निर्णय नं. ४५४० - कर्तव्य ज्यान

निर्णय नं. ४५४० ने.का.प. २०४९ (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४७ सालको फौ.पु.नं.२९१
फैसला भएको मिति: २०४९।१।२४।४ मा
पुनरावेदक/वादी: भागादेवी जावडको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी: महेन्द्रनगर न.पा. वा.नं.२ बस्ने दानबहादुर चन्दसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) को कस्को कर्तव्यबाट कुन ठाउँमा के कसरी मृतकको मृत्यु भएको हो भन्ने कुरा कसैले व्यक्त गर्न नसकेको अवस्थामा प्रतिवादीले गरेको बयानलाई मात्र प्रतिवादीहरु विरुद्ध आरोपित कसूर स्थापित गर्ने प्रमाण मान्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं. २६)
(२) प्रतिवादीहरु कसूरदार हुन् भन्ने कुराको कुनै तथ्ययुक्त सबूद प्रमाण वादी पक्षबाट गुजार्न नसकेको अवस्थामा जाहेरवालीको विवादास्पद कथन र सरजमीनका केही व्यक्तिहरुले देखाएको शंकाको भरमा मात्र प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुनुको साथै फौज्दारी न्यायको सर्वमान्य सिद्धान्तको समेत विपरीत हुन जाने र शंकाको सुविधा प्रतिवादीले पाउने ।
(प्रकरण नं. २६)
पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.ओमभक्त श्रेष्ठ
१. सु.प.क्षे.अ.को फैसला उपर पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. उल्टाखाम जाने शाखा नहरमा एक अपरिचित मानिस घोप्टो परी मरी रहेको लासलाई चिन्न नसकी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको अजब सिंहको मिति ०४१।१०।३ को जाहेरी दर्खास्त ।
३. शाखा नरहरमा लास घोप्टो परी रहेको, नहरको गहिराई १ फिट र चाडाई १२ फिट भएको लासलाई पानीबाट झिकी जमीनमा घोप्टो पारी माथिबाट थिची हेर्दा पेटबाट पानी निस्केको, बायाँ खुट्टाको घुँडा मुनी दायाँतिर खोस्रिएको मुखको तल्लो ओठमा रातो खोस्रिएको जस्तो देखिएको, लासदेखि ४२ हात दुरीमा पानी भित्र मृतकको पेन्ट रहेको र सो ठाउँदेखि उत्तरतिर ३५ फिटमा गलबन्दी र टोपी भेटिएको भन्ने समेतको लास प्रकृति मुचुल्का ।
४. ०४१।१०।२ गतेका राती मनुवा जोशीको दोकानमा मेरो लोग्ने जया लावड दानबहादुर चन्द र निजसंग रहेको नाम नजानेको चन्द समेत भई रक्सी खाई खुवाई निज मनुवा जोशी समेतको मिलेमतोबाट मेरो लोग्नेलाई लिंग अण्डकोषमा आघात पुर्याई कर्तव्य गरी मारी फालेकोले आवश्यक कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भागादेवी लावडको जाहेरी दर्खास्त ।
५. २०४१।१०।२ गते ४ बजेसम्म कार्यालयमा छु । त्यसपछि घर गएको हुँ मैले समेत जया लावडलाई रक्सी खुवाई कर्तव्य गरी मारेको हैन जाहेरी झुठ्ठा हो भन्ने समेत व्यहोराको दानबहादुर चन्दले प्रहरीमा गरेको बयान कागज ।
६. ०४२।८।२५ को सरजमीन मुचुल्का मिसिल सामेल रहेको । लास प्रकृति मुचुल्का पोष्टमार्टम फारामबाट लिंग अण्डकोषमा घाउखत निल डामसम्म केही नदेखिएको अक्सिजनको कमिले मृतकको मृत्यु भएको भन्ने उल्लेख भएको, मृतक ज्यादै मादक पदार्थ सेवन गर्ने व्यक्ति हुन भनिएको हुँदा मृतक कसैको कर्तव्यबाट नमरी पानीमा डुबेको कारणबाट निसास्सिएर मरेको देखिन आएकोले तथ्ययुक्त प्रमाणको अभावमा कसै उपर मुद्दा चलाउन नमिल्ने हुँदा तामेलीमा राखी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
७. मनुवा जोशीलाई समेत पक्राउ गरी बयान गराई कानुन बमोजिम गरी पेश गर्नु भन्ने कं.जि.अ.को आदेश ।
८. ०४१ माघ २ गतेको दिन पसल बन्द थियो । उक्त दिन कसैले पनि मेरो पसलमा रक्सी खाएका होइनन् । म समेत भई जया लावडलाई कर्तव्य गरी मारी फ्याँकेको होइन भन्ने समेतको मनुवा जोशी भन्ने मनोरथ जोशीको बयान कागज ।
९. मनुवा भन्ने मनोरथ जोशीको हकमा समेत मुद्दा चलाउन नपर्ने भन्ने व्यहोराको प्रहरी प्रतिवेदन ।
१०. जाहेरवालीको किटानी घटनास्थल प्रकृति समेतबाट मृतक रक्सी खाएको अवस्थामा नहर बाटो हिंड्दा नहरमा खस्न गई पानीमा डुवी भवितव्यबाट मरेको भन्ने कुरा शंकास्पद देखिन आएको हुँदा पुनः तहकिकात गर्न मिसिल फिर्ता पठाई दिनु भन्ने समेतको कन्चनपुर जिल्ला अदालतको मिति ०४३।६।१३ को आदेश ।
११. ०४०।१०।२ गते बेलुकीको समयमा मेरो पसलमा दानबहादुर चन्द अर्को चन्द र मृतक जया लावड समेत ३ जना भई रक्सी खाई गएका हुन । मृतकको मृत्यु कर्तव्यबाट भएको होला जस्तो लाग्छ तर कस्को कर्तव्यबाट मृत्यु भयो निजहरुलाई नै थाहा होला भन्ने समेतको मनोरथ जोशीको बयान कागज ।
१२. ०४१।१०।२ गते बेलुका म आफ्नो घरमा छु । जया लावड नहरमा आफैं डुवी मरेछ भन्ने कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको दानबहादुर चन्दको बयान कागज ।
१३. ०४४।७।१९ को सरजमीन मुचुल्का मिसिल सामेल रहेको ।
१४. ०४१।१०।२ गते साँझ दानबहादुर चन्द नाम थाहा नभएको चन्द र जया लावड समेत ३ जना भई आफ्नो पसलमा रक्सी खाई गएको कुरा मनोरथ जोशीले लेखिदिएको र सरजमीनका वीरमान कार्की समेतले शंका लाग्छ भनी बकी लेखिदिएकाले अभियुक्त दानबहादुर चन्द र डम्बरबहादुर चन्द जना २ भई जया लावडलाई कर्तव्य गरी मारेमा ज्यानसम्बन्धी महलको १३(३) अनुसार सजायँ हुन र अभियुक्त मनोरथ जोशीको हकमा ऐ. २५ नं.अनुसारको माग दावी भएको प्रहरी प्रतिवेदन ।
१५. ०४१।१०।२ गते साँझ दानबहादुर चन्द, डम्बरबहादुर चन्द र जया लावड मेरो पसलमा आई रक्सी खाई गएका हुन । मृतक के भई मरेको हो मलाई थाहा छैन । कर्तव्य गरी मारेको कुरा दवाउने अभिप्रायले उक्त दिन पसल बन्द थियो भनी लेखाएको पनि छैन भन्ने समेतको प्र.मनुवा भन्ने मनोरथ जोशीको अदालत समक्ष गरेको बयान ।
१६. ०४१।१०।२ गते अफिसबाट घरमा गएको हुँ । उक्त दिन मेरो मृतक र डम्बरबहादुरसंग भेटघाट भएको छैन । म समेत भई जया लावडलाई कर्तव्य गरी मारेको होइन भन्ने समेतको प्र.दानबहादुर चन्दको अदालत समक्ष गरेको बयान ।
१७. जाहेरवाला तथा साक्षी सरजमीनका मानिसहरुले गरेको बकपत्र मिसिल सामेल रहेको ।
१८. प्र.मध्येका डम्बरबहादुर चन्दका हकमा अ.बं. १९० नं.बमोजिम मुलतवी राखी दिने प्र.दानबहादुर चन्दका हकमा निज समेत भई मनुवा जोशीको पसलमा रक्सी खाएको कुरा मनोरथको बयानबाट देखिएको सरजमीनका व्यक्तिहरुले शंका लाग्छ भनी लेखिदिएको पोष्टमार्टम रिपोर्टबाट पनि निज मृतक पानीमा डुवी मरेको कुरा असंगत देखिन आएको र निजले मारेको होइन भनी ठोस प्रमाण पुर्याउन नसकेको हुँदा पूर्व रिसइवी पनि नभएको र जोखिमी हतियारको प्रयोग पनि नभएको हुँदा ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १० वर्ष कैद हुने ठहर्छ र वादी पक्षले प्रमाण पुर्याउन नसकेको हुँदा मनोरथ जोशीले सफाई पाउने ठहर्छ भन्ने समेत कन्चनपुर जिल्ला अदालतको ०४६।११।४ को फैसला ।
१९. कन्चनपुर जिल्ला अदालतले गरेको फैसला गैरकानुनी र आधारहीन हुँदा सो बदर गरी सफाई पाउँ भन्ने समेतको दानबहादुर चन्दको महाकाली अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
२०. प्र.दानबहादुर चन्दलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्न पर्नेमा सो नगरी १४ नं.बमोजिम सजायँ गर्ने गरेको मनोरथ जोशीलाई सफाई दिने गरी गरेको फैसला बदर गरी माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदनपत्र ।
२१. प्रतिवादीहरु नै मृतक जया लावडको मृत्युको कारण हुन भन्ने कुरो शंकारहित तवरबाट प्रमाणित हुन नसकेको हुँदा प्र.दानबहादुर चन्द र मनुवा भन्ने मनोरथ जोशीले अभियोगबाट सफाई पाउँछन भन्ने समेतको महाकाली अंचल अदालतको ०४७।२।१३।१ को फैसला ।
२२. संगै रक्सी खाई संगै गएका ३ जना मध्ये १ जना मानिस मर्नु अर्को व्यक्ति फरार हुनु मृतकको शरीरमा घा चोट हुनु डुब्नै नसक्ने पानीमा लास भेटिनु आदिबाट समेत जया लावडलाई कर्तव्य गर्नमा दानबहादुर चन्दको समेत संलग्नता भएको र घटनाबारे जानकारी भएर पनि लास दवाउने नियतले मनोरथ जोशी चुप लागि बसेको स्पष्ट हुँदा हुँदै पनि सोको विचारै नगरी गरेको महाकाली अंचल अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेतको श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
२३. जाहेरवालीको आफ्नो लोग्नेलाई प्र.दानबहादुर चन्द समेत भई लिंग अण्डकोषमा आघात पुर्याई कर्तव्य गरी मारेको कुरा सुनेको भरमा जोहरी दर्खास्त दिएको देखिन्छ तापनि निजको जाहेरीलाई प्रकृति मृचुल्का समेत कतैबाट प्रमाणित गर्न सकेको देखिंदैन प्र.मनोरथले आफ्नो पसलमा ३ जनाले रक्सी खाई हिडेको कुरासम्म व्यक्त गरेको तत्पश्चात कुन ठाउँमा के कसरी को कस्को कर्तव्यबाट मृत्यु हुन गयो भन्ने कुरा किटानीसाथ कसैले व्यक्त गर्न नसकेको तथा सो कुरालाई वादी पक्षबाट समेत प्रमाणित हुन सकेको छैन । सुनेकै भरमा जाहेर गरेको कुरालाई सरजमीनका केही व्यक्तिले शंकासम्म गरेको विद्यमान अवस्थामा शंकाको भरमा कसूरदार ठहर गर्न न्यायोचित नदेखिँदा प्र.हरुलाई सफाई दिने गरी भएको महाकाली अंचल अदालतको फैसला मनासिब ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको सु.प.क्षे.अ.को फैसला ।
२४. उक्त फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भनी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा सु.प.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो मा नै निर्णय दिनु पर्ने देखियो ।
२६. यस सन्दर्भमा विचार गर्दा उल्टाखाम जाने शाखा नहरमा मृतकको लास फेला परेपछि मिति ०४१।१०।२ मा न.पं.स. को हैसियतले अजवसिंह शाहाले दिएको दर्खास्तबाट अनुसन्धान तहकिकात शुरु भएको प्रस्तुत मुद्दाको सन्दर्भमा मृतककी श्रीमती मागादेवी लावडले मौकामा दिएको मिति २०४१।१०।४ को दर्खास्तमा निजले आफ्नो श्रीमानलाई के कुन परिबन्दबाट को, कसले, कहाँ कर्तव्य गरी मारेको भन्ने कुरा खुलाउन देखाउन र कसै उपर शंका सम्म पनि व्यक्त गर्न सकेको देखिंदैन भने निजै जाहेरवालीले मिति २०४१।१०।२९ मा प्रतिवादी दानबहादुर चन्द समेत भई मृतकलाई लिंग अण्डकोषमा आघात पुर्याई कर्तव्य गरी मारेको भनी दोस्रो जाहेरी दिएको देखिन्छ । तर मौकामा भएको लास जाँच प्रकृति मुचुल्कामा मृतकको लिंग अण्डकोषमा कुनै घा–घत रहे भएको नदेखिनुको साथै शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु अक्सिजनको कमिबाट भएको भनी उल्लेख भएको र रसायनिक परीक्षण गर्न पठाइएको मृतकको भिसेरामा कुनै विषालु पदार्थ नदेखिएकोले उल्लेखित तथ्य प्रमाणबाट जाहेरवालीको उक्त जाहेरी व्यहोरा समर्थित हुन सकेको देखिंदैन । मृतक र प्रतिवादीहरु बीच कुनै प्रकारको पूर्व रिसइवि रहे भएको तथा यी प्रतिवादीहरुको कुनै किसिमको पूर्व योजना बनाई वा कुनै षडयन्त्र गरी मृतकलाई मारेका हुन भन्ने कुरा पनि जाहेरवालीको कथन लगायत अन्य कहिं कतैबाट खुल्ने देखिन आउँदैन र सो कुरा वादी पक्षबाट समेत प्रमाणित गराउन सकेको देखिंदैन । केवल प्रतिवादी मनोरथ जोशीले २०४१।१०।३ का दिन साँझ ६ बजे मृतक र प्रतिवादी दानबहादुर चन्द समेत ३ जना आफ्नो पसलमा आई रक्सी खाई गएका हुन भनी गरेको बयानलाई मात्र आधार बनाई अनुमानको भरमा प्रतिवादी दानबहादुर चन्द समेत उपर मृतकलाई मारेको कसूर कायम गरी प्रहरी प्रतिवेदन दायर गरेको देखिन्छ । को कस्को कर्तव्यबाट कुन ठाउँमा के कसरी मृतकको मृत्यु भएको हो भन्ने कुरा कसैले व्यक्त गर्न नसकेको अवस्थामा प्रतिवादी मनोरथ जोशीले गरेको उक्त बयानलाई मात्र प्रतिवादीहरु विरुद्ध आरोपित कसूर स्थापित गर्ने प्रमाण मान्न सकिने अवस्था देखिंदैन । यसरी प्रतिवादीहरु कसूरदार हुन भन्ने कुराको कुनै तथ्ययुक्त सबूद प्रमाण वादी पक्षबाट गुजार्न नसकेको अवस्थामा जाहेरवालीको विवादास्पद कथन र सरजमीनका केही व्यक्तिहरुले देखाएको शंकाको भरमा मात्र प्रतिवादीहरुलाई कसूरदार ठहराउन न्यायोचित नहुनुको साथै फौज्दारी न्यायको सर्वमान्य सिद्धान्तको समेत विपरीत हुन जाने र शंकाको सुविधा प्रतिवादीले पाउने हुँदा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको महाकाली अंचल अदालतको इन्साफ सदर गरेको सु.प.क्षे.अ.को फैसला मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । सो ठहर्नाले श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इतिसम्वत् २०४९ साल बैशाख २४ गते रोज ४ शुभम् ।