निर्णय नं. ८५८२ - कीर्ते जालसाजी

निर्णय नं. ८५८२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
०६४–CR–०८०८, ०६६–CR–००४२
फैसला मितिः २०६७।११।८।१
मुद्दा : कीर्ते जालसाजी ।
पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, बहुअर्वा भाठा गा.वि.स. वडा नं. ३ बस्ने अशोकराम महरा
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला पर्सा, बहुअर्वा भाठा गा.वि.स. वाड नं. ३ बस्ने छोटेलाल राम
तथा
पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, सतवरिया पोखरिया गा.वि.स. वाड नं. ९ बस्ने भागवत महरा चमार
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला पर्सा बहुअर्वा भाठा गा.वि.स. वाड नं. ३ बस्ने छोटेलाल राम
शुरु फैसला गर्ने :
मा.न्या.श्री बालकृष्ण उप्रेती
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री गौरीबहादुर कार्की
मा.न्या. श्री टंकबहादुर मोक्तान
§ हस्ताक्षर जाँच गर्ने दुई विशेषज्ञको राय अलग–अलग भै विरोधाभाष रहेका अवस्थामा ती रायहरूलाई विवादको निरुपण गर्ने निश्चयात्मक र भरपर्दो प्रमाण मान्न सकिने देखिँदैन । यस्तो अवस्थामा विवादको निरुपण गर्न मुद्दाको तथ्य, पक्षहरूको सम्बन्धमा देखिएको विकसित घट्नाक्रम एवं परिस्थितजन्य प्रमाणहरूलाई नियाल्नु पर्ने ।
§ विशेषज्ञको राय न्यायकर्तालाई निष्कर्षमा पुग्न सहयोग गर्ने आधार अवश्य हो । तर, विशेषज्ञको रायलाई एक मात्र निश्चयात्मक प्रमाण मानी अन्य प्रमाणलाई उपेक्षा गर्नु न्यायसंगत हुँदैन । अन्य भरपर्दा प्रमाणको विपरीत विशेषज्ञको राय भएमा न्यायकर्तालाई विशेषज्ञको राय प्रतिकूल निष्कर्ष निकाल्न आपत्ति नहुने ।
(प्रकरण नं.२)
§ कसूर गर्नेले सजाय पाउनु पर्ने हुन्छ । सम्पत्ति पाई नै हाल्यो भनेर गम्भीर करतुतहरू कानूनको आँखामा क्षम्य मानिदिँदा दण्डहीनताले प्रश्रय पाउने ।
§ लिखत बदर तथा जालसाजी भन्ने दावी रहेकोमा लिखत बदर भएपछि जालसाजी नठहर्नु र लिखतमा वादीलाई प्रतिकूल असर पुर्याउने उद्देश्यले निजको कीर्ते सही गरिनु समान अवस्था नहुने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजन अधिकारी
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ कीर्ते कागजको ९ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
मूल पुर्खा वालगोविन्द महरा भै निजको एकमात्र छोरा विपक्षी हरिश्चन्द्रप्रसाद दास हुनुहुन्छ । निज हरिश्चन्द्रप्रसाद दासकी पत्नी पानमती देवी चमैन हुनु भै निजहरूको दाम्पत्य जीवनबाट जन्मेका ४ भाई छोराहरूमा क्रमशः कमल महरा, विपक्षी अशोकराम, हिरालाल राम र म फिरादी हुँ । हामी सम्पूर्ण परिवार एकसाथ सगोलमा बसी आउँदा विपक्षी पिता तथा दाजुहरू समेत उपर दे.नं. २७४४ को अंश दर्ता मुद्दा दिई उक्त मुद्दा चल्दा चल्दैको अवस्थामा दाजु कमल महराले निजको नाउँ दर्ताको कि.नं. २० को जग्गा पिता हरिश्चन्द्रले मलाई थाहा जानकारी नै नदिई वकसपत्र लिखत पारित गरी दिई सोको भोलिपल्ट मिति २०५८।१२।२७ गते निज हरिश्चन्द्रले उक्त कि.नं. २० को जग्गा र साविकदेखि निजको गाउँमा दर्ता रहेको जिल्ला पर्सा गा.वि.स. विश्रामपुर वार्ड नं. ४ को कि.नं. २७९ को ज.वि. ०–०–१७ जग्गा विपक्षी भागवत महरालाई र.नं. ६१५४ बाट दूषित तवरले राजीनामा लिखत गरी म फिरादीलाई थाहा जानकारी नै नदिई मलाई साक्षीमा देखाई मेरो कीर्ते सही गरी अर्को विपक्षी अशोकराम साक्षी बसी लिखत पास गरे गराएकोले कीर्ते जालसाजीपूर्ण कार्य गर्ने विपक्षीहरूलाई हदैसम्मको दण्ड सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
वादी दावीबमोजिम कीर्ते जालसाजी कार्य गरेको होइन, छैन । वादीकै अनुरोधमा घर व्यवहार चलाउन उक्त कि.नं. २० र २७९ को जग्गा बिक्री गरी राजीनामा गरिदिएको, सो राजीनामा लिखतमा वादी साक्षी बसी हस्ताक्षर सही गरेका हुन् सो सही कीर्ते होइन, वादीको दावी झूट्टा हो भन्ने समेत व्यहोराको प्रतिवादी अशोकराम महरा, कमल महरा, हरिश्चन्द्रप्रसाद दासको संयुक्त प्रतिउत्तर पत्र ।
वादी दावीबमोजिम मैले कीर्ते जालसाजी कार्य गरेको होइन, हरिश्चन्द्रप्रसाद दासको कि.नं. २० र २७९ को जग्गा मैले मिति २०५८।१२।२७ गतेमा खरीद गरी राजीनामा पारित गराई लिँदा वादी साक्षी बसी हस्ताक्षर सही गरेका हुन् । वादी दावीबमोजिम कीर्ते गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी भागवत महरा चमारको प्रतिउत्तर पत्र ।
सर्वोच्च अदालत रेखा विशेषज्ञबाट जाँच भै आएको रायसहितको प्रतिवेदन ।
यसै दावीको लिखतलाई बदर गरी पाउन यिनै वादीले यिनै प्रतिवादीहरू उपर दायर गरेको यसै लगाउको दे.नं. ३३४३ को दूषित राजीनामा लिखत बदर मुद्दामा वादीको फिराद दावी नपुग्ने ठहर्याई आज यसै इजलासबाट निर्णय भएको एवं दावीको लिखतबाट हस्तान्तरण भएको कि.नं. २० र २७९ को जग्गाबाट समेत वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्याई लगाउको दे.नं. २७४४ को अंश मुद्दामा आज यसै इजलासबाट निर्णय भएको हुँदा त्यसरी जुन लिखतलाई जालसाजी भनिएको हो सो लिखत बदर नहुने ठहर निर्णय भै रहेको एवं कीर्ते जालसाजी भनिएको लिखतबाट हस्तान्तरण भएको जग्गाबाट समेत वादीले अंश पाउने ठहर फैसला भएको अवस्थामा त्यस्तो लिखतलाई जालसाजी कीर्ते ठहर्याई निर्णय गर्न विवेकसम्मत नदेखिएकाले प्रस्तुत मुद्दामा समेत वादीको फिराद दावी नपुग्ने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको फैसला ।
अंश दर्ता मुद्दामा विवादित जग्गाको लिखत व्यवहार शुद्ध र सफा रुपमा भएको नठहरी सो जग्गामा मेरो अंश हक लाग्ने र ५ खण्डको १ खण्ड अंश छूट्याई लिन पाउने गरी फैसला भएकोमा विवादित जग्गाको लिखत पास गर्दा मेरो मञ्जूरी नलिएको कुरा फैसलामा आत्मसात गरी सो लिखत बदर नगर्ने गरी फैसला भई अर्कोतर्फ जालसाजीतर्फ मेरो फिराद दावी नपुग्ने गरी फैसला भएको आफैँमा विरोधाभाषपूर्ण देखिएकोले शुरु फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टाई मेरो फिराद दावीबमोजिम फैसला गरिपाऊँ भन्ने छोटेलालको पुनरावेदन ।
सहिछाप कीर्ते नभई सद्दे हो भनी राय आउँदा पनि सोउपर विचार नगरी वादीलाई दण्ड सजाय नगरी लेनदेनको १० नं. विपरीत सो जग्गा विपक्षीलाई भागवण्डा लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा पर्सा जिल्ला अदालतबाट भएको फैसलामा जरीवाना नगरी भएको हदसम्म प्रत्यर्थीलाई जरीवाना गरी इन्साफ पाऊँ भन्ने अशोक राम महरा समेतको पुनरावेदन ।
यसै लगाउको दे.पु.नं. १३६७, १३६८, १३६९ र १३७० का मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा उक्त मुद्दाहरूको कार्य सम्पन्न भई पेश हुँदाका बखत प्रस्तुत मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६२।१०।९ को आदेश ।
विवादास्पद हस्ताक्षर सम्बन्धमा स्पष्ट र विस्तृत रुपबाट जाँच गराउनु पर्ने देखिँदा तारेख भरपाईमा भएको छोटेलाल रामको हस्ताक्षरसँग विवादित र.नं. ६१५४ मिति २०५८।१२।२७ को लिखतका साक्षी महलमा छोटेलालको नाममा भएको सही राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट जाँच गराउनु भन्ने पुनरावेदन अदालतको मिति २०६३।३।६ को आदेश ।
सो आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट लिखत परीक्षण भै परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको र लिखत परीक्षण गर्ने विशेषज्ञ मुकुल प्रधानको बकपत्र भएको रहेछ ।
विवादित राजीनामा लिखतको साक्षी महलमा भएको वादीको दस्तखत प्रतिवादीहरूले कीर्ते जालसाज गरेको ठहर्याउनु पर्नेमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पर्सा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भै फिराद दावीअनुसार प्रतिवादीहरूले विवादित लिखत कीर्ते जालसाज गरेको ठहर्छ । विगो खुलाई दावी गरेको नदेखिएको र सम्पूर्ण लिखत कीर्ते गरेको अवस्था समेत नहुँदा मुलुकी ऐन, कीर्ते कागजको ९ नं. बमोजिम प्रतिवादीहरूलाई रु.५०।– जरीवाना हुन्छ भनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६४।१।६।५ मा भएको फैसला ।
घर व्यवहार चलाउन एक अर्कालाई साक्षी राखी लिखत पारित भएको र लिखतमा रहेको वादीको सही जाँच गर्न पठाउँदा सर्वोच्च अदालतका विशेषज्ञले सही मिलेको भिडेको राय दिएको छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विशेषज्ञले सही भिडाउन सकिएन भनी राय दिएको छ । यसरी दुई विशेषज्ञको राय नमिलेको अवस्थामा विवादित सही वादी छोटेलालको यो यति कारणले होइन भनी फैसलामा आधार प्रमाण नदेखाई हचुवाको भरमा गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी झूठ्ठा उजूर गर्ने वादीलाई सजाय गरिपाऊँ भनी प्रतिवादी अशोक राम महरा समेत तथा भागवत महरा चमार समेतको छुट्टाछुट्टै यस अदालतमा परेको पुनरावेदन ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट विद्वान वैतनिक अधिवक्ता राजन अधिकारीले विवादित लिखतमा लागेको वादीको सही नमिले नभिडेको भन्ने विश्वासनीय र यकीन आधार प्रमाण विशेषज्ञले दिन नसकेको अवस्थामा त्यस्तो विरोधाभाष लिखतलाई जालसाजी घोषणा गरी प्रतिवादीहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत हेटौँडाँको फैसला मिलेको छ, छैन, प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा प्रतिवादीहरूले मेरो समेत अंश हक लाग्ने दावीका कि.नं. २० र २७९ का जग्गा मलाई थाहा जानकारी नदिई साक्षी किनारामा मेरो नाम राखी कीर्ते सहिछाप गराई राजीनामा लिखत पारित गराई लिनु दिनु गरी कीर्ते जालसाजीपूर्ण कार्य गरेको हुँदा प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने फिराद दावी भएकोमा वादीकै अनुरोधमा घर व्यवहार चलाउन विवादित जग्गाहरू राजीनामा बिक्री गरिएको र निज आफै साक्षीमा बसी सहिछाप गरेका हुन् । कीर्ते सहिछाप गरेको होइन भन्ने प्रतिउत्तर जिकीर देखिन्छ । शुरु पर्सा जिल्ला अदालतले विवादित जग्गाहरू समेतबाट वादीले ५ भागको १ भाग अंश पाउने ठहरेकाले त्यस्तो लिखतलाई कीर्ते जालसाजी भनी निर्णय गर्न विवेकसम्मत नहुने भनी वादी दावी पुग्न नसक्ने ठहराएको फैसला पुनरावेदन अदालतबाट उल्टी गरी फिराद दावीअनुसार प्रतिवादीहरूले विवादित लिखत कीर्ते जालसाज गरेको ठहर्याई प्रतिवादीहरूलाई जरीवाना समेत गर्ने गरी फैसला गरेको पाइन्छ । सोउपर प्रतिवादीहरूको यस अदालतसमक्ष पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ पेश हुन आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा, विवादित लिखतको साक्षी महलमा परेको वादीको नामको लेखात्मक सही नै विवादमा रहेको पाइन्छ । उक्त सहीलाई वादीले कीर्ते भनी दावी लिएको पाइन्छ भने प्रतिवादीहरूले सद्दे हो भनी जिकीर लिएको अवस्थामा छ । विवादित लिखतको वादीको सही परेको स्थानमा केरमेट समेत भएको देखिएको छ । उक्त लिखत जाँचका लागि विशेषज्ञ कहाँ पठाउँदा सर्वोच्च अदालतका रेखा तथा लेखा विशेषज्ञले उक्त लिखतमा परेको सही जाँचका लागि पठाएका नमूनाहरू भिडाउँदा मिले भिडेको भन्ने राय दिएको अवस्था छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विशेषज्ञले विवादित लिखतमा परेको वादीको हस्ताक्षर पूर्णतः केरमेट भएको कारण सो हस्ताक्षर अन्य लिखतमा भएको वादीको हस्ताक्षरसँग तुलना हुन नसक्ने भनी राय दिएको देखिन्छ । यसरी हस्ताक्षर जाँच गर्ने दुई विशेषज्ञको राय अलग अलग भै विरोधाभाष रहेका अवस्थामा ती रायहरूलाई विवादको निरुपण गर्ने निश्चयात्मक र भरपर्दो प्रमाण मान्न सकिने देखिँदैन । यस्तो अवस्थामा विवादको निरुपण गर्न मुद्दाको तथ्य, पक्षहरूको सम्बन्धमा देखिएको विकसित घट्नाक्रम एवं परिस्थितजन्य प्रमाणहरूलाई नियाल्नु पर्ने हुन्छ । विशेषज्ञको राय न्यायकर्तालाई निष्कर्षमा पुग्न सहयोग गर्ने आधार अवश्य हो । तर विशेषज्ञको रायलाई एक मात्र निश्चयात्मक प्रमाण मानी अन्य प्रमाणलाई उपेक्षा गर्नु न्यायसंगत हुँदैन । अन्य भरपर्दा प्रमाणको विपरीत विशेषज्ञको राय भएमा न्यायकर्तालाई विशेषज्ञको राय प्रतिकूल निष्कर्ष निकाल्न आपत्ति हुँदैन । प्रस्तुत विवादमा त विशेषज्ञहरूका राय अनिश्चित भएबाट अन्य प्रमाणको मूल्याङ्कन नै विवादको टुंगो लगाउने आधार हो ।
३. यसमा वादीले प्रतिवादीहरू पिता एवं दाजुहरू उपर अंश मुद्दा दायर पारेपछि प्रतिवादी पिता हरिचन्द्र तथा दाजु कमल महराले उक्त अंश मुद्दाको इतलायनामाको म्याद मिति २०५८।१०।२९ मा बुझी सकेपछि पहिले मिति २०५८।१२।२६ मा कमल महराले कि.नं. २० को जग्गा पिता हरिश्चन्द्र दासलाई हा.व. गरी दिई त्यसपश्चात् उक्त कि.नं. २० र कि.नं. २७९ को जग्गा हरिश्चन्द्रले अर्का प्रतिवादी भागवत महरा चमारलाई विवादित लिखतद्वारा मिति २०५८।१२।२७ मा पारित गरी दिएको अवस्था छ । यसरी वादी एवं प्रतिवादीहरू बीच अंश मुद्दा परी निजहरू बीचको सम्बन्ध चिसिएको अवस्थामा प्रतिवादीहरूले वादीलाई जग्गा बिक्री गर्न सहमत गराई लिखतमा साक्षी राखी सही गराए होलान् भनी विश्वास गर्न सकिने अवस्था देखिँदैन । माननीय सम्बन्ध, स्वाभाविकता र परिस्थितिले न्यायिक निष्कर्ष निकालन सहयोग गर्दछन् । कतिपय कुरा विश्वास गर्न सकिने प्रकृतिका हुन्छन् भने कतिपय कुरालाई सामान्य सोचाई राख्ने मानिसले पनि पत्याउन सक्दैन । यदि वादी आफैँले साक्षी बसी जग्गा बिक्री गरेको अवस्था भए सोलाई चुनौती दिई अदालतमा आउनु पर्ने वा निजको मनस्थिति परिवर्तन हुनुपर्ने तथ्यपरक एवं विश्वसनीय आधार कारण समेत प्रतिवादीहरूले दिन सकेको पाइँदैन । अर्कोतर्फ जग्गाको हक हस्तान्तरणसम्बन्धी घट्नाक्रमको विकसित घटना क्रमलाई हेर्न हो भने पनि दावीको कि.नं. २० को जग्गा पहिले वादीका दाजु कमल महराले पिता हरिश्चन्द्रलाई वकसपत्र पारित गरी दिएको र त्यसकै भोलिपल्ट अर्थात् मिति २०५८।१२।२७ मा हरिश्चन्द्रले आफ्नो सानी आमाका छोरा भाइ नाता पर्ने भागवतलाई विवादित राजीनामा पारित गरी दिएको देखिन्छ । पुनः सोको भोलिपल्ट मिति २०५८।१२।२८ मा उक्त जग्गा वादीका अन्य दाजुहरू प्रतिवादी अशोक राम र हिरालालका नाममा लिखत पारित भई विभिन्न किसिमले हक हस्तान्तरण भई गएको देखिन्छ । यी सम्पूर्ण कामकारवाही प्रतिवादीहरूबाट असल नियतले भए गरेको होला भनी अनुमान गर्न सक्ने अवस्था पनि छैन । वादीको भनिएको सही संदिग्ध छ । यस्तो अवस्थामा प्रतिवादीहरूले वादीको अंश हक मार्ने दुराशयले जालसाजीपूर्ण तरिकाले विवादित लिखतद्वारा हकहस्तान्तरण गरेको तर्कपूर्ण रुपमा अनुमान गर्नुपर्ने हुन्छ ।
४. कसूर गर्नेले सजाय पाउनु पर्ने हुन्छ । सम्पत्ति पाई नै हाल्यो भनेर प्रतिवादीका गम्भीर करतुतहरू कानूनको आखाँमा क्षम्य मानिदिँदा दण्डहीनताले प्रश्रय पाउँछ । लिखत बदर तथा जालसाजी भन्ने दावी रहेकोमा लिखत बदर भएपछि जालसाजी नठहर्नु र लिखतमा वादीलाई प्रतिकूल असर पुर्याउने उद्देश्यले निजको कीर्ते सही गरिनु समान अवस्था होइनन् ।
५. अतः माथि विवेचित आधार एवं कारण समेतबाट प्रत्यर्थी वादीले विवादित लिखतको साक्षी महलमा परेको हस्ताक्षर सही आफ्नो होइन भनी लिएको दावी पक्षहरूको आपसी व्यवहार र लिखतमा परेको दस्तखत सहीको प्रकृति समेतका आधारमा प्रमाणित हुन आएबाट दिने हरिश्चन्द्रप्रसाद दास लिने भागवत महरा चमार भएको र.नं. ६१५७ मिति २०५८।१२।२७ को पारित राजीनामा लिखतको साक्षी महलमा भएको प्रत्यर्थी वादीको दस्तखत प्रतिवादीहरूले फिराद दावीबमोजिम कीर्ते जालासजी गरेको ठहर्याई प्रतिवादीहरूलाई कीर्ते कागजको ९ नं. बमोजिम रु.५० जरीवाना हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाँको मिति २०६४।१।६।५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रामकुमारप्रसाद शाह
इति संवत् २०६७ साल फागुन ८ गते रोज १ शुभम्
इजलास अधिकृत :– पुष्पराज थपलिया