शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४८८ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: असार अंक:

निर्णय नं. ४४८८    ने.का.प. २०४९ ()  अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४७ सालको फौ.पु.नं. ३८८

फौ.सा.नं. ८५

फैसला भएको मिति : २०४९।२।२८।४ मा

पुनरावेदक/प्रतिवादी: धनकुटा कारागारमा थुनामा रहेको शुरेसबहादुर राई

विरुद्ध

विपक्षी/वादी: लोकप्रसाद राईको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    मार्ने उद्देश्यले आएका प्रतिवादीहरुको साथ लागी घटनास्थलमा उपस्थित भई वारदातमा संलग्न भएको प्रष्ट देखिएको स्थितिमा मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन, पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने ।

(प्रकरण नं. २४)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री मातृकाप्रसाद निरौला

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    मेरा दाजु प्रेमकुमार राईलाई ०४२।८।८ गते गाउँमै बिहान ४ बजेको समयमा प्रते भन्ने जयबहादुर राई, काजीबहादुर राई, कुलबहादुर राई, शुरेस राई, रामप्रसाद राई समेतले कुटपीट गरी मारेछन् । मादक पदार्थ सेवन गरी उनीहरु हामी दाजु भाइलाई पछ्याउँदै आएका कुटपीट गर्ने निउ खोजी हामी दाजु भाइलाई खुकुरीले प्रहार गर्न थाले म कतै नहेरी भागें, दाजुलाई एकलौटी पारी मारेछन् । दिउँसो जंगलबाट घर आउँदा गाउँमा आज बिहान प्रेमकुमारलाई बासथलामा मारेछन् भनी सुनाए गई हेर्दा ज्यान मारेको कुरा थाहा भयो कारवाई गरिपाउँ भन्ने समेत ०४२।८।१२।४ को लोकप्रसाद राईको जाहेरी दर्खास्त ।

३.    मृतकको छातीमा दाहिने पट्टी निलडाम देखिएको, घाँटीको भागमा रगतले पोतिएको, बायाँ पट्टी चिउँडोमा अं. ३ इन्च लामो काटिएको चोट देखिएको गर्दन माथि टाउकोमा अं. ३।४ इन्च लामो २१२ इन्च गहिरो ३ वटा चोट घाउ रहेको, दुबै हातको पातामा निलडाम देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    मृत्युको कारण धेरै रगत बग्नाले भएको हो भन्ने लाश जाँचको रिपोर्ट ।

५.    ०४२।८।८ गते बिहान अं. ४ बजेको समयमा वांसथला डाँडामा रहेको रोटेपिङ भएको ठाउँमा प्रते भन्ने जयबहादुर राईले थापेको डाइसमा मर्ने प्रेमकुमार राई आई चुप्पी रोपेपछि प्रते र प्रेमकुमारको झगडा शुरु भयो । मर्ने प्रेमकुमार आफ्नो भाइ लोकप्रसादसंग सो ठाउँबाट तल झरी चिम्रेम्पाको आँगनमा आई पुग्दा प्रेमकुमारले काजी भन्ने लोकबहादुर राईलाई भेटी छुरीले काट्न खोज्दा काजीले लौरोले छेकी कराउँदै माथि पिङ तिर पुगेपछि प्रतेलाई भेटी दुबै जना तल झर्न लाग्दा कुलबहादुर, रामप्रसाद र म समेतलाई प्रेमकुमारलाई मार्नु पर्छ, जाउँ भन्दा हामी नजाने भन्दा जाउँ कि जाउँ भनी प्रतेले भनेकोमा हामी पाँचैजना भई तल चिम्रेम्पाको आँगनमा आई प्रते र काजीले लौरोले शरीरको जत्रतत्र हिर्काउन थाल्यो प्रतेले टाउकोमा हिर्कायो र मलाई पनि हान कि हान भनी हिर्काउन लगाएकोले मैले पनि पछाडि लौराले हिर्काए, प्रते र काजीले हिर्काउँदै थियो हामी कुलबहादुर, रामप्रसाद र म भागी हाल्यौं । हामी समेतको चोटपीरबाट प्रेमकुमार मरेको हो भन्ने समेत प्रहरीमा शुरेस राईको बयान ।

६.    प्रते भन्ने जयबहादुर राईले थापेको डाइसमा प्रेमकुमार राईले चुप्पी रोपेपछि भनाभन शुरु भई प्रेमकुमार आफ्नो भाइ लोकप्रसादका साथ तल झरी चिम्रेम्पाको आँगनमा बसी रहेको अवस्था काजी भन्ने लोकबहादुर राईलाई चुप्पीले हान्न खोज्दा काजीले लठ्ठीको बलले उम्की पिङ भएको ठाउँमा पुगी जयबहादुरलाई भेटी प्रेमकुमारलाई मार्नुपर्छ भनी सल्लाह गरी म समेतका रामप्रसाद र शुरेसलाई समेत लगी प्रतेले लौराले प्रेमकुमारलाई हिर्कायो । काजीले पनि लौरोले शरीरको जत्रतत्र हिर्काई रहेको अवस्था प्रतेले ढुंगाले टाउकोमा पछाडि पट्टी हिर्कायो । प्रतेले हिर्का भनेपछि रामप्रसाद र शुरेसले लौरोले हिर्काए । मैले हेरी रहे । प्रेमकुमार लडेपछि प्रते र काजीले हिर्काई रहेको अवस्था म, शुरेस र रामप्रसाद भागी गयौं भन्ने समेत कुलबहादुर राईको प्रहरी समक्ष भएको बयान ।

७.    ०४२।८।८ गते बिहान प्रते भन्ने जयबहादुरले थापेको डाइसमा प्रेमकुमारले चुप्पीले रोपेपछि प्रते र प्रेमकुमारका बीच झगडा शुरु हुँदा प्रेमकुमारको भाइ लोकप्रसाद आई निजलाई लिई तल झरी चिम्रेम्पाको आँगनमा पुगी काजीलाई प्रेमकुमारले हान्न लाग्दा उम्की माथि पिङ भएको ठाउँमा पुगी प्रतेलाई भेटी प्रेमकुमारलाई मार्नु पर्छ भनी सल्लाह गरी तल झर्न लाग्दा कुलबहादुर, शुरेस र मलाई समेत जाउँ भनी कर गरी तल चिम्रेम्पाको आँगनमा पुगी प्रते र काजीले लौरोले प्रेमकुमारलाई कुटनासाथ लोकप्रसाद भागी गए । प्रतेले ढुंगाले प्रेमकुमारलाई कुट्न खोज्दै थियो कुन स्थानमा लाग्यो यकीन गर्न सकिन । प्रतेले हिर्का भनेकोले शुरेस र कुलबहादुरले पनि लौराले एक एक पटक हिर्काए । मैले हेरेर बसीरहें हिर्काइन । पछि शुरेस, कुलबहादुर र म सो स्थानबाट भागी गयौं भन्ने समेत प्रहरी समक्ष भएको रामप्रसाद राईको बयान ।

८.    ०४२।८।८ गते बिहान अं. ४ बजे माथि मेलाबाट झरेका प्रेमकुमार राई यहि आँगनमा रहेको अवस्था माथि पिङबाट पाँच जना जति व्यक्तिहरु आई हातमा लिएका घोचाहरुले कुट्दै थिए, प्रतेले ढुंगा टिपेको देखें हानेको चाहिं देखिन भन्ने धनमाया राई, म घरमा सुतीरहेकोमा हल्ला सुनी तलतिर झर्दा चिम्रेम्पा भन्ने लगनबहादुरको आँगन नजीकैको खोल्सामा प्रेमकुमार लडिरहेको, जाहेरीमा उल्लेखित पाँचैजना उभिरहेको, दुईजनाको हातमा लठ्ठी थियो, डेढघण्टा पछि प्रेमकुमारको प्राण गयो, कसको चोटबाट मर्‍यो थाहा छैन भन्ने बालध्वज राई, ०४२।८।८ गते बिहान अं. ४ बजेको समयमा रोटे पिङबाट तल झर्दा चिम्रेम्पाको आँगनमा प्रते समेतले प्रेमकुमारलाई लठ्ठीले हिर्काई रहेको देखें, प्रते बाहेक अरुलाई राम्ररी चिन्न सकिन भोलिपल्ट बुझ्दा प्रते, काजी, शुरेस र रामप्रसाद भन्ने बुझें भन्ने हर्कमाया राई, सोही व्यहोराको दुर्गाध्वज राई, इन्द्रबहादुर राई, वारदातको भोलिपल्ट बुझ्दा कुलबहादुरले काजी र प्रते मूल अपराधी, रामप्रसाद, शुरेस र म पनि वारदातमा सरिक छौ भनेको, शुरेसले र कुलबहादुरले एकलाठी हिर्काए भनेको, रामप्रसादले कुटिन भन्थ्यो भन्ने खड्गबहादुर राई, जाहेरीमा उल्लेखित व्यक्तिहरुले मृतकलाई कुटी मारेकोमा विश्वास लाग्छ भन्ने बमबहादुर राई, लोकबहादुर राई, भीमप्रसाद राई, सोभितमान राई, चामबहादुर राईको सरजमीन मुचुल्का ।

९.    म वारदात समयमा मर्ने प्रेमकुमारसंगै तल झर्दा जाहेरीमा उल्लेखित प्रतिवादीहरु हातमा लठ्ठी ढुंगा लिएर हामी भए ठाउँमा आउँदा मलाई एक लठ्ठी कसले हिर्काए पछि भागी गएँ । प्रेमकुमारलाई कुट्दै थियो भन्ने समेत जाहेरवालाको कागज ।

१०.    प्रतिवादी प्रते भन्ने जयबहादुर, काजी भन्ने लेखबहादुर, शुरेस, कुलबहादुर, रामप्रसाद समेतले ज्यान सम्बन्धीको १ नं. विरुद्ध कसूर गरेको प्रष्ट देखिएकोले प्रतिवादी मध्ये प्रते भन्ने जयबहादुर, काजि भन्ने लेखबहादुर, शुरेस, कुलबहादुर समेत जना ४ लाई ज्यान सम्बन्धीको १३(३) बमोजिम र प्रतिवादी रामप्रसाद राईलाई ऐ.को १७(३) नं. अनुसार सजायँ हुन र फरार रहेका प्रते भन्ने जयबहादुर राई, काजी भन्ने लेखबहादुर राईलाई वारेण्ट तथा म्याद जारी गरी कारबाही सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

११.    ०४२।८।८ गते बिहान अं. ४ बजे मृतक प्रेमकुमारलाई प्रते भन्ने जयबहादुर राई र काजी भन्ने लेखबहादुरले पातलेको घोचाले टाउकोमा हिर्काएको देखेको मात्र हुँ, मैले र रामप्रसाद र शुरेसले कुटेको होइन, शुरेस र रामप्रसादको हातमा पनि लाठी भएको हुँदा हिर्काएका होलान भनी प्रहरीमा बयान लेखाएको हो । मलाई प्रतेले जबरजस्ती लगेको हो, मैले मारेको होइन भन्ने समेत प्रतिवादी कुलबहादुर राईले अदालतमा गरेको बयान ।

१२.   म कुलबहादुर र शुरेस राइलाई प्रतेले हिंड भनी मुन्ट्याउँदा गएको चिम्रेम्पाको घर छेउ आँगनमा पुगेपछि प्रतेले मुठिभरको पातलेको लौराले प्रेमकुमारलाई टाउकाका पछाडि पट्टि हिर्काउँदा लडेपछि काजी र प्रतेले हिर्काएका हुन्, म पनि त्यहीं थिएँ । मैले हिर्काइन कुलबहादुरको हातमा लठ्ठी थियो, निजले हिर्काए हिर्काएनन् थाहा भएन, शुरेसलाई प्रतेले हातमा लठ्ठी दिएपछि शुरेसले १ पटक हिर्काएको हो । मृतक प्रते र काजीको कुटाइको चोट तासिरबाट मरेका हुन् भन्ने समेत प्रतिवादी रामप्रसाद राइले अदालतमा गरेको बयान ।

१३.   मर्ने प्रेमकुमार राइलाई वासथला डाँडामा भएको रोटेपिङमा प्रतेले थापेको डाइसमा हामी पनि खेल्न पाइन्छ भनी आफूले भिरेको चुप्पी गाडेको निहुँबाट झगडा शुरु भयो, प्रेमकुमारलाई निजको भाई लोकप्रसादले जाउँ भनी चिम्रेम्पाको घरतर्फ गएको, त्यहाँ काजी भन्ने लेखबहादुरलाई भेटेपछि काट्छु भन्दै प्रेमकुमारले चुप्पी निकालेपछि काजी रोटेपिङ तिर कराउँदै आयो । त्यहाँ म, कुलबहादुर र रामप्रसाद समेतलाई प्रतेले जाउँ भन्यो हामीले नमान्दा हामी समेतलाई घोक्रयाउँदै मुन्ट्याउँदै लग्यो पहिला प्रतेले लौराले मृतकलाई टाउकोमा हिर्काएपछि काजीले हिर्कायो प्रतेले आफ्नो हातमा भएको लाठ्ठी मलाई दिई मैले एक पटक हिर्काए पछाडि कोटमा लाग्यो, त्यसपछि मेरो हातमा भएको लठ्ठी प्रतेले खोसी फेरि कुटेको हो, रामप्रसाद र कुलबहादुरले कुटे नकुटेको देखिन, प्रेमकुमार राई प्रते र काजीको कुटाइएको चोटबाट मरेका हुन् भन्ने समेत प्रतिवादी सूर्य भन्ने शुरेसबहादुर राइले अदालतमा गरेको बयान ।

१४.   प्रतिवादीका साक्षीहरु, जाहेरवाला तथा सरजमीनका मानिसहरुको बकपत्र भई मिसिल सामेल रहेको ।

१५.   प्रतिवादी काजी भन्ने लेखबहादुर राई प्रते भन्ने जयबहादुर राइको नाउँको वारेण्ट सहितको म्यादी पूर्जीको म्याद भित्र निजहरु हाजिर नभई गुजारी बसेकोले निजहरु हाजिर भए वा पक्राउ परी आएका बखत कारबाही गर्ने गरी निजहरुको हकमा अ.बं. १९० नं. अनुसार मुलतवीमा राखी दिने । प्रतिवादी सुरेशबहादुर समेतले हिर्काएको चोटबाट मृत्यु भएको देखिँदा ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैद हुन्छ । प्रतिवादी कुलबहादुर राई र रामप्रसाद राई ज्यान सम्बन्धीको १७(३) अनुसार कैद महीना ६ का दरले कैद हुने ठहर्छ भन्ने समेत संखुवासभा जिल्ला अदालतको मिति २०४४।३।१५ गतेको फैसला ।

१६.    मृतक प्रेमकुमारलाई प्र.कुलबहादुर समेत भई कुटपीट गरेको हो भनी किटानी जाहेरी, अदालतमा बकपत्र रामप्रसादले बयान गर्दा कुटपीट गरेको भनी बयान गरेकोले ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ हुनु पर्ने भन्ने समेत कोशी अञ्चल अदालतमा परेको श्री ५ को सरकारको पुनरावेदनपत्र ।

१७.   ज्यान सम्बन्धीको १३(३) ले सजायँ गरेबाट मर्का पर्न गयो भन्ने समेत कोशी अञ्चल अदालतमा परेको प्रतिवादी शुरेसबहादुर राईको पुनरावेदनपत्र ।

१८.   शुरु जिल्ला अदालतको फैसला मिलेको देखिँदा शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने कोशी अञ्चल अदालतको फैसला ।

१९.    प्रतिवादी कुलबहादुर राईलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

२०.   शुरु जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको कोशी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी सुरेशबहादुर राइको पू.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

२१.   शुरु फैसला सदर गर्ने गरेको कोशी अञ्चल अदालतको फैसला मिलेको देखिँदा मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ. को फैसला ।

२२.   मलाई प्रतेले तैंले पनि कुट भनी लाठी मेरो हातमा दिन लाग्दा मैले नमान्दा धम्की दिन लागेकोले एकपटक पछाडि हान्दा कोटमा लागेको कुरा मैले स्वीकारी आएको, यस स्थितिमा ज्यान सम्बन्धीको १३(३) नं. लाग्ने होइन ओरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी सुरेशबहादुर राईको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी शुरेसबहादुर राइको तर्फबाट उपस्थित वैतनिक अधिवक्ता श्री मातृकाप्रसाद निरौलाको बहस समेत सुनी पुनरावेदक प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गर्ने गरेको शुरु संखुवासभा जिल्ला अदालतले गरेको निर्णय सदर गरेको कोशी अंचल अदालतको फैसला मनासिब ठहर्‍याएको पू.क्षे.अ. को फैसला मिलेको छ छैन सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।

२४.   निर्णयतर्फ हेर्दा मृतक प्रेमकुमार राइलाई पुनरावेदक प्रतिवादी शुरेसबहादुर राई समेत भई कुटपीट गरी मारेको अभियोगमा निज पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ भई आएको पाइन्छ । मृतकलाई कर्तव्य गरी मारेको वारदातमा पुनरावेदक प्रतिवादीको संलग्नता थियो वा थिएन भन्ने सम्बन्धमा हेर्दा मृतक प्रेमकुमार राईलाई प्रते भन्ने जयबहादुर राई, काजीबहादुर राई, कुलबहादुर राई, शुरेसबहादुर राई, रामप्रसाद राई समेतले कुटपिट गरी मारेको भनी किटानी जाहेरी दर्खास्त परेको र जाहेरवालाले अदालतमा समेत पुनरावेदक प्रतिवादी समेत लठ्ठी लिई घटनास्थलमा आएको भनी बकपत्र गरी दिएको छ । पुनरावेदक प्रतिवादी शुरेशबहादुर राई स्वयंले प्रहरी समक्ष र अदालतमा समेत मृतक प्रेमकुमारलाई प्रते र काजीले पहिला हिर्कायो, त्यसपछि प्रतेले लठ्ठीले हान कि हान भनेको हुनाले पछाडि एक चोटी हिर्काएको भनी कुटेमा सावित भएको देखिन्छ । मृतकलाई मार्ने मनसाय थिएन, प्रतेले धम्की दिएको हुनाले लठ्ठीले एकचोटी मात्र हिर्काइएको हो भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा हेर्दा मृतक प्रेमकुमार राईको मृत्यु कुटपिटबाट अधिक मात्रामा रगत बग्न गई सोही कारणबाट भएको भन्ने कुरामा यहाँ विवाद देखिएन । मृतकलाई कुटेको सम्बन्धमा पुनरावेदक प्रतिवादी शुरेशबहादुर राई स्वयं पनि सावित नै देखिन्छ मृतकको मृत्यु को कसको कुटाईको चोटपिरबाट भएको भन्ने यकीन हुनसकेको छैन । कुटपिट गर्ने क्रियामा संलन भएको र कुटपिटबाट मृतकको मृत्यु भएको तथ्यमा विवाद उत्पन्न नभएको प्रस्तुत मुद्दाको सन्दर्भमा मार्ने मनसाय नभएको हुँदा जन्मकैदको सजायँ चर्को भयो भन्ने पुनरावेदन जिकिरलाई विचार गर्दा पुनरावेदक प्रतिवादी समेत प्रेमकुमारलाई मार्ने उद्देश्यले नै तल झारेको देखिन्छ प्रते र काजीले प्रेमकुमारलाई मार्नुपर्छ भनी प्रतिवादी सुरेसबहादुर राईलाई समेत लिई आएकोमा प्रतिवादी सावित नै छन् । मार्ने उद्देश्यले आएका प्रतिवादीहरुको साथ लागी घटनास्थलमा उपस्थित भई वारदातमा संलग्न भएको प्रष्ट देखिएको स्थितिमा मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णय सदर गरेको अञ्चल अदालतको निर्णय मनासिब ठहर्‍याएको पू.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदन रोहबाट मुद्दामा निर्णय भएको हुँदा साधकको लगत कट्टा गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

इतिसम्वत् २०४९ साल ज्येष्ठ २८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु