शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५२२ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक:

निर्णय नं. ४५२२    ने.का.प. २०४९ ()  अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४७ सालको फौ.पु.नं. २८७

फौ.सा.नं. ७१

सम्वत् २०४८ सालको फौ.पु.नं. ३१६

फैसला भएको मिति: २०४९।३।३।४ मा

पुरावेदक/प्रतिवादी: जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको लाटो भन्ने गोकुल के.सी.

विरुद्ध

विपक्षी /वादी: कृष्णमाया के.सी. को जाहेरीले श्री ५ को सरकार

पुनरावेदक/प्रतिवादी: जिल्ला ललितपुर टिकाथली गा.वि.स. वडा नं. ३ बस्ने राजन के.सी.

विरुद्ध

विपक्षी/वादी: कृष्णमाया के.सी. को जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    बक्क लाटोका एकाघरका बाबु र सहोदर भाइले निजको बयान निजको इशारा बमोजिम भएको ठीक छ भनी गरेको सनाखतबाट अ.बं. २४ नं. बमोजिम भएको हो भनी मान्नु पर्छ । जन्मे देखि एउटै घरका बाबु र भाइले लाटो छोरा दाजुको इशाराको अर्थ राम्ररी बुझेका हुन्छन् भन्ने कुराको सहजै अनुमान गर्न सकिने ।

(प्रकरण नं. ३८)

(२)   लाटो भए पनि आफूले गरेको कामको परिणाम जान्नै नसक्ने किसिमको लाटो पनि देखिँदैन, निजको क्रियाकलापले आफूले गरेको कामको परिणाम बुझ्न सक्ने किसिमको देखिँदा निजले मृतकलाई चक्कु प्रहार समेत गरी कुटेको परिणाम स्वरुप मृत्यु भएको हुँदा निजलाई आरोप बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. ३८)

(३)   मृतकसंग कुनै पूर्व रीसइवी नभएको मार्ने पूर्व योजना पनि नभएको तथा अचानक उठेको रिसबाट कुटपिट गर्दा मरेको भन्ने घटनाको परिप्रेक्ष्यमा लाटो व्यक्तिलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्ने ।

(प्रकरण नं. ३८)

(४)   तिहारको अंध्यारो रातमा इशारा कसरी देखे बुझे भन्ने तथ्य पनि नखुलेबाट ज्यान जस्तो गम्भीर मुद्दामा त्यस्तो संदिग्ध रुपको कथनलाई सहजै ग्रहण गरी हाल्न अप्ठ्यारो हुने ।

(प्रकरण नं. ३९)

(५)   अन्य सबूदको समर्थनको अभावमा सहअभियुक्तको पोल मात्रको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने ।

(प्रकरण नं. ३९)

पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा, विद्वान अधिवक्ता श्री धन बस्नेत

प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाड्ड, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान   अधिवक्ता श्री अग्नि खरेल

विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री मोहन थपलिया

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठ

१.     म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    मिति २०४२।७।२९ गते अं. १३ बजेको समयमा टिकाथली गा.पं. वडा नं. २ बस्ने नारायण विष्टको खेतमा नाक मुखबाट रगत बगीरहेको अवस्थामा मेरो श्रीमान श्यामकृष्ण के.सी. को लाश फेला परेकोले जाहेर गर्न आएको छु । मेरो श्रीमानलाई कर्तव्य गरी मारे मराएको हो कसले मार्‍यो खुलाउन सक्तिन । प्रहरीद्वारा अभियुक्त पत्ता लगाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णमाया के.सी. को मिति २०४२।७।२९ को जाहेरी ।

३.    लासको दुबै आँखा चिम्ली उनका नाकको प्वालबाट रगत बगी मुखमा समेत रगतले पोतिएको लाशको टाउकोको भाग हिलो माटोले पोतिएको माथिल्लो ओठको दाहिने भागमा धारीलो हतियारले काटेको टाउकोको टुपीको भागमा २ वटा चोट लागेको घाँटीको अगाडिको भागमा रातो निल डाम भएको टाउकोमा चुच्चो हतियारले घोचेको जस्तो घाउ देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४.    घटनास्थलमा फेला परेको चप्पल मेरो दाजु लाटो भन्ने गोकुल के.सी. को हो । मृतकलाई दाजु लाटो भन्ने गोकुल खत्री संलग्न भएको हुनुपर्छ भन्ने समेत व्यहोराको पुष्कर खत्रीको प्रहरीमा भएको कागज ।

५.    मृतकले एक्कासी मलाई झम्टी कुटेकोले रीस थाम्न नसकी मैले मुक्काले हानी लडाएको मात्र थिएँ त्यसैबेला चन्द्रबहादुर के.सी.ले चक्कुले हान् भनेकोले मैले चक्कुले प्रहार गरेको र चन्द्रबहादुर राजन के.सी. समेतले घाँटी अचेटी मारेको हो भन्ने समेत व्यहोराको लाटो भन्ने गोकुल खत्रीको प्रहरी समक्ष भएको बयान ।

६.    रगत लगेको कपडाहरु समेत प्रहरीले बरामद गरी लगेको ठीक हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।

७.    लाटो भन्ने गोकुल के.सी. ले साधुराम के.सी. मुकुन्द के.सी., राजेन्द्र के.सी., चन्द्रबहादुर के.सी. लाई देखाई दिएको र निजहरुले नै मेरो लोग्नेलाई कर्तव्य गरी मारेमा पूरा विश्वास लागेको हुँदा जाहेरी दिन आएको छु । अपराधी माथि कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णमाया के.सी. ले मिति २०४२।८।४ मा दोस्रो पटक दिएको जाहेरी ।

८.    घटनास्थलमा पाइएको ढाकाको टोपीमा लागेको पदार्थ मृतकको लाश नजीकैको रगत लागेको माटो अभियुक्त गोकुल खत्रीको जिन्सको ज्याकेटमा लागेको पदार्थमा मान्छेको ग्रुपको रगत र अभियुक्त गोकुल खत्रीको जिन्सको टोपीमा लागेको पदार्थ र घटनास्थलबाट बरामद भएको भाँचिएको चक्कुको बीडमा लागेको पदार्थमा ग्रुपको रगत देखिएको भन्ने विशेषज्ञको प्रतिवेदन र मृतक श्यामकृष्णको ग्रुपको र गोकुल खत्रीको ग्रुपको रगत भन्ने विशेषज्ञको प्रतिवेदन ।

९.    मैले मृतक श्यामकृष्ण के.सी. लाई कर्तव्य गरी मारेको होइन जग्गाको साँधको विषयमा मेरो दाजु चन्द्रबहादुर के.सी. र दयाराम के.सी. संग झगडा भएको थियो । सोही रीसइवीले मलाई फसाउन पोलेको हुनुपर्छ भन्ने समेत व्यहोराको राजन के.सी. को प्रहरीमा भएको बयान ।

१०.    मिति २०४२।७।२८ गते बेलुका ७.३० बजे तिर मेरो घरमा आई श्यामकृष्ण के.सी. र लाटो भन्ने गोकुल खत्री दुबैले एक एक गिलास रक्सी खाई निस्की गएका हुन् । कहाँ गए मलाई थाहा छैन । मृतकलाई कसले मार्‍यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको सीता राना मगरको प्रहरीमा भएको कागज ।

११.    अन्दाजी ९.३० बजेको समयमा मृतक श्यामकृष्ण र लाटो भन्ने गोकुल खत्री मेरो घरमा एकछिन तास खेली निस्की गएका थिए । मृतकलाई कसले मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको रामचा महर्जनको प्रहरीमा भएको कागज ।

१२.   २०४२।७।२८ गते बेलुका मृतक श्यामकृष्ण र गोकुल खत्री रामचाको घरमा एकछिन तास खेली अन्दाजी १० बजेको समयमा रामचाको घरबाट निस्की गएका हुन् । त्यसपछि निजहरु कहाँ गए मलाई थाहा छैन भन्ने समेत व्यहोराको बाले भन्ने बालकृष्ण के.सी. प्रहरीमा भएको कागज ।

१३.   मिति २०४२।८।४ को पाना २ को जाहेरी दर्खास्तमा भएको औंठाको सहीछाप मेरै हो भन्ने समेत व्यहोराको कृष्णमाया के.सी. को सनाखत कागज ।

१४.   अनुहार छातीमा समेत चोट पटक लागी करङ भाँचिई कलेजोमा रक्तश्राव हुन गई बेहोस भई मृत्यु भएको हो भन्ने पोष्टमार्टम रिपोर्ट ।

१५.   मैले श्यामकृष्ण के.सी. लाई कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको राजेन्द्र के.सी. को प्रहरीमा भएको कागज ।

१६.    मैले श्यामकृष्ण के.सी. लाई कर्तव्य गरी मारे मराएको छैन म उपरको जाहेरीको आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको साधुराम के.सी. को प्रहरीमा भएको कागज ।

१७.   मिति २०४२।७।२८ गते राती मृतक श्यामकृष्ण के.सी. र अभियुक्त लाटो भन्ने गोकुल खत्री एकै साथ हिडेको देखेको हो भन्ने र श्यामकृष्ण के.सी. लाई जाहेरीमा लेखिएका राजेन्द्र के.सी. समेतले कर्तव्य गरी मारेको हो घटनास्थलमा फेला परेको ढाकाको टोपी चन्द्रबहादुर के.सी. को हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

१८.   अभियुक्त लाटो भन्ने गोकुल खत्रीले चक्कु प्रहार गरेको समेत चोटबाट श्यामकृष्ण के.सी. को मृत्यु हुन गएको सिद्ध हुन आएकोले निज उपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम र अभियुक्त राजन के.सी., साधुराम के.सी., मुकुन्द के.सी., चन्द्रबहादुर, के.सी. राजेन्द्र के.सी. समेत उपर ऐ.ऐनको १३(४) बमोजिम कारवाही भई सजायँ हुने माग दावी लिइएको मिति ०४२।८।२७।५ को प्रहरी प्रतिवेदन ।

१९.    मिति २०४२।७।२८ गते बेलुकी ८ बजे देखि देउसी खेली बिहान आफ्नो घरतर्फ गयौं लाटो भन्ने गोकुल खत्रीसंग बोलचाल छैन । सोही कारणबाट मलाई पोलेको हुनुपर्छ । मैले कसूर गरेको नहुँदा म उपरको आरोप झुट्ठा हो भन्ने समेत व्यहोराको राजन के.सी. को अदालतमा भएको बयान ।

२०.   २०४२।७।२८ गते बेलुका रामचा महर्जन कहाँ तास खेलेर बेलुका अं. १०.३० बजे त्यहाँबाट फर्की आफ्नो घरमा आएँ । श्यामकृष्ण मरेको कुरा भोलिपल्ट सुनेको हुँ मैले मृतक श्यामकृष्ण के.सी. लाई कर्तव्य गरी मारेको होइन रिसइवीले आरोप लगाएको हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको साधुराम के.सी. को अदालतमा भएको बयान ।

२१.   मौकामा भएको कागजमा भएको सही मेरो हो । रातो चप्पल चक्कु कपडा मेरो हो ढाका टोपी मेरो होइन, देखाइएको मृतक श्यामकृष्णको फोटो देखें । उक्त फोटोमा देखिए अनुसार बरामद भएको चक्कुले मैले हानेको हुँ भन्ने समेत व्यहोराको लाटो भन्ने गोकुल के.सी. को अदालतमा भएको बयान ।

२२.   २०४२।७।२८ मा देउसी खेली अं. २ देखि २.३० बजे रातको समयमा चिया पाउरोटी खायौं र साथीहरु बीच गफ गर्दै बिहान भयो साथीहरु र म मेरो घरमा सुत्यौं । घटनास्थलमा म थिइन । पहिलाको रीसइवीबाट म उपर जाहेरी दिएको होला भन्ने समेत व्यहोराको राजेन्द्र के.सी. को अदालतमा भएको बयान ।

२३.   २०४२।७।२८ गते राजन के.सी., चन्द्रबहादुर के.सी., राजेन्द्र के.सी. र म समेत २०२५ जना भई राती ९.१५ देखि देउसी खेल्न शुरु गरी बाबुको घरमा देउसी खेली सकेपछि चियापान गरी गफ गर्दा उज्यालो भयो । मृतकलाई मैले कुटपिट गरी मारेको होइन भन्ने समेत व्यहोराको म्यादी पूर्जीमा हाजिर भएका मुकुन्द के.सी. को अदालतमा भएको बयान ।

२४.   म अपराधमा सरीक भएको छैन । टोपी मेरो हो भनी सरजमीनका मानिसले झुठ्ठा बयान गरेका हुन् । उक्त घटनाको दिन म समेत २४२५ जना मिली देउसी खेलेका थियौं । मेरो भाइ राजन के.सी. लाई कुटपिट गरेकाले ज्यान मार्ने उद्योग गर्‍यो भनी मैले जाहेरी दिएको रिसइवीबाट म उपर शंका देखाई झुठ्ठा उजूर दिएका हुन् । सफाई पाउँ भन्ने समेत व्यहोराको म्यादी पूर्जीमा हाजिर भएका चन्द्रबहादुर के.सी. को अदालतमा भएको बयान ।

२५.   प्र.लाटो भन्ने गोकुल खत्री कै कर्तव्यबाट श्यामकृष्णको मृत्यु भएको देखिन आएबाट निजको हकमा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरु राजन के.सी., राजेन्द्र के.सी., र मुकुन्द के.सी. ले कसूर गरेकै हुन भन्न सकिने अवस्था नहुँदा प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन । प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको मिति २०४४।११।५।४ को फैसला ।

२६.   म निर्दोष व्यक्तिलाई अनुमान र अनिश्चित कुराको आधार लिई माग दावी बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला न्याय एवं कानुनसंगत नभएकोले फैसला बदर भई सफाई पाउनु पर्दछ भन्ने समेत व्यहोराको लाटो भन्ने गोकुल खत्रीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

 

२७.   शुरु फैसलामा चित्त नबुझेकोले प्र.राजन के.सी., चन्द्रबहादुर, राजेन्द्र के.सी., राधुराम के.सी. र मुकुन्द के.सी. समेतलाई शुरु प्रहरी प्रतिवेदन दावी अनुसार हदैसम्म सजायँ गरी पाउन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

२८.   मृतकको मृत्यु प्र.गोकुल खत्रीको कर्तव्यबाट भएको संकलित सबूद प्रमाणबाट पुष्टि हुन आएकोले निजको हकमा शुरु जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैद गर्ने गरेको निर्णय मनासिब ठहर्छ । निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को सजायँ पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने राय व्यक्त गरी अन्य प्रतिवादीहरु राजन के.सी., साधुराम के.सी., चन्द्रबहादुर के.सी., राजेन्द्र के.सी. र मुकुन्द के.सी. को हकमा शुरुबाट सफाई दिने ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४५।१२।२० को फैसला ।

२९.   प्र.राजेन्द्र, राजन, साधुराम, मुकुन्द र चन्द्रबहादुरलाई सबूद प्रमाणको मूल्यांकन नै नगरी रातीको घटनालाई प्रत्यक्षदर्शी नभएको भनी सफाई दिने गरेको वागमती अञ्चल अदालतको इन्साफ बदर गरी माग दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गरी पाउन अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको म.क्षे.अ. मा परेको पुनरावेदन ।

३०.   मेरो सम्पूर्ण अवस्थालाई विचार गरी सजायँ तोक्दा १० वर्ष तोकिएको पनि बढी भयो सर्वश्व पट्टी घटाइएन । सजायँ घटाई न्याय पाउँ भन्ने समेत लाटो भन्ने गोकुल के.सी. को म.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

३१.   श्यामकृष्णको मृत्यु गोकुल के.सी. को मात्र चोटबाट भएको नभई गोकुल के.सी., चन्द्रबहादुर के.सी. र राजन के.सी. समेतले छोडेको चोटबाट मरेको देखिएकोले प्र.गोकुल खत्री, चन्द्रबहादुर के.सी. र राजन के.सी. लाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत जन्मकैद हुने ठहर्छ । अरु प्रतिवादीहरुलाई प्रमाणको अपर्याप्तताको आधारमा सफाई दिएको शुरु र वागमती अञ्चल अदालतको इन्साफ सदर हुन्छ भन्ने समेत म.क्षे.अ. को मिति २०४७।५।१०।१ को फैसला ।

३२.   ज्यान मार्ने मनसाय नै नभएको स्थितिमा १३(३) नं. बमोजिम सजायँ गरेको न्याय एवं कानुनसंगत भएन । सजायँ घटाई न्याय पाउँ भन्ने समेत प्रतिवादी लाटो भन्ने गोकुल खत्रीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

३३.   म.क्षे.अ. बाट मिसिलमा संलग्न तथ्य र प्रमाणलाई नकेलाई दुई तहबाट सफाई पाएको ज्यान जस्तो गम्भीर फौज्दारी मुद्दामा गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी राजन के.सी. को यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

३४.   यसमा सहअभियुक्तको पोलको समर्थन हुने प्रमाणको अभावमा कसूरदार ठहर्‍याएको म.क्षे.अ. को फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०४८।११।१२।२ को आदेश ।

३५.   नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी गोकुल के.सी. का तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री बद्रीप्रसाद शर्मा र धन बस्नेतले मेरो पक्षको मार्ने मनसाय छैन, आत्मरक्षाको लागि प्रहार गरेको देखिँदा म.क्षे.अ. को फैसला मिलेको छैन भन्ने समेत र प्रतिवादी राजन के.सी. को तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री सुवास नेम्वाड्ड, श्री शम्भु थापा र श्री अग्नी खरेलले मेरो पक्षलाई १३(४) नं. बमोजिम अभियोग लगाइएकोमा म.क्षे.अ. बाट १३(३) बमोजिम सजायँ गरेको मिलेको छैन, सहअभियुक्त बाहेक अरु स्वतन्त्र प्रमाणले गडाउ गरेको छैन, गोकुल र मृतकको झगडा पर्नासाथ राजन के.सी. समेतका व्यक्तिहरु त्यहाँ पुगी चक्कु हान्न लाटोलाई इशारा गर्नु जस्तो अभियोग अस्वभाविक समेत हुँदा म.क्षे.अ. ले सजायँ गर्ने गरेको त्रुटिपूर्ण छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री मोहन थपलियाले म.क्षे.अ. को फैसला मिसिल संलग्न प्रमाणको आधारमा नै भएको हुँदा कायमै रहनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

३६.   यसमा म.क्षे.अ. बाट भएको फैसला मिलेको छ छैन हेरी सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

३७.   निर्णय तर्फ विचार गर्दा यसमा मृतक श्यामकृष्ण के.सी. को मृत्यु स्वभाविक नभै पोष्टमार्टम रिपोर्ट समेतका प्रमाणले कुटपिटको परिणामबाट मृत्यु भएको भन्ने देखिँदा कर्तव्यबाट मृत्यु भएको भन्नेमा विवाद देखिएन । तर उक्त अपराध प्रतिवादीहरु लाटो भन्ने गोकुल के.सी. राजन के.सी. र चन्द्रबहादुर के.सी. द्वारा संयुक्त रुपमा भएको भन्ने म.क्षे.अ.को ठहर बमोजिम निजहरुले कसूर गरेका हुन् होइनन् भन्ने निरोपण गर्नु पर्ने हुन आयो ।

३८.   लाटो भन्ने गोकुल के.सी. ले प्रहरी तथा अदालत समक्ष गरेको बयानमा आफूले ०४२।७।२९ को रात नारायण विष्टको खेतमा श्यामकृष्ण के.सी.लाई चक्कु समेतका प्रहारबाट निर्घात रुपले कुटपिट गरेको हुँ भनी बयान गरेको पाइन्छ । निज बक्क लाटो भन्ने देखिन्छ । तर निजका एकाघरका बाबु र सहोदर भाइले निजको बयान निजको इशारा बमोजिम भएको ठीक छ भनी गरेको सनाखतबाट अ.बं. २४ नं. बमोजिम गोकुल के.सी. को बयान निजको कथन अनुसार भएको हो भनी मान्नु पर्छ । जन्मदेखि एउटै घरका बाबु र भाइले लाटो छोरा दाजुको इशाराको अर्थ राम्ररी बुझेका हुन्छन भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । छोरा दाजु प्रति बाबु भाइको कुनै रीसइवी पूर्वाग्रहको अभावमा गोकुल के.सी. को अपराध स्वीकारोक्ति प्रमाणिक नै हो भनी मान्नु पर्छ । प्रहरी तथा अदालत समक्षको अपराध स्वीकारोक्तिको अलावा सरजमीन तथा अन्य सबूदबाट मृतकसंग अन्तिम अवस्थासम्म निज गोकुल साथमा रही रक्सी खानुको साथै तास खेलेको र खेलेको ठाउँबाट घर जानको लागि संगै हिंडेको, निजको कथन बमोजिम चक्कुले निजको औंला काटिएको, गोकुल के.सी. ले देखाएको ठाउँ निजका बाबु सीताराम खत्रीका घरको एकतला माथि पूर्वपट्टि कोठामा जुटको बोराहरु राखेको ठाउँबाट रगत लागेका लुगाहरु बरामद भएको घटनास्थलमा फेला परेका चक्कु र रातो चप्पल आफ्नो भएकोमा निजको साविती समेतका यावत प्रमाणबाट निजले मृतक श्यामकृष्णलाई कुटेको तथ्य प्रमाणित भएको छ । कुट्नु पर्ने कारणमा तास खेल्न पैसा माग्दा नदिएको र आफूलाई श्यामकृष्णले चिथरी कुटेकोबाट अचानक उठेको रीसको परिणाम भन्ने देखिएको छ । साथै गोकुल के.सी. लाटो भए पनि आफूले गरेको कामको परिणाम जान्नै नसक्ने किसिमको लाटो पनि देखिँदैन । निज इटा टायल कारखाना भक्तपुरमा नोकरी गर्दछन तास खेल्छन, रक्सी खान्छन इत्यादि क्रियाकलापले आफूले गरेको कामको परिणाम बुझ्न सक्ने किसिमको देखिँदा निजले मृत श्यामकृष्णलाई चक्कु प्रहार समेत गरी कुटेको परिणाम स्वरुप श्यामकृष्णको मृत्यु भएको हुँदा निज पुनरावेदक प्रतिवादी लाटो भन्ने गोकुल के.सी. लाई आरोप बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार जन्मकैदको सजायँ गर्ने गरेको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । तर मृतक श्यामकृष्ण के.सी. संग पुनरावेदक प्रतिवादी गोकुल के.सी.को कुनै पूर्व रीसइवि नभएको, मार्ने पूर्व योजना पनि नभएको तथा अचानक उठेको रिसबाट कुटपिट गर्दा श्यामकृष्ण मरेको भन्ने घटनाको परिप्रेक्ष्यमा लाटो व्यक्तिलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्छ ।

३९.   म.क्षे.अ. बाट ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गत सहभागी कसूरदार ठहराइएको पुनरावेदक प्रतिवादी राजन के.सी. को अपराधमा संलग्नता बारे विचार गर्दा निज समेतले मृतक श्यामकृष्ण के.सी.लाई कुटी मारेको आरोपमा अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष इन्कारी बयान गरेको पाइन्छ । प्र.लाटो भन्ने गोकुल के.सी.को बयानमा मृतक श्यामकृष्णसंग निज गोकुलको झगडा कुटाकुट प्रारम्भ हुने बेलामा वारदातस्थलमा राजन के.सी.चन्द्रबहादुर के.सी.समेतका व्यक्तिहरु आइपुगेका थिए, चन्द्रबहादुरले चक्कुले हिर्का भनी इशारा गरे बमोजिम गोजिबाट चक्कु झिकी हिर्काएको हुँ साथै राजन के.सी., चद्रबहादुर के.सी. समेतले लाती मुड्कीले श्यामकृष्णलाई कुटेका हुन र निज मरे भन्ने ठानेपछि सबै जना भागी आफ्नो घरतर्फ लागेका हौं भन्ने कथनबाट यी व्यक्तिहरु पोलिएर कारवाही चलेको देखिन्छ । सरजमीनका कतिपय व्यक्तिहरुले अदालतमा आई बकपत्र गर्दा निजहरुको अपराधमा संलग्नतामा शंका विश्वास व्यक्त गरेको पाइन्छ । तर चस्मदिद रुपमा कसैले पनि सो घटना देखेकोे पाइदैन । लिलाबहादुर थापा मरेको ज्यान मुद्दामा मृतक श्यामकृष्ण के.सी. ले राजन के.सी. समेत उपर किटानी रुपमा सरजमीनमा बकेकोले श्यामकृष्ण प्रति राजन के.सी. समेतले दागा गरेको कारणबाट निजहरु पनि कुटपिट गर्ने कार्यमा सरिक भएको भन्ने कारण अभियोग पक्षबाट देखाइएको छ, तर राती १०, ११ बजे सुनसान खेतमा संगै हिडीरहेका मृतक श्यामकृष्ण र लाटो भन्ने गोकुल के.सी.बीच अकस्मात झगडा कुटाकुट भएको ठाउँमा प्रतिवादीहरु राजन र चन्द्रबहादुर ठ्याक्कै पुग्नु र निजहरुले पनि श्यामकृष्णलाई कुट्न थालेको भन्ने कुरा अलिक तर्कयुक्त देखिँदैन । किनभने गोकुल के.सी. र राजन के.सी. हरु बीच श्यामकृष्णलाई कुट्ने मार्ने भन्ने बारे कुनै पूर्वयोजनाको विद्यमानता स्वयं लाटो भन्ने गोकुल के.सी. को बयान समेतबाट पनि देखिँदैन र पूर्वयोजना संलग्नता बिना अकस्मात घटनास्थलमा पुगे भनेका प्रतिवादीहरु मध्ये चन्द्रबहादुर के.सी. ले लाटो गोकुललाई चक्कुले हिर्का भनी इशारा गरेको भन्ने कुरा तर्कसंगत लाग्दैन । त्यस माथि तिहारको समय अध्यारो रातमा उक्त इशारा गोकुलले कसरी देखेबुझे भन्ने तथ्य पनि नखुलेबाट ज्यान जस्तो गम्भीर मुद्दामा त्यस्तो संदिग्ध रुपको कथनलाई सहजै ग्रहण गरी हाल्न अप्ठ्यारो हुन्छ । सरजमीनका व्यक्तिहरुले देखाएको शंका र विश्वासलाई पनि यस्तो अधिकतम सजायँ हुने प्रकृतिको कसूर ठहर्‍याउने कुरामा भरपर्दो आधार मान्न सकिदैन । मृतक श्यामकृष्णको शव परीक्षण प्रतिवेदनमा लाशमा धेरै घा चोटहरु भएको र रगतपक्ष पनि भएको उल्लेख छ । लाटो भन्ने गोकुल के.सी.को लुगामा रगतहरु लागेका छन् तर राजन के.सी.लगायतका प्रतिवादीहरुले कुटपिट गरेको भए निजहरुको लुगामा पनि रगतहरु लागेको हुनुपर्ने सो प्रमाणहरु अभियोग पक्षबाट फेला पार्न सकिएको देखिएन । मृतक श्यामकृष्णको शरीरमा लागेका २३ वटा घाउबाट सो चोटहरु एउटै व्यक्तिको प्रहारबाट हुनै सक्दैन भन्ने अनुमान गर्न पनि मिल्दैन । एक त लाटो स्वभावको व्यक्ति त्यस माथि संगै हिंडेको, खाएको खेलेको श्यामकृष्ण जस्तो साथीलाई रक्सी खाएको सुर र रिसको आवेशमा चक्कु प्रहार गर्न सक्नेले निर्घात रुपले कुटपिट गर्दा त्यति घाउ पर्नै सक्दैन भन्न नसकिने हुँदा म.क्षे.अ.को रायसंग सहमत हुन सकिएन । अन्य सबूदको समर्थनको अभावमा सहअभियुक्तको पोल मात्रको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने भई पुनरावेदक प्रतिवादी राजन के.सी.लाई लाटो भन्ने गोकुल के.सी. को पोलको आधारमा मात्र कसूरदार ठहर गर्न नमिल्ने हुँदा निजले शंकाको सुविधा पाउने ठहर्छ । निज पुनरावेदक प्रतिवादी राजन के.सी. लाई ज्यानसम्बन्धीको १३(४) को आरोप भएकोमा ऐ.को १३(३) अन्तर्गत कसूरदार ठहराई जन्मकैद गर्ने गरेको म.क्षे.अ.को इन्साफ नमिलेकोले उल्टी हुन्छ र निज पुनरावेदक प्रतिवादी राजन के.सी.ले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ ।

४०.   साधकको सम्बन्धमा विचार गर्दा प्रतिवादी गोकुल के.सी. र राजन के.सी. को हकमा पुनरावेदनबाटै निर्णय भइसकेको हुनाले केही बोल्न परेन । ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गत सजायँको सहभागी अर्को अभियुक्त चन्द्रबहादुर के.सी. को यस अदालतमा पुनरावेदन परेको पाइएन, तापनि साधकको तहबाट निजको हकमा भएको म.क्षे.अ. को ठहर मिले नमिले तर्फ विचार गर्नु पर्ने हुँदा निजको अपराधमा संलग्नताको स्थिति बारे विचार गर्दा निजलाई पनि गोकुल के.सी. ले पोल गरेको देखिन्छ । तर राजन के.सी झै निज पनि घटनास्थलमा पुगेको भन्ने कुरा त्यति भरपर्दो र तर्कसंगत देखिँदैन । निजको टोपी घटनास्थलमा फेला परेको भन्ने केही सरजमीनका व्यक्तिहरुको भनाई के कति कारणमा आधारित छ, सो नखुलेकोबाट घटनास्थलमा एउटा टोपी फेला परेकै आधारमा सो टोपी अभियुक्तकै हो भन्ने प्रमाणित हुने तथ्ययुक्त सबूद नभएसम्म कसूरदार ठहर गर्न पर्याप्त कारण मान्न नमिल्ने र कसूर ठहर्‍याउने अन्य प्रत्यक्ष प्रमाणको अभाव समेतबाट निज प्रतिवादी चन्द्रबहादुर के.सी. ले पनि शंकाको सुविधा पाउने हुँदा निजलाई कसूरदार ठहर्‍याएको म.क्षे.अ. को इन्साफ नमिलेको हुँदा उल्टी भई निज चन्द्रबहादुरले पनि आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी गोकुल के.सी. के माथि इन्साफ खण्डमा लेखिए बमोजिमको १३(३) नं. बमोजिमको ज्यानसम्बन्धीको जन्मकैदको सजायँ हुने ठहर भएकोमा अ.बं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद हुने ठहरेकोले सो बमोजिमको लगत का.जि.अ. मार्फत ललितपुर जिल्ला अदालतमा दिनु....१ पुनरावेदक प्रतिवादीहरु राजन के.सी. र चन्द्रबहादुर के.सी. समेत जना २ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकोले म.क्षे.अ. को मिति २०४७।५।१०।१ को फैसला अनुसार ठेकिएको लगत कट्टा गर्नु भनी का.जि.अ. मार्फत लगत दिनु...२ मिसिल नियमानुसार गरी बुझाई दिन...३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इतिसम्वत् २०४९ साल आषाढ ३ गते ४ रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु