निर्णय नं. ४५०७ - नासो धरौट

निर्णय नं. ४५०७ ने.का.प. २०४९ (क) अङ्क ४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको दे.पु.नं. ९४।९५
फैसला भएको मिति : २०४९।३।१८।५ मा
पुनरावेदक/प्रतिवादी: रुपन्देही जिल्ला शंकरनगर गा.वि.स. वा.नं. ३ बस्ने रणकुमारी गुरुङसमेत
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बुटवल न.पं. वार्ड नं. ६ बस्ने देवनारायण गुरुङ
पुनरावेदक/वादी: ऐ.ऐ. बस्ने देवनारायण गुरुङ
विरुद्ध
विपक्षी/प्रतेवादी : ऐ.ऐ. शंकरनगर गा.वि.स. वार्ड नं. ३ उदयराज गुरुङसमेत
मुद्दा : नासो धरौट
(१) नलाग्ने पुनरावेदन खारेज गरी ७ दिनभित्र पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिन ल्याए लिने गरेको संयुक्तइजलासको आदेशलाई अन्यथा भन्न सकिने स्थिति रहेन; तत्पश्चात उक्त आदेशानुसार परेको निवेदनको आधारमा पुनरावेदनको अनुमति भएकोलाई कानुनसम्मत मान्नु पर्ने
(प्रकरण नं. २१)
(२) नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने माल नासो धरौट राख्दा रसिद भर्पाई गराई मात्र दिन पर्ने
(प्रकरण नं. २२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा
विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. प.क्षे.अ. को फैसला उपर अनुमतिद्वारा दुवै पक्षको पुनरावेदन परी पेश हुन सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।
२. विपक्षी मध्येको उदयराज प्रेमराज मेरो साला नाताका हुन रणकुमारी मेरो सासु हुुनुहुन्छ । रणकुमारीका पति रणबहादुर गुरुङ जीवित अवस्था रणकुमारीको छोरी एवं उदयराज, प्रेमराजकी दिदी लक्ष्मीदेवी गुरुङलाई २०२५ साल आश्विन महीनामा मेरो साथ विवाह गरिदिनु भएकोले आफ्नु छुट्टी पूरा गरी नोकरी गरेको बृटिश फौजमा हाजिर हुन हङकङ जान लाग्दा लक्ष्मीदेवीलाई साथै हङकङ लिई गएको थिएँ । मैले नोकरीबाट आर्जन गरेको रुपैयाँबाट ३० तोला सुन किनी गहनाको रुपमा परिणत गराई २०३० साल आश्विनमा छुट्टिमा आउँदा लक्ष्मीदेवीले आफ्नो शरीरमा लगाएको गहना २०३० सालमा छुट्टी पूरा गरी म हाजिर हुन हङकङ जान लाग्दा लक्ष्मीदेवीले केही महीना माइतमा बस्ने इच्छा गरेकी र विपक्षी रणकुमारीले पनि भन्नु भएकोले गहना सहित लक्ष्मीदेवीलाई विपक्षीकै घरमा छोडी म हङकङ गएँ । २०३१ साल जेष्ठ महीनामा लक्ष्मीदेवीलाई झिकाई पठाउँदा लक्ष्मीदेवी हङकङ गइन तर गहना मध्ये नौ तोला सुनका चुरी थान ६ बाहु तोला सुनको सिक्री लकेट सहित २ तीन तोला सुनको रिङ थान ४ सवा तोला सुनको टप जोर १ तोला सुनको औंठी एक समेत सवा छब्बीस तोला सुनको गहना माइतमा आमा भाइहरुको जिम्मा छोडी आएको छु भनी जवाफ दिइन । घरमा पुगी सकेको माल फर्काएर लान पर्ने प्रश्नै थिएन ठीकै भयो भन्ने सम्झी बसेको थिएँ त्यसै गरी ०३४ साल बैशाखमा रिटायर भई पेन्सन पाउने गरी घरमा आउँदा पनि आफ्नो भए भरको कमाई मध्येबाटै ४२ तोला सुन किनी गहनाकै रुपमा लक्ष्मीदेवीले लगाएरै नेपालमा उतारेको हो मेरो घर गुल्मी जिल्ला शान्तिपुर गा.पं. मा भएको हुँदा दाजु भाइ पनि फौजमा भएको हुँदा सबैको सल्लाहा अनुसार मदेशमा जग्गा किनी बुटवलमा घर बनाउने योजना भएकोले घर बनी नसकी गहना जहाँ ताहाँ राख्न नमिली लक्ष्मीदेवीले लगाउन सकेजति निजले नै लगाई आएको बाँकी पौने एक्काइस तोला सुनको गहना म आफैले सासु रसाकुमारीलाई जिम्मा ०३४।१।२० मा राख्न दिएको थिएँ सो जति मैले ०३७।१०।१५ मा वापस लिई भर्पाई दिएको छु अरु पौने सोह्र तोला सुनको गहना लक्ष्मीदेवीले लगाउने गर्दथिइन । ०३७।७।७ मा माइतमा भएको गहना लिन जाँदा पनि लगाई गएकी विपक्षी घरमा नआई माइतबाटै गायभ भइन । खोज गर्दा पत्ता लागेन । सुन माग्दा बैंकमा छ भनेकी र उदयराज प्रहरीमा नोकरी गर्ने भेट हुनै मुश्किल हुने लक्ष्मीदेवी पोखरामा छन् भनी सुनी जाँदा गहना माइतमै आमा भाइहरुलाई जिम्मा दिई आएकी छु भनिन् समाज जुटाई छलफल गर्दा ४२ तोला सुनको गहना विपक्षीहरुसंग भएको कुरा उदयराजले समाजमा स्वीकार गरेको र सो मध्ये ३ वटा माला मैले भोलि ०३७।११।१ गतेसम्म बुझाउँछु भनी उदयराजले लिखित भर्पाई समेत गरिदिएका छन् । आफू प्रहरीमा नोकरी गर्न आफ्नो हस्ताबाट लेखिएको मु.ऐन लेनदेन व्यवहारको ४० नं. नासो धरौटका १ तथा ६ नं. ले नासो धरौट मानिने हुँदा अ.बं. ८२ नं. ले उजूर गर्न मलाई हकदैया लाग्ने भई नासो धरौटका ७ नं. को म्यादभित्र फिराद गर्न आएको छु । दिए ४२ तोला सुनको गहना र नदिए सुन तोला १ को रु. २५००।– दरले हुने मोल बिगो रु. १०५०००।– विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत देवनारायण गुरुङको फिराद ।
३. वादीको सम्पूर्ण दावी झुठ्ठो हो । दावी अनुसारको सुन नगद बुझाउन बाँकी छैन । ०३१ सालको र ०३७ सालको सुन गहनाको लिखत छैन । तीन मालाको लिखत कागज गरेको नासो धरौटको १ नं. को अभिप्रायको कागज होइन । वादी दावी असत्य हुँदा खारेज होस् भन्ने रणकुमारी गुरुङ, प्रेमराज गुरुङ, उदयराज गुरुङ समेत जना ३ को एउटै प्रतिउत्तरपत्र ।
४. २०३७।७।१५ को सक्कल भर्पाई सुनाई देखाउँदा देखे सो भर्पाईमा लेखिएका सुन तोला २१ तोला ६ आना प्रतिवादी प्रेमराज उदयराज र निजको आमा रणकुमारी समेतले उक्त मितिमा मलाई बुझाउनु भएकोले सो बुझेको भर्पाई लेखी दिएको हुँ । सो भर्पाई सद्दे हो । अरु नासो प्रतिवादी जिम्मा हुँदा दिलाई पाउँ भन्ने देवनारायण गुरुङको बयान, आमा भाइलाई राख्न दिएको गहना निज देवनारायणले बुझी भर्पाई गरिदिनु भएको छ । मैले लगाएको ४ तोला एकसरो गहना पछि झगडा हुँदा देवनारायणलाई दिएकी हुन । म जिम्मा र आमा भाइ जिम्मा वादीको कुनै गहना छैन भन्ने समेत लक्ष्मीदेवी गुरुङको बयान ।
५. देखाइएको भर्पाई मलाई जबरजस्ती गराएको हो । जबरजस्ती गराए पनि ०३७।११।११ मा ३ माला सुन म उदयराजले देवनारायणलाई बुझाएको हुँ । भर्पाई दिएनन् हामीसंग वादीको कुनै गहना नासो छैन । जो भएको गहना ०३७।७।१५ मा बुझी भपाई गरिदिनु भएको छ । बाँकी भएको भए सो भर्पाइमा जनिनु पर्ने हामीले वादीको गहना तिर्न बुझाउन बाँकी छैन भन्ने प्र.वा.प्रज्वलकुमार पर्छाईको बयान ।
६. लक्ष्मीदेवीले पटक पटक गरी माइतमा लगी राखेको सुन मध्ये २१ तोला ६ आना ०३७।७।१५ मा बुझी भर्पाई गरिदिएको छु । अरु उदयराजले ३ माला सुनका गहना मैले चलाएको छु भनी छलफल हुँदा भनेकाले ०३७।११।११ मा बुझाउँछु भनी उदयराजले आफ्नो सोहस्ताबाट भर्पाई लेखी दिएका हुन । जबरजस्तीबाट गराएको होइन दावी बमोजिम दिलाई पाउँ भन्ने वादी देवनारायण गुरुङको बयान ।
७. वादी प्रतिवादीको साक्षीको बकपत्र भई मिसिल संलग्न रहेको रहेछ ।
८. वादी दावी अनुसार प्रतिवादीहरुले ४२ तोला सुन बुझाउन पर्ने देखिन आएकोबाट वादी दावी अनुसार रु. १०५०००।– एल लाख पाँच हजार समेत दिलाई भराई पाउने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको फैसला ।
९. सो फैसलामा चित्त बुझेन उक्त फैसला अ.बं. १८४ को सिद्धान्त प्रतिकूल छ । अतः एवं शुरु फैसला बदरभागी हुनु पर्छ भन्ने समेत रणकुमारी गुरुङ, उदयराज गुरुङ र प्रेमराज गुरुङ समेतको प.क्षे.अ. मा पर्न आएको संयुक्त पुनरावेदन ।
१०. यसमा ०३७।७।१५ गतेको भर्पाइबाट सुन जम्मा २१ तोला ६ आना भन्ने देखिँदा शुरुको इन्साफ फरक पर्ने भएबाट अ.बं. २०२ नं. र क्षे.अ.नि. २०३६ बमोजिम विपक्षीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत प.क्षे.अ. डिभिजनबेञ्चका २०४३।३।२२ को फैसला आदेश ।
११. ४२ तोला सुन तिर्नु बुझाउनु पर्ने भई २१ तोला ६ आना सुन पहिले नै मिति २०३७।७।१५ मा वादी देवनारायण गुरुङले बुझी लिई भर्पाई गरी दिएको देखिन आएकोले निज वादीले प्रतिवादीबाट २० तोला १० आना सुनको बिगो वादी दावा बमोजिम प्रति तोला रु. २५००।– का दरले भरी पाउने ठहर्छ । २१ तोला ६ आना कट्टी गरी बाँकी विगोसम्म वादीलाई भराई दिनु पर्नेमा सो समेत दिलाउने भराउने गरेको हदसम्म शुरुको फैसला गल्ती भई उल्टी हुन्छ भन्ने प.क्षे.अ. को फैसला ।
१२. प.क्षे.अ. को फैसलामा नासो धरौटको १ र १८ नं. प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको रणकुमारी गुरुङ समेतका यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र र प्रमाण ऐन, २०३१ को दफा ५४ सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत हुने गरी प.क्षे.अ. बाट भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको देवनारायण गुरुङको यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।
१३. प.क्षे.अ. को इन्साफमा नासो धरौटको १ नं. को त्रुटिपूर्ण व्याख्या भएको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ । यसै लगाउको मुद्दामा पुनरावेदनको अनुमति पाइसकेको हुँदा यसमा पनि पुनरावेदनको अनुमति प्रदान गरेको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।
१४. उक्त फैसलामा गम्भीर कानुनको व्याख्या सम्बन्धी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत रणकुमारी गुरुङ, उदयराज गुरुङ र प्रेमराज गुरुङ समेतको निवेदन परेकोमा नासो धरौटको १ नं. को त्रुटिपूर्ण व्याख्या भएको देखिँदा न्याय प्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको २०४४।३।२५ को आदेश ।
१५. प.क्षे.अ. को फैसला प.क्षे.अ. मार्फत देवनारायण गुरुङको परेको पुनरावेदन पेश हुन आएकोमा अनुमति बेगर लाग्न सक्ने नदेखिएकोले प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । यो निर्णय सूचना पाएको मितिले ७ दिनभित्र सम्बन्धित पक्षले पुनरावेदन गर्ने अनुमति पाउँ भनी कानुन बमोजिमका निवेदन दिए लिई कानुन बमोजिम गर्न मिसिल बुझाई दिनु भन्ने सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४६।२।२२ को आदेश ।
१६. उक्त आदेशानुसार प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादी देवनारायण गुरुङको निवेदनमा यसै मुद्दामा प्रतेवादीहरुले नि.नं. ९१० मा अनुमति पाइसकेको हुँदा प्रस्तुत मुद्दामा पनि पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको ०४६।३।१२ को आदेश ।
१७. प.क्षे.अ. को फैसला उपर सर्वोच्च अदालतमा पठाउने गरिदिएको पुनरावेदन प.क्षे.अ. मा दर्ता गर्दा कै अवस्थामा उक्त पुनरावेदन लाग्ने नलाग्ने के हो जाँची स.अ.नि., २०२१ को नियम ८८ बमोजिम बेरित भए जति कुरा लेखी निस्सा दिएको देखिन्न । मौकामा सो पुनरावेदन लाग्दैन भनी प.क्षे.अ. ले लेखी दिएको भए, पक्ष पुनरावेदनको अनुमतिमा आउने समय र बाटो थियो, तर प.क्षे.अ. ले सो गरेको पाइएन । अदालतको गल्तीले पक्षको हकमा असर पार्न न्यायसंगत नहुने र अदालतले भूल गरे पक्षको दोष नहुने भन्ने सिद्धान्त फौ. ७७ को हकमा हु.प्र. ले अमृतलाल भएको जालसाजी मुद्दामा र फु.दे. ८७।४६ इन्द्रमाया वि. गन्जसिं भएको जग्गा जालसाजी मुद्दामा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । साथै समानस्तरको संयुक्तइजलासबाट पुनरावेदनको अनुमतिको निवेदन दिए लिई दिनु भन्ने आदेश भई पुनरावेदनको अनुमति समेत संयुक्तइजलासबाट वादीले पाएकोले पुनरावेदनको अनुमति बमोजिम परेको पुनरावेदन हेर्न मिल्दैन भन्न मिलेन । अब उक्त पुनरावेदन तर्फ हेर्दा वादीले २०३७।७।१५ मा विपक्षीहरुबाट २१ तोला ६ आना सुन बुझेको भनी भर्पाई गरिदिएको पाइन्छ । उक्त भर्पाई ४२ तोला बाहेकको सुनको भर्पाई हो भन्ने वादी पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा सो भर्पाई फलाना मितिमा राखेको सुनको भर्पाई हो भन्न वादीले कुनै तथ्ययुक्त भरपर्दो सबूद निस्सा पेश गर्न नसकेकोले विवादको सुन बाहेक अन्य सुनको भर्पाई हो भन्न नमिल्ने हुँदा वादीले बुझेको भर्पाई बमोजिमको सुन कट्टी गरेको मिलेन भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अब प्रतिवादी पुनरावेदक तर्फको जिकिर हेर्दा प्र.उदयराजले ४२ तोला सुन मध्ये छुट्टै मेरो जिम्मामा रहेको ३ वटा माला मैले भोलि २०३७।११।११ गते भित्र बुझाउने छु भनी भर्पाई गरेको पाइन्छ । नासो धरौटको महलको १ नं. मा गैह्र माल नासो वा धरौट राख्दा नगद, सुन, चाँदी, जुहारत बाहेक दुई सय रुपैयाँसम्म मोल जाने माल रसिद भर्पाई नगरीकन पनि साक्षी राखी लिन दिन गर्नु हुन्छ । नगद, सुन, चाँदी, जुहारात र दुई सय रुपैयाँ देखि बढी मोल जाने अरु माल दिंदा रसिद भर्पाई गराई मात्र दिनुपर्छ सो बमोजिम रसिद भर्पाई नगराई दिएकोमा नालेश लाग्न सक्दैन भन्ने लेखिएको पाइन्छ । अघि आफूले उक्त सुन माला लिएको कुरा स्वीकार गर्दै उक्त सुन माला जिम्मामा लिएको कुरा दर्शाई प्र.उदयराजले लिखत समेत गरिदिएकोेले नासो धरौटको महलले अपनाएको तत्व (Ingredient) पूरै भएको देखिँदा नासो धरौटको १ नं. को त्रुटि भएको मान्न मिलेन । अब के कति नासो धरौट राखेको रहेछ भनी हेर्दा उक्त भर्पाईबाट ४२ तोला सम्पूर्ण सुन नासो धरौट प्र.उदयराजको जिम्मामा रहेको कुरा सो भर्पाईबाट देखिनन् । निजको जिम्मामा सुनको ३ माला रहेको पाइन्छ । उक्त माला कतिको रहेछ भनी हेर्दा वादीले सो कुरा आफ्नो फिरादपत्रमा लेख्न सकेको पाइन्न । प्रतिउत्तरपत्र हेर्दा उक्त माला ३ तोला भन्ने देखिन्छ । उक्त मालाको रुपैयाँ दिए भन्ने प्रतिवादीको भनाई भए पनि सोको प्रमाण प्रत्येवादी उदयराजले दिन सकेको पाइन्न । अतः आफ्नो जिम्मा नासोमा रहेको तीन सुनको माला अर्थात ३ तोलाबाट प्रतेवादी उदयराज उन्मुक्त हुन सक्दैन । ३ तोला मालाको बाहेक अन्य सुनको लिखत भर्पाई देखिन्न । त्यस्तो सुन जिम्मा लिएको अन्य प्रतिवादीको भर्पाई लिखत छ भनी वादीले प्रस्तुत गरेको पनि देखिन्न । दुई सय रुपैयाँ देखि बढी मोलको सुन भर्पाई बिना पक्रन एवं भराउन पनि मिल्दैन । अतः ३ तोला सुन वादीले प्रतिवादी उदयराज गुरुङबाट पाउने ठहर्छ, प.क्षे.अ. ले २१ तोला भराउने गरेको मिलेन केही गल्ती भई उल्टी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय ।
१८. प्रस्तुत मुद्दामा यस अदालतबाट मिति २०४६।२।२२।१ मा भएको आदेश हेर्दा कानुनले नलाग्ने पुनरावेदन दर्ता गर्न ल्याएकोमा सो परेको पुनरावेदन कानुनले लाग्ने नलाग्ने के हो रीत पुगेको छ छैन हेरी यदी कानुनले नलाग्ने पुनरावेदन दिन ल्याएको भए स.अ.नि. को नियम ८८ बमोजिम बेरित भएजति कुरा निस्सा लगाई दरपीठ गरिदिनु पर्ने सो बमोजिम नगरी पुनरावेदन दर्ता गरी चढाएको देखिँदा अब यो निर्णय सूचना पाएको मितिले ७ दिन भित्र सम्बन्धित पक्षले पुनरावेदन गर्न अनुमति पाउँ भनी कानुन बमोजिमको निवेदन दिइ लिई कानुन बमोजिम गर्नु भनी लेखिएको सोही आधारमा निवेदक वादी देनारायण गुरुड्डको निवेदनपत्र यस अदालतमा परी दर्ता भएकोमा यसै मुद्दाका प्रतिवादीहरुले नि.नं. ९१० मा अनुमति पाइसकेको हुँदा प्रस्तुत मुद्दामा पनि पुनरावेदनको अनुमति दिइएको छ भनी २०४६।३।१२।२ मा आदेश भई पुनरावेदन दर्ता भएको देखिन्छ । प्रस्तुत मुद्दामा विचार गर्दा अधिकार क्षेत्र सम्बन्धी कुराहरु लगायत कानुनमा भएका व्यवस्थाहरु कानुनले जाने बुझेकै अनुमान गर्छ भनी फु.रि. ३८ रोगाही विरुद्ध मानबहादुर मुद्दा बटैयावाली भराई जग्गा निस्कासन गरी पाउँ भन्ने मुद्दामा २०२९।१०।२०।६ मा फु. ०३०।२०२, २०३०।३२८ मा सिद्धान्त प्रतिपादित भइराखेको देखिनाले यस अदालतबाट भएको मिति २०४६।२।२२ को निर्णय उक्त सिद्धान्त विपरीत हुँदा पुनरावेदनको अनुमति दिन मिलेन, खारेज हुने ठर्हछ । अब पुनरावेदक प्रतिवादी मध्येका उदयराज गुरुड्डले मिति २०३७।११।११ मा सुन बुझाउँछु भनी भर्पाई लेखिएको देखिन्छ । प्रतिवादीले वादीलाई ४२ तोला सुन तिर्न बुझाउन पर्नेमा २१ तोला ६ आना सुन मिति २०३७।७।१५ मा वादी देवनारायणले बुझी भर्पाई गरिदिएको देखिनाले प्रतिवादीहरुलाई २० तोल १० आना सुनको बिगो भराउने गरेको प.क्षे.अ. को फैसला कानुनी त्रुटि नदेखिंदा मनासिब ठहर्छ । मा.न्या. श्री त्रिलोकप्रताप राणाको रायसँग सहमत नभएकोले स.अ.नि. को नियम ३३(क) बमोजिम पूर्णइजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भएको सर्वोच्च अदालत संयुक्तइजालसको २०४६।९।२४ को फैसला ।
१९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लोकभक्त राणाले प्रत्यवादी मध्येका उदयराजले २०३७।११।१० मा माग गरिदिएको भर्पाईमा ४२ तोला मध्ये ३ माला मेरो जिम्मा रहेको भोलि बुझाउँला भनी भर्पाई गरिदिएकोछ । देवनारायणले २१ तोला सुन बुझी भर्पाई गरिदिएको छ । सो लिखतहरु र प्रतिउत्तरबाट ४२ तोला सुन लिएको प्रमाणित हुन्छ । ६३ तोला सुनमध्ये २१ तोला सुन बुझेको हो । विपक्षीले गरिदिएको भर्पाई पछिल्लो मितिको भएको, त्यसमा ४२ तोला सुन उल्लेख छ । मौकामा लिखत नभएको पछि लिखत भएकोमा मान्यता नहुने होइन । प्रतिवादीले गरी दिएको लिखतलाई स्वीकार गरेको छ । नासो धरौट नभएको भन्न मिल्दैन । धरौट लिएकै नभए भर्पाईमा ४२ तोला सुन लेख्नु पर्ने प्रश्न उठ्दैन । उदयराज र अन्य प्रतिवादीहरु सगोलमा रहेको छ । तसर्थ वादी दावी बमोजिम सुनको बिगो प्रतिवादीहरुबाट वादीले भरी पाउनु पर्छ भन्ने समेत बहस गर्नु भयो ।
२०. विपक्षी प्रतिवादीहरु तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले क्षेत्रीय अदालतको फैसला उपर अनुमति बेगर पुनरावेदन लाग्ने व्यवस्था छैन । अनुमति बेगर परेको पुनरावेदन खारेज गरी अनुमतिको लागि निवेदन दिन म्याद दिएको कानुनले मिलेको छैन । लिखत नभई नालेश लाग्नै सक्दैन । फिरादको प्रकरणको अन्तिममा विश्वासमा राख्न दिएको भनी उल्लेख छ । ४२ तोला सुन बाँकी देखिनन् । सम्बन्ध विच्छेद मुद्दाबाट पनि ४२ तोला सुन बाँकी भन्ने देखिँदैन । उदयराजको लिखतलाई मान्ने हो भने पनि ३ वटा माला भन्दा बढी दिलाउन मिल्दैन भन्ने समेत बहस गर्नु भयो ।
२१. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनको बाटो नआई पुनरावेदन गरेकोमा सो पुनरावेदन खारेज गरी अनुमतिको लागि निवेदन दिन पाउने म्याद दिएको कानुनले मिलेको छैन भन्ने समेत आफ्नो बहसमा प्रश्न उठाउनु भएको पाइन्छ । त्यसतर्फ हेर्दा प.क्षे.अ. को फैसला उपर वादी देवनारायणले सोही अदालत मार्फत यस सर्वोच्च अदालतमा पुनरावेदन गरेको देखिन्छ । तर क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति बेगर प्रस्तुत मुद्दामा सिधा पुनरावेदन लाग्ने अवस्था छैन । उक्त पुनरावेदन दर्ता गर्न ल्याउँदाको अवस्था पुनरावेदन लाग्ने नलाग्ने हेरी लाग्ने भए दर्ता गर्नु पर्ने र नलाग्ने भए सोही व्यहोरा खुलाई दरपिठ गरी पुनरावेदन फिर्ता दिनु पर्ने थियो । प्रस्तुत मुद्दामा दिन ल्याएको पुनरावेदन लाग्ने नलाग्ने तर्फ विचारै नगरी दर्ता गरी सर्वोच्च अदालतमा पठाएको र नियम बमोजिम पेश हुँदा सर्वोच्च अदालत संयुक्तइजलासबाट सो पुनरावेदन खारेज हुने ठहर्छ । सूचना पाएको मितिले ७ दिनभित्र पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिए ली कानुन बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति ०४६।२।२२ मा आदेश भएको पाइयो । मौकैमा अर्थात पुनरावेदन दर्ता गर्न आउँदा पुनरावेदन नलाग्ने भनी दरपिठ गरिदिएको भए उसैबखत पक्षले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिने कानुनी बाटो अवलम्बन गर्ने मौका पाउने थियो । तर सो केही विचार नगरी अदालतको गल्तीले नलाग्ने पुनरावेदन दर्ता भएको पाइन्छ । सो पुनरावेदन कानुनले कायम नरहने भई सो पुनरावेदन खारेज मात्र गरिदिंदा पक्षको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिन पाउने हक समाप्त हुन जाने हुन्छ । साथै पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिन समय नदिने हो भने अदालतको गल्तीले पक्षको म्याद गुज्रन गई पक्षलाई मर्का पर्न जाने हुन्छ । तसर्थ नलाग्ने पुनरावेदन खारेज गरी ७ दिन भित्र पुरनवेदनको अनुमति पाउँ भन्ने निवेदन दिन ल्याए लिने गरेको संयुक्तइजलासको आदेशलाई अन्यथा भन्न सकिने स्थिति रहेन । तत्पश्चात उक्त आदेशानुसार परेको निवेदनको आधारमा पुनरावेदनको अनुमति भएकोलाई कानुन सम्मत मान्नु पर्ने हुन्छ । तसर्थ यस सम्बन्धमा विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन ।
२२. अब मुद्दाको औचित्य तर्फ विचार गर्दा उदयराजको भर्पाईबाट ४२ तोला सुनको गहना विपक्षी कहाँ रहेको स्वीकार गर्दै त्यस मध्ये ३ थान माला आफूले जिम्मा राखेको कुरा प्रष्ट किटिएको हुँदा लेनदेन व्यवहारको ४० नं. नासो धरौटको १ नं. तथा ६ नं. ले नासो धरौट मानिने त्यस्तो कुरामा नासो धरौटको ७ नं. को म्यादभित्र फिराद गर्न आएको छु । दिए ४२ तोला सुनको गहनाको गहना र नदिए प्रचलित दर सुन तोला १ को २५००।– का दरले जम्मा रु. १०,५०००।– भराई पाउँ भनी उदयराजको भर्पाइलाई आधार बनाई नासो धरौटको १ नं. अन्तरगत प्रस्तुत फिराद परेको देखिन्छ ।
२३. नासो धरौटको १ नं. हेर्दा गैर धनमाल नासो वा धरौट राख्दा नगद, सुन चाँदी जुहारात बाहेक दुईसय रुपैयाँसम्म मोल जाने रसिद भर्पाई नगरीकन पनि साक्षी राखी लिनदिन गर्न हुन्छ । नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल दिंदा रसिद भर्पाई गराई मात्र दिनुपर्छ । जो बमोजिम रसिद भर्पाई नगराई दिएकोमा नालिश लाग्न सक्दैन भन्ने लेखिएको छ । यसबाट नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने नासो धरौट राख्दा रसिद भर्पाई गराई मात्र दिन पर्ने व्यवस्था गरेको पाइन्छ ।
२४. प्रस्तुत मुद्दामा वादीले प्रतिवादीहरु जिम्मा राख्न दिएको सुनका गहना समेतको लिखत भर्पाई छ भनी वादी तर्फबाट पेश दाखिल हुन सकेको छैन । वादीले आफ्नो फिरादमा आधार लिएको उदयराजको भर्पाई कागज हेर्दा ४२ तोला सुन मध्येबाट छुट्टै मेरो जिम्मामा रहेको ३ वटा माला मैले भोलि मिति २०३७।११।११ गते भित्र बुझाउने छु भनी भर्पाई गरिदिएको छ भन्ने व्यहोरा लेखिएको पाइन्छ । तर ४२ तोला सुन जिम्मा लिएको भन्ने खुल्दैन । ४२ तोला सुन मध्येबाट ३ ओटा माला जिम्मा रहेको भन्ने सम्म देखिन्छ । ४२ तोला सुन प्रतिवादीहरु कस कससंग कति कति जिम्मा रहेको हो सो भर्पाईमा उल्लेख भएको पाइँदैन । त्यसरी प्रतिवादीहरु जिम्मा भन्ने नखुलेको भर्पाई कागजबाट प्रतिवादीहरु जिम्मा ३ वटा माला बाहेक अरु सुन नासो धरौट रहेको बाँकी छ भनी मान्न मिल्दैन । वादी देवनारायणले प्रतिवादी जिम्मा रहेको सुन २१ तोला ६ आना फिर्ता बुझी गरिदिएको भर्पाई भनी प्रतिवादी तर्फबाट पेश भएको कागजमा परमराज गुरुङको दिदीले राख्न दिएको सुनको गहना थान दुई र काँचो सुन १६ तोला भएको जम्मा २१ तोला ६ आना बुझी लिएको भन्ने उल्लेख भएको छ । तर सो भर्पाईमा उल्लेख भएको सुन विवादको सुन बाहेकको अरु सुन भन्ने तथ्ययुक्त सबूद प्रमाण वादीले खुलाउन सकेको छैन । प्रतिवादी मध्येका उदयराजले आफ्नो जिम्मा ३ माला रहेको भनी भर्पाई गरी दिएको सो भर्पाई बमोजिमको माला वादीलाई बुझाई सकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण प्रतिवादीले खुलाउन सकेको पनि छैन । सो माला ३ बाहेक अरु सुन प्रतिवादीहरु जिम्मा बाँकी रहे भएको तथ्ययुक्त लिखत प्रमाण वादीबाट पेश हुन नसकेकोले सो सुनको माला ३ बाहेक अरु सुन वादी दावी बमोजिमको प्रतिवादीहरु जिम्मा नासो धरौट रहेको भन्न लिखत प्रमाण बेगर न्यायको दृष्टिले मिल्ने देखिन आएन । तसर्थ तीन सुनको मालाको एक मालाको १ तोलाको दरले जम्मा ३ तोला सुनको वादी दावी बमोजिम प्रतितोलाको रु. २५००।– ले हुने रु. ७५००।– सात हजार पाँचसय रुपैयाँ वादीले प्रतिवादी उदयराज गुरुङबाट भरी पाउने ठहर्छ सो बमोजिम ठहराएको सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब ठहर्छ । दावी बमोजिम सुन भराई पाउनु पर्छ भन्ने वादीको र तीर्न बुझाउनै नपर्ने भन्ने प्रत्यवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२५. प.क्षे.अ. ले २१ तोला सुन भराउने गरेको इन्साफ केही गल्ती ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले शुरु र प.क्षे.अ. का फैसलाले कसिएको देहाय बमोजिमको लगत काटी दिनु भनी रुपन्देही जि.अ. मा लेखी पठाउन काठमाडौं जि.अ. मा लगत दिनु ............१, रुपन्देही जि.अ.का ०४१।७।२६ का फैसलाले वादीलाई प्रतेवादीको बिगो रु. १०५०००।– र कोर्टफी अरु दस्तूर रु. ३३८९।– समेत जम्मा रु. १०८३८९।– भराउने गरेको सो भरी भराउ गर्नु नपर्ने हुँदा लगत काटी दिने कलम ........१
प.क्षे.अ. का ०४३।१०।१८ का फैसलाले वादीलाई प्रतेवादीहरुबाट बिगो रु. ५१५६२।५० भराउने गरेको र रुपन्देही जि.अ. मा धरौट रहेको कोर्टफी रु. ३८७५।५० मध्येबाट रु. १९०९।– वादीलाई र बाँकी रु. १९६६।५० प्रतेवादीहरुलाई फिर्ता दिने गरेकोमा सो बमोजिम गर्नु नपर्ने हुँदा लगत काटिदिने कलम ...............१
माथि इनसाफ खण्डमा लेखिए बमोजिम ठहरेकोले सुनको माला ३ को १ मालाको १ तोलाको दरले जम्मा तोला ३ तीनको दावी बमोजिम तोला १ को रु. २५००।– का दरले जम्मा बिगो रु. ७५००।– सात हजार पाँच सय प्रतेवादी उदयराजबाट भराई पाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे कानुन बमोजिम दस्तूर लिई वादीलाई दिनु भनी काठमाडौं जि.अ. मा लगत दिनु ............२
फिराद गर्दा राखेको कोर्टफी रु. ३३७०।– मध्ये भरी पाउने ठहरेकोले उक्त बिगो रु. ७५००।– को हुने कोर्टफी रु. ३७५।– प्रतेवादीहरुबाट भरी पाउने हुँदा भराई पाउँ भनी वादीको दर्खास्त परे प्रतेवादीहरुले शुरु उपर रुपन्देही जि.अ. मार्फत प.क्षे.अ. मा पुनरावेदन गर्दा मिति ०४३।८।२८ मा रुपन्देही जि.अ.मा रु. ३३७०।– धरौट राखेको देखिँदा सो धरौट रहेकोबाट उक्त कोर्टफी रु. ३७५।– वादीलाई भराई दिने बाँकी रु. २०९५।– रुपैयाँ प्रतेवादीहरुलाई कानुनको रीत पुर्याई फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु .........३, मिसिल नियम बमोजिम गरी बुझाई दिनु .........४
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.केशवप्रसाद उपाध्याय,
न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०४९ साल आषाढ १८ गते रोज ५ शुभम् ।