शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५८५ - उत्प्रेषणयुक्त परमादेश

भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक:

निर्णय नं. ४५८५    ने.का.प. २०४९ ()  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४७ सालको रि.नं.६५०

आदेश भएको मिति: २०४९।०७।२६।४मा

निवेदक      : जिल्ला सिंचाई कार्यालय, धनकुटामा कार्यरत वैद्यनाथ साह

विरुद्ध

विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत

विषय : उत्प्रेषणयुक्त परमादेश

(१)    वैकल्पिक उम्मेदवारले नियुक्ति पाउने शर्त योग्यतम उम्मेदवारले नियुक्ति नलिएको अवस्थामा मात्र हो । निवेदक वैकल्पिक उम्मेदवार भएको र मूल उम्मेदवारले नै नियुक्ति लिइसकेपछि निवेदकको यसबाट कुनै पनि कानुनी वा संवैधानिक हक हनन् भएको नदेखिने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री रामकृष्ण निराला

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ :

२.    लोकसेवा आयोगको विज्ञापन नं.२७३।०४६ अनुसार रा.प.तृ. इन्जिनीयरिड्ड सेवा सिभिल समूहको ईरिगेशन उपसमूहको लागि १४४ जनाको रिक्त पदपूर्ति खुल्ला प्रतियोगिताद्वारा गरिने व्यहोराको सूचना अनुसार दर्खास्त पेश गरी परीक्षा दिएकोमा ७२ जना पास भई अन्तर्वार्ताको लागि छनौट गरियो । मौखिक परीक्षाको नतिजा प्रकाशित हुँदा ३ नं.को वैकल्पिक उम्मेदवारको रुपमा निवेदकको नाम उल्लेख गरियो । नियुक्तिका लागि सिफारिश गरी पहिलो पटक सूचना प्रकाशित हुँदा रमेशचन्द्र अस्त्री, नरेन्द्र चौधरी, मोहनप्रसाद ढुंगेल, हरीलाल भट्टराई र शरदराज रेग्मी नियुक्तिपत्र नलिएकोले नियुक्ति लिन आउन घर ठेगानामा पत्राचार गर्दा पनि सम्पर्क राख्न नआएको हुँदा ३५ दिन भित्र नियुक्ति लिन नआए नियुक्ति रद्द गरी वैकल्पिक उम्मेदवारलाई सिफारिश गरी पठाउन लो.से.आ. मा अनुरोध गर्ने भनी जानकारीको लागि गोरखापत्रमा मिति २०४७।१।१० गतेमा सूचना प्रकाशित भयो । दुई जनाले नियुक्ति बुझिलिएका र ३ जनाको हकमा भने १ र २ नं.का वैकल्पिक उम्मेदवारलाई सिफारिश गरी नियुक्तिपत्र दिइयो मलाई दिइएन । किन नियुक्तिपत्र नदिएको भनी अनुरोध गर्दा उचितजवाफ पाउन शरदराज रेग्मीलाई नियुक्ति दिने भएको छ, भन्ने अप्रष्ट व्यहोरा अवगत भयो । रिक्त पद संख्या ३ मा निवेदक भन्दा अगाडिका २ जनालाई नियुक्तिपत्र दिइएको र मलाई पनि दिनु पर्नेमा दिइएन । ३५ दिन भित्र नियुक्ति लिन नआएको अवस्थामा वैकल्पिक उम्मेदवारले स्वतः नियुक्ति पाउनु पर्ने हो । वैकल्पिक उम्मेदवार सरह नियुक्ति नदिएको गैरकानुनी र त्रुटिपूर्ण हुँदा संविधानको धारा १०, ११ र १५ द्वारा प्रदत्त समानता र सम्पत्ति विषयक मौलिक हकमा आघात परेको हुँदा धारा १६।७१ अन्तर्गत निवेदन दिएको छु । १ पदमा निवेदकको नाम सिफारिश गरी नियुक्ति दिनु भन्ने उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन जिकिर ।

३.    यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

४.    योग्यतम उम्मेदवारलाई सिफारिश गरिने भएकोले निवेदक वैकल्पिकमा समावेश भएका थिए । नियुक्ति नलिएको भनी सिफारिश फिर्ता आएमामात्र वैकल्पिक सूचीमा समावेश भएकाले योग्यता क्रमानुसार सिफारिश गरिने व्यवस्थाछ । सिफारिश फिर्ता नआएको हुँदा निजलाई सिफारिश गर्ने अवस्था भएन । निवेदकको कुनै पनि हकमा असर नपरेकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने लोकसेवा आयोगको लिखितजवाफ ।

५.    निवेदकले जिकिर लिनु भएको कुरा जलस्रोत मन्त्रालयको कार्यक्षेत्र भित्र परेको हुँदा सो विषयमा सचिवालयलाई थाहा नभएको कुरा अनुरोध गर्दछु भन्ने श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयको लिखितजवाफ ।

६.    लिखित र मौखिक परीक्षाबाट १४४ जना मूल उम्मेदवार मध्ये १५ जना वैकल्पिक उम्मेदवार तोकेकोमा मूल उम्मेदवार मध्ये ५ जनालाई नियुक्ति लिन आउन गोरखापत्रमा सूचना प्रकाशित गर्दा २ जनाले नियुक्ति बुझी लिनु भएको र मूल उम्मेदवार मध्ये सरदराज रेग्मी सेवा प्रवेश नगर्दै इन्जिनीयरिड्ड अध्ययन संस्थान पुलचोकबाट युनिभरसिटी कलेज ग्याल्वे आयरल्याण्डमा अध्ययनरत रहेको र सोही अवस्थामा सिफारिश भएको र नियुक्तिपत्र लिन आउनु भनी सूचना प्रकाशित गरेको थाहा पाई सूचनाको म्यादै भित्र २५ वैशाख २०४६ मा नियुक्ति पत्र लिन आउन ढिलो हुने भएकोले नियुक्तिपत्र रद्द नहुन अनुरोध गरी निवेदन पठाउनु भएकोमा सो लोकसेवा आयोगबाट २ महीना भित्र नियुक्ति पत्र बुझ्न नआएकोमा आयोगलाई जानकारी दिने आदेश भएको थियो सरदराज रेग्मीको सम्बन्धमा निर्णयको लागि पेश हुँदा निजको माग अनुसार ५ हप्ताको लागि म्याद कायम गरिएको र सो म्याद भित्र नियुक्ति लिनु भएकोले आवश्यक भएको १४४ जनाको पदपूर्ति भइसकेकोबाट रिट निवेदकलाई नियुक्ति दिन नमिलेको हो । कुनै पनि सरकारी पदमा योग्य व्यक्तिले प्रवेश पाउने हुँदा विज्ञापन गरी प्रतिस्पर्धाको आधारमा उम्मेदवार लिने व्यवस्था रही आएको हो । ३५ दिने सूचना वैकल्पिक उम्मेदवारको लागि नभई मूल उम्मेदवारको लागि निकालिएको हो । यो म्याद भित्र मूल उम्मेदवारको लोक सेवा आयोगको आदेशले दिएको म्यादै भित्र सम्पर्क राख्न आएकोले सरदराज रेग्मीलाई नियुक्ति दिइएको हुँदा निवेदकको कुनै पनि हकमा आघात नपरेकोले रिटनिवेदनपत्र खारेज गरी पाउँ भन्ने जलस्रोत मन्त्रालयको लिखितजवाफ ।

७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको फाइल अध्ययन गरी निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामकृष्ण निरालाले शरदचन्द्र रेग्मीले प्रकाशित सूचनाको म्याद भित्र नियुक्ति नलिएपछि मेरो पक्षको हकदैया सृजना भएकोले रिट निवेदकलाई नियुक्ति दिनु पर्नेमा नदिएको गैरकानुनी हुँदा रिट जारी हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले लोकसेवा आयोगले सिफारिश गर्दा योग्य उम्मेदवार गर्ने र उसले नियुक्ति नलिएमा मात्र वैकल्पिक उम्मेदवारले नियुक्ति पाउने हो । शरदचन्द्रले नियुक्ति लिने सम्बन्धमा सूचना प्रकाशित गर्दा २ महीनाको म्याद थप भएको र सो म्याद भित्रै नियुक्तिपत्र बुझी लिएकोले रिट निवेदकको हकदैया नै सृजना नभई दायर भएको निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

८.    निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नपर्ने के हो ? सो को निर्णय दिनु पर्ने हुन आयो ।

९.    यसमा निर्णयतर्फ विचार गर्दा लोकसेवा आयोगद्वारा प्रकाशित विज्ञापन अनुसार उम्मेदवार भई लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा वैकल्पिक ३ नं.मा मेरो नाम प्रकाशित भएकोमा मूल उम्मेदवार ५ जनाले नियुक्ति नलिएकोले सूचना प्रकाशित गर्दा २ जनाले लिई ३ जनाले नलिएको वैकल्पिक उम्मेदवारले नियुक्ति पाउनु पर्नेमा १ र २ को लाई दिएको मैले पनि नियुक्ति पाउनु पर्नेमा वैकल्पिक उम्मेदवार सरह नियुक्ति नदिएको गैरकानुनी हुँदा रिटनिवेदन जारी गरी पाउँ भन्ने निवेदन जिकिर भएको पाइन्छ । नियुक्ति पत्र लिन आउने सूचना प्रकाशित गरेको थाहा पाई नियुक्तिपत्र लिन आउन ढिलो हुने भएकोले नियुक्तिपत्र रद्द नहुन अनुरोध गरी मूल उम्मेदवार शरदराज रेग्मीले निवेदन पठाउनु भएकोले लोकसेवा आयोगको आदेश बमोजिम ५ हप्ताको म्याद थप भएको र सो म्याद भित्र नियुक्ति पत्र लिनु भएकोले आवश्यक पद संख्या पदपूर्ति भएकोले निवेदकले नियुक्तिपत्र नपाउनु भएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने लिखितजवाफ भएको देखिन्छ ।

१०.    निवेदकको नाम वैकल्पिक उम्मेदवारमा रहेकोमा विवाद छैन । योग्यतम उम्मेदवारले नियुक्ति नलिएको भनी लोकसेवा आयोगमा सिफारिश फिर्ता गएको भए मात्र लोकसेवा आयोगले वैकल्पिक उम्मेदवारको नियुक्तिका लागि सिफारिश गर्ने कुरा हुन्छ । योग्यतम उम्मेदवारको लागि लोकसेवा आयोगको सिफारिशको आधारमा नियुक्ति पत्र बुझ्न आउने भनी प्रकाशित सूचनाको म्यादभित्र विदेशमा अध्ययनरत रहेको कारण देखाई नियुक्तिपत्र बुझ्न म्याद थप गरी माग्न निवेदन दिएकोमा म्याद थप गरेको म्यादमा नै योग्यतम उम्मेदवारले नियुक्तिपत्र बुझेको जलस्रोत मन्त्रालयको लिखितजवाफबाट देखिन्छ । वैकल्पिक उम्मेदवारले नियुक्ति पाउने शर्त योग्यतम उम्मेदवारले नियुक्ति नलिएको अवस्थामा मात्र हो । निवेदक वैकल्पिक उम्मेदवार भएको र मूल उम्मेदवारले नै नियुक्ति लिइसकेपछि निवेदकको यसबाट कुनै पनि कानुनी वा संवैधानिक हक हनन् भएको देखिन आउँदैन । योग्यतम उम्मेदवार शरदराज रेग्मीले नियुक्तिपत्र पाइसकेको र निजलाई प्रत्यर्थी बनाउन निवेदकले सकेको नदेखिएको समेतबाट निवेदकको रिटनिवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४९ साल कार्तिक २६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु