निर्णय नं. ४५९० - अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार

निर्णय नं. ४५९० ने.का.प. २०४९ (ख) अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
२०४७ सालको फौ.पु. नं.२५०
फैसला भएको मिति: २०४९।५।२२।२ मा
पुनरावेदक/वादी: का.न.पा. वा.नं.३१ बस्ने कमलकुमार गर्ग
विरुद्ध
विपक्षी/वादी: श्री ५ को सरकार राजश्व अनुसन्धान महाशाखा
मुद्दा : अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार
(१) अभियोगबाट सफाई पाउनु पर्ने भन्ने कुराको सबूद कानुनी व्यवस्था अनुसार प्रतिवादीले गुजार्न नसकेको भनी कसूरदार कायम गर्न मिल्ने हुँदैन । अभियोग प्रमाण वादी पक्षबाट आउनै पर्दछ अभियोग प्रमाणित हुने प्रमाणको अभाव छ भने सबूद दिने दायित्व भएको प्रतिवादीले सफाईको सबूद दिन नसकेको भनी अभियोग प्रमाणित गर्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्धान अधिवक्ता श्री बाबुराम कुवंर
विपक्षी/वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या.केशवप्रसाद उपाध्याय
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :–
२. मिति २०४२।४।१४ गतेको दिन इण्डियन एयर लाइन्सको जहाजबाट दिल्लीतर्फ जान लागेको एम.आर. शर्माको ब्याग पोकाहरु चेक गर्दा निजको ब्याग र कागजको कार्टुन र काठको बाकस समेतबाट भारतीय रुपैयाँ रु. ५,००,८००।– पाँचलाख आठसय फेला परेको भन्ने समेत व्यहोराको मौका मुचुल्का ।
३. भारतको दिल्ली जाने यात्रु एम.आर.शर्माले लुकाई छिपाई लान लागेको भारतीय रुपैया ५,००,८००।– फेला परेकोले यसै साथ दाखिल गरेको छु भन्ने समेत व्यहोराको ग.नि.दानबहादुर चन्द्र समेतले विशेष अधिकृत अनुन्धान रा.अ.महाशाखामा चढाएको प्रतिवेदनपत्र ।
४. इण्डियन एयर लाइन्सको हवाई जहाजको नं.०९२२७५६ को टिकटमा लेखिएको एम.आर. भन्ने मेरो नाम हो । भारतीय रुपैयाँ ५,००,८००।– म बाट बरामत भएको हो । हवाई जहाजको टिकट ईन्द्रचोक रेडिमेड कपडाको पसल थाप्ने बागबजार बस्ने मेरो साथी कमलकुमार गर्गले ट्राभल एजेन्सीबाट खरीद गरी दिएको हो भन्ने समेत व्यहोराको भगतरामले अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत समक्ष गरेको बयान कागज ।
५. मिति २०४२।४।१४ गतेमा भगतुरामबाट बरामत भएको भारतीय रुपैया ५,००,८००।– मध्ये दिल्लीका साडी व्यापारी पुनमचन्द्र गुप्ता १०।१५ दिन अगाडि काठमाडौं आउँदा साडीको बिक्रीबाट उठेको रु.१,५०,०००।– मेरो मानिस भगतुरामबाट पठाई दिनु भनी मलाई छाडी गएको रुपैयाँ हो र बाँकी भारती रुपैयाँ ३,५०,०००।– मेरो डाँफे प्लाष्टिक उद्योगको लागि मेसिनरी खरिद गर्न निज भगतुरामलाई मैले दिई पठाएको रकम हो भन्ने समेत व्यहोराको कमलकुमार गर्गले अर्थ मन्त्रालय रा.अ.महाशाखाका विशेष अधिकृत समक्ष गरेको बयान कागज ।
६. इजाजत प्राप्त संख्या निकाय वा व्यक्तिबाट भारतीय रुपैया प्राप्त गरेको नभई अन्य तरीकाले संचालन गरेको भारतीय रुपैयाँ नेपाल राष्ट्र« बैंकको स्वीकृत बेगर नेपाल बाहिर पठाई कमलकुमार गर्गले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र दफा ५(२) विपरीत काम गरेको र भगतुराम शर्माले समेत सोही ऐनको दफा ५(२) को विपरीत काम गरेकोले निजहरु उपर सोही ऐनको दफा १७(१) बमोजिम सजायँ गरी बरामद भारतीय रुपैयाँ ५,००,८००।– मध्ये भा.रु. ५,००,४००।– ने.रा. बैंकबाट सटही भई आएको रु. ७,२५,५८०।– र भा.रु. ४००।– कलेक्सनमा गएका हुँदा सोही सटही भई आएपछि सो रकम समेत जफत होस् भनी सम्बन्धित कारवाही फाइल र रु. ७, २५, ५८०।– तथा भगतुराम शर्मा र कमलकुमार गर्ग समेतलाई यसै साथ पेश गरेको छु भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृतले अंचलाधीश रहेको एक सदस्य विशेष अदालतमा दायर गरेको प्रतिउत्तरपत्र ।
७. भारतीय रुपैयाँ नेपालबाट भारत लैजान हुँदैन भन्ने कुरा मलाई थाहा छैन । बरामद भएको भारती रुपैयाँ ५,००,८००।– मेरो मालिक पुनमचन्द्र गुप्ताले लिन पठाएकोले आएको र कमलकुमार गर्गले दिएकोले साथ लिई निज पुनमचन्द्रलाई दिन भारत दिल्लीमा लैजान लागेको हुँ । सो भा.रु. कसरी कहाँबाट आएको हो मलाई थाहा छैन, भन्ने समेत व्यहोराको भगतुराम शर्माले एक सदस्यीय विशेष अदालतमा गरेको बयान कागज ।
८. मिति २०४२।४।१४ मा डिल्ली जान लागेको भगतुराम शर्मालाई जम्मा भा.रु. ५,००,८००।– मैले दिई पठाएको हुँ । उक्त रुपैया मध्ये ३,५०,०००।– दिल्लीमा कपडाको दोकान गरी बस्ने पुनमचन्द्र गुप्तालाई उद्योगको मेसिन खरीद गर्नका लागि मैले पठाएको र बाँकी भा.रु. १,५०,०००।– निज काठमाडौं आउँदा मलाई छाडी गएको हुँदा निज भगतुराम शर्मालाई दिई पठाएको हुँ । उक्त रुपैयाँ मैले फिर्ता पाउनु पर्छ भन्ने समेत व्यहोराको कमलकुमार गर्गले एक सदस्यीय विशेष अदालत समक्ष गरेको बयान कागज ।
९. प्रतिवादी भगतुराम शर्मा र कमलकुमार गर्गले वादी दावी बमोजिम विदेशी विनिमय नियन्त्रण ऐन, २०१९ को तत्काल प्रचलित दफा ४ र ५ को विपरीत इजाजत बेगर विदेशी विनिमयको कारोवार र निकासी गरेको ठहर्छ । सो ठहर्नाले सोही ऐनको दफा १७(१) बमोजिम निज प्रतिवादीहरुके जनही रु. दुई हजारका दरले जरिवाना र बरामद भएको विदेशी मुद्रामा भा.रु. ५,००,८००।– जफत हुन्छ भन्ने समेत व्यहोराको अञ्चलाधीश रहेको एक सदस्यीय विशेष अदालत मुकाम अञ्चलाधीश कार्यालय, बा.अं.बाट मिति २०४४।१२।१९।२ मा भएको फैसला ।
१०. बिना आधार सबूद प्रमाणको कुनै मूल्यांकन सम्म पनि नगरी मेरो सम्पत्ति बिना आधार रु. ५,००,८००।– जफत गर्ने गरी रु. २०००।– जरिवाना समेत गर्ने गरी विशेष अदालतले गरेको फैसला उल्टी गरिपाउँ भन्ने समेत व्यहोराको कमलकुमार गर्गले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदनपत्र ।
११. राष्ट्रिय वाणिज्य बैंकबाट भा.रु. सटही गरी लिएको देखिँदैन र इजाजत प्राप्त व्यक्तिबाट लिएको पनि नदेखिंदा विदेशी विनिमय नियमित गर्ने ऐनको दफा ४ को कसूरबाट सफाई पाउन सक्ने नदेंिखंदा एक सदस्यीय विशेष अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१२. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ अ.बं. १३९, १८४ नं.(क) प्रमाण ऐन, २०३१ को दफा २५, ५४ समेतको प्रत्यक्ष गम्भिर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने यस सर्वोच्च अदालतमा दायर हुन आएको निवेदनपत्र ।
१३. विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ प्रमाण ऐन, २०३१ को दफा २५ को व्याख्यात्मक त्रुटि देखिंदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बाबुराम कुंवरले मेरो पक्षले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसूर गरेको छैन भारतीय मुद्रा जति पनि लान सक्ने प्रावधान भएकोले मेरो पक्षलाई लगाएको आरोप गैरकानुनी छ । वादीको अभियोग कायम हुने आधार प्रमाण वादीले दिन नसकेको अवस्थामा दफा १७ (३) बमोजिम प्रतिवादीले सबूद दिन नसकेको भन्ने आधारमा कसूर कायम गर्न नमिल्ने हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट उपस्थित विद्वान का.मु सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले प्रतिवादीले भारतीय रुपैयाँ सटही गर्दा कुनै बैंकबाट र कुनै भारतीय टुरिष्टबाट सटही गरेको कुरा स्वीकार गरेका हुन् । दुई ठाउँमा भएको बयान एकापसमा बाझिएका छन् । विदेशी विनिमय (नियमित गर्ने) ऐन विरुद्धको अपराध प्रतिवादीबाट भएकोले सो अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
१५. म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ, सो को निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा कमलकुमार गर्ग उपर विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ को दफा ४, ५ अन्तर्गत दावी भएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट विदेशी विनिमय नियमित गर्ने ऐनको दफा ४ अनुसार सजायँ गरे उपर पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई पेश हुन आएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ मा विदेशी विनिमय कारोवार गर्दा इजाजतपत्र प्राप्त व्यक्तिबाट गर्नु पर्ने व्यवस्था रहेको पाइन्छ । मिति २०४२।४।१४ गते हवाई जहाजबाट दिल्ली जान लागेको भगतराम शर्माबाट बरामद भएको भा.रु. ५००८००।– कमलकुमार गर्गले दिई पठाएको भन्ने बयान गरेको र सो कुरालाई कमलकुमार गर्गले मेरो भनी स्वीकार गरेकोले बरामद भएको भा.रु. ५००८००।– कमलकुमार गर्गको भन्नेमा विवाद देखिएन । भारतीय रुपैयाँ समेत विदेशी विनिमयको परिभाषा भित्र पर्ने हुनाले सो भारतीय रुपैयाँ कमलकुमार गर्गले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ अनुसार इजाजत प्राप्त व्यक्ति वा संस्थाबाट प्राप्त गरेको हो होइन त्यो नै मुख्य विवादको विषय देखिन आएको छ । कमलकुमार गर्गको बयान अनुसार भा.रु. ३,५०,०००।– पुनमचन्द्र गुप्ता व्यापारीको बाँकी मेरो भनी देखाएको पाइन्छ । सो भा.रु. मध्ये ३०८००।– विभिन्न टुरिष्टसंग खरीद गरेको बाँकी व्यापारीको केही आफू र साथीहरुबाट विशाल बजारको राष्ट्रिय वाणिज्य बैंकबाट सटही गरेको भनी बयान गरेको पाइन्छ । भारतीय रुपैयाँ सटही गर्ने सम्बन्धमा अदालतको आदेश बमोजिम बुझिंदा कुनै निश्चित विधि पुर्याउनु नपर्ने भनी राष्ट्रिय वाणिज्य बैंकमा च.नं.२१३ प.सं. बैं.व्य.नि.ख. १४९।२।२८ मिति २०४९।४।१९ गतेको पत्रबाट देखिन्छ । नेपाल राष्ट्र बैंकको पत्रबाट समेत सोही कुराको समर्थन भएको पाइन्छ । प्रस्तुत विवादमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(३) बमोजिम प्रमाणको भार प्रतिवादीमा रहेको भन्ने उल्लेख व्यवस्था रहे पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को अपराध हुन कुनै व्यक्तिसंग विदेशी विनिमय किनेको वा सापट लिएको वा भुक्तानी लिएको सटही गरी लिएको कृया भएको भन्ने वादी पक्षबाट कुनै सबूद गुज्रिन आएको छैन । अभियोगबाट सफाई पाउनु पर्ने भन्ने कुराको सबूद कानुनी व्यवस्था अनुसार प्रतिवादीले गुजार्न नसकेको भनी कसूरदार कायम गर्न मिल्ने हुँदैन । अभियोग प्रमाण वादी पक्षबाट आउनै पर्दछ । अभियोग प्रमाणित हुने प्रमाणको अभाव छ भने सबूद दिने दायित्व भएको प्रतिवादीले सफाइको सबूद दिन नसकेको भनी अभियोग प्रमाणित गर्न मिल्दैन । कमलकुमार गर्गको भारतीय रुपैयाँ हो भन्ने आधारमै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को अभियोग लाग्न सक्ने होइन । निजबाट रहन आएको भारतीय रुपैयाँहरुको सम्बन्धमा निजले बयानमा उल्लेख गरेको कुरालाई अन्यथा प्रमाणित गर्ने गरी वादी पक्षबाट सबूद नआएकोले कमलकुमार गर्गको पुनमचन्द्र गुप्ताको भनेको र बैंकबाट सटही गरेको भनी बयानमा उल्लेख गरेको भारतीय रुपैया रु. ४,७०,०००।– को सम्बन्धमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, ०१९ को दफा ४ आकर्षित हुन सक्ने अवस्था देखिन आएन । पुनरावेदक कमलकुमार गर्गले आफ्नो बयानमा रु. ३०,८००।– भारतीय टुरिष्ट संग सटही गरेको कुरामा सावित रहेको र ती टुरिष्टहरु भारतीय रुपैयाँ सटही गर्न सक्ने इजाजत प्राप्त व्यक्ति हुन् भनी पुनरावेदकले भन्न नसकेको देखिंदा रु. ३०,८००।– को हदसम्म निज पुनरावेदक कमलकुमार गर्गले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को विरोध पर्ने गरी कार्य गरेको देखिंदा सो रकम भा.रु. ३०,८००।– सम्म जफत हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी भई भा.रु. ३०,८००।– तीसहजार आठसय मात्र जफत हुने ठहरकोले अञ्चलाधीश रहेको एक सदस्यीय विशेष अदालत मुकाम अञ्चलाधीश कार्यालय, बागमती अञ्चलाधीशबाट मिति २०४४।१२।२९ मा भएका फैसलाले प्रतिवादीबाट जफत भएको भा.रु. ५,००८००।– को दर ने.रा. बैंकबाट भुक्तानी भई आएको भा.रु. १४००।– समेत जम्मा रु. ५,०१,२००।– पाँच लाख एक हजार दुईसय सदर स्याहा गरेको देखिएकोले भा.रु. ५,०१,२००।– बाट भा.रु. ३०,८००।– कटाई बाँकी भा.रु. ४,७०,४००।– ऐनका म्याद भित्र भुक्तानी माग्न आए फिर्ता दिलाई दिनु भनी शुरुमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतका तहसिलमा लगत दिनु .........१, मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४९ साल भाद्र २२ गते रोज २ शुभम् ।