निर्णय नं. ४५२१ - कुटपिट

निर्णय नं. ४५२१ ने.का.प. २०४९ (क) अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २३५
फैसला भएको मिति : २०४९।३।३।२ मा
पुनरावेदक/प्रतिवादी: जि.ताप्लेजुङ चौगे गा.पं.वा.नं. १ बस्ने कृष्णमाया लिम्बूसमेत
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने रत्नमाया लिम्बूनी
मुद्दा : कुटपिट
(१) कुटपिटको वारदातमा केवल पीडित पक्षको स्थिति अवस्थालाई मात्र गौण विषय मानी निर्णय आधार मान्नु न्यायसंगत नहुन सक्तछ । कुटपिटको वारदातमा चोट प्रहारको स्थिति अवस्था, चोटको गम्भिरता, घटना स्थलको प्रकृति समेतलाई मध्यनजर राखी त्यसपछि मात्र निर्णयमा पुग्नु पर्ने; घा जाँच प्रतिवेदनकै आधारमा कुटपिटको दावी पुग्ने भनी ठहर गर्दा न्याय नपर्न सक्तछ ।
(प्रकरण नं. १९)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वोर्णबहादुर काक्र्री
विपक्षी, वादीर्फबाट: विद्वान अधिवक्ता श्री भगवान गुरुङ
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ
१. पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. ०४४ श्रावण १८ गते बिहान अं. ८ बजे प्रतिवादी घर करासा मुनि छेउको मेरा श्रीमानका बण्डामा परी हामीले जोतपोत गरी आएको चोक्टी भन्ने नामक खेतमा हीलो आली गरी म फिरादी धान रोप्दै गरेको बखत प्रतिवादीहरु जेठाजु बाजाहाँ, जेठानी कृष्णमाया र भतिजो सूर्यमान घरबाट निस्की तेरो हक नपुग्ने जग्गामा धान रोप्न पाउँदैनस् भनी कराउँदै आई बाजहाँले आदेश दिई कृष्णमाया र सूर्यमान हातमा ढुंगा लाठी ली आइलागी कृष्णमायाले समाई धकेली गा¥होको सिंडिमा लडाई घोप्टो पारी ढुंगा टिपी मुडकी बनाई मेरा देब्रे पट्टी काखी छेउको डडालुमा हिर्काई एउटा करङ समेत भाँची लडेकै ठाउँमा सूर्यमानले लट्टीले देब्रेपट्टी टाउकोमा हिर्काई जताततै हात छोडी मरणान्त अवस्थामा पारी कुटपिट गरेको ०४४।४।१९ गते ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई ताप्लेजुङ हेल्थ सेन्टरद्वारा घा चोटहरु जाँच गराई प्रहरी केश फाराम भरी पाएको, कुटपिटको ७, ९, १०, ६, ११, १३, १६, १८, १९ नं. बमोजिम सजायँ गरी कुटपिटको २५ नं. बमोजिम घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादी लेखाई झुठ्ठा हो, हाम्रो घर छेउमा वादीको चोक्टी भन्ने खेतै छैन आफ्नो खेतै नभएको ठाउँ हाम्रो घर करासामा वादी एक्लै धान रोप्न आउने अवस्था पनि छैन । ०४४।४।१८ गते भन्दा अगाडि नै म बाजाहाङ कानको रोग समेतले सताई उपचार गराउन छोरा म सूर्यमानलाई साथ लिई १२ गते घरबाट हिंडी १४ गते धरान पुगें १५ गते देखि धरान अस्पतालमा भर्ना भई उपचार गराई २५ गते मात्र बिदा लिई २८ गते घरमा आएका छौं । हामी नभएको मौका पारी वादी समेतले म बाजहाङको श्रीमती म कृष्णमायालाई सुनमा उजूर गर्ने भनी कुटपिट समेत गरेछन्, उजूर गर्छ भनी म कृष्णमायाबाट लगेको सुन पचाउन उजूर गरेका हुन । वादी टि.बी. रोगले कमजोर मात्र नभई मादक पदार्थ खाई माती घर अगाडि मुनि सुंगुरलाई चारो दिन जाँदा ०४४।४।१२ गते डिल गा¥होबाट लडी डुंगा डुगामा परी व्यहोश भएको अवस्था छिमेकी पं.स. हेमबहादुर, गा.स.स. मानबहादुर समेतले देखी उठाई हलखल हुँदा वादीकै छोरा समेतले बोकी घरको सिकुवामा ल्याई राखेको भन्ने सुनेको हो, सोही घा चोट पटक जँचाई झुठ्ठा उजूर गरेका हुन, फिराद खारेज गरी झुठ्ठा उजूर गरेमा द.स.का १८ नं. बमोजिम १९ नं. बमोजिम क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने समेत कृष्णमाया लिम्बुनी, सूर्यमान लिम्बू र बाजहाङ लिम्बूको संयुक्त प्रतिउत्तरपत्र ।
४. प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको हो भन्ने समेत वादीको साक्षी खङगप्रसाद लिम्बू, यामबहादुर लिम्बूको बकपत्र ।
५. वादीलाई प्रतिवादीले कुटेको होइन वादीको शरीरको घाउ आफैं लडेर भएको हो भन्ने समेत प्रतिवादीका साक्षी रुपनारायण लिम्बू, दिलबहादुर लिम्बू, विरबहादुर लिम्बू, मानबहादुर तामाङको बकपत्र ।
६. वादीलाई प्रतिवादीहरुले कुटपिट गरेको रहेनछ भन्ने प्रतिवादीको कुनै भरपर्दो सबूद प्रमाण पेश भएको नदेखिदा कुटपिटका ७ नं. अनुसार कुटपिट गरेको ठहर्नाले प्रतिवादीहरुलाई रु. २,०००।– जरीवाना तथा ६ महीना कैद हुन्छ भन्ने समेत ताप्लेजुङ जिल्ला अदालतको मिति २०४५।२।११ को फैसला ।
७. शुरु जिल्ला अदालतले गरेको इन्साफमा चित्त बुझेन सो इन्साफ उल्टाई वादी दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत मेची अञ्चल अदालतमा परेको प्रतिवादीहरुको पुनरावेदनपत्र ।
८. शुरु ताप्लेजुङ जिल्ला अदालतले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको मिति २०४६।३।२२ को फैसला
९. शुरु जिल्ला अदालतको फैसला सदर गरेको मेची अञ्चल अदालतको फैसला न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) को (ख)(घ) र (ङ) को कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी पू.क्षे.अ.मा परेका प्रतिवादीहरुको निवेदनपत्र ।
१०. वादीलाई प्रतिवादीहरुले कुटपिट गरेको ठहराई गरेको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसलालाई सदर गरेको मेची अञ्चल अदालतको फैसलामा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(४) को अवस्था विद्यमान भएको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत पू.क्षे.अ. को २०४६।१२।१७।६ को आदेश ।
११. पू.क्षे.अ. को आदेशमा कानुनको व्याख्या सम्बन्धी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत यस अदालतमा पर्न आएको प्रतिवादीहरुको निवेदनपत्र ।
१२. वादीको करङ भाँचिएको सम्बन्धमा एक्सरे नै नगरी करङ भाँचिएको ठहर्याएको शुरु सदर गरेको अञ्चल अदालतको फैसलामा अनुमति नदिने गरी भएको पू.क्षे.अ.को आदेशमा कुटपिटको नं. ७ को व्याख्यात्मक त्रुटि भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा सोही दफा १३(७) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको २०४७।४।२५।५ को आदेश ।
१३. नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्कीले प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु बीच जे जुन रुपबाट कुटपिट भएको भनी वारदातको सिर्जना गरिएको छ, सो अनुरुप तहगत अदालतबाट निर्णय हुन गएको छैन । वादीका साक्षीहरु वारदातको समयमा बजाहाङ घर भित्र थिए भन्दछन्, बाजहाङले चोट छोडेको भन्ने दावी फिरादमा उल्लेख छैन, कृष्णमायाले र सूर्यमानले गरेको प्रहारबाट रत्नमायाको करङ भाँचिएको भनिएको छ, करङ भाँचिएको भन्ने तथ्य, प्रमाणिक रुपबाट पुष्टि हुन सकेको छैन । शरीरको भित्री भागमा रहने करङ जस्तो सम्वेदनसिल अंग, भाँचिएको भन्ने आदिकारिक परिक्षण नभएको, स्थिति अवस्थामा करङ भाँचिएको भनी ठहर गर्नु न्यायिक दृष्टिबाट मिल्ने हुँदैन । प्रतिवादी बनाइएका व्यक्तिहरु मध्ये कृष्णमायाले देब्रेपट्टीको काखीको छेउको डडाल्नुमा हिर्काएको, सूर्यमानले देब्रेपट्टीको टाउकोमा जोडसंग हिर्काई आङ जिउमा हात छोडेको, शरीरमा पीर पर्ने गरी मारी मरणान्त अवस्थामा कुटपिट गरेको बजाहाङले बचन दिएको भन्ने अभियोग छ, जब प्रतिवादीहरुको चोटको प्रकृतिले नै पृथक छ भने, कसरी सजायँ समान हुन सक्छ ? यो प्रश्न बढी गम्भीर रहे भएको हुँदा गम्भीर सवाल उपर विचारसम्म पनि नगरी सजायँ गर्ने गरेको जिल्ला अदालतको फैसलालाई सदर गरेको अञ्चल अदालत र सो फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी भएको क्षेत्रीय अदालतको आदेश समेत बदर गरी वादी दावीबाट फुर्सद पाउनु पर्छ भनी बहस जिकिर प्रस्तुत गर्नु भयो ।
१४. वादी पक्षबाट उपस्थित विद्वान अधिवक्ता श्री भगवान गुरुङले पक्ष विपक्षहरु बीच कुटपिट भएकोमा विवाद छैन । प्रतिवादीहरुको कुटपिट चोट, प्रहारबाट रत्नमायाको शरीरमा विभिन्न चोट निलडामहरु मात्र लागेको नभई सम्वेदनसिल अंग करङ समेत भाँचिएको छ भनी सम्बन्धित स्वास्थ्य केन्द्रबाट प्रमाणित भएको छ । अख्तियार प्राप्त निकायबाट, सम्बन्धित विशेषज्ञले गरी दिएको स्वास्थ परीक्षणको रिपोर्टमा करङ भाँचिएको भनी किटानी लेखि दिएको छ । यस स्थिति अवस्थामा एक्सरे नभएको भन्ने, आधार प्रमाण ग्रहण हुन सक्दैन । त्यसैले तहगत अदालतको इन्साफ यथास्थितिमा रहनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१५. प्रस्तुत मुद्दामा दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गर्ने गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको अञ्चल अदालतको फैसला र सो फैसला उपर पुनरावेदनको अनुमति नदिने गरी भएको पू.क्षे.अ. को आदेश, मनासिब छ छैन हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा निर्णयतर्फ हेर्दा, मिति ०४४।४।१८ गते बिहान ८ बजेको समयमा प्रतिवादीकै घर करेसामा, आपसी भनाभन हुँदा बजाहाङले दिएको बचनबाट कृष्णमायाले सिंडीमा लडाई, घोप्टो पारी ढुंगा टिपी मुड्की बनाई काखी छेउ डडाल्नुमा हिर्काई करङ समेत भाँची म लडी रहेको ठाउँमा आई सूर्यमानले लाठ्ठीले टाउकोमा हिर्काई, शरीरमा पीर पर्ने गरी माडी मरणान्त अवस्थामा पारी कुटपिट गरेको भन्ने फिराद दावी रहेको देखिन्छ ।
१७. यस सम्बन्धमा, मिसिल संलग्न प्रमाण कागज हेर्दा उक्त मितिमा वादी प्रतिवादीहरु बीच कुटपिट भएको, प्रतिवादीका चोट प्रहारबाट वादी रत्नमायाको शरीरमा घा निल समेत पर्न गएको भन्ने कुरा घा जाँच प्रतिवेदनमा उल्लेख रहेको पाइन्छ । कुटपिटको वारदात अवस्था बाजाहाङ आफ्नै घर भित्र थिए भन्ने कुरा वादीका साक्षी खड्गप्रसाद लिम्बूको बकपत्रबाट खुल्न आएको छ भने वादीकै अर्का साक्षी, जो चश्मदिदको रुपमा लिएको पाइन्छ, यामबहादुरले, बजाहाङले बचन दिएको, कृष्णमायाले प्रहार गरेको चोटबाट रत्नमाया पिडित हुँदैको अवस्था, सूर्यमानले पनि कुटपिट गरेको भनी आफ्नो बकपत्रमा लेखाएको देखिन्छ । रत्नकुमारीको मिति ०४४।४।२० मा भएको घा जाँच केश फाराम हेर्दा कम्मरमा देब्रेपट्टी पाता मुनी, देब्रे कम्मरमा टाउकोमा समेत चोट लागेको, सबै चोट लाठी ढुंगाको प्रहारबाट भएको चोट कडासम्म भनी उल्लेख गरेको पाइन्छ । यस प्रकारको वारदात स्थिति अवस्थामा प्रतिवादीहरुलाई कुटपिटको ७ नं. बमोजिम कुटपिट गरेको ठहर गरी ऐ.को १९ नं. अनुसार दामासाहीले सजायँ गर्ने ठहराई भएको शुरु फैसला, तहगत रुपबाट सदर भई आएको देखिन्छ ।
१८. यसबाट वादी प्रतिवादीहरु बीच कुटपिट भएकोमा विवाद गर्ने स्थिति अवस्था रहेन । वादी रत्नमायालाई कृष्णमायाले ंिसंडीमा लडाई घोप्टो पारी ढुंगा टिपी मुड्की बनाई काखीको छेउमा हिर्काएको भन्ने दावी रहेको, प्रतिवादी मध्ये बजाहाङले रत्नमायालाई चोट छोडेको भन्ने कुरा कहीं कतैबाट खुल्न पनि नआएको, बचन दिएको भन्ने फिराद दावी पनि वादीकै साक्षीको बकपत्रबाट पुष्टि हुन सकेको देखिँदैन । कुटपिट जस्तो वारदातमा कुनै व्यक्ति उपर केवल अभियोगमा राखी लिनु मात्र पर्याप्त हुँदैन । सो को प्रमाणित पुष्टि पनि भएको हुनुपर्दछ । तर प्र. बजाहाङको हकमा बचन दिएको भन्ने फिराद दावी रहेको, सो कुरा वादी कै साक्षीको बयानबाट विवादास्पद स्थितिमा रहन गएको साक्षीको बकपत्र बाहेक अन्य गडाउ गर्ने सबूद प्रमाण केही नभएको नरहेको हुँदा निजलाई कसूरदार ठहर गरेको तहगत अदालतको फैसला न्यायसंगत मान्न मिलेन । निजको हकमा वादी दावी नपुग्ने ठहर्छ प्रतिवादी कृष्णमायाको हातमा ढुंगा लिई मुडुकीले रत्नमायालाई लडाई शरीरको विभिन्न भागमा कुटपिट गरेको भन्ने कुरा घा जाँच प्र्रतिवेदन साक्षीको बकपत्र समेतबाट पुष्टि हुन आएको छ । रत्नमायालाई प्रथम प्रहार गर्ने अन्य व्यक्ति हो भन्ने जिकिर स्वयं प्रतिवादीको नरहेको सूर्यमानले, कृष्णमायाले कुटपिट गरी घायल अवस्थामा रहेको रत्नमायालाई कुटपिट गरेको भन्ने दावी रहेको, कृष्णमायाले रत्नमायालाई कुटपिट गरेको होइन भन्ने कुनै आधिकारिक सबूद पेश दाखेला हुन सकेको नपाइँदा, कृष्णमायालाई कुटपिटको ७ नं. बमोजिम सजायँ गरेको हदसम्मको इन्साफ मिलेकै देखिँदा सो हदसम्म मनासिब छ । तर अर्का प्रतिवादी सूर्यमानले रत्नमायालाई प्रथम प्रहार गरी लडाई कुटपिट गरेको भन्ने दावी नरहेको, पिडित रत्नमायालाई पछि गएर टाउकोमा समेत कुटेको भन्ने वादी लेख घा जाँच प्रतिवेदनबाट पुष्टि हुन आएको, सूर्यमानकै चोटबाट रत्नमायाको शरीरको सम्वेदनसिल अंग भाँचिएको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन नसकेको स्थिति अवस्थामा निजलाई पनि उक्त महलको ७ नं. बमोजिम कसूरदार ठहर गर्न न्यायिक दृष्टिबाट मिल्ने नहुँदा सो बमोजिम गर्ने गरेको इन्साफ उल्टी हुन्छ । तर रत्नमाया उपर कुटपिट गरेकोसम्म मिसिल संलग्न प्रमाणबाट देखिँदा निजको हकमा ऐ.को महलको १० नं. बमोजिम जरिवाना रु. ३००।– हुन्छ ।
१९. अतः कुटपिटको वारदातमा केवल पिडित पक्षको स्थिति अवस्थालाई मात्र गौण विषय मानि निर्णय आधार मान्नु न्यायसंगत नहुन सक्छ । कुटपिटको वारदातमा चोट प्रहारको स्थिति अवस्था, चोटको गाम्भिर्यता, घटनास्थलको प्रकृति समेतलाई मध्यनजर राखी त्यसपछि मात्र निर्णयमा पुग्नु पर्ने हुन्छ । घा जाँच प्रतिवेदन कै आधारमा, कुटपिटको दावी पुग्ने भनी ठहर गर्दा न्याय नपर्न सक्छ । तसर्थ प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरु बजाहाङ लिम्बूको हकमा सफाई दिने सूर्यमानको हकमा कुटपिटको १० नं. बमोजिम रु. ३००।– जरिवाना सम्म हुने र कृष्णमायाको हकमा दावी बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । सो हदसम्म इन्साफ उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी बजाहाङ लिम्बू के सफाई पाउने ठहरेकाले, निजलाई शुरु जिल्ला अदालतले गर्ने गरेको जरिवाना र कैद पुनरावेदन तहबाट भएको थप सजायँ समेत अब नलाग्ने हुँदा, निजको नामको लगत कट्टा गरी दिन भनी का.जि.अ. मार्फत सम्बन्धित अदालतमा लगत दिनु....१ पुनरावेदक प्रतिवादी सूर्यमान लिम्बूको इन्साफ खण्डमा लेखिए बमोजिम रु. ३००।– जरिवाना मात्र हुने ठहरेकाले सो रकमसम्म असूल उपर गर्नु र अरु लगत कट्टा गरी दिनु भनी का.जि.अ. मार्फत सम्बन्धित अदालतमा लगत दिनु......२ पुनरावेदक प्रतिवादी कृष्णमाया के इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन जिकिर पुग्न नसक्ने ठहरेकाले शुरुले गर्ने गरेको जरिवाना रु. ६६६।६७ को अ.बं. २०३ नं. ले सयकडा ५ प्रतिशतले रु ३३।३३ पैसा र कैद महीना २ को सयकडा ५ ले दिन (३) तीन थप हुन्छ । जिल्ला अदालत समक्ष जेथाजमानी रहेको देखिँदा, निजको हकमा असूल उपर गर्नु भनी सम्बन्धित अदालतमा लगत दिन का.जि.अ. मा लेखि पठाउनु ...३ इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले पुनरावेदक प्रतिवादीहरुले जेथाजमानी राखेको देखिँदा प्रतिवादीहरुलाई लागेको दण्ड जरिवाना र कैद समेत सो बाट असूल गरी बाँकी नियम बमोजिम फुकुवा गरी दिनु भनी का.जि.अ. मार्फत शुरु अदालतमा लगत दिनु ..४ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ...५
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४९ साल आषाढ ३ गते रोज २ शुभम् ।