निर्णय नं. ४५३४ - कीर्ते

निर्णय नं. ४५३४ ने.का.प. २०४९ (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको फौ.पु.नं.५९१
फैसला भएको मिति: २०४९।४।१४।४ मा
पुनरावेदक/वादी: का.न.पं. वडा नं.१६ बालाजु बस्ने रामकृष्ण श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. बस्ने जुठे बोहरा
मुद्दा : कीर्ते
(१) नेपाल कानुनले कीर्ते कार्य (Forgery) लाई फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराध (Criminal offence against documents) भनी तोकिदिएको छ । जसअनुसार झुठ्ठा लिखत खडा गरेको, झुठ्ठा काम कुरा गरेको भए पनि कीर्ते हुन सक्ने हुन्छ । जसबाट कसैले कसैको जीउ धन वा हक जाने वा नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने वा झुठ्ठा लिखत खडा गर्ने मानिस आफैलाई वा अरु कसैलाई फाइदा पुग्ने पुर्याउने उद्देश्यले सो कार्य अपराधिक मस्तिष्क (Means-rea) लिई मनसायपूर्वक गरेको हुनु पर्ने ।
(प्रकरण नं. १७)
(२) प्रतिवादीबाट वादीको हक मेट्ने वा जाने कुनै लिखत खडा गरेको या काम कुरा भए सो प्रमाणित गर्ने भार पुनरावेदक वादीमा नै निहित रहन जाने ।
(प्रकरण नं. १८)
(३) कीर्ते जस्तो फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराधको पुष्टि केवल फिराद लेखबाट मात्र हुन सक्ने हुँदैन । यसको लागि आधिकारिक प्रमाणको दरकार पर्ने हुन्छ, जो कानुनले निर्देशित गरेको दायरा भित्र समेटिएको पनि हुनुपर्दछ साथै भएको गरिएको कार्यबाट कसैको हकमा आघात परेको समेत देखिनु पर्ने ।
(प्रकरण नं. २०)
प्रत्यर्थी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख),(ग) र ७ बमोजिम अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मेरो बाबु गोरे बोहरा १९९५ साल फाल्गुण महीनामा परलोक हुन भयो । वहाँको नाउँमा दर्ता भएको वालाजु वडा नं.४ कि.नं.३४ को क्षेत्रफल १–१२–२ र ऐ.ऐ. को कि.नं.३१ को क्षेत्रफल १–१४–१ जग्गामा हक खाने म निवेदक बाहेक अरु कोही नहुँदा नामसारी दर्ता गरी ज.ध.प्र.पु. पाउँ भनी मिति २०३९।१२।३०।४ मा मालपोत कार्यालय काठमाडौंमा निवेदन दिएको कुरा ०४०।१।१८।१ मा मालपोत कार्यालयले म वादीलाई उपस्थित हुने सूचना आई हाजिर हुँदा थाहा भयो । निज अन्यायवाला जुठे बोहराले मेरो पिता हिरामान श्रेष्ठको नाउँमा रहेको जग्गालाई आफ्नो पिताको नाम ढाँटी कृष्णबहादुरलाई गोरे बोहरा भन्ने नाम राखी मरेको साल पनि झुठ्ठा मिति दिई नभएको प्रमाण खडा गरेकोले कीर्ते कागजको १ नं.को काम गरेकोले ऐ. ७ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिराद दावी ।
३. म दुई वर्षको नावालक अवस्थामा नै १९९५ सालमा पिता परलोक भई मेरो लालन पालन मामा घरमा भएको, सावालक भएपछि बुझ्दा मेरो पिताको नाम गोरे बोहरा भएको र गाउँ घरमा बोलाउने अन्य नाउँ कृष्णबहादुर समेत भएको, पिताको नाममा रहेको सम्पूर्ण जग्गा गोरे बोहराको नाममा लगत श्रेस्तामा जनिएकोमा अधिकार प्राप्त अधिकारीबाट रीतपूर्वकको नाता प्रमाणित गराई सो को आधारमा मैले पिता गोरे बोहराको नाममा साविक लगतमा दर्ता भई हाल सर्भे नापीमा बालाजु वा.नं.४ कि.नं.३१, ३२, ३३, ३४ समेत कायम भएको जग्गाहरु नामसारी गराई माग्न काठमाडौं मालपोत कार्यालयमा निवेदन दिएको छु । पिता गोरे बोहराको नामको साविक कि.नं.५८, ५९ को जग्गा २०२१ सालको नापी कि.नं.२५, २६, २९ कायम भई मेरो नाममा २०२५ सालमा दर्ता भई लालपूर्जा समेत प्राप्त गरिसकेको छु । विपक्षी वादीले कीर्ते गरी मैले नाता प्रमाणित गरी लिएको भनी जिल्ला कार्यालय काठमाडौंमा उजूरी दिंदा भूलबाट बाबुको नाम कृष्णबहादुर भन्ने चन्द्रबहादुर लेखिन गएको पछि संशोधन गर्न आउँदा लेखनदासले अर्कै निवेदन दिनुपर्छ भनेकोले गोरे बोहराले म जुठे बोहराको छोरा नाता पर्ने भएकोले सोही व्यहोराको नाता प्रमाणित गरी लगेको छ । वास्तविक १०३१।०३९।४० मिति ०३९।१२।२० को नाता प्रमाणित कायम गरी पाउँ भनी मैले २०४०।६।१४ मा कागज गरी दिएपछि उक्त नाता प्रमाणित क्यान्सिल पार्न नाता प्रमाणित फाँटमा जनाउँ दिनु भन्ने ०४०।७।२९ मा जिल्ला कार्यालय काठमाडौंबाट पर्चा भएको थियो । मैले ४ कित्ता जग्गा नामसारीको लागि निवेदन दिएकोमा २ कित्ता जग्गामा मात्र कीर्ते गरेको भन्ने दावीबाट पनि दुःख दिने नियत देखिएको हुँदा झुठ्ठा फिराद दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. कृष्णबहादुर गोरे बोहरा एउटै व्यक्तिको नाम हो भन्ने समेत प्रतिवादीको साक्षी कर्णबहादुर बोहरा, ठूलो भाइ कुंवरको बकपत्र ।
५. प्रतिवादीका साक्षीले प्रतिवादीको बाबुको नाम गोरे बोहरा र कृष्णबहादुर बोहरा भनी बकपत्र गरेको देखिनाले कीर्ते गर्यो भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति २०४१।८।१७।२ को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन, फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेत वादी रामकृष्ण श्रेष्ठको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।
७. पुनरावेदक वादीले आरोपित कसूर साक्षी तथा अन्य ठोस प्रमाणबाट पुष्टि गर्न नसकेको देखिँदा फिराद दावी पुग्न नसक्ने भनी गरेको शुरु निर्णय मिलकै देखिन्छ भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०४५।१।७।३ को फैसला ।
८. उपरोक्त फैसलाहरु त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३ को उपदफा ४ को (ख) र (ग) अन्तर्गत पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत वादी रामकृष्ण श्रेष्ठको म.क्षे.अ.मा परेको निवेदनपत्र ।
९. आरोपित कसूर वादी पक्षबाट प्रमाणित नभएको भनी शुरुले फिराद दावी पुग्न नसक्ने ठहराएको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) अन्तर्गतको त्रुटि विद्यमान रहेको नदेखिएकोले पुनरावेदनको लागि अनुमति प्रदान गर्न मिलेन भन्ने समेत म.क्षे.अ.को २०४५।१०।२३।१ को आदेश ।
१०. पटक पटक कहिले बाबु कहिले बाजे भनी ४ पटक बाबुको नाम फेरी मेरो दावी भएको कि.नं.३१ को जग्गा समेत प्रतिवादीले झुठ्ठा प्रमाण बनाई दावी गरी आएको हुँदा मलाई मर्का परेको स्पष्ट देखिएको अवस्थामा हकदैया भएको हुँदा म.क्षे.अ.को आदेशमा कीर्ते कागजको १ नं.को त्रुटि भएको छ । मिसिल संलग्न लिन पर्ने प्रमाण नलिएको र लिन नपर्ने प्रमाण लिई फैसला भएबाट प्रमाण ऐन, एवं अ.बं. ८२ नं.को गलत व्याख्या भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३ को उपदफा ५(ख) (ग) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी रामकृष्ण श्रेष्ठको यस अदालतमा परेको निवेदनपत्र ।
११. यसमा यसै लगाउको वादी जुठे बोहरा प्रतिवादी राधीका देवी श्रेष्ठ समेत भएको नि.नं.८०७ को हक कायम समेत मुद्दामा म.क्षे.अ.बाट पुनरावेदनको अनुमति प्रदान भई विचाराधीन रहेबाट निवेदक रामकृष्ण श्रेष्ठलाई सरोकार परेको मान्नु पर्ने देखिएकोले वादीलाई मुद्दा गर्ने हकदैया नभएको भनी म.क्षे.अ.बाट पुनरावेदनको अनुमति दिन इन्कार गरिएको अ.बं. ८२ नं.को व्याख्यात्मक त्रुटि भएको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०४५।१२।४।६ को आदेश ।
१२. यसरी नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक वादी तर्फका वारेश तेजबहादुर खत्रीलाई इजलासबाट पुकार गर्न लगाउँदा अनुपस्थित रहेका । प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोकभक्त राणाले जुठे बोहरा पिता, गोरे बोहरा हुन यो कुरा अख्तियार प्राप्त अधिकारीबाट प्रमाणित भइसकेको छ । यस विषयमा अब पुनरावेदक वादीलाई सवाल गर्ने अधिकार छैन । प्रतिवादीले प्राप्त गरेको जग्गा धनी प्रमाण पुर्जामा पनि गोरेको छोरा जुठे बोहरा भनी लेखिएको छ । यसबाट पनि जुठे बोहरा प्रतिवादी गोरे बोहराको छोरा हुन भन्ने विषयमा विवाद गर्ने ठाउँ छैन । कृष्णबहादुर जुठे बोहराको पिताको बोलाउने नाम होइन भन्ने हाम्रो प्रतिवाद होइन । सो को पुष्टि कृष्णबहादुर भन्ने गोरे बोहरा भनी लेखिएकोबाट भएकै छ भन्नु हुँदै प्रतिवादीले वादीका बाबुको नाम दर्ताको जग्गामा कीर्ते गरी हक कायम गर्ने गरेको भन्ने वादी रहेको छ । वादीका बाबु कृष्णबहादुर हो भन्ने वादी दावी होइन छैन, निजको पिता हिरामान श्रेष्ठ भन्ने कुरा फिरादको प्रकरण (४) मा उल्लेख छ । प्रतिवादीले गोरे बोहराको नाम दर्ताको जग्गा नामसारी दर्ताको लागि कारवाही चलाएको भन्ने कुरामा वादीको अन्यथा भनाई छैन । यसबाट पनि वादी दावी स्वयं कपोलकल्पित सिद्ध हुन्छ । तसर्थः वादी दावी कीर्ते कागजको महल अन्तर्गत नै समेटिएको नहुँदा इन्साफ परिवर्तन गर्नु पर्ने स्थिति अवस्था छैन भनी प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहराएको तहगत अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिन इन्कार गरेको तत्कालीन म.क्षे. अ.को आदेश समेत कानुन न्यायसंगत छ छैन हेरी निर्णय दिन पर्ने देखिन आयो ।
१४. निर्णयतर्फ हेर्दा यसमा पिता गोरे बोहराको नाम दर्ताको जग्गा नामसारी दर्ता गरिपाउँ भनी प्रतिवादी जुठे वोहराले मालपोत कार्यालय समक्ष कारवाही चलाएको, गोरे बोहरा जुठे बोहराको पिता होइनन, कृष्णबहादुरको छोरा निज जुठे बोहराले मेरो पिताको नाम दर्ताको जग्गाको हक हडपने गरी कीर्ते कार्य गरेको भनी प्रस्तुत मुद्दाको उठान भई आएको देखियो ।
१५. यसमा जिल्ला कार्यालय काठमाडौंको मिति ०३९।१२।३० को नाता प्रमाणित पत्रबाट प्रतिवादी जुठे बोहरा गोरे बोहराको एकमात्र छोरा भनी लेखिएको, प्रतिवादी नाम दर्ताको अन्य जग्गाको दर्ता श्रेस्तामा पनि जुठे बोहराको पिता गोरे बोहरा भनी जनिएको, साथै यिनै पक्ष विपक्ष बीच चलेको हक कायम मुद्दामा पनि प्रतिवादी गोरे बोहराको छोरा भनी लेखिएको पाइयो ।
१६. पुनरावेदक वादी हिरामान श्रेष्ठको छोरा भन्ने फिराद लेख रहेको, हाल प्रतिवादीले नामसारी दर्ताको प्रयोजनार्थ दिएको निवेदनमा हिरामान नाम दर्ताको जग्गाको नामसारी दर्ता गरी पाउँ भन्ने मिसिल संलग्न प्रमाणबाट देखिन नआएको, गोरे बोहरा र हिरामान श्रेष्ठ एकै व्यक्ति हुन भन्ने फिराद दावी नरहेको गोरे बोहरा जुठे बोहराको पिता होइनन्, निजले नामसारीको प्रयोजनार्थ दिएको निवेदनमा उल्लेखित जग्गा मेरो हकभोगको हो भन्ने कुराको आधिकारिक पुष्टि वादी पक्षबाट हुन सकेको नपाइएकोबाट पनि प्रतिवादीको काम कारवाहीबाट वादीको हकमा आघात पर्न गएको मिसिल प्रमाणबाट देखिन आएन ।
१७. नेपाल कानुनले कीर्ते कार्य Forgery लाई फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराध (Criminal offence against documents) भनी तोकिदिएको छ । जसअनुसार झुठ्ठा लिखत खडा गरेको, झुठ्ठा काम कुरा गरेको भए पनि कीर्ते हुन सक्ने हुन्छ । जसबाट कसैले कसैको जीउ धन वा हक जाने वा नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने वा झुठ्ठा लिखत खडा गर्ने मानिस आफैलाई वा अरु कसैलाई फाइदा पुग्ने पुर्याउने उद्देश्यले सो कार्य अपराधिक मस्तिष्क (Means-rea) लिई मनसायपूर्वक गरेको हुनुपर्दछ ।
१८. प्रस्तुत मुद्दामा प्रतिवादी जुठे बोहराले पुनरावेदक वादीको पिताको नाम दर्ताको जग्गा माथि उल्लेख भए अनुरुप कीर्ते गरी हक मेट्ने वा जाने गरी आफ्नो नाममा दर्ता गर्न कारवाही चलाएको या लिखत खडा गरेको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिंदैन । यदि प्रतिवादीबाट वादीको हक मेट्ने या जाने कुनै लिखत खडा गरेको या काम कुरा गरेको भए सो प्रमाणित गर्ने भार पुनरावेदक वादीमा नै निहित रहन जाने हुन्छ । पुनरावेदक वादीबाट सो प्रमाणित हुन सकेको पाइदैन ।
१९. पुनरावेदक वादीबाट प्रतिवादी जुठे बोहरा गोरे बोहराको छोरा होइनन् अर्थात प्रतिवादीको पिता गोरे बोहरा होइनन् भन्ने दावी लिएको देखिन्छ, जुन कुराको पुष्टि वादी पक्षबाट आधिकारिक रुपमा हुन सकेको छैन, जुठे बोहरा, गोरे बोहराको छोरा भनी सम्बन्धित कार्यालयबाट गरिदिएको नाता प्रमाण–पत्र, प्रमाण ऐन, २०३१ को दफा १९ बमोजिम प्रस्तुत मुद्दाको मुख्य प्रमाणको रुपमा रहे भएको देखिँदा वादी दावी उपरोक्त आधार प्रमाणबाट कानुनसम्मत देखिन आएन ।
२०. कीर्ते जस्तो फौज्दारी प्रकृतिको लिखत सम्बन्धी अपराधको पुष्टि केवल फिराद लेखबाट मात्र हुन सक्ने हुँदैन । यसको लागि आधिकारिक प्रमाणको दरकार पर्ने हुन्छ । जो कानुनले निर्देशित गरेको दायराभित्र समेटिएको पनि हुनुपर्दछ । साथै भएको, गरिएको कार्यबाट कसैको हकमा आघात परेको समेत देखिनु पर्दछ । तर प्रस्तुत मुद्दामा प्रतिवादी जुठे बोहराले नामसारी जग्गा दर्ताको प्रयोजनार्थ दिएको निवेदनबाट वादीको कुनै हकमा आघात पर्न गएको मेरो यस्तो हकमा आघात परेको भन्ने कुरा पुनरावेदक वादीले पुष्टि पनि गर्न सकेको पाइएन ।
२१. अतः वादी दावी पुग्न नसक्ने ठहराएको जिल्ला अदालतको फैसलालाई सदर गरेको वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको लागि अनुमति दिन इन्कार गरेको तत्कालीन म.क्षे.अ.को आदेश समेत कानुनसम्मत नै देखिँदा इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन, पुनरावेदकलाई तजविजी जरीवाना रु. ५।– हुन्छ । कानुन बमोजिम गर्नु र मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४९ साल श्रावण १४ गते रोज ४ शुभम् ।