरले सुकमायाको घाँटी थिची कर्तव्य गरी मारेकोले निजलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ । प्रतिवादीलाई शुरु पाल्पा जिल्ला अदालतले अभियोग दावीबमोजिम सजाय हुने ठहर गरेको उक्त फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसलाउपर प्रतिवादीको पुनरावेदन परेको देखिन्छ ।
३. मृतक सुकमाया नेपाली २०६३।४।२० गते आफ्नो घरबाट आफूखुशी हिँडेकीमा कुन मितिमा निजको मृत्यु भएको हो भन्ने तथ्यको अभाव छ । मिति २०६३।४।२४ मा सडेगलेको अवस्थामा लास भेटिएको तथ्यमा विवाद छैन । तसर्थ सुकमाया नेपालीको मृत्यु यी प्रतिवादीको कर्तव्यबाट भएको हो होइन भन्ने नै यस विवादमा केन्द्रीय प्रश्न रहेको छ । प्रतिवादी अनुसन्धान अधिकारीसमक्ष आरोपित कसूरमा सावित रहेको देखिएपनि अदालतमा पूर्ण इन्कार रहेको हुँदा उक्त विवादित विषयको निरोपणको लागि सर्वप्रथमतः लासजाँच प्रकृति मुचुल्कामा उल्लिखित लासको प्रकृति र शव परीक्षण प्रतिवेदनलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्ने हुन्छ । लासजाँच प्रकृति मुचुल्कामा, “जिल्ला पाल्पा तानेसन नगरपालिका वडा नं. ११ प्रभास भन्ने ठाउँ स्थित पूर्वमा चिरञ्जीवी ढुङ्गानाको मकै वारी, पश्चिममा सार्वजनिक बगैचा, उत्तरमा प्रताप थापाको जग्गा, दक्षिणमा सार्वजनिक बाटो यति चारकिल्लाभित्र रहेको प्रताप थापाको खर बारीमा १ मीटर गहिराई र १५ मीटर गोलाईको माटो निकालेको खाडलको पश्चिम किनाराको छेउमा सिरू तथा उन्यूको झाङमा उत्तर टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा रहेको मृतक सुकमाया नेपालीको कीरा औसा परी दुर्गन्धित अवस्थामा मृत लाश रहेको, शरीरमा सेतोमा रातो र हरियो बुट्टा भएको टेरिकटको साडी, रातो ब्लाउज लगाएको, दुबै खुट्टामा नीलो रङको फितावाला चप्पल लगाएको, दाहिने हातमा रातो रङको काँचको चुरा एकवटा लगाएको, कपालमा रातो रङको डोरी बाँधेको, लासदेखि ३ मीटर पूर्व सोही खाडलको पूर्वतर्फको ढिकमा रातो रङको उनीको सल एक रहेको” भन्ने उल्लेख छ । लास सडेगलेको अवस्थामा छ । मृतकको शरीरमा तथा वारदातस्थलमा कुनै पनि संघर्षका चिन्ह छैनन् । कुनै हतियार वा लाठा ढुङ्गाको प्रयोग भएको देखिएको छैन । समान उमेरका दुई पक्षबीच संघर्ष हुँदा जसको मृत्यु हुन पुगेको छ त्यसको शरीरमा तथा वारदातस्थलमा कुनै न कुनै संघर्षका चिन्ह देखिनु पर्दथ्यो । तर त्यस्ता कुनै चिन्ह मृत शरीर र वारदातस्थलमा देखिएको छैन । हातमा लगाएका चुरा फुटेको छैन । खुट्टामा लगाएका चप्पल पनि लगाइएको अवस्थामा जस्ताको त्यस्तै छन् । वारदातस्थलको वरिपरि दोस्रो व्यक्तिको पद चिन्हसमेत छैन । आक्रमण गरी कुटपीट गर्दा वा संघर्ष गर्दा शरीरको कुनै न कुनै ठाँउमा घाउ चोट परेको नदेखिएकोले संघर्ष भएको भन्ने तथ्य नै स्थापित हुन सकेको छैन । मृत्युको कारणमा घाँटी थिचिई श्वास प्रश्वाश रोकिएको (Asphyxia due to Strangulation) भन्ने उल्लेख छ । तर, मृत शरीर नै सडी गली सकेको र लासजाँच मुचुल्काले यस तथ्यलाई समर्थन नगरेको अवस्थामा सडे गलेको लाशको भिसेरा परीक्षण समेत गर्नुपर्नेमा सो कार्य पूरा नगरी व्यक्त गरेको विशेषज्ञको रायसमेत न्यायको प्रयोजनको लागि भर पर्न सकिने अवस्थाको छैन ।
४. प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयानमा रक्सी खान मन लागि कृष्ण भन्ने अम्बोटेको पसलमा जाँदा पसल बन्द भएकोले फर्कदा मृतकसँग भेट भएको र भित्र्याउने कुरामा विवाद भएपछि घाँटी अठ्याई मारेको भन्ने छ । अब, यदि मृतकसँग बाटोमा भेट भई विवाद हुँदा घाँटी अठ्याई मारेको भए लास बाटोमा नै हुनुपर्ने थियो । कसैले नदेख्ने खर बारीमा रहनु र ५ दिनपछि लाश भेटिनु पर्ने अवस्था पर्दैनथ्यो । भेट भएकै ठाउँ घाँटी अठ्याई मारेको भए कसैले नदेख्ने ठाउँसम्म पुर्याउन बल प्रयोग गर्नु पर्यो । बल प्रयोग गर्दा कि त लाश घिसारेर लानु पर्यो कि त अन्य साधनको प्रयोग वा कसैको सहयोग प्राप्त गरेको हुनु पर्यो त्यस्तो केहीं देखिँदैन ।
५. वादी पक्षले प्रमाणका रूपमा प्रस्तुत गरेका मौकामा कागज गर्ने र अदालतमा आई बकपत्र गर्ने कृष्णबहादुर कुँवर र इन्द्र महर्जनले गरेको बकपत्रमा २०६४।४।२१ गते तानसेन नगरपालिकाको नयाँ गाउँमा अरिङगाल पोल्न गई अरिङगाल बाँडी राति ८ बजेतिर पदमबहादुर समेत आफूहरू आ–आफ्नो घरतर्फ लागेको भन्ने उल्लेख छ । गणेश कुँवरले गरेको बकपत्रमा प्रहरीले पक्री ल्याएपछि मारेको भन्ने सुनेको हो भन्नेसम्म उल्लेख गरेका छन । जाहेरवालाले गरेको बकपत्रमा शंका लाग्छ मारेको देखिन भनी यी प्रतिवादीउपर शंकासम्म गरेको अवस्था छ । सरकारी पक्षका कुनै पनि साक्षीले प्रतिवादी पदमबहादुरको संलग्नता रहे भएको भनी किटानीरूपमा लेखाउन सकेको पाइदैन । २०६३।४।२१ गते राति ८ बजे तिर प्रतिवादी तथा अन्य व्यक्तिहरू कृष्णबहादुर कुँवर र इन्द्र महर्जनसमेत अलग भई आ–आफ्नो घर फर्केको सो पछि वारदात घटेको भन्ने पुष्टि हुन आएको छैन । जाहेरीमा श्रीमती अत्याधिक रक्सी खाई आफूखुशी हिड्ने स्वभावकी भनी उल्लेख गरिएको छ । स्वयम जाहेरवालाले आफैँले देखे जानेको नभनी प्रहरीमा सावित भएपछि थाहा पाएको भनी दोस्रो जाहेरी दिएको र सुनेको कुरालाई आधार बनाइएको छ । त्यसरी घटनाको जानकारी दोस्रो स्रोतलाई प्रस्तुत गरिएको छ । दोस्रो स्रोत प्रहरीको सावितीलाई लिइएको पाइदा माथि उल्लिखित व्यक्तिहरूको बकपत्र अस्वाभाविकरूपको देखिनुको अतिरिक्त प्रतिवादीको विपक्षमा रहेको छैन ।
६. अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म प्रहरीसमक्षको साविती अकाट्य प्रमाण हो होइन भन्नेतर्फ विचार गर्दा मृतक र जाहेरवाला बीच मृतक सुकमायाको विषयलाई लिएर रीस इवी रहेको भनिएको छ । पूर्व रीस इवी रहेकोमा सो रीसइवी साध्न झूठ्ठा आरोप समेत लाग्न सक्ने संभावनालाई नकार्न मिल्दैन । मृतक र प्रतिवादीबीच अनुचित यौन सम्बन्ध थियो भन्ने त्यत्तिकै आधारले दोषी करार गर्ने आधार निर्धारित हुन सक्दैन । यो सम्बन्धको समेत कुनै प्रमाणबाट पुष्टि भएको छैन । चश्मदीद गवाहको अभाव छ, विवादास्पद दुई वटा जाहेरी र गवाहीबाहेक यी प्रतिवादी कसूरदार देखिने सबूद प्रमाण तथा परिस्थितिजन्य प्रमाणसमेतको अभाव रहेको र जाहेरी र बकपत्रको तादम्यता देखिएको छैन । शरीरले थेग्न नसक्ने गरी रक्सी सेवन गर्ने भन्ने भनाई रहेको र लास जाँच प्रकृति मुचुल्कामा चित्रण गरिएको लासको प्रकृतिबाट मृत्युको कारण कर्तव्य नभई कतै स्वभाविक मृत्यु नै त होइन भन्ने शंका उब्जने ठाउँ छ । मृतक २० गतेबाट हराएकी छन, २४ गते लास फेला परेको छ । त्यसकारण कुनै पनि प्रमाणबाट यी प्रतिवादी कसूरदार हुन भन्ने शंकारहित तवरबाट नदेखिदा प्रहरीसमक्षको एकमात्र साविती बयानका आधारमा दोषी ठहर गर्न मिल्ने देखिँदैन । अनुमान, आशंका र संभावना यी अनिश्चित तत्व हुन । अनिश्चित तत्वले ज्यान मारेको पुष्टि गर्ने प्रमाणको स्थान ग्रहण गर्न सक्दैन । प्रतिवादीको प्रहरी हिरासतमा नै रहँदा घाँटी रेटिएको भई घाँउ छ । यसलाई प्रहरी कागजमा आफूले नै ल्याएको दाह्री काट्ने ब्लेडले अपराधबाट बच्न आफैंले काटेको भन्ने भनाई कागजमा राखिएको छ । अचानक पक्राउ परेको थुनुवाले दाह्री काट्ने पत्ति पनि साथै ल्याउनु र आफैँले घाँटी काट्नु भनिएको तथ्य पनि शंकाको घेरामा पर्न आउँछ । यस्तो अवस्थाको कतैबाट पुष्टि नहुने अनुसन्धान अधिकारीसमक्षको भनिएको सावितीलाई आधार लिएर ज्यान जस्तो कसूरमा सजाय गर्न मिल्दैन ।
७. मृतकको ज्यान लिने कार्य भएको भए प्रतिवादी पदमबहादुरले त्यसरी ज्यान लिने कार्य गर्दा आफ्नो ज्यान बचाउन मृतकले प्रतिरोध र संघर्ष गर्नु स्वाभाविक हुन्छ । यसरी प्रतिरोध गर्दा संघर्षका चिन्ह देखिनु पर्दथ्यो सो वारदातस्थलमा समेत देखिएको छैन । लास जाँच मुचुल्काबाट हत्याको वारदात भएको भन्ने नै स्थापित हुन सकेको छैन । जाहेरवालाले अदालतमा शंकासम्म गरेका छन किटानी गरेका छैनन । वादी पक्षका अन्य साक्षीसमेतले यी प्रतिवादीलाई गढाउ गरेका छैनन । प्रतिवादी प्रहरीसमक्ष सावित भयो भनिएपछि अन्य साक्षी कथन समेटिएका छन् । फौजदारी मुद्दामा दोषी प्रमाणित गर्ने भार वादी पक्षमा निहीत रहेको र कसूर शंकारहित तवरले प्रमाणित गर्नुपर्ने यो फौजदारी न्यायको सर्वमान्य सिद्घान्त हो । यस सिद्घान्तलाई न्याय प्रदान गर्दा हामीले स्वीकार गरिआएको मान्यता पनि त्यही हो । प्रहरीसमक्ष प्रतिवादी मृतकलाई मारेकोमा सावित भएको भनी सो भ्रममा धारणा बनाउने जाहेरवाला समेतका कथनकै भरमा प्रतिवादी दोषी नै हो भनी शंकारहित किसिमले वादीले प्रमाणित गर्न सकेको मान्न न्यायोचित हुँदैन । त्यसमा पनि सरकारी पक्षका गवाह स्वयम जाहेरवालाले अदालतमा शंकासम्म व्यक्त गरेका छन् । यस्ता मौखिक प्रमाणमा निश्चयात्मक अवस्थाको अभाव देखिदा प्रमाण ऐन, २०३१ को दफा ३७(२) को आधारमा त्यस्ता अस्पष्ट र अनिश्चयात्मक कथन कसूरदार ठहर्याउने आधार हुन नसक्ने हुँदा सोको आधारमा हत्याको जिम्मेवार ठहराई सजाय गर्नु कानूनसम्मत र न्यायपूर्ण हुन सक्दैन । अन्य प्रत्यक्ष वस्तुगत प्रमाणको सर्वथा अभाव रहेको स्थितिमा केवल मौखिक प्रमाणको आधारमा अपराधी घोषित गर्न अदालतले अत्यन्त संयमता अपनाउनु पर्दछ । मौखिक प्रमाण दिने व्यक्ति स्वयमले देखेको, सुनेको र अनुभव गरेको कुरा भरपर्दो देखिएमा मौखिक प्रमाणले पनि उत्तम प्रमाणको रूप ग्रहण गर्न सक्दछ । तर शंकाको भरमा गरिएको अभिव्यक्तिलाई न्यायको रोहमा विश्वास गरिहाल्न मिल्दैन । तसर्थ प्रमाणको विश्लेषण नगरी मनोगत रूपमा दोषी ठहर गरी प्रतिवादीलाई सजाय गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिएन ।
८. अतः माथि उल्लिखित आधार प्रमाणहरूबाट सुकमाया नेपालीको मृत्यु यी पुनरावेदक प्रतिवादी पदमबहादुर जुगजाली मगरको कर्तव्यबाट भएको नदेखिँदा पुनरावेदक प्रतिवादी पदमबहादुर जुगजाली मगरले अभियोग दावीबाट सफाई पाउने ठहर्छ । प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिनुपर्नेमा ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको शुरू पाल्पा जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६५।१।१९ को फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी हुन्छ । अरूमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरू पाल्पा जिल्ला अदालतको मिति २०६४।२।२१ को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६५।१।१९ को फैसला उल्टी भई पुनरावेदक प्रतिवादी पदमबहादुर जुगजाली मगरले अभियोग दावीबाट सफाई पाउने ठहरी फैसला भएकोले निज कारागार कार्यालय पाल्पामा थुनामा रहेको भन्ने देखिदा अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दामा थुनाबाट मुक्त गर्न निज थुनामा रहेको कारागार कार्यालयमा लेखिपठाइदिनु भनी आज छुट्टै आदेश भई थुनाबाट छाडिदिन पत्राचार समेत भएको हुँदा शुरू पाल्पा जिल्ला अदालतको फैसलाको तपसीलखण्डको प्रकरण १ मा राखेको लगत कार्यान्वयन गर्नु नपर्ने हुँदा सोको जानकारी शुरू पाल्पा जिल्ला अदालतमा लेखिपठाइदिनू.... ....१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनू ..... .... .......... २
उक्त रायमा म सहमत छु ।
न्या.डा.भरतबहादुर कार्की
इति संवत् २०६७ साल चैत २ गते रोज ४ शुभम्
इजलास अधिकृत–दीपक ढकाल