शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१५६ - कर्तव्यज्यान ।

भाग: ३८ साल: २०५३ महिना: असार अंक:

निर्णय नं. ६१५६                                                                                   ने.का.. २०५३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

सम्वत २०४९ सालको फौ.पु.नं. ६०७

फैसला मिति २०५३।२।८।३

 

मुद्दाः  कर्तव्य ज्यान ।

पुनरावेदककाले सुनारको जाहेरीले श्री ५ को सरकार

  वादी                                     विरुद्ध

प्रत्यर्थी-            जिल्ला अछाम, मंगलसेन गा.वि.. वडा नं. ७ माडेगडा बस्ने नौले सुनार

            .. बस्ने गगने सुनार

            .. बस्ने धनसिंगे सुनार

            .. बस्ने दाने सुनार

            .. बस्ने प्रिमे सुनार

            .. बस्ने आँखे सुनार

            .. बस्ने भिउसिंगे सुनार

            .. बस्ने दिले सुनार

            .. बस्ने दाने सुनारकी श्रीमती पवि सुनारनी

            .. बस्ने दिले सुनारकी श्रीमती धौली सुनारनी

            .. बस्ने भिउसिंगे सुनारको श्रीमती पवि सुनारनी

अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी गगने सुनार समेतले गरेको बयानको पोल बाहेक निजहरु समेतले कुटपिट गरेको कुरा स्वतन्त्र प्रमाणबाट पुष्ट्याई भएको पाईन्न । यी प्रतिवादीहरु समेतले मृतकलाई कुटपिट गरेको कुरा अन्य कहिँ कतैबाट देखिन्न । वारदातमा उपस्थित भै गाली बेइज्जती सम्म गरेको कुरा वादी पक्षका गवाह जाहेरवाला र जोगी सुनार समेतको बकपत्रबाट देखिन्छ । गाली बेइज्जती सम्म गरेको कुरालाई कसूर गरेको हो भनी ठहर गर्नु उपयुक्त नदेखिने ।

( प्र.नं. ५०)

पुनरावेदक तर्फबाटः-विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति

विपक्षी प्रत्यर्थी तर्फबाटः

अबलम्बित नजीरः ×

फैसला

न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत दिपालय डोटीको फैसला उपर चित्त नबुझी यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-

. २०४५ सालमा दाने सुनारको दोकान पसलमा चोरी भए सम्बन्धमा मेरो भाई भतिजाहरु उपर शंका गरी रिसइवी लिई राखेकोमा मिति २०४६।८।८ गतेका बेलुका दिले सुनारकी श्रीमती र रामपतिका बीच जग्गाको साँध सिमाना बारे २ पक्षको झगडा हुन थालेपछि छुट्‍याउन सर्जने सुनार, गोरे सुनार, भाई ललिते सुनार समेत गएको अवस्थामा यिनी राँडीको छोराहरुलाई मार्नु पर्छ भनी दाने सुनार, आँखे सुनार, गगने सुनार, भिउसिंगे सुनार, धनसिंग सुनार, नौले सुनार, दिले सुनार, प्रिमे सुनार, दानेकी स्वास्नी, भिउसिंगेको स्वास्नी, दिलेकी स्वास्नी समेतका ११ जनाले मेरो भाई ललिते सुनारलाई घेरा हाली कुटपिट गरी कसले कुन ठाउँमा हानेका हुन र सो चोटबाट करिब ५०।६० गज माथि आउँदा भाई ललिते सुनारको मृत्यु भएकोले कानून बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

. मृतक ललितेलाई कुटपिट गरेको ठाउँदेखि अन्दाजी १५० मिटर दुरीमा महा सुनारको घर आँगन भएको पुर्व आँपको रुख, पश्चिम महा सुनारको घर, उत्तर गोरे सुनारको पाखो जग्गा, दक्षिण सर्पे सुनारको पाखो जग्गा, यति ४ किल्ला भित्रमा रहेको दक्षिण टाउको, उत्तर गोडा गरी चाँदरले छोपेको मृतक लास, उक्त लासको चाँदर उठाई हेर्दा आँखा बन्द, मुख केही खुला भै फिँज आएको दाहिने कानको मुनी सुन्निएको, माथिल्लो आङ्गमा कुनै कपडा नभएको दाहिने पट्टी आँगमा निल भएको अण्डकोष सुनिएको लेखिए देखि बाहेक अरु शरिरमा घाउ चोट नभएको भन्ने समेत व्यहोराको मृतक ललिते सुनारको लास प्रकृति मुचुल्का ।

. मृतक लासको पोष्टमार्टम गर्न पठाउँदा छाती भित्र रक्तश्रावको कारण मृत्यु भएको भन्ने लास पोष्टमार्टम गर्ने चिकित्सकको पोष्टमार्टम फाराममा उल्लेख गरेको राय ।

. मैले ललितेलाई कुटपिट गरेको छैन । दिले, धनसिंगे, गगने समेतले कुटपिट गरेका हुन् । सोही कुटपिटको चोटबाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको अभियुक्त नौले सुनारको बयान कागज ।

. दिले सुनारकी श्रीमतीसँग जोगी सुनारको झगडा हुँदा दुवै पक्षबाट कुटपिट भएको हो सो अवस्थामा म, बाबु धने सुनार, भिउसिंगे सुनार, आँखे सुनार, प्रिमे सुनार, दिले सुनार, नौले सुनार, सर्जने सुनार एक पक्ष ललिते सुनार, गौरे सुनार, रामपति सुनार, सर्पे सुनार, चौठे सुनार एक पक्ष दाने सुनारकी श्रीमती पवि, भिउसिंगे सुनारको श्रीमती पवि र धौली समेतले त्यही गाली गरी झगडा हेरी रहेका थिए भन्ने समेत व्यहोराको गगने सुनारको बयान कागज ।

. २०४६।८।८ गतेका साँझपख दिले सुनारकी श्रीमती धौली सुनारकी जोगी सुनारका बीच झगडा हुँदा दिले सुनार, आँखे सुनार, दाने, भिउसिंगे, प्रिमे, नौले समेतले कुटपिट गरेका र  मैले पनि एक बक्सिङ्ग छातीमा हानेको हुँ । उक्त कुटपिट समेतका पिरबाट ललिते सुनारको कुटपिटले मृत्यु भएको हो भन्ने समेत व्यहोराको धनसिंगे सुनारको बयान कागज ।

. जोगी सुनार र धौली सुनार्नीका बीच झगडा हुँदा यी प्रहरी हिरासतमा रहेका गगने सुनार समेतका मानिसहरुले ललिते सुनारलाई कुटपिट गरेका हुन् । मैले छुट्‍याउने नियतले धकल पकल सम्म गरेको हुँ । कुटपिटको कारणले नै ललितेको मृत्यु भएको हो भन्ने समेत व्यहोराको दाने सुनारको बयान कागज ।

. जाहेरी पक्षका सर्पे सुनार, रामपति सुनार विपक्षी दिले सुनार, धौली सुनारका बीच कुटपिट हुँदा दिले समेतले ललिते सुनारलाई कुटपिट गर्दै थिए । दुवै थरीका बीच झगडा हुँदा छुट्याउन भनी म पनि सो हुलमा गएको हुँ ।  रामपति ललिते सुनारले बुबा भिउसिंगेलाई  समाती तानातान गरी रहेका थिए, निजहरुको पन्जाबाट बुबालाई छुट्‍याएको हुँ । धेरै मानिसको हुल हुँदा को कसको हातबाट के कतिलाई चोट लाग्यो म भन्न सक्दिन भन्ने समेत व्यहोराको प्रिमे सुनारको बयान कागज ।

१०. दुबै पक्षका बीच झगडा हुँदा मृतक ललिते बढी उत्तेजित भएकोले बढी रिस उठी मैले पनि ललितेलाई एकलात हानेको हुँ । को कसले कुन ठाउँम हाने मैले सम्झन सक्दिन । पछि उजुर गर्न जान्छु भनी केहि माथि पुग्दा मृत्यु भएको हो भन्ने समेत व्यहोराको आँखे सुनारको बयान कागज ।

११जाहेरीमा उल्लेख गरेका दाने, गगने, धनसिंगे, प्रिमे, आँखे, नौले, दिले सुनार समेतले ललिते सुनारलाई घेरामा हाली एक मुक्का मैले पनि हानेको हुँ भन्ने समेत व्यहोराको भिउसिंगे सुनारको बयान कागज ।

 १२. २०४६।८।८ गतेका ३ बजे जोगी सुनार र मेरो श्रीमतीलाई जोगी सुनारले बाबु चकार्ने गाली गरेकोले मलाई रिस उठी निजको कठालो समाती बारीमा लडाएको हो र निजलाई छातिमा २/३ चोट मुक्का हानेका हौ,  अरु को कसले ललितेलाई हाने मलाई थाहा छैन भन्ने समेत व्यहोराको दिले सुनारको बयान कागज ।

१३. दुवै पक्षका बीच कुटपिट भएको हो । को कसले को कसलाई कुटपिट गरे म भन्न सक्दिन । उक्त घटनामा मेरो कुनै सहमति छैन भन्ने समेत व्यहोराको श्रीमती पवि सुनारनीको बयान कागज ।

१४. २०४६।८।८ गतेको कुरा हो जोगी सुनार र मेरो बीच जमिनको साँध सिमाना बारे कल झगडा हुँदाका अवस्था लोग्ने दिले सुनार आई धकेल धकेल गर्दा दुवै पक्षका बीच कुटपिट भएको हो । कसले चोट हाने म भन्न सक्दिन । मैले निज ललितेलाई कुटेको छैन भन्ने समेत व्यहोराको श्रीमती धौली सुनारनीको बयान कागज ।

१५. लोग्ने भिउसिंगे समेत र जाहेरी पक्षका रामपति सुनार समेतका बीच कुटपिट भएको हो कसले कसलाई कुटपिट गरे म भन्न सक्दिन सो घटनामा मेरो सहमति छैन । पछि ललिते सुनारको मृत्यु भयो भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको भिउसिंगेकी श्रीमती सुनारनीको बयान कागज ।

१६. यी प्रहरी हिरासतमा रहेको दिले सुनार समेतले मेरो टाउकोमा हिर्काउँदा म सो चोटबाट रनथनिए । मृतक ललित कुन बेला त्यहाँ आयो र को कसले कुटपिट गरे म भन्न सक्दिन निज ललिते, दिले सुनार समेतको कुटाईको पिरबाट मृत्यु भएको हुनु पर्छ भन्ने समेत व्यहोराको रामपति सुनारको कागज ।

१७. दिलेको श्रीमती र जोगीका बीच जग्गाको साँध सिमाना बारे झगडा हुँदा बचाउन भनी गएको थिएँ । त्यतिकैमा दिले सुनारले मलाई कुटेकोले म वेहोस भएको हुँदा मृतक ललितेलाई कसले कुटपिट गर्‍यो भनी सोध्दा नौले समेतले कुटेको हुन भनी जाहेरवालाले भन्दा थाहा पाएको हुँ भन्ने समेत व्यहोराको सर्पे सुनारको कागज ।

१८. मैले दिले सुनारको जमिन नजिक रहेको सर्पे सुनारको जग्गा बन्धकी लिएको र सो जग्गामा दिलेको श्रीमतीले ढुंगा फाली रहेकीले किन ढुंगा फालेको हो भन्ने विषयलाई लिएर धौली र मेरो बीच झगडा हुँदा दिले आइ मलाई कुटपिट गर्न लाग्दा दुवै पक्षका बीच कुटपिट गर्न लाग्दा दुवै पक्षका बीच कुटपिट भएको हो । हिरासतमा रहेका दिले सुनार समेतले कुटपिट गर्दै थिए । कसले कस्ता तबरबाट कुन ठाउँमा हाने खुलाउन सक्दिन भन्ने समेत व्यहोराको जोगी सुनारको कागज ।

१९. जग्गाको साँध सिमाना बारे जोगी र धौलीका बीच २०४६।८।८ गतेका दिन भनाबोल हुँदा जोगी सुनारलाई दिले सुनारले कुट्न  लाग्दा किट कुट्दछस् भन्दा यी नौले समेतका व्यक्तिले सर्पे र रामपतिलाई कुटी फालेकाले म निजहरुलाई ल्याई अड्डा तिर आएको थिए । त्यसपछि ललितेलाई मारी हाल्यो भन्ने सुनी थाहा पाएँ । तर निज को कसले को कसको चोटबाट मार्‍यो खुलाउन सक्दिन भन्ने समेत व्यहोराको चौठे सुनारको बयान कागज ।

२० दिले सुनारले जोगी सर्पे समेतलाई कुटपिट गर्दा बचाउनका लागि गएका ललिते सुनारलाई गगने समेतका व्यक्ति गै कुटपिट गर्न लागे कसले कसलाई मार्‍यो भन्न सक्दिन । निजको मृत्यु अन्य कुनै कारणबाट भएको होइन प्रहरीमा रहेका व्यक्तिहरुको कुटाईबाट भएको हो भन्ने समेत व्यहोराको गोरे सुनारको कागज ।

२१. प्रहरी हिरासतमा रहेका दिले सुनार समेतले रामपति सुनार र ललिते सुनारलाई कुटपिट गर्दा किन बुढालाई कुट्नु हुन्छ भनी छुट्याउन जाँदा गगने सुनारले मेरो टाउकोमा ३ चोट हिर्कायो र पछाडिबाट कसले हो पेटको कोखामा मुक्काले हान्दा सहन गर्न नसकी पल्टेको हो । दिले सुनार समेतको कुटाईको चोटबाट ललितेको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जने सुनारको कागज ।

२२. दुवै पक्षका बीच कुटपिट हुँदा मैले ससुरा सर्पे र रामपतिलाई छुट्याई ल्याउँदा किन ल्याईस् भनी गगनेले मलाई समाती दाँतले टोकेको र मैले निज गगनेलाई एकचोटी हिर्काएको हुँ । मृतक ललिते कतिबेला घटनास्थलमा गए देखिन भिउसिंगे समेतका व्यक्ति देखेको हुँ भन्ने समेत व्यहोराको गोमा सुनार्नीको कागज ।

२३. मिति २०४६।८।८ गतेको कुरा हो । कोलाहल रोए कराएको आवाज आएको सुनी के को हल्ला हो भनी घटनास्थल तिर आउँदा कसले हो गोरे सुनारलाई धकेली फालेको र निजलाई मैले उठाएको हु । म घटनास्थलमा पुग्दा जाहेरी पक्षका व्यक्ति र यी हिरासतमा रहेका व्यक्ति बीच झगडा भै सकेको थियो भन्ने समेत व्यहोराको लोगे कामीको कागज ।

२४. जाहेरी पक्ष र हिरासतमा रहेका दिले सुनार समेतका बीच जग्गाको साँध सिमाना बारे कुटपिट भएको भन्ने कुरा सुनेको हुँ को कसको चोटबाट मृतक ललितेको मृत्यु भएको हो भन्न सक्दिन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।

२५. टाउको अगाडि भागमा घाउ भएको भन्ने रामपति सुनारको र बाँया भागको टाउको र आँखी भौ माथि घाउ लागेको भन्ने सर्जने समेतको घाउ जाँच केश फाराम ।

२६. धेरै जनाको कुटपिट भै ललिते सुनारको मृत्यु भएको प्रमाणित हुन आएको हुँदा घटनामा संलग्न रहेका दिले सुनार, दाने सुनार, गगने सुनार, भिउसिंग सुनार, प्रिमे सुनार, नौले सुनार, आँखे सुनार, धनसिंगे सुनार समेतका प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्बन्धी मलहको १३() नं. बमोजिम सजाय हुन र प्रतिवादी पवि सुनार्नी, धौली सुनार्नी, पवि सुनारनी झगडामा संलग्न भई गाली गरी रहेका थिए भन्ने कुरा पुष्टि हुन आएकोले ऐ. महलका १३() बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेतको प्रहरी प्रतिवेदन ।

२७. म सो दिनको उक्त समयमा सो घटनास्थलबाट अं. आधा घण्टा टाढा दोकानमा छु । दाने सुनार बेरामी थिए । आफ्नो घरमा सुतेको र भिउसिंगे सुनार दिउसो गहुँ छर्न गएको दिलेकी स्वास्नी प्रतिवादी धौली जोगी सुनार, सर्पे सुनार, रामपति सुनार, चौठे सुनार निजकै श्रीमती नाम नजानेकी १ समेतका बीच जग्गाको साँध विषयमा मेरै घर नजिक झगडा भएको थियो । त्यतिकैमा प्रतिवादी दिलु सुनार पनि त्यहिँ ठाउँमा आई प्रतिवादी रामपति सुनार तथा सर्जने सुनार समेत भै झगडा गरेका थिए । म त्यतिबेला त्यहाँ थिइन । दोकान पसलमा थिएँ । झगडा भए भन्दा सुनी म त्यहाँ गै आपसमा कुटपिट गरेको हुँदा मैले चौठेलाई छुट्याई दिएको हुँ । म ललिते सुनारलाई चिन्दछु । निज मेरो एकै परिवारका भाई बाबु नाताका पर्दछन् । ललिते सुनारको मिति २०४६।८।८ गते मृत्यु भएको हो । सो अवस्थामा म प्रहरी  थानामा थिएँ, के कसरी भयो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी गगने सुनारले अदालतमा गरेको बयान ।

२८. सो दिनको उक्त समयमा दिले सुनारको र रामपति सुनारका बीच जग्गा बारेमा झगडा भएको हो । म जाँदा त्यो ठाउँमा गोरे सुनार, रामपति सुनार, काले सुनार, सर्जने सुनार, जोगे सुनार, दिले, भिउसिंगे, धौली समेतलाई देखेको हुँ । निजहरु मेरो घरबाट ५०।६० मिटर नजिक पर्ने दाने सुनारको घर पछाडि तिर हुल दंगा गरी सकेर यता उता जाँदै गरेका थिए । जग्गाको बारेमा झगडा भयो भन्ने कुरा दिले सुनारबाट सुनेको हु । मृतक ललिते सुनार २०४६।८।८ गतेको साँझ ७।८ बजे परलोक भएको हो, सो बखत म जिल्ला प्रशासन कार्यालय अछाममा पक्राउ थिए । निजको मृत्यु के कसरी भयो कसैको कुटपिटबाट हो वा के हो थाहा छैन । ललितेलाई मारे भन्ने कुरा मलाई दिले सुनारले नै भनेको हो  । मेरो मृतकसँग कुनै झै झगडा थिएन । निजले मलाई पोल गर्दाको कारण के हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी नौले सुनारले अदालतमा गरेको बयान ।

२९. प्रहरी प्रतिवेदन लगायतको सम्पूर्ण कागज पढी बाची सुनाउँदा सुनी पाएँ । समयको यकिन थाहा छैन अन्दाजी ५ बजे तिर केटा केटी र आईमाई समेत बोले कराएको आवाज सुनी म सो ठाउँमा गएको हुँ  । के भयो भनी भन्दा जग्गा सम्बन्धमा झगडा भयो भन्ने सुनेको हुँ । भाई नाता परेको हुँदा मृतकलाई चिन्दछु । प्रहरीमा मैले ललिते कुटपिटबाट मरे भनी लेखाएको छैन । पढी वाची नसुनाई सहिछाप गर भनेकोले सहिछाप गरेको हुँ । सो कारणबाट प्रहरीमा र अदालतमा बयान फरक पर्न गएको हो भन्ने समेत व्यहोराको प्रतिवादी दाने सुनारले शुरु अदालतमा गरेको बयान ।

३०. जाहेरी दरखास्त लगायतका सम्पूर्ण कागज सुनी पाएँ । २०४६।८।७ गते ओली गाउँ गा.. वडा नं. ६ मा पर्ने मेरो ससुराली घरमा गएको थिएँ । त्यहाँबाट ऐ ८ बजे बेलुका ५:३० बजे आफ्नो घर तर्फ फर्केको हुँ अरु प्रतिवादीहरु सो अवस्थामा कहाँ थिए मलाई थाहा छैन । जग्गा सम्बन्धमा झगडा भएको भन्ने सुनेको हुँ ।  मृतकलाई चिन्दछु । दाजु नाता पर्दछ प्रहरीमा मेरो बयान करकापसँग गराएको हुन् । मेरो राजी खुसीको होइन । मलाई नसुनाई सहिछाप गराएको हो । घटना घटेको समयमा सो ठाउँमा नभएको हुँदा प्रहरी प्रतिवेदन माग दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी आँखे सुनारले अदालतमा गरेको बयान ।

३१. उक्त दिन म पाखो जग्गामा गहुँ छर्न गएको थिए । गगने सुनार धनसिंगे प्रिमे सुनार घटनास्थलबाट आधा घण्टा दुरी पर्ने मेरो दोकानमा थिए । ढुंगा फालेको भन्ने विषयमा झगडा भएको भन्दा सुनेको हुँ । निजसँग मेरो सो भन्दा अगाडि र सो दिन मेरो भना बोली तथा झगडा भएको छैन । मेरो घर र निजको घर ५०, ६० मिटर जति टाढा पर्दछ । मेरो र मृतक बीच रिसइवी केही थिएन । दिलेको र ललितेको १०।१२ बर्ष सम्म झगडा भएको थियो । हाल सो जग्गाको झगडा छैन । मृतक ललिते सुनारको नाती मोहन सुनारले २०४४।५।२९ गते मेरो दोकान चोरी गरेको थियो । सोही रिसइवीबाट मलाई पोलेको हो ।  मैले ललितेलाई कुटपिट गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी भिउसिंगे सुनारले अदालतमा गरेको बयान ।

३२. उक्त समयमा म मंगलसेन बजारमा छु । कपडा लिन भनी आएको थिएँ । अन्य प्रतिवादीहरु को कहाँ थिएँ । दिले सुनार समेतको झगडा भयो भन्दा सुनेको हुँ । म झगडा छुट्टी सकेपछि मात्र गएको हुँ । मृतक ललिते सुनारलाई चिन्दछु । मृतक मेरो १३ दिने भाई हो । मृतक कुनै दुःखी बिरामी थिएन । दिलेकी श्रीमती धौलीको र जोगी सुनारका बीच जग्गाको साँध सिमाना र ढुंगा फालेको विषयमा झगडा भएको भन्ने कुरा सुनेको हुँ ।  सर्जिमन गराउँदा म गएको छैन । म समेतलाई किन पोले थाहा छैन । मृतकलाई मैले कुटपिट गरेको छैन । म घटनास्थलमा पनि छैन  सफाई पाउँ भन्ने समेत व्यहोराको धनसिंगे सुनारले अदालतमा गरेको बयान ।

३३. सो मितिको समय भन्दा पहिले म अन्दाजी आधा घण्टा टाढा पर्ने आफ्नै दोकानमा थिए । पछि सो हल्ला शान्त भएपछि सो ठाउँमा गएको हुँ । निज के कस्तो परिवन्धबाट मरेको मलाई थाहा छैन । मृतक ललितेलाई कुटनमा मेरो सहमत  छैन । दिले सुनार र ललिते सुनारका बीच जग्गा सम्बन्धी १०।१२ वर्ष सम्म झगडा भएको थियो । मेरो र मृतक बीच केही झगडा छैन । मलाई  किन पोले थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रिमे सुनारले अदालतमा गरेको बयान ।

३४. प्रतिवादी धनसिंगे सुनारको घरको नजिक म पनि गएको थिएँ । सो ठाउँमा रामपति सुनार्नी आएकी हो । हामीहरुको जग्गा विषयमा लिएर झगडा भएको हो । मेरो घरबाट निजको घर ५०, ६० मिटर टाढा छ । सोबाट पनि झगडा भएको ठाउँ झन टाढा पर्दछ । मेरो मृतकसँग कुनै झगडा थिएन । मलाई किन पोले थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी धौली सुनारनीले अदालतमा गरेको बयान ।

३५. मृतक ललिते सुनारको बीच झगडा भएको भन्ने सम्बन्धमा कुनै थाहा छैन । कसले कसलाई पिट्यो म त्यो ठाउँमा नै थिएन । मेरो घरमा खाना बनाउने काममा थिए । प्रतिवादी मध्येका गगने सुनार आधा घण्टा टाढाको दोकानमा थिए । ललिते सुनार हाल मरी सक्यो भन्ने कुरा थानामा सुनेको हुँ । कहिले मर्‍यो थाहा छैन । मैले मृतकलाई कुटपिट गरेको छैन । मेरो कर्तव्यबाट मृतक ललितेको मृत्यु भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी पवि सुनारनीको बयान ।

३६. जोगी सुनारको र मेरो एकै मिलानमा तरकारी वारी थियो । जोगीले आफ्नो बारीमा ढुंगा बटुली मेरो बारीमा फालेछ । मेरो श्रीमतीले आफ्नो वारीबाट ढुंगा बटुली जोगीकै वारीमा फालेकी रहिछ । निज जोगीले गाली गरेपछि किन गाली गर्छेस भन्दा सर्पे समेत कराई झगडा भै कुटपिट समेत भएको हो । सोही ठाउँ नजिक दाने समेत सो ठाउँमा आइ उनीहरुले पनि झगडा गरेका हुन् । झगडा भयो भनी म रिपोर्ट गर्न मंगल सेन गा.. मा गएको थिएँ  । मलाई समेत कुटपिट गर्‍यो भनी प्रहरीमा उजुर गरी पक्राउ गरेका हुन् । मैले ललितेलाई कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी दिले सुनारले अदालतमा गरेको बयान ।

३७. सो समय र मितिमा म आफ्नो घरमा छोरी आएको हुँदा निजलाई खाना पकाई सकेपछि प्रहरीले म समेतलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि झगडा भै ललिते सुनार मरेको कुरा थाहा पाएको हुँ । निज मृतकको घर र मेरो घर ४० मिटर जति टाढा होला । मानिस बोले जस्तो आवाज आएको थियो ।  धेरै मानिस एकैसाथ बोलेको आवाज आएको हुँदा कसको आवाज हो चिन्न सकिन । नजिकबाट कसैले बोले पनि सबैको आवाज बुझिन र चौठे र रामपति सुनार समेतका बीच आपसमा झगडा भएको भन्ने सुनेको हुँ । कसरी मरे मलाई थाहा छैन । मेरो लोग्नेको गाउँमा दोकान थियो । सो दोकानमा चोरी भएको थियो । चोरीमा मर्ने ललितेको नातीले चोरी गरेकोमा पक्राउ भएको थियो । सो अवस्था देखि म माथि रिसइवी लिई रहेका थिए । सोही इविबाट हामी एकै परिवारका व्यक्ति पक्राउ परेका हुँदा नभए नगरेको आरोप लगाई झुठ्ठा पोल उजुर गरेका हुन् । म निर्दोष हुँदा प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भिउसिंगे सुनारकी स्वास्नी पवि सुनारनीले अदालतमा गरेको बयान ।

३८. उक्त ८ गते म आफ्नै घरमा छु । सो दिन दिले सुनार चौठे सुनारकी स्वास्नीका बीच झगडा हुदै थियो । दिले सुनार गएर सर्पे सुनारलाई कुटपिट गरे त्यतिकैमा के हो भनी म गएँ जाँदा साथ मेरो गला समायो र हुल गर्‍यो । मर्ने पनि त्यही हुलमा थियो । सो हुलमा जम्मा ११ जना थिए ।  ७ जना बाहिर गाली गरी रहेका र अरु ४ जना मर्नेलाई कुटपिट गरी राखेको थिए ।  निज मृतकसँग मेरो त्यो ठाउँमा भेट भएन । मृतक घटनास्थलबाट आफै हिडेर गएको हो । मृतकलाई कुनै विरामी   थिएन ।  कुटपिटको चोटबाट नै मृतक ललितेको मृत्यु भएको हो भन्ने समेत व्यहोराको जाहेरवालाको अदालतमा भएको बकपत्र ।

३९सर्जमिनका व्यक्तिहरुको र प्रतिवादीका साक्षीहरुको बकपत्र मिसिल सामेल रहेको ।

४०. जग्गाको विवाद ललितेसँग नभई अन्य व्यक्तिहरुसँग भएको झगडा हुँदा ललिते छुट्याउनसम्म गएको प्रतिवादी र ललितेका बीच कुनै रिसइवी मार्ने मनसाय समेत नरहेको स्थितीमा दुवै पक्षका बीच भएको झगडा छुट्याउन जाँदा ललितेको मृत्यु हुन गएकोले भवितव्यबाट मृत्यु हुन गएको देखिँदा प्रतिवादी मध्येका दिले सुनार, भिउसिंगे सुनार, गगने सुनार, धनसिंगे सुनारलाई ज्यान सम्बन्धीको ६ नं. बमोजिम जनही २ बर्ष कैद र पाँचसय जरिवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरुले कसूर गरेको ठहर्न नआएकोले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको अछाम जिल्ला अदालतको २०४७।३।१८ को फैसला ।

४१. प्रतिवादीहरु जना ४ लाई ज्यान सम्बन्धी महलको ६ नं. बमोजिम २ वर्ष कैद र रु. ५००। जरिवाना तथा अन्य प्रतिवादीहरुलाई सफाई दिई गरेको फैसला त्रुटिपुर्ण हुँदा माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट तत्कालिन सेती अञ्चल अदालतमा परेको पुनरावेदन ।

४२. अछाम जिल्ला अदालतको फैसला त्रुटिपुर्ण हुँदा सो बदर गरी सफाई पाउँ भन्ने समेतको भिउसिंगे सुनार समेत जना ४ को तत्कालिन सेती अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।

४३. शुरुको इन्साफ मिले नमिले तर्फ सफाई पाउनेलाई अ.बं. २०२ नं. बमोजिम झिकाउने भन्ने तत्कालिन सेती अञ्चल अदालतको आदेश ।

४४. प्रतिवादीहरु भिउसिंगे सुनार, दिले सुनार, गगने सुनार, धनसिंगे सुनार समेतलाई छलफलको लागि अ.बं. २०२ नं. बमोजिम झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायल डोटीको आदेश ।

४५. प्रतिवादी नौले सुनार, दाने सुनार, प्रिमे सुनार, आँखे सुनार, भिउसिंगेकी श्रीमती पवि सुनारनी, दिलेकी श्रीमती धौली सुनारनी र दानेकी श्रीमती पवि सुनारनीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम कसूरदार ठहर गर्न सबुद प्रमाणको अभाव हुँदा निजलाई सफाई दिने गरेको शुरुको इन्साफ मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक दिले सुनार गगने सुनार, भिउसिंगे सुनार र धनसिंगे सुनारको हकमा निज पुनरावेदकहरु २०४८।२।१४ मा कारागारबाट मुक्त भई गएको जिल्ला प्रशासन कार्यालय कारागार शाखा अछामको २०४८।८।४ को पत्रबाट देखिँदा अ.बं. ५४ नं. को व्यवस्था अनुरुप हाजिर हुन नआएको र थाम्ने थमाउने म्याद समेत गुजारी बसेकोले निजहरुको पुनरावेदन डिसमिस हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायल डोटीको फैसला ।

४६. प्रतिवादीहरुले कुटपिट गरी मारेका हुन् भन्ने किटानी जाहेरी व्यहोरा छ शव परिक्षण प्रतिवेदनबाट कुटपिट गरी मारेका कुरा प्रमाणित भै राखेको छ । मृतक र प्रतिवादीहरुको चोरी र जग्गा विषयको पूर्व रिसइवी भई झगडा भएको कुरा स्पष्ट देखिएको छ । मृतकलाई कुटपिट गरेमा प्रतिवादीहरु सावित छन् । कर्तव्य गरी मारेको प्रमाणित भै रहेको अवस्थामा पनि भवित्व्य ठहराएको र घटनास्थलमा मौजुद अन्य प्रतिवादीहरुलाई सफाई दिई गरेको फैसला कानूनसंगत नहुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

४७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापतिले प्रतिवादीहरुले कुटपिट गरी मारेका हुन् भन्ने किटानी जाहेरी व्यहोरा छ ।  पोष्टमार्टम रिपोर्टबाट कुटपिटबाट मृत्यु भएको कुरा प्रमाणित छ । कुटपिट गरेमा प्रतिवादीहरु सावित छन् । चोरी र जग्गा विषयको झगडाको कारणले पुर्व रिसइवी रहेको कुरा स्पष्ट छ । तसर्थ प्रतिवादी दिले सुनार, गगने सुनार, भिउसिंगे सुनार, धनसिंगे सुनारलाई ज्यान सम्बन्धीको १३() नं. बमोजिम सजाय गर्नु पर्नेमा ऐ. को ६ नं. बमोजिम २ बर्ष मात्र कैद गर्ने गरेको फैसला र अन्य प्रतिवादीहरु वारदातस्थलमा उपस्थित भई कुटपिटमा सरिक रहेको कुरा देखाई रहेको अवस्था र स्थितमा पनि सफाई पाउने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत दिपायल डोटीको फैसला त्रुटिपुर्ण छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

४८. प्रतिवादीहरु गगने सुनार, धनसिंगे सुनार, भिउसिंगे सुनार, दिले सुनारहरुले दिले सुनारकी श्रीमती धौली सुनारनी र जोगी सुनारका बीचमा जग्गाको साँध सिमाना सम्बन्धमा भएको झगडा वारदातमा मृतक ललिते सुनारलाई कुटपिट गरी मारेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला काले सुनारको जाहेरी व्यहोरा भई सोही मिलानको अदालतमा समेत बकपत्र व्यहोरा रहेछ । प्रतिवादी गगने, धनसिंगे, भिउसिंगे र दिले सुनार अधिकार प्राप्त अधिकारी समक्ष मृतक ललिते सुनारलाई कुटपिट गरेको कुरामा सावित भई अदालतमा इन्कार रहि बयान गरेको देखिन्छ ।  निजहरुको अधिकार प्राप्त अधिकारी समक्षको साबिती बयान, जाहेरवाला तथा अदालतमा उपस्थित भई बयान गर्ने जोगी सुनार, रामपती सुनार समेतका सरकारी गवाहहरुको बकपत्रबाट समर्थित भएको पाईन्छ ।

४९.  यी प्रतिवादीहरु र  मृतकका बीच मार्नु पर्ने सम्मको रिसइवी तथा मार्ने पूर्व मनसाय रहे भएको कुरा मिसिलबाट देखिन्न । वारदात हुँदाका बखत गाउँ घरको झै झगडा छुट्याउन भनी गएका मृतक ललिते सुनार सोही झगडाको वारदातमा प्रतिवादीहरुबाट भएको कुटपिटको कारणबाट मृत्यु भएको अवस्था छ । कुटपिटका अवस्थामा कुनै हतियार प्रयोग भएको पनि पाइन्न ।

५०. शुरुबाट सफाई पाउने ठहरिएका प्रतिवादी नौले सुनार, दाने सुनार, प्रिमे सुनार, आँखे सुनार, भिउसिंगेकी श्रीमती पवि सुनारनी, दिलेकी श्रीमती धौली सुनारनी र  दानेकी श्रीमती पवि सुनारनी अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा मृतकलाई कुटपिट गरेका छैनौ भनी इन्कार रहेका जाहेरवाला तथा गवाहको बकपत्रबाट पनि निजहरुले मृतकलाई कुटपिट गरेको देखिँदैन । अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादी गगने सुनार समेतले गरेको बयानको पोल बाहेक निजहरु समेतले कुटपिट गरेको कुरा स्वतन्त्र प्रमाणबाट पुष्ट्याई भएको पाईन्न । यी प्रतिवादीहरु समेतले मृतकलाई कुटपिट गरेको कुरा अन्य कहि कतैबाट देखिन्न । वारदातमा उपस्थित भई गाली बेइज्जती सम्म गरेको कुरा वादी पक्षका गवाह जाहेरवाला र जोगी सुनार समेतको बकपत्रबाट देखिन्छ । गाली बेइज्जती सम्म गरेको कुरालाई कसूर गरेको हो भनी ठहर गर्नु पनि उपयुक्त देखिँदैन ।

५१. अतः उल्लेखित आधारहरुबाट प्रतिवादीले दिले सुनार, गगने सुनार, भिउसिंगे सुनार र धनसिंगे सुनारलाई ज्यान सम्बन्धिको ६ नं. बमोजिम जनही २ बर्ष कैद र रु. ५००। जरिवाना गर्ने गरी र अन्य प्रतिवादीहरुले सफाई पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत दिपायल डोटीको इन्साफ मनासिव ठहर्छ । भवितव्य ठहराएको मिलेन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम सबै प्रतिवादीहरुलाई सजाय गरीपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

न्या. गोविन्द बहादुर श्रेष्ठ

इति सम्वत २०५२ साल जेष्ठ ८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु