शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५१५ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक:

निर्णय नं. ४५१५    ने.का.प. २०४९ ()  अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४६ सालको फौ.पु.नं. ३४४

फौ.सा.नं. १९५

फैसला भएको मिति  :     २०४९।३।१४।१ मा

पुनरावेदक/प्रतिवादी: झापा कारगारमा रहेको चक्रबहादुर प्रधान

विरुद्ध

विपक्षी/वादी: लिलाप्रसाद गौतमको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा अभियुक्तको प्रमाण रहितको इन्कारीले मात्र सफाइको भूमिका निर्वाह गर्छ भन्न मान्न मिल्दैन किनकी इन्कारी प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ अन्यथा इन्कारीले मात्र निर्दोषिताको पहिचान गर्न युक्तिसंगत नहुने ।

(प्रकरण नं. २९)

(२)   कर्तव्य ज्यान मुद्दामा परिबन्दात्मक परिस्थितिलाई अन्यथा गरी कानुन बमोजिम नै सजायँ गर्दा न्यायिक दृष्टिकोणबाट चर्को पर्न जाने हुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने ।

(प्रकरण नं. ३१)

(३)   कुनै पूर्व रिसइवी रहे भएको देखिन नआएको, मार्ने कृयामा संलग्न सम्म भएको स्थिति अवस्थामा जन्मकैद सजायँ गर्दा न्यायिक दृष्टिबाट चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुने ।

(प्रकरण नं. ३३)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना

प्रत्यर्थी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री अलिअकबर मिकरानी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    धनेन्द्रबहादुर श्रेष्ठको मिलमा काम गर्ने कृष्णबहादुर विश्वकर्मा २०४२।२।१२ गते सोही मिलदेखि मुनि गाँजा बारी भन्ने ठाउँको पँधेरो माथि पाटको नाम्लाको बरियाको पासो बनाई दतिउनको गाछिमा झुण्डी मरी राखेको अवस्थामा गाउँकै सावित्रा मगरले देखी हल्ला गरेकीले गै हेर्दा झुण्डी रहेको देखिँदा जाहेर गर्न आएको छु, लाश जाँच जे जो गर्नु पर्ने गरी पाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३.    लाश जाँच गर्दा दायाँ कान मुनि डोरीको सुर्काउने गाठो, गाठो रहेको ठाउँमा कुनै निलडाम र मासु समेत सारो नभएको किलकिलेमा डोरी गाडिएको डाम देखिएको, देब्रे करंगमा दुधदेखि केही तल ५ इन्ची लम्वाई १ इन्च चौडाइको निल भएको, नाइटो देखि तल दायाँ बायाँ लिड्डसम्म हरियो निलो निल परेको देखिएको अण्डकोषमा ठाउँ ठाउँमा घोचे जस्तो सानो सानो आलो घाउ देखिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    २०४२।२।१२ गते बेलुका अं. ३/४ बजेको समयमा मृतक कृष्णबहादुर विश्वकर्मा मेरो घरमा आई ३ सेर जाँड किनेर केही गाँजावारीकै दमिनीहरुलाई पनि खान दियो र आफूले पनि खायो जाँड खाँदै गर्दा चक्रबहादुरकी श्रीमतीलाई मैले राखी सकेको छु म निजलाई नलगी छाड्दिन भनी गफ गर्‍यो । बेलुका ४/३० बजेतिर गाँजावारी तिर निस्केको थियो भोलिपल्ट झुण्डी मर्‍यो भन्ने सुनी हेर्दा लाश रुखमा झुण्डी राखेको देखें । निजलाई कसैले केही गरे वा आफैं झुण्डीयो मलाई थाहा छैन भन्ने समेत आइतबहादुर फागुको कागज ।

५.    झुण्डिएर (homicidal hanging) स्वास बन्द भई मरेको भन्ने पोष्टमार्टम प्रतिवेदन ।

६.    चक्रबहादुर प्रधानको जेठी श्रीमतीसंग कृष्णबहादुरको प्रेम सम्बन्ध रहेको कुरा गाउँमा हल्ला भई चक्रबहादुरको बेइज्जत हुने भयो कामीलाई यहाँ राख्नु भएन भनी मिल मालिकले पनि निजलाई बिदा गरेको, , ४ दिन पछि कृष्णबहादुर फेरि गाउँमा आई प्रधाननीलाई नलिई जान्न भनी घुम्न थालेपछि समाजले कृष्णबहादुरलाई गाउँमा नबस्नु भनी मिलापत्र कागज गराई बिदा गरी पठाएको थियो । २०४२।२।१२ गते २.३० बजे कृष्णबहादुर म काम गरिरहेको ठाउँमा आई आज मेरो र प्रधाननीको हिड्ने सल्लाह भएको छ यो चिठ्ठी लगी दिनु भन्यो, म काम गरिरहेको जान्न भनी काम गर्न शुरु गरें बेलुकी धारामा पानी लिन जाँदा कृष्णबहादुर त्यहीं आई लोकबहादुर आलेको घरतर्फ जान्छु भनी गयो । साँझ ७ बजेतिर मिल मालिकको छोरासंग भेट भई साइला कामी आएको छ भनी सुनाएँ, चक्रबहादुरलाई बोलाउन पठायो, म साइला मुखिया कहाँ गई सो कुरा सुनाई फेरि मिलमा आउँदा चक्रबहादुर प्रधान, गोपाल दाहाल, यामबहादुर प्रधान, पारस श्रेष्ठ समेत भेला भएको थियो, मैले सबै कुरा सुनाएँ । भोलिपल्ट बिहान कामी साइला झुण्डी राखेको छ भन्ने हल्ला सुनी हेर्दा झुण्डेको देखें, मेरो आत्माले आफैं झुण्डी मरेको जस्तो लागेन, चक्रबहादुरले नै मारी मराई झुण्ड्याएको जस्तो लाग्छ भन्ने समेत भैरवबहादुर मगरको कागज ।

७.    २०४२ साल जेष्ठ १२ गते बेलुका काइला मगर भन्ने भैरवबहादुर मगर मिलको चटालमा आई म, मालिकको छोरा किशोर श्रेष्ठ, पारस श्रेष्ठ गोपाल दाहाल, यामबहादुर प्रधान र गंगाबहादुर लामा मगर समेत भएको ठाउँमा गै आज साइला कामीले प्रधाननीलाई चिठ्ठी लगेर देऊ प्रधाननीलाई आज लाने दिन छ भनेको मैले मानिन् भनी सुनायो । त्यसपछि यो कामीलाई धुलाई दिनु पर्छ होला फर्की फर्की यसरी बेइज्जत गर्छ भनी सल्लाह गरी राती ९।३० बजे गोपाल दाहाल, मेरै नोकर खुदी दमाई भन्ने भक्तबहादुर दमाई, मेरो साला यामबहादुर प्रधान र भैरवबहादुर मगर र म समेत ५ जना नै कर्णबहादुर राईको पाटाबारीमा कृष्णबहादुर विश्वकर्मालाई फेला पारी लाती मुड्की र लाठ्ठीले हान्दा हान्दै लल्याक लुलुक भयो अब मर्ने भो झुण्डाई दिनु पर्छ भनी झुण्डाई दियो भन्ने समेत चक्रबहादुर प्रधानले प्रहरीमा गरेको साविती बयान ।

८.    २०४२।२।१२ गते राती अं. ९/१० बजे म, चक्रबहादुरको नोकर खुदी दमाई भन्ने भक्तबहादुर दर्जि चक्रबहादुरको सालो यामबहादुर प्रधान र चक्रबहादुर समेत ४ जना भई कृष्णबहादुरलाई पाटाबारीमा भेट्टाई चक्रबहादुरले घाँटीमा समाई लडाई लातीले हिर्काउन थाल्यो, यामबहादुर र मैले भाकभुक हिर्कायौ । कुट्दा कुट्दै मरी सकेपछि झुण्डाई दिनुपर्छ भनी झुण्डाएको हो भन्ने समेत गोपाल दाहालले प्रहरीमा गरेको साविती बयान ।

९.    २०४२।२।१२ गते राती चक्रबहादुरले मलाई र गोपाललाई जाऊँ भनी भन्यो कतै घुम्न जाने होला भनी म, चक्रबहादुर, सानबहादुर र गोपाल दाहाल समेत ४ जना तल पानी खाने धारातिर झर्‍यो, धारादेखि माथितिर सखुवाको रुखको फेदमा कृष्णबहादुर बसी राखेको देख्नासाथ चक्रबहादुरले समाती भकाभक लाती मुड्कीले हिर्काउन थाले, त्यसपछि गोपाल र यामबहादुरले पनि हिर्काउन थाले लडाएर कसैले थिच्ने र कसैले घाँटी दाव्ने गरी कृष्णबहादुर मरेपछि झुण्ड्यायो, म छेउमा उभिई रहें । झुण्ड्याउँदा मैले माथि हाँगामा बाँधे भन्ने समेत भक्तबहादुर दर्जीले प्रहरीमा गरेको बयान ।

१०.    कृष्णबहादुरलाई कुटपिट गरी मारी झुण्ड्याउने काममा म सरिक थिइन, मेरो सत्य व्यहोरा ०४२।२।२१ गते नै कागज गरी सकेको छु । चक्रबहादुरले किन पोल गरे म जान्दिन भन्ने समेत भैरवबहादुर मगरले प्रहरीमा गरेको इन्कारी बयान ।

११.    कृष्णबहादुरलाई कुटपिट गरी मारी झुण्ड्याएको भनी अभियुक्तहरुले साविती बयान गरेकोले मारेको भन्ने लाग्यो भैरवबहादुर सरिक थियो थिएन भन्न सकिन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

१२.   कृष्णबहादुरलाई चक्रबहादुर, यामबहादुर र गोपाल दाहालले कुटपिट गरी मारेको र उक्त अवस्थामा भक्तबहादुर दर्जी वारदातस्थानमा उभिई राखेको र कृष्णबहादुर मरी सकेपछि चारैजनाले लाश बोकी झुण्ड्याएको देखिँदा हाल पक्राउ परेका चक्रबहादुर, गोपाल दाहाल र पक्राउन नपरी फरार रहेका यामबहादुर समेतले ज्यानसम्बन्धीको १३(३) नं. को कसूर गरेकाले सोही दफा बमोजिम र भक्तबहादुर दर्जीलाई ऐ. को १७(३) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

१३.   मैले मृतकलाई कुटपिट गरी मारी झुण्ड्याएको होइन । मेरी श्रीमतीसंगको अनुचित सम्बन्धको विषय र मिलबाट मृतकलाई निकालेको कारणबाट म उपर आरोप लगाएको हो । प्रहरीमा गरेको बयान कागज इच्छा विरुद्ध गरेको हो भन्ने समेत प्रतिवादी चक्रबहादुर प्रधानको अदालतमा भएको बयान ।

१४.   प्रहरीले कुटपिट गरी इच्छा विरुद्ध बयानमा सही गराएका हुन् । वारदात मिति समयमा म सुतिरहेको, अरु प्रतिवादीहरुले के गरे भन्न सक्तिन । मृतक मरेको भोलिपल्ट मात्र थाहा पाएको हुँदा झुठ्ठा प्रहरी प्रतिवेदन दावाबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी खुदी दमाई भन्ने भक्तबहादुर दर्जीको अदालतमा भएको बयान ।

१५.   प्रहरीमा भएको कागज कुटपिट गरी इच्छा विरुद्ध गराएको हो । वारदातको समयमा म मिलमा सुतेको हुँदा झुठ्ठा प्रहरी प्रतिवेदन दावाबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी गोपाल दाहालको अदालतमा भएको बयान ।

१६.    अभियुक्त मध्येका यमबहादुर प्रधानका नाउँमा जारी भएको ७० दिने वारेण्ट सहितको म्यादी पूर्जीमा हाजिर नभई फरार भई बसेकाले ०४३।८।४।४ मा निजको अंश सर्वश्व रोक्का भई आएको ।

१७.   जाहेरवाला सरजमीनका मानिसहरु तथा प्रतिवादीहरुका साक्षीहरुको समेत बकपत्र भई मिसिल संलग्न रहेको ।

१८.   प्रतिवादीहरु मध्येका यमबहादुर प्रधानका हकमा हाजिर हुन नआएको र पक्राउ पनि नपरेको हुँदा अ.बं. १९० नं. बमोजिम मुलतबी राखी दिनु । मृतकसंग प्रतिवादी चक्रबहादुरको रिसइवी रहेको र प्र. चक्रबहादुरलाई अन्य प्रतिवादीले साथ लिएको र प्रहरीमा प्रतिवादीहरुले वारदातको घटनाक्रम यथार्थ रुपमा खुलाएको समेतको परिस्थितिजन्य आधार प्रमाणबाट प्रतिवादी चक्रबहादुर, गोपाल दाहालले मृतकलाई कुटपिट गरी झुण्ड्याई मारेको र मृतकलाई मार्ने मत सल्लाहमा प्र.भक्तबहादुर दर्जी पनि पसेको देखिनाले प्र. चक्रबहादुर प्रधान र गोपाल दाहाललाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद र प्रतिवादी भक्तबहादुर दर्जीलाई १७(३) नं. बमोजिम एक वर्ष ६ महीना कैद हुन्छ भन्ने समेत झापा जिल्ला अदालतको मिति २०४३।१२।२५।५ को फैसला ।

१९.    शुरुको इन्साफमा चित्त नबुझेकोले उल्टाई पाउँ भन्ने प्रतिवादी चक्रबहादुर प्रधान, प्र.गोपाल दाहाल र प्र.भक्तबहादुर दर्जीको मेची अञ्चल अदालतमा परेको छुट्टा छुट्टै पुनरावेदनपत्र ।

२०.   प्रतिवादी चक्रबहादुर र गोपाल दाहाललाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र प्रतिवादी भक्तबहादुरको हकमा ऐ. को १७(३) नं. बमोजिम सजायँ हुने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको २०४४।१०।२६।३ को फैसला ।

२१.   शुरु झापा जिल्ला अदालत र मेची अञ्चल अदालतको इन्साफमा चित्त नबुझेकोले उक्त फैसला बदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादी चक्रबहादुर प्रधान र प्रतिवादी गोपाल दाहालको पू.क्षे.अ. मा परेको छुट्टा छुट्टै पुनरावेदनपत्र ।

२२.   प्रतिवादीले पुनरावेदकहरुलाई कसूरदार ठहर्‍याई ज्या.सं. १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको शुरुको सदर गरेको मेची अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पू.क्षे.अ. को ०४६।६।५।५ को फैसला ।

२३.   पू.क्षे.अ. को फैसलामा चित्त नबुझेकोले सो फैसला बदर गरी अभियोगबाट पूर्णरुपले सफाई पाउँ भन्ने समेत प्रतिवादी चक्रबहादुर प्रधानको यस अदालतमा परेको पुनरावेदनपत्र ।

२४.   प्रतिवादीहरुले मृतकलाई झुण्डाई मारेको भन्ने शंकारहित प्रमाणको अभावमा प्रतिवादीहरुले नै मृतकलाई झुण्डाई कर्तव्य गरी ज्यान मारेको ठहर गरेको पू.क्षे.अ. को फैसला नमिली फरक पर्ने देखिएकोले महान्यायाधिवक्ताको कार्यालयलाई अ.बं. २०२ नं. बमोजिम सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालतको २०४८।१०।८।४ को आदेश ।

२५.   नियम बमाजिम पेश भई आएकोमा, पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले मृतक कृष्णबहादुर, चक्रबहादुरको श्रीमती विष्णुकुमारी बीचको अनैतिक सम्बन्धको कारण दर्शाई मेरो पक्षलाई कसूरदार ठहर गरिएको छ । चक्रबहादुरले नै मृतकलाई कर्तव्य गरी मारी झुण्डाई दिएको भन्ने शंकारहित सबूद प्रमाण मिसिल संलग्न कागजबाट देखिँदैन । चश्मदिद कोही छैन केवल प्रहरीमा भएको सावितीलाई नै गडाउ प्रमाणको रुपमा ग्रहण गरिएको छ । प्रहरीमा भएको सावितीले मात्र, ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा दोषी ठहर गर्नु न्यायसंगत हुँदैन । समाजमा बस्ने सामाजिक प्राणी, मानवको सामाजिक प्रतिष्ठालाई पनि तरहबाट खलल पुर्‍याउनु, नैतिक र सामाजिक दृष्टिले उपयुक्त नहुने कारणबाट चक्रबहादुर समेतले समाज राखी मृतकलाई कागज गराएको सम्म हो । यसरी सामाजिक मर्यादा कायम राख्न भएको कागजलाई आधार बनाई मृतकलाई मार्नु पर्ने पूर्व रिसइवी रहेको भन्न न्यायिक दृष्टिले मिल्ने होइन तसर्थ चक्रबहादुरकै कर्तव्यबाट मृतकको मृत्यु हुन गएको भन्ने शंकारहित सबूद वादी पक्षबाट पेश हुन नसकेको, मेरो पक्ष अदालतमा इन्कारी रहेको कारणबाट प्रस्तुत वारदातमा शंकाको स्थिति पर्याप्त रहेको हुँदा शंकाको सुविधा अभियुक्तले पाउनु पर्दछ भन्नु भयो । आफ्नो वैकल्पिक जिकिरमा उहाँले चक्रबहादुरले मृतकलाई मार्नु पर्ने परिबन्दलाई प्रमाणिक रुपबाट अंगालिएको खण्डमा निजलाई अ.बं. १८८ नं. बमोजिम कैदको सजायँमा कटौती हुनुपर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नु भयो ।

२६.   वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानीले कृष्णबहादुरको मृत्यु कर्तव्यबाट भएकोमा विवाद छैन । चक्रबहादुरको श्रीमती विष्णुमाया मृतकको अनुचित सम्बन्ध रहेको, सोही कारण मर्नु पूर्व पनि कृष्णबहादुरलाई गाउँबाट निकाला गर्ने गरी कागज समेत गराएको निजको मृत्युको कारण सोही रिसइवी रहेको हुँदा चक्रबहादुर समेतले कर्तव्य गरी कृष्णबहादुरलाई मारी अपराध छोप्न रुखमा लगि झुण्ड्याई दिएको मिसिल संलग्न प्रमाणबाट देखिन आएको, सोही प्रमाणलाई समर्थन गरी निज पुनरावेदकले प्रहरी समक्ष बयान कागज लेखी दिएको । अदालत समक्षको इन्कारी केवल, इन्कारीको रुपमा मात्र रहेको हुँदा चक्रबहादुर निर्दोष हुन् भन्न सकिने स्थिति अवस्था छैन । तसर्थ निजलाई दावी बमोजिम सजायँ गर्ने गरेको तहगत अदालतको इन्साफ सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नु भयो ।

२७.   पुनरावेदक प्रतिवादी चक्रबहादुर प्रधानको पुनरावेदन जिकिर बमोजिम पू.क्षे.अ. को इन्साफ मनासिब छ छैन हेरी निर्णय दिनु पर्ने हुन आयो ।

२८.   निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दामा कृष्णबहादुर विश्वकर्माको मत्यु कर्तव्यबाट भएकोमा विवाद देखिँदैन । मृतक कृष्णबहादुरको मृत्यु चक्रबहादुर प्रधान समेतको कर्तव्यबाट भएको भनी निज समेत उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने अभियोग प्रतिवेदन रहेको पाइन्छ । मृतक कृष्णबहादुर धनेन्द्रबहादुर श्रेष्ठको मिलमा कामकाज गर्दै आएको, यसै बीचमा चक्रबहादुरको परिवार प्रति लक्षित गर्दै गाली बेइज्जती गरेको कारण, निजहरु बीच ०४२।२।७ मा मिलापत्रको कागज समेत भएको, कृष्णबहादुरले आफ्नो श्रीमती विष्णुमायालाई बेइज्जती समेत गरेको कारण निजलाई धुलाई दिने भन्ने मत सल्लाह गरी गोपाल दाहाल यामबहादुर समेतको मद्दतबाट निजलाई लात मुक्काले हान्दा मरेको हुँदा रुखमा लगि झुण्ड्याई दिएको भन्ने कुरा, चक्रबहादुरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा लेखाई दिएको, चक्रबहादुरले कृष्णबहादुरको घाँटीमा समाई भुइमा लडाई लात्तीले हिर्काउन थालेपछि यामबहादुर र मैले पनि भाकभूक हिर्काएको भनी निज गोपाल दाहालको बयानमा उल्लेख रहेको देखिन्छ । मिसिल संलग्न कृष्णबहादुरको लास जाँच प्रतिवेदन हेर्दा, Cause of death Asophyxia due to homicidal hanging भनी लेखिएको निज पुनरावेदक प्रतिवादी अदालत समक्ष बयान गर्दा, अभियोग उपर इन्कार रहेको पाइन्छ ।

२९.   यसमा कृष्णबहादुर विश्वकर्माको मृत्युको कारण, निज र चक्रबहादुरकी श्रीमती विष्णुमाया बीचको अनुचित सम्बन्ध हो भन्ने कुरा कृष्णबहादुरले विष्णुमायालाई मरणोपरान्त, मिसिल संलग्न रहेको लेखेको पत्रबाट खुल्न आएको छ । कृष्णबहादुरको मृत्यु स्वभाविक रुपबाट भएको भन्ने कुरा लास प्रकृति मुचुल्का लास जाँच प्रतिवेदनबाट पुष्टि हुन सकेको छैन । निजको अस्वाभाविक मृत्युको सम्बन्धमा चक्रबहादुर प्रधान प्रमाणिक तवरले इन्कार रहेको देखिंदैन । निज चक्रबहादुरको साविती बयानलाई गोपाल दाहालको बयान, र अन्य शंकारहित प्रमाणबाट समेत पुष्टि मिल्न गएको पाइन्छ । पुनरावेदक प्रतिवादी अदालत समक्ष आफू उपरको अभियोगमा इन्कार छन् । प्रमाण ऐन, २०३१ को दफा २७ मा सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको पुष्टि गर्ने या प्रमाण पुर्‍याउने भार प्रतिवादीको हुनेछभनी कानुनी रुपमा व्यवस्था भएको देखिन्छ । तर प्रतिवादी चक्रबहादुरले सो बमोजिम आफ्नो इन्कारीलाई प्रमाणित गर्न सकेको पाइदैन । कर्तव्य ज्यान जस्तो संगीन प्रकृतिको अपराधमा अभियुक्तको प्रमाण रहितको इन्कारीले मात्र सफाईको भूमिका निर्वाह गर्छ भन्न मान्न मिल्दैन । किनकी, इन्कारी प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ । अन्यथा इन्कारीले मात्र निर्दोषिताको पहिचान गर्न युक्तिसंगत हुँदैन ।

३०.   फौज्दारी मुद्दामा दावी प्रमाणित गर्ने भार वादी पक्षको हुने भन्ने प्रमाण ऐन, २०३१ को कानुनी व्यवस्थालाई मध्यनजर राखी हेर्दा, चक्रबहादुर र कृष्णबहादुर बीच पारिवारिक कलह रहेको कुरामा विवाद नरहेको, चक्रबहादुरले घाँटी समाती भूइँमा लडाएको र लात मुक्काले हानेको भन्ने कुरा निजको बयान र गोपाल दाहालको बयान समेतबाट खुल्न आएको, लास जाँच प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का समेतबाट पनि कृष्णबहादुरको मृत्यु कर्तव्यबाट भएको पाइँदा चक्रबहादुर उपरको अभियोग प्रमाणित नभएको भन्न मान्न सकिने स्थिति अवस्था नहुँदा कृष्णबहादुरको मृत्यु, चक्रबहादुर समेतकै कर्तव्यबाट हुन गएको पुष्टि हुँदा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ हुने नै ठहर गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको मेची अञ्चल अदालत र पू.क्षे.अ. समेतको फैसला न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्छ ।

३१.   तर पुनरावेदक प्रतिवादी चक्रबहादुरको श्रीमती विष्णुमायासंगको अनुचित सम्बन्धको कारण, परिबन्दबाट कृष्णबहादुर कर्तव्यमा परी मर्न गएकोमा विवाद देखिन नआएको, सामाजिक मर्यादालाई ख्याल राखी, परिबन्दात्मक परिस्थितिको कारणबाट कृष्णबहादुरलाई, चक्रबहादुरले कर्तव्य गरी मारेकोे, मिसिल संलग्न प्रमाणबाट देखिन आयो । कर्तव्य ज्यान मुद्दामा परिबन्दात्मक परिस्थितिलाई अन्यथा गरी कानुन बमोजिम नै प्रतिवादीलाई सजायँ गर्दा न्यायिक दृष्टिकोणबाट चर्को पर्न जाने हुँदा निज पुनरावेदक प्रतिवादी चक्रबहादुर प्रधानलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष दश (१०) सजायँ हुन्छ ।

३२.   प्रस्तुत मुद्दामा अर्का प्रतिवादी, गोपाल दाहाललाई पनि कसूरदार ठहर गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गर्ने गरेको, तर निजबाट यस अदालत समक्ष म्यादभित्र पुनरावेदन पर्न आएको नदेखिएकोले निजको हकमा साधकको तहबाट तहगत अदालतको इन्साफ मिले नमिलेको के रहेछ भनी हेर्दा चक्रबहादुरले कृष्णबहादुरलाई घाँटी समाई भूईमा लडाइसकेपछि मैले पनि कृष्णबहादुरलाई भाकभूक हिर्काएको निजको मृत्यु भएपछि रुखमा लगी झुण्ड्याई दिएको कुरामा निज प्रतिवादी गोपाल दाहाल अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सावित रहेका छन् । कृष्णबहादुरको मृत्युको कारण निज चक्रबहादुर बीचको आन्तरिक कलह भएको, गोपाल दाहाल कृष्णबहादुरलाई कर्तव्य गरी मार्ने कृयामा संलग्न भएको देखिन्छ । कृष्णबहादुर र गोपाल दाहाल बीच पूर्व रिसइवी रहे भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको नपाइएको, चक्रबहादुरको साथमा गई कृष्णबहादुरलाई मार्ने कार्यमा संलग्न सम्म भएको देखिँदा निज कसूरदार होइन रहेछ भन्न मिलेन । अतः निजलाई पनि ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको मेची अञ्चल अदालत र पू.क्षे.अ. को फैसला न्यायसंगत नै हुँदा इन्साफ मनासिब ठहर्छ ।

३३.   तर प्रतिवादी गोपाल दाहाल र मृतक कृष्णबहादुर बीच कुनै पूर्व रिसइवी रहे भएको देखिन नआएको, कृष्णबहादुरलाई कर्तव्य गरी मार्ने कृयामा संलग्न सम्म भएको स्थिति अवस्थामा जन्मकैद सजायँ गर्दा न्यायिक दृष्टिबाट चर्को पर्ने हुँदा निजलाई पनि अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दश सजायँ हुन्छ । तपसील बमोजिम गर्नु ।

तपसील

देहायका प्रतिवादीहरु के इन्साफ खण्डमा लेखिए बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजायँ हुने ठहर भएकोमा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (१०) दशको दरले जनही सजायँ हुन्छ । निजहरु मिति ०४२।२।२९ गतेदेखि प्रहरी हिरासतमा रही ०४२।३।२ गतेदेखि पूर्पक्षका निमित्त कारागारमा थुनामा रहेको देखिँदा कैद वर्ष (१०) दशका दरले जनही लगत कसी असूलीका लागि का.जि.अ. मार्फत सम्बन्धित अदालतमा लगत दिनु ..............१ पू.वे.प्र. चक्रबहादुर , प्रतिवादी गोपाल दाहाल , इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदक प्रतिवादी चक्रबहादुर प्रधान र प्रतिवादी गोपाल दाहालको हकमा कैद वर्ष (१०) का दरले सजायँ हुने भएकोले, कैद वर्ष (२०) बीसको लगत कट्टा गर्नु भनी का.जि.अ. मार्फत सम्बन्धित अदालतमा लगत दिनु...................१, प्रतिवादीहरु कारागारमा रहेको देखिँदा फैसला भएको जानकारी सम्बन्धित कारागार मार्फत दिनु......१, मिसिल नियमानुसार गरी बुझाई दिनु .......१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इतिसम्वत् २०४९ साल आषाढ १४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु