शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५३२ - उत्प्रेषण

भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक:

निर्णय नं. ४५३२    ने.का.प. २०४९ ()  अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको रिट नं.८३४

आदेश भएको मिति: २०४८।११।४।१ मा

निवेदक      : का.न.पं. वार्ड नं.२४ स्थित होटल कोजी प्रा.लि को मेनेजिङ डाइरेक्टर न्हुछेरत्न शाक्य

विरुद्ध

प्रत्यर्थी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम कार्यालय डिल्लीबजारका कारखाना निरीक्षक भिमप्रसाद कटेलसमेत

विषय: उत्प्रेषण

(१)    कारखाना निरीक्षकको आदेश उपर चित्त नबुझ्ने निवेदक होटल व्यवस्थापकले श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम विभागमा पुनरावेदन दिएकोले त्यस्तो पुनरावेदन उक्त श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय श्रम विभागले कानुन बमोजिम कारवाही निर्णय गर्नु पर्नेमा उक्त पुनरावेदन अञ्चल अदालतमा लाग्ने, सो सम्बन्धी पुनरावेदन यस विभागमा नलाग्ने भनी श्रम विभागको निर्णय जानकारी त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    होटल कोजी प्रा.लि. मा कार्यरत सहलेखापाल विपक्षी किशोर रेग्मीले मिति २०४५।३।१ देखि यस होटलको सो पदमा रही काम गर्दै आए तापनि निजको कार्य शुरु देखि नै सन्तुष्टिजनक नरहेको र सो तर्फ यस होटल व्यवस्थापनले निजको ध्यान आकृष्ट गर्दै आएको थियो । तर निज किशोर रेग्मीले सो प्रति कुनै चासो नराखी आफ्नो कार्य सुधार्न तर्फ कुनै ध्यान दिनु भएन । फलस्वरुप बाध्य भई मिति २०४५।११।१३ मा नसिहत पत्र दिइयो । सो पत्र नबुझी होटलको दैनिक कार्यमा बाधा पर्ने स्थितिको श्रृजना गरी आफ्नो कार्यमा पनि अनुपस्थित भई अन्य थप अनुशासनहिन कार्य गरेको हुँदा निजलाई पुनः २०४५।११।१६ मा अर्को नसिहत पत्र दिइयो । तर सो पत्रको पनि निजले कुनै चासो नराख्नु भएको हुँदा मिति २०४५।११।१८ देखि लागू हुने गरी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा २(क) (ख)(ग) (घ) बमोजिम होटलको सेवाबाट अवकाश प्रदान गरियो ।

३.    मिति २०४५।११।२४ मा निज किशोर रेग्मीले पुनः बहाली गरिपाउँ भनी विपक्षी कारखाना निरीक्षक समक्ष उजूरी दिनु भएकोमा मिति २०४६।२।१० को निर्णय अनुसार निज किशोर रेग्मीलाई यस होटललाई पत्र लेखियो र सो पत्रमा निज किशोरलाई पुनः साविक पदमा बहाली गर्नु भनी यस होटललाई पत्र लेखियो र सो पत्रमा निज किशोर रेग्मीको उजूरी निवेदन अनुसार छानबीन हुँदा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ (संशोधन सहित) दफा ५ को उपदफा २(क)(ख)(ग) र (घ) तथा नियम, २०१९ को दफा २६(क) अनुसार कामबाट अवकाश गरेको निर्णय त्रुटिपूर्ण देखिएको भनी लेख्नु भएको छ । तर निज श्रम अधिकृतले कहाँ के त्रुटि भयो भनी भन्न सक्नु भएको छैन । नेपाल कम्पनी ऐन, २०२१ बमोजिम गठित यस होटल कोजी प्रा.लि. श्री ५ को सरकार उद्योग मन्त्रालयद्वारा स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको परिधिभित्र रही होटलको आन्तरिक नियमावली बमोजिम कार्य संचालन गर्ने स्वतन्त्रता यस होटललाई प्राप्त छ । यस्तो अवस्थामा निज श्रम अधिकृतले एकतर्फी निवेदन लिई यस होटलको आन्तरिक कार्यलाई हस्तक्षेप गर्ने प्रवृतिको निर्णय लिनु सरासर गैरकानुनी हुन्छ ।

४.    उपरोक्त कारखाना निरीक्षकको निर्णयमा चित्त नबुझी मिति २०४६।३।१५ मा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५९ को उपदफा (१) बमोजिम श्री ५ को सरकार श्रम विभागमा पुनरावेदन चढाएकोमा मिति २०४६।३।१९ मा सो पुनरावेदन नलाग्ने भनी यस होटललाई पत्र प्रेषित गरियो । यसरी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५९ अनुसार कारखाना निरीक्षकले गरेको निर्णय उपर चित्त नबुझेमा सो उपर श्रम विभागमा पुनरावेदन लाग्ने व्यवस्था विद्यमान रहेको स्थितिमा निर्णय उपर श्रम विभागमा पुनरावेदन लाग्दैन भनी पुनरावेदन अस्वीकार गरेको त्रुटिपूर्ण रहेको हुँदा यस्तो गैरकानुनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी विपक्षीका नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर ।

५.    यसमा के कसो भएको हो निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो सो जवाफ प्रत्यर्थी कार्यालय समेतबाट झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

६.    विपक्षी रिट निवेदकले आफ्नो होटलमा काम गर्ने किशोर रेग्मीलाई नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ मा उल्लेखित खराब आचरण बापत बर्खास्त गरेको कुरा निवेदनको बुँदा नं.३ मा उल्लेख गरेका छन् । उक्त दफा ५१ अनुसारको काम कारवाहीमा चित्त नबुझ्ने कर्मचारीले श्रम अधिकृत वा कारखाना निरीक्षक समक्ष उजूर गर्न सक्ने कुरा ऐ. दफाको उपदफा (३) मा उल्लेख छ । सो अनुसार श्रम कार्यालय बा.अं.का. कारखाना निरीक्षकले मुद्दा सुनी निर्णय गरेको कुरा विपक्षी रिट निवेदकले निवेदनको बुँदा नं.३ मा स्वीकार गरी सकेका छन् । ऐ. दफाको उपदफा ४ मा श्रम अधिकृत वा कारखाना निरीक्षकले गरेको निर्णयमा चित्त नबुझ्ने कर्मचारीले अञ्चल अदालतमा पुनरावेदन दिन सक्ने छ भन्ने स्पष्ट उल्लेख हुँदा हुँदै ऐनको दफा ५९ उल्लेख गरी कारखाना निरीक्षकको निर्णय उपर यस विभागमा पुनरावेदन दिएको सम्बन्धमा कारखाना निरीक्षकले ऐनको दफा ५१ को उपदफा (३) अनुसार दिएको निर्णयमा यस विभागमा पुनरावेदन नलाग्ने भन्ने कुराको जानकारी मिति २०४६।३।१९ मा नै विपक्षी रिट निवेदकलाई दिई सकिएको छ । ऐनको दफा ५१(३) अनुसार गरेको निर्णयमा स्पष्ट रुपमा पुनरावेदन गर्न सक्ने अधिकार कर्मचारीलाई मात्र प्रदान गरेको देख्दा देख्दै केवल अलमल्याउने नियतले मात्र यस विभागमा मिति २०४६।३।१५ मा पुनरावेदन दिएको र सो सम्बन्धमा विपक्षीलाई तुरुन्त पुनरावेदन नलाग्ने जानकारी गराएपछि पनि करिब तीन महीना भन्दा बढी समय पछि सम्मानीत अदालतमा रिट गर्न गई अदालतलाई भ्रममा राख्ने प्रयास गरेको छर्लङ्ग हुन्छ । मर्का पर्ने व्यक्तिले समयमै न्यायिक उपचार खोज्नु पर्नेमा श्रम कार्यालय बा.अं.का कारखाना निरीक्षकले गरेको निर्णयको मिति २०४६।२।१० मा विपक्षीलाई जानकारी गराइसकेको करिब ५ महीना पछि मात्र रिटनिवेदन गर्न आउनुले विपक्षीलाई श्रम कार्यालयको निर्णयले मर्का नपरेको स्वतः स्पष्ट हुने हुँदा विलम्बको सिद्धान्त अनुसार पनि विपक्षीको रिटनिवेदन दावी पुग्ने होइन खारेज गरी पाउँ भन्ने समेत श्रम विभागको तर्फबाट महानिर्देशक हरिप्रसाद पोखरेलको लिखितजवाफ रहेछ ।

७.    किशोर रेग्मीलाई नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ (सं.स.) को दफा ५१(२) (क) (ख) (ग) र (घ) अनुसार होटलले अवकास दिएकोमा मिति २०४५।११।१३ मा र मिति २०४५।११।१६ मा दुईवटा नसिहत दिएको भन्ने उल्लेख भएको तर सोको प्रमाण पेश गर्न नसकेको विभिन्न आरोपहरु लगाएकोमा कुनै पनि किसिमको आरोपको पुष्टि हुने प्रमाण समेत पेश गर्न नसकेबाट उल्लेखित दफाहरु लगाई बर्खास्त गर्ने गरेको निर्णय आधारहीन देखिएकोले विपक्षीको रिटनिवेदन बदर हुनुपर्ने । कुन ऐन कसरी त्रुटि भयो भन्ने सम्बन्धमा विपक्षीले निर्णय प्रतिलिपि माग गरी हेरेमा स्वतः स्पष्ट हुने हुँदा दावी आधारहीन छ । होटल कोजी प्रा.लि. ले सह लेखापाल किशोर रेग्मीलाई लगाएको आरोप सम्बन्धमा खास प्रमाण पेश गर्न सकेको देखिंदैन । अतः श्रम कार्यालयमा पेश नै नगरेको प्रमाणलाई प्रमाणको रुपमा नमानेको भनी होटलको आन्तरिक नियमावली बमोजिम कार्य संचालन गर्ने स्वतन्त्रालाई नै बाधा पुर्‍याएको भनी निराधार आरोप लगाउनु आफूले गरेको गैरकानुनी कार्यलाई कानुन अनुरुप प्रदान गर्न खोज्नु मात्र भएको हुँदा विपक्षीको दावी बदरभागी छ । रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत कारखाना निरीक्षक यादवचन्द्र पोखरेलको लिखितजवाफ ।

८.    विपक्षी किशोर रेग्मीका नाउँमा म्याद तामेल भई आएको देखिएको तर लिखितजवाफ प्राप्त हुन नआएको ।

९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकतर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले निवेदक होटलमा कार्यरत रहेका विपक्षी किशोर रेग्मीले होटलको दैनिक कार्यमा बाधा पर्ने स्थितिको सृजना गरी आफ्नो कार्यमा समेत अनुपस्थित भई अनुशासनहीन कार्य गरेको हुँदा पटक पटक नसिहत दिई उक्त नसिहतको कुनै पनि चासो नराखेकोले २०४५।११।१८ देखि लागू हुने गरी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ (सं.स.) को दफा ५१(२)(क)(ख)(ग) र (घ) बमोजिम होटलको सेवाबाट अवकाश दिइएको र सो निर्णय उपर विपक्षी किशोर रेग्मीले कारखाना निरीक्षक समक्ष उजूरी दिई होटलको अवकाश दिएको उक्त निर्णयलाई कारखाना निरीक्षकले बदर गरे । सो निर्णय उपर कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५९(१) बमोजिम श्रम विभागमा पुनरावेदन गरेकोमा पुनरावेदन नलाग्ने भनी २०४६।३।१९ मा गरेको निर्णय त्रुटिपूर्ण छ । उक्त ऐनको दफा ५९ मा प्रष्ट व्यवस्था भएको अवस्थामा पुनरावेदन नलाग्ने भनी गरेको उक्त निर्णयबाट निवेदकको संविधान प्रदत्त हकाधिकार हनन हुन गएको हुँदा उक्त निर्णय उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश जारी गरी बदर हुनुपर्दछ भन्ने र विपक्षी श्रम कार्यालयका तर्फबाट बहसको लागि उपस्थित सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले होटलले निज किशोर रेग्मीलाई नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ अनुसार खराब आचरण बापत बर्खास्त गरिएको र उक्त दफा ५१ अनुसार गरेको काम कारवाही उपर चित्त नबुझ्ने कर्मचारीले श्रम अधिकृत वा कारखाना निरीक्षक समक्ष उजूर गर्न सक्ने कुरा दफा ५१ को उपदफा (३) मा प्रष्ट व्यवस्था भएको र सोही ऐनको उक्त दफा ५१(४) मा श्रम अधिकृत वा कारखाना निरीक्षकले गरेको निर्णय उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने भन्ने प्रष्ट उल्लेख भएकोले श्रम विभागमा पुनरावेदन लाग्न नसक्ने भनी अधिकार प्राप्त निकायले कानुन बमोजिम गरेको निर्णयमा कुनै त्रुटि नहुँदा रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने समेत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१०.    प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग दावी बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

११.    यसमा विपक्षी किशोर रेग्मीलाई मिति ०४५।११।१८ देखि लागू हुने गरी नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ (सं.स.) को दफा ५१(२)(क)(ख)(ग)(घ) बमोजिम होटलको सेवाबाट अवकाश प्रदान गरेकोमा निज किशोर रेग्मीको कारखाना निरीक्षक छेउ उजूर पर्दा साविक पदमा बहाली गर्नु भनी होटललाई पत्र लेखियो । उपरोक्त कारखाना निरीक्षकको निर्णयमा चित्त नबुझी श्री ५ को सरकार श्रम विभागमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५९(१) बमोजिम श्रम विभागमा पुनरावेदन चढाएकोमा र कानुनमा पुनरावेदन लाग्ने व्यवस्था विद्यमान रहेको अवस्थामा पुनरावेदन अस्वीकार गरेको निर्णय त्रुटिपूर्ण हुँदा त्यस्तो गैरकानुनी निर्णय बदर गरी विपक्षीको नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने रिटनिवेदनको मुख्य जिकिर देखिन्छ ।

१२.   प्रत्यर्थीहरुको लिखितजवाफ हेर्दा ऐनको दफा ५१(४) मा श्रम अधिकृत वा कारखाना निरीक्षककले गरेको निर्णय उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने हुँदा श्रम विभागमा पुनरावेदन लाग्न नसक्ने भनी गरेको निर्णय मिलेकै छ भन्ने समेत लिखितजवाफ देखिन्छ ।

१३.   नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर ऐन, २०१६ को दफा ५१(२) खण्ड (क)(ख)(ग) र (घ) बमोजिम विपक्षी किशोर रेग्मीलाई सेवाबाट अवकाश प्रदान गरिएकोमा विपक्षी किशोर रेग्मीको उक्त ऐनको दफा ५१(३) बमोजिम कारखाना निरीक्षक छेउ उजूर परेकोमा कारखाना निरीक्षकले विपक्षी किशोर रेग्मीलाई अवकाश दिने गरेको निर्णयलाई बदर गरी दिएको पाइन्छ । कारखाना निरीक्षकको उक्त निर्णय उपर निवेदकको नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५९(१) बमोजिम पुनरावेदन परेकोमा उक्त ऐनको दफा ५१(४) बमोजिम अञ्चल अदालतमा पुनरावेदन दिनु पर्नेमा यहाँ दिएको पुनरावेदन नलाग्ने भनी पुनरावेदन अस्वीकार गरिएको देखिन्छ ।

१४.   उपरोक्त निर्णयको सन्दर्भमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) र दफा ५९(१) लाई हेर्नु पर्ने हुन आएको छ । उक्त ऐनको दफा ५१(३) मा उपदफा (१) वा (२)(क) बमोजिम कारवाही गरिएकोमा चित्त नबुझ्ने कर्मचारीले त्यस्तो कारवाही गर्ने निर्णयको सूचना पाएको मितिले ३५ दिनभित्र अधिकृत भएमा श्रम अधिकृत समक्ष र निज नभएमा कारखाना निरीक्षक समक्ष उजूर गर्न सक्नेछ भन्ने र दफा ५१(४) मा उपदफा (३) बमोजिम उजूरीको सम्बन्धमा श्रम अधिकृत वा कारखाना निरीक्षकले गरेको निर्णयमा चित्त नबुझ्ने कर्मचारीले त्यस्तो निर्णयको सूचना पाएको ३५ दिनभित्र अञ्चल अदालतमा पुनरावेदन दिन सक्नेछन भन्ने व्यवस्था भएको पाइन्छ ।

१५.   उक्त ऐनको दफा ५१(४) ले कारखाना निरीक्षकले गरेको निर्णय उपर चित्त नबुझ्ने कर्मचारीले अञ्चल अदालतमा पुनरावेदन गर्न पर्ने कानुनी प्रावधान नभएकोले अञ्चल अदालतमा पुनरावेदन गर्ने व्यवस्था कर्मचारीको लागि हो ।

१६.    तर कारखाना निरीक्षकले गरेको निर्णय उपर प्रस्तुत पुनरावेदन कर्मचारीको नभई निवेदक होटल कोजी. प्रा.लि. को परेको पाइन्छ । अब नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५९(१) लाई हेर्दा सो दफा ५९(१) मा यो ऐन अन्तर्गत कारखाना निरीक्षकले कुनै कारखानाको व्यवस्थापक वा प्रबन्धकलाई दिएको आदेश उपर चित्त नबुझेमा सो व्यक्तिले सो आदेश प्राप्त भएको ३५ दिनभित्र श्री ५ को सरकार वा श्री ५ को सरकारले तोकिदिएको अधिकारी छेउ पुनरावेदन गर्न सक्नेछ र त्यसरी पुनरावेदन परेकोमा श्री ५ को सरकार वा त्यस्तो अधिकारीबाट भएको निर्णय अन्तिम हुने भन्ने लेखिएको पाइन्छ ।

१७.   प्रस्तुत पुनरावेदन कारखाना निरीक्षकले विपक्षी किशोर रेग्मीलाई निवेदकले अवकाश दिएको निर्णय बदर गरेको उपरको हो अर्थात कारखाना निरीक्षकको निर्णय उपरको प्रस्तुत पुनरावेदन होटल व्यवस्थापक प्रबन्धक हो ।

१८.   कारखाना निरीक्षकको निर्णय उपर उक्त ऐनको दफा ५३(४) बमोजिम अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था कर्मचारीको हकमा प्रदान गरिएको छ भने कारखाना निरीक्षकको निर्णय उपर ऐनको दफा ५९(१) बमोजिम व्यवस्थापक वा प्रबन्धकको हकमा प्रदान गरिएको छ । प्रस्तुत पुनरावेदन कारखाना निरीक्षकको निर्णयको विरुद्ध होटलको व्यवस्थापकको परेकोले त्यस्तो अवस्थामा उक्त ऐनको दफा ५१(४) आकर्षित हुने अवस्थाको देखिन्न । कारखाना निरीक्षकको आदेश उपर चित्त नबुझ्ने निवेदक होटल व्यवस्थापकले श्री ५ को सरकार, श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्रम विभागमा पुनरावेदन दिएकोले त्यस्तो पुनरावेदन उक्त पुनरावेदन उक्त श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्रम विभागले कानुन बमोजिम कारवाही निर्णय गर्नु पर्नेमा उक्त पुनरावेदन अञ्चल अदालतमा लाग्ने, सो सम्बन्धी पुनरावेदन यस विभागमा नलाग्ने भनी मिति २०४६।३।१९ को श्रम विभागको निर्णय जानकारी त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनरावेदनलाई कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्रम विभागको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि यस आदेशको १ प्रति म.न्या.का.को कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४८ साल फाल्गुण ४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु