निर्णय नं. ८५७७ - ट्रेडमार्क दर्ता

निर्णय नं. ८५७७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
संवत् २०६४ सालको दे.पु.नं... १०७४
फैसला मितिः २०६७।११।२।२
मुद्दा :– ट्रेडमार्क दर्ता ।
पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला, मुकुन्दपुर गा.वि.स. वडा नं. ९ वेल्डिया स्थित सुमी डिष्टिलरी प्रा.लि. र ऐ. का सञ्चालक समितिका तर्फबाट अख्तियारप्राप्त कर्मा घले
विरुद्ध
विपक्षी वादीः नेदरल्याण्ड स्थित Guinness United Distillers Vintners Amsterdan Bv (हाल Diageo Bronds SBV कायम गरिएको) को तर्फबाट अधिकारप्राप्त व्यक्ति ललितपुर जिल्ला ललितपुर उ.म.न.पा. वडा नं. १३ वस्ने अञ्जू उप्रेती ढकाल
§ उद्योगमा पेटेन्ट डिजाइन र ट्रेडमार्क महत्वपूर्ण हुन्छ । अर्थतन्त्र जतिसुकै Liberal र सरकारको भूमिका केवल License प्रदान गर्ने कार्य Licensing regime मा सीमित रहने भए पनि पेटेन्ट, डिजाइन र ट्रेडमार्क जस्ता Industrial Property मा उद्योगको एकाधिकार हुने ।
§ खुला अर्थतन्त्र भएको देशमा सरकारले नै कुनै मालमा एक उद्योगीको मात्र एकधिकार हुन नदिन राज्यले नै प्रतिस्पर्धाको लागि Encourage गर्दछ । त्यही अनुकूल कानून पनि बनेको हुन्छ । तर, त्यस्तो अवस्थामा पनि कुनै उत्पादन तथा सेवामा प्रयोग हुने Patent, Design र Trade Mark को विकास र प्रयोग गर्नेको लागि कुनै उद्यमी तथा व्यवसायीले गरेको उत्पादित वस्तु वा सेवाको उपभोग गर्ने उपभोक्ताको हित रक्षाको लागि समेत यस्तो Patent, Design र Trade Mark को रक्षा गर्नु कुनै पनि राज्यको सार्वजनिक कर्तव्यको रुपमा लिइन्छ । कुनै व्यक्तिको आर्जन गरेको अन्य सम्पत्तिसरह यस्ता बौद्धिक सम्पत्तिको रक्षा गर्नु राज्यको प्रमुख दायित्व हुने ।
(प्रकरण नं.७)
§ पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को कानूनी व्यवस्थाअनुसार ट्रेडमार्क संरक्षणको लागि नेपालमा उद्योग विभागमा दर्ता गर्नुपर्ने र दर्तापश्चात्को संरक्षण, खारेजीको कारवाही समेतको व्यवस्थाले दर्ता भैसकेका ट्रेडमार्कले अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पुग्ने देखेमा विभागले दर्ता बदर समेत गर्न सक्ने ।
(प्रकरण नं.९)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा र श्री हीरा रेग्मी
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री तीलकविक्रम पाण्डे, श्री शिवप्रसाद रिजाल र श्री अञ्जू उप्रेती ढकाल
अवलम्बत नजीरः
सम्बद्ध कानूनः
§ नेपाल सन्धि ऐन, २०४७
§ नेपाल पेटेन्ट डिजाइन तथा ट्र्ेडमार्क सम्बन्धी ऐन, २०२२ को दफा ३, १२ र १६
फैसला
न्या.बलराम के.सी.: न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको फैसलामा चित्त नवुझी यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः
यसमा Netherlands स्थित Guinness United Distillers Vintners Amsterdan B.V. ले आफ्नो उत्पादनमा लगाई आएको GORDON’S नामक ट्रेडमार्क अन्तराष्ट्रिय वर्ग ३३ अन्तर्गतका वस्तुमा प्रयोग गर्ने गरी नेपालमा पनि दर्ता गर्न भनी आवश्यक कागजातसहितको अधिकारनामा हामीलाई प्राप्त हुन आएकोले उक्त ट्रेडमार्क दर्ताको लागि अनुरोध गरिन्छ भनी लयर्स एण्ड लयर्स प्रा.लि.ले मिति ०६०।९।१४ मा निवेदन दिएकोमा सुमी डिष्टिलरीको नाममा CORDON दर्ता भैसकेको भन्ने उद्योग विभागबाट निवेदकलाई जानकारी गराइएकोमा निवेदकको नेपालस्थित प्रतिनिधि परिवर्तन भै पायोनियर ल एसोसिएटस् तोकिएको र उक्त एसोसिएट्सले उल्लिखित GORDON’S नामक ट्रेडमार्क दर्ता गरी पाउन विस्तृत विवरणको कागजात सहित पुनः मिति ०६१।८।९ मा उद्योग विभागमा दिएको निवेदन ।
प्रचलित पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(ख) अनुसार विदेशमा दर्ता गरिएको ट्रेडमार्क सम्बन्धित व्यक्तिले नेपालमा दर्ता नगराई त्यस्तो ट्रेडमार्कमा निजको नेपालमा हक कायम हुन नसक्ने अवस्थामा निवेदकको निवेदन दर्ता हुनु अगावै नेपाली उद्योग सुमी डिष्टीलरी प्रा. लि. को नाममा CORDON दर्ता भैसकेको अवस्थामा निवेदनको मागअनुसार GORDON’S सोही वर्गमा दर्ता गरीदिंदा सर्वसाधारण उपभोक्ताहरूमा भ्रम पर्न सक्ने देखिएको र पहिला दर्ता भइसकेको ट्रेडमार्कसँग मिल्दोजुल्दो समेत देखिन आएकोले निवेदन मागअनुसार GORDON’S ट्रेडमार्कको दर्ता गरिपाऊँ भन्ने दावी प्रचलित पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को कानूनी प्रावधानअनुसार पुग्न नसक्ने ठहर्छ भन्ने शुरु उद्योग विभागको मिति ०६१।८।२३ को निर्णय
उद्योग विभागको निर्णय पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६, दफा १८ र दफा २१ग साथै सन्धि ऐन, २०४७ को दफा ९ तथा पेरिस महासन्धिको धारा २, धारा ६ नेपालले अनुमोदन गरेको विश्व व्यापारसम्बन्धी प्रोटोकल समेतको विपरीत भएको हुँदा उद्योग विभागको उक्त ०६१।८।२३ को निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ उक्त निर्णय बदर गरी म पुनरावेदकको पुनरावेदन जिकीरअनुसार इन्साफ पाऊँ भन्ने व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा सुमी डिष्टीलरी (प्रा.)लि. को दर्ता खारेज गरिपाऊँ भनी पुनरावेदकहरूबाट उजूर परी कारवाही चलिरहेकोमा यस मुद्दाको निर्णय भएपछि मात्र निर्णय गर्ने भनी मिति ०६१।१२।९ को उजूरी तामेलीमा राख्ने गरी मिति ०६१।१२।२३ मा निर्णय भएको पाइन्छ । यथार्थमा सो उजूरी र प्रस्तुत मुद्दा एकै पटक हेरी निर्णय हुनुपर्ने देखिन्छ । त्यो उजूरीअनुसार नै दर्ता खारेज भएमा पुनरावेदकको मागबमोजिम दर्ता हुन सक्ने अवस्था आउँछ ।
यसका साथै उद्योग विभागको मिति ०६१।८।२३ को निर्णय हेर्दा पनि निर्णयकर्ता आफैले न्यायिक विवेचना गरी निष्कर्षमा पुगेको नभै कानून अधिकृतको रायबमोजिम दर्ता गर्न नमिल्ने भनी निर्णय गरेको पाइएकोले उपरोक्त दुवै आधारबाट कानून अधिकृतको राय सदर गर्ने गरेको उद्योग विभागको मिति ०६१।८।२३ को निर्णय कानूनतः मिलेको नदेखिएकोले सो निर्णय बदर गरिदिएको छ । अब दुवै पक्ष विपक्ष राखी पुनरावेदकले दिएको उजूरी र प्रस्तुत उद्योग दर्ता गरिपाऊँ भन्ने निवेदन समेत एकैसाथ राखी जो जे वुझ्नुपर्छ वुझी कानूनबमोजिम निर्णय गर्नु भनी मिसिल समेत शुरु उद्योग विभागमा पठाई दिने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको फैसला ।
यस सुमी डिष्टिलरी प्रा.लि. ले पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ ले निर्धारण गरेको प्रक्रियाअनुसार CORDON नामको ट्रेडमार्क आफ्नो नाममा दर्ता गरी सो ट्रेडमार्क प्रयोग गरी आफ्नो सामानको बिक्री वितरण सञ्चालन गर्दै आएकोमा विपक्षीका नेपाल पूर्व प्रतिनिधि लयर्स एण्ड लयर्स प्रा.लि. ले दिएको निवेदनमा GORDON’S नामक ट्रेडमार्क दर्ता गर्न नमिल्ने भनी उद्योग विभागले निर्णय गरिसकेको अवस्थामा विपक्षीले पुनः आफ्नो नेपालस्थित प्रतिनिधि परिवर्तन गरी पायोनियर ल एसोसिएटसमार्फत् GORDON’S ट्रेडमार्क दर्ता गराउन निवेदन दिई कार्वाही हुँदा दर्ता भै सकेको ट्रेडमार्कसँग मिल्दो जुल्दो भएकोले ट्रेडमार्कसम्बन्धी सिद्धान्त, प्रचलन एर्व सर्वसाधारणमा भ्रम नपरोस भन्ने मान्यताका आधारमा निवेदन मागअनुसारको GORDON’S नामक ट्रेडमार्क दर्ता गर्न नमिल्ने भनी उद्योग विभागबाट निर्णय भएको हो । विभागको उक्त निर्णयउपर चित्त नवुझी विपक्षीले पुनरावेदन गरिसकेपछि हाम्रो नाममा दर्ता भएको CORDON नामक ट्रेडमार्क बदर गरिपाऊँ भनी विपक्षीले उजूरी निवेदन दिएको अवस्था भएकोले पुनरावेदन अदालतबाट निर्णय भै आएपछि कार्वाही गर्ने गरी पछि दिएको निवेदन मुल्तवीमा राख्ने निर्णय भएको हो ।
यसरी हेर्दा एउटा निवेदनको निर्णय नहुंदै अर्को निवेदन परेको अवस्था होइन । एउटा निवेदनमा दिएको निर्णयउपर पुनरावेदन दिने म्याद समाप्त भै सकेपछि विपक्षीले आफ्नो प्रतिनिधि परिवर्तन गरी पुनः ट्रेडमार्क दर्ताका लागि निवेदन दिएको र मागअनुसारको ट्रेडमार्क दर्ता नहुने निर्णय भई सोउपर पुनरावेदन दिई सकेको अवस्थामा हाम्रो नामको ट्रेडमार्क बदर गराई पाउन उद्योग विभागमा निवेदन दिएको देखिन्छ । अर्धन्यायिक निकायले कानूनी रायलाई आधार लिन सक्ने कुरालाई अन्यथा मान्न मिल्दैन । विपक्षीले माग गरेको ट्रेडमार्क हाम्रो नाममा दर्ता भैसकेको ट्रेडमार्कसँग मिल्दो जुल्दो भएकोले नै ट्रेडमार्कसम्बन्धी ऐन सिद्धान्त र मान्यताअनुसार नै विपक्षीको मागअनुसारको ट्रेडमार्क दर्ता नहुने गरी उद्योग विभागबाट निर्णय भएको हो । तसर्थ उल्लिखित आधार वुँदाहरू तर्फ ख्यालै नगरी, ट्रेडमार्क सम्बन्धी कानून, मान्यता, प्रचलन, र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुनेगरी आफैले प्रमाण बुझी फैसला गर्न सक्ने अवस्था हुँदाहुँदै सँगै राखी हेर्न नमिल्ने दुईथरी निवेदनलाई सँगैराखी एकैसाथ हेर्नु भनी उद्योग विभागमा पठाउने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला कानूनको प्रतिकूल हुँदा सो फैसला बदर गरी उद्योग विभागको निर्णय सदर राखी पाऊँ भन्ने समेतको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा ट्रेडमार्क GORDON’S दर्ता गर्न नमिल्ने भनी उद्योग विभागबाट २०६१।४।२५ मा निर्णय भै सकेको र त्यसउपर पुनरावेदन पनि नपरेको अवस्थामा पुनः अर्कै प्रतिनिधि अधिवक्ताको निवेदन परेकोमा दर्ता गर्न नमिल्ने भनी ०६१।८।२३ मा निर्णय भई त्यसउपर ०६१।१०।२२ मा पुनरावेदन परी सकेपछि ट्रेडमार्क खारेज गरिपाऊँ भन्ने निवेदन ०६१।१२।९ मा परेको देखिएकोले उक्त दुवै निवेदनमा निर्णय गर्नुपर्ने भन्ने आधारमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला कानूनी त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिएकोले विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेतको यस अदालत संयुक्त इजलासको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय अनिलकुमार सिन्हा र हीरा रेग्मीले अर्कै फर्ममार्फत् ट्रेडमार्क दर्ताको सम्बन्धमा चालिएको अघिल्लो कारवाहीमा इन्कार भए पछि सोमा चित्त बुझाइ सोउपर कुनै कानूनी मार्ग अवलम्बन नगरी अर्को फर्म फेरेर पहिलाको व्यहोरा नदर्साइ पुनः निवेदन दिएकोमा सो समेत इन्कार हुनेगरी निर्णय भएपछि परेको निवेदनको आधारमा सँगै निर्णय गर्ने भनी फिर्ता पठाउने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ, न्याय प्रशासन ऐन, २०४८ बमोजिम केही बुझ्न आवश्यक भए सो समेत बुझी आफै निर्णय गर्न सक्षम अदालतले फिर्ता पठाएको मिलेको छैन भन्ने समेत बहस गर्नुभयो भने प्रत्यथी तर्फबाट उपस्थित विद्वान अधिवक्तात्रय तीलकविक्रम पाण्डे, शिवप्रसाद रिजाल र अञ्जू उप्रेती ढकालले संक्षिप्त कार्यविधि अन्तर्गतको मुद्दामा पुनरावेदनको म्याद नघाइ दायर भएको पुनरावेदन खारेजभागी छ, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनको दफा १८ ले दर्ता बदरको लागि जहिलेसुकै निवेदन दिन सकिन्छ, , यो धेरै पहिले दर्ता भएको ट्रेडमार्क हो, जुन Well-known मार्कको रुपमा नेपालको बजारमा पनि धेरै पहिलेदेखि स्थापित छ, पेरिस कन्भेन्सनको पक्ष बनिसकेको नेपालले सन्धि ऐनको प्रावधानबमोजिम Well-known मार्कलाई संरक्षण गर्न बाध्य छ, पुनरावेदन अदालतको निर्णय सदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदन पत्र सहितका मिसिल कागजातहरूको अध्ययन गरी विद्वान अधिवक्ताहरूको उल्लिखित बहस बुँदा समेत मनन गरी इन्साफतर्फ विचार गर्दा उद्योग विभागको मिति २०६१।८।२३ को निर्णय बदर गरी पुनः निर्णय गर्न पठाएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन अर्थात् प्रतिवादीको पुनरावेदन जिकीर पुग्छ पुग्दैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
यसमा Netherlands स्थित Guinness United Distillers Vintners Amsterdan B.V. ले आफ्नो उत्पादनमा प्रयोग गर्दै आएको GORDON’S नामक ट्रेडमार्क अन्तराष्ट्रिय वर्ग ३३ अन्तर्गतका वस्तुमा प्रयोग गर्नेगरी नेपालमा पनि दर्ता गर्न भनी आवश्यक कागजात सहितको अधिकारनामा हामीलाई प्राप्त हुन आएकोले उक्त ट्रेडमाक दर्ताको लागि अनुरोध गरिन्छ भनी पायोनियर ल एसोसिएटसले मिति ०६१।८।९ मा उद्योग विभागमा निवेदन दिंदा प्रचलित पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा २१(ख) अनुसार विदेशमा दर्ता गरिएको ट्रेडमार्क सम्बन्धित व्यक्तिले नेपालमा दर्ता नगराई निजको नेपालमा हक कायम हुन नसक्ने अवस्थामा निवेदकको निवेदन दर्ता हुनु अगावै नेपाली उद्योग सुमी डिष्टीलरी प्रा.लि. को नाममा CORDON दर्ता भै सकेको अवस्थामा निवेदनको मागअनुसार GORDON’S सोही वर्गमा दर्ता गरीदिंदा सर्वसाधारण उपभोक्ताहरूमा भ्रम पर्न सक्ने देखिएको र पहिला दर्ता भइसकेको ट्रेडमार्कसँग मिल्दोजुल्दो समेत देखिन आएकोले निवेदन मागअनुसार GORDON’S ट्रेडमार्कको दर्ता गरिपाऊँ भन्ने दावी प्रचलित पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ को कानूनी प्रावधानअनुसार पुग्न नसक्ने ठहर्छ भनी उद्योग विभागबाट मिति ०६१।८।२३ को निर्णय भएकोमा पुनरावेदन अदालतमा पुनरावेदन पर्दा कानून अधिकृतको राय सदर गरेको मिलेन, त्यसै गरी सुमी डिष्टीलरी (प्रा.)लि. को दर्ता खारेज गरिपाऊँ भनी पुनरावेदकहरूबाट उजूर परी कारवाही चलि रहेकोमा यस मुद्दाको निर्णय भएपछि मात्र निर्णय गर्ने भनी मिति ०६१।१२।९ को उजूरी तामेलीमा राख्ने गरी उद्योग विभागबाट मिति ०६१।१२।२३ मा निर्णय भएकोमा सो उजूरी र प्रस्तुत मुद्दा एकै पटक हेरी निर्णय हुनपर्ने देखिन्छ । त्यो उजूरीअनुसार नै दर्ता खारेज भएमा पुनरावेदकको मागबमोजिम दर्ता हुन सक्ने अवस्था आउने हुँदा ०६१।८।२३ को निर्णय बदर गरी दुवै पक्ष विपक्ष राखी पुनरावेदकले दिएको उजूरी र प्रस्तुत उद्योग दर्ता गरिपाऊँ भन्ने निवेदन समेत एकै साथ राखी जो जे वुझ्नुपर्छ वुझी कानूनबमोजिम निर्णय गर्नु भनी उद्योग विभागमा पठाउने गरी पुनरावेदन अदालतबाट भएको मिति २०६३।५।१३ को फैसलाउपर सुमी डिष्टिलरीको तर्फबाट प्रस्तुत पुनरावेदन परेको देखियो ।
२. यसपूर्व पनि प्रस्तुत ट्रेडमार्क दर्ताको लागि लयर्स एण्ड लयर्स प्रा.लि.ले मिति ०६०।९।१४ मा निवेदन दिएकोमा सुमी डिष्टिलरीको नाममा CORDON दर्ता भै सकेकोले दर्ता गर्न मिलेन भनी उद्योग विभागबाट मिति ०६०।९।१४ मा भएको निर्णयउपर कुनै पुनरावेदन परेको देखिँदैन । दोस्रो पटक कम्पनीको तर्फबाट पायोनियर ल एसोसिएटसले मिति २०६१।८।९ मा उद्योग विभागमा ट्रेडमार्क दर्ताको लागि निवेदन दिएको देखिन्छ । पुनरावेदन अदालतले निर्णय गर्दा मुख्य गरेर सुमी डिस्टिलरीले दर्ता गरेको टेड्रमार्क खारेज गरिपाऊँ भनी यी वादीले दायर गरेको निवेदन उद्योग विभागले मिति २०६१।१२।२३ मा तामेली राखेकोमा उक्त निवेदन र प्रस्तुत ट्रेडमार्क दर्ता मुद्दाको टुंगो सँगै लगाउनु पर्ने भनी आधार लिएको देखिन्छ ।
३. बौद्धिक सम्पत्ति Intellectual Property एउटा Catchy Word हो । यो राष्ट्रहरूको आ–आफ्नो आन्तरिक कानूनबाट सुरु भएको भएपनि हाल आएर यसले अन्तराष्ट्रिय स्वरुप धारण गरेको छ । Intellectual Property च्ष्नजत लाई अन्तराष्ट्रिय स्वरुप प्रदान गर्नुपर्ने कारण आफ्नो अधिकार संरक्षण गर्न र उल्लंघन भएमा त्यसलाई sanction गर्नको लागि हो । Intellectual Property को मुख्य आधारभूत स्वरुपमाः
§ Patent
§ Trade mark
§ Industrial Design
§ Copy right
§ Trade Secret मानिन्छन् ।
४. १९ औ शताब्दिमा नै राष्ट्रहरू मिली सबैलाई लागू हुने गरी एउटा International Dimension को बहुराष्ट्रिय महासन्धि लागू गर्न अभियान थालिएको कारण 1883 मा Paris Convention for the Protection of Industrial Property जारी भयो त्यसैगरी 1886 मा Berne Convention For the Protection of literary and artistic work जारी भयो । IPRs विभिन्न Convention तथा अन्तर्राष्ट्रिय Treaty को समग्रता
हो । अन्यका अतिरिक्त निम्न महासन्धिलाई मुख्य रुपमा लिन सकिन्छः
§ Rome Convention, 1961
§ Paris Convention, 1967
§ Berne Convention, 1971
§ Treaty on intellectual property in Respect of Integrated circuits, 1981 आदि ।
५. उदार अर्थतन्त्र र सार्वजनिक चासो कहिलेकाही एकसाथ अगाडि नबढ्न सक्छ । आर्थिक उदारीकण WTO का विभिन्न Treaty विशेष गरेर TRIPs Agreement को एक प्रमुख विषेशता हो । सार्वजनिक हितलाई ध्यानमा राखी आर्थिक विकासको लागि जस्तोसुकै कदम चाले पनि WTO अन्तर्गतका विभिन्न Treaty विपरीत हुनुहुन्न ।
६. नेपाल विश्व व्यापार संगठनको सदस्य भै सकेको र यसले Paris Convention को अनुमोदन पनि गरिसकेको छ । नेपालमा ट्रेडमार्क सम्बन्धमा पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ ले आवश्यक कानूनी व्यवस्था गरेको छ । नेपाल पेरिस कन्भेन्सनलाई अनुमोदन गरी पक्ष राष्ट्र बनिसकेको अवस्था छ । त्यसै गरी WTO को पनि सदस्य बनी TRIPs को पूर्ण पालना गर्न नेपाल बाध्य छ । नेपालले बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धमा अन्तर्राष्ट्रिय सन्धि सम्झौता जस्तै Berne Convention, Paris Convention र WTO अन्तर्गतको TRIPs को पक्ष बनिसकेको अवस्थामा नेपाल सन्धि ऐन, २०४७ बमोजिम ती Convention तथा सन्धिका व्यवस्था पालना गर्नु नेपालको कर्तव्य हुन्छ । नेपाल सन्धि ऐन, २०४७ अनुसार यदि सन्धिका व्यवस्था र नेपाल कानून बाझिएमा सन्धिको प्रावधान लागू हुन्छ । नेपालले WTO को सदस्य भएपश्चात् मिति २०६३।८।८ मा निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ मार्फत् पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२को संशोधन गरी औद्योगिक सम्पत्तिलाई अन्तर्राष्ट्रिय संरक्षण प्रदान गर्न प्रतिवद्धता जनाई सकेको छ । यस स्थितिमा ट्रेडमार्क सम्बन्धमा नेपालको कानूनी व्यवस्था अन्तर्राष्ट्रिय सन्धि संझौताअनुरूप Compatible हुनुपर्छ र बन्नु पर्दछ ।
७. उद्योगमा पेटेन्ट डिजाइन र ट्रेडमार्क महत्वपूर्ण हुन्छ । अर्थतन्त्र जतिसुकै Liberal र सरकारको भूमिका केवल License प्रदान गर्ने कार्य Licensing regime मा सीमित रहने भए पनि पेटेन्ट डिजाइन र ट्रेडमार्क जस्ता Industrial Property मा उद्योगको एकाधिकार हुन्छ । कुनै Product को सम्बन्धमा विभिन्न उद्योगीबीच बजारमा प्रतिस्पर्धा हुन सक्छ तर कुनै उद्योगले गरेको Innovation र त्यहि Innovation को आधारमा गरिएको कुनै उद्योगको Product को Design र त्यही Product र Design लाई अन्य प्रतिस्पर्धीभन्दा आफ्नो Product फरक छ भन्ने देखाउने ट्रेडमार्क आदिमा एकाधिकार हुने व्यवस्था उद्योगधन्दाको मान्य सिद्धान्त Usage र Practice नै हो । खुला र उदार अर्थतन्त्रमा Monopoly Cartel को कुनै स्थान हुँदैन । Monopoly Cartel ले बजारमा सीमित उद्योगले मात्र एकाधिकार जमाउनाले उपभोक्ता मारमा पर्दछन् भने Monopoly Cartel ले राष्ट्रको औद्योगिक विकासमा असर पार्दछ । विभिन्न उद्योगबीच कुनै उद्योगमा एक आपसमा तीब्र प्रतिस्पर्धा भएमा अनुसन्धानले गर्दा उच्चकोटीको उत्पादन कम मूल्यमा बजारमा उपभोक्ताको लागि उपलब्ध हुन सक्छ । खुला अर्थतन्त्र भएको देशमा सरकारले नै कुनै मालमा एक उद्योगीको मात्र एकाधिकार हुन नदिन राज्यले नै प्रतिस्पर्धाको लागि Encourage गर्दछ । त्यही अनुकूल कानून पनि बनेको हुन्छ । तर त्यस्तो अवस्थामा पनि कुनै उत्पादन तथा सेवामा प्रयोग हुने Patent, Design र Trade Mark को विकास र प्रयोग गर्नेको लागि कुनै उद्यमी तथा व्यवसायीले गरेको उत्पादित वस्तु वा सेवाको उपभोग गर्ने उपभोक्ताको हित रक्षाको लागि समेत यस्तो Patent, Design र Trade Mark को रक्षा गर्नु कुनै पनि राज्यको सार्वजनिक कर्तव्यको रुपमा लिइन्छ । कुनै व्यक्तिको आर्जन गरेको अन्य सम्पत्ति सरह यस्ता बौद्धिक सम्पत्तिको रक्षा गर्नु राज्यको प्रमुख दायित्व रहेको हुन्छ । यहि सम्पत्तिको रक्षा गर्ने क्रममा नै यस्ता सम्पत्तिको प्रयोगमा यसको सिर्जनाकर्तालाई एकाधिकार दिएको हुन्छ । यसको उद्देश्य एउटाको आविष्कारबाट प्राप्त Good Will को फाइदा अर्कोले नउठाओस् भन्ने हो । त्यसैले गर्दा नेपाल कानूनले पनि कुनै उद्योगको Patent, Design र Trade Mark मा .एकाधिकार संरक्षण गर्ने व्यवस्था गरेको छ ।
८. नेपालको पेटेन डिजाइन तथा ट्रेडमार्क सम्बन्धी ऐन, २०२२ संशोधन सहितको दफा ३,१२ र १६ लाई पनि यहाँ भावनामा व्याख्या गर्नुपर्छ । नेपाल पक्ष बनेको अन्तराष्ट्रिय सन्धिहरू वा अन्य घोषणाहरूले नेपालमा प्रभावकारिताका सम्बन्धमा सार्वभौमसत्ता सम्पन्न राष्ट्रले अन्तराष्ट्रिय जगत सामु गरेको वचनबद्धता पालना गर्नुपर्छ । कुनै महासन्धिमा आफ्नो प्रतिनिधिले हस्ताक्षर गरी देशको विधायिकाबाट अनुमोदन भएपछि वा कानूनमा व्यवस्था भएमा त्यस्तो व्यवस्थाबाट राष्ट्र Derogate हुन सक्दैन । Salmon v. commissioner of Custom of Excise (1996) 3 All E.R 871 को मुद्दामा Lord Diplock ले .........That there is a prima facie presumption that parliament does not intend to act in breach of international law including specific treaty obligations भनेको र Brind v Secretary of State for the Home Department (1991)All E.R 220 को मुद्धामा .....It was well settled that construing any provision in domestic legislation which has ambiguous in the sense that it was capable of a meaning which either conforms to or conflicts with the international convention the courts would presume that parliament intended to legislate in conformity with the convention and not in conflict with it भन्ने व्याख्या गरेको देखिन्छ । आजको युगमा बैदेशिक लगानीको Protection and Promotion का लागि बौद्धिक सम्पत्ति Intellectual property को प्रभावकारी Protection and Enforcement अनिवार्य शर्त हो । नेपालको अन्तरिम संविधान २०६३ को दायित्व, निर्देशक सिद्दान्त तथा नीतिले नेपालमा अर्थतन्त्र उदार र मिश्रित स्वीकार गर्नुको साथै बैदेशिक पूंजी तथा लगानी भित्र्याउन स्पष्ट व्यवस्था गरेको छ । यदि उद्यमीको Patent, Design र Trade Mark को संरक्षण नगरिदिने हो भने वैदेशिक लगानिकर्ता पनि नेपालमा लगानि गर्न दुरुत्साहित हुन्छन् । यसै गरी स्वदेशी उद्यमिको उद्यमशिलताको राज्यको तर्फबाट संरक्षण नगर्ने हो भने उद्यमशिलता (Entrepreneurship) पनि मर्दछ । यस कुरामा कुनै दुइमत रहन सक्दैन ।
९. पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ को कानूनी व्यवस्था हेर्दा ट्रेडमार्क संरक्षणको लागि नेपालमा उद्योग विभागमा दर्ता गर्नुपर्ने, दर्तापश्चात्को संरक्षण, खारेजीको कारवाही सम्बन्धमा व्यवस्था देखिन्छ । दफा १८(३) अनुसार दर्ता भैसकेका ट्रेडमार्कले अरु कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पुग्ने देखेमा विभागले दर्ता बदर गर्न सक्ने नै देखिन्छ । कम्पनीको तर्फबाट ट्रेडमार्क दर्ता खारेजी निवेदन र ट्रेडमार्क दर्ता गरिपाऊँ भन्ने निवेदन दुवै एकैसाथ राखी थप बुझ्नु पर्ने केही कुरा बाँकी भए बुझी निर्णय गर्ने गरी पुनः निर्णयका लागि पठाउने गरी भएको पुनरावेदन अदालत पाटनको निर्णय अन्यथा देखिन नआई मिलेकै
देखियो ।
१०. तसर्थ माथि उल्लिखित आधार कारणहरूबाट उद्योग विभागको मिति २०६१।८।२३ को निर्णय बदर गरी पुनः निर्णयको लागि उद्योग विभागमा फिर्ता पठाउने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सबूद प्रमाण बुझी न्यायिक मन लगाइ पुनः निर्णय गर्नु । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६७ साल फागुन २ गते रोज २ शुभम्
इजलास अधिकृत : विष्णुप्रसाद उपाध्याय
.