शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४८६ - खिचोला मेटाई दर्ता बदर समेत

भाग: ३४ साल: २०४९ महिना: असार अंक:

निर्णय नं. ४४८६    ने.का.प. २०४९ ()    अङ्क ३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४५ सालको दे.पु.इ.नं. ८३

फैसला भएको मिति : २०४९।३।२५।५ मा

निवेदक/प्रतिवादी: का.न.पा. वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने कृष्णशरण श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी: ल.पु.न.पा. वार्ड नं. ४ जावलाखेल बस्ने सीतादेवी के.सी.

मुद्दा : खिचोला मेटाई दर्ता बदर समेत

(१)    वादीको लिखत भन्दा बढी प्रतिवादीले खरिद गरेको जग्गा समेत पर्ने गरी वादीको हो भन्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुंगाना तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी/वादीतर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको मिति २०४२।१२।२२ को निर्णय दोहर्‍याई पाउँ भनी प्रतिवादीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाई पठाएको निवेदन र न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    चन्द्रबहादुरबाट ०२७।२।१८ मा पारीत गरी लिएको पू. चन्दबहादुरको घर जग्गा प. बाटो उ. महादेवस्थानको मन्दिर द. पाइखाना यति ४ किल्लाभित्रको घर जग्गा र सो ले चर्चेको लगापात समेत मैले भोगी आएको विपक्षीका बाबुको दाता गोकुलमानले म भन्दा अघि चन्द्रबहादुरबाट घर जग्गा पारीत गरिलिएको सो दुवै अघि कि.नं. १११ मा थियो, हाल नापीमा विपक्षीले मेरो कि.नं. ६५६ घटी गराई आफ्नो कि.नं. ६५७ मा लिखत भन्दा बढी जग्गा नपाई लिएकोमा मेरो उजूर पर्दा विपक्षको नाममा अस्थाई दर्ता गर्ने र मलाई अदालतमा नालेश गर्न जानु भन्ने सुनाएकोले कि.नं. ६५६ को साँध देखि सोझै भइरहेको आली साँध दारिमको बोट भई गई कि.नं. ६५८ को साँधसम्मको सम्पूर्ण जग्गा मेरो कि.नं. ६५६ मा दर्ता गरिदिनु पर्नेमा घटी हुन आएको ०० जग्गा कि.नं. ६५६ मा कायम गरी सो बढी कि.नं. ६५७ को दर्ता बदर गरी खिचोला मेटाई दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    विपक्षीको लिखतमा किल्ला फरक छ, विपक्षीको जग्गा कि.नं. ६५७ मा घुसाएको छैन कि.नं. ६५६ को विपक्षीको घर मात्र हो । ०२६ सालमा मेरा परदाता गोकुलमानले फार्छे पारीत गरी लिंदा बाँकी घर बाहेक जग्गा नभएको २०३०।५।१३ मा गोकुलमानबाट मेरा पिताजीले लिई मलाई घर बनाउन मन्जूर दिई अंश फार्छे गरी दिनु भएबाट नक्सा पास दर्खास्त दिंदा आफ्नो साँध देखाएकोमा विपक्षको कुनै उजूर नपरी नक्सा पास भई घर बनाई बसोबास गरेको छु वादीले आफ्नो जग्गा आफूले नाप नक्सा गराएपछि झुठ्ठा उजूर गरेको हुन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने शुरु का.जि.अ. को ०३८।३।३० को फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन मेरो जिकिर बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णशरणको वा.अं.अ. मा परेको पुनरावेदनमा कि.नं. ६५७ को जग्गा मध्ये रो.०२ वादीको हकको कि.नं. ६५६ को जग्गामा समावेश भई दर्ता हुने र वादीले खिचोला मेटाई लिन पाउने गरी शुरुले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने वा.अं.अ. को ०३९।१।२० को फैसला ।

६.    वा.अं.अ. को प्रत्यक्षतः विवादरहति त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.कृष्णशरण श्रेष्ठको म.क्षे.अ. मा निवेदन पर्दा राजीनामा लिखतको किल्ला र नक्सा समेतको प्रमाणबाट त्रुटिपूर्ण भई उल्टीने देखिएबाट पुनरावेदनको अनुमति दिइएको छ भन्ने म.क्षे.अ. सिंगलबेञ्चको ०३९।११।१ को आदेश ।

७.    वादी सीतादेवीको भनिएको घरको पूर्व र दक्षिणतर्फ नक्सा कुण्डलीबाट पर्खाल देखिन्छ । सो पर्खालले विवादित जग्गालाई छुट्याएको देखिन्छ । प्रतिवादीले जबरजस्ती बनाएको भए सो कुराको उल्लेख गरी पर्खाल भत्काई पाउँ भन्ने समेत फिराद दावी हुनु पर्दथ्यो, सो छैन । यसको अतिरिक्त वादीले कति जग्गा लिएकोमा कति नपुग भएको र प्रतिवादीतर्फ कति बढी हुन गएको हो प्रमाणबाट पुष्टी हुन सकेको छैन । ०० जग्गा घुसाई खिचोला गरे भन्ने वादी दावी छ । विवादित जग्गा नापबाट ०२ भन्ने देखिन्छ । सो कुरा पनि वादीको मिल्दो देखिँदैन । यसरी मिसिल संलग्न सबूद प्रमाणबाट विवादित जग्गा प्रतिवादीको हकको देखिन्छ । तसर्थ खिचोला मेटाई अस्थायी दर्ता बदर गरी मेरै नाममा दर्ता समेत गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन यस अदालतमा पर्दा यस्मा ०२७।२।१८ को वादीको राजीनामामा पूर्व किल्ला चन्द्रबहादुरको भन्ने देखिन्छ । न.नं. ४ को झगडा जग्गा प्रतेवादीको २०२६।११।६ को खरीदीको भए वादीको राजीनामाको पूर्व किल्लामा प्रत्येवादीको नाम उल्लेख हुनु पर्नेमा सो छैन । प्रतेवादीको उत्तर किल्लामा चन्द्रबहादुरको घर जग्गा देखिन्छ । न.नं. ४ को झगडा परेको जग्गा प्रतेवादीको भए उक्त किल्ला बाटो हुन पर्ने थियो तर सो छैन । प्रत्येवादीले राजीनामा लिंदा लम्वाई चौडाई फूट समेत खोलेको देखिन्छ । सो उल्लेख भएको फूटभन्दा बढी जग्गा प्रतेवादीले पाउने समेत नहुँदा वादी दावी नपुग्ने ठहर्‍याएको म.क्षे.अ. को निर्णयमा अ.बं. १८४ को र प्रमाण ऐनको दफा ५४ को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको स.अ. डिभिजनबेञ्चको ०४१।२।१७ को आदेश ।

९.    चन्द्रबहादुर के.सी. ले २०२७।२।१८ मा वादीलाई गरी दिएको फार्छे पत्र र प्रतिवादीको परदाता गोकुलमान श्रेष्ठलाई २०२६।११।६ मा गरी दिएको राजीनामा हेर्दा पूर्व किल्ला चन्द्रबहादुर श्रेष्ठको घर जग्गा लेखिएको र अरु किल्लामा खास फरक देखिँदैन गोकुलमानलाई दिएको फार्छे पत्र हेर्दा पूर्व र दक्षिण साँधमा पर्ने ऋणी चन्द्रबहादुरको घरबाट जग्गाको पूर्व हिस्सामा लम्बाई ८० फुट भएको र चौडाइमा पश्चिम उत्तर कुनाको घरले मिचेको चौडाई फुट २२ बाहेक गर्दा बाँकी फुट ४८ हुने देखिन्छ । दाताको समुच्चा जग्गाको उत्तर दक्षिण लम्बाई ७० फुट भई सो मध्ये ४८ फुट गोकुलमानलाई राजीनामा गरेको र बाँकी रहन आएको २२ फुट उत्तर दक्षिण लम्बाइको जग्गा पछि वादीलाई राजीनामा गरी दिएको कुरा राजीनामा लिखतमा पूर्व किल्लामा चन्द्रबहादुरको घर जग्गा लेखेबाट प्रष्ट देखिँदा कि.नं. ६५० को पूर्व पट्टि दक्षिण तर्फबाट उत्तर दक्षिण लम्बाई ४८ फुट मात्र गोकुलमानले फार्छे गराई लिएको हुँदा त्यति सम्म दर्ता भोग गर्न पाउने र सो ४८ फुटदेखि उत्तरको २२ फुट उत्तर दक्षिण लम्बाईको जग्गामा वादीको हक लाग्ने देखिँदा प्रतिवादीले आफ्नो कि.नं. ६५७ को जग्गा दर्ता गर्दा वादीको ०२ जग्गा समेत घुसाई दर्ता गरेको देखिँदा शुरुले खिचोला गरेको ठहर्‍याएको बा.अं.अ. को इन्साफ मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहर्‍याएको म.क्षे.अ. को इन्साफ उल्टी हुन्छ भन्ने समेत यस अदालत संयुक्तइजलासको फैसला ।

१०.    श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४२।१२।२२ को निर्णय दोहोर्‍याई पाउँ भनी कृष्णसरण श्रेष्ठले न्यायिक समिति मार्फत चढाई पठाउनु भएको निवेदनपत्र र यस बारे न्यायिक समितिले चढाई पठाएको पर्चा सहितको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए बमोजिम यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

११.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादीहरुको २०२६ र २०३० सालको राजीनामाको उत्तर किल्लामा चन्द्रबहादुर होमबहादुरको घर र वागमती जाने बाटो भन्ने उल्लेख भएको पाइन्छ । यदि विवादित जग्गा वादीको भनी मान्ने हो भने प्रतिवादीको उत्तर किल्ला नै लोप हुन जाने हुन्छ । विवादित जग्गा भन्दा पश्चिम पट्टी वादीको घर जग्गा रहेको र प्रतिवादीले लिखत गरी लिंदा पनि पश्चिम उत्तर कुनातर्फबाट २२ फुट बढाएको हुँदा विवादित जग्गामा वादीका दावा पुग्न सक्दैन । मिति ०३५।११।२८ मा नापीबाट भएको कि.नं. ६५६ र ६५७ लाई पर्खालले छुट्याएको छ । नापीका पर्खाल ६५७ को कायम छ । पर्खालमा वादीले विरोध गर्नु भएको छैन । पर्खाल वादीले नै बनाएको भन्ने केही उल्लेख गर्न सकेको छैन यसरी भोगचलनबाटै वादी प्रतिवादीले आफ्नो आफ्नो छुट्याई भोगचलन गरेको हुँदा स.अ. संयुक्तइजलासको इन्साफ उल्टी भई म.क्षे.अ. को इन्साफ सदर हुनु पर्ने भन्ने र विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले वादीको लिखतमा घर जग्गा भन्ने उल्लेख भएबाट घरको अलावा जग्गा पनि लिएको प्रष्ट छ । यो पर्खालको सम्बन्धमा नापी हुँदाका बखत तत्कालै उजूर गरेको थियो । विपक्षीले देखाएको Side Plane बाट वादीलाई असर पर्ने होइन, प्रतिवादीको परदाता गोकुलमानले मिति २०२६।११।६ मा लिएको लिखतमा पूर्व पश्चिम लम्वाई तर्फ ८० फिट र उत्तर दक्षिण चौडाई तर्फ वादीको २२ फुट कटाई बाँकी ४८ फुट मात्र लिएको हुँदा उक्त ४८ फिट चौडाई भन्दा बढीमा प्रतिवादीको हक भोग रहन नसक्ने स्पष्ट छ । वादी प्रतिवादी दुबैले साविकमा एउटै जग्गाधनीबाट राजीनामा गरी लिएका हुन् । वादीले पछिबाट राजीनामा गरिलिंदा पूर्वी सीमानामा चन्द्रबहादुरको घर जग्गा लेखी राखेको छ । विवादित जग्गाको उत्तर दक्षिण चौडाई लगभग २२ फि. छ । त्यसको पूर्वी साँधमा चन्द्रबहादुरको जग्गा रहे भएको कुरा नक्साबाट समेत देखिन्छ । विवादित जग्गा वादीको नमान्ने हो भने वादीको पूर्वी साँध लोप हुन पुग्छ । यसर्थ विवादित जग्गा वादीकै देखिँदा वादी दावी बमोजिम खिचोला गरेको ठहर्‍याएको स.अ. संयुक्तइजलासको इन्साफ मनासिब हुँदा सोही सदर हुनु पर्ने भनी बहस गर्नु भयो ।

१२.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ विचार गर्दा चन्द्रबहादुरबाट २०२७।२।१८ मा पारीत गरी लिएको राजीनामाबाट पूर्व चन्द्रबहादुरको घर जग्गा पश्चिम बाटो उत्तर महादेव स्थानको मन्दिर दक्षिण पाइखाना यति ४ किल्ला भित्रको घर जग्गा र त्यसले चर्चेको लगापात समेत मैले भोगी आएकोमा हाल नापीमा विपक्षीले मेरो कि.नं. ६५६ घटी गराई आफ्नो कि.नं. ६५७ मा लिखत भन्दा बढी जग्गा नपाई लिएको हुँदा कि.नं. ६५६ को साँधदेखि सोझै भैरहेको आली साँध दारिमको बोट भई गएको कि.नं. ६५८ को साँधसम्मको सम्पूर्ण जग्गामा विपक्षीले खिचोला गरेको हुँदा खिचोला मेटाई मेरै नाममा दर्ता गरी पाउँ भन्ने वादी दावी भएको पाइन्छ । विपक्षीको किल्ला फरक छ । विपक्षीको जग्गा मेरो जग्गामा घुसाई खिचोला गरेको छैन । कि.नं. ६५६ मा विपक्षीको घर मात्र छ । २०२६ सालमा मेरो घर दाता गोकुलमानले फार्छे गरी लिंदा चन्द्रबहादुरको घर मात्र बाँकी थियो । सोही घर जग्गा वादीले लिएको हो । विवादित जग्गा समेटी विपक्षीको घर जग्गा समेतलाई आफ्नो साँध देखाई नक्सा पास गरी घर बनाई अद्यापी भोगचलन गरी आएको छु भन्ने समेत प्रतिउत्तर जिकिर भएको पाइन्छ । मिति २०४२।८।१२ मा भई आएको नक्सा मुचुल्कामा न.नं. १० को जग्गामा विवाद परेको भन्ने देखिन्छ । यसर्थ उक्त जग्गा वादी वा प्रतिवादी कस्को हो भनी हेर्दा गोकुलमान श्रेष्ठले चन्द्रबहादुर खत्री क्षेत्रीबाट मिति २०२६।११।६ मा र गोकुलमानबाट प्रतेवादी कृष्णसरणका बाबु लाल श्रेष्ठले मिति २०३०।५।१३ मा राजीनामा गरी लिएको र वादीले मिति २०२७।१।१८ मा चन्द्रबहादुरबाट राजीनामा गरी लिएकोमा विवाद छैन । प्रतिवादीले पेश गरेको २०२६।११।६ को लिखतमा पूर्व पश्चिम लम्बाई ८० फुट उत्तर दक्षिण चौडाई ७० को घर जग्गा भन्ने र पूर्व हिस्सामा उत्तर दक्षिण चौडाई ७० फुट र पश्चिम पट्टी पश्चिम उत्तर कुनाको घरले मिचेको चौडाई फुट २२ बाहेक गरी बाँकी फुट ४८ को चौडा सहितको पाताल जग्गा र त्यसबाट चर्चेको लगापात प्रतिवादीका परदाता गोकुलमान श्रेष्ठले लिएको र सोही बमोजिमको जग्गा प्रतिवादीका बाबु लाल श्रेष्ठले लिएको भन्ने देखिन्छ । तर वादीले मिति २०२७।१।१८ मा चन्द्रबहादुरबाट लिखत गरी लिंदा पूर्व पश्चिम लम्बाई ४३.६ फिट उत्तर दक्षिण चौडाई १९.६ फिट र सो घरले चर्चेको लगापात समेत भन्ने उल्लेख भएको पाइन्छ । यसरी वादीको लिखत भन्दा बढी प्रतेवादीले खरीद गरेको जग्गा समेत पर्ने गरी वादीको हो भन्न मिल्ने देखिएन । वादीको लिखतमा उल्लेखित किल्ला मिति २०४२।८।१२ को नक्साको किल्लासंग मिल्न भिड्न आउँदैन । प्रतिवादीले राजीनामा गरी लिएको जग्गाको उत्तर सीमानामा वागमती जाने बाटो उल्लेख गरेको र उत्तर पश्चिममा २२ फिट चौडा छोडी दक्षिण पश्चिम तर्फ ४८ फिट जग्गा वादीको रहेको तर पूर्व तर्फ उत्तरबाट दक्षिण तर्फ ७० फिट नै रहेको कुरा मिति २०२६।११।६ समेतको लिखतको कैफियत व्यहोराबाट स्पष्ट देखिन्छ, यस स्थितिमा विवादित जग्गा वादीको जग्गा मानेको अवस्थामा प्रतिवादीको लिखत बमोजिमको उत्तर सीमाना लोप हुन जाने र पूर्व तर्फको उत्तर दक्षिणको ७० फिट लम्बाई समेत लिखतमा उल्लेख भए बमोजिम नपुग हुने स्पष्ट छ । विवादित जग्गा वादीको घर जग्गा भन्दा सिधा पूर्व र प्रतिवादीको जग्गाको उत्तर पूर्वी भागमा रहेको कुरा मिति २०४२।८।१२ को नक्सा मुचुल्काबाट देखिन्छ । यसरी पश्चिम उत्तर पट्टिबाट २२ फुट कटाई पूर्व तर्फ उत्तर दक्षिण फुट ७० लिएकोमा त्यस्को ठिक विपरीत पूर्वपट्टिको उत्तर दक्षिणको विवादित जग्गा समेत वादीलाई दिलाउन मिल्ने देखिन्न । साथ यी वादीले र प्रतिवादीको परदाता गोकुलमानले साविक चन्द्रबहादुरको नाम दर्ताको एउटै किल्ला जमीनबाट राजीनामा गरी लिएकोमा विवाद छैन । अघिबाट प्रतिवादीका परदाता गोकुलमानले पूर्व पश्चिम लम्बाई ८० फिट र उत्तर दक्षिण चौडाई ७० फिट मध्ये पूर्वी उत्तर भागमा ७० फिट नै र उत्तर पश्चिमी भागको २२ फिट कटाई पश्चिम दक्षिण भागबाट ४८ फिट राजीनामा गरी हक टुटाई लिई सकेपछि, बाँकी जग्गा सम्म मात्र चन्द्रबहादुरले हक टुटाई दिन सक्दछ । यसरी पूर्वी उत्तर खण्डमा ७० फुट चौडा जग्गा अघिबाटै गोकुलमानलाई राजीनामा गरी दिइसकेपछि वादीलाई पूर्वी साँधमा चन्द्रबहादुरको घर जग्गा भनी राजीनामा देखाएकै आधारमा अघिबाट हक छोडी दिइसकेको जग्गामा समेत हक टुटाई दिन र सोही आधारमा वादीको दावी पुग्छ भनी भन्न मिल्दैन । साथै मिति २०४२।८।१२ को नक्सामा न.नं. ४ वादीको घर जग्गा र त्यस भन्दा पूर्व पट्टी रहेको न.नं. १० को झगडा परेको जग्गा र वादीको घर जग्गा भन्दा दक्षिण तर्फ रहेको प्रतिवादीको घर जग्गा समेतलाई छुट्याउने न.नं. ९ को पर्खाल रहेको देखिन्छ । सो पर्खालले वादीको घर जग्गालाई छुटाई विवादित जग्गा र प्रतिवादीको घर जग्गा एउटै चक्लामा एक मुष्ट घेरी राखेको नक्साबाट देखिएबाट सो पर्खालले घेरी विवादित जग्गा समेत प्रतिवादीले भोगचलन गरी राखेको प्रष्ट छ । सो पर्खाल प्रतिवादीले जबरजस्ती बनाएको भए सो कुरा समेत खुलाई पर्खाल भत्काई पाउने समेत वादीले मौकैमा दावी गरेको हुनुपर्ने सो गरेको पाइन्न । उक्त पर्खाल मैले नै बनाएको हो भनी फिरादमा समेत वादीले खुलाउन सकेको पाइन्न । यसर्थ विवादित न.नं. १० को जग्गा वादीको नदेखिँदा खिचोला मेटाई प्रतिवादीको अस्थायी दर्ता बदर गरी मेरै नाममा दर्ता समेत गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । वादी दावी बमोजिम खिचोला गरेको ठहर्‍याएको सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले स.अ. संयुक्तइजलासको फैसला बमोजिम कोर्टफी रु. ७३।२५ वादीलाई प्रतिवादीबाट भराउने गरेको लगत बमोजिम भरी भराउ गर्नु नपर्ने हुँदा सो लगत काटी दिनु र प्रतिवादीले बा.अं.अ. मा पुनरावेदन गर्दा धरौट राखेको कोर्टफी रु. ७३।२५ प्रतिवादीलाई फिर्ता दिनु भनी का.जि.अ. मा लगत दिनु...१, माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले वादी सितादेवीले स.अ. मा पुनरावेदन दर्ता गर्दा धरौट राखेको कोर्टफी रु. १७।४४ वादीलाई फिर्ता दिने गरेको स.अ. संयुक्तइजलासको फैसला बमोजिम फिर्ता गर्नु परेन सो लगत काटी उक्त धरौटी कोर्टफी प्रतिवादीलाई भराई दिनु भनी का.जि.अ. मा लगत दिनु....२, स.अ. संयुक्तइजलासको फैसलाले वादीलाई प्रतिवादीबाट भराउने गरेको कोर्टफी रु. १०।५० भरी भराउ गर्नु नपर्ने हुँदा सो लगत काटी दिनु भनी का.जि.अ.त. मा लगत दिनु...१, प्रतिवादीले मुद्दा दोहोर्‍याई ल्याउँदा यस अदालतको मिति २०४५।७।२९ को आदेश बमोजिम कोर्टफी रु. ७।र वादीलाई भराउने गरेको कोर्टफी रु. १०।५० समेत का.जि.अ. मा धरौट रहेकोबाट फिर्ता दिनु र रु. ७।वादीबाट भराई पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त परे नियम बमोजिम प्रतिवादीलाई भराई दिनु भनी का.जि.अ. मा लगत दिनु......१, नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.ओमभक्त श्रेष्ठ,

न्या. लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४९ साल आषाढ २५ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु