शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५३९ - लागू औषध हेरोइन बिक्री वितरण

भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक:

निर्णय नं. ४५३९    ने.का.प. २०४९ ()  अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४६ सालको फौ.पु.नं.३६८

फैसला भएको मिति: २०४९।१।३१।४ मा

पुनरावेदक/प्रतिवादी: भारत केरला घर भई का.न.पं. वडा नं.१६ बस्ने हेमराज पिके

विरुद्ध

विपक्षी/वादी: श्री ५ को सरकार

मुद्दा: लागू औषध हेरोइन बिक्री वितरण

(१)    अदालत समक्ष बिना आधार प्रतिवादीहरुले प्रहरीको बयानलाई स्वेच्छा विरुद्धको भन्दैमा अदालतले उक्त भनाईलाई मात्र आधार मानी प्रमाणको रुपमा मान्न इन्कार गर्ने हो भने अनुसन्धानको क्रममा प्रतिवादीहरुको कागज गराउने कानुनी व्यवस्थाको कुनै औचित्य नै नरहने।

(प्रकरण नं. २७)

(२)   बरामदी मुचुल्काको काम तामेल गर्ने व्यक्ति भएको नाताले मात्र निजको बकपत्रलाई प्रमाणमा लिन नमिल्ने गरी प्रमाण ऐन लगायतका अन्य कुनै कानुनले रोक लगाएको नपाइने बरु प्रमाण ऐन, २०३१ को दफा १८(ख) अनुसार निजको बकपत्रलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने ।

(प्रकरण नं. २८)

(३)   लागू औषध हेरोइन बरामद भएको भनी किटानी बकपत्र गरेको अवस्थामा बरामदी मुचुल्काका अर्का साक्षीले सो बरामदी मुचुल्कालाई स्वीकार गर्दै सो मा सही सम्म प्रहरी थानामा गरेको भनी बकपत्र गरेको आधारमा मात्रै सो बरामदी मुचुल्कालाई अन्यथा भन्न नमिल्ने ।

(प्रकरण नं. २८)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुभास नेवाङ

विपक्षी/वादी तर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति

फैसला

न्या.ओमभक्त श्रेष्ठ

१.     म.क्षे.अ को फैसला उपर पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    घरको उत्तर पट्टिको कोठामा २५ ग्राम अवैध लागू औषध हेरोइन फेला परेको ठीक साँचो हो भन्ने समेत मिति ०४३।५।१२ को बरामदी मुचुल्का ।

३.    विजय मित्तलसंग २९०० ग्राम हेराइन रु. ४२,०००।मा खरीद गरी डेरामा ल्याई राखेको थिएँ । एकपटक ६०० ग्राम र एकपटक २०० ग्राम गरी जम्मा ८०० ग्राम हेरोइन किसोर शाहीले क्रमशः रु. ३६,००।र रु. १,२००।मा बिक्री गरी दियो । २०७५ ग्राम त्रिपाठी भन्ने व्यक्तिलाई ५८,०००।मा बिक्री गरे । बाँकी २५ ग्राम बिक्री नभएको कारणले बालाजुको डेराको कोठाको दराजमा राखेको थिएँ सो कुरा प्रहरीले थाहा पाई बरामद गरी ल्याएका हुन भन्ने समेत जिल्ला प्रहरी कार्यालयमा प्रतिवादी हेमराज पिके (पनेरिका) ले गरेको बयान कागज ।

४.    हेमराजबाट लिएको ब्राउन सुगर हेरोइन मध्ये प्रति ग्राम ६०।का दरले ६०० ग्राम शान्त शाक्यलाई र २०० ग्राम राजेन्द्र श्रेष्ठलाई बिक्री गरी आएको जम्मा रु. ४८,०००।हेमराज पिकेलाई दिएको हुँ भन्ने समेत ऐ. मा प्रतिवादी किशोर शाहीले गरेको बयान कागज ।

५.    हेमराज पि.के. ले विजय मित्तलबाट खरीद गरी लिएको २९०० ग्राम हेरोइन मध्ये ८०० ग्राम पटक पटक गरी किशोर शाही मार्फत बिक्री गरेको, २०७५ ग्राम आफैंले बिक्री गरेको बिक्री हुन बाँकी रहेको २५ ग्राम हेरोइन (ब्राउन सुगर) २०४३।५।१२ गतेको दिन प्रहरीले हेमराजको डेरा तलासी लिंदा फेला परी बरामद भएकोले प्रतिवादी हेमराज पिके र किशोर शाहीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको प्रष्ट देखिँदा निज प्रतिवादी हेमराज पिके र किशोर शाही उपर सोही ऐनको दफा १४(१) अनुसार र विजय मित्तल, शान्ति शाक्य, राजेन्द्र श्रेष्ठ चन्द्रप्रसाद त्रिपाठीको हकमा सोही ऐनको दफा १६ अनुसार कारवाही हुन अनुरोध गरिएको छ भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रहरी प्रतिवेदन ।

६.    मेरो डेरा प्रहरीले खानतलासी लिंदा मेरो सामुन्नेमा केही चीज पनि बरामद भएको थिएन । प्रहरीले कुटपिट गरी बरामदी मुचुल्का र बयानमा सही गराएका हुन र मैले सही गरी दिएको हुँ । त्यसकारण मैले अभियोग अनुसारको कसूर गरेको छैन, मलाई सजायँ हुनु पर्ने होइन म निर्दोष छु सफाई पाउँ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतमा प्रतिवादी हेमराज पिकेले गरेको बयान ।

७.    मलाई जिल्ला प्रहरी कार्यालयमा कुटपिट गरी बयान गराइएको र सोही बयानको आधार लिई यो मुद्दामा अभियोग लगाइएकोले मैले अभियोग अनुसारको कसूर गरेको छैन । म निर्दोष छु । सफाई पाउँ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतमा प्रतिवादी किशोर शाहीले गरेको बयान ।

८.    प्रतिवादी हेमराज पिके र किशोर शाहीलाई चिनेको छैन । निजहरुसंग मैले कुनै कारोवार गरेको छैन । मलाई लगाइएको अभियोग झुठ्ठा हो सफाई पाउँ भन्ने समेत व्यहोराको चन्द्रप्रसाद त्रिपाठीले वागमती विशेष अदालतमा गरेको बयान ।

९.    प्रतिवादी किशोर शाही र हेमराज पिकेलाई मैले चिनेको छैन । निजहरुलाई कुनै लागू औषध दिएको छैन र निजहरुसंग लागू औषध लिएको समेत छैन । मलाई लगाइएको आरोप झुठ्ठा हो भन्ने व्यहोराको वागमती विशेष अदालतमा प्रतिवादी राजेन्द्र श्रेष्ठले गरेको बयान ।

१०.    मैले हेमराज पिकेसंग लागू औषध हेरोइनको कारवाही गरेको छैन, मलाई लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको बागमती विशेष अदालतमा प्रतिवादी विजय मित्तलले गरेको बयान ।

११.    प्रतिवादी शान्त शाक्यका नाउँमा जारी भएको समाव्हान मिति २०४६।१।१२ मा तामेल भएको र सो को म्याद भित्र हाजिर हुन आएको नदेखिएको ।

१२.   का.जि.बालाजु चक्रपथस्थित श्रीमती मिनादेवी देवकोटाको घरमा डेरा गरी बस्ने हेमराज पिकेको उत्तरपट्टिको कोठामा अवैध लागू औषध हेरोइन २५ ग्राम बरामद भएकोले बरामद लागू औषध र हेमराज पिकेलाई कार्यालयमा प्रमुख समक्ष दाखिल गरेको हो भन्ने समेत व्यहोराको वागमती विशेष अदालतमा बरामदी मुचुल्काका प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठले गरेको बकपत्र ।

१३.   हेमराज पिकेले लागू औषध सम्बन्धी काम कारवाही गरेको मैले सुनेको देखेको छैन भन्ने समेत हेमराजको साक्षी सुजी शेर्पाले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१४.   मलाई जहाँसम्म लाग्छ निज हेमराज पिके लागू औषध बिक्री व्यापार गर्ने मानिस होइन र निजले सो सेवन गरेको मैले देखेको छैन भन्ने समेत हेमराजको साक्षी बालकृष्ण श्रेष्ठले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१५.   किशोर शाही लागू औषध सम्बन्धी काम गर्ने मानिस होइन निजले सो को सेवन गर्ने काम समेत गरेको छैन भन्ने समेत किशोर शाहीको साक्षी जितबहादुर शाहीले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१६.    किशोर शाहीले अहिलेसम्म लागू पदार्थ सम्बन्धी कारोवार गरेको थाहा छैन र निज त्यसो गर्ने व्यक्ति पनि होइनन् भन्ने समेत व्यहोराको किशोर शाहीको साक्षी सुरेश गौतमले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१७.   बरामदी मुचुल्काको रोहवरमा भएको सही मेरो हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका मानिस वडा अध्यक्ष शारदाप्रसाद भट्टराईले वागमती विशेष अदालतमा गरेको बकपत्र ।

१८.   प्रतिवादी हेमराज पि.के ले लागू औषधको कारोवारमा संलग्न रही लागू औषध नियन्त्रण ऐन, २०३३ को ४(घ) को कसूर गरेको र प्रतिवादी किशोर शाहीले सो कार्यमा सम्पर्क र माध्यम बनी सहयोगसम्म गरेको देखिँदा निजले ऐ.ऐनको दफा १७ को कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्र.हेमराज पिकेलाई निजबाट बरामद भएको लागू औषधको प्रकृति र परिणाम एवं कसूरमा संलग्नता समेतको आधारमा ऐ. ऐनको दफा १४(ख) अनुसार तत्काल प्रचलित कानुन अनुसार ७ वर्ष कैद र रु. १०,०००।दशहजार जरिवाना हुने र प्र.किशोर शाहीलाई ऐ. ऐनको दफा १७ बमोजिम कैद वर्ष ३ तीन र जरिवाना रु. ५००।पाँच सय हुने ठहर्छ अन्य प्रतिवादी मध्ये शान्ती शाक्यको हकमा निज उपर मुद्दा चलेको भन्ने प्रमाण पेश हुन नआएको र सो देखि बाहेक अन्य प्रतिवादीले अदालतबाट सजायँ पाइसकेपछि पुनः अपराध गरेको भन्ने देखिन नआएकोले ऐ. ऐनको दफा १६ को दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको मिति २०४६।२।२७ को फैसला ।

१९.    वागमती विशेष अदालतबाट मलाई हराई ७ वर्ष कैद र रु. १०,०००।जरिवाना गर्ने गरी मेरो स्वेच्छा विरुद्ध प्रहरीमा गराइएको साविती बयानलाई मुख्य आधार मानी गरिएको फैसला बदर गरी झुठ्ठो आधारहीन वादी दावीबाट सफाई पाउँ भन्ने प्रतिवादी हेमराम पिकेले म.क्षे.अ.मा गरेको पुनरावेदन ।

२०.   वागमती विशेष अदालतबाट मैले प्रहरीमा गरेको भनेको तथाकथित बयानको आधारमा ३ वर्ष कैद र रु. ५००।जरिवाना गर्ने गरी भएको फैसला घोर अन्यायपूर्ण हुँदा उक्त फैसला बदर गरी वादी दावीबाट सफाई पाउँ भनी प्रतिवादी किशोर शाहीले म.क्षे.अ.मा गरेको पुनरावेदन ।

२१.   प्रतिवादी हेमराज पिके र किशोर शाही प्रहरी समक्ष कसूर गरेमा सावित रहेका र अदालतमा आई इन्कारी बयान गरे पनि निजको डेराबाट २५ ग्राम हेरोइन बरामद भएको मिति ०४३।५।१२ को बरामदी मुचुल्काबाट देखिन्छ । प्रतिवादी हेमराजले उक्त २५ ग्राम हेरोइन आफ्नो डेराबाट बरामद भएको होइन भनी इन्कारी बयान गरेको भए पनि सो लागू पदार्थ कहाँबाट आएको हो सो सम्बन्धमा कुनै कुरा खोल्न नसकेको, प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठको बकपत्र समेतबाट उक्त २५ ग्राम हेरोइन प्रतिवादी कै डेराबाट बरामद भएको भन्ने पुष्टि भहरहेको हुँदा प्रतिवादी हेमराज पिके उपर लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) र किशोर शाही उपर ऐ.ऐनको दफा १७ अन्तर्गतको कसूर ठहर गरिएको मनासिब ठहर्छ कैदको हकमा प्रतिवादी हेमराज पिकेलाई ३ वर्ष मात्र र किशोर शाहीलाई ११२  वर्ष मात्र कैद सजायँ हुन्छ । प्र. हेमराज पिकेलाई ७ वर्ष कैद सजायँ र प्र.किशोर शाहीलाई ३ वर्ष कैद सजायँ गरेको हदसम्म वागमती विशेष अदालतको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।

२२.   वागमती विशेष अदालतले गरेको सजायँ केही घटाई मलाई तीन वर्ष कैद र रु. १०,०००।– (दश हजार) जरिवाना तथा अ.बं. २०३ नं.बमोजिम ३ महीना १८ दिन कैद तथा रु. १०००।एकहजार जरिवाना थप गर्ने गरी भएको म.क्षे.अ.को फैसला प्रमाण ऐन, २०३१ को दफा ३, १८, ५४ तथा मुलुकी ऐन, अ.बं. १७२ नं.र २०३ नं.समेतको प्रत्यक्ष त्रुटिपूर्ण देखिँदा सो फैसला बदर गरी वादी दावीबाट पूर्णत सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी हेमराज पि.के. को यस अदालतमा पर्न आएको पुनरावेदन ।

२३.   प्रतिवादी हेमराज पिकेको प्रहरीमा भएको साविती बयान र सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनु पर्नेमा सो समर्थन गर्ने प्रमाण पेश भएको नदेखिएको र सहअभियुक्त किशोर शाहीले पोल गरेको अन्य सहअभियुक्तहरुले बा.वि.अ.र म.क्षे.अ.समेतबाट सफाई पाइसकेका बरामदी मुचुल्का सम्बन्धमा पनि प्रतिवादी इन्कार रहेको र बरामदी मुचुल्कामा रहेका साक्षीले अदालतमा बकपत्र गर्दा सोह्खुट्टे प्रहरी थानामा बसी बरामदी मुचुल्कामा सही गरेको भनी लेखाई दिएबाट अ.बं. १७२ नं.को त्रुटि विद्यमान रहेको र बा.वि.अ.को सजायँ घटाएकोमा समेत अ.बं.२०३ बमोजिम सयकडा १० थप सजायँ गरेको समेत त्रुटिपूर्ण देखिन आई म.क्षे.अ.को इन्साफ फरक पर्न जाने देखिएको हुनाले अ.बं.२०२ नं.बमोजिम छलफलको लागि वादी श्री ५ को सरकारलाई झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको संयुक्तइजलासको मिति ०४८।९।३ को आदेश ।

२४.   नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुवास नेवाङले प्रतिवादी हेमराज पि.के. ले अदालतमा बयान गर्दा प्रहरीमा भएको आफ्नो बयान र आफ्नो डेराबाट लागू औषध हेरोइन बरामद भएको कुरालाई समेत इन्कार गरी बयान गरेका छन् यस्तो अवस्थामा प्रहरीमा भएको भनिएको सावितीको आधारमा मात्र मेरो पक्षलाई सजायँ गर्न मिल्दैन । मेरो पक्षले विजय मित्तलबाट २९०० ग्राम हेरोइन लिएको भनी प्रहरीमा गरिएको भनेको तथाकथित बयानमा उल्लेख छ । वास्तवमा उक्त बयान सत्य भए वादी पक्षले विजय मित्तललाई समेत प्रतिवादी बनाउनु पर्नेमा निजलाई प्रतिवादी बनाएको छैन । प्रतिवादीले गरेको भनिएको साविती बयानमा पोल परेका विजय मित्तलले अपराध गरेकोमा वादी पक्षलाई नै विश्वास नभएको भन्ने देखिएपछि अर्थात प्रतिवादीको बयानको केही अंशलाई वादीले मान्न इन्कार गरेको अवस्थामा प्रतिवादीको साविती भनिएको बयान स्वतः विश्वास लायक देखिएको छैन । त्यस्तै सहअभियुक्त किसोर शाहीको बयानमा उल्लेखित राजेन्द्र श्रेष्ठ शान्त शाक्य समेतलाई प्रतिवादी बनाइएको छैन । यसरी सहअभियुक्तको साविती भनिएको तथाकथित बयानको केही अंशलाई स्वयं वादीले नै स्वीकार नगरेको अवस्थामा केही अंशलाई मात्र आधार मानी मेरो पक्षलाई सजायँ गर्न मिल्दैन । मेरो पक्षको प्रहरीमा भएको भनिएको तथाकथित बयानलाई समर्थन गर्ने भनिएको बरामदी मुचुल्कालाई समेत मेरो पक्षले इन्कार गर्दै आएका छन् । उक्त बरामदी मुचुल्का कानुनको रीत पुगी तयार भएको छैन । बरामदी मुचुल्काका साक्षी वडा अध्यक्ष सारदाप्रसाद भट्टराईले उक्त बरामदी मुचुल्कामा सोह्रखुट्टे प्रहरी थानामा बसी सही गरेको भनी उल्लेख भएबाट मेरो पक्षको डेराबाट लागू औषध बरामद भएको भन्ने कुरा नै शंकास्पद देखिन्छ । प्र.ना.नि. गोपालबहादुर श्रेष्ठ बरामदी मुचुल्काका साक्षी नभई मुचुल्का खडा गर्ने स्वयं वादी पक्षको एउटा अंश भएकोले निजको बकपत्रबाट बरामदी मुचुल्कालाई स्थापित गर्न मिल्दैन । खानतलासी लिनु पर्ने स्थानमा खडा नगरी अ.बं. १७२ नं.को रीत नपुर्‍याई खडा गरिएको र कुनै साक्षीबाट समर्थित नभएको त्यस्तो त्रुटिपूर्ण बरामदी मुचुल्कालाई कुनै पनि हालतमा विश्वसनीय मान्न सकिंदैन । यसरी मेरो पक्ष विरुद्धको कसूर प्रमाणित गर्ने कुनै शंकारहित प्रमाण वादी पक्षबाट पेश हुन नसकेको अवस्थामा निजलाई सजायँ गर्न मिल्दैन । निजले सफाई पाउनु पर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

२५.   सो को प्रत्युत्तरमा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापतिले प्रतिवादी आरोपित कसूर गरेमा प्रहरी समक्ष सावित छन । अदालत समक्ष आई बयान गर्दा समेत निजले प्रहरी सावितीको हस्ताक्षर र बरामदी मुचुल्काको हस्ताक्षरलाई स्वीकार गरेका छन् । निजको साविती बरामदी मुचुल्काले समर्थित गरेको छ । बरामदी मुचुल्का रीतपूर्वक नभएको भन्ने विपक्षी तर्फका विद्वान अधिवक्ताको जिकिर भए पनि बरामदी मुचुल्का रीतपूर्वक नै भएको देखिन्छ । बरामदी मुचुल्काका गोपालप्रसाद श्रेष्ठको बकपत्रबाट प्रतिवादीको घरडेराबाट २५ ग्राम लागू औषध हेरोइन बरामद भएको पुष्टि भइरहेको छ । निजको बकपत्रलाई अन्यथा भन्न सक्ने अवस्था छैन । बरामदी मुचुल्काका अर्का साक्षी सारदाप्रसाद भट्टराईले बरामदी मुचुल्कामा सोह्रखुट्टे प्रहरी थानामा सही गरेको भने पनि लागू औषध बरामद भएको ठाउँमा आफू नभएको भन्न र सो लागू औषध समेत आफ्नो सामुन्ने बरामद नै नभएको भनी भन्न नसकेको अवस्थामा बरामदी मुचुल्कालाई शंका गर्नपर्ने अवस्था छैन । मतियारको रुपमा सजायँ पाएको किशोर शाहीले आफू उपरको अभियोग स्वीकार गरी पुनरावेदन नगरी बसेका छन यस्तो अवस्थामा प्रतिवादी विरुद्धको कसूर ठहर गरी सजायँसम्म केही घटाई अ.बं. २०३ को देहाय १ अनुसार शुरुले गरेको सजायँ मध्ये ठहर भएजति सजायँको सयकडा १० थप सजाय समेत गर्ने गरी भएको म.क्षे.अ.को फैसला कानुनसंगत नै भएकोले सो फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।

२६.   यसमा म.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो मा नै निर्णय दिनु पर्ने देखियो ।

२७.   यस सम्बन्धमा विचार गर्दा पुनरावेदक तर्फका विद्वान अधिवक्ताले मेरो पक्षलाई स्वेच्छा विरुद्ध गराइएको प्रहरीको बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म मेरो पक्षको विरुद्धमा प्रमाणमा लिन मिल्दैन भन्ने जिकिर लिनु भएको छ । उक्त जिकिरको सम्बन्धमा हेर्दा प्रतिवादी हेमराज पि.के. ले प्रहरीमा गरेको मौकाको बयान कागजमा विजय मित्तलबाट खरीद गरी लिएको २९०० ग्राम लागू औषध हेरोइन मध्ये ८०० ग्राम किशोर शाही मार्फत र २०७५ ग्राम त्रिपाठी भन्ने व्यक्तिलाई बिक्री गरी बिक्री हुन बाँकी २५ ग्राम लागू औषध हेरोइन आफ्नो डेराबाट प्रहरीले बरामद गरेको हो भनी आरोपित कसूरमा सावित हुँदै आफ्नो घरबाट प्रहरीले २५ ग्राम लागू औषध हेरोइन बरामद गरी लगेको कुरालाई समेत स्वीकार गरेको र प्रतिवादी किशोर शाहीले पनि मौकामा बयान कागज गर्दा प्रतिवादी हेमराज पि.के. बाट बिक्रीको लागि प्राप्त ८०० ग्राम लागू औषध हेरोइन मध्ये ६०० ग्राम शान्ती शाक्यलाई र २०० ग्राम रोजन्द्र श्रेष्ठलाई बिक्री गरी आएको रकम रु. ४८,०००।प्रतिवादी हेमराज पि.के. लाई दिएको भनी कसूरमा आफू सावित हुँदै प्रतिवादी हेमराज पि.के. लाई पोल गरेको देखिन्छ । प्रतिवादी हेमराज पि.के. ले अदालत समक्ष आई बयान गर्दा प्रहरीमा कुटपिट गरी स्वेच्छा विरुद्ध बयान गराइएको भन्ने जिकिर लिंदै आरोपित कसूरमा इन्कार रहे पनि निजलाई प्रहरीमा कुटपिट गरी बयान गराइएको थियो भन्ने कुराको कुनै तथ्ययुक्त सबूद प्रमाण निजले पेश गर्न सकेको छैन । प्रमाण ऐन, २०३१ को दफा २७ (१) मा सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराका जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजको हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको र उक्त व्यवस्था अनुसार निज प्रतिवादीको प्रहरी समक्षको साविती बयानलाई अन्यथा भन्नको लागि सो तथ्ययुक्त सबूद प्रमाण पुर्‍याउने भार निजमा नै निहित हुने हुँदा त्यसरी प्रमाण पेश नभएको अवस्थामा अदालतले उक्त बयानलाई प्रमाण ऐनको दफा ९(२) को खण्ड (क) को (१)(२)(३) को अवस्थामा बयान गरेको अनुमान गरी प्रमाणको रुपमा ग्रहण गर्नु पर्ने हुन्छ । अदालत समक्ष बिना आधार प्रतिवादीहरुले प्रहरीको बयानलाई स्वेच्छा विरुद्धको भन्दैमा अदालतले उक्त भनाईलाई मात्र आधार मानी प्रमाणको रुपमा मान्न इन्कार गर्ने हो भने अनुसन्धानको क्रममा प्रतिवादीहरुको कागज गराउने कानुनी व्यवस्थाको कुनै औचित्य नै रहँन जाँदैन । अतः प्रहरी सावितीलाई मुद्दामा दर्शाइएको घटनाक्रम प्रमाण संकलन प्रकृया आदिको सन्दर्भमा मिसिल सामेल रहेको तथ्य प्रमाणसंग समग्र रुपले भिडाई हेर्नु पर्छ ।

२८.   अब प्रहरी साविती सम्बन्धमा यति चर्चा गर्दै मिसिल सामेल रहेको बरामदी मुचुल्काको कानुनी स्थितितर्फ विचार गरौं । पुनरावेदक तर्फका विद्वान अधिवक्ताले आफ्नो बहसको दौरानमा मेरो पक्षले अदालत समक्ष बयान गर्दा आफ्नो डेराबाट लागू औषध हेरोइन बरामद भएको भन्ने कुरालाई इन्कार गरेको र बरामदी मुचुल्काका साक्षीले नै उक्त बरामदी मुचुल्कामा सोह्रखुट्टे प्रहरी थानामा सही गरेको भनी बयान गरेबाट त्यस्तो शंकास्पद एवं त्रुटिपूर्ण बरामदी मुचुल्काको आधारमा मेरो पक्षलाई कसूरदार ठहराउन मिल्दैन भनी जिकिर लिनु भएको छ । प्रतिवादी हेमराज पि.के. ले प्रहरी समक्ष मौकामा बयान कागज गर्दा उक्त बरामदी मुचुल्कामा लेखिएको कुरालाई पुष्ट्याई हुने गरी बयान कागज गरेको र अदालत समक्ष आई इन्कारी बयान गरे पनि प्रहरी सावितीको सहीछाप र बरामदी मुचुल्काको सहीछाप आफ्नै हो भन्ने कुरा स्वीकार गरेका छन । यसको साथै निजले अदालतमा बयान गर्दा आफ्नो डेरा प्रहरीले खानतलासी लिएको थिएन भन्न नसकी बयानको स.ज. ५ मा मेरो डेराबाट लागू औषध हेरोइन बरामद भएको थिएनभनी बयान गरेबाट निजले उक्त मितिमा प्रहरीद्वारा आफ्नो घर खानतलासी लिएको कुरालाई समेत स्वीकार गरेको देखिन्छ । बरामदी मुचुल्काका गोपालप्रसाद श्रेष्ठले अदालत समक्ष आई बकपत्र गर्दा मिति २०४३।५।१२ का दिन निज प्रतिवादी हेमराज पि.के. को डेराबाट २५ ग्राम लागू औषध हेरोइन बरामद भएको भन्ने कुराको किटानी बकपत्र गरेका छन् । निज गोपालप्रसाद श्रेष्ठ बरामदी मुचुल्काको काम तामेल गर्ने व्यक्ति भएको नाताले मात्र निजको बकपत्रलाई प्रमाणमा लिन नमिल्ने गरी प्रमाण ऐन लगायतका अन्य कुनै कानुनले रोक लगाएको पाइँदैन । बरु प्रमाण ऐन, २०३१ को दफा १८(ख) अनुसार निजको बकपत्रलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने नै देखिन्छ । त्यस्तै बरामदी मुचुल्काका अर्का साक्षी शारदाप्रसाद भट्टराईले अदालत समक्ष आई बकपत्र गर्दा सो मुचुल्का हेरे सो मा भएको सहीछाप मेरो हो भनी बकपत्र गरेका छन । निजले बकपत्र गर्दा बरामदी मुचुल्काको सही सोह्रखुट्टे प्रहरी थानामा गरेको भनी बकपत्र गरे पनि लागू औषध बरामद भएको स्थानमा आफू नभएको वा प्रहरीले आफूलाई झुक्याई वा जबरजस्ती सही गराएको भनी भन्न लेखाउन समेत सकेको देखिंदैन । यसरी प्रतिवादी स्वयंले उक्त मितिमा प्रहरीले आफ्नो घर खानतलासी लिएको कुरालाई स्वीकार गरेको र बरामदी मुचुल्काको गोपालप्रसाद श्रेष्ठले प्रतिवादी हेमराज पिकेको डेराबाट लागू औषध हेरोइन बरामद भएको भनी किटानी बकपत्र गरेको अवस्थामा बरामदी मुचुल्काका अर्का साक्षी शारदाप्रसाद भट्टराईले सो बरामदी मुचुल्कालाई स्वीकार गर्दै सो मा सही सम्म सोह्खुट्टे प्रहरी थानामा गरेको भनी बकपत्र गरेको आधारमा मात्र सो बरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्दैन । प्रस्तुत वारदातमा चित्रण गरिएको घटनाक्रम, प्रमाण संकलन प्रकृया वा प्रमाण जुटाउने कार्यविधि समेतलाई दृष्टिगत गर्दा उक्त बरामदी मुचुल्कामा कुनै मौलिक त्रुटि समेत रहे भएको देखिन आउँदैन । तसर्थ यस्तो बरामदी मुचुल्का प्रमाणको रुपमा अग्राहय हुन्छ भन्ने विद्वान अधिवक्ताको जिकिरसंग सहमत हुन सकिएन ।

२९.   उपर्युक्त तथ्यहरुको समुचित मूल्यांकन गरी हेर्दा प्रतिवादी हेमराज पिके आरोपित कसूर गरेमा प्रहरीमा सावित रहेको, अदालतमा आई इन्कारी बयान गरे पनि सो को कुनै तथ्य प्रमाण पेश गर्न नसकेको, प्रतिवादी किशोर शाहीले कसूरमा आफू समेत सावित भई निज प्रतिवादी हेमराज पिकेलाई पोल गरेको, निजको पोललाई विश्वास गर्नु नपर्ने कुनै कारण नदेखिएको साथै प्रतिवादी हेमराज पिकेको साविती र सहअभियुक्त किशोर साहीको पोल बरामदी मुचुल्काबाट स्पष्ट रुपमा समर्थित भइरहेको हुँदा आरोपित कसूरमा निज प्रतिवादी हेमराज पिकेको संलग्नता नरही निज निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन ।

३०.   अतः उपयुक्त उल्लेखित आधार प्रमाणहरुबाट प्रतिवादी हेमराज पिकेले आरोपित कसूर गरेको ठहर गरी निजलाई ३ वर्ष कैद र रु. १०,०००।जरिवाना गरी भएको म.क्षे.अ.को फैसला मनासिबै देखिएकोले सदर हुने ठहर्छ । प्रतिवादी हेमराज पिकेको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इतिसम्वत् २०४९ साल बैशाख ३१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु