शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१४४ - कर्तव्यज्यान ।

भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक:

निर्णय नं. ६१४४                                   ने.का.. २०५३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

सम्वत २०५२ सालको फौ.पु.नं. ११२६

सा.नं. २३६

फैसला मिति २०५३।२।२८

 

मुद्दाः कर्तव्य ज्यान

 

पुनरावेदक-             जिल्ला ओखलढुंगा पोखरे गा.वि.. वडा नं. ३ घर भै हाल जि.प्र.का.       कारागार शाखा ओखलढुंगामा     प्रतिवादी         थुनामा रहेको कुल प्रसाद घिमिरे

विरुद्ध

       विपक्षी-    

        वादी             भवनाथ घिमिरेको जाहेरीले श्री ५ को सरकार

        वादी            भवनाथ घिमिरेको जाहेरीले श्री ५ को सरकार          

विरुद्ध

       विपक्षी            कुलप्रसाद घिमिरे

पुनरावेदक प्रतिवादी कुल प्रसाद घिमिरेले मृतक मंगलादेवीलाई घाँटी अठ्याई मारी बाच्छिनकी भनी चक्कु समेत रेटी मारेको अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित देखिन्छ । उक्त साविती स्वेच्छाले होइन भन्नु पर्ने कुनै कारण पनि देखिँदैन । ज्यान मार्न आत्मबल बढाउन एक बोतल रक्सी खाई शिशी फालेको हुँ भनी बयान गरेको र प्रयोगमा ल्याईएको चक्कु समेत निजले भनेको ठाउँबाट बरामद भएको र पोष्ट मार्टम रिपोर्टबाट समेत घाँटीको ठूलो Uessls समेत Cut throat बाट मरेको भनी लेखी दिएको देखिन्छ । मृतकसँग पुनरावेदक प्रतिवादी कुल प्रसादको कुनै व्यक्तिगत रिसइवी नभएपनि मित नारद गिरीलाई सहयोग गर्न मृतक मंगलादेवीको भौतिक अस्तित्व नै मेटाई दिने मनसाय देखिन्छ । अदालतमा भएको साविती, बरामद भएको चक्कु र पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भएकोले निज कुल प्रसाद शंका रहित तवरले कसूरदार देखिन आएकोले निजको पुनरावेदन जिकिर पुग्न नसक्ने

( प्र.नं. २९)

पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री भोजेन्द्र बहादुर खाती

विपक्षी तर्फबाटः

अबलम्बित नजीरः ×

फैसला

न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः-

. नेचा बतासे गा.वि.. वडा नं. ३ मा पर्ने झाझरे भन्ने जंगलभित्र अनचिनार १ जना महिलाको लास फेला परेको भनी लास धनराईले यस चौकीमा २०४७।६।३० गते मौखिक खबर गरेकोले आवश्यक कारवाही हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी चौकी नेचाको पत्र ।

. जिल्ला सोलु नेचा बतासे गा.वि.. बस्ने धर्मानन्दको छोरा जुठे खनाललाई २०२५ सालमा विवाह गरी दिएको निजबाट १ छोरा जन्मिएको छ । जुठे खनालले ०३१ सालमा अर्को विवाह गरी छोडी दिएकोले मेरी छोरी मेरै घर ओखलढुंगा जिल्ला पोखरे गा.वि.. वडा नं. ५ मा बसेकी थिई । २०४७।६।२७ गते नेचामा भएको बहिनीसँग भेट गर्न जान्छु भनी बहिनीको घर तर्फ आएकी निजलाई कुन मितिमा कसले मारे सो कुरा थाहा भएन, २०४७।६।३१ गते लुगा कपडा किन्न खानी भञ्ज्याङ्ग बुधबारे हटियामा आइरहेको अवस्थामा बाटोमा मैले नचिनेका मानिसहरु आई रहेको अवस्थामा बाटोमा मैले नचिनेका मानिसहरु आईरहेको रहेछन् ।  निजहरुले भनेको हुलिया अनुसार मेरी छोरी होकी भनी घटनास्थलमा गै हेर्दा सो बमोजिम मेरी छोरी बर्ष ३६ की मंगलादेवी खनाल मरी रहेको देखि चिनी जाहेरी गर्न आएको छु । मृतक छोरीलाई कर्तव्य गरी मारे मराएमा शंका लाग्छ भन्ने समेत व्यहोराको भवनाथ घिमिरेको जाहेरी दरखास्त ।

. उत्तर खुट्टा दक्षिण टाउको भै कम्मर देखि मुनी खुट्टा तर्फ पुरै नाङ्गो कम्मर देखि माथि टाउकै सम्म रातो सेतो बुट्टे पछ्‍यौराले मुख समेत छोपिएको, सो कपडा झिकी हेर्दा आँखा दुवै बन्द रहेको । नाकको दुवै प्वालबाट रगत बगेको, जिव्रो बाहिर निक्ली अगाडिको दाँतले टोकेको, छातीको अगाडि पट्टीबाट दुवै पट्टी कानसम्म काटिएको भन्ने समेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।

. The Cause of Death most probably is due to shock from haemorage caused by injury to the big uessel in the neck. The cut throat most probably is homicidal भन्ने समेत व्यहोराको पोष्टमार्टम   रिपोर्ट ।

. नारद गिरी मेरो मित हुन् । मंगलादेवीसँग नारद गिरीको अनुचित सम्बन्धबाट गर्भ रहन गएको रहेछ । ३६।३७ बर्षको आइमाई र २०।२१ बर्षको केटाको अनुचित सम्बन्ध हुँदा मितज्युलाई सामाजिक असर पर्छ भनी विदेश भागी जान समेत नमानेकोले अस्पताल जाने भनी नेचाको जंगलमा पुगी पछाडिबाट पहिले घाँटी समाती पछिबाट आफुसँग भएको चक्कुले घाँटी काटी मारी मित नारद गिरीको सल्लाह अनुसार मैले फाली दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी कुल प्रसाद घिमिरेले प्रहरीमा गरेको बयान ।

. २०४७ साल श्रावण २।४ दिन बाँकी हुँदा पदमलालको छोरा काले भन्ने नारद गिरीले हातपात गरी करणी गरेको थियो, सोही दिन देखि गर्भ रहेछ, अब के गर्नु भनी छोरीले भनेकी थिई, निजलाई कसले मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको मृतककी आमा देवीमाया घिमिरेले प्रहरीमा गरेको ठाडो कागज ।

. प्रतिवादी कुल प्रसाद घिमिरेले रक्सी खाई फ्यालेको १ फुल लम्बाई ८ गोलाई भएको भित्र रक्सीको गन्ध आउने बिर्को नभएको बोतल बरामद भएको बरामदी मुचुल्का ।

. २०४७ साल श्रावणमा नारद गिरीसँग अनुचित सम्बन्ध भै गर्भ रहेका कारणले मित कुल प्रसाद घिमिरेले घटनास्थलमा ल्याई मारेका रहेछन् भन्ने कुरा निज कुल प्रसादको भनाईबाट थाहा भयो भन्ने समेत व्यहोराको कृष्णप्रसाद घिमिरेको प्रहरीमा भएको ठाडो कागज ।

१०. २०४७।२।२७ गते कुईभिर चौतारो भन्ने स्थानमा मैले नचिनेको अन्दाजी ३५।३६ बर्षकी महिलालाई भेटेको थिएँ, कहाँ जाने भन्दा नेचा तर्फ हिडेकी भनिन्, पछि लास हेर्दा मैले चौतारोमा भेटेकै महिला मरेको रहिछन् । निज मृतकलाई यीनै पक्राउ परेका कुल प्रसादले मारेको हुनु पर्छ भन्ने समेत व्यहोराको राजन घिमिरेले प्रहरीमा गरेको ठाडो कागज ।

११. आश्विन १६,१७ गते मृतकले मेरो घरमा आइ पेट पोलेको औषधी माग्दा चामल भिजाई चौलानी खान दिएँ,  आश्विनको पहिलो हप्तातिर नारद गिरीले मृतकको गर्भ जान्छ भन्ने बिचारले कुभिण्डो खान दिएको पनि मेरै घरमा हो, यसकारणले गर्दा नारद गिरीको सल्लाहमा कुल प्रसाद घिमिरेले मारेको हुनु पर्छ भन्ने समेत व्यहोराको हर्क लक्ष्मी श्रेष्ठको प्रहरीमा भएको ठाडो कागज ।

१२. मिति २०४७।६।२७ गते शनिवार बेलुका अन्दाजी ६:३० बजे मितसँग भेट्नु छ साथी जाउँ भनेकोले म पनि निजको साथमा गएको थिएँ,  हामी कुल प्रसादको घरमा पुग्दा उनी घरमा थिएनन् । कता गए भन्दा निजकी आमा उभो जान्छु भन्थ्यो भनिन् । केहीछिन पछि कुल प्रसाद आईपुगेपछि कुल प्रसाद र नारद गिरी घरमुनी गएर एकान्तमा कुरो गरे, अहिले बुझ्दा मृतकलाई कुल प्रसादले नारद गिरीको सल्लाहमा घटनास्थलमा ल्याई मारेको रहेछ भन्ने समेत व्यहोराको घनश्याम श्रेष्ठले जि.प्र.का मा गरेको ठाडो कागज ।

१३. प्रतिवादी कुल प्रसादले मृतकको घाँटी काट्न प्रयोग गरेको कवर समेत फलामको भएको चक्कु निजको घर कोठाको बाकसबाट बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

१४. २०४७।६।२७ गते शनिवारको दिन बिहान ७ बजेको समयमा छोरो कुल प्रसाद छाता लिएर हिड्न लाग्दा नानी कहाँ जान्छस् भनी सोध्दा म कार्की गाउँ जान्छु भनी हिँडेको थियो । बेलुका ७ बजेसम्म पनि आएको थिएन । नारद गिरी र घनश्याम श्रेष्ठ बाहिर खाटमा बसेका थिए । सोही समयमा छोरा कुल प्रसाद आयो र नारद गिरी र छोरा घर पछाडी गै करिव आधा घण्टा जति कुरा गरे । घनश्याम बाहिर खाटमा नै बसेको थियो भन्ने समेत व्यहोराको प्रतिवादी कुल प्रसादकी आमा पिङ्गलादेवी घिमिरेले प्रहरीमा गरेको ठाडो कागज  ।

१५. मृतक मंगलादेवीले छोरा नारद गिरीको गर्भ २०४७ श्रावण देखि धारण गरेकी रहिछन् । सोही कारणबाट कर्तव्य गरी मारेको मराएको । यसमा मेरो छोरा नारद गिरीको सल्लाह छ भन्ने समेत व्यहोराको प्रतिवादी नारद गिरीको बाबु पदमलाल गिरीको प्रहरीमा गरेको ठाडो कागज ।

१६. मंगलादेवीले नारद गिरीको गर्भ धारण गरेकी रहिछन्, सोही कारणले गर्दा मृतकलाई नारद गिरीको मित  कुल प्रसाद घिमिरेले घटनास्थलमा ल्याई मारेकोले विश्वास लाग्छ भन्ने समेत व्यहोराको कुलदिप गिरीको प्रहरीमा भएको ठाडो कागज ।

१७. मृतक मंगलादेवीले नारद गिरीको गर्भ बोकेको र सो गर्भ पतन गराउन नमानेको कारण मारेको हुनुपर्छ, मृतक मंगलादेवीलाई मार्नेमा कुल प्रसाद र नारद गिरी माथि शंका लाग्छ भन्ने समेत व्यहोराको ठहरी प्रसाद घिमिरे सहितका व्यक्तिहरुले लेखाई दिएको करिब एकै मिलानको जना १५ को सर्जिमन मुचुल्का ।

१८. २०४७ साल श्रावण ८।९ गते कुन दिन हो अन्दाजी ३ बजे बिहान मंगलादेवी बाहिर म सुतेको खाटमा मेरो खुट्टा मुनी बसिन् । कता हिँडेको भन्दा खेताला खोज्न हिँडेको भनिन् । भित्र जाउन आमालाई बोलाई वातमार भनी म पिसाव फेर्न गएँ, म आउँदा मेरै ओछ्यानमा सुतेकी रहिछन् । भित्र जान नमानेकीले करणी लिनु दिनु भयो ।  त्यसपछि दशै जाने पुर्णिमाको २ दिन अगाडि पधेरामा म नुहाएको ठाउँमा आइ त्यस दिनको सम्बन्धले गर्भ रहेको कुरा बताईन् । विदेश जाउँ भन्दा मानिनन् र म विदेश गए मेरै दैलामा झुण्डिएर मर्ने कुरा गरिन् । त्यसपछि मित कुल प्रसादसँग मंगलादेवीसँग करणी लिनु दिनु भएको र भाग्न नमानेको कुरा बताए, वहाँको सल्लाह अनुसार हस्पिटल जान मंगलादेवीले स्वीकारेकीले नेचाको जंगलमा मार्ने सल्लाह भयो । म त्यस दिन बुइपा (दिक्तेल) जानु पर्ने भएकोले मित कुल प्रसादले मेरै सल्लाह अनुसार नेचाको जंगलमा लगी मारेको कुरा सोही दिन बेलुका निजका घरमा गएर मैले बुझे भन्ने समेत व्यहोराको प्रतिवादी नारद गिरीले प्रहरीमा गरेको बयान कागज ।

१९. नारद गिरीले मंगलादेवी खनाललाई २०४७ साल श्रावण महिनामा गर्भ बोकाएको रहेछ, सोही गर्भको कारणबाट निजकै मित कुलप्रसाद घिमिरेले २०४७।६।२७ गते घटनास्थलमा ल्याई कर्तव्य गरी मारेको भन्ने थाहा हुन आयो, अरु मलाई थाहा छैन भन्ने समेत व्यहोराको सर्जमिनका दफा १४ का व्यक्तिले शंका गरेको घनश्याम घिमिरेले प्रहरीमा गरेको बयान ।

२०. अभियुक्तहरुको साविती बयान, बोतल तथा चक्कु बरामदी मुचुल्का जाहेरी दरखास्त, लास प्रकृति पोष्ट मार्टम रिपोर्ट, ठाडो बुझिएका व्यक्तिहरुको कागज तजा सर्जमिन मुचुल्का समेतका प्रमाणबाट प्रतिवादीहरुले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३() अन्तर्गत पारी अपराध गरेको देखिँदा प्रतिवादी कुलप्रसाद घिमिरेलाई ऐ. ऐनको १३() बमोजिम र नारद गिरीलाई ऐ. ऐनको १६ नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

२१. मेरो मित नारद गिरीले मंगलादेवीलाई गर्भ धारण गराउनु भएछ, सो कुरा निजले २ महिना पछि मलाई भन्नु  भयो । अब के गर्ने भनी हामी दुई बीच सल्लाह हुँदा फाल्न लैजाने भनी लगी बाटोमा पर्ने नेचाको जंगलमा मार्ने सल्लाह भयो ।  साथी नारद गिरी झनकलालको बुहारी खोज्न बुइपा तर्फ जानु भयो र शनिवार बिहान म भिरको चौतारोमा पुगेर बसें । कसैले देख्लान भनेर केही क्षण जंगलमा लुके, एकक्षण पछि मंगलादेवी आएर चौतारोमा बसिन् म जंगलबाट निस्किएर कहाँ हिडेकी दिदी भनेर सोधें । बहिनीको घरमा हिडेकी भनिन् । मलाई सब थाहा छ  साथीले भनेको नढाँट भन्दा साथी खोई त ? भनी सोधिन । अगाडि गइ सकेका छन् भनी मैले भनेपछि उनी अघि म पछि हिड्यौं । चिसापानी नेर आएपछि सानो जंगलमा बसेर मैले साथमा ल्याएको रक्सी खाएर हिँडे, म मात्तिएर तेर्सोमा मंगलादेवीलाई भेटें । मैले मंगलादेवीको घाँटीमा समाएर लडाई देब्रे कुईनाले छात्तिमा थिची दाहिने हातले घाँटीमा अठ्याई मारें । मारेपछि अलि तलतिर लगेर लडाई दिए । लडाई सकेपछि बाँचेर आउँछिन् कि जस्तो लागेर यही देखाईएको चक्कु मेरै साथमा थियो, सोही चक्कुले २ चोटी घाँटीमा रेटेर मंगलादेवीलाई मारेको हो, मार्नेमा अरुको सहमती छैन, साथी नारद गिरीले भनेकोले मैले मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी कुल प्रसाद घिमिरेले अदालतमा गरेको बयान ।

२२. २०४७ साल श्रावण ८।९ गते कता हो बिहान ३:३० बजे  म मेरो घरको बाहिर दलानमा रहेको खाटमा सुतेको ठाउँमा आइ हात समाई उठाई कता हिँडेकी भन्दा खेताला खोज्न हिडेकी भनिन् । भित्र गएर बस भनी म पिसाव फेर्न गएँ,  आउँदा मंगलादेवी मेरै ओछ्यानमा सुतेकी रहिछन् । भित्र जाउ भन्दा नमानी एकै छिन यहि सुत्छु भनिन् । म खाटको भित्ता पट्टि सुते ।  मंगलादेवीले मेरो पाखुरा तानेको तानेई गरेपछि करणी लिनु दिनु भयो । त्यसकारणबाट मंगलादेवीको गर्भ रहेछ । विदेश भागेर जाउँ भन्दा नमानी तिम्रो घरमा तिम्रो नाम लिई झुण्डिई मर्छु भनेकीले मित कुल प्रसाद घिमिरेसँग सल्लाह गरी मंगलादेवीलाई फाप्लु अस्पताल जाने भनी फकाई हाम्रो सल्लाह अनुसार मंगलादेवीलाई नेचाको जंगलमा ल्याई मित कुल प्रसाद घिमिरेले मार्नु मराउनु गरेको हो । मार्ने मराउनेमा हामी २ जना बाहेक अरु कसैको सहमत छैन भन्ने समेत व्यहोराको प्रतिवादी नारद गिरीले अदालतमा गरेको बयान ।

२३. मृतक मंगलादेवीलाई प्रतिवादी नारद गिरी र प्रतिवादी कुल प्रसादको मत सल्लाह षडयन्त्रबाट प्रतिवादी कुल प्रसाद घिमिरेले कर्तव्य गरी मारेको ठहर्छ । कुल प्रसाद एक्लै सुरिएर मार्ने कार्यमा संलग्न हुनुका साथै रक्सी खाई आत्मबल बढाई घाँटी अठ्याई थिची मरी भनी तल भिरमा लगी राखी पुनः बिउँतिन्छे की भनी चक्कुले घिक्रो काटी मारेको देखिँदा ज्यान सम्बन्धी महलको १३() १ नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी नादर गिरीको हकमा विचार गर्दा मृतकलाई गाउँ छाडी भागौ भन्दा नमानेकी तेरै दैलामा झुण्डी मर्छु भनेकी भन्ने समेत खुलेको तथा वारदात हुने दिन समेत आफु अन्यत्र लागेको देखिएको छ । त्यसैले उपरोक्त सम्पूर्ण कुरालाई विचार गर्दा निजलाई ज्यान सम्बन्धी महलको १६ नं. बमोजिम १० बर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको सोलुखुम्बु जिल्ला अदालतको मिति २०४९।३।२९ को जाहेरी फैसला।

२४. सोलुखुम्बु जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेनमंगलादेवीले नारद गिरीसँगको अनैतिक सम्बन्धबाट गर्भ धारण गरेको भन्ने कुनै तथ्ययुक्त प्रमाण वादीबाट पेश भएको छैन । गर्भ धारण गर्दैमा मार्नु पर्ने कारण छैन । प्रतिवादीहरु माथि लगाईएको आरोप शंका रहित ठोस र स्वतन्त्र रुपले पुष्टि नभएसम्म दोषी ठहराउन मिल्दैन । उपरोक्त कारण र प्रमाण समेतबाट हामीहरुले आरोपित कसूरबाट मुक्ति पाउनु पर्नेमा दोषी ठहराएको फैसला नमिलेको हुँदा बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने व्यहोराको प्रतिवादीहरुको कारागार मार्फत पुनरावेदन अदालत राजविराज सप्तरीमा परेको पुनरावेदन पत्र ।

२५. प्रतिवादी कुल प्रसादले अलिपर एकान्त जंगलमा लगी षडयन्त्र मिलाई नेचाको जंगलमा लगी प्रतिवादी कुलप्रसाद घिमिरेले प्रतिवादी नारदको षडयन्त्र बमोजिम मंगलादेवीलाई कर्तव्य गरी मारेको देखिँदा निज कुल प्रसाद घिमिरेलाई ज्यान सम्बन्धीको १३() बमोजिम सर्वश्व सहित जन्म कैद र प्रतिवादी नारद गिरीले ज्यान मार्ने षडयन्त्र गरी ज्यान मारेको हुँदा ऐ. को १६ नं. बमोजिम १० बर्ष कैदको सजाय गरेको सोलुखुम्बु जिल्ला अदालतको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने पुनरावेदन  अदालत राजविराजको फैसला ।

२६. सो फैसला कानूनी त्रुटिपुर्ण र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएकोले पुनरावेदन अदालतको फैसला बदर गरी वादी पक्षको आरोपबाट सफाई पाउँ भन्ने समेत यस अदालतमा दर्ता भएको पुनरावेदन पत्र ।

२७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भोजेन्द्र बहादुर खत्रीले मुल मानिस नारद गिरी हुन् । उनलाई कम सजाय र मेरो पक्षलाई बढी सजाय गरेको नमिलेको हुँदा हाल विपक्षी झिकाईयोस भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु   भयो ।

२८. पुनरावेदन अदालत, राजविराजको इन्साफ मिलेको छ छैन  ? सो को निर्णय दिनु पर्ने हुन आयो ।

२९. यसमा प्रतिवादी कुल प्रसादको पुनरावेदन परेको साधकको लगत कट्टा गरी दिनु र पुनरावेदनको रोहबाट निर्णय तर्फ बिचार गर्दा, पुनरावेदक प्रतिवादी  कुल प्रसाद घिमिरेले मृतक मंगलादेवीलाई घाँटी अठ्याई मारी बाच्छिन्की भनी चक्कु समेतले रेटी मारेकोमा अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित देखिन्छ । उक्त साविती स्वेच्छाले होइन भन्नु पर्ने कुनै कारण पनि देखिँदैन । ज्यान मार्ने आत्मवल बढाउन एक बोतल रक्सी खाई शिशी फालेको हुँ भनी बयान गरेको र प्रयोगमा ल्याईएको चक्कु समेत निजले भनेको ठाउबाट बरामद भएको र पोष्टमार्टम रिपोर्टबाट समेत घाँटीको ठूलो Vessels समेत Cut throat बाट मरेको भनी लेखि दिएको देखिन्छ । मृतकसँग पुनरावेदक प्रतिवादी कुल प्रसादको कुनै व्यक्तिगत रिसइवी नभएपनि मित नारद गिरीलाई सहयोग गर्न मृतक मंगलादेवीको भौतिक अस्तित्व नै मेटाई दिने मनसाय देखिन्छ ।  अदालतमा भएको साविती, बरामद भएको चक्कु र पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भएकोले निज कुल प्रसाद शंका रहित तवरले कसूरदार देखिन आएकोले निजको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान सम्बन्धीको १३() नं. बमोझिम सर्वश्व सहित जन्मकैदको सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, राजविराजको इन्साफ मुनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

न्या. गोविन्द बहादुर श्रेष्ठ

इति सम्बत् २०५३ साल जेष्ठ २८ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु