निर्णय नं. ४५४६ - उत्प्रेषण

निर्णय नं. ४५४६ ने.का.प. २०४९ (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
२०४५ सालको रिट नं.८८७
आदेश भएको मिति: २०४८।१२।३०।१ मा
निवेदक : हेटौंडा औद्योगिक क्षेत्रस्थित नेपाल सिन्थेटिक इण्डष्ट्रिज का तर्फबाट ऐ.को अधिकार प्राप्त महाप्रबन्धक शिलबहादुर बज्राचार्य
विरुद्ध
विपक्षी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय, श्री महानिर्देशक श्रम विभागसमेत
विषय : उत्प्रेषण
(१) नसियत दिन पाउने अधिकार निवेदकलाई भएको निवेदकले आफ्नो कार्यमा कर्मचारीको सुधारको लागि नसियत दिने लगायतका अधिकार प्रयोग गरेकोमा स्पष्ट रुपमा कानुनको उल्लंघन भएको अवस्थामा बाहेक करारका कर्मचारीसंग माग गरिएको स्पष्टीकरण बदर गर्ने गरेको कानुनसंगत नहुँदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगाना
विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
आदेश
न्या.लक्ष्मणप्रसाद अर्याल
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. विपक्षी नं.२ लाई यस उद्योगमा ज्यालादारीको रुपमा काम गर्ने गरी करारमा २०४०।५।२६ देखि काममा लगाइएकोमा केही समयपछि अनुशानहिन काम गरेकोले प्रथम पटक ०४२।२।२२ मा नसिहत दिइएको थियो । विपक्षीको रातको डिउटी हुँदा दिउँसो अनुमति बेगर कारखानामा प्रवेश गरी कामदारलाई विथोली काममा बाधा पुर्याएकोले स्पष्टीकरण माग गरिएकोमा सन्तोषजनक नभएकोले नसिहत दिइएको थियो । विपक्षीले नसिहत र बर्खास्तीको विरुद्ध निजले ना.अं. श्रम कार्यालय समक्ष दिनु भएको उजूरीमा कार्यालयको निर्णय सदर गरिएकोमा विपक्षीको श्रम विभागमा पुनरावेदन गर्दा उद्योग र श्रम कार्यालयको निर्णय बदर गरी मिति २०४४।५।४ मा निर्णय गरिएछ सो को जानकारी २०४४।५।१२ मा दिइयो ।
३. विपक्षी नं.२ लाई नसिहत र बर्खास्त दिएकोमा निजले कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, ०१६ को दफा ५१(३) अन्तर्गत भनी श्रम कार्यालय र श्रम विभागमा उजूरी र पुनरावेदन दिनु भएको रहेछ । विपक्षी कारखानाका स्थायी कर्मचारी नभएकोले काम गर्दा मात्र ज्याला पाउने हुनाले निजको हकमा सो ऐन लाग्ने होइन । करारको कर्मचारी भन्ने प्रतिवाद उद्योगको भएपछि करार वा स्थायी के हो निर्णय गरी स्थायी भएमा मात्र विपक्षी विभागले पुनरावेदन हेर्नु पर्नेमा सो नगरी अ.बं. १८४क. को त्रुटि गरी निर्णय गरेको छ । विपक्षी समसूल अलीलाई ०४२।२।२२ र ०४२।२।२७ मा नसिहत दिई ०४२।३।४ को पत्रबाट बर्खास्त गरे उपरको पुनरावेदनमा श्रम विभागले उक्त मितिको बर्खास्ती बदर गरेको छ र ०४२।२।२७ को नसिहत कायमै छ ।
४. विपक्षी समसूल मियालाई नसिहत दिइसकेपछि २०४२।३।३ मा आफ्नो काममा उपस्थित नभई बाहिर गएकाले मिति २०४२।३।४ को पत्रबाट बर्खास्त गरिएकोलाई श्रम विभागले विपक्षी समसूल अनुपस्थित रहेको तथ्ययुक्त देखियो तर प्राकृतिक न्याय सिद्धान्त विपरीत सफाईको मौका नदिई सेवाबाट बर्खास्त गरेको कानुन अनुरुप नहुँदा भनी गरेको निर्णयमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(१) विपरीत छ । विपक्षीलाई नसिहत दिएको कायमै रहेको भन्ने र ०४२।३।३।३ मा छड्केमा परेको कुरामा विवाद नभएको र करारमा काम गर्ने कर्मचारीलाई उक्त ऐन लाग्न सक्ने अवस्था छैन । नियुक्ति गर्नेले बर्खास्त पनि गर्न सक्ने हुँदा उद्योगको हकमा आघात परेकोले नेपालको संविधान, २०१९ को धारा ७१ को आधारमा निवेदन गरेको छु । श्रम विभागको ०४४।५।११ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिटनिवेदन जिकिर ।
५. यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो । विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
६. म नेपाल सिन्थेटिक इण्डष्ट्रिज प्रा.लि. मा २०४०।५।२६ देखि विवर पदमा नियुक्ति भई इमान्दारी पूर्वक काम गरी रहेकोमा चल्ती लामुमा हातको औंला परी चोट लागेकोले अस्पतालमा उपचार गरी उपचार खर्च एवं हर्जाना माग गरेकोले विपक्षी इण्डष्ट्रिको बक्र दृष्टि रही आएको थियो । शीप र श्रम खर्च गरी गुजारा चलाउनु पर्ने मजदूर सम्बन्धी ऐन, ०१६ को दफा ५१(२) को उपदफा (घ)(छ) को कसूरमा ऐ.ऐनको दफा ५१(१) अनुसार ०४२।३।४ कारखानाबाट बर्खास्त गरिएको सूचना दिएकोले म मजदूर भन्ने कुरा प्रष्ट छ । ०४२।२।२२ मा प्रथम पटक नसिहत दिइएको छ जसमा मैले कुनै लापरवाही कार्य गरेको छैन । जुन कुरामा स्पष्टीकरण माग गरिन्छ । सोही कुरामा मात्र सजायँ गर्नु पर्नेमा सो बमोजिम नगरी मलाई अवकास दिएको गैरकानुनी छ । ०४२।२।२२ मा लगाइएको आरोप र २०४२।२।२७ मा लगाइएको अभियोग फरक फरक छ । ०४२।३।३ मा आफ्नो काममा उपस्थित नभई बाहिर गएकोले भनी २०४२।३।४ मा प्राकृतिक न्याय सिद्धान्त विपरीत प्रतिवाद गर्ने मौका नदिई अवकास दिने गरी भएको निर्णय उपर श्रम विभागमा पुनरावेदन गरी अवकास दिएको निर्णय बदर गरी मलाई हाजिर गराउनु भन्ने ०४४।५।४ को निर्णय कानुन बमोजिम हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समसुल अलीको लिखितजवाफ ।
७. आफूले काम गर्ने कारखाना भित्र डिउटी समय नहुँदा पस्दैमा कारखानाको काममा बाधा पुगेको कुरा प्रमाणित नभएसम्म मान्न नसकिने हुँदा मिति ०४२।२।२२ मा श्री अलिलाई दिएको नसिहत बदर गरेको यस विभागको ०४४।५।११ को निर्णय कानुनसंगत हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने श्रम विभागको लिखितजवाफ ।
८. रिट निवेदकले तारेख गुजारी बसेको र थाम्ने थमाउने म्याद समेत बाँकी नदेखिँदा तामेलीमा राखिदिनु भन्ने यस अदालत संयुक्तइजलासको आदेश भएकोमा हु.प्र.बाट गुज्रेको तारेख थमाई ल्याएकोले तामेलीबाट जगाई दायरीमा दर्ता गरी पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको फाइल अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले विपक्षी समसूल अली करार सेवाको ज्यालादारीमा काम गर्ने कर्मचारी भएकोले जति प्लाष्टिक बुन्यो त्यति ज्याला पाउने हुँदा करारको कर्मचारी होइनन् र स्थायी हुन भन्ने लिखितजवाफ छैन । ज्यालादारी कर्मचारीलाई कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ लागू हुन सक्दैन । एकपटक नसिहत पाउनेलाई नोकरीबाट अवकास दिंदा सूचना दिनु नपर्ने ऐनको व्यवस्था भएकोले सूचना नदिएको हो सो हुनाले रिटनिवेदन जारी हुनुपर्छ भन्ने र विपक्षी श्रम विभागका तर्फबाट का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले खराब आचरण भए गरेको हो होइन भन्ने कुरामा स्पष्टीकरण लिनै पर्छ । जुन कुरामा नसिहत दिइएको हो सो कुरामा मात्र हटाउनु पर्छ । श्रम विभागबाट गरिएको निर्णय कानुनसंगत हुँदा प्रस्तुत रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१०. निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने नपर्ने के हो सो को निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा निर्णयतर्फ विचार गर्दा ०४४।५।११ को श्रम विभागको ०४२।२।२२ को नसियत दिने निर्णय र सो लाई सदर गर्ने गरेको ०४२।१२।२२ को श्रम कार्यालय नारायणीको निर्णय बदर गर्ने गरेको रि.नं.८८६ को रिट आदेशमा उल्लेख गरेका कारणहरु र नसिहत दिन पाउने अधिकार निवेदकलाई भएको निवेदक नेपाल सिन्थेटिक इण्डष्ट्रि प्रा.लि. ले आफ्नो कार्यमा कर्मचारीको सुधारको लागि नसियत दिने लगायतका अधिकार प्रयोग गरेकोमा स्पष्ट रुपमा कानुनको उल्लंघन भएको अवस्थामा बाहेक करारका कर्मचारीसंग माग गरिएको स्पष्टीकरण बदर गर्ने गरेको कानुनसंगत नहुँदा ०४४।५।११ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विपक्षीको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत दिनु । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४८ साल चैत्र ३० गते रोज १ शुभम् ।