निर्णय नं. ४५४५ - लागू औषध (हेरोइन)

निर्णय नं. ४५४५ ने.का.प. २०४९ (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४७ सालको फौ.पु.नं.२४४
फैसला भएको मिति: २०४९।१।२९।२ मा
पुनरावेदक/वादी: प्र.ज. अग्नु साहुतेली समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: भारत मानपुर इम्फाल बस्ने जोफ्रीङ लुई खामसमेत
मुद्दा : लागू औषध (हेरोइन)
(१) शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको सहअभियुक्तको पोलको आधारमा आरोपित कसूर गरेको मान्न नसकिने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादी तर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.लक्ष्मणप्रसाद अर्याल
१. पू.क्षे.अ.को निर्णय उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. काकडभिट्टा गा.पं.वडा नं.८ स्थिति ए.वि.सी.लजमा नशालु पदार्थ सेवन गरी केही व्यक्ति बसेकाछन् भनी सुराक पत्ता लगाई गई हेर्दा उक्त मानिस हेरोइन अं. १५० मिलीग्राम सहित फेला परेकाले मौकामा बरामदी मुचुल्का समेत तयार पारी आवश्यक कारवाहीको लागि पेश गरेका छौं भन्ने समेत अग्नु तेलीसमेतको जाहेरी प्रतिवेदन ।
३. प्रतिवादी मध्येका भेषराज कार्की र नाम थाहा नभएका एकजना मानिसले हामीसंग हेरोइन छ भनी मलाई भनेकाले हेरोइन सेवन तथा इन्जेक्सन लिने गरेको र आफूलाई सेवन गर्ने आवश्यक परेकोले भा.रु. ३००।– (तीनसय) मा खरीद गरी इन्जेक्सनद्वारा हेरोइन सेवन गराएको हुँ । बरामद भएको बाँकी हेरोइन यही हो भन्ने समेत व्यहोराको जोफ्रिङ लुईखामले प्रहरीमा गरेको बयान कागज ।
४. हेरोइन मैले खरीद गरेको नभई भाइ जोफ्रिङ लुईखामले भेषराज कार्कीबाट भा.रु. ३००।– मा खरीद गरिलिएछ । सो हेरोइन भिक्सको बट्टामा पानी हाली पोलीसिरेन्जमा हाली पाखुरा कुइनाको जोडनी नशाबाट हेरोइन सेवन गरी मैले पनि सोहीबमोजिम हेरोइन सेवन गरेको हुँ भन्नेसमेत टोनिक लुईखामले प्रहरीमा गरेको बयान कागज ।
५. बरामद भएको हेरोइन गोविन्द कार्कीले भारततर्फबाट ल्याई दिएकाले मैले जोफ्रिङ लुइखामलाई भा.रु. ३००।– मा बिक्री गरी दिएबाट सो बिक्री गरी दिए बापत भा.रु. २०।– कमिशन कटाई भा.रु. २८०।– गोविन्द कार्कीलाई दिएको हुँ भन्ने समेत व्यहोराको प्र.भेषराज कार्कीले प्रहरीमा गरेको बयान कागज ।
६. मिति २०४५।२।२७ मा प्रहरीले प्रतिवादीहरुलाई ए.वि.सी. लजमा हेरोइन सेवन गरी बसेको अवस्थामा फेला पारी हेरोइन बरामद भएको ठिक हो भन्ने समेत सरजमीन मुचुल्का ।
७. प्र.जोफ्रिङ लूइखाम र टोनिक लुइखामलाई खरीद र सेवन गरे बापत र भेषराज कार्की र गोविन्द कार्कीलाई बिक्री वितरण र पैठारी गरेतर्फ समेत लागू (पदार्थ) औषध नियन्त्रण ऐन, ०३३ को दफा ४ र १४ को (१)(ग) अनुसार हदैसम्म सजायँ होस भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
८. बरामद भई आएको हेरोइन भाइ जोफ्रिङले कहाँबाट खरीद गरी ल्याए मलाई थाहा छ्रैन भिक्सको बट्टामा पानी हाली हेरोइन घोली पहिला जोफ्रिङले इन्जेक्सन दिई त्यसपछि मैले एक इन्जेक्सन दिएको हुँ । औषधिका रुपमा हप्तामा एकपटक दिने गरेको छु । खरीद बिक्री गर्न र सेवन गर्ने गरेको छुइन प्रहरीमा गरेको कागज खुशीराजीसंग गरेको हुँ भन्ने समेत व्यहोराको प्र.टोनिक लुइखामले अदालतमा गरेको बयान ।
९. हेरोइन मैले बिक्री गरेको नभई गोविन्द कार्कीले भा.रु. ३००।– मा बिक्री गरी प्र.जोफ्रिङ र टोनिकले पानीमा हेरोइन घोली दुवै हातमा दुवैजनाले आलोपालो गरी सुई हानेको मैले देखेको हुँ । प्रहरीमा गरेको कागज राजीखुशीबाट गरेको नभई कुटपिट गरेबाट पढी बाँची नसुनाई सहीछापसम्म गरेको हुँ भन्ने समेत व्यहोराको प्र.भेषराज कार्कीको बयान ।
१०. प्र.मध्येको गोविन्द कार्कीले ०४५।३।३० मा तामेल भएको ७० दिने म्यादपुर्जीमा उपस्थित नभई गुजारी बसेको ।
११. प्रतिवादी मध्येको भेषराज कार्कीले सफाई पाउने र प्र.मध्येको जोफ्रिङ र टोनिकले लागू औषधि नियन्त्रण ऐन, २०३३ को दफा ४(छ) बमोजिम अपराध गरेकोले निजहरुलाई ऐ.ऐनको दफा १४(१)(छ) अनुसार जनही महीना चारका दरले कैद र रु. २०००।– का दरले जरिवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको मेची अं.अ.इलामको २०४५।७।२१ को फैसला ।
१२. अञ्चल अदालतको फैसलामा चित्त बुझेन प्रतिवादी मध्येका प्र.गोविन्द कार्कीको हकमा रीतपूर्वकको वारेन्ट जारी गरी त्यसमा भएको प्रकृया अनुरुप हुन र अन्य प्र.हरुको हकमा प्रहरी प्रतिवेदन माग अनुसार सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१३. प्रतिवादी मध्येको गोविन्द कार्कीको सम्बन्धमा कानुन बमोजिम निर्णय गरी पठाउनु भनी प्रस्तुत पुनरावेदनको लगत कायमै राखी मिसिल मेची अं.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको पू.क्षे.अ.बाट भएको आदेश ।
१४. गोविन्द कार्कीको हकमा प्रस्तुत मुद्दा अ.बं. १९० नं.बमोजिम मुलतवी राखी दिनु भन्ने समेत व्यहोराको मेची अं.अ.को आदेश ।
१५. प्र.गोविन्द कार्कीको हकमा अ.बं. १९० नं.बमोजिम मुलतवी रहेको देखिँदा निजको सम्बन्धमा विचार गरी रहनु परेन । अन्य प्र.मध्येका भेषराज कार्कीले अवैध लागू औषध हिरोइन बिक्री गरेको भन्ने शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको । प्रहरीका साविती र सहअभियुक्तको पोलसम्मको आधारबाट आरोपित कसूर गरेको मान्न सकिने अवस्था नभएको र प्र जोफ्रिङ लुइखाम र टोनिक लइखाम लागू औषध सेवन गर्ने गरेकोमा अदालतमा समेत साविती भएको देखिँदा प्र.भेषराज कार्कीलाई सफाई दिएको र जोफ्रिङ र टोनिलाई लागू औषधि नियन्त्रण ऐन, ०३३ को दफा ४(६) बमोजिम अपराध गरेको ठहराई ऐ.ऐनको दफा १४(१)(घ) बमोजिम सजायँ गर्ने गरेको मेची अं.अ.को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेतको पू.क्षे.अ.को फैसला ।
१६. पू.क्षे.अ.को फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग अनुसार सजायँ होस भन्ने समेत श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा श्री ५ को सरकारको तर्फबाट रहनुभएका विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले प्रतिवादीहरु जोफ्रिङ लुइखाम र टोनिक लुइखामले प्रहरी तथा अदालतमा बयान गर्दा आफूबाट बरामद भएको हिरोइन खरीद गरी सेवन गर्न राखेको भनी स्वीकारेका छन् भने प्र.जोफ्रिङले प्र.भेषराज र नाम नजानेका एक जनाबाट खरीद गरेको भनी दुई जनालाई स्पष्ट रुपमा देखाएका छन् । यस्तोमा प्र.भेषराजलाई पूर्ण रुपमा सफाई दिने गरेको र प्र.हरु जोफ्रिङ टोनिकलाई सेवन गरेतर्फ मात्र सजायँ गरेको पू.क्षे.अ.को इन्साफ नमिलेकोले प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरी पाउँ भनी गर्नुभएको बहस समेत सुनियो ।
१८. अब यसमा पू.क्षे.अ ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।
१९. निर्णयतर्फ विचार गर्दा यसमा प्र.गोविन्द कार्कीको हकमा अ.बं. १९० नं.बमोजिम मुलतवी रहेको देखिँदा निजको सम्बन्धमा विचार गरी रहनु परेन । अन्य प्रतिवादीमध्ये भेषराज कार्कीको हकमा हेर्दा निजले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा उक्त हेरोइन जोफ्रिङ लुइखामलाई बिक्री गरे बापत गोविन्द कार्कीबाट रु. २०।– कमिशन मात्र लिएको भने तापनि अदालतमा आई जोफ्रिङ र टोनिकले हिरोइनमा पानी हाली इन्जेक्सन लगाउँदा मैले हेरी रहेको अवस्थामा प्रहरीहरु आएको र बिक्री गर्ने गोविन्द कार्की भागी गएकोले मेरो नाम समेत भनेका हुन भनी इन्कारी बयान दिएको पाइन्छ । साथै प्र.हरु जोफ्रिङ र टोनिक लुइखामले अधिकार प्राप्त अधिकारी समक्ष भेषराज समेतबाट उक्त हेरोइन खरीद गरेको भने तापनि अदालतमा बयान गर्दा निज भेषराज कार्कीको नामसम्म पनि उल्लेख नगरेको यस स्थितिमा निज भेषराज कार्कीले नै जोफ्रिङ समेतलाई लागू औषध हेरोइन बिक्री गरेको भन्ने कुरा शंकारहित तवरबाट पुष्टि हुन आएको देखिएन । अन्य प्र. हरु जोफ्रिङ लुइखाम र टोनिक लुइखामको हकमा निजहरुले आफू बसेको ए.वि.सी. लज र हेरोइन पानीमा मिसाई इन्जेक्सन लिएको भनी अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत एकै मिलानको बयान गरेकोबाट जाहेरवालाको अदालत समक्ष भएको बकपत्रको पुष्टि हुन आएको देखिन्छ । साथै निजहरु लागू औषधको दुव्र्यसनी भएको कुरा सो को उपचार गरी प्राप्त गरेको मिसिल संलग्न पत्रबाट समेत पुष्टि हुन आएको यस स्थितिमा प्रतिवादी जोफ्रिङ लुइखाम तथा टोनिक लुइखामले प्रहरी प्रतिवेदन माग दावी बमोजिम लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(६) बमोजिम अपराध गरेको देखिन आउँछ । अतः प्र.भेषराज कार्कीले अवैध लागू औषध हेरोइन बिक्री गरेको भन्ने शंकारहित स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नआएको सहअभियुक्तको पोलको आधारमा आरोपित कसूर गरेको मान्न सकिने अवस्था नभएकोले निज प्र.भेषराज कार्कीलाई सफाई दिने गरेको र प्र.जोफ्रिङ लुइखाम र टोनिक लुइखाम लागू औषध सेवन गर्ने गरेकोमा अदालत समेतमा सावित भएको देखिँदा निजहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(६) बमोजिम अपराध गरेको ठहर्याई ऐ. ऐनको दफा १४(१) (घ) बमोजिम सजायँ गर्ने गरेको मेची अंचल अदालतको फैसला सदर गर्ने गरेको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४९ साल बैशाख २९ गते रोज २ शुभम् ।