निर्णय नं. ४५०५ - कीर्ते

निर्णय नं. ४५०५ ने.का.प. २०४९ (क) अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४५ सालको फौ.पु.नं. ३९२
फैसला भएको मिति २०४९।१।२१।१ मा
पुनरावेदक/प्रतिवादी: भद्रपुर न.पं. वा.नं. ११ बस्ने नारायणप्रसाद न्यौपानेसमेत
विरुद्ध
विपक्षी/वादी: धरान न.पं. वा.नं. ५ बस्ने धनबहादुर राईसमेत
मुद्दा : कीर्ते
(१) कागजातहरु कुनै व्यक्तिसंग हुँदैमा उही व्यक्ति नै वास्तविक धनी हो भनी किटान गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
(२) नाबालकको नाउँमा जग्गाको चलन पूर्जी हुनु गैरकानुनी हुन्छ भन्न नसकिने र अभिभावक नराखिंदैमा कानुनी मान्यता विहीन हुन्छ भन्न नसकिने ।
(प्रकरण नं. १४)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ
१. पू.क्षे.अ. को इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।
२. म फिरादी धनबहादुरले मालपोत बाँकीमा सकारी ०२०।१।१५ को चलनी पूर्जी बमोजिम हक भोग भई सर्भेमा कि.नं. २५७ को ४–१५–० मेरा नाउँमा कायम भएको जग्गा रु. ४८०००।– मा फिरादी नरेश थापालाई ०४०।९।२१ मा र.नं. ७६६ मा पारीत गरी दिएकोमा विपक्षीहरुले अर्कै कीर्ते धनबहादुर भन्ने व्यक्ति खडा गरी उक्त जग्गा मध्ये ४–१०–० जग्गा रु. ४५०००।– थैली राखी मोरंग मालबाट र.नं. १८३१ मिति ०४०।९।७ मा पास गरी लिनु दिनु गरेछन् । म धनबहादुरको बिक्री गर्न पाउने हक मेट्न म नरेशकुमारको धन नोक्सान पार्न विपक्षीहरुले कीर्ते कागजको १ नं. को अपराध गरेको हुँदा नाम नबुझिने सनाखत साक्षी समेत विपक्षीबाटै नाम खुलाई सबै विपक्षीहरुलाई कीर्ते कागजका ७ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत फिरादपत्र ।
३. म समेतले म सद्दे साँचो धनबहादुरबाट जग्गा राजीनामा गराई लिएको हुँदा विपक्षीहरु उपर दोहोरो लेखत बदर र जालसाज समेतमा फेराद दायर भइसकेकोले एकै विषयलाई लिई दायर गरेको फिराद अ.बं. ८३ नं. ले वातेल गरिपाउँ भन्ने समेत प्र.नारायणप्रसाद न्यौपानेको प्रतिउत्तरपत्र ।
४. सर्भेमा मेरा नाउँमा दर्ता भएको मेरो स्वामित्वको जि.झापा धुलाबारी गा.पं. वार्ड नं. ९ कि.नं. २५७ को ४–१५–० जग्गा मध्ये ४–१०–० मिति ०४०।९।७ मा इन्द्रबहादुर गुरुङ भवानीप्रसाद ढकाल, राजेन्द्रप्रसाद पोखरेल, नारायणप्रसाद न्यौपाने समेतलाई राजीनामा पास गरिदिएको छु । लिनेहरुले दा.खा. गर्न नपाउँदै विपक्षी धनबहादुरलाई मेरो नाउँको कीर्ते खडा गरी विपक्षी नरेशकुमारले ०४०।९।२१ मा कीर्ते गरी राजीनामा पास गराई लिएछन् । कीर्ते जालसाज र लेखत दर्ता बदरमा निजहरु उपर फिराद गरेको छु । वादी दावी झुठ्ठा हो भन्ने समेत प्र.धनबहादुर राईको प्रतिउत्तरपत्र ।
५. हामीहरुले कीर्ते धनबहादुरबाट राजीनामा गराई लिएको होइन, सद्दे धनबहादुरबाट राजीनामा गराई लिएकोमा विपक्षीहरुले कीर्ते गरी लिनु दिनु गरेको हुँदा दोहोरो लेखत दर्ता बदर र जालसाज समेतमा फिराद दायर भई कारवाही भइरहेको हुँदा यिनै विषयको कुरालाई लिई मुद्दा अ.बं. ८९ नं. ले चल्न नसक्ने हुँदा वातेल गरिपाउँ भन्ने समेत प्र.इन्द्रबहादुर गुरुङ, भवानीप्रसाद ढकाल, रोजन्द्रप्रसाद पोखरेल समेतको संयुक्त प्रतिउत्तरपत्र ।
६. सबूद प्रमाणबाट वादी धनबहादुर नै खास जग्गा धनी देखिँदा हकै नपुग्ने व्यक्ति उमेर र बाबु तथा बाजेको नाम समेत फरक भएको प्र.धनबहादुर राईबाट ०४०।९।७ मा पास गरी लिनु दिनु गरेको कीर्ते अपराध गरेको देखिँदा प्रतिवादीहरुले कीर्तेको कसूर गरेको ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको ०४२।१।१७।२ को फैसला ।
७. झापा जिल्ला अदालतले कीर्ते जस्तो फौज्दारी मुद्दामा साक्षी बुझ्नेसम्म धैर्य नराखी न्यायिक मनको प्रयोग नगरी सबूद प्रमाणहरुको गलत व्याख्या गरी कीर्ते ठहराई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत प्र.नारायणप्रसाद न्यौपाने, इन्द्रबहादुर गुरुङ, भवानीप्रसाद ढकाल, राजेन्द्रप्रसाद पोखरेल समेतको संयुक्त पुनरावेदन ।
८. विवादको जग्गा प्रतिवादीको दाता धनबहादुरको हो भन्न सकिने गरी साविक दर्ता वा आफ्नो हकमा कसरी कहीले आएको हो सो कुनै प्रमाण प्रतिवादीबाट गुज्रन आएको नदेखिएकोले खास जग्गा धनी भन्न सकिने देखिएन वादीका दाता धनबहादुर राईले २०२० सालमा चलानीबाट पाई हक भोग तिरो तिरी आएको मिसिल प्रमाणबाट देखिएकोले विवादको जग्गाको खास धनी वादीको दाता धनबहादुर भन्ने देखिन्छ । तसर्थः प्रतिवादीहरुका दाता खास जग्गा धनी नभई कृतिम व्यक्ति देखिन आएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पु.क्षे.अ. को फैसला ।
९. पु.क्षे.अ. को फैसलामा अ.बं. १८९, नं. १८४, १८५ एवं प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।
१०. पु.क्षे.अ. को फैसलामा अ.बं. ७८ तथा १८४क., १८५, १८९ र प्रमाण ऐन, २०३१ को दफा ५४ को कानुनी व्याख्यात्मक त्रुटि देखिन आएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख), (ग) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले वास्तविक जग्गा धनी धनबहादुर राई मेरो पक्ष नै हो किनभने मेरो पक्षको वतन ७ नं. फाँटवारीमा धुलावारी छ, सर्वे नापी हुँदा पनि धुलावारी नै लेखिएको छ । सक्कल ७ नं. फाँटवारीमा १२ वर्ष उमेर जनिएको छ र रजिष्ट्रेशन पारीत हुनु अघि नागरिकताको प्रमाणपत्र पनि लिएको छ रजिष्ट्रेशन पास गर्दाको उमेरसंग मेरो पक्षको उमेर मिल्ने हुनाले पु.क्षे.अ. को इन्साफ उल्टी हुनुपर्छ भन्ने र प्रत्यर्थी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले मेरो पक्ष नै वास्तविक जग्गा धनी धनबहादुर हो किनभने पुनरावेदक पक्षका दाताको जग्गाको हकको श्रोत नै छैन, जबकी मेरो पक्षको दाताले जिमिदारी कचहरीबाट चलन पूर्जी पाएकोछ र जग्गाको श्रेस्ताहरु तमाम कागजातहरु मेरो पक्षसंग मौजुत रहेकोले पु.क्षे.अ. को इन्साफ सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१२. पु.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१३. जिल्ला झापा धुलावारी गा.पं. को कि.नं. २५७ को ज.वि. ४–१५–० धनबहादुर राई भन्ने व्यक्तिको नाउँमा सर्वे नापी दर्ता भइराखेको तथ्यमा कुनै विवाद देखिएन । तर प्रस्तुत मुद्दामा दुईजना व्यक्तिले आफूलाई उक्त जग्गाको वास्तविक दर्तावाला धनी धनबहादुर राई भन्ने दावी गरेको र तदअनुसार वादी नरेशकुमारका दाता धनबहादुरले मिति ०४०।९।२१ मा झापाबाट उक्त ससिम कि.नं. २५७ वादी नरेशकुमारलाई राजीनामा पारीत गरिदिएको र प्रतिवादी नारायणप्रसाद समेतका दाता धनबहादुर राइले मिति २०४०।९।७ मा कि.नं. २५७ को ज.वि. ४–१५–० मध्ये ज.वि. ४–१०–० प्रतिवादीहरु चार जनालाई संयुक्त रुपमा मोरंग मालमा गई राजीनामा पारीत गरिदिएको देखिन्छ । वादी नरेशकुमारलाई राजीनामा गरिदिने धनबहादुरको उमेर ४८ वर्ष र वतन धरान न.पं. वार्ड नं. ५ भन्ने उक्त राजीनामामा उल्लेख छ, जबकि नारायणप्रसाद समेतका दाता धनबहादुरको उमेर ३० वर्ष र वतन धुलाबारी भन्ने उक्त राजीनामामा लेखिएको पाइन्छ । वादीका दाता धनबहादुरले फिरादपत्र साथ पेश गरेको ७ नं. फाँटवारीमा धनबहादुर राईको उमेर २०२१ सालमा २८ वर्ष भन्ने उल्लेख भएको र प्रतिवादीका दाता धनबहादुरको उमेर १२ वर्ष भन्ने लेखिएको देखिन्छ । मालपोत कार्यालय झापामा मिति २०२१।९।१६ मा धनबहादुर राईको नाउँमा भरिएको ७ नं. सक्कल फाँटवारी हेर्दा धनबहादुर राईको उमेर १२ वर्ष भन्ने स्पष्ट रुपमा लेखिएकोछ । वादी नरेशकुमारका दाता धनबहादुरको छुट्टै ७ नं. फाँटवारी छ भन्न देखाउन नसकेको एवं निजको ७ नं. फाँटवारीको प्रतिलिपि फोटोकपीको सम्पूर्ण विवरण सक्कल ७ नं. फाँटवारीको विवरणसंग हुबहु मिलेको एवं दर्ता मिति २०२१।९।१६ दर्ता नम्बर ५८ समेत ठ्याक्कै मिलेबाट एउटै दर्ता नम्बरको दुइवटा फाँटवारी हुनसक्ने स्थिति प्रमाणित नभएको अवस्थामा प्राप्त सक्कलमा उल्लेखित १२ वर्षिय धनबहादुर राई प्रतिवादी नारायणप्रसाद समेतको दाता धनबहादुर राई हुन् भन्न पर्ने निष्कर्षमा पुग्नुपर्ने स्थिति उत्पन्न भएको छ । उक्त ७ नं. फाँटवारी धनबहादुर राइको वतन धुलाबारी बजार भन्ने लेखिएको छ सर्वे नापी हुँदा फिल्डबुकमा पनि धुलावारी नै जनिएको छ र दर्ता प्रमाण पुर्जामा पनि धुलावारी नै छ । धरान वतन हुने व्यक्तिको वतन उक्त फाँटवारी दर्ता प्रमाण पुर्जा फिल्डबुक आदिमा उल्लेख नै नहुनुबाट पनि उपरोक्त निष्कर्षको पुष्टि भएको छ । जहाँसम्म जिमिदारी कचहरीको चलन पूर्जी, दर्ता प्रमाण पुर्जा आदि श्रेस्ता कागजात नारायणप्रसाद समेतको दाता धनबहादुरसंग नभई नरेशकुमारको दाता धनबहादुरसंग भएको भन्ने तर्क छ, कागजातहरु कुनै व्यक्तिसंग हुँदैमा उही नै वास्तविक धनी हो भनी किटान गर्न मिल्दैन । जिमिदार परिवारको घरमा नोकरी गरी वर्षौं बसेको भन्ने नारायणप्रसाद समेतका दाता धनबहादुरको जिकिरको पृष्ठभूमिमा कागजातहरु निजसंग नहुनु अस्वभाविक पनि होइन ।
१४. जहाँसम्म १२ वर्षिया केटोले जिमिदारी कचहरीबाट चलन पूर्जी पाउँदा अभिभावक नबसेको भन्ने प्रत्यर्थीको तर्क छ नाबालकको नाउँमा जग्गाको चलन पूर्जी हुनुु गैरकानुनी हुन्छ भन्न नसकिने र अभिभावक नराखिंदैमा कानुनी मान्यता विहीन हुन्छ भन्न सकिने स्थिति नहुँदा प्रत्यर्थीतर्फका विद्वान अधिवक्ताको बसहसंग सहमत हुन सकिएन ।
१५. अतएवः विवादित कि.नं. २५७ को वास्तविक जग्गाधनी प्रतिवादी नारायणप्रसाद समेतका दाता ३० वर्षिय धुलाबारी बजार वतन हुने धनबहादुर राई नै हुन् भन्ने देखिन आयो । यस्तो वास्तविक जग्गा धनीले गरिदिएको २०४०।९।७ को पारीत राजीनामालाई कीर्ते भनी ठहर गरी सजाय गरेको झापा जिल्ला अदालतको फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण देखिंदा उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी नारायणप्रसाद न्यौपाने समेत ४ जनाके वादी दावी नपुग्ने ठहरेकाले शुरु झापा जिल्ला अदालतको ०४२।१।१७।२ को फैसलाले प्रतिवादीहरुलाई जनही रु. ९०,०००।– जरिवाना गर्ने गरेकोमा सो नलाग्ने हुँदा उक्त जरिवानाको लगत कट्टा गरि निजहरुले जमानी दिएको जेथा फुकुवा गरिदिनु भनी झापा जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु .........१, पुनरावेदक प्रतिवादी देहायका मानिसके पु.क्षे.अ. को मिति ०४४।५।७ को फैसलाले निजहरुलाई पुनरावेदन गरे वापत रु.९००।– का दरले थप जरिवाना गरेकोमा निजहरुले स.अ. मा पुनरावेदन गर्दा रु. ३६००।– दाखिल गरेको देखिएकोमा उक्त थप जरिवाना नलाग्ने भई फिर्ता दिनु परेकोले कानुनका म्यादभित्र फिर्ता माग्न आए कानुन बमोजिम गरी देहाय बमोजिम फिर्ता गरिदिनु भनी झापा जि.अ. मा लेखी पठाउन का.जि.त. मा लगत दिनु ....२
पु.प्रतिवादी नारायणप्रसाद के रु. ९००।–, पु.प्रतिवादी इन्द्रबहादुर गुरुङ के रु. ९००, पु.प्रतिवादी भवानीप्रसाद ढकालके रु. ९००, पु.प्रतिवादी राजेन्द्रप्रसाद पोखरेल के रु. ९००, मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४९ साल वैशाख २१ गते रोज १ शुभम् ।