शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८५७३ - कर्तव्यज्यान

भाग: ५३ साल: २०६८ महिना: असार अंक:

निर्णय नं. ८५७३

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री सुशीला कार्की

फौ.पु.नं.२०६५CF००१४

फैसला मितिः २०६७।११।१२।५

 

मुद्दा :कर्तव्यज्यान 

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं.३ घर भै हाल कारागार कार्यालय        मोरङमा थुनामा रहेको लामकाँधे भन्ने हर्कबहादुर विश्वकर्मा

विरुद्ध

प्रत्यर्थी वादीः सुस्मिता राईको जाहेरीले नेपाल सरकार

अघि फैसला गर्नेः

जि.न्या.श्री शिवप्रसाद पराजुली

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री दीपककुमार कार्की

मा.न्या.श्री केदारप्रसाद चालिसे

सर्वोच्च अदालत संयुक्त इजलास :

मा.न्या.श्री बलराम के.सी.

मा.न्या.श्री गिरीशचन्द्र लाल

 

§  घटना वारदात घटिसकेपछि मौकामा आफन्त समेतलाई घटनाको यथार्थ व्यहोरा नवताई आफू अपराधबाट उम्कन सकिन्छ कि भन्ने दुष्प्रयास गरी लास फालेको भोलिपल्ट आफूले लास देखेको भनी मृतकका परिवारलाई खवर गर्नुका साथै आफूले गरेको कसूर अपराधप्रति पश्चाताप नगरी अपराध लुकाउने दवाउने नियतले मानिस मरिसकेपछि पनि लास बोरामा हाली आफ्नै कालगतिले वा अरु कसैको कर्तव्यले मरेको भन्ने भान पार्न खोज्नेसम्मका घटनापश्चात्का पछिल्ला क्रियाकलाप समेतलाई दृष्टिगत गर्दा अ.बं.१८८ नं. बमोजिम सजाय घटाई १० (दश) बर्ष कैद हुन मनासिब नदेखिने 

(प्रकरण नं.१०)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्री

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः नेकाप २०५७, अङ्क १०, नि.नं.६९४३, पृष्ठ ७०४

सम्बद्ध कानूनः

§  ज्यान सम्बन्धी महलको १३ र १३(३) नं.

§  अ.बं.१८८ नं.

§  अ.बं.२१५

§  न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३)

फैसला

न्या.तपबहादुर मगरः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी यस अदालत संयुक्त इजलासको मिति २०६७।३।३० को आदेशबमोजिम यस पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

ईटहरी न.पा.३ स्थित पूर्वमा बुढीखोला, पश्चिममा सिसौघारी, उत्तरमा हर्कबहादुर बि.क.को घर र दक्षिणमा सिसौघारी यति चार किल्लाभित्र खाली खेतमा उत्तानो अवस्थामा लास फेला परेको भन्ने मिति २०६३।४।१७ गतेको घटनास्थल लास जाँच प्रकृति मुचुल्का 

मिति २०६३।४।१६ गते साँझको ५ बजेको समयमा मेरो छोरा डम्बरबहादुर राई घरबाट ५०० मीटर पूर्व दक्षिण खेतमा गोरु पगाहा लगाएको ठाउँमा गोरु लिन भनी गएको, तर साँझको ७ बजेसम्म गोरु घरमा लिई नआएको हुँदा श्रीमतीले गोरु घरमा ल्याई छोरा कहिँ गयो होला भनी सो रात त्यसै गयो । भोलिपल्ट लामकाँधे बि.क.ले डम्बर जस्तै मानिस खेतको आलीमा लडिरहेको छ भन्ने खवर दिई मेरो बुहारी उक्त स्थानमा गई हेर्दा, छोरा डम्बरको लास रहेको हुँदा को कसले कर्तव्य गरी मारेका हुन् खोजतलास गरी कारवाही गरिपाऊँ भन्ने प्रितीबहादुर राईको जाहेरी 

मिति २०६३।४।१६ गतेका साँझको समयमा मेरो श्रीमान् डम्बरबहादुर राई खेतमा गोरु लिन जान्छु भनी घरबाट गएको तर डम्बरबहादुर राई घरमा नआएको र सोही बाटो आली हुँदै डम्बरको आमाले गोरु लिई घरमा आउँदा लास फेला परेको । श्रीमान् डम्बर र लामकाँधे बि.क.को बीचमा कुलो पानीको विषयमा विवाद हात हालाहाल भई निज लामकाँधे बि.क.ले देखाई दिउँला, तँलाई बनाई दिन्छु भनी धम्की दिएको हुँदा मेरो पति डम्बरलाई निज लामकाँधे बि.क., पदम निरौला र राम मगरले कर्तव्य गरी मारेको हुँदा पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने सुस्मिता राईको जाहेरी 

मेरो श्रीमान् लामकाँधे बि.क., पदम निरौला र राम मगर तथा डम्बरबहादुर राईसँगै बाहिर खाटमा बसी रक्सी र मासु खाएका र मेरो बुहारी मिना बि.क.लाई किन भारतको जोगवनी बेच्न लगेको भनी वादविवाद गालीगलौज भएको र डम्बर चिच्याएको आवाज आई हेर्दा, पदम निरौलाले निज डम्बरलाई छुरी प्रहार गरेको मैले देखेकी हुँ । सो पछि डम्बरको टाउको बोरामा हाली घरबाट १०० फीट दक्षिणमा निजलाई मारी फाली दिई निजको लास लगेको बोरा लामकाँधे बि.क.ले लिई घरमा ल्याई छानोमा सिउरी राखेको हो भन्ने फूलमाया बि.क.को कागज 

मिति २०६३।४।१६ गते पदम निरौला, राम मगर तथा मेरो बुवा लामकाँधे बि.क. र डम्बरबहादुर राईसँगै बाहिर खाटमा बसी रक्सी र मासु खाएको र सो क्रमममा पदम निरौला, राम मगर र डम्बरका वीचमा वादविवाद भएको र डम्बरले चिच्याएको आवाज सुनी बाहिर आउन खोज्दा पदम निरौलाले बाहिर ननिस्कन धम्की दिएको थियो भन्ने बुझिएकी मीना बि.क.को कागज 

मिति २०६३।४।१६ गते साँझको समयमा म, राम मगर र पदम निरौला एकआपसमा रक्सी खाँदै गर्दा डम्बरबहादुर राई आएको हुँदा निजलाई समेत रक्सी खुवाएको हो, सो क्रममा छोरी बुहारीलाई जोगवनी लगेको विषयमा वादविवाद भएको र मेरो पनि पहिला पानीको विषयमा वादविवाद भएकोले बाहिरबाट दाउराको चिरपट ल्याई राम मगर र मैले निजको टाउकोमा प्रहार गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी लामकाँधे बि.क.को अनुसन्धान अधिकारीसमक्ष भएको बयान  ।

मैले मृतक डम्बरबहादुर राईलाई कर्तव्य गरी मारे मराएको छैन । किन नाम त्यसरी पोल गरेका हुन् थाहा भएन । तर डम्बरकी बुहारी र लामकाँधे बि.क.को छोरी घुमाउन भनी जोगवनी लाँदा वादविवाद सम्म भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर मगरको अनुसन्धान अधिकारी समक्ष भएको बयान  ।

मैले मृतकलाई कर्तव्य गरी मारे मराएको होइन । म मिति २०६३।४।१६ गते साँझको समयमा आफ्नै घर र पसलमा छु । मृतक डम्बर र मेरोबीचमा डम्बरको बुहारी र लामकाँधे बि.क.को छोरीलाई आजभन्दा ३ महिना अगाडि जोगवनी घुमाउन लगेको र जोगवनीमा माइती नेपालले निजको छोरी बुहारीलाई पक्राउ गरेको हुँदा मृतक र मेरोबीचमा वादविवाद भएको सम्म हो भन्ने समेत व्यहोराको पदम निरौलाको मौकामा भएको बयान  ।

मिति २०६३।४।७ गतेका दिन बिहान डम्बरबहादुर राईको मृतक लास फेला परेको छ भन्ने सुनी गई हेर्दा, देखेको हो । बुझ्दा लामकाँधे बि.क.को घरमा राम मगर र पदम निरौलाले बारम्बार मासु र रक्सी खाने गरेको, लामकाँधे बि.क. र मृतकका बीचमा कुलो पानीको विषयमा र पदम र राम मगरको समेत डम्बरसँग लामकाँधे बि.क.को छोरी र डम्बरको बुहारी भारतको जोगवनी लगेको बिषयमा वादविवाद झगडा भएको हुँदा निज प्रतिवादीहरूले डम्बरको कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मौकाका वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइ रहेको 

मृतक डम्बरबहादुर राई र लामकाँधे बि.क.को कुलो पानीको विषयमा झगडा वादविवाद र हात हालाहाल भएको, त्यसै गरी लामकाँधे बि.क.को छोरी र डम्बरबहादुर राईको बुहारीलाई पदम निरौला, राम मगरले घुमाउन भनी जोगवनी लगेको विषयमा निजसँग डम्बरको विवाद भएको र मृतक डम्बरलाई हालेको बोरा समेत लामकाँधे बि.क.को घरबाट वरामद भएको देखिंदा निजै लामकाँधे बि.क., राम मगर र पदम निरौलाले डम्बरबहादुर राईको कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको बुझिएका सूर्य निरौला, पार्वती खनाल, सानु राई समेतको छुट्टाछुट्टै रुपमा एकै मिलानको मौकाको कागज 

मिति २०६३।४।१६ गते बेलुका हाम्रो घरमा राम मगर, पदम निरौला, डम्बरबहादुर राई र मेरो बुवा लामकाँधे बि.क. भई बाहिर खाटमा बसी रक्सी खाँदै गर्दा निजहरूका बीचमा झगडा भएको सुनी हेर्दा, डम्बरबहादुर राईलाई कुट्दै गरेको मैले देखेको हो । त्यसपछि मलाई पदमले भित्र बस भनेपछि म भित्र गएको हुँ भन्ने समेत व्यहोराको टेकबहादुर विश्वकर्माको मौकाको कागज 

मिति २०६३।४।१६ गते साँझको समयमा प्रतिवादीहरू बसी रक्सी खाँदै गर्दा डम्बर समेत आई बसी रक्सी खाँदा रिसइवी साँध्ने मौका परी निजसँग विवाद गरी प्रतिवादी लामकाँधे बि.क., राम मगर र पदम निरौलाले दाउराको चिरपट समेतले निज मृतक डम्बरबहादुर राईको शरीरका यत्रतत्र भागमा प्रहार गरी मारी फालेको तथ्य पुष्टि हुन आयो । अतः प्रतिवादी लामकाँधे बि.क., पदम निरौला, राम मगर समेतको उल्लिखित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.र १३ (३) नं.अनुसारको कसूरमा निज प्रतिवादीहरू लामकाँधे बि.क., राम मगर र पदम निरौलालाई ऐ. ऐनको १३(३) नं.बमोजिम सजाय हुन माग दावी लिइएको छ । साथै प्रतिवादीमध्ये राम मगर र पदम निरौलाका उपर सानु राईको जाहेरी परेको जिउ मास्ने बेच्ने मुद्दामा अनुसन्धान भइरहेको हुँदा प्रस्तुत मुद्दाबाट छुटी जाने भएमा निज प्रतिवादीलाई इलाका प्रहरी कार्यालय इटहरीमा फिर्ता पठाई दिनु हुन भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी 

मैले डम्बरबहादुर राईलाई मारे मराएको होइन । म उपरको जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्काको मानिसहरूको भनाइ र मौकामा कागज गर्ने मानिसहरूको भनाइ झूठा हो । मेरो प्रहरी कार्यालयमा भएको भनिएको बयान मैले खुशीराजीबाट लेखाएको होइन । जवर्‌जस्ती सहिछाप गराएका हुन् भन्ने समेत व्यहोराको प्रतिवादीमध्येका लामकाँधे बि.क.ले अदालतमा गरेको बयान  ।

मैले मृतक डम्बरबहादुर राईलाई चिनेको छैन । मैले डम्बरबहादुर राईलाई कुटपीट गरी मारी म समेत भै खेतमा फालेको होइन । म समेत उपरको जाहेरी झूठा हो । मौकाको कागज, वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूको भनाइ र कागज गर्ने मानिसहरूले म उपर लेखाएको व्यहोरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी पदम निरौलाले अदालतमा गरेको बयान  ।

मैले मृतक डम्बरबहादुर राईलाई चिनेको छैन । मैले डम्बरबहादुर राईलाई कुटपीट गरी मारी म समेत भै खेतमा फालेको होइन म समेत उपरको जाहेरी झूठा हो । मौकाको कागज वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूको भनाइ र ठाडो कागज गर्ने मानिसहरूको भनाइ समेत झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी राम मगरले अदालतमा गरेको बयान  ।

जाहेरवाला सुस्मिता राई, प्रतिवादी पदम निरौलाको साक्षी बाबुराम राई, प्रतिवादी रामबहादुर मगरको साक्षी प्रेम कुमार राई, काको कागज गर्ने पार्वती खनाल, प्रतिवादी हर्कबहादुर भन्ने लामकाँधे बि.क.का साक्षी अजय वराईली, वादीका साक्षी एवं वस्तुस्थितिका माधव नेपाल, सानु राई, सूर्य निरौला, दिनेश कार्की, मौकामा कागज गर्ने मीना बि.क., टेकबहादुर बि.क., फूलमाया बि.क.ले गरेको बकपत्र मिसिल सामेल रहेको 

प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर विश्वकर्माले मृतक डम्बरबहादुर राईलाई कर्तव्य गरी मारेको पुष्टि भएकोले निजलाई अभियोग माग दावीबमोजिम ज्यान सम्बन्धी महलको १ नं.र १३(३) नं.अनुसारको कसूरमा सोही १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी पदम निरौला, राम मगरले सबूद प्रमाणको अभावमा अभियोग माग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको मिति २०६४।२।३० को फैसला 

शुरु जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन । जाहेरवालाले शंका र अनुमानको भरमा जाहेरी दिएको अवस्था छ । अदालतको बयान मा म कसूरमा पूर्णत इन्कार रहेको र सो इन्कारी बयान  वादी तर्फबाट बुझिएका मानिसले र मेरा साक्षी प्रमाणका मानिसहरूले समेत समर्थन गरी बकपत्र गरेका छन् । वादी पक्षले शंकारहित तवरले म उपरको कसूर प्रमाणित गर्न नसकेको अवस्थामा मलाई कसूरदार ठहर गरेको शुरुको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी हर्कबहादुर बि.क.को पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र 

मिसिल संलग्न सबूद प्रमाणहरूबाट प्रतिवादीहरू पदम निरौला, राम मगरसमेतले आरोपित कसूर अपराध गरेको भन्ने कुरा पुष्टि भइरहेकोमा निजहरूलाई सफाइ दिने गरी शुरु जिल्ला अदालतले गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले वदर गरी निज प्रतिवादीहरूलाई समेत अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र 

यसमा ३ जना प्रतिवादीहरू मध्ये १ जना लामकाँधे बि.क.ले आरोपित कसूर गरेको ठहराई शुरु जिल्ला अदालतबाट फैसला भएको छ । निज लामकाँधे बि.क.लाई अभियोग मुताविक कसूरदार ठहराई सकेपछि निज सरहका प्रतिवादीहरू पदम निरौला, राम मगरलाई सफाइ दिने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६४।११।५ को आदेश 

प्रतिवादी लामकाँधे बि.क.को अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान मा मृतकलाई दाउराको चिरपटले हानी कर्तव्य गरी मारेको भन्ने कुरामा सावित भै बयान  गरेको र जाहेरवाली सुस्मिता राईको जाहेरी तथा निजले अदालतमा गरेको बकपत्रमा समेत निज लामकाँधे बि.क. मृतक डम्बरबहादुर राईलाई मार्ने कार्यमा संलग्न रहेको भनी उल्लेख गरेको देखिन्छ । रगत लागेको बोरा प्रतिवादी लामकाँधे बि.क.कै घरबाट वरामद भएको र घटना भएको स्थान प्रतिवादीकै घर भएको तथ्य पनि स्थापित छ । वस्तुस्थिति मुचुल्काका दिनेश कार्की, सूर्य निरौला, सानु राई, माधव नेपाल, पार्वती खनाल समेतको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको कसूर स्थापित भएको अवस्था हुँदा प्रतिवादी लामकाँधे बि.क.ले मृतक डम्बरबहादुर राईलाई कर्तव्य गरी मारेको ठहराई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने गरी भएको शुरु सुनसरी जिल्ला अदालतको मिति २०६४।२।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ 

प्रस्तुत मुद्दाको जाहेरी दरखास्तपश्चात्‌का अनुसन्धानका क्रममा तयार भएका सम्पूर्ण विवरणबाट मृतक र प्रतिवादी समेत एकै ठाउँ प्रतिवादीको घरमा बसी रक्सी खाएको भन्ने तथ्य स्थापित भएको छ । निजहरूको बीच कुलोपानीसम्बन्धी विवाद भएको भनिए पनि त्यति धेरै ठूलो विवाद नदेखिएको कुरा प्रतिवादीको घरमा सँगसाथ रही रक्सी खाएको घटनाले समेत पुष्टि गर्छ । रक्सी खाँदा तत्काल विवाद उठी प्रस्तुत घटना घट्न गएको परिस्थितिलाई मध्यनजर गर्दा जन्मकैदको सजाय गर्दा चर्को पर्ने हुँदा १० (दश) बर्षको कैद सजाय हुन उपयुक्त देखी अ.बं.१८८ नं.बमोजिम राय व्यक्त गरिएको छ 

प्रतिवादी पदम निरौला, रामबहादुर मगरका हकमा परेको वादी नेपाल सरकारको पुनरावेदन हेर्दा निजहरूका हकमा कसूर प्रमाणित हुने तथ्यगत अन्य आधार समेत नदेखिंदा निज प्रतिवादीहरू पदम निरौला, रामबहादुर मगरलाई अभियोग दावीबाट सफाइ दिने गरी भएको मिति २०६४।२।३० को शुरु सुनसरी जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।४।१५ गतेको फैसला 

पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर साधक जाँचको लागि प्रस्तुत मुद्दा यस अदालतमा दायर भएको रहेछ 

मृतक डम्बरबहादुर राईको लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, मृतक र प्रतिवादी लामकाँधे बि.क.बीच कुलोपानीको विषयमा विवाद हुनु, घटना वारदात प्रतिवादी लामकाँधेको घरमा हुनु जस्ता तथ्य प्रमाणको श्रृंखला एक आपसमा मिल्नु, जाहेरवालीले अदालतमा आइ बकेको बकपत्र समेतका आधारमा यी प्रतिवादीले मृतक डम्बरबहादुर राईलाई कर्तव्य गरी मारेको ठहर्छ । प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. लाई ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय हुने गरी भएको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६५।४।१५ को फैसला मिलेकै देखिंदा साधकको रोहमा सदर हुने ठहर्छ । घटनाको प्रकृतिबाट अ.बं.१८८ नं.को कानूनी व्यवस्थाको आधारमा १० बर्ष मात्र कैदको सजाय गर्दा पनि Miscarriage of Justice नहुने हुँदा पुनरावेदन अदालत, विराटनगरको राय सदर हुने ठहर्छ । अ.बं.१८८ नं.बमोजिम १० बर्ष कैद मिनाहा भैसकेको हुँदा कारागार ऐन नियम वा कुनै अवसर पारी पुनः सजाय घटाउने कार्य नगर्न महान्यायाधिवक्तालाई लेखी पठाउनु भन्ने समेत व्यहोराको साधकको रोहमा यस अदालत संयुक्त इजलासबाट २०६६।३।२१ मा भएको  फैसला 

मृतकका पिता प्रितिबहादुरले शंकाको भरमा दिएको जाहेरीमा घटनाको बारेमा स्पष्टता प्रकट गरेका छैनन् । मैले मृतकलाई मार्नुपर्ने कारण केही छैन । मृतकको लास भेटी खवर गरिदिएको व्यक्तिले आफैले मारेको भनी घटनाको तथ्यलाई लोप गरी मलाई झूठा अभियोग लगाइएको छ । अधिकार प्राप्त अधिकारीसमक्ष भएको बयान  स्वेच्छाविपरीत रहेको भनी अदालतसमक्ष बयान  गरेको छु । घटना वारदात मेरो घरमा भएको भए वारदातस्थलमा रगतका टाटालगायतका दशी वरामद हुनुपर्ने अवस्था रहन्छ । सरकारी पक्षले वास्तविक अपराधी पत्ता लगाउन नसकी मेराउपर अभियोग लगाएको अवस्थामा जन्मकैदको सजाय गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको त्रुटिपूर्ण फैसला वदर उल्टी गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.को यस अदालतमा परेको पुनरावेदन पत्र 

पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम सुनसरी जिल्ला अदालतले जन्मकैद हुने ठहर्‍याएको फैसलाउपर प्रतिवादी समेतको पुनरावेदन परी पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६५।४।१५ मा शुरु फैसला सदर हुने ठहराई जन्मकैदको सजाय चर्को पर्ने देखिई १० बर्ष कैद सजाय हुने गरी अ.बं.१८८ नं.बमोजिम राय व्यक्त गरिएको पाइन्छ । पुनरावेदन अदालतको फैसलाउपर साधक जाँचको लागि संवत् २०६५ सालको साधक नं.४६ मा दर्ता भै पुनरावेदन अदालतको फैसला साधकको रोहबाट सदर गर्ने गरी यस अदालत संयुक्त इजलासबाट मिति २०६६।३।२१ मा फैसला भैसकेको देखिएकोमा प्रतिवादी हर्कबहादुर बि.क.को २०६५।९।१६ मा पुनरावेदन दर्ता भै पेश हुन आएको देखियो । यसै अदालतको समानस्तरको इजलासबाट न्यायिक निरोपण भैसकेको बिषयमा प्रतिवादीको पुनरावेदनउपर सोही समानस्तरको इजलासबाट पुनः इन्साफ जाँच गर्न न्याय र कानूनको रोहमा मिल्ने नदेखिंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।३।३० को आदेश 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्रीले मृतक र प्रतिवादीबीच मार्नु पर्नेसम्मको पूर्व रिसइवी रहेको देखिदैन । मृतकउपर धारिलो हतियार प्रयोग भएको भन्ने पनि देखिदैन । मृतक जाँड रक्सी सेवन गर्ने व्यक्ति हुन् भन्ने कुरा मिसिलको तथ्यबाट देखिएको छ । प्रतिवादीको घरमा जाँड रक्सी खान मृतक आफै आएका छन् । अपराधको प्रकृति हेर्दा ज्यान सम्बन्धी महलको १४ नं.आकर्षित हुने जस्तो देखिएको छ । अ.बं.१८८ नं.प्रयोग गरी १० बर्ष कैदको सजाय गरे पनि घटना वारदातको प्रकृतिबाट जन्मकैद ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला मिलेको छैन । यस अदालतबाट साधकको रोहमा फैसला गर्दा अ.बं.१८८ नं.को आधारमा १० बर्ष कैदको सजायको राय व्यक्त गरी उक्त १० बर्ष कैदको सजायमा कारागार ऐन नियमको प्रयोग गरी पुनः सजाय घटाउने कार्य नगर्नु भनी कानूनले पाउने सुविधामा बन्देज लगाएको मिलेको छैन । संयुक्त इजलासबाट साधकको रोहमा व्यक्त रायको विषय कानूनको मर्मविपरीत छ । नेपाल सरकारले माफी दिन सक्ने कानूनी व्यवस्थालाई निष्क्रिय पार्ने किसिमबाट फैसलामा उल्लिखित व्यहोरा वदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस गर्नुभयो 

विद्वान कानून व्यवसायीले गर्नु भएको उपर्युक्त बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा निम्न लिखित प्रश्नहरूको निरुपण गर्नुपर्ने देखियो 

(१) मृतक डम्बरबहादुर राईको मृत्यु स्वाभाविक वा अस्वाभाविक के हो ?

(२) मृतकको मृत्युको सम्बन्धमा पुनरावेदक प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. को के कस्तो संलग्नता रहेको छ ? पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन तथा प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने, नसक्ने के हो ?

२. माथि उल्लिखित प्रश्नहरूको निरुपण हुनु पूर्व प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. लाई जन्मकैद ठहरेउपर यस अदालत संयुक्त इजलासबाट साधकको रोहमा भएको फैसला तर्फ हेर्नुपर्ने हुन आयो । प्रस्तुत मुद्दामा साधकको रोहबाट प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.लाई ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला सदर हुने ठहर्‍याई अ.बं.१८८ नं.बमोजिम १० बर्षको कैद सजाय हुने गरी व्यक्त गरिएको राय समेत सदर ठहर्‍याई मिति २०६६।३।२१ मा फैसला भएको देखिन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) मा साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहबाट र एउटै मुद्दामा कसैको पुनरावेदन पर्‍यो र कसैको परेन भने पुनरावेदन नगर्नेको हकमा पनि साधकको रोहबाट इन्साफ जाँची मुद्दा किनारा गर्नुपर्छभन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । साथै मुद्दाको साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी सो मुद्दा पुनरावेदनको तहबाट हेर्नुपर्छ”... भन्ने मुलुकी ऐन अ.बं.२१५ नं.मा रहेको कानूनी व्यवस्था समेतले साधक जाहेर गर्नुपर्ने प्रकृतिका मुद्दा साधक जाहेर भएपनि पुनरावेदन परेको रहेछ भने स्वतः साधकको लगत काटी पुनरावेदनको रोहबाट तल्लो अदालतको इन्साफ जाँच्नु पर्ने वाध्यात्मक व्यवस्था गरेको देखियो 

३. कानूनबमोजिम परिरहेको पुनरावेदनको रोहबाट सुनुवाई हुने हुँदा साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।८ को फैसला स्वतः वदर हुने भनी  पुनरावेदक प्रतिवादी हिमाकुमारी भट्टराई बिरुद्ध केशुनाथ उपाध्यायको जाहेरीले वादी नेपाल सरकार भएको संवत् २०५४ सालको फौ.पु.इ.नं.३२ कर्तव्य ज्यान मुद्दा (ने.का.प.२०५७, अङ्क १०, निर्णय नं.६९४३, पृष्ठ संख्या ७०४) मा पुनरावेदन परिरहेको अवस्थामा साधकको रोहबाट फैसला भैसकेको भन्ने आधारमा पुनरावेदनको मार्गलाई निष्प्रभावतुल्य बनाउन मिल्ने देखिदैन । साधकको रोहबाट माथिल्लो अदालतले सुपरीवेक्षकीय अधिकारअन्तर्गत तल्लो अदालतको निर्णय जाँच्नेसम्म हो । तर पुनरावेदकीय मार्ग भनेको व्यक्तिको कानूनी अधिकार भएको र सो कानूनी अधिकार प्रयोग गर्दा पुनरावेदन सुन्ने अदालतले पुनरावेदकले उठाएका प्रश्नहरूको समेत निराकरण गरी निर्णय गर्नुपर्ने अवस्था रहन जाने हुन्छ । साधकको रोहबाट इन्साफ जाँच भैसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकार (Substantive Right) मा नै संकुचन लाग्न जाने सम्भावना रहन्छ । जुन सर्वथा न्यायिक स्वविवेकअनुकूल हुन सक्दैनभनी यस अदालतका पाँच जना माननीय न्यायाधीशहरूको पूर्ण इजलासबाट उल्लिखित न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) एवं मुलुकी ऐन अ.बं.२१५ नं.को कानूनी व्यवस्थाको विस्तृत व्याख्या विश्लेषण भई सिद्धान्त स्थापित भैरहेको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा साधकको रोहबाट भएको यस अदालत संयुक्त इजलासको मिति २०६६।३।२१ को फैसला उपर्युक्त स्थापित सिद्धान्त समेतबाट स्वतः बदर हुन्छ । साधकको रोहबाट भएको फैसला वदर भएको हुँदा अव प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. को तर्फबाट दायर भएको प्रस्तुत पुनरावेदन जिकीर समेत हेरी इन्साफ गर्नुपर्ने देखिन आयो 

४. मृतक डम्बरबहादुर राईको मृत्यु स्वाभाविक अस्वाभाविक के हो भन्ने पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादीहरू लामकाँधे भन्ने हर्कबहादुर बि.क., पदम निरौला, राम मगर समेत र मृतकका वीच झ झगडा र विवाद समेतको रिसइवी रहेकोमा २०६३।४।१६ गते साँझको समयमा प्रतिवादीहरू तीन जना बसी रक्सी खाँदै गर्दा डम्बर राई आई बसी रक्सी खाएको मौकामा निजसँग विवाद गरी प्रतिवादीहरू तीनै जनाले दाउराको चिरपट समेतले डम्बरबहादुर राईको यत्रतत्र भागमा प्रहार गरी मारी फालेको हुँदा ज्यानसम्बन्धी महलको १ र १३ नं.को कसूरमा ऐ.को १३(३) नं.बमोजिम सजाय हुन माग दावी लिई अभियोग पत्र दायर भएको पाइयो । प्रतिवादी मध्येका लामकाँधे भन्ने हर्कबहादुर बि.क.लाई अभियोग माग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय ठहर गरी प्रतिवादी पदम निरौला र रामबहादुर मगरको हकमा अभियोग दावीबाट सफाइ दिने ठहर गरेको सुनसरी जिल्ला अदालतको २०६४।२।३० मा भएको फैसला पुनरावेदन अदालत, विराटनगरबाट सदर हुने ठहर्‍याई भएको २०६५।४।१५ को फैसलाउपर प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.को पुनरावेदन पर्न आएको रहेछ 

५. मिति २०६३।४।१६ गते साँझ ५ बजे गोरु लिन गएको छोरा डम्बरबहादुर राई रातिसम्म घरमा नआएको र भोलिपल्ट विहान लामकाँधे भन्ने हर्कबहादुर बि.क. को खेतको आलीमा घोप्टो परी मृत अवस्थामा फेला परेकोले को कसको कर्तव्यबाट निजको मृत्यु भएको हो ? आवश्यक कारवाही गरिपाऊँ भनी मृतकका बाबु प्रितीबहादुर राईले जाहेरी दिएको देखिन्छ । अनुहारमा रगत लागेको दाहिनेपट्टि छातीमा ३ इञ्च जति छाला खोल्सिएको, बाँयापट्टि पेटमा १ इञ्च छाला खुइलिएको, दाहिने कानबाट रगत बगेको, पेट सुनिएको भन्ने लास जाँच मुचुल्का, मृतकको मृत्युको कारण Due to haemorrhagic shock as a result of injury to vital organs भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको र Enternal examination मा Right side of liver and right lung lacerated  भन्ने समेत उल्लेख भएको पाइयो । पति डम्बरबहादुर राई र लामकाँधे भन्ने हर्कबहादुर बि.क. बीच कुलोको विषयमा झगडा परी हात हालाहाल भै निज हर्कबहादुर बि.क.ले तलाई बनाउँछु भनी पतिलाई धम्की दिएको, निज प्रतिवादीले नै आफैले शौचालय जाँदा लास देखेको भनी घटना विवरण सुनाएको हुँदा निज समेतको कर्तव्यबाट पतिको मृत्यु भएको विश्वास लाग्छ भनी ०६३।४।३१ मा सुस्मिता राइले दिएको जाहेरी दरखास्त समेतका तथ्यबाट मृतक डम्बरबहादुर राईको मृत्यु स्वाभाविक रुपमा आफ्नो कालगतिले भएको नभई कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद देखिएन 

६. अब प्रस्तुत घटना वारदातमा पुनरावेदक प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. को के कस्तो संलग्नता रहेछ भन्ने दोश्रो प्रश्न तर्फ विचार गर्दा, मृतकको बाबु प्रितिबहादुरले दिएको जाहेरी दरखास्तमा छोराको मृत्यु कर्तव्यबाट भएको भनी अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने व्यहोराको उल्लेख गरेको पाइन्छ । घटनास्थल लास प्रकृति मुचुल्का तथा शव परीक्षण प्रतिवेदन पश्चात् मृतककी श्रीमती सुस्मिता राइले दिएको जाहेरी दरखास्तमा आफ्नो श्रीमान् डम्बरबहादुर राई र लामकाँधे भन्ने हर्कबहादुर बि.क. बीच घटना हुनु केही समय अघि कुलोपानीको विषयमा वादविवाद हात हालाहाल भई निज लामकाँधे भन्ने हर्कबहादुर बि.क.ले तलाई बनाउँछु भनी पतिलाई धम्की समेत दिएका थिए । निज लामकाँधे भन्ने हर्कबहादुर बि.क. समेतले पतिलाई कर्तव्य गरी मारी फालेको कुरामा विश्वास हुँदा कारवाही गरिपाऊँ भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । प्रहरीमा बुझिएकी फूलमाया बि.क.ले २०६३।४।१६ गते बेलुका मेरो घरमा पति लामकाँधे, पदम निरौला, राम मगर र मृतक डम्बरबहादुर राई सँगैबसी रक्सी खाएको अवस्था वादविवाद भै डम्बर चिच्याएको सुनेकी हुँ । पदम समेतका तीन जनाले सेतो बोरामा मृतक डम्बरको लास हाली घरदेखि दक्षिणतर्फको खेतको गरामा फालिदिएका रहेछन् । डम्बरलाई हालेको बोरा मेरा श्रीमान्‌ले घरमा ल्याई छानामाथि राखेका हुन् । डम्बरको जस्तो लास खेतमा छ भनी पतिले नै जाहेरवालाको घरमा पहिले खवर गरी दिएका हुन् भन्ने व्यहोराको कागज गरी दिएको देखिन्छ । प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. ले आफू र मृतकबीच केही समय पहिले कुलोपानीको विषयमा झगडा भएको थियो । २०६३।४।१६ गते बेलुका ७ बजेको समयमा पदम निरौला र राम मगरले ल्याएको रक्सी मेरो घरमा बसी खाइरहेको अवस्था डम्बरबहादुर राई पनि आएकोले निज समेत बसी रक्सी खायौं । पदम निरौला, राम मगर र डम्बरबहादुर राईबीच छोरी बुहारीको विषयमा वादविवाद भैरहेको र पानीको विषयमा मृतकसँग मेरो पनि रिसइवी हुँदा तीनै जनाले दाउराको चिरपटले डम्बरलाई हानी भूंईमा लडिसकेपछि घरदेखि दक्षिणतर्फ घरमा भएको बोरामा हाली फालिदिए पश्चात् बोरा लिई घरमा आएको हुँ भनी मृतकलाई कर्तव्य गरी मारेको कुरा स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान  गरेको देखिन्छ 

७. यिनै प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.ले अदालतसमक्ष बयान  गर्दा, अभियोग माग दावीबमोजिम आफूले डम्बरबहादुर राईलाई कर्तव्य गरी मारेको होइन । प्रहरीले कुटपीट गरी मेरो इच्छाविपरीत बयान  गराएको हो । २०६३।४।१७ गते बिहान शौचालय जाँदा मेरो घरदेखि तल खेतमा डम्बरबहादुर राईको लास देखी मृतकको घरमा खवर दिएको हुँ भनी घटना वारदातमा आफ्नो संलग्नता नरहेको भन्ने व्यहोरा लेखाए तापनि आफूउपर प्रहरीले कुटपीट गरी बयान  लेखाउनु पर्ने कुनै कारण र प्रयोजन रहेको भन्न सकेको अवस्था देखिएन । त्यसै गरी घटना वारदातको समयमा घरमा रहेकी यिनै प्रतिवादीको श्रीमती फूलमाया बि.क.समेतले प्रहरीसमक्ष घटना विवरण उल्लेख गरी लेखाएको कागज व्यहोरा समेत कुटपीट गरी लेखाएको भनी अनुमान गर्ने अवस्था देखिएन । अनुसन्धानको क्रममा पक्राउ भै आएपश्चात् प्रहरीद्वारा कुटपीट गरिएको स्थिति भए म्याद थप गर्दाको समयमा समेत आफ्नो व्यहोरा लेखी लेखाई अदालतसमक्ष निवेदन दिएको वा कुटपीट घाउचोटको अवस्था भए अदालतमा बयान  गर्दाको अवस्थामा समेत सो व्यहोरा लेखाउनु पर्नेमा सो सम्बन्धमा कुनै जिकीर लिएको समेत पाइएन । जाहेरवाली सुस्मिता राइले कुलोपानीको विषयमा पति डम्बरबहादुर राईसँग प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.को विवाद परिरहेको र त्यही कुलोपानीको रिसइवीको कारण पतिलाई कर्तव्य गरी मारेका हुन् भनी जाहेरी दरखास्तको व्यहोरालाई समर्थन गरी अदालतसमक्ष बकपत्र गरेको देखिन्छ 

८. यी पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष लेखाएको बयान  व्यहोरा, जाहेरवाली सुस्मिता राइले जाहेरी दरखास्तको व्यहोरालाई समर्थन गरी अदालतसमक्ष गरेको बकपत्र, आफ्नै घरमा बसी मृतक समेतले रक्सी खाएको र सोही समयमा वादविवाद भै मृतक चिच्याएको सुनेकी हुँ, आफ्नै घरमा रहेको बोरामा मृतक डम्बरबहादुर राईको लास राखी खेतको गरामा फाली प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.ले बोरा आफ्नो घरमा ल्याई घरको छानोमा राखेको भनी यिनै प्रतिवादीको श्रीमती फूलमाया बि.क.ले प्रहरीसमक्ष गरेको कागज व्यहोराले प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयान  कथनलाई फरक नपारी समर्थन गरेको देखिन्छ । प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क.ले अनुसन्धान अधिकारीसमक्ष लेखाएको बयान व्यहोरालाई निजउपरको किटानी जाहेरी दरखास्त र सोलाई समर्थन गरी जाहेरवालीको अदालतसमक्ष भएको बकपत्र, अनुहारमा रगत लागेको, दाहिनेपट्टि छातीमा ३ इञ्च छाला खुइलिएको, दाहिने कानबाट रगत बगेको, पेट सुनिएको भन्ने मृतकको लास जाँच मुचुल्का एवं लासको आन्तरिक अंङ्गको परीक्षणबाट Right side of liver and right lung lacerated भएको भन्ने उल्लेख भै शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Shock as a result of injury to vital organs भनी उल्लेख भएका बस्तुनिष्ठ प्रमाणले समर्थन गरेको पाइयो । घटना वारदात सम्बन्धमा मिसिल संलग्न तथ्य प्रमाणबाट मृतकलाई कर्तव्य गरी मार्नमा यी प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. को संलग्नता पुष्टि भएको अवस्था देखिएको हुँदा निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.विपरीत १३(३) नं.को कसूरमा ऐ. महलको १३(३) नं.बमोजिम जन्मकैदको सजाय ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन 

९. अब पुनरावेदन अदालतबाट प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. लाई ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम भएको जन्मकैदको सजाय चर्को पर्ने भनी अ.बं.१८८ नं. बमोजिम १० बर्ष कैदको राय व्यक्त गरेको तर्फ हेर्नु पर्ने हुन आयो 

१०. सो सम्बन्धमा विचार गर्दा मुलुकी ऐन अ.बं.१८८ नं.को कानूनी व्यवस्था हेर्दा, “ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिमको सजाय दिंदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छभन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत कानूनी व्यवस्थाले प्रतिवादी कसूर अपराधमा सावित रहेपनि अपराधको प्रकृतिबाट इविलाग वा मनसाय नभै त्यस्तो कसूरबाट मानिस मर्ला जस्तो नदेखिई भवितव्य हो कि भन्ने सम्मको शंका मिसिल कागजबाट देखिएको वा अपराध हुँदाको अवस्थालाई समेत विश्लेषण गरी इन्साफ गर्नेका चित्तले यतिसम्म सजाय गर्दा कानूनको मकसद पूरा हुने देखेको अवस्था भए मात्र घटी सजाय तोक्न सक्ने तजविजी किसिमको अधिकार रहेको देखिन्छ । कानूनले प्रष्ट रुपमा तोकेको आधार भन्दा अलग्गै रुपमा हेरी प्रस्तुत कानूनी व्यवस्थाको प्रयोग हुन सक्दैन । मुद्दामा रहेको तथ्य हेर्दा यी प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. को घरमा प्रतिवादी र मृतक समेतका व्यक्तिहरू बसी रक्सी सेवन गरेको र सो अवस्था मृतकसँग वादविवाद झगडा भई मृतक चिच्याएको भन्ने कुरा यिनै प्रतिवादीको श्रीमती फूलमायाले प्रहरी समक्ष लेखाएकी छिन् । प्रतिवादी लामकाँधे भन्ने हर्कबहादुर बि.क. र मृतकबीच प्रस्तुत घटना वारदात हुनु अघिदेखि कुलो पानीको विषयमा वादविवाद भै हात हालाहालको स्थिति रहेको भन्ने जाहेरी लगायत प्रतिवादीको अनुसन्धान अधिकारी समक्षको बयान बाट समेत देखिन आएको छ । प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान  गर्दा सो घटनामा अन्य व्यक्ति समेतलाई पोल गरी आफू समेत प्रत्यक्ष संलग्न रही मृतकलाई दाउरा चिरपटले हानी मारेको र मृतक भूईंमा लडेपछि आफ्नै घरमा रहेको बोरामा लास राखी अन्यत्र फाली सो रगतको दाग लागेको बोरा घरमा ल्याई छानामा सिउरी राखेको अवस्थामा वरामद भएको भन्ने देखिन आएको  छ । अदालतसमक्ष बयान  गर्दा घटना वारदात मिति समयमा आफू घरमा बसेको र उक्त कसूर अपराधमा आफ्नो कुनै पनि संलग्नता नरहेको भनी पूर्ण इन्कारी व्यहोरा लेखाएको देखिएको छ । प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको बयान  र अदालतसमक्ष गरेको बयान  व्यहोराले पुनरावेदक प्रतिवादीले अनुसन्धान तथा मुद्दाको न्याय निरुपणमा सहयोग पुर्‍याएको भन्ने अवस्था पनि देखिएन । घटनासँग सम्बद्ध तथ्यहरूले मृतकलाई मार्नमा यी प्रतिवादीको प्रत्यक्ष संलग्नता देखिइरहेको छ । यी प्रतिवादीले अदालतमा बयान  गर्दा घटना वारदातको पूरै तथ्यमा इन्कार रही घटनालाई सहज रुपमा नलिई इन्साफ गर्ने कार्यलाई जटिलतातर्फ लैजान खोजेको समेत देखिन्छ । घटना वारदात घटिसकेपछि पनि मौकामा मृतकका आफन्त समेतलाई घटनाको यथार्थ व्यहोरा नवताई आफू अपराधबाट उम्कन सकिन्छ कि भन्ने दुष्प्रयास गरी लास फालेको भोलिपल्ट आफूले लास देखेको भनी मृतकका परिवारलाई खवर गरेको भन्ने देखिन्छ । यसका अतिरिक्त आफूले गरेको कसूर अपराधप्रति पश्चाताप नगरी अपराध लुकाउने दवाउने नियतले मानिस मरिसकेपछि पनि लास बोरामा हाली आफ्नै कालगतिले वा अरु कसैको कर्तव्यले मरेको भन्ने भान पार्न खोज्नेसम्मका घटना पश्चातका यी प्रतिवादीका पछिल्ला क्रियाकलाप समेतलाई दृष्टिगत गर्दा अ.बं.१८८ नं.बमोजिम पुनरावेदन अदालत विराटनगरबाट पुनरावेदक प्रतिवादीलाई १० बर्ष कैदको सजाय हुन व्यक्त गरिएको राय मनासिब देखिएन । व्यक्त राय कायम हुँदैन सोअनुरूप गर्न पर्दैन ठहर बमोजिम नै सजाय हुन्छ । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू 

उक्त रायमा सहमत छौं 

न्या.कृष्णप्रसाद उपाध्याय

न्या.सुशीला कार्की

इति संवत् २०६७ साल फागुन १२ गते रोज ५ शुभम

 

इजलास अधिकृत :पुनाराम खनाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु