शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५६७ - जग्गा खिचोला जालसाज

भाग: ३४ साल: २०४९ महिना: असोज अंक:

निर्णय नं. ४५६७    ने.का.प. २०४९ ()  अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४५ सालको दे.पु.नं.७०२

फैसला भएको मिति: २०४९।३।३१।४ मा

पुनरावेदक/प्रतिवादी: तेजप्रसादको पत्नी मोरंग जिल्ला बयरवन गा.वि.स. वडा नं.७ बस्ने       कल्पनादेवी बराल

विरुद्ध

विपक्षी/वादी: विराटनगर न.पा. वडा नं.१४ बस्ने चुडामणी गौतम

मुद्दा : जग्गा खिचोला जालसाज

(१)    विशेषज्ञले पनि नमूना दस्तखत र लिखतमा भएको सहिछाप एकै व्यक्तिको भएको भनी राय दिएको पाइन्छ । सो रायलाई पुनरावेदकले खण्डन गर्न सकेको पनि देखिंदैन, यस स्थितिमा वादीबाट पेश भएको लिखतलाई सद्दे रहेनछ भन्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं. २४)

(२)   जुन राजीनामा लिखतको आधारबाट प्रतिवादीले वादी दावीको जग्गा मेरो आफ्नो हो भनी जिकिर लिएको हो, सो लिखत नै सद्दे नदेखिएको अवस्थामा वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेका रहेनछन् भन्न नमिल्ने ।

(प्रकरण नं. २४)

पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     पू.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमतिको निवेदन परी यस अदालतबाट पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    जि. मोरंग बयरवन गा.पं. वार्ड नं.८(ङ) कि.नं.३ को ०० ऐ. कि.नं.५ को ०१६० र ऐ. कि.नं.६ को ०१०, समेत जम्मा ज.वि. ११४० मैले सुदर्शन चौधरीबाट ०३७।१२।५ मा रु. १५,०००।मा राजीनामा पास गरी लिई २०३८ सालको बालीदेखि भोगचलन गरी आएको वन समितिको अनुरोधमा मालले दा.खा. गर्न बाँकी नै राखेकोले दा.खा. र धनी पूर्जा लिने काम सम्म बाँकी रहेको २०३९ सालको मालपोत समेत तिरेको छु, २०४०।१।३ गते बिहान अं. ८ बजेको समयमा विपक्षी मध्ये गणेशप्रसाद बरालले एकहल गोरु हली ल्याई मेरो जग्गा जोत्न लागे सो देखि मेरो जग्गा किन जोतेको भन्दा मेरो श्रीमतीको जग्गा पनि यो जग्गाको छेउमा पर्छ, सोही जगाको नाताले मैले जोताएको हुँ, जोत्छु जे गर्नु पर्छ गर भनी जवाफ दिए र गणेशकी श्रीमती विपक्षी कृष्णमायासंग जग्गा जोतेको बारेमा कुरा गरी सो नगर्न आग्रह गर्दा निजले पनि अब हामी तिम्रो जग्गा जोती खान्छौं भन्ने जवाफ दिइन्, सो दिनदेखि मेरो जग्गा खिचोला गरी कब्जामा लिई जग्गा खिचोला गरेकाले ज.मि. का १८ नं.म्याद भित्र फिराद गर्न आएको छु, सबूद प्रमाण बुझी मेरो हकको जग्गामा खिचोला गरेकोले सो खिचोला मेटाई जग्गाको चलन समेत चलाई पाउँ भन्ने समेतको वादीको फिराद ।

३.    वादीको जग्गामा म प्र.गणेशप्रसादले हलो र हली लगी जोतेको छैन, म कृष्णमायाले कब्जा गरेको छैन, हामी दुवै प्रतिवादीले खिचोला गरेको होइन, दावा झुठ्ठा हो मोरंग बयरवन गा.पं. वार्ड नं.८(ङ) कि.नं.३ को ०, ऐ. कि.नं.५ को ०१६० र ऐ. कि.नं.६ को ०१०० जग्गा तेजप्रसाद बरालकी श्रीमती कल्पनादेवी बरालले २०३९।९।१२ मा सुदर्शन चौधरी थारुसंग राजीनामा पास गराई लिएको छ । त्यसो हुँदा वादीको स्वामित्व नदेखिएकोले दावी खारेज गरिपाउँ बाँकी जग्गा विगाहा ११४० जग्गा हामीले खिचोला गरेको छैन, वादीले उल्लेख गरेको २०४०।१।३ गते हामी बयरवन गाउँमा थिएनौं, जग्गा जोत्न गएको पनि छैनौं, खिचोला गरेको पनि हैन, झुठ्ठा दावाबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत प्रतिवादीहरुको प्रतिउत्तर ।

४.    यसमा प्र. को पेटबोलीबाट देखिएको कल्पना बराललाई अ.बं. १३९ नं.बमोजिम झिकाई बुझी निज र वादी प्रतिवादी दुवै थरका साक्षी समेत बुझी पेश गर्नु भन्ने आदेश ।

५.    सुदर्शन चौधरी दर्ता मोरंग बयरवन गा.पं. वार्ड नं.८(ङ) कि.नं.३, , ६ को जम्मा ज.वि. ११४० सप्तरी मालपोत कार्यालयमा २०३७।९।१२ मा रु. १०,०००।को राजीनामा पास गराई लिएको र सोही जग्गामा घर गुहाली घर समेत बनाई आएको छु, चुडामणीले कुन व्यक्तिबाट खरीद गरी लिएका हुन् मलाई थाहा छैन, मैले पास गरी लिएको जग्गा झोरा क्षेत्र भित्रको हुँदा दा.खा. गर्न रोक्का रहेकोले धनी पुर्जा लिएको छैन भन्ने प्र.कल्पनादेवी बरालको बयानबाट कल्पनादेवी बराल कारणी सरह देखिँदा तारेखमा राख्ने भन्ने आदेश । वादीले सुदर्शन चौधरीबाट लिएको २०३७।१२।५ को रु. १५०००।राजीनामा वादीबाट लिने र कल्पनादेवीले सुर्दशनबाट लिएको २०३७।९।१२ को रु. १०,०००।को राजीनामा सक्कलै निजबाट लिई अ.बं. ७८ नं.बमोजिम परस्पर दुवै थरलाई सुनाई नियमानुसार गर्नु भन्ने आदेश ।

६.    आज मलाई देखाएको रु. १०,०००।को मिति २०३७।९।१२ र.नं.१५४५क. को राजीनामा कागज सप्तरी मालपोत कार्यालयबाट पास भएको लेखत नभई कीर्ते लेखत खडा गरी पेश गरेको हो कीर्ते लेखत गरेमा कल्पनादेवी र लेखतमा बस्ने साक्षी समेतलाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी वा. लक्ष्मण श्रेष्ठको बयान ।

७.    वादीले दाखिल गरेको २०३७।१२।५ को र.नं.२८३८ मालपोत कार्यालय पर्साबाट पास भएको रु. १५,०००।को दिने सुदर्शन लिने चुडामणी गौतम भएको सक्कल राजीनामा लेखत साक्षी समेत सबै मिलेर कीर्ते लेखत खडा गरेका हुन कीर्ते गर्ने वादी समेतलाई सजायँ गरिपाउँ मेरो लेखत सद्दे साँचो हो कीर्ते होइन भन्ने समेत प्र.कल्पना बरालको बयान ।

८.    थैली रु. १५,०००।मिति २०३७।१२।५ को र.नं.२८३८ को मालपोत कार्यालयबाट पारित भएको धनी चुडामणी ऋणी सुदर्शन चौधरी भएको सक्कल राजीनामा लेखत सद्दे साँचो हो कीर्ते होइन कीर्ते भनी बयान गर्ने प्र.कल्पनादेवी बराललाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी वा.लक्ष्मण श्रेष्ठको बयान ।

९.    वादीले दाखिल गरेको २०३७।१२।५ को प्र. कल्पनालाई र प्र.कल्पनाले दाखिल गरेको २०३७।९।१२ को राजीनामा लेखत वादी वा.लाई परस्पर देखाउँदा दुवै थरले लेखतलाई कीर्ते भनी बयान गरेकाले उक्त राजीनामा लेखतमा बस्ने लेखक साक्षी र सनाखत साक्षीलाई कानुन बमोजिम ३० दिने म्याद जारी गर्ने वादी प्रतिवादीको पेटबोलीमा उल्लेख भएका राजीनामाको ऋणी सुदर्शन चौधरीलाई अ.बं. १३९ नं.बमोजिम सात दिने म्याद जारी गरी नियम बमोजिम गर्नु भन्ने आदेश।

१०.    ऋणी धनी दुवैको मन्जुरीबाट रु. १५,०००।को लिनु दिनु गरी राजीनामा लेखत हरिकृष्णप्रसादले लेखी सुदर्शनले सहीछाप गरेको हो ओमप्रकाश श्रीवास्तव साक्षी बसेका हुन व्यवहार सद्दे साँचो हो र.नं.२८३८ मा पास भएको छ, मालपोत कार्यालय पर्साबाट पास भएको लेखत कीर्ते भनी बयान गरेमा प्र.कल्पना बराललाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत प्र.वा.तुल्सीप्रसादको बयान ।

११.    ओमप्रकाशको वा.तुल्सीप्रसादलाई तारेखमा राख्नु भन्ने आदेश रहेछ । अ.बं. १३९ नं.बमोजिम बुझिएको सुदर्शन चौधरी थारुले २०४१।१।२।७ मा तामेल भएको म्याद गुजारी बसेको ।

१२.   २०४१।१।८ मा तामेल भएको ३० दिने म्याद रामबहादुर खत्री, चन्द्रबहादुर तामाङले र प्र.चित्रबहादुरले २०४१।१।१८ मा तामेल भएको म्याद र कृष्णप्रसादले २०४१।३।९ मा तामेल भएको म्याद गुजारी बसेका रहेछन् ।

१३.   यसमा दुवै पक्षका दाता सुदर्शन चौधरीलाई झगडिया मार्फत झिकाई निजको हस्ताक्षर र ल्याप्चे सही छाप समेतको नमूना अदालतको रोहवरमा लिई पेश भएका दुवैवटा सक्कल लिखत समेत रेखा तथा लेखा जाँचको लागि सर्वोच्च अदालतमा पठाई आएपछि नियमानुसार पेश गर्नु लाग्ने दस्तुर दुईथर बाटै लिनु भन्ने आदेश ।

१४.   यसमा वादीका ४ र प्रतिवादीका ५ जना साक्षीको बकपत्र भएको ।

१५.   जग्गा खिचोला तर्फ प्रतिवादी गणेशप्रसाद, कृष्णमाया कल्पनादेवीको जग्गा हुँदा खिचोला गरेको छैन भनी जिकिर लिएका र बुझिएकी कल्पनादेवीले मेरो भोग छ भनी बयान गरेको प्रतिवादीको साक्षीले खिचोला गरेको होइन भनी बकेको बकपत्रबाट देखिए पनि वादीका साक्षीले खिचोला गरेको देखेको भनी बकपत्र गरेका ती साक्षीले झुठ्ठा बक्नु पर्ने कारण देखिन नआएको र कल्पनादेवीले उल्लेख गरिए अनुसार जालसाजी राजीनामा देखाई जग्गामा मेरो हक छ भनी देखाएको समेतबाट जग्गा खिचोला भएको रहेनछ भन्न भएन, प्रतिवादी गणेशप्रसाद, कृष्णमाया र बुझिएकी कल्पनादेवी समेतले वादीको जग्गा खिचोला गरेको र चलन समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको मोरंग जिल्ला अदालतको फैसला ।

१६.    शुरु मोरंग जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी कल्पना बराल र गणेशप्रसाद बराल, कृष्णमाया बरालको मिति ०४२।४।३२ मा पू.क्षे.अ.मा परेको छुट्टा छुट्टै पुनरावेदन ।

१७.   शुरु जिल्ला अदालतको फैसला मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पू.क्षे.अ.को फैसला ।

१८.   पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने कल्पनादेवी बराल, गणेशप्रसाद बराल र कृष्णमाया बराल समेतको यस अदालतमा पर्न आएको अनुमतिको निवेदन ।

१९.    अड्डाखानाबाट पारित भएको लिखतलाई कीर्ते प्रमाणित गर्न पुर्‍याउनु पर्ने कानुनी प्रकृयाको अभावमा कीर्ते ठहर गरेको देखिन आएकोले प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्या समेतको त्रुटि भएबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) (ग) तथा उपदफा (७) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।

२०.   नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्र्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकहरुका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मेरो पक्षको लिखत जेठो भएको हुँदा सो लिखत कायम हुनुपर्छ । कीर्ते कागजको १२ नं.अनुसार सरकारी छाप दस्तखत कीर्ते गरेमा मुलुकी ऐन अ.बं. १० नं.र सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ बमोजिम श्री ५ को सरकार वादी भई चल्ने र सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा परेकोले सोही ऐन अनुसारको कार्यविधि अपनाई मुद्दा चल्ने व्यवस्था छ । तसर्थ सो अनुसार अनुसन्धान तहकिकात भई मुद्दा दर्ता हुनु पर्नेमा सो अनुसार नभएबाट प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुन गएको छ । सप्तरी माल कार्यालयमा सक्कल लिखतै भएको अवस्थामा पछि लेखेको चिठ्ठीलाई प्रमाण लिन मिल्दैन । तसर्थ पू.क्षे.अ.को फैसला उल्टी हुनुपर्छ भनी गर्नुभएको बहस तथा प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्षको लिखत सद्दे हो विपक्षीको लिखत सद्दे होइन । विपक्षीले पेश गरेको राजीनामामा र.नं.१५४५(क) भन्ने लेखिएको छ । विपक्षीले नै मेरो लिखत पास भएको छ भनी पेश गरेको रजिष्ट्रेशन दर्ता किताबको फोटोकपिमा २०३९।९।१२ मा पारित भएका भनेका र.नं.हरुमा र.नं.१५४५(क) देखिंदैन । र.नं.१५४३ मा सच्याई धनी कल्पना बराल असामी सुदर्शन चौधरी बनाइएको देखिन्छ । मगाइएको सक्कलै ढड्डा किताबको उक्त र.नं.१५४५ समेत भएको पानै च्यातिएको छ । सो दिन पास भएका अरु सबैको नाम टोकन किताबमा छ तर विपक्षीको नाम त्यसमा छैन । विपक्षीको सट्टा गुलेमान मंसुरी धनी र केशवप्रसाद उपाध्याय असामी भई थैली रु. ५००।भएको लिखत पारित भएको उल्लेख छ । मालको पत्रबाट पनि र.नं.१५४५ मा थैली रु. ५००।भएको धनी गुलेमान मंसुरी असामी केशवप्रसाद उपाध्याय भएको लिखत पारित भएको छ भनी लेखी आएको छ । यसरी कतैबाट पनि विपक्षीको लिखत पारित भएको पुष्टी हुँदैन । मेरो लिखत पारित भएको कुरा पर्सा मालको पत्र र सो पत्र साथ प्राप्त भएको मालमा रहने राजीनामाको प्रति समेतबाट पुष्टी हुन्छ । तसर्थ पू.क्षे.अ.को फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा पू.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिनु परेको छ ।

२१.   निर्णय तर्फ विचार गर्दा सुदर्शन चौधरीबाट राजीनामा पास गरी ०३७।१२।५ मा रु. १५,०००।मा लिएको मोरंग बयरवना गा.वि.स. वडा नं.८(ङ) कि.नं.३ को ०, कि.नं.५ को ०१६, कि.नं.६ को ०१०, समेत जम्मा ११४० जग्गामा प्रतिवादीहरुले खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादी दावी भएकोमा उक्त जग्गा सुदर्शन चौधरीबाट कल्पनादेवी बरालले रु. १०,०००।मा २०३७।९।१२ मा राजीनामा गरिलिएको हुँदा वादी दावा झुठ्ठा हो । हामीले खिचोला गरेको होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर रहेछ । अ.बं. १३९ नं.अनुसार झिकाई प्रतिवादी सरह तारिखमा राखिएकी कल्पनादेवी बराल र वादी समेतबाट झिकाई पेश भएका दुवै थरका राजीनामा अ.बं. ७८ नं.अनुसार सद्दे कीर्तेमा सुनाउँदा दुवै थरले एकअर्काको लिखतलाई कीर्ते भनी बयान गरेबाट सद्दे कीर्तेको विवाद पनि यसमा समावेश भएको देखियो ।

२२.   प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा सप्तरी मालबाट पारित भएको लिखतमा लागेको छाप दस्तखत कीर्ते गरेकोमा अ.बं. १० नं.र कीर्ते कागजको १२ नं.अनुसार श्री ५ को सरकार वादी भई अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनु पर्नेमा सो केही नगरी कीर्ते ठहर्छ भनी फैसलामा बोली दिंदा त्रुटि हुन गएको छ भन्ने समेत जिकिर लिएको देखिन्छ । तसर्थ सर्वप्रथम यस तर्फ हेर्दा अ.बं. ८० नं.मा अड्डामा परिरहेको देवानी मुद्दामा प्रतिवादीका लेखबाट उठेको ऐनले फौज्दारी कायम हुने मुद्दा सो मुद्दा हेर्ने अड्डाले नै त्यसै मिसिलबाट ठाडो बयान लिई यसै महलको ७८ नं.समेतको कानुन बमोजिम कारवाही र किनारा गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा पनि जग्गा खिचोला (देवानी) मुद्दामा अ.बं.१३९ नं.अनुसार झिकाएकी र कारणी सरह देखिएकी कल्पनादेवी बरालका बयान समेतबाट विवाद श्रृजना भएकोले अ.बं. ७८ नं.अनुसार दुवै थर झगडियालाई पेश भएका लिखत सुनाउँदा एकअर्काले अर्काको लिखत कीर्ते र आफ्नो सद्दे भनी सद्दे कीर्तेमा बयान समेत गरेकाले अ.बं.७० नं.बमोजिम सद्दे कीर्तेमा निर्णय गर्न कानुनले बाधा पर्ने देखिन आउँदैन । सरकारी छाप दस्तखत कीर्ते गरेको भन्ने कुरामा कीर्ते कागजका १२ नं.र सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ अनुसार श्री ५ को सरकार वादी भई मुद्दा चलाउन पाउने कानुनी व्यवस्था छँदैछ । तर प्रस्तुत मुद्दा सो अनुसार दर्ता भई आएको नभई परिरहेको देवानी मुद्दाबाट उठेको देखिन्छ । यस्तोमा अ.बं. ८० नं.अनुसार अ.बं. ७८ नं.को प्रकृया देवानी मुद्दाको निरोपणको क्रममा पेश भएका लिखतको सत्यतातर्फ बोल्न नमिल्ने देखिन आएन । तसर्थ सद्दे कीर्ते तर्फ प्रस्तुत मुद्दाको फैसलामा बोल्नै मिल्दैन भन्ने पुनरावेदन जिकिर तथा अ.बं.८० नं.अनुसार अ.बं. ७८ को प्रकृया पूरा गरी कीर्ते तर्फ समेत बोली भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको भन्न मिलेन ।

२३.   पेश भएका राजीनामाहरु पारित भएका भनिएका पर्सा र सप्तरी माल कार्यालय समेतलाई बुझ्दा मालपोत कार्यालय पर्साको प.सं. ०४१।४२ च.नं.३०८४ मिति २०४२।२।२० को पत्रबाट साहू चुडामणी गौतम असामी सुदर्शन चौधरी भएको २०३७।१२।५ मा र.नं.२८३८ थैली रु. १५,०००।भएको लिखत पारित भएको छ भनी मालमा रहने प्रति समेत पठाएको तर सप्तरी मालपोत कार्यालयको च.नं.३६८ मिति २०४२।२।८ को पत्रमा कल्पनादेवी बराल साहू सुदर्शन चौधरी असामी भएको जम्मा जग्गा ११४० को लिखत ०३७।९।१२।६ मा र.नं.१५४५ मा पारित भएको भनी आएको र सोही कार्यालयको च.नं.३७६१ प.सं.ता.फा. २०४१।०४२ मिति २०४२।२।११।३ को पत्रमा २०३७ सालको रजिष्ट्रेशन दर्ता किताब हेर्दा २०३७।९।१२ मा पारित भएको र.नं.१५४५ को लिखत हेर्दा धनी गुलेमान मंसुरी ऋणी केशवप्रसाद उपाध्याय थैली रु. ५००।भएको जि.सप्तरी बैवा गा.पं. को जग्गा पारित भएको र अन्य जिल्लाको लिखत पारित भएको देखिंदैन भन्ने उल्लेख भएकोले कुन जवाफ ठीक हो भनी मोरंग जिल्ला अदालतबाट सोधपूछ हुँदा सप्तरी मालपोत कार्यालयको च.नं.४०७१ मिति २०४२।२।१७ को पत्रमा २०४२।२।८ को पत्र यस कार्यालयबाट लेखिएको हैन । धनी कल्पनादेवी बराल ऋणी सुदर्शन चौधरी भई थैली रु. १०,०००।मा मोरंग बयरवना गा.पं. को जग्गा मिति २०३७।९।१२ मा राजीनामा पारित भएको देखिंदैन, उक्त पत्र साथ तहाँ प्राप्त भएको भनिएको राजीनामा लिखत समेत जालसाजी देखिएको भनी जवाफ पठाएको मिसिलबाट देखिन्छ । झिकाइएको मालपोत कार्यालयको रजिष्ट्रेशन दर्ता किताब हेर्दा २०३७।९।१२।६ मा र.नं.१५४५ मा पारित भएको भनेका नम्बर समेत भएको र.नं.१५२३ देखि र.नं.१५४८ सम्म भएको पानै च्यातिएको पाइयो । प्रतिवादी कल्पनादेवी बरालले पारित गरिलिएको पेश गरेको लिखतमा र.नं.१५४५(क) उल्लेख भएको छ । तर मिसिल संलग्न रजिष्ट्रेशन दर्ता किताबको फोटोकपीमा र.नं.१५४५ मात्र उल्लेख भएको पाइँदैन । त्यहाँ र.नं.१५४५ मात्र उल्लेख भएको र त्यसमा धनी कल्पनादेवी बराल असामी सुदर्शन चौधरी थैली रु. १०,०००।भनी भिन्नै प्रकारको अक्षरबाट लेखिएको देखिन्छ । प्राप्त भएको टोकन किताब हेर्दा २०३७।९।१२ मा पारित भएका लिखतहरुको विवरण सूचीमा धनी कल्पनादेवी बराल ऋणी सुदर्शन चौधरी थैली रु. १०,०००।भएको कुनै विवरण देखिंदैन त्यसमा गुलेमान मन्सुरी धनी र केशवप्रसाद उपाध्याय असामी भएको थैली रु. ५००।को लिखत उल्लेख भएको देखिन्छ । मालपोत कार्यालयको पत्रबाट उल्लेखित मितिमा उल्लेखित र.नं.बाट धनी गुलेमान मन्सुरी असामी केशवप्रसाद उपाध्याय भएको लिखत पारित भएको छ । धनी कल्पनादेवी बराल ऋणी सुदर्शन चौधरी भएको कुनै पनि लिखत पारित भएको छैन भन्ने उल्लेख भएको समेत देखिँदा प्रतिवादीबाट पेश भएको लिखत सद्दे रहेछ भन्न सकिने अवस्था रहेन ।

२४.   वादीले पेश गरेको र.नं.२८३८ धनी वादी आफैं र असामी सुदर्शन चौधरी थैली रु. १५,०००।भएको मिति २०३७।१२।५ मा पारित भएको भनेको लिखतलाई प्रतिवादीले कीर्ते भनी बयान गरेको भए तापनि पर्सा मालको प.सं. ०४१।४२ तामेली च.नं.३०८४ मिति २०४२।२।२० को पत्रबाट २०३७।१२।५ मा धनी चुडामणि गौतम असामी शुदर्शन चौधरी थैली रु. १५,०००।भएको लिखत र.नं.२८३८ मा पारित भएको छ भनी मालमा रहने प्रति समेत पठाएको देखिन्छ । विशेषज्ञले पनि शुदर्शन चौधरीको नमूना दस्तखत र लिखतमा भएको सहिछाप एकै व्यक्तिको भएको भनी राय दिएको पाइन्छ । सो रायलाई पुनरावेदकले खण्डन गर्न सकेको पनि देखिंदैन । यस स्थितिमा वादीबाट पेश भएको लिखतलाई सद्दे रहेनछ भन्न सकिने अवस्था देखिन आएन ।

२५.   अब वादी दावा अनुसार प्रतिवादीहरुले जग्गा खिचोला गरेको हो होइन ? भन्नेतर्फ विचार गर्दा प्रतिवादी गणेशप्रसाद बराल र कृष्णमाया बरालले उक्त जग्गा कल्पनादेवी बरालको हुँदा खिचोला गरेको होइन भनी जिकिर लिएको पाइन्छ । कल्पनादेवी बरालले सो जग्गा मैले सुशर्दन चौधरीबाट राजीनामा गरिलिएको मेरो आफ्नो हक भोगको जग्गा हो भनी बयान गरेको देखिन्छ । प्रतिवादीका साक्षीले खिचोला गरेको होइन भनी बकपत्र गरिदिएको भए तापनि वादीका साक्षीहरुले खिचोला गरेको देखेको भनी बकपत्र गरिएको पाइन्छ । वादीका साक्षीले झुठ्ठा बक्नु पर्ने कुनै कारण देखिन आउँदैन । जुन राजीनामा लिखतको आधारबाट प्रतिवादी कल्पनादेवी बरालले वादी दावीको उक्त जग्गा मेरो आफ्नो हो भनी जिकिर लिएको हो सो लिखत नै सद्दे नदेखिएको अवस्थामा वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेका रहेनछन् भन्न मिलेन ।

२६.   तसर्थ प्रतिवादी कल्पनादेवी बरालले पेश गरेको लिखत जालसाजीबाट खडा गरी मालपोत कार्यालयको छाप दस्तखत कीर्ते गरी लिखत तयार गरेको ठहर्‍याउँदै वादीको लिखतलाई सद्दे ठहर्‍याई प्रतिवादीहरुले वादी दावा अनुसार जग्गा खिचोला गरेको देखिएकोले चलन समेत पाउने ठहर्छ भनी शुरुले गरेको इन्साफ मनासिब ठहर्‍याएको पू.क्षे.अ.को फैसला मिलेकै देखिँदा परिवर्तन गर्न नपरी मनासिब ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

१)    माथि इन्साफ खण्डमा लेखिए अनुसार शुरु इन्साफ सदर गरेको पू.क्षे.अ.को फैसला मनासिब ठहरेकोले पू.वे. प्रतिवादी कल्पनादेवी बराललाई अ.बं. २०३ नं.अनुसार दोश्रो पुनरावेदन गरे बापत शुरु जरिवाना रु. ६२५०।को ५% ले हुने रु. ३१२।५० थप जरिवाना हुन्छ । लगत कसी असूल गर्नु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु । २) प्रतिवादी गणेशप्रसाद बराल र कृष्णमाया बरालले खिचोला तर्फ कोर्टफी राखी पुनरावेदन गरेको देखिँदा केही गर्नु परेन । ३) मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ओमभक्त श्रेष्ठ

 

इति सम्वत् २०४९ साल असार ३१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु