निर्णय नं. ६१८७ - उत्प्रेषण
निर्णय नं. ६१८७ ने.का.प. २०५३
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत् २०५२ सालको रिट.नं. ....... २१०३
आदेश मितिः- २०५२।४।२४।४
विषय: उत्प्रेषण ।
निवेदकः- ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ३ बस्ने देबेन्द्र के.सी.को ऐ. संरक्षक भई आफ्नो हकमा समेत ऐ.बस्ने मिन बहादुरको पत्नि र ऐ.बस्ने कान्छी खत्री के.सी.।
विरुद्ध
विपक्षीः- ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. १५ बस्ने सानुमाया शाक्य ।
भूमी सुधार कार्यालय, ललितपुर ।
मोही भै कमाई आएको जग्गा सौता वा सौतेनी छोरामा मोहियानी सर्न सक्ने कानूनी व्यवस्था भएको नपाइने ।
(प्र.नं. ४)
मोहीयानी लागेको जग्गा मोहीको मृत्यु पश्चात कानूनन मोहीको नामसारी गराउने तर्फ व्यक्ति नरहेको अवस्थामा जग्गाधनीले मोही लगत कट्टा गराउन पाउने ।
(प्र.नं. ४)
निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री राजु आचार्य ।
विपक्षी तर्फबाटः- ×
अबलम्बित नजीरः- ×
आदेश
न्या. नरेन्द्र बहादुर न्यौपानेः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
2. ससुरा नर बहादुर खत्रीको २ पत्निहरु जेठी देव कुमारी खत्री र कान्छी पूर्ण कुमारी खत्री भएकोमा जेठी तर्फको ३ छोराहरु ठूला बाबु खत्री १, माइला खत्री १ र मिन बहादुर खत्री १ भएको र कान्छी पूर्ण कुमारीको कुनै सन्तान नभई निसन्तान हुनु भएको हो । सासु पूर्ण कुमारी खत्रीले आफ्नो जीवन कालमा धेरै अघि देखी खेती कमाई आएकोमा नापि हुँदाको बखत ललितपुर जिल्ला, ललितपुर नगारपालिका वडा नं. ३(६) कि.नं. ७९ को क्षेत्रफल ०-८-० कायम भई जग्गा धनी सानुमाया शाक्य मोही पुर्ण कुमारी खत्री भएको कुरामा विपक्षी सानु माया शाक्यले जोत लगत कट्टा निम्ति दिनु भएको निवेदन र वाली बुझी दिएको भरपाई कागजहरु छन् यसरी मोही भई विपक्षीका जग्गाहरु कमाई आएकोमा बसोबासको लागि जग्गाधनी सानु मैया शाक्यसंग मौखिक स्वीकृति लिई कांचो ईट्टाको गारो माटोको जोडाई भएको भुई सिमेण्ट ढलान गरेको जस्ताको छाना छाएको १ ऐ.भई टायलको छाना भएको घर १ समेत २ घर बनाई परिवार समेत बसोबास गरी आएकोमा मिति १९९१ सालमा ससुरा नर बहादुर खत्री, २०१८ सालमा सासूको र २०५१ सालमा कान्छी सासुको मृत्यु पश्चात निजहरुको हक खाने हामी फिरादहरु समेत उक्त घर जग्गामा निरन्तर बसोबास गर्दै आएको र पति मिनबहादुर खत्रिको नाममा विद्युत जडान गरी त्यसको मासिक महसुल बुझाई आएका छौं यसरी सासूको मोही हक दर्ताको जग्गामा निजको शेष पछि हक खाने हकदार हामी फिरादीहरु छँदाछदै यस्तो हक प्राप्त हुन सक्ने घर जग्गाको नामसारी हुन बाँकी हुँदाकै अवस्थामा विपक्षी मध्येका सानुमाया शाक्यले मिति २०४९।६।१३ मा मोही लगत कट्टा गर्ने निवेदन दिई विपक्षी भूमी सुधार कार्यालयमा दायर गर्नु भई कारवाही भएको नि.नं. ५८ को मिसिलमा भूमी सुधार कार्यालय ललितपुरले निवेदकको माग दाबी बमोजिम मोही लगत कट्टा गरी निर्णय गरेको रहेछ यस तथ्यको जानकारी यसै मोही हक जग्गाको घर जग्गा सम्बन्धी भएको मिलापत्र बदर मुद्दामा प्रतिवादी मध्येका पूर्ण बहादुर राइले प्रतिउत्तरको प्रमाण खण्डमा उल्लेख गरे बमोजिम प्रमाणको रुपमा भएको विपक्षी भूमी सुधार कार्यालयको मिसिल प्रमाणबाट थाहा पाएकोले के भएको रहेछ भनी हेर्दा मिति २०४१ सालमा मोही पूर्ण कुमारी खत्रीको मृत्यु भएको र निजको हक खाने कुनै हकवाला हकदार नभएको हुँदा मोही लगत कट्टा गरी पाऊँ भनी दिएको निवेदन उपर कारवाही भई सर्जमिन हुँदा आफ्नो सन्तान नभई सौतेनी छोराहरु भएको भन्ने देखिएको र सर्वोच्च अदालतको फैसलाले मोही हक सौतेनी छोराले प्राप्त गर्न सक्छ भन्न ऐनले मिल्दैन भन्ने आधार लिएर एकतर्फी प्रमाण बुझी जग्गामा घर भएको तथ्यलाई नदेखाई हामी निवेदकहरुलाई बुझ्दै नबुझी जोत लगत कट्टा गरी दिने गरी मिति २०४९।८।१२ मा विपक्षी भूमी सुधार कार्यालय ललितपुरले गरेको निर्णय भूमी सुधार ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था अनुसार ऐन प्रारम्भ हुनु अगावै देखि मोहीले घर बनाई बसोबास गरी आएको भएमा हक छोडि दिन लिन सकिने व्यवस्था गरेको हुँदा यस तथ्यको विपरीत विवादीत जग्गामा मोहीले बसोबास निम्ती घर बनाई बसोबास गरी आएको तथ्यलाई उल्लेख नै नगरी गरेको भूमी सुधार कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा खारेज भागी छ र विवादित जग्गाको कुतवाली विपक्षी जग्गाधनीले बुझ्दै रहनु भएको तथ्यलाई विपक्षी जग्गाधनीले गरी दिनु भएको भर्पाई लिखतबाट पुष्टी भएको छ र अर्को तर्फ भूमिसुधार ऐन, २०२१ ले मोहीले घरबासको लागि सम्म जग्गा राख्न सक्ने व्यवस्था गरेको छ । यस आधारमा पनि हामी निवेदकहरुको उक्त जग्गामा हक रहेको कुरा निर्विवाद हुँदा भूमिसुधार कार्यालय ललितपुरको निर्णय खारेज भागी छ । यसरी भूमिसुधार कार्यालय ललितपुरले गरेको टिप्पणी आदेशले हामी निवेदकहरुको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ र १७ द्वारा प्रत्याभूत अधिकारलाई कुण्ठित गरेको र यस सम्बन्धमा उपचारको अन्य मार्ग नभएको हुँदा ऐ.को धारा २३।८८ अनुसार यो रिट निवेदन लिई आएका छौं । विपक्षी कार्यालयको उपरोक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम उक्त जग्गामा हामी निवेदकको मोही हक कायम गरी दिनु भनी विपक्षी भूमी सुधार कार्यालयको नाममा परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाऊँ भन्ने समेत मुख्य रिट निवेदन जिकिर ।
3. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनका निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राजु आचार्यले विवादीत जग्गामा निवेदक मोहीले घर बनाई बसोबास गरी आएकोमा निवेदकको बास नै उठाउने गरी मोहीको लगत कट्टा गरेको भूमिसुधार कार्यालय ललितपुरको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
4. यसमा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी हुनु पर्ने हो होइन भनी निर्णयतर्फ विचार गर्दा पूर्ण कुमारी खत्री मोही भएको ललितपुर जिल्ला, ललितपुर नगरपालिका वडा नं. ३(६) कि.नं. ७९ को जग्गा रोपनी ०-८-० भएको कुरा स्वीकारै नगरेको पूर्ण कुमारी खत्रीको मृत्यु पश्चात निजबाट कुनै जाय जन्म नभएको निसन्तान रहेको र निवेदक कान्छी खत्री स्व.पूर्ण कुमारीको सौता देवेन्द्र के.सी. सौतेनी छोरा भएकोमा मुख मिलेकै देखिन्छ । पूर्ण कुमारी निसन्तान भै मरेपछि निजले मोही भै कमाई आएको जग्गा सौता वा सौतेनी छोरामा मोहीयानी सर्न सक्ने कानूनी व्यवस्था भएको पाइन्न । निवेदनमा उल्लेखित जग्गामा भएको घर सम्बन्धमा भएको मिलापत्रको सम्बन्धमा यीनै निवेदकको शुरु अदालतमा मिलापत्र बदर मुद्दा चलेकोमा निवेदकहरुको समेत भाग लाग्ने भनी ललितपुर जिल्ला अदालतबाट मिति २०५२।२।११ मा फैसला भएको भनी निवेदनको प्रकरण ३(ङ) मा निवेदकले उल्लेख गरेकै देखिन्छ । यसरी मोहीयानी लागेको जग्गा मोहीको मृत्यु पश्चात कानूनन मोहीको नामसारी गराउने तर्फ व्यक्ति नरहेको अवस्थामा जग्गा धनीले मोही लगत कट्टा गराउन पाउने नै र निवेदन लेख बमोजिमको सो जग्गामा भएको घर र सो घर सम्बन्धमा मिलापत्र समेत बारे यिनै निवेदकको मुद्दा परी २०५२।२।११ मा निवेदकहरुको समेत भाग लाग्ने भनी ललितपुर जिल्ला अदालतबाट फैसला भएको भन्ने अवस्थामा निवेदकको निवेदनमा अरु के कुराबाट आघात परेको प्रष्ट हुन नआएको अवस्थामा विपक्षीहरुको नाउँमा कारण देखाउ भन्ने आदेश जारी गरी रहनु पर्ने अवस्था नभएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गर्नु ।
इति सम्बत् २०५२ साल श्रावण २४ गते रोज ४ शुभम् ...............................।