शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६०१ - जोत दर्ता

भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक:

निर्णय नं. ४६०१     ने.का.प. २०४९ ()  अङ्क ८

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४७ सालको दे.पु.इ.नं. १०१

फैसला भएको मिति: २०४९।८।२५।५ मा

विन्तिपत्रकर्ता/वादी: का.न.पं. वडा नं. १२ बस्ने भैरवमान महर्जन

विरुद्ध

विपक्षी/प्रतिवादी: गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौं

मुद्दा : जोत दर्ता

(१)    जग्गा जगन्नाथ गुठीको हो भन्नेमा विवाद छैन । उक्त जग्गामा वादीले घर बनाई बसी आएको पनि देखिन आएको छ । उक्त जग्गा मध्येकै जग्गामा न.नं. ५ मा ३ तले टायल छाना भएको घर रहे भएको नक्शाबाट देखिएको छ । उक्त घर नापी हुँदाकै बखतमा भएको पनि नक्शाबाट प्रष्ट हुन्छ । उक्त घर गुठी संस्थानले बनाएको भन्ने प्रमाण कही कतैबाट देखिन आउँदैन । जब गुठी संस्थानले त्यो घर बनाएको छैन र त्यहाँ घरबार बनाई वादी बसी आएको छ भने विन्तिपत्रवालाका बाबुले सो घर बनाएको होइन भनी अनुमान गर्न नमिल्ने ।

(प्रकरण नं. १७)

(२)   गुठी लगतमै दर्ता नभएको गुठीलाई राजगुठी मान्न नमिल्ने ।

(प्रकरण नं. १७)

(३)   गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त ऐन आए पश्चात पनि जोताहामा वादीको बाबुकै नाम कायम रही विवादित घर जग्गा समेत वादीले नै भोग गरी कमाई आएको अवस्थामा त्यसरी बाबुको मृत्यु पश्चात निजको जोताहा हक निजको छोरामा सर्दैन भन्ने अर्थ गर्न कानुन न्याय एवं विवेकले समेत नमिल्ने ।

(प्रकरण नं. १७)

वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

फैसला

न्या.गजेन्द्रकेशरी वास्तोला

१.     यस अदालत संयुक्तइजलासबाट मिति २०४५।४।९ मा फैसला भएको प्रस्तुत मुद्दा पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी बक्स भई आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    का.जि. मखनटोल बस्ने भावसिंह प्रधानले का.जि. टेकूमा श्री जगन्नाथजीको मन्दिर बनाई मूर्ति स्थापना गरी नित्यपूजा चलाउन जग्गा समेत गुठी राखी पूजा चलाउने व्यवस्था गर्नु भएको, निजको सन्तान चन्द्रमान प्रधानले मेरो पिता भुयुचा भन्ने आशामान महर्जनलाई उक्त गुठी जग्गामा पक्की घर बनाउन दिई मोही कायम गरेको सो जग्गा र घर समेत सर्भे नापी हुँदा का.न.पं. वार्ड नं. २(क) कि.नं. ३९ क्षेत्रफल ७० भई जोताहामा पिता आशामान महर्जन भई किसानको महलमा जगन्नाथमा तिरो तिरी खाएको भन्ने लेखाई जोताहाको प्रमाणपूर्जा प्राप्त गरेकोमा मेरो पिता २०२९ सालमा परलोक भएको हुँदा उक्त घरजग्गा पिताको नाउँबाट जोत नाउँसारी गरिपाउँ भनी भू.सु.का. काठमाडौंमा निवेदन गर्दा पिताको नाउँका जोताहा लगत कट्टा भई गुठी संस्थानको नाउँमा जोत कायम भइसकेको छ भन्ने जवाफ दिएका हुँदा के कुन कारणले मेरो पिताको नाउँको जोताहा हक कट्टा गरी गुठी संस्थानको नाउँमा सो हक कायम गरेको हो मलाई कुनै थाहा नभएको उक्त कार्यालयले मेरो कानुनी हक वञ्चित गरेको हुँदा प्रमाण बुझी मेरा नाउँमा नाउँसारी गरी जोताहा प्रमाणपत्र दिलाई दिनु भन्ने जि.का.काठमाडौंका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको २०३८।२।१९ को भैरवमान महर्जनले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए भू.सु.का. र गुठी संस्थान समेत बुझी निवेदकको मोहियानी लगत कट्टा भएको हो भने के कारणबाट लगत कट्टा भएको रहेछ, यथार्थ विवरण खुलाई सरकारमा जाहेर हुन चाँडो प्रतिवेदन जाहेर गर्नुहोला भन्ने मिति २०३९।२।१३ को जि.का.काठमाडौंका नाउँमा आदेश भएको ।

३.    भू.सु.का.काठमाडौं र गुठी संस्थान के.का.बुझी सो कार्यालयहरुले विवरण खुलाई पठाएको विवरण जि.का. काठमाडौंले २०३८।३।१८ मा जाहेर गरेकोमा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए बाबुको नाउँका जोताहा हक नामसारी गरिपाउँ भन्ने तर्फ जो बुझ्नु पर्ने बुझी कानुन बमोजिम निर्णय गरी नतिजा जाहेर गर्नु निवेदकलाई जनाउ दिनु भन्ने वा.अं.अ. का नाउँमा २०३८।११।१९।३ को हुकुम प्रमांगी बक्स भई आएको ।

४.    मलाई गुठी संस्थान र भू.सु.का. काठमाडौंले अन्याय गरेको व्यहोरा विन्तिपत्रमा उल्लेख गरी सकेको छु । उक्त निवेदनमा लेखिए बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको भैरवमान महर्जनको बयान ।

५.    का.न.पं. वार्ड नं. २२(क) कि.नं. ३९ का ७० जग्गा यस कार्यालयको श्रेस्तामा मोही भुयुजा भन्ने आशामान महर्जनको नाउँमा देखिएको र निजको नाउँ कट्टा भएको नदेखिएको निवेदकले नामसारी गर्ने दर्खास्तका मितिमा दिएको उल्लेख गर्न नसकेकोले उक्त जग्गा भुयुचा भन्ने आशामान कै नाउँमा कायमै रहेकोले वादी दावी खारेज गरिपाउँ भन्ने समेत महान्यायाधिवक्ताको कार्यालय मार्फत भू.सु.का. काठमाडौंको लिखितजवाफ ।

६.    उजूर लेखाई झुठ्ठा हो, २०२९ सालमा निजको बाबु परलोक भइसकेको र सो समयमा गुठी अधीनस्थ जग्गामा जग्गा कमाउने मोहीको हक प्राप्त नै नहुने भएबाट बाबुले नपाएको हक उजूरवालाका नाममा जोत नामसारी हुनु पर्ने वा निजलाई जोताहाको प्रमाणपत्र दिलाउनु पर्ने समेत होइन भन्ने समेतको गुठी संस्थान के.का.को प्रतिउत्तरपत्र ।

७.    भू.सु.कार्यालयको श्रेस्तामा मोहियानीमा वादीका बाबुको नाउँ कायम भइरहेको फिल्डबुक उतारमा जोताहा भुयुचा भन्ने आशामानको नाम लेखिएको गुठी संस्थान ऐन, २०२९ खारेज भई लागू हुन आएको गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ भन्ने व्यवस्था भएको हुँदा वादीका बाबुको नाउँमा भू.सु.का. श्रेस्तामा कायम रहेको मोहियानी वादीको नाममा नामसारी गरिपाउने ठहर्छ भन्ने समेत व्यहोराको २०४१।१।६ को वा.अं.अ.को फैसला ।

८.    वा.अं.अ.ले सबूद प्रमाणको मूल्यांकन नगरी अन्यायपूर्ण फैसला गरेको हुँदा सो फैसला उल्टाई न्याय पाउँ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतमा गुठी संस्थान तर्फबाट पर्न आएको पुनरावेदनमा अ.बं. २०२ नं. र क्षे.अ.नियमावली, ०३६ बमोजिम छलफल निमित्त विपक्षी झिकाउने भन्ने समेत व्यहोराको २०४१।९।२३ को मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको आदेश ।

९.    विवादित जग्गाको श्री जगन्नाथको गुठी अधीनस्थको बगैंचा फुलबारी जग्गा भएको र वादीले कूत बुझाई मोहियानीमा कमाई आएको भन्ने देखिएन । गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले यो ऐन प्रारम्भ हुँदाका बखत संस्थानको स्वीकृति नलिई कसैले गुठी जग्गामा घर बनाई सकेको रहेछ भने त्यस्तो जग्गा संस्थानले तोके बमोजिम दस्तूर लिई मोहियानीमा दर्ता गरी दिन सक्नेछ भन्ने व्यवस्था गरी दिएकोबाट वादी तर्फबाट घर बनाई सकेको जग्गा मोहियानीमा गुठी संस्थानले दर्ता गरी दिन सक्ने नै हुँदा बाबुको मोहियानी हक नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीको बाबुको मोहियानी हक दर्ता नामसारी गर्ने गरेको बा.अं.अ. को फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।८ को फैसला ।

१०.    मेरो स्वर्गीय पिता तथा म समेत विवादित जग्गाको चिताइदार नभई मोही हौं, जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा खडा भएको फिल्डबुकको विरहमा मकै भन्ने जनिएको छ । कूत बुझाई मोहियानीमा कमाएको भन्ने देखिने रसिद भर्पाईहरु पेश गर्दा गर्दै पनि प्रमाण दाखिल गर्न नसकेको भनिएबाट क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि समेत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी भैरवमान महर्जनको यस अदालतमा पर्न आएको निवेदन ।

११.    यसमा वादीले घर बनाई सकेको जग्गा मोहियानीमा गुठीले दर्ता गरी दिन सक्ने नै हुँदा भन्नेसम्म उल्लेख भएको पाइन्छ । तर के कति जग्गा घरवासको लागि वादीले दस्तूर तिरी मोहियानीमा दर्ता गराउन पाउने हो सो यकीन गरेको पनि देखिँदैन । अतः बाबुको मोहियानी हक नामसारी गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा गु.सं. ऐन, २०२९ को दफा २६ र गु.सं. ऐन, २०३३ को दफा ३५(२) समेतको व्याख्यात्मक त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएकोछ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति २०४४।२।४ को आदेश ।

१२.   यसमा विवादको न.नं. ५ मा ३ तले टायल छाना भएको घर समेत रहेको देखिन आएको सो घर विवादको जग्गा नापी हुँदा कै अवस्था देखि रहे भएको सर्भेको नक्शाबाट समेत देखिन आएको छ । सो घर गुठीले आफूले बनाएको वा साविक देखि नै भएको भनी भन्न नसकेकोबाट सो घरमा बसी आउने पुनरावेदकले नै बनाएको मान्नु पर्ने हुन आएको छ । गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृति नलिई घर बनाई सकेको भए मोहियानीमा दर्ता गरी दिने समेत व्यवस्था गरेकोबाट न.नं. ५ मा भएको मोही नक्शामा देखाएको नाप ठहर बमोजिमको घर जग्गामा वादीको हक कायम नहुने भन्न मिलेन । त्यस्तो घरजग्गा पनि धनीको नाउँमा सोही उपदफामा व्यवस्था भए बमोजिम प्रकृया पूरा गरी दर्ता गरी दिने अधिकार गुठी संस्थानलाई नै प्रदान गरेको देखिन आएकोले त्यसतर्फ अदालतले निर्णय दिइरहन पर्ने पनि नदेखिएको क्षेत्रीय अदालतले सो बमोजिम ठहर गरेको मनासिबै ठहर्छ भन्ने समेत यस अदालत संयुक्तइजलासको मिति २०४५।४।९ को फैसला ।

१३.   उक्त यस अदालत संयुक्तइजलासले फैसला गरेको मुद्दा दोहोर्‍याई हेरी इन्साफ जाँच गरिपाउँ भनी विन्तिपत्रवाला वादीले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा विन्तिपत्र चढाएकोमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतको संयुक्तइजलासबाट २०४५।४।९ मा छिनिएको विन्तिपत्रमा लेखिएको जोत दर्ता भन्ने मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेतको व्यहोरा लेखी श्री ५ महाराजाधिराजका तत्कालीन विशेष जाहेरी विभागबाट लेखी आए बमोजिम सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश भई पूर्णइजलासको लगतमा दर्ता गर्ने आदेश भए बमोजिम पूर्णइजलासको लगत दर्ता हुन आएको रहेछ ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भई आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विन्तिपत्रवाला वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले यो गुठी भुवान सिंह प्रधानले राखेकोमा विवाद छैन । तसर्थः सो गुठीलाई राजगुठीमा दिएको प्रमाण नभएसम्म राजगुठी भन्न मिल्दैन भन्ने समेतको र निजै तर्फबाट रहनुभएका अर्का विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले विवादित जग्गा गुठी जग्गा हो । मेरो पक्षका पिताको नाउँमा ४ नं. जो.अ.नि. तथा मोहियानी हकको प्रमाणपत्र बनेको छ । किसानको व्यहोरामा पनि निजकै नाम उल्लेख भएबाट र सो नाम मुद्दा पर्दा सम्म कायमै रहेको गुठी संस्थानको लेखाईबाट देखिएको छ । उक्त जग्गामा परापूर्व कालदेखि घर बनाई वादी बसी आएकोछ । मोहीको मृत्युपछि निजका छोरामा मोहियानी जोत दर्ता नामसारी हुन पर्दछ भन्ने समेतको र विपक्षी गुठी संस्थान तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले जग्गा गुठीको भएकोमा विवाद छैन । २०३० साल चैत्र मसान्त भन्दा अघिको गुठीको जग्गामा मोहियानी नलाग्ने हुनसक्ने होइन, २०३२ सालमा वादीको बाबुको मृत्यु पश्चात मोहीको प्रमाणपत्र दिन मिल्दैन भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

१५.   अब प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको फैसला मिले नमिलेको के रहेछ सो कुरामा निर्णय दिनु परेको छ ।

१६.    निर्णयतर्फ विचार गर्दा यसमा का.जि.मखन टोल बस्ने भावसिंह प्रधानले का.जि.टेकूमा श्री जगन्नाथजीको मन्दिर बनाई मूर्ति स्थापना गरी नित्यपूजा समेत चलाउन जग्गा समेत गुठी राखेकोमा उक्त जग्गा नापीमा का.न.पं. वार्ड नं. २(क) कि.नं. ३९ क्षेत्रफल ७० भएकोमा विवाद देखिँदैन । उक्त जग्गाको नापी हुँदा जोताहाको नाउँ थर वतनको महलमा यिनै वादीको बाबु भुयुचा भन्ने आशमान महर्जनको नाउँ उल्लेख भएको कुरा मिसिल संलग्न विवादको जग्गाको फिल्डबुक उतारबाट देखिन आएको छ । निज जोताहा भुयुचा भन्ने आशमान महर्जन २०२९ सालमा परलोक भएको भन्नेमा पनि प्रस्तुत मुद्दामा विवाद उठाइएको छैन । यसरी जोताहाको रुपमा फिल्डबुकमा नाउँ उल्लेख भएको व्यक्तिको मृत्यु पश्चात उक्त जोताहा नाउँसारी गराई माग्न वादी भैरवमान महर्जनले २०३८।२।१२ मा विन्तिपत्र चढाई प्रस्तुत मुद्दाको शुरुवात भएको पाइन्छ।

१७.   उक्त जग्गा जगन्नाथ गुठीको हो भन्नेमा विवाद छैन । उक्त जग्गामा वादीले घर बनाई बसी आएको पनि देखिन आएको छ । उक्त जग्गा मध्येकै जग्गामा न.नं. ५ मा ३ तले टायल छाना भएको घर रहे भएको नक्शाबाट देखिएको छ । उक्त घर नापी हुँदाकै बखतमा भएको पनि नक्शाबाट प्रष्ट हुन्छ । उक्त घर गुठी संस्थानले बनाएको भन्ने प्रमाण कही कतैबाट देखिन आउँदैन । जब गुठी संस्थानले त्यो घर बनाएको छैन र त्यहाँ घरबार बनाई वादी बसी आएको छ भने विन्तिपत्रवालाका बाबुले सो घर बनाएको होइन भनी अनुमान गर्न मिल्दैन । यसरी परापूर्वकालबाट नै जग्गामा घर बनाई नापीको समयमा जोताहामा वादीको बाबुको नाम उल्लेख भएको जग्गाको जोत बाबुको मृत्यु पश्चात वादीको नाउँमा आउन सक्ने रहेनछ कि भनी हेर्दा गुठी संस्थानको भनाई पनि हेर्न आवश्यक हुन्छ उक्त विवादित जग्गाको बगैंचे वादीका बाबु हुन् । वार्षिक रु. ६०।खान्की खान पाउने भुयुचा महर्जनले २०२१ सालको नापीमा उक्त फुलवारी बगैंचा मोहियानी लेखाउनका साथै अनियमित तरिकाले घर बनाई आएको र निज परलोक भएपछि निजका छोरा भैरवमान शंकरमानले जोत नाउँसारी गरिपाउँ भनी दर्खास्त गरेको भन्ने गुठी संस्थानको ०३८।८।६।५ को जाहेरी संलग्न मिसिलबाट देखिन आएको छ । अनियमित तरीकाले घर बनाएको जहाँसम्म प्रश्न छ, त्यसतर्फ हेर्दा २०२१ सालको नापी भई घर देखिएको उक्त समयबाट नै वादी तर्फबाट भोग चलन भई आएको वार्षिक ६०।खान्गी खाएको प्रमाण पनि कुनै पेश हुन आएको देखिएन । अर्कोतर्फ उक्त घर बनाए उपर गुठी संस्थानले कुनै कारवाही गरेको पनि छैन । यस्तै गुठी संस्थानको अर्को जिकिर तर्फ हेर्दा वादीका बाबु २०२९ सालमा परलोक भएका हुन् । २०३० साल चैत्र मसान्त भन्दा अगाडि गुठीको जग्गामा मोहीको हक प्राप्त नहुने भन्ने देखिन्छ । मिति २०३८ सालमा यी वादीको जोताहा नाउँसारी गराई पाउँ भन्ने विन्तिपत्र परी गुठी संस्थानबाट त्यसको लिखितजवाफ दिंदा उक्त जग्गाको श्रेस्तामा मोही भुयुचा भन्ने आशामान महर्जनको नाउँ देखिएको उल्लेख गरेको छ । भूमिसुधार कार्यालय काठमाडौंको लिखितजवाफले पनि सो कुरालाई समर्थन गरेको छ । २०३८ साल सम्म पनि मोहीको महलमा वादीको नाउँ कायम छ । २०३२।७।३ मा वादीका बाबुको नाउँमा मोहियानी प्रमाणपत्र समेत बनेको छ । अधिकार प्राप्त निकायले उक्त मितिमा दिएको मोहियानी हकको प्रमाणपत्र गुठी संस्थानले बदर गराउन सकेको छैन । निज आशामानको नाउँको मोही देखिएको र किसानको व्यहोरामा यो जग्गा जगन्नाथ गुठीको मैले जगन्नाथमा तिरो तिरी खाएको छु भन्ने उल्लेख भइरहेको साथै जो.अ.नि. तथा मोहियानी हकको प्रमाणपत्र समेत वादीका बाबुको नाममा कायमै रहेको देखिन आयो । गुठी संस्थानबाट भएको ०३०।९।५ को मिसिल संलग्न सरजमीन मुचुल्काबाट सो जग्गामा बकुला, सागपात, तरकारी आदि लगाई भोग चलन गरी आएको प्रमाणित देखिन्छ । भोग चलनको निरन्तरता कायम छ, गुठी संस्थान ऐन, २०२९ को दफा २६(१) मा गुठी तैनाथी जग्गामा संस्थानले लिखित मन्जूरी गरी मोहियानी प्रदान गरेकोमा बाहेक २०३० साल चैत्र मसान्त सम्म यस्तो जग्गामा कसैले मोहियानी हक प्राप्त गर्ने छैन भन्ने उल्लेख छ । सो अवधि भित्र संस्थानले आफैं खेती वागवानी वा पशुपालन गरेको भनी जिकिर लिन नसकेको र उक्त अवधि पछि पनि वादीकै तर्फबाट बनाइएको घरमा बसी उक्त जग्गा कमाई आएको देखिन्छ जहाँसम्म विवादित जग्गा राज गुठीको हो भन्ने विपक्षी गुठी संस्थान तर्फबाट उपस्थित विद्वान अधिवक्ताको भनाई छ सोतर्फ हेर्दा यो गुठी दुनियाँदार व्यक्ति भावसिंह प्रधानले जगन्नाथको मन्दिरमा नित्य पूजा चलाउन राखेको देखिन्छ । गुठी संस्थानले २०१३ सालमा यसको लगत राखेको भरमा मात्र राज गुठीको जग्गा भनी दावी लिएको पाइन्छ । गुठी जाँचबाट मिति २०२१।१२।६।६ मा आएको जवाफमा लगतमा दर्ता नभएको भन्ने उल्लेख गरिएको पत्र मिसिल संलग्न देखिन्छ । जसबाट गुठी लगतमै दर्ता नभएको गुठीलाई राजगुठी मान्न मिल्ने अवस्था देखिँदैन । गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने छ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त ऐन आए पश्चात पनि जोताहामा वादीका बाबुकै नाम कायम रही विवादित घरजग्गा समेत वादीले नै भोग गरी कमाई आएको अवस्थामा त्यसरी बाबुको मृत्यु पश्चात निजको जोताहा हक निजको छोरामा सर्दैन भन्ने अर्थ गर्न कानुन, न्याय एवं विवेकले समेत मिल्दैन । तसर्थः उक्त विवादित कि.नं. ३९ को ७० जग्गा र उक्त जग्गामा बनेको घर समेतमा वादीको बाबुको नाउँबाट जोताहा हक नामसारी हुने ठहर्छ । उक्त जग्गामा बनेको घर जग्गा धनीको नाउँमा प्रक्रिया पूरा गरी दिने गुठी संस्थानलाई अधिकार प्रदान गरिएको देखिन आएको भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्‍याएको यस अदालत संयुक्तइजलासको फैसला केही उल्टी हुने ठहर्छ । इन्साफ वागमती अञ्चल अदालतको मनासिब हुँदा सदर हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम विवादको का.न.पं. वार्ड नं. २(क) कि.नं. ३९ को क्षेत्रफल ७० को जग्गा र सो जग्गामा बनेको घर समेतमा वादी भैरवमानको नाउँमा जोत कायम गरी श्रेस्ता मिलान गर्नु भनी भूमिसुधार कार्यालय काठमाडौं र गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौं समेतलाई लेखी पठाई दिनु भनी का.जि.अ.त.मा लगत दिनु...१, इन्साफ जाँचको लागि बक्स भई आएकोले प्रस्तुत मुद्दामा अरु केही गर्नु परेन...२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह,

न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४९ साल मार्ग २५ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु