शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५१७ - अंश दाखिल खारेज नामसारी

भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक:

निर्णय नं. ४५१७    ने.का.प. २०४९ ()  अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

सम्वत् २०४७ सालको दे.पु.नं. ३८६

फैसला भएको मिति: २०४९।१।३१।५ मा

पुनरावेदक/वादी: जि.खोटाङ बारापानी गा.पं. वा.नं. ६ बस्ने भगत गुरुङ

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने नन्दराज गुरुङ

मुद्दा : अंश दाखिल खारेज नामसारी

(१)                छोरा छँदा छँदै लोग्नेको हक स्वामित्व हुने अवस्था नदेखिने ।

(प्रकरण नं. १४)

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     पू.क्षे.अ. को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।

२.    म फिरादीको श्रीमती २ हुँदा जेठी मचन र कान्छी बुधमाया हो । मेरो श्रीमती र विपक्षी छोरा सगोल मिली सम्पूर्ण श्रीसम्पत्ति जेठी श्रीमतीका नाउँमा दर्ता भएको थियो त्यस्तोमा जेठी श्रीमती विपक्षीको आमा ०४३ साल वैशाख महीनामा स्वर्ग भई काजकृया गरेका थियौं मलाई कुनै कुरा थाहा पत्तै नदिई के कुन मितिमा अरु हकदार बाबु समेत छैन भन्ने मिलाई गा.पं. का बासपानीबाट सिफारिश समेत लिई सो मितिमा जेठी श्रीमती विपक्षीको आमा नाउँको सम्पूर्ण जग्गा एकलौटी दा.खा. गराई मैले पाउने बण्डा निस्सा समेत मेटाई खुसी गरी खाने गरेको रहेछ सो कुरा मैले ०४४।१०।१४ गते थाहा पत्ता पाई प्र.बाबु छँदा छँदै विपक्षीले एकलौटी खान पाउने हैन । सो जग्गा अंशबण्डाको १२ नं. बमोजिम बराबर गरी खान पाउने हुँदा खो.मालबाट नामसारी दा.खा. गराएको बदर गरी हक इन्साफ पाउँ भन्ने फिरादपत्र ।

३.    वादी मेरो पिताजी हुनुहुन्छ । उहाँको अंशमा दावा नगरोस् भन्ने अपराध सोची मलाई निरअंशी गराउन म छोरासंग अंश माग्नु न्यायोचित होइन । मैले अंश दिनु पर्ने होइन । अंश दिनु पर्ने सम्पत्ति मेरो जिम्मा छैन अंशमा दावी गरेको कति भाग अंश मागेको हो सो यकीन दावी नभएको मेरो जीजु आमा लक्ष्मी गुरुङले मेरो बजु पम्फा गुरुङलाई र निज पंफाले र निजको बुहारी नन्दमायाले मेरो आमालाई बकसपत्र ०११।१०।२६।३ मा गरी आमा मचनको हक भई आमा मचन गुरुङ ०४३।१।२१ मा स्वर्गे हुनु भो आमाले पाएको बकस पेवा जग्गा बाबु सौतेनी आमा समेतको हक लाग्ने छैन । आमा स्वर्गे भएपछि वहाँको बकसको जग्गा एकाघरको म मात्र छोराले दा.खा. नामसारी खान पाउने हुँदा दा.खा. गर्न सो मालमा निवेदन दिई कारवाही भइरहेको र सो कारवाहीबाट बाबु वादी भगतलाई झिकाई सो मालबाट बयान गराउँदा श्रीमती मचनले बकस पाएको निजकै नाम दर्ता भन्ने र कान्छी श्रीमतीसंग बेगल घरमा बसेको भन्ने बयानमा लेखेको छु आमाको बकसको जग्गा मेरो हकमा प्राप्त भएको बाबु पट्टी दर्ता भएको जग्गा जेथा मेरो बेमन्जूरी बिक्री गर्न पाउने छैन । झुठ्ठा उजूरीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    प्रस्तुत मुद्दामा विवादमा आएको जग्गा प्रतिवादीको आमाको मृत्यु भएकोले कानुनले हक प्राप्त हुने नै देखिएकोले यस्तो आफ्नो हक लाग्ने सम्पत्ति आफ्नो नाउँमा दा.खा. नामसारी गरेको बदर हुने अवस्थामा नहुँदा वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु खो.जि.अ. को फैसला ।

५.    शुरु खोटाङ जिल्ला अदालतको फैसलामा चित्त बुझेन शुरु फैसला बदर गरिपाउँ भन्ने पुनरावेदनपत्र ।

६.    विवादमा आएका जग्गाहरु प्रतिवादीको आमा मचनमायाले निजकी आमा समेतबाट ०११।१०।२६।३ मा बकसपत्र लिएको भन्ने कुरा प्रष्ट देखिन्छ । प्रतिवादीको हकभोगको जग्गा माल कार्यालयमा गई नामसारी गरेको देखिँदा त्यस्तो अवस्थामा पुनरावेदन जिकिर नपुग्ने भई खोटाङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको फैसला ।

७.    सो फैसलामा अंशबण्डाको १, २ नं. को त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने पू.क्षे.अ. मा पर्न गएको वादीको निवेदनपत्र ।

८.    वादी दावा नपुग्ने ठहर्‍याएको शुरुको सदर गरेको सगरमाथा अञ्चल ओखलढुड्डा बेञ्चको फैसलामा कुनै त्रुटि नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने पू.क्षे.अ. को आदेश ।

९.    पू.क्षे.अ. को आदेशमा अंशबण्डाको १, २ र प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्याख्यात्मक त्रुटि हुँदा पुनरावेदको अनुमति पाउँ भन्ने यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।

१०.    पू.क्षे.अ. को आदेशमा अंश बण्डाको १, २ नं. को व्याख्यात्मक त्रुटि देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदकको वारेसलाई बारम्बार पुकार गर्दा उपस्थित नभएको र विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मेरो पक्षको आमा समेतबाट बकसपत्र पाएको हुँदा सो जग्गा आफ्नो नाउँमा नामसारी दाखिल खारेज गरेको कानुनसंगत हुँदा पू.क्षे.अ. को आदेश मनासिब छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

१२.   पू.क्षे.अ. को आदेश मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यसमा निर्णयतर्फ विचार गर्दा मेरो श्रीमती मचनमाया परलोक भएपछि एकासगोलको छोरा विपक्षीले दाखिल खारेज गरी मेरो समेत अंश भाग लाग्ने जग्गा बिक्री गर्न खोजेको हुँदा दाखिल खारेज नामसारी बदर गरिपाउँ भन्ने वादी दावी भएको पाइन्छ । मेरो आमा मचनमायालाई २०११।१०।२६।३ मा पंफा र निजको बुहारी नन्दमायाले बकसपत्र गरिदिनु भएको जग्गा हो । आमा परलोक भएपछि मेरो हक लाग्ने हुँदा सो जग्गा दाखिल खारेज नामसारी मेरो नाउँमा गरेको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ ।

१४.   विवादित जग्गा मचनमायाले मिति २०११।१०।२६ मा आमा पम्फा गुरुङ र भाइ बुहारी नन्दमाया गुरुङबाट बकसपत्र पाएको कुरामा विवाद देखिँदैन । मालपोत कार्यालय खोटाङमा यी पुनरावेदकले गरेको सनाखत कागजमा जेठी श्रीमती मचनमाया भिन्न भई बसेको र म कान्छी श्रीमती बुधमायासंग बसोवास गरी बसेको र मचनमाया गुरुङका नाउँमा दर्ता भएको जग्गा निजकी आमा पम्फा गुरुङ र भाइ बुहारी नन्दमाया गुरुङबाट ०११।१०।२६ मा बकसपत्र पाई हकभोग भएको हो भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । विवादित जग्गा मचनमायाले माइतीबाट पाएको भन्ने कुरामा यी पुनरावेदक वादी स्वयंले स्वीकार गरी माल कार्यालयमा बयान गरेको पाइयो । स्त्री अंश धनको ५ नं. अनुसार स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन । उ मरेपछि यसले खानु भनी लिखित गरिदिएको रहेछ भने लिखतै बमोजिम हुन्छ । त्यस्तो लिखत रहेनछ भने उसको संग बसेको छोरा भए त्यस्तो छोराले त्यस्तो छोरा नभए भिन्न बसेका छोराले त्यस्तो छोरा नभए लोग्नेले लोग्ने नभए कन्या छोरीले, कन्या छोरी नभए विवाह भएकी छोरीले उ नभए छोराको छोराले, छोराको छोरा नभए छोरीको छोराले र उ पनि नभए हकवालाले पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । मचनमायाको छोरा यी विपक्षी नवराज गुरुङ छँदा छँदै लोग्ने पुनरावेदक वादी भगत गुरुङको हक स्वामित्व हुने अवस्था देखिंदैन । विवादको जग्गा विपक्षीका आमा मचनमायाले निजको आमा पंफा र बुहारी नन्दमायाबाट मिति २०११।१०।२६ मा बकसपत्र पाई हकभोग भएको र निजको मृत्यु पश्चात निजका छोरा नवराज गुरुङले माल कार्यालयमा गई नामसारी गरेको देखिँदा शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत ओखलढुंगा बेञ्चको फैसलामा अनुमति प्रदान नगरेको पू.क्षे.अ. को आदेशमा कुनै त्रुटि नदेखिँदा परिवर्तन गर्नु परेन । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी मुद्दा दायर भएको देखिँदा केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.मोहनप्रसाद शर्मा

 

इतिसम्वत् २०४९ साल वैशाख ३१ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु