शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५३३ - परमादेश

भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक:

निर्णय नं. ४५३३    ने.का.प. २०४९ ()  अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

२०४७ सालको रिट नं.८७३

आदेश भएको मिति: २०४९।५।१७।४ मा

निवेदक      : का.न.पं. वडा नं.७ बस्ने छवि पिटर्स

विरुद्ध

प्रत्यर्थी : जिल्ला प्रशासन कार्यालय, काठमाडौं समेत

विषय: परमादेश

(१)    नेपालको संविधान, २०१९ को धारा ७ ले गरेको व्यवस्था सो संविधान प्रारम्भ हुँदाका बखतको लागि नागरिकता प्राप्ति गर्ने सम्बन्धमा गरिएको व्यवस्था भएको र नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्था सो ऐन प्रारम्भ भएपछि जन्मेका व्यक्तिको सम्बन्धमा गरिएको भई यी दुवै व्यवस्था बेग्लाबेग्लै भएकोले नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) नेपालको संविधान, २०१९ संग बाझिएको नदेखिनुको अतिरिक्त नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्थालाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ ले आत्मसात गरी सो कानुनी व्यवस्थालाई संविधानको अभिन्न अंगको रुपमा समेत लिइएको पाइने । (प्रकरण नं. १६)

(२)   नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ भएपछि मात्र जन्मेका निवेदकहरुले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ तथा नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) बमोजिम नेपालको नागरिकता प्राप्त गर्नको लागि निजहरुको जन्म हुँदा निजहरुको बाबु नेपालको नागरिक हुनु अनिवार्य हुने ।

(प्रकरण नं. १७)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री युवराज संग्रौला

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    मेरा पति तथा हाम्रा पिता भारतीय नागरिक टेरेन्स पिटर्स लामो समय देखि नेपालमा आवास गरी ०१८ सालदेखि नेपाल राएल फ्लाइट र त्यहाँबाट अवकाश भएपछि शाही नेपाल वायु सेवा निगममा मृत्युपरन्त कार्यरत भई ०३२।११।१२ मा मृत्यु भएको, म निवेदक छवि पिटर्स नेपालको नागरिक माधवसेन ठकुरीको छोरी भएबाट नेपालको जन्मसिद्ध नागरिक हुँ । हाम्रा पति पिता नेपालको जन्मसिद्ध नागरिकसंग विधिवत विवाह भई घर वास र परिवार समेत राखी बस्नुका अतिरिक्त नेपालको संविधान, २०१९ को धारा ८ को उपधारा २ ले विदेशीलाई नागरिकता प्राप्त गर्न तोकेको आधार समेत पूरा गर्नुभएको, तर नागरिकता प्राप्त गर्नु पूर्व नै परलोक भएको, हामी जन्मसिद्ध नेपाली नागरिकका सन्तान भएका र नेपालमा नै जन्म भएकोले ०३४ सालमा खटिएको नागरिकता टोलीमा हाजिर भई हामी नावालक भएकोले उमेर पुगेपछि नागरिकता लिन पाउने गरी हामी निवदेक मध्ये वाल्टर पिटर्स, जुन पिटर्स र अल्फ्रेड पिटर्सको नाम आमा छवि पिटर्सको नागरिकताको पीठमा जनाइएको थियो ।

३.    हामी निवेदकहरुको कानुन बमोजिम उमेर पुगेपछि नागरिकताको लागि वडा कार्यालयमा निवेदन दिंदा सिफारिश नदिएपछि जिल्ला कार्यालय काठमाडौं हाल जिल्ला प्रशासन कार्यालय काठमाडौं समक्ष सम्पूर्ण व्यहोरा खुलाई निवेदन दिएकोमा कारवाही गर्न इन्कार गरी निवेदकका पिता भारतीय नागरिक भन्ने उल्लेख भएकोले निवेदकहरुलाई निजहरुको माग बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र दिन नमिल्ने भनी ०४७।४।३१ मा निवेदनमा दरपिठ गरी फिर्ता दिइयो । सो उपर विपक्षी नं.२ समक्ष निवेदन दिएकोमा दर्ता गर्न समेत इन्कार गरियो ।

४.    म छवि पिर्टसको पति नेपाली नागरिक नभएको अधिकारमा मेरो सन्तानलाई नेपाली नागरिकताको अधिकारबाट बंचित गरी संविधानको धारा १० को उपधारा (२) विपरीत कार्य भएको छ । संविधानको धारा १७(१) ले सार्वजनिक हितको लागि यो धारा व्यवस्थित र नियन्त्रित हुन सक्ने भए तापनि संविधानको धारा ८(१) बमोजिम नागरिकताको प्राप्ति र समाप्ती बारेमा व्यवस्था गर्न बनेको ऐन, २०२१ को प्रस्तावनामा सार्वजनिक हितको लागि बनिएको भन्ने उल्लेख नभएबाट ऐनको दफा ३ ले यो ऐन प्रारम्भ भए पछि जन्मेको कुनै पनि व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति बंशजको नाताले नेपालको नागरिक हुनेछभन्ने प्रावधान प्रष्टतः संविधानको धारा १०(२) प्रतिकूल भई धारा १ बमोजिम खारेजभागी छ । विपक्षीले नागरिकताको प्रमाणपत्र दिन अस्वीकार गर्दा कुनै कानुनको उल्लेख नगरी आत्मगत निर्णय गरेका छन् । धारा ८(२) मा उल्लेखित शर्तहरुको आधारमा समेत हामी निवेदकहरुले नागरिकता प्राप्त गर्नु नपर्ने कुनै आधार छैन ।

५.    अतःम निवेदक छवि पिटर्सको संविधान प्रदत्त समानताको अधिकार प्रतिकूल लिंगको असमानता गरेको र हामी निवेदक वाल्टर पिटर्स, जुन पिटर्स र अल्फ्रेड पिटर्सलाई बिना कुनै कानुनी आधार नागरिकता दिन इन्कार गरेबाट संविधान प्रतिकूल कानुनी प्रावधानलाई प्रभावहीन गर्नुको साथै निवेदक छवि पिटर्सका सन्तानहरुका साथै हामी निवेदकहरुलाई नागरिकताको प्रमाणपत्र दिनु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन ।

६.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो, विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको आदेश ।

७.    निवेदकका बाबुले नेपाली नागरिकता नलिएको र वर्तमान प्रचलनमा रहेको नेपाल नागरिकता ऐन, २०२० मा विदेशी बाबुबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता दिनु भन्ने व्यवस्था नभएको हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुन अनुरोध छ भन्ने समेत प्रत्यर्थी गृह मन्त्रालयको लिखितजवाफ ।

८.    नेपाल नागरिकता ऐन, २०२० को दफा ३ अनुसार यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने नेपाल अधिराज्य भित्र फेला परेको पितृत्वको ठेगाना नभएको प्रत्येक नावालक निजको बाबु पत्ता नलागेसम्म बंशजको नाताले नेपालको नागरिक मानिने, बाबुको मृत्यु भएको मनासिब माफिकको अवधि भित्र जन्मेको नावालकको नागरिकता कायम गर्दा निजको बाबुको मृत्युको अवस्थामा जे जस्तो हैैसियत थियो सोही बमोजिमको हैसियत कायम रहेको मानिने व्यवस्था गरेको पाइन्छ । निवेदक मध्ये छवि पिटर्स बाबुको नागरिकताको आधारमा नेपालको जन्मसिद्ध नागरिकता प्राप्त गरेको, तर अन्य निवेदकहरुका पिता विदेशी नागरिक भएको निवेदनबाटै प्रष्ट छ । विदेशी नागरिकले नेपालको बंशजको नाताले नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्ने कानुनी प्रावधान छैन । विदेशीसंग विवाह गरी नेपालमै लोग्नेसंग बस्ने नेपाली महिला तथा निजको सन्तानलाई कस्तो किसिमको नागरिकता प्रदान गर्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभाव भएको र सो सम्बन्धमा गृह मन्त्रालयले विदेशीसंग विवाह भएको भए पनि नेपाली नागरिकता कायम राख्ने महिलाको विदेशी लोग्ने र विदेशी लोग्नेको तर्फबाट जायजन्म भएको निजको छोरा छोरीलाई कुनै पनि किसिमका नागरिकता दिन मिल्दैन भनी च.नं.६७१, मिति ०४६।८।१९ गतेको पत्रले निर्देशन समेत दिएकोले सोही पत्र तथा नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को प्रावधान समेत निवेदकहरुले पूरा गरेको प्रमाण दाखिला गर्न नसकेकोबाट बंशजको नाताले नागरिकता प्रदान गर्न नमिल्ने व्यहोरा दरपीठ गरी पठाइएको हुँदा रिटनिवेदन खारेज गरी पाउन अनुरोध गर्दछु भन्ने समेत प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय, काठमाडौंको लिखितजवाफ ।

९.    यसरी नियम बमोजिम पेश भई आएकोमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री युवराज संग्रौलाले निवेदक मध्येका छवि पिटर्स नेपालको नागरिक हुन् । निजको भारतीय नागरिक टेरेन्स पिटर्ससंग बैवाहिक सम्बन्ध कायम भएको निजहरुबाट २ छोरा र एक छोरीको जायजन्म भएको छ । निजहरुको नेपालमा नै जायजन्म भएको र नेपालमा नै अध्यावधी बसोवास गरी आएका छन्, पिता टेरेन्स पिटर्सको ०३२।११।१२ मा मृत्यु भयो । छवि पिटर्स नेपालको जन्मसिद्ध नागरिक हुन, नेपालमा नै बसोवास गर्दै आएकी छन् । नागरिकता समेत प्राप्त गरी सकेकी छन् । अन्य निवेदकहरुले तत्काल उमेर नपुगेको कारणबाट नागरिकता प्राप्त गर्न सकिरहेका थिएनन् । निवेदिका छवि पिटर्सको गर्भबाट जन्मिएका निवेदकहरुले उमेर पुगेपछि नागरिकता प्राप्त गर्न सम्बन्धित वडामा सिफारिश माग गर्दा दिन इन्कार गरियो सो समेत व्यहोरा उल्लेख गरी नागरिकता पाउन सम्बन्धित कार्यालय समक्ष निवेदन दिएकोमा पिता भारतीय नागरिक भएको भन्ने आधारमा निवेदकहरुलाई नागरिकता दिन नमिल्ने भनी निवेदन दरपिठ गरियो यस उपर सम्बन्धित मन्त्रालयले सुनुवाईसम्म पनि गर्न इन्कार गर्‍यो

१०.    यसबाट निवेदकहरुको माता छवि पिटर्सको नाताबाट समेत नेपालको नागरिकता प्राप्त गर्ने संवैधानिक हक नेपालको संविधान, २०१९ को धारा ७ को खण्ड (ख) ले प्रत्याभूति गरेको छ । सो हकबाट निवेदक बंचित हुन गएका छन् नागरिकता ऐन, २०२० नेपालको संविधान, २०१९ को अख्तियारी प्राप्त गरी बनेको ऐन हो । तसर्थ संविधान संग प्रतिकूल हुने कुनै पनि प्रावधान सकृय रहन सक्दैन । नेपालको संविधान, २०१९ को धारा ७ ले निवेदकहरुलाई नेपालको नागरिकता प्राप्त गर्नमा प्रतिबन्ध लगाएको छैन, तर सोही संविधानको आडमा बनेको नेपाल नागरिकता ऐन, २०२० को दफा ३ ले भने रोक लगाएको छ । यस अवस्थामा सो ऐनको दफा ३ सकृय रही रहन सक्ने अवस्था नहुँदा सो दफा कृयाशील नहुने संविधान अनुसार निवेदकहरुले नागरिकता प्राप्त गर्न सक्नेमा विपक्षी कार्यालयबाट निवेदकहरुलाई नागरिकता दिन नमिल्ने भनी भएको तोक आदेश बदर घोषित गरी निवेदकहरुलार्ई नागरिकता दिनु भनी विपक्षी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिनु पर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नु भयो भने विपक्षी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले निवेदकहरुको पति, पिता टेरेन्स पिटर्स, भारतीय नागरिक हुन् भन्ने कुरामा विवाद नरहेको, पिता भारतीय नागरिक भए पछि वहाँको छोराछोरीले नेपालको नागरिकता प्राप्त गर्न नेपाल नागरिकता ऐन, २०२० ले रोक लगाएको, सोही व्यवस्थालाई वर्तमान र तत्कालीन संविधान समेतले आत्मसात गरेको छ । ऐनको व्यवस्था संविधानसंग बाझिएको भन्ने स्थिति अवस्था यहाँ छैन । तसर्थ निवेदक माग बमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

११.    प्रस्तुत विषयमा निवेदक माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन हेरी निर्णय दिनुपर्ने हुन आएको छ ।

१२.   निर्णयतर्फ हेर्दा मेरा पति तथा हाम्रा पिता भारतीय नागरिक टेरेन्स पिटर्स लामो समयदेखि नेपालमा बसोवास गरी ०१८ साल देखि नेपाल रोएल फ्लाइट र त्यसपछि शाही नेपाल वायु सेवा निगममा कार्यरत भई ०३२।११।१२ मा मृत्यु भएको, म छवि पिटर्स नेपाली नागरिक भएको, तर हामी निवेदकहरुलाई पिता भारतीय नागरिक भएकोले नेपाली नागरिकताको प्रमाण दिन नमिल्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले ०४७।४।३१ मा निवेदनमा दरपिठ गरी फिर्ता दिएबाट म निवेदक छवि पिटर्सको समानताको हक हनन् भएको र हामी निवेदकहरु वाल्टर पिटर्स, अल्फ्रेड पिटर्स, जुन पिटर्सले संविधान विपरीत नागरिकताबाट बंचित हुन परेको हुँदा नागरिकताको प्रमाणपत्र दिनु भन्ने परमादेश जारी गरिपाउँ भन्ने समेत मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।

१३.   यसमा निवेदकहरुले नागरिकता प्राप्त गर्न सक्ने नसक्ने के रहेछ भनी हेर्दा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ मा नेपालमा स्थायी बसोबास भएका देहायका व्यक्तिहरु यो संविधान प्रारम्भ हुँदाका बखत नेपालका नागरिक ठहर्ने छन्भनी (क) मा नेपालको संविधान, २०१९ को धारा ७ वा नेपाल नागरिकता ऐन, २०२० को दफा ३ बमोजिम नेपालका नागरिक ठहर्ने व्यक्तिहरुभन्ने लेखिएको पाइन्छ । उल्लेखित नेपालको संविधान, २०१९ को धारा ७ मा नेपालमा स्थायी वासस्थान भएका देहायका प्रत्येक व्यक्तिहरु यो संविधान प्रारम्भ हुँदाका बखत नेपलाको नागरिक ठहर्ने छभनी देहाय (क) मा जो नेपालमा जन्मेको हो” (ख) मा जसको आमा बाबुमा एकजना नेपालमा जन्मेको हो” (ग) मा नेपालको कानुन र रीत बमोजिम नेपालको नागरिकका साथ कुनै किसिमको वैबाहिक सम्बन्ध भएकी स्वास्नी मानिस, वा (घ) मा नेपालको कानुन बमोजिम जसले नागरिकताको प्रमाणपत्र लिइसकेको छभन्ने उल्लेख छ ।

१४.   निवेदक छवि पिटर्सबाट जन्मिएका सन्तान निवेदकहरु नेपालको संविधान प्रारम्भ हुँदाको बखत नेपालमा जन्मिएका होइनन् । यी निवेदकहरु नेपाल नागरिकता ऐन, २०२० लागू भएपछि जन्मिएको देखिन्छ ।

१५.   नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) मा यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछभन्ने उल्लेख भएको छ । उक्त व्यवस्था अनुसार नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ भएपछि बंशजको नाताले नागरिकता पाउनको लागि कुनै व्यक्ति जन्म हुँदा निजको बाबु नेपालको नागरिक रहेछ भने मात्र बंशजको नाताले नेपालको नागरिकता पाउन सक्ने हो ।

१६.    नेपालको संविधान, २०१९ को धारा ७ ले गरेको व्यवस्था सो संविधान प्रारम्भ हुँदाका बखतको लागि नागरिकता प्राप्त गर्ने सम्बन्धमा गरिएको व्यवस्था भएको र नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्था सो ऐन प्रारम्भ भएपछि जन्मेका व्यक्तिको सम्बन्धमा गरिएको भई यी दुवै व्यवस्था बेग्ला बेग्लै भएकोले नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) नेपालको संविधान, २०१९ संग बाझिएको नदेखिनुको अतिरिक्त नेपाल नागरिकता ऐन, २०२० को दफा ३ को व्यवस्थालाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ ले आत्मसात गरी सो कानुनी व्यवस्थालाई संविधानको अभिन्न अंगको रुपमा समेत लिइएको पाइन्छ ।

१७.   नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ भएपछि मात्र जन्मेका निवेदकहरुले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८ तथा नेपाल नागरिकता ऐन, २०२० को दफा ३(१) बमोजिम नेपालको नागरिकता प्राप्त गर्नको लागि निजहरुको जन्म हुँदा निजहरुको बाबु नेपालको नागरिक हुनु अनिवार्य हुन्छ । निवेदक छवि पिटर्सबाट जन्मिएका यी निवेदकहरु वाल्टर पिटर्स, अल्फ्रेड पिटर्स र जुन पिटर्सका बाबु टेरेन्स पिटर्स नेपालको नागरिक नभएकोमा यहाँ विवाद देखिएन । अतः निवेदकका बाबु टेरेन्स पिटर्स नेपालको नागरिक नभएको स्थितिमा निजहरुले नेपाली नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्थाको अभाव भएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्ने अवस्था देखिएन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

 

इतिसम्वत् २०४९ साल भाद्र १७ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु