शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५९५ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक:

निर्णय नं. ४५९५    ने.का.प. २०४९ ()  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

२०४९ सालको फौ.सा.नं.५४

फैसला भएको मिति: २०४९।७।२।१ मा

वादी: हरिप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी: पाँचथर सल्लेरी गा.वि.स. वा.नं.७ बस्ने वासुदेव न्यौपानेसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)    किटानी जाहेरी दर्खास्त, लास प्रकृति मुचुल्का, अख्तियार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीहरुको बयान, सरजमीन मुचुल्का समेतका प्रमाणबाट निज प्रतिवादीहरुले खुकुरी प्रहार गरी मृतकलाई मारेको प्रमाणित हुन आएको हुनाले निजहरुलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको जिल्ला अदालतको निर्णय मनासिब ठहराएको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने ।

(प्रकरण नं. २९)

(२)   प्रतिवादीहरुलाई सजायँ गर्दा अपराधको मात्रालाई ध्यान दिनु पर्ने हुन्छ अपराधको मात्रा निर्धारण गर्नमा प्रतिवादीहरुको अपराध मनसायले गहन भूमिका खेल्ने समेत हुन्छ । अतः प्रतिवादीहरुको मृतकलाई मार्ने सम्मको मनसाय भएको देखिन नआएको स्थितिमा निजहरुलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा १० वर्ष मात्र कैद गर्नु पर्ने भनी शुरु र पुनरावेदन अदालतबाट व्यक्त भएको राय समेत मनासिब ठहर्ने ।

(प्रकरण नं. ३०)

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     पुनरावेदन अदालत विराटनगरको फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    ०४६।१।१५ गते राती मेरो वर्ष २० को छोरा कविन्द्र श्रेष्ठलाई निजले काम गर्ने मिलको डीही घर छेउमा खेतमा कसले काटी मारी फालेछन् । कर्णाखर न्यौपाने, वासुदेव न्यौपाने, राजकुमार श्रेष्ठ, फनिनाथ बन्जारा समेतले मारेकोमा शंका लागेको हुँदा कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त ।

३.    दुबै खुट्टाको सबै औंलाहरु नभएको, बायाँपट्टी कानको बीच भागबाट धारिलो हतियारले काटिएको, चिउडोमा ५१२ लम्बाई १चौडाईको काटिएको चोट, किलकिलेमा ३लम्बाई १चौडाई काटिएको, बायाँ कुममा ५”, को काटिएको हड्डी निस्किएको बायाँ पाखुरामा कुहिना माथि ३चोट सो मुनि नाडीमा ४को चोट सो नजिकै ११२ को बायाँ कोखामा ५को चोट भई भित्रको करंग देखिएको दाहिने पट्टिको कुममा ४को चोट भई हड्डी देखिएको मुटु तर्फ १२ चोट देखिएको, बायँपट्टिको करंग ६ वटा काटिएको, आन्द्रा भुँडी समेत १ फिट उत्तरमा छरिएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    धेरै काटिएको घाउ भई रगत बगेर मृत्यु भएको भन्ने लास जाँचको रिपोर्ट ।

५.    बासुले कविन्द्रलाई कुट्न जाउँ भनेकोले म, शहरध्वज र राजकुमार बासुको पछि लागेको, बासु कविन्द्र सुत्ने कोठामा गए, म तल कुलामा र म भन्दा माथि केही पछाडि शहरध्वज थिए, कोठामा भ्वाक्क गरेको आवाज सुनें, वासुले कविन्द्रलाई काटेछन्, कविन्द्र टाउको बांगो पार्दै तल झरे, म र शहरध्वज छेक्न कुद्यौं, राजकुमार एकापट्टिबाट कुद्यो, वासु कविन्द्रको पछि पछि खुकुरी लिएर कुदे । अगाडि साँगुमा कविन्द्र लड्यो बासुले ३/४ पटक खुकुरीले काटे, शहरध्वजले ४/५ पटक काटे होला, मैले वासुको हातको नांगो खुकुरीले ५/६ चोटी ढाड पट्टी काटेको, राजकुमारले काटेनन्, रगत लागेको सर्ट खोलामा ढुंगाले थिची राखेको हो भन्ने समेत प्रहरी समक्ष भएको फनिनाथ बन्जाराको बयान ।

६.    कविन्द्र सुतेको ठाउँमा राजकुमारले टेबुलमा लाइट राखी निस्क्यो, म गई खुकुरीले कविन्द्रको घाँटीमा कान छेउमा प्रहार गरे कविन्द्र जुरुक्क उठी बाहिर निस्क्यो, म हातमा भएको खुकुरी लिई पछि लागें, फनिनाथ र शहरध्वज पहिले हामी आएकै बाटो गरी फर्केर गए, केही तल पुग्दा कुलो छेउमा कविन्द्र लडेपछि मैले ३ चोटी घाँटी तिर काटेको याद छ त्यसपछि कति काटें याद भएन, मेरो खुकुरी फनिनाथले लिएर काट्यो, त्यसपछि शहरध्वजले आफैंले भिरेको खुकुरीले कविन्द्रलाई काटेको हो, राजकुमारले काटेनन् भन्ने समेत प्रहरी समक्ष भएको वासुदेव न्यौपानेको बयान ।

७.    वासुले कविन्द्रलाई कुट्न जाउँ भनी म, शहरध्वज, फनिनाथलाई भनेका, म टर्च लिएर माथि चढेँ टर्च त्यही रहेको टेबुलमा राखी म पिसाब गर्न बाहिर निस्केको अवस्था कविन्द्र कोठामा प्रवेश गरे, छ्याप्प गरेको आवाज आएपछि कविन्द्र मुण्टो बांगो पार्दै कुदे, निजको पछि नांगो खुकुरी लिएर वासु कुदे, कुलोको बाटो हुँदै फनि, शहरध्वज र म कुदेउँ । घटनास्थलमा पुगी कविन्द्र लडे पछि छ्याप्प गरेको आवाज सुनें, फनिनाथ र शहरध्वज पछाडि नै थिए, त्यसपछि म पनि घटनास्थलमा पुग्दा शहरध्वजले काट्दै थिए, मैले कुटेको छैन भन्ने समेत प्रहरीमा राजकुमार श्रेष्ठको बयान ।

८.    वासु कविन्द्र सुतेको घरभित्र पसी काटेछन् म र बन्जारा तल बस्यौं, कविन्द्रलाई चोट लागेपछि निज कुद्दै तल झरे, वासु पछि पछि हातमा खुकुरी लिएर झरे, त्यहाँबाट म र बन्जारा खोलाको डिल हुँदै कविन्द्रलाई छेकारो मा¥यौं, वासुले धेरै ठाउँ काटे, मैले २ पटक खुकुरी प्रहार गरे, बन्जाराले ३ पटक हिर्काए, राजकुमारले हात समेत लगाएनन् भन्ने समेत प्रहरी समक्ष शहरध्वज लिम्बूको बयान ।

९.    ०४६ वैशाख १५ गते दिनको अ.४ बजे देवर बासुदेव नांगो खुकुरी बोकेर पानी लाउन भनी घरबाट जानुभएको अं. ११।१२ बजे आउनु भयो, खुकुरी कहाँ राख्नु भयो मलाई थाहा भएन भन्ने समेत भिमकुमारी न्यौपानेले गरी दिएको कागज ।

१०.    मृतक कविन्द्र मेरो मिलमा काम गर्दथे, निजलाई सो दिन अं. ३ बजे बोका लिएर जाउ भनी पठाई म फिदिममा बसेको भोलिपल्ट घर जाँदा चौतारीमा हरिप्रसाद श्रेष्ठसंग भेट भई निजले कविन्द्रलाई काटी मारेर फालेछ भनेपछि निज समेत गई जाहेरी गरेका हौं भन्ने समेत गोपालप्रसाद न्यौपानेको कागज ।

११.    मृतक कविन्द्र हाम्रो घरमा काम गर्ने र मिलमा बस्ने हुँदा घरमा आउने जाने गर्दथे मृतकलाई वासुदेव न्यौपाने, राजकुमार श्रेष्ठ, फनिनाथ बन्जारा र तूम्वापो साईला भन्ने शहरध्वज लिम्बू सावित भएका हुनाले निजहरुले काटी मारेकोमा विश्वास लाग्दछ भन्ने समेत निर्मला न्यौपानेको कागज ।

१२.   ०४६।१।१५ गते दिन मेरो छोरा वासुदेव म संग थिए, ४ बजेतिर क्यामाड्डदिङमा पानी रुग्न पठाएको राती कति बेला घरमा आए म भन्न सक्दिन । मेरो छोरा वासुदेव न्यौपाने, फनिनाथ बन्जारा, राजकुमार श्रेष्ठ र तूम्वापो साइलो भन्ने शहरध्वज लिम्बू भई काटी मारेको भनी निजहरुले दिएको साविती बयानबाट मलाई पूर्ण विश्वास लाग्दछ भन्ने समेत कर्णाखर न्यौपानेले सरजमीन डोरमा गरेको कागज ।

१३.   मृतक कविन्द्र मेरो मिलमा काम गर्ने, मैले किनेर ल्याएको नेशनल पानासोनिक रेडियो कविन्द्रलाई बजाउन दिएको थिएँ । ०४६ वैशाख १५ गते छोरा गोपाल कविन्द्र फिदिम गएको अं. ५ बजे कविन्द्र आए, अं. ९ बजे राती कविन्द्र मिलमा गए, १६ गते बिहान भागिमानको श्रीमती धान कुटाउन आएकी कविन्द्र छैन भनी आएपछि खोज्दा कविन्द्रको काकाले लाश देखेका हुन् । पक्राउ परेका वासुदेव, फनिनाथ, राजकुमार र शहरध्वजले साविती बयान दिएकोले निजहरुले मारेकोमा विश्वास लाग्छ भन्ने समेत दुर्गाप्रसाद न्यौपानेको कागज ।

१४.   २०४६।१।१६ गते म धान कुटाउन मिलमा गएको, मिल मालिकले कविन्द्रलाई बोलाई ल्याउनु भनेकोले बोलाउन जाँदा बोलेनन्, ढोका खुलै थियो, भित्र ओछ्यानमा नदेखेकोले मिलमा खबर गरेको र कविन्द्रको घरमा खबर गरेको हो समेत भन्ने नैनकला श्रेष्ठको कागज ।

१५.   ०४६।१।१५ गते राती करिब १० बजे तिर वासु मेरो घरमा जाँड खाएर गएको थियो भन्ने समेत हरिलाल श्रेष्ठको कागज ।

१६.    देखाइएको टर्च लाइट मेरै छोराको हो, यो लाइट निजसंग हुन्थ्यो भन्ने समेत कुलप्रसाद श्रेष्ठको कागज ।

१७.   देखाइएका प्रतिवादीहरु वासु, फनिनाथ, राजकुमार र शहरध्वजको चाल चलन खराब थियो, निजहरुको साविती बयानको आधारमा निजहरुले कविन्द्रलाई काटी मारेकोमा पूर्ण विश्वास लाग्दछ, कर्णाखरले सो अपराध गरेकोमा विश्वास लाग्दैन भन्ने समेत एकै मिलानको सरजमीन मुचुल्का ।

१८.   प्रतिवादीहरु वासुदेव न्यौपाने, फनिनाथ बन्जारा र तुम्बापो साइला भन्ने शहरध्वज लिम्बूले खुकुरीको प्रहार गरी मृतक कविन्द्रलाई काटी मारेको हुँदा ज्यानसम्बन्धीको १३(१) नं.अनुसार सजायँ हुन र प्रतिवादी राजकुमार श्रेष्ठले कविन्द्रलाई कुनै हात हतियार समेत नछाडि कुटपीट समेत नगरी बाटो गौडा छेक्ने र भाग्न उम्कन नपाउने गरी कविन्द्रलाई मार्ने संयोग पारी दिएको हुँदा निज उपर १७(२) अनुसार सजायँ हुन र जाहेरीमा पोल परेका कर्णाखर न्यौपानेलाई मात्र जाहेरीको आधारमा शंकाको भरमा मुद्दा चलाउन प्रमाण नपुग्ने हुँदा हाजिर जमानीमा छाडिएको भन्ने समेत प्रहरी प्रतिवेदन ।

१९.    ०४६।१।१५ गते दिन भरी म हलो जोतेर बेलुकी खाना खाई आफ्नै घरमा सुतेको हुँदा मृतक कविन्द्रलाई म समेत भई कर्तव्य गरी मारेको होइन, प्रहरीमा कुटपीट गरी मैले नभनेको व्यहोरा लेखी सहिछाप गराएको हो, देखाइएको स्वीटर मेरो हो, त्यसमा रगत लागेको नभई घाँस काट्दा काभ्रोको चोप लागेको हो भन्ने समेत फनिनाथ बन्जाराले अदालतमा गरेको बयान ।

२०.   ०४६।१।१५ गते दिन भरी खेतमा काम गरी अं. ४ बजे पानी फिराउन गई बेलुकी १० बजे घरमा खाना खाई सुतेको, कविन्द्रलाई म समेत भई काटी मारेको होइन, प्रहरीमा कुटपीट गरी कागजमा सहिछाप गराएको हो भन्ने समेत प्रतिवादी वासुदेव न्यौपानेले अदालतमा गरेको बयान ।

२१.   ०४६।१।१५ गते लिलानाथ न्यौपानेको खेत जोती आली लगाई बेलुकी लिलानाथ कै घरमा सुतेको, म समेतले कविन्द्रलाई कर्तव्य गरी मारेको होइन, प्रहरीमा कुटपीट गरेकोले ज्यान बचाउन निजहरुले लेखेको कागजमा सहिछाप गरी दिएको हो भन्ने समेत प्रतिवादी शहरध्वज तुम्वापोको अदालतमा भएको बयान ।

२२.   ०४६।१।१५ गते म गोपाल न्यौपानेको खेतमा दिन भरी जोती बेलुकी अं. ६ बजे घर आई भात खाई सुतेको, कविन्द्र श्रेष्ठलाई म समेत भई कर्तव्य गरी मारेको होइन, प्रहरीमा कुटपीट गरी सही गराएका हुन भन्ने समेत प्रतिवादी राजकुमार श्रेष्ठको अदालतमा भएको बयान ।

२३.   सरजमीनका मानिसहरु सोमनाथ न्यौपाने, लिलानाथ न्यौपाने, नरेन्द्रप्रसाद न्यौपाने, देवीबहादुर श्रेष्ठ मनोरथ न्यौपाने, श्यामप्रसाद न्यौपाने, हरीप्रसाद न्यौपाने, जाहेरवाला हरिप्रसाद श्रेष्ठको बकपत्र ।

२४.   प्रतिवादी राजकुमार श्रेष्ठको साक्षी पद्यलाल श्रेष्ठ, प्र.वासुदेव न्यौपानेको साक्षी चन्द्रप्रसाद न्यौपाने, दलबहादुर तामांग, ज्ञाननाथ न्यौपानेको बकपत्र ।

२५.   प्रतिवादीहरुले प्रहरी प्रतिवेदन दावी बमोजिम आरोपित कसूर गरेको ठहर्छ । कविन्द्रलाई मार्ने योजना बनाई गएको नभई कुट्न सम्म गएको देखिंदा १० वर्ष मात्र सजायँ हुनुपर्ने राय व्यक्त गरेको भन्ने समेत पाँचथर जिल्ला अदालतको मिति २०४६।६।१३।६ को फैसला ।

२६.   प्रतिवादीहरु वासुदेव न्यौपाने, फनिनाथ बन्जारा र शहरध्वज लिम्बूलाई सर्वश्वसहित जन्मकैद हुने ठहराएको पाँचथर जिल्ला अदालतको फैसला र घटी सजायँ हुनुपर्ने भन्ने राय मनासिब ठहर्छ भन्ने समेत पुनरावेदन अदालत, विराटनगरको २०४८।९।८।२ को फैसला ।

२७.   यस अदालतमा साधकको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको इन्साफ मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

२८.   निर्णयतर्फ विचार गर्दा यस्मा प्रतिवादीहरु बासुदेव न्यौपाने, फनिनाथ बन्जारा र शहरध्वज लिम्बूलाई मृतक कविन्द्र श्रेष्ठलाई खुकुरीले काटी मारेको अभियोगमा ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायँ गर्ने गरी पाँचथर जिल्ला अदालतबाट फैसला भएको र सोही फैसला पुनरावेदन अदालत विराटनगरले साधकको रोहबाट हेरी मनासिब ठहर गरेको रहेछ । प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरु अध्ययन गर्दा मृतक कविन्द्र श्रेष्ठको लाश ०४६।१।१६ गते बिहान फेला परेको, सो लाशको विभिन्न भागमा धारिलो हतियारले काटिएको धेरै चोटको साथै आन्द्रा भुँडी समेत निस्किएर छरिएको भन्ने लाश प्रकृति मुचुल्का र धेरै काटिएको घाउ भई रगत बगेर मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदनबाट देखिन्छ । उपरोक्त लाशको प्रकृति र लाश जाँच प्रतिवेदनबाट मृतक कविन्द्रको मृत्यु धारिलो हतियारको घातक प्रहारबाट भएकोमा विवाद देखिएन ।

२९.   मृतक कविन्द्र, को कसको कर्तव्यबाट मरेको भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीहरु उपर किटानी जाहेरी परेको, निज प्रतिवादीहरु वासुदेव न्यौपाने, फनिनाथ बन्जारा तथा शहरध्वज लिम्बूले अधिकार प्राप्त अधिकारी समक्ष कुखुरा र पेन्ट चोरेको भन्ने कुरामा रिस उठी कविन्द्रलाई कुटन भनी हिडेको, निज मृतक कविन्द्र सुतेको कोठाभित्र वासुदेव घाँटीमा खुकुरीले हानेपछि मृतक कोठाबाट निस्की भागेको र निज लडेपछि तीनै जना प्रतिवादीहरुले खुकुरीले हानी काटेको भनी एकै मिलानको घटनाक्रम उल्लेख गरी साविती बयान गरेको पाइन्छ । निज प्रतिवादीहरुको साविती बयान लाश प्रकृति मुचुल्काबाट पनि पुष्टि भइरहेको देखिन्छ भने प्रतिवादीहरु वासुदेव न्यौपाने र शहरध्वज लिम्बूको घरबाट निजहरुको बयानमा उल्लेख भए बमोजिम खुकुरी पनि बरामद भई आएको छ । प्रतिवादीहरु अदालतमा आई बयान गर्दा आरोपित कसूरमा इन्कार रहेका छन् । प्रतिवादी वासुदेव न्यौपानेले आफ्नो इन्कारी बयानमा वारदातको दिन अर्थात २०४६।१।१५ गते आफू दिनभरी खेतमा काम गरी ४ बजेतिर पानी फिराउन कुलोमा गएको र त्यहाँबाट १० बजे घर आई खाना खाई सुतेको भन्ने उल्लेख गरेका छन् तर प्रहरीमा कागज गरिदिने हरिलाल श्रेष्ठले सो दिन राती करिब १० बजेतिर बासू निजको घरमा जाँड खाएर गएको भन्ने लेखाई दिएबाट प्रतिवादी वासुदेव न्यौपानेको इन्कारी बयान विश्वास लायक देखिएन । प्रतिवादीहरुका साक्षीले पनि निजहरुले कविन्द्रलाई कर्तव्य गरी मारेको होइन भनी स्पष्ट रुपमा बकपत्र गरिदिएको देखिँदैन । यस स्थितिमा किटानी जाहेरी दर्खास्त, लाश प्रकृृति मुचुल्का, अख्तियार प्र्र्र्र्राप्त अधिकारी समक्ष भएको प्रतिवादीहरुको बयान, सरजमीन मुचुल्का समेतका प्रमाणबाट निज प्रतिवादीहरु वासुदेव न्यौपाने, फनिनाथ बन्जारा र शहरध्वज लिम्बूले खुकुरीले प्रहार गरी मृतकलाई मारेको प्रमाणित हुन आएको हुनाले निजहरुलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पाँचथर जिल्ला अदालतको निर्णय मनासिब ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिंदा साधक सदर हुने ठहर्छ ।

३०.   प्रतिवादीहरुलाई अ.बं. १८८ नं.बमोजिम घटी सजायँ हुनुपर्ने भन्ने शुरु र पुनरावेदन अदालतको राय सम्बन्धमा हेर्दा प्रतिवादीहरु मृतकलाई कुट्न जाने योजना बनाई गएको भन्ने मिसिल संलग्न निजहरुको अख्तियार प्राप्त अधिकारी समक्ष भएको बयानमा उल्लेख भएको छ । निजहरुको योजना कुट्ने सम्म मात्र सीमित भएको, मृतकलाई मार्ने मनसायले निजहरु गएको र कुटपीट गरेको भन्ने कहीं कतैबाट खुल्न आएको देखिँदैन । मृतकसंग प्रतिवादीहरुको मार्नु पर्ने सम्मको रिस इवी रहेको पनि मिसिलबाट देखिँदैन । कुखुरा र पैन्ट चोरेको भनेको सम्म सामान्य रिसइवी रहेको भन्ने प्रतिवादीहरुको बयानमा उल्लेख भएको छ । प्रतिवादीहरुलाई सजायँ गर्दा अपराधको मात्रालाई ध्यान दिनुपर्ने हुन्छ । अपराधको मात्रा निर्धारण गर्नमा प्रतिवादीहरुको अपराध मनसायले गहन भूमिका खेल्ने समेत हुन्छ । अतः प्रतिवादीहरुको मृतकलाई मार्ने सम्मको मनसाय भएको देखिन नआएको स्थितिमा निजहरुलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा १० वर्ष मात्र कैद गर्नुपर्ने भनी शुरु र पुनरावेदन अदालतबाट व्यक्त भएको राय समेत मनासिब ठहर्छ । प्रतिवादीहरु वासुदेव न्यौपाने, फनिनाथ बन्जारा र शहरध्वज लिम्बूका नाममा कसिएको सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी १० वर्ष कैदको लगत कस्न शुरु जि.अ.मा लेखि पठाउन का.जि.अ.त. मा लगत दिनु । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत् २०४९ साल कार्तिक २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु