निर्णय नं. ८५८४ - लिखत दर्ता बदर दर्ता ।

निर्णय नं. ८५८४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
संवत् २०६४–CI–०२७८
फैसला मितिः २०६७।१०।१७।२
मुद्दा : लिखत दर्ता बदर दर्ता ।
पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका वडा नं. १३ बस्ने सुरज बडही
विरूद्ध
प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने समरिया बडहिनी समेत
शुरू फैसला गर्ने :–
मा.न्या.श्री कुमारप्रसाद पोखरेल
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.डा.हरिवंश त्रिपाठी
मा.न्या. श्री दिनेशकुमार कार्की
§ पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउनेले अचल सम्पत्ति बिक्री गर्नु पर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मञ्जूरी लिनुपर्ने ।
§ आफ्नो समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दा मुनिको दोस्रो वा तेस्रो पुस्ताका अंशियारहरूको पनि सहमति वा मञ्जूरी लिनुपर्ने भन्ने अंशबण्डाको १९ नं. को देहाय १ र २ एवं लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाको प्रयोजन र उद्देश्य नभएको ।
(प्रकरण नं.३)
§ ऐनको व्याख्या सहज, स्वाभाविक र व्यवहारिक ढङ्गले गर्नुपर्छ । ऐनमा प्रयुक्त शब्दहरूको अर्थ ऐनको उद्देश्यमा निहीत हुन्छ । ऐनको उद्देश्य र आसयविपरीत ऐनमा प्रयुक्त शब्दको अर्थलाई अनावश्यक किसिमले तन्काउनु वा विस्तारित गर्नु कानूनसम्मत र न्यायोचित नहुने ।
(प्रकरण नं.४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल
प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ताहरू श्री रामशंकर प्रसाद धामी र श्री बालमुकुन्द श्रेष्ठ
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अंशबण्डाको १९ नं.
§ लेनदेन व्यवहारको १० नं.
फैसला
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।३१ को फैसलाउपर पुनरावेदक प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :–
मूल पुरुष स्वर्गीय दशरथ ठाकुरका ३ भाई छोराहरूमा जेठा प्रतिवादी भरोसी ठाकुर, माहिला गंगा ठाकुर तथा कान्छा जामुन ठाकुर हुनुहुन्छ । हामी फिरादीहरू विपक्षी भरोसी बडहीको २ श्रीमती र ५ छोरा हौँ । विपक्षी बुवा पति र काका देवर गंगा र जमुना ठाकुर २०२८ साल वैशाखदेखि चुलो मानो अलग गरी बस्ने भए पनि कानूनबमोजिम अंशबण्डा भएको छैन । गंगा र जमुना २०२८ सालदेखि मानो छुट्टयाई बसेको तथ्यलाई हामी स्वीकार गर्दछौँ । २०५३ साल मंसिर १ गते मानो छुट्टिएको व्यहोरा दर्साई छुट्टै अंश मुद्दा दर्ता गरिसकेका छौं । विपक्षी बुवा भरोसी ठाकुर बडहीले सगोलको हाम्रो समेतको अंश लाग्ने जग्गा बिक्री गर्दा हामी समेतको मञ्जूरी लिई मात्र बिक्री वा अरु कुनै किसिमले हक छाडी दिन मिल्ने कुरा प्रष्ट छ । बुवाले आफ्ना नाउँमा दर्ता रहेको जिल्ला महोत्तरी, धवौली गाउँ पञ्चायत वडा नं. १ हाल जलेश्वर नगरपालिका वडा नं. १३ कि.नं. ९१२ को ०–०–१८ जग्गा हाम्रो समेत मञ्जूरी नलिई मिति २०५९।३।११ का दिन राजीनामा पारित गरी दिनु भएकोले हाम्रो हक जति बदर गर्न पाउने हाम्रो कानूनी अधिकार रहेकोले विपक्षी बुवाको अंश हक ०–०–६.१/२ मध्ये पूर्वतर्फबाट ८ खण्डको ७ सात खण्ड विपक्षी सुरजको नाममा भएको दर्ता समेत बदर गरी हाम्रो नाउँमा संयुक्त दर्ता गरिपाऊँ भन्ने समेत वादीको फिराद पत्र ।
वादीहरू र प्रतिवादी भरोसी ठाकुर एकासगोलमा नै छन् । निजहरूकोबीच अंशबण्डा भएको छैन । वादीहरूले प्रतिवादी सूरुज बडहीलाई हैरान गर्ने उद्देश्यबाट मुद्दा दिएका हुन । २०५३ सालमा वादीहरू प्रतिवादी भरोसी ठाकुरसँग मानो छुट्टिएको भनी मिलुवा प्रतिउत्तर लगाएको कुरा वादी दावी स्वीकार गरेपनि मैले पनि गराई लिएको राजीनामा बदर गराउने वादीहरूको कानूनी आधार बन्दैन । मैले गरे गराएको राजीनामा रजिष्ट्रेशन भएको जग्गाको मूल अंशियारहरू उक्त लिखतमा मञ्जूरी साक्षी छन् । झूठा एवं कानूनविपरीत दावीबाट फुर्सद गराई पाऊँ भन्ने सुरज बडहीको प्रतिउत्तर पत्र ।
विपक्षी वादीले आफ्नो फिरादपत्रमा उल्लेख गरेको जग्गा फिराद दावीअनुसार सो जग्गाको पारित भएको लिखत बदर हुनुपर्ने होइन, छैन । उक्त जग्गा निजी आर्जनको हो । सो जग्गामा विपक्षीको अंश हक नलाग्ने हुँदा मञ्जूरी लिनु पर्ने वा मञ्जूरी साक्षी राखी लिखत पारित गर्नुपर्ने कुरै आएन । हकदैयाविहीन फिराद दावीबाट मलाई इन्साफ पाऊँ भन्ने प्रतिवादी भरोसी ठाकुर बडहीको प्रतिउत्तर पत्र ।
दिने भरोसी ठाकुर र लिने सुरज बडही भएको मिति २०५९।३।११ को र.नं. १२३३० को पारित राजीनामाको लिखत बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत महोत्तरी जिल्ला अदालतबाट मिति २०६२।३।२० मा भएको फैसला ।
हाम्रो पनि मञ्जूरी लिई साक्षीमा राखी बिक्री गर्नुपर्नेमा सो नगरी भएको बिक्री नै गैरकानूनी रहेको कुरा प्रष्ट रुपमा प्रमाणित हुँदाहुँदै पनि सो बिक्रीलाई बदर नगरी शुरु महोत्तरी जिल्ला अदालतबाट मिति २०६२।३।२० मा भएको फैसला गलत एवं गैरकानूनी हुँदा बदर उल्टी गरी शुरु दावीबमोजिम लिखत बदर हुने गरी हक इन्साफ प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
यसमा लेनदेन व्यवहारको १० नं. विपरीत अनुमानको आधारमा शुरु महोत्तरी जिल्ला अदालतबाट फैसला भएको देखिँदा उक्त नं. को व्याख्याको परिप्रेक्ष्यमा शुरु फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०६३।५।५ गते भएको
आदेश ।
राजीनामा पारित भएको जग्गा सगोलको सम्पत्ति भएको र पुनरावेदक वादीहरूको अंशियार हक भएको र लिखत पारित गरी दिनलाई प्रत्यर्थी प्रतिवादी भरोसी बडही सगोलको अंशियार रहेका र सगोलको सम्पत्तिमा पुनरावेदक वादीहरूको अंशियार हक भएको लिखत पारित गरी दिनलाई प्रत्यर्थी प्रतिवादी भरोसी बडहीले आफूखुश गर्न पाउने कुरा प्रमाणित गर्न नसकेकोले आफूखुश गर्न नपाउने जग्गा राजीनामा पारित गरिदिँदा लेनदेन व्यवहाराको १० नं. बमोजिम फिरादीहरूको समेत मञ्जूरी लिनु पर्नेमा फिरादीहरूको मञ्जूरी लिएको नदेखिँदा फिरादीहरूको अंश हक जतिमा लिखत बदर गर्नुपर्नेमा लिखत बदर गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याई महोत्तरी जिल्ला अदालतले मिति २०६२।३।२० मा गरेको फैसला नमिलेकोले उल्टी भै वादी दावीबमोजिम वादीहरूको अंश हक जतिमा लिखतको ३ भाग लगाई वादीहरूको पति पिताको भागमा पर्ने १ भागलाई ८ भाग लगाई ८ भागको ७ भाग लिखत दर्ता बदर भै वादीका नाममा दर्ता समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।३१ को फैसला ।
पुनरावेदन अदालत जनकपुरले शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फैसला गर्दा अंशबण्डाको १० नं. को व्याख्या गर्दा सोही महलको १९ नं. लाई पूर्ण उपेक्षा गरेको छ । मूल अंशियारहरूको बीचमा अंशबण्डा गर्न बाँकी रहेको अवस्थामा निज मूल अंशियारले मञ्जूरी दिएको र सो कुरालाई विपक्षीहरूले पनि स्वीकार गरेको अवस्थामा भरोसी बडहीका पत्नी, छोराहरूको मञ्जूरी आवश्यक पर्छ भन्ने तर्क कानूनसम्मत छैन । लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्था आफूखुश गर्न नसक्ने सम्पत्तिको हकमा मात्र लागू हुने हो । आफूखुश गर्न पाउने सम्पत्तिको हकमा अंशबण्डाको १९(१)(२) नं. लाई इन्कार गर्न सकिने होइन । विवादित जग्गा बिक्री गरेको र त्यसबाट रकम लिएको कुरालाई विपक्षीहरूले फिरादमा स्वीकार गरेका छन् । निजहरूको कथन त्यस्तो बिक्रीबापतको रकम आफूले नपाएको भन्नेसम्म हो । उक्त जग्गा व्यवहार चलाउनका लागि बिक्री गरेको कुरा निर्विवाद छ । विवादित जग्गा पैत्रिक भएको कुरामा विवाद नभएको अवस्थामा पैत्रिक जग्गाको हकमा आधासम्म व्यवहार चलाउन बिक्री गर्न सकिने व्यवस्था छ । बिक्री गरिएको जग्गा आधाभन्दा कम भएको अवस्थामा उक्त बिक्री बदर हुने अवस्था नहुँदा कानूनबमोजिम पारित गरिलिएको लिखत तथा सोको आधारमा भएको दर्ता समेत बदर हुने भनी पुनरावेदन अदालत जनकपुरले गरेको फैसला उल्टी गरी शुरु जिल्ला अदालतबाट भएको फैसला कायम सदर गरिपाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी भरोसी बडहीले घर खर्च गर्न सगोलको पैत्रिक सम्पत्ति बिक्री गरेको देखिए पनि अंशबण्डाको १९ नं. बमोजिम आधाभन्दा बढी बिक्री गरेको भन्ने नदेखिएको अवस्थामा दावीबमोजिम लिखत बदर गर्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।११।१८ को आदेश ।
यसमा पुनरावेदकको दाताले बिक्री गरेको सम्पत्ति निजको सम्पूर्ण जेथाको आधाभन्दा कम भएको भन्ने जिकीर हुँदा दाताको सम्पत्ति के कति हो, कति कति सम्पत्ति कहिले कहिले बिक्री भई के कति बाँकी हो सबै खुल्ने गरी अ.बं. १३३ नं. बमोजिम दुवै पक्षले खुलाउन सक्ने भए खुलाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।८।१३ को आदेश ।
भरोसी बडहीले बिक्री गरेको प्रस्तुत मुद्दाको ०–०–१८½ जग्गा छ । निजको नाउँमा जिल्ला महोत्तरी, धवौली गाउँ विकास समिति वडा नं. १ कि.नं. १४७ को क्षेत्रफल ०–०–१४ चौध धुर जग्गा बाँकी रहेकोमा भरोसीको दाजुभाइ बीच बण्डा हुँदा सो ०–०–१४ जग्गा भरोसीको भाई गंगा बडहीको अंशमा भइसकेको छ । भरोसी बडहीको अन्य के कति जग्गा छ मलाई जानकारी छैन भन्ने समेत व्यहोराको समरिया बडहीको वारेश रामपुकार महतोले मिति २०६७।९।९ मा यस अदालतमा गरेको कागज ।
भरोसी ठाकुर बडहीका नाममा महोत्तरी जिल्ला, धवौली गाउँ विकास समिति वडा नं. १ कि.नं. १४७ को ०–०–१४, कि.नं. ७६ को ०–०–११, कि.नं. ३९७ को ०–०–११½, कि.नं. ५६३ को ०–०–५ र कि.नं. ३६५ को ०–०–१३ ½ समेत ६ कित्ता जग्गाको जम्मा ०–२–७½ जग्गा भरोसी बडहीको नाममा आएको हो भन्ने समेत व्यहोराको सुरज बडहीको वारेस देवनारायण ठाकुरले यस अदालतमा गरेको कागज ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेलले यी पुनरावेदक सुरज बडहीले प्रतिवादी भरोसी ठाकुरबाट जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका वडा नं. १३ कि.नं. ९१८ को ०–०–१८ ½ जग्गा मिति २०४९।३।११, र नं. १२३३० बाट राजीनामा पारित गरी लिएको लिखतमा निजका अंशियार दुई भाईहरू साक्षी समेत बसेको अवस्था छ । अंशबण्डा नभएको अवस्थामा समान हाँगाका अंशियार साक्षी बसी हक हस्तान्तरण गरेको अवस्थामा तल्लो पुस्ताका आफ्नो हाँगा भित्रका अंशियारले बदरमा नालिस गर्न पाउने अवस्था हुँदैन । प्रतिवादी भरोसी ठाकुरका सगोलका समान हाँगाका अंशियार गंगा ठाकुर र जमुना ठाकुरको मञ्जूरी लिई जग्गा राजीनामा गरेको हो । यस्तो अवस्थामा प्रतिवादी भरोसीका श्रीमती र छोराहरूले लेनदेन व्यवहारको १० नं. को आधारमा आफ्नो भागको बदर गर्न माग गर्न पाउने होइन । लेनदेन व्यवहारको १० नं. आफैंमा स्वतन्त्र र पूर्ण कानूनी व्यवस्था होइन, यसलाई अंशबण्डाको १९ नं. सँग जोडेर हेर्नुपर्ने हुन्छ । अंशबण्डाको १९ नं. ले समेत यी प्रतिवादी भरोसी ठाकुरलाई ०–०–१८½ जग्गा बिक्री गर्न पाउने कानूनी अधिकार प्रदान गरेको छ । यस्तो अवस्थामा शुरुले गरेको फैसला उल्टाउने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी भई शुरु जिल्ला अदालतको फैसला सदर हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ताहरू श्री रामशंकरप्रसाद धामी र श्री बालमुकुन्द श्रेष्ठले यी पुनरावेदकले आफ्नो सम्पत्तिबाट आफ्ना श्रीमती छोरालाई अंश दिनु पर्नेमा विवाद छैन । निजका श्रीमती र छोराहरू निजको निर्बिवाद अंशियार भएको अवस्थामा आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई हक हस्तान्तरण गर्दा आफ्ना सामान हाँगाका भाइहरूलाई मात्र लिखतमा साक्षी राखी मञ्जूरी लिएर हुँदैन । समान हाँगाका भाईहरूको मञ्जूरी निजहरूको हिस्साको सम्पत्तिमा मात्र लागू हुन्छ । विवादित लिखतबाट हक हस्तान्तरण भएको जग्गामा यी वादीहरूको पनि अंश हक रहेकोले निजहरूको मञ्जूरी नभएपछि लेनदेन व्यवहारको १० नं. बमोजिम उक्त लिखत वादीहरूको अंश हकसम्म बदर हुन्छ । अंशबण्डाको १९ नं. ले समेत घर व्यवहार चलाउन आधासम्म बिक्री व्यवहार गर्ने छूट घरको मुख्य व्यक्तिलाई दिएकोमा प्रतिवादी भरोसीले बिक्री गरेको जग्गा आधाभन्दा बढी देखिएको छ । यसबाट पनि उक्त विवादित लिखतले कानूनी मान्यता पाउन सक्ने अवस्था छैन । लेनदेन व्यवहाराको १० नं. र अंशबण्डाको १९ नं. को कानूनी व्यवस्थाको विवेचना गरेर नै पुनरावेदन अदालतले उक्त विवादित लिखत बदर गरेको हो । प्रतिवादी भरोसीले बिक्री गरेको सम्पत्ति सबै आफूखुश गर्न पाउने नभएकोले लेनदेन व्यवहारको १० नं. बमोजिम आफ्ना अंशियार श्रीमती र छोराहरूको मञ्जूरी समेत नलिई गरेको लिखतले कानूनी मान्यता पाउन नसक्ने हुँदा पुनरावेदन अदालतको फैसला न्यायपूर्ण छ । उक्त फैसला सदर हुनुपर्छ भन्ने समेत बहस जिकीर गर्नुभयो ।
प्रस्तुत मुद्दाको पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी दुवैपक्षबाट प्रस्तुत भएको बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत जनकपुरबाट मिति २०६४।१।३१ मा भएको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी भरोसी ठाकुर दिने र प्रतिवादी सुरज बडही लिने भई महोत्तरी जिल्ला, जलेश्वर नगरपालिका वडा नं. १३, कि.नं. ९१२ को ०–०–१८½ जग्गा मिति २०५९।३।११, र.नं. १२,३३० बाट राजीनामा पारित भएको र सो राजीनामा लिखतमा प्रतिवादी भरोसी ठाकुरका भाईहरू गंगा ठाकुर र जमुना ठाकुर लिखत साक्षी बसेको देखिन्छ । निजहरू सगोलमा रहेभएको अवस्थामा घरको मुख्य भई व्यवहार गर्ने भरोसी ठाकुरले आफ्ना भाईहरूको मञ्जूरी लिई उक्त जग्गाको हक प्रतिवादी सुरज बडहीलाई हस्तान्तरण गरी बिक्री गरेको देखिन्छ । तर, प्रतिवादी भरोसी ठाकुरकी दुई श्रीमती र ५ छोराहरूले हाम्रो समेत अंश हक लाग्ने जग्गा हाम्रो मञ्जूरीबेगर पति पिताले बिक्री गरेको भनी आफ्नो भाग हिस्सामा पर्ने जग्गाको लिखत बदर गर्न माग दावी लिई लेनदेन व्यवहारको १० नं. बमोजिम फिराद गरेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा मुद्दा मूल पुरुष दशरत ठाकुरहरू मूल अंशियारहरू भरोसी ठाकुर र निजका भाईहरू गंगा ठाकुर र जमुना ठाकुर भएकोमा विवाद देखिँदैन । प्रतिवादी भरोसी ठाकुर सगोलको जेठो दाजु भएको र निजले विवादित जग्गा बिक्री गर्दा आफ्ना समान हाँगाका अंशियार भाईहरूको मञ्जूरी लिएर जग्गा बिक्री गरेको अवस्था छ । अंशबण्डाको १९ नं. को देहाय १ ले पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा अविवाहित छोरी वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुश गर्न पाउँछ । अचलमा आधिभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काईस वर्ष नाघेका स्वास्नी, छोरा अविवाहित छोरी र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ । मञ्जूरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी व्यवस्था गरेको छ । यस मुद्दाको प्रतिवादी र विवादित लिखतकर्ता भरोसी ठाकुर आफ्ना अन्य दुई भाईहरूसँग सगोलमा बसेको अवस्था हुनाले पहिलो चरणमा समान पुस्ताका यी तीन दाजुभाइबीचको अंश–हकको कुरा हुन्छ, त्यसपछि अर्को चरणमा मात्र अर्थात् यी वादीहरूले प्रतिवादी भरोसी ठाकुरको अंश हकबाट आफ्नो अंश हक पाउने हुनाले भरोसीको अंश भागको सम्पत्ति बिक्री गर्दा मात्र यी वादीहरूको मञ्जूरी वा सहमति लिने/नलिने वा लिए/नलिएको भनी हेर्नुपर्ने हुन्छ । यसरी पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउनेले अचल सम्पत्ति बिक्री गर्नु पर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मञ्जूरी लिनुपर्ने हुन्छ । आफ्नो समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दा मुनिको दोस्रो वा तेश्रो पुस्ताका अंशियारहरूको पनि सहमति वा मञ्जूरी लिनु पर्ने भन्ने अंशबण्डाको १९ नं. को देहाय १ र २ एवम् लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाको प्रयोजन र उद्देश्य होइन । यसर्थ यस सम्बन्धमा प्रत्यर्थी तर्फका विद्वान कानून व्यवसायीहरूको तर्कसँग सहमत हुन सकिएन ।
४. लेनदेन व्यवहारको १० नं. ले “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखूशी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मञ्जूरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जूरीको लिखत पनि नभए मञ्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्यो र निजको मञ्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनुपर्छ ...........” भनी गरेको व्यवस्थालाई पनि सोही परिप्रेक्ष्यमा हेर्नुपर्छ । तीन दाजुभाई छन् भने कुनै एकले व्यवहार चलाउन कुनै अचल सम्पत्ति बेचबिखन गर्दा अन्य दाजुभाई वा आमा, बाबुको सहमति वा मञ्जूरी लिनुपर्ने हो, सो बाहेक उक्त तीनै दाजुभाईका श्रीमती, छोरा, छोरी र फेरी छोराहरूको छोरा, छोरी श्रीमतीहरूको पनि सहमति वा मञ्जूरी लिनु पर्ने होइन भन्ने अंशबण्डाको १९ नं. र लेनदेन व्यवहारको १० नं. को आसय हो । यसको विपरीत अर्थ वा व्याख्या गर्न मिल्दैन । ऐनको व्याख्या सहज, स्वभाविक र व्यवहारिक ढङ्गले गर्नुपर्छ । ऐनमा प्रयुक्त शब्दहरूको अर्थ ऐनको उद्देश्यमा निहीत हुन्छ । ऐनको उद्देश्य र आसयविपरीत ऐनमा प्रयुक्त शब्दको अर्थलाई अनावश्यक किसिमले तन्काउनु वा विस्तारित गर्नु कानूनसम्मत र न्यायोचित हुँदैन ।
५. प्रस्तुत विवादमा प्रतिवादी भरोसी ठाकुरले आफ्ना समान हाँगाका अंशियारहरूको मञ्जूरी लिएकोमा विवाद छैन । सगोलका समान हाँगाका अंशियार भाइहरूले निजलाई विवादित जग्गा बिक्री व्यवहार गर्न मञ्जूरी दिएको तथ्यले पनि निज घरको जेठो दाजुको रुपमा घरको मुख्य भई व्यवहार गर्ने व्यक्ति भएको भन्ने देखिन आउँछ । त्यसमा पनि यी वादीहरूलाई अन्याय भयो वा वादीहरू निरअंशी भएकी भन्नेतर्फ विचार गर्दा प्रमाणको रुपमा पेश हुन आएको वादी गंगा बडही प्रतिवादी भरोसी ठाकुर भएको महोत्तरी जिल्ला अदालतको २०६६ सालको दे.नं. २९१ को अंश मुद्दामा सो अदालतमा मिति २०६६।९।१३ मा भएको मिलापत्रबाट प्रतिवादी भरोसी ठाकुरले विवादित लिखतबाट हक छाडी दिएको जग्गा निजको अंश भागमा पर्ने जग्गाको आधाभन्दा कम भएको देखिन आउँछ । यस्तो अवस्थामा प्रतिवादी भरोसी ठाकुरले आफ्नो अंश भागमा पर्ने आधाभन्दा कम जग्गाको बिक्री व्यवहार गरेको समेत देखिंदा यी वादीहरूको अंश हक अपहरित भएको भन्ने पनि देखिन आएन ।
६. तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट यी प्रतिवादी भरोसी ठाकुरले र.नं. १२३३० बाट मिति २०५९।३।११ मा प्रतिवादी सुरज बडहीलाई राजीनामा पारित गरिदिएको लिखत यी वादीहरूको कानूनबमोजिम पाउने अंशहकमा असर परेको देखिन नआएकोले सो लिखत बदर गर्नुपर्ने देखिन आएन । उक्त लिखत बदर गरिपाऊँ भनी पर्न आएको फिराद दावी पुग्न नसक्ने ठहर गरेको शुरु महोत्तरी जिल्ला अदालतको फैसला सदर गर्नुपर्नेमा सो फैसलालाई उल्टी गरी फिराद दावीबमोजिम लिखत बदर हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।३१ को फैसला कानूनको गलत व्याख्यामा आधारित रही नमिलेकोले उल्टी भई शुरु जिल्ला अदालतको मिति २०६२।३।२० को फैसला सदर हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।३१ को फैसला उल्टी भई वादी दावी नपुग्ने ठहरी फैसला भएकाले उक्त अदालतको सो फैसलाबाट कायम हुन आएको लगत कट्टा गर्नु भनी शुरु महोत्तरी जिल्ला अदालतमा लेखी पठाउनु ––––– –१
पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा र.नं. ७६४ बाट मिति २०६४।६।१३ मा रु.३४५।– धरौटी राखेको देखिएको र सो रकम निजले फिर्ता पाउने हुँदा निजले ऐनका म्यादभित्र सो रकम फिर्ता पाऊँ भनी दरखास्त दिए सो रकम निजलाई फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाउनू ––––––२
प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा मिति २०६४।६।१३ मा र.नं. ६७९९, बाट राखेको कोर्ट फी रकम रु.४५।– वादीबाट भराई पाउने भएकोले सो रकम वादीबाट भराई पाऊँ भनी ऐनका म्यादभित्र प्रतिवादीको निवेदन परे सो रकम निजलाई वादीबाट भराई दिनु भनी शुरु महोत्तरी जिल्ला अदालतमा लेखी पठाउनू –––––––३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ४
उक्त रायमा सहमत छु ।
न्या.तर्कराज भटृ
इति संवत् २०६७ साल माघ १७ गते रोज २ शुभम्
इजलास अधिकृत : श्रीप्रकाश उप्रेती