निर्णय नं. ४५५३ - जीऊ मास्ने बेच्ने

निर्णय नं. ४५५३ ने.का.प. २०४९ (ख) अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
२०४८ सालको फौ.पु.नं.२९५
फैसला भएको मिति: २०४९।६।२५।१ मा
पुनरावेदक/वादी: निजामुद्दिन मियाँको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी: भद्रपुर न.पा. वा.नं.५ मा बस्ने हविव मिया
मुद्दा : जीऊ मास्ने बेच्ने
(१) जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ख) को कसूर हुनको लागि मानिसलाई विदेशमा लग्नु मात्र पर्याप्त हुँदैन, बेचबिखन गर्ने उदेश्यले लगेको भन्ने पनि देखिनु अनिवार्य हुने ।
(प्रकरण नं. २३)
पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पू.क्षे.अ.को फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. छोरी गुलेरुदिन खातुन र गुल्सरा खातुनलाई हविव मिया र तत्मा बुढीले २ तिर पारी श्रीमतीलाई एकातिर गरी बिक्री गरेको रहेछ । श्रीमतीले थानामा उजूर गरी फुर्सद लिई घर आएपछि म छोरी खोज्न जाँदा ठूली छोरी पंजाब पटेला जिल्ला सन्देला बस्ती बस्ने महेन्द्र सिंह भन्ने पंजावीको घरमा र माइली छोरी गुल्सरा खातुनलाई राजोन जिल्ला दरौना बस्ती बस्ने दरवारा सिंहको घरमा भएको पत्ता लगाई छोरी हाम्रो हो हामी लान्छौं भन्दा ठूली मुलेरुन खातुनलाई २००० र माइली गुल्सरालाई २५००।– मा प्रमेश्वरी तत्मा बुढीले बिक्री गरी गएको लान दिन्न भनेकाले थानामा उजूर गरी ठूली छोरीलाई छुट्याई ल्याएँ, गुल्सरीलाई छुटाउन नसकेकीले जाहेरी दिन आएको छु । परमेश्वरी तत्मा र हविव मियालाई कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत निजामुद्दिन मियाँको जाहेरी दर्खास्त ।
३. हामी कुल्ली काम गर्न लागेको ठाउँमा भारत तेजपुरतिर बस्ने कुमरीको आमा भन्ने परमेश्वरी तत्माले देल्लीमा राम्रो काम लगाई दिउँला भनी फकाउन लागेको, ०४३ जेष्ठमा हविव मियाँले देल्लीमा काम राम्रो लगाई दिन्छु अस्ति आउने बुढीको पास जाउ पुर्याई दिन्छु भनी म आमा र बैनी समेतलाई तेजपुर रेल्वे स्टेशनमा पुर्याए, त्यहाँ परमेश्वरी बुढीसंग भेट भएपछि हविव फक्र्यो । बुढीले रेलमा राखी देल्ली पुर्याई दिन्छु भनी लगेको पंजावमा निजको छोरीको घरमा ४ दिन राखेपछि सरदारको घरमा काम गर्न लगाएको, त्यहाँ राती भएपछि तलाई म विवाह गर्छु भन्दै करणी गर्न थाले, १ महीना ६ दिन पछि निज सरदारले अर्को ठाउँमा लगी छाडिदिए । ४।५ महिना पछि काका निजामुद्दिनले खोजी गर्न जाँदा परमेश्वरी बुढीले मलाई भा.रु. २०००।– मा र आमा बैनी समेतलाई बिक्री गरी पैसा लिई आएकी रहिछन् भन्ने समेत मुलेरुन खातुन मियाको कागज ।
४. जाहेरवालाको श्रीमती र छोरीहरुलाई देल्लीमा राम्रो काम लगाई दिन्छु जाउँ भनेको, निजले मन्जूर गरेकोले यिनीहरुलाई तैयवपुर सम्म ल्याइदिनु गाडी भाडा र ल्याएको परिश्रम मिलाई दिउँला भनी हविव मियाँलाई भनेको, हविव मियाँले जाहेरवालीकी श्रीमती, २ छोरी र सानो काखको छोरा समेत तैयवपुरमा पुर्याई दिएछ, मैले छोरीको घर अमृतसरमा पुर्याई ५।६ दिन राखें, मेरो ज्वाई मंगलु सिंह सरदारले पंजावीलाई निजहरु जिम्मा दिई मेरो खर्च र फर्कन खर्च भनी भा.रु. ६००।– दिलाई दियो । मैले बिक्री गरेको होइन भन्ने समेत परमेश्वरी तत्माको प्रहरी समक्ष भएको बयान ।
५. प्रमेश्वरी तत्मा र जाहेरवालाकी श्रीमतीको दिल्लीमा गई काम लगाई दिने कुरा भएछ, निजले मलाई यीनीहरुलाई तैयवपुरसम्म ल्याई दिनु भाडा र मजदुरी म मिलाई दिउँला भनी गएकोले जाहेरवालाकी श्रीमती र छोरीहरु २ जनालाई तैयवपुरमा पुर्याई प्रमेश्वरी तत्माको भेट गराई दिएको हुँ । निजहरुलाई बिक्री गर्ने उद्देश्यले लगेको र बिक्री गर्ने काममा सहयोग गरेको समेत होइन भन्ने समेत हविव मियाको प्रहरी समक्ष भएको बयान ।
६. जाहेरवालाकी श्रीमती र भतिजीहरुलाई परमेश्वरी तत्मा र हविव मियाले भारत पंजाव लगी बिक्री गरे भन्ने कुरा जाहेरवालाकी श्रीमती र भतिजीबाट सुनेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
७. अभियुक्त परमेश्वरी तत्मा उपर जीऊ मास्ने बेच्ने कार्य नियन्त्रण गर्न बनेको ऐन, २०४३ को दफा ४ को खण्ड (ख) अनुसारको कसूर गरेमा ऐ.ऐनको दफा ८ को उपदफा (२) अनुसार र हविव मिया उपर ऐ. दफा ४(घ) को कसूर गरेमा ऐ. दफा ८ को खण्ड (४) अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी अधिकृतको राय र प्र.प्रमेश्वरीलाई दफा ४ को (ख) अनुसारको कसूर गरेकोमा दफा ८ को उपदफा १ अनुसार र प्र.हविवलाई दफा ८ को उपदफा (२) अनुसार सजायँ गरी पाउँ भन्ने समेत जिल्ला न्यायाधिवक्ताको छुट्टै राय ।
८. मैले गुलेरुन खातुन र गुल्सरालाई बिक्री गरे गराएको होइन, निजहरु जाहेरवाला निजकी श्रीमती, हविव समेतलाई चिन्दिन भन्ने समेत प्रतिवादी परमेश्वरी तत्माले अदालतमा गरेको बयान ।
९. प्रहरीमा कुटपिट गरी ल्याप्चे लगाई दिएको हो, मैले कसैलाई बिक्री गर्ने नियतले भारत ल्याई दिएको होइन, प्रमेश्वरीसंग मेरो चिनापर्ची छैन भन्ने समेत प्रतिवादी हविव मियाँको अदालतमा भएको बयान ।
१०. हविवलाई किन दोष लगाइयो थाहा छैन, उनी सधैं त्यसै ठाउँमा देखिई रहने हुनाले त्यसरी बाहिर गएर कुनै अनैतिक काममा संलग्न भए जस्तो लाग्दैन भन्ने समेत प्रतिवादीका साक्षी डिल्लीराम निर्भिकको बकपत्र ।
११. प्र.हविव ०४३ जेष्ठ र आषाढमा घरबाट निस्केर कहीं नगएको हुँदा निजले बिक्री गर्न मद्दत गरेको होइन भन्ने समेत प्रतिवादीको साक्षी मदनकुमार अधिकारीको बकपत्र ।
१२. प्रहरीमा कागज गर्ने व्यक्ति टुनटुनीया कुर्मीले अदालतमा आई गरी दिएको बकपत्र मिसिल सामेल रहेको ।
१३. प्रतिवादीहरुले प्रहरी प्रतिवेदन दावी बमोजिम कसूर गरेको ठहर्नाले प्रमेश्वरी तत्मालाई जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १० वर्ष कैद र प्र.हविव मियाँलाई ऐ.ऐनको दफा ८(४) बमोजिम एकवर्ष कैद हुन्छ भन्ने समेत झापा जिल्ला अदालतको मिति २०४५।२।२३।१ को फैसला ।
१४. प्रहरीमा भएको बयानको आधारमा मात्र १० वर्ष कैद हुने भनी ठहर गरेको शुरु झापा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सफाई पाउँ भन्ने परमेश्वरी तत्माको मेची अंचल अदालतमा परेको पुनरावेदनपत्र ।
१५. प्रतिवादी हविव मियालाई प्रहरी प्रतिवेदनमा सरकारी वकीलको राय बमोजिम सजायँ हुनुपर्छ भन्ने श्री ५ को सरकारको तर्फबाट मेची अंचल अदालतमा परेको पुनरावेदनपत्र ।
१६. भारतमा बेचिएका भनेका गुलेरुन खातुन मियानीले सरकारी वकीलको रोहवरमा गरेको बयान जिल्ला न्यायाधीशबाट प्रमाणित भएको, सो मा उल्लेखित कुरा झुठ्ठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्नेमा पुनरावेदक प्रतिवादीले पुर्याउन नसकेकोले प्र.परमेश्वरी तत्माले ऐनको दफा ४(ख) मा उल्लेखित कसूर गरेको देखियो । प्र.हविव मियाले निजहरुलाई बेच्न भारत लगेको भनी शंकारहित तवरले भन्न सकिने होइन । निज प्रतिवादीका कार्यबाट निजहरु बेचिन गएकीले ऐनको दफा ८(४) बमोजिम सजायँ गर्ने गरेको शुरु फैसला मिलेको देखियो । दुवै पुनरावेदन जिकिरहरु पुग्न नसक्ने ठहर्छ भन्ने समेत मेची अंचल अदालतको मिति ०४६।८।१९।२ को फैसला ।
१७. शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको मेची अंचल अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रतिवादी हविव मियालाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१८. प्र.हविव मियालाई ज्यू मास्ने बेच्ने कार्य नियन्त्रण गर्न बनेको ऐन, २०४३ को दफा ८(४) बमोजिम सजायँ गर्ने गरेको शुरुको सदर गरेको मेची अंचल अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को २०४७।११।२०।२ को फैसला ।
१९. पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्र.हविव मियाँलाई जि.न्या.व. को राय बमोजिम ४(ख) को कसूरमा ८(२) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२०. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान कामु सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापतिले जाहेरवालाकी श्रीमती तथा भतिजीहरु भारतको पञ्जावमा बेचिएका छन् र उक्त बेच्ने कार्यमा संलग्न प्रतिवादीहरु मध्ये हवीव मियाँले निजहरुलाई भारत पुर्याई दिएको र परमेश्वरी तत्माले बेचेको हुनाले प्र.परमेश्वरी तत्मालाई जीऊ मास्ने बेच्ने कार्य नियन्त्रण गर्न बनेको ऐन, २०४३ को दफा ८(१) अनुसार र प्र.हविव मियाँलाई दफा ८(२) अनुसार सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदनमा जिल्ला न्यायाधिवक्ताको राय भएकोमा शुरु झापा जिल्ला अदालतबाट प्रतिवादी परमेश्वरी तत्मालाई माग दावी बमोजिम ऐनको दफा ८(१) अनुसार १० वर्ष कैद गरेको र प्रतिवादी हविव मियाँलाई भने ऐनको दफा ८(४) लगाई एक वर्ष मात्र कैद गरेको र सोही निर्णय अंचल र क्षेत्रीय अदालतबाट समेत बदर भएको छ । स्वास्नी मानिसहरु बेच्ने कार्यमा दुवै प्रतिवादीहरु संलग्न भएको प्रमाणित भएपछि विदेशमा पुर्याई दिने प्रतिवादी हविव मियाँलाई ऐनको दफा ८(२) बमोजिम सजायँ गर्नु पर्नेमा दफा ८(४) बमोजिम सजायँ गरेको मिलेन बदर गरिपाउँ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भयो ।
२१. यसमा प्रतिवादी हविव मियाँलाई जीऊ मास्ने बेच्ने कार्य नियन्त्रण गर्न बनेको ऐन, २०४३ को दफा ८(४) अनुसार १ वर्ष कैद गर्ने गरेको झापा जिल्ला अदालतको फैसला सदर गरेको मेची अंचल अदालतको निर्णय मनासिब ठहर्याएको पू.क्षे.अ.को निर्णय मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२२. निर्णयतर्फ विचार गर्र्दा यसमा प्रतिवादी हविव मियाँलाई जीऊ मास्ने बेच्ने कार्य नियन्त्रण गर्न बनेको ऐन, २०४३, को दफा ४(ख) को कसूर गरेकोमा दफा ८(२) अनुसारको सजायँ हुनु पर्ने भन्ने जिल्ला न्यायाधिवक्ताको राय र ऐनको दफा ४(घ) को कसूर गरेकोमा दफा ८(४) अनुसार सजायँ हुनु पर्ने भन्ने प्रहरी अधिकृतको राय भई प्रहरी प्रतिवेदन परेकोमा झापा जिल्ला अदालतबाट ऐनको दफा ८(४) लगाई एक वर्ष कैदको सजायँ गरेको रहेछ । उक्त निर्णय मिलेन जिल्ला न्यायाधिवक्ताको राय बमोजिम ऐनको दफा ८(२) अन्तर्गत सजायँ हुनुपर्दछ भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(२) मा “मानिसलाई बेच बिखन गर्ने उद्देश्यले विदेश लैजाने व्यक्तिलाई पाँच वर्ष देखि दश वर्षसम्म कैद हुनेछ” भन्ने व्यवस्था भएको र उक्त सजायँ ऐनको दफा ४(ख) को कसूरसित सम्बन्धित रहेको छ । उक्त दफा ४(ख) मा बेच बिखन गर्ने उद्देश्यले कुनै मानिसलाई विदेशमा लैजान भनी सो विदेशमा लग्ने कार्यलाई जीऊ मास्ने बेच्ने कार्य मानिएको छ । यहाँ प्रतिवादी हविव मियाँले उक्त कसूर गरेको हो होइन भन्ने सम्बन्धमा हेर्दा बेचिएकी भनिएकी गुलेरुन खातुन मियाँले आफ्नो बयानमा परमेश्वरी तत्माले दिल्लीमा राम्रो काम लगाई दिन्छु भनी गएकी, हविव मियाँले पनि दिल्लीमा राम्रो काम लगाई दिन्छु, तत्मा बुढी कहाँ पुर्याई दिन्छु भनी तेजपुर रेल्वे स्टेशनमा पुर्याई दिएको भन्ने उल्लेख गरेकी छिन भने प्रतिवादी हविव मियाँले पनि प्रहरीमा बयान गर्दा परमेश्वरी तत्माले जाहेरवालाकी श्रीमती र भतिजीहरुलाई तैयवपुरसम्म ल्याई दिनु भनेको र जाहेरवालाकी श्रीमतीले पुर्याई देउ भनी आएकोले पुर्याई दिएको हुँ भनेको पाइन्छ । परमेश्वरी तत्माले पनि निजहरुलाई तैयवपुर पुर्याई देउ, दिल्लीमा राम्रो काम लगाई दिन्छु भनी हविव मियाँलाई भनेको कुरा प्रहरी समक्ष भएको आफ्नो बयानमा लेखाई दिएका छन् ।
२३. जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ख) को कसूर हुनको लागि मानिसलाई विदेशमा लग्नु मात्र पर्याप्त हुँदैन, बेचबिखन गर्ने उद्देश्यले लगेको भन्ने पनि देखिनु अनिवार्य हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी हविव मियाँले जाहेरवालाकी श्रीमती र भतिजीहरुलाई बेचबिखन गर्ने उद्देश्यले तैयवपुर पुर्याएको भन्ने कुरा मिसिल संलग्न कुनै कागज प्रमाणबाट देखिँदैन । प्रतिवादी हविव मियाँ र प्रतिवादी परमेश्वरी तत्माका बीच पनि त्यस किसिमले विदेशमा लगी बेचबिखन गर्ने विषयमा सल्लाह भएको निजहरुको बयान लगायतका कागजातबाट खुल्न आएको छैन । प्रतिवादी हविव मियाँले केवल राम्रो काम पाइन्छ भनेर मात्र निज स्वास्नी मानिसहरुलाई तैयवपुर पुर्याई दिएको देखिन्छ र त्यसपछिको कार्यमा निजको कुनै संलग्नता रहे भएको पाइँदैन निज प्रतिवादी हविव मियाँले स्वास्नी मानिसहरुलाई भारतमा पुर्याई दिएको आधार प्रमाणबाट निजलाई जीऊ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(घ) को कसूरमा दफा ८(४) बमोजिम एक वर्ष कैद गर्ने गरेको शुरु झापा जिल्ला अदालतको फैसला सदर गरेको मेची अंचल अदालत र पू.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इतिसम्वत् २०४९ साल आश्विन २५ गते रोज १ शुभम् ।