निर्णय नं. ४६०३ - डाँका

निर्णय नं. ४६०३ ने.का.प. २०४९ (ग) अङ्क ८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
२०४७ सालको फौ.पु.इ. नम्बर ३९
फैसला भएको मिति: २०४९।८।४।५ मा
विन्तिपत्र/प्रतिवादी: जि.धनुषा चक्कल गा.वि.स. वा.नं. ७ बस्ने वैद्यनाथ मण्डल
विरुद्ध
वादी: मधुसुदनको जाहेरीले वादी श्री ५ को सरकार
मुद्दा : डाँका
(१) प्रत्यक्षदर्शीहरुको भनाई अन्य वस्तुगत आधार, मौका तहकिकात मुचुल्का, दशी बरामदी अभियुक्तको बयान आदिबाट समर्थित भएको अवस्था छैन । यस्तो मौखिक प्रमाणलाई कसूरदार कायम गर्ने आधारको रुपमा ग्रहण गर्न बहुत होसियारी बर्तनु पर्ने हुन्छ । त्यस्ता प्रत्यक्षदर्शीको हैसियतमा रहेका व्यक्तिहरुको मैले वारदात देखेको हुँ भन्ने कथन मात्र पर्याप्त हुँदैन । निजहरुको भनाइबाट निजहरुको प्रत्यक्षदर्शीताको लक्षण, गुण, विद्यमान हुन पर्दछ । साक्षीको बकाइको प्रामाणिक मूल्य निजहरुको भनाइको विश्वसनियता युक्तिसंगतता हुने ।
(प्रकरण नं. २१)
(२) आफ्नो राय व्यक्त नगरेकोबाट मान्य नहुनेमा निज स्वयंको स्वेच्छापूर्वकको घटनासंग सम्बन्ध राख्ने अभिकथनको अभावको अवस्थामा कार्य र घटनाको सम्बन्धमा अरुको अभिव्यक्तिहरुलाई समर्थन हुने गरी सहिछाप गर्नेको कथन स्वतन्त्र रुपको देखिन नआएकोले विश्वसनीय प्रमाणको रुपमा यसलाई ग्रहण गर्न नमिल्ने ।
(प्रकरण नं. २३)
(३) गाउँ ठाउँका व्यक्तिहरु गाउँमै डाँका गर्न गएको भन्नु ठोस विश्वसनीय प्रमाणको आवश्यकता पर्छ सो देखिँदैन, डाँका भएको चीज वस्तु बरामद हुन सकेको छैन, अभियुक्तहरु खोजतलास र पक्राउ गर्ने मौकामै प्रयास पनि गरिएको मिसिलबाट देखिँदैन । यस अवस्थामा विश्वसनीय मान्न नसकिने जाहेरवाला र सरजमीनका व्यक्तिहरुको परस्पर बाझिएको भनाइको आधारमा शंकारहित तवरबाट अभियोग प्रमाणित नभएसम्म कसूरदार कायम गर्न नमिल्ने ।
(प्रकरण नं. २४)
(४) वारदात भएको धेरै समय पछि भएको सरजमीनमा ५ जनाले प्रतिवादीहरुलाई गढाउँ गरी र ५ जनाले सफाई दिने गरी लेखाई दिएको देखिँदा सरजमीनको संख्या बराबर हुन आएकोमा अदालतले गढाउँ गरी बक्ने सरजमीनलाई झिकाई बयान गराएको तर सफाई दिने सरजमीनका मानिसहरुलाई नझिकाइएको प्रतिवादीको साक्षीहरुले प्रतिवादीको समर्थन हुने गरी बकेको, अदालतमा पूर्ण इन्कारी रही बयान गरेको अवस्था समेत हुँदा ठोस वस्तुगत निश्चयात्मक आधार प्रमाणको अभावमा परस्पर बाझिएको तथ्यमा नै फरक पर्ने गरी बकेको साक्षीको मौखिक प्रमाणलाई एक मात्र आधारमा कसूरदार ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. २५)
(५) एकजनाको हकमा उल्टी हुन्छ भने पुनरावेदन नगर्ने वा दोहोर्याई इन्साफ जाँच गर्न नआएका हकमा पनि कानुन र न्यायको सिद्धान्तमा एकरुपता ल्याउन त्यस्ता व्यक्तिहरुका हकमा पनि इन्साफ वा सजायँ उल्टाउन सकिने ।
(प्रकरण नं. २५)
(६) प्रमाणहरु शंकास्पद र विश्वसनीय नभएपछि अन्य प्रतिवादीहरुको हकमा पनि ती प्रमाणहरु शंकारहित र विश्वसनीय मान्न नसकिने ।
(प्रकरण नं. २५)
(७) कसूरदार कायम गर्न ग्रहण गरिएको प्रमाणको अतिरिक्त अन्य प्रतिवादीहरुका हकमा गढाउँ गर्ने अन्य कुनै छुट्टै प्रमाण मिसिलबाट देखिँदैन । जाहेरवाला र सरजमीनका व्यक्तिहरुले मौकामा देखे चिन्हेको भनी अदालतमा आई व्यक्त गरेको बकपत्रलाई नै आधार बनाइएको छ । वैद्यनाथ मण्डलका हकमा इन्साफ जाँच गर्दा ती भनाई र बकाईको तथ्यमा नै भिन्नता रहेको दशी बरामद नभएको मौकामा जाहेरी नपरेको भन्ने समेत आधारमा, वैजनाथ मण्डलले सफाई पाएको हुँदा उस्तै अवस्थाका अन्य प्रतिवादीहरुलाई कसूरदार ठहर्याउनु न्याय र कानुनको दृष्टिमा उचित नठहरिने ।
(प्रकरण नं. २५)
(८) अन्य प्रतिवादीहरुको विरुद्ध अभियोग प्रमाणित हुने अन्य स्वतन्त्र प्रमाणको अभावमा जाहेरवालाका सरजमीनको व्यक्तिहरुले तथ्यमै फरक पर्ने गरी अविश्वसनीय शंकास्पद वकाइको आधारमा अभियोग प्रमाणित गर्न नमिल्ने ।
(प्रकरण नं. २५)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.केशवप्रसाद उपाध्याय
१. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४४।४।१७ मा भएको फैसला दोहर्याई पाउँ भनी निवेदक वैद्यनाथ मण्डलको हकमा रामलखन महतो सुडीले विशेष जाहेरी विभाग, राजदरबार मार्फत चढाएको विन्तिपत्र जाहेर हुँदा उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरबारबाट मिति २०४६।११।९।३ मा लेखी आए बमोजिम यस सर्वोच्च अदालतको पूर्णइजलासमा लगत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. मिति २०३५।१०।६ का दिन रातको अं. १२ बजेको सयमा आफ्नो ढोका नभएको दलान घरमा सुतिरहेको अवस्थामा ३०, ३५ जनाको जमात हात हातमा बन्दूक लगायत गडासा लाठो समेतका हतियारले लस्कर भई म सुतेको ठाउँमा आई मलाई पिट्दै सन्दूस र आलमारीको साँचो कहाँ छ भन्दै भनेकाले ब्यूँझी हेर्दा त्यही बलेको लालटेनको प्रकाशबाट विरुद्ध खण्डमा लेखिएका बैजनाथ, विश्वनाथ असर्फी, खेका, मनसिफ, गंगा, किशोरी सिरिया, रोदीया समेतका चिन्हेका र अरु नचिन्हेका व्यक्तिहरुले मलाई कुटिपट, बाँध छाँद गरी पाता फर्काई मेरो नजिक सुतेका छोरा श्याम नन्दन पाण्डे, रामनन्द पाण्डे र टाढाको भाइ पर्ने समेतलाई त्यही घेरामा राखी मेरो घर तोडफोड गरी रु. २४,३८५।– मूल्य बराबरको क्यास र अरु धन सम्पत्ति डाँका गरी लगेकोले कानुन बमोजिम सजायँ गरी बिगो समेत भराई पाउँ भन्ने मिति २०३५।१०।१२ गतेको मधुसुदन पाण्डेको जाहेरी दर्खास्त ।
३. वैजनाथ मण्डल समेतका जाहेरीमा उल्लेखित व्यक्तिहरुले कुटपिट गरी डाँका गरेकाले कारवाही गरिपाउँ भन्ने २०३५।१०।१६ को जाहेरवाला मधुसुदन पाण्डेको सनाखत कागज ।
४. जाहेरवालाको घरमा मार्यो पिट्यो भन्ने हल्ला भएकोले व्यूँझी जाहेरवालाको घर गई हेर्दा उल्लेखित अभियुक्तहरुले डाँका गरी भाग्दाको बेला लखेट्दाको अवस्था चिन्हेको हौं भन्ने विभिन्न मानिसको लेखाई भएको मिति २०३५।११।१६ को सरजमीन मुचुल्का रहेछ ।
५. बुझिएसम्मको संकलित कागज प्रमाणबाट अभियुक्त खण्डमा लेखिएका व्यक्तिहरुले जाहेरवालाको घरमा डाँका वारदात गरेको सिद्ध भएकोले चोरीको १४(४) बमोजिम सजायँको माग दावी गरिएको छ भन्ने प्रहरी प्रतिवेदन ।
६. जाहेरवाला र मेरो घर टाँसिएको छ, निज जाहेरवालाले आफ्नो जग्गामा घर बनाई मेरो जग्गाबाट गोरु गाडा हिंडाउने गरेकोमा मैले सो बाटो बन्द गरेकोमा सोही रीसबाट जाहेर गरेको हुन मैले डाँका गरेको छैन कृष्णनन्दले कुटेको चोटपटक जचाँई झुठ्ठा वारदात सृजना गरी झुठ्ठा जाहेरी दिएका हुन भन्ने प्र.विश्वनाथ मण्डलले अदालतमा गरेको बयान ।
७. २०३५।१०।५ गते मामा कहाँ पूजाको निम्तामा गएको र ६, ७ गते दुई दिन त्यही बसी ८ गते मात्र घरमा आएको हो, वारदातको दिन घरमै छैन, चुनाव विषयको मत भिन्नता हुँदा झुठ्ठा उजूर गरेका हुन भन्ने प्र.असर्फी मण्डल र खौका मण्डलको अदालतमा भएको एकै मिलानको बयान ।
८. जाहेरवालाको घरमा डाँका वारदात भएको छैन, अंशबण्डाको विषयमा झगडा हुँदा कृष्णनन्द पाण्डेले कुटपिट गरेको घा जाँच गराएका हुन, गाउँघरमा चुनाव हुँदा बैजनाथलाई भोट दिएको रिसइवीले झुठ्ठा उजूर गरेका हुन, हामीले डाँका गरेका छैनौं भन्ने समेत प्र.मनसिफ मण्डल, प्र.गंगाई मण्डल, प्र.किशोरी शाह, प्र.रोदीमा मण्डल समेतको अदालतमा भएको एकै मिलानको बयान ।
९. २०३५।१०।६ गते म आफ्नो घरमा छु, जाहेरवालासंग मेरो लेनदेन भएको र चुनावमा उपप्रधानपंचमा विजय भएको रिसइवीले झुठ्ठा जाहेरी दिएका हुन् । मैले निजको घरमा डाँका गरेको होइन छैन । अंशबण्डा विषयमा आपसमा कुटपिट हुँदा परेको घाउ जँचाई झुठ्ठा उजूर गरेका हुन भन्ने वैजनाथ मण्डलले अदालतमा गरेको बयान ।
१०. मिति २०३५।१०।६ गते म जाहेरवाला तथा प्रतिवादीहरु सबै आ–आफ्ना घरमा थियौ । २०३५।१०।६ गते रातको ११।१२ बजे तिर ३०।३५ जना डाँकाहरुले कुटपिट गरी कोही मानिस बडघरमा बसी अरु केही भित्र गएर २५, २६ हजार जतिको धनमाल डाँका गरी लगेका हुन सो मध्ये विश्वनाथ, गंगवा, खैका, किशोरीमा, सिरिया, अर्जून, मनसिफ र वैजनाथ समेतलाई चिन्हे अरुलाई चिन्हिन भन्ने वादीका साक्षी चौधरी मण्डलको बकपत्र, सोही मिलानको रामचन्द्र राजेन्द्र मण्डल, रामलखन रमेसर मण्डल र जैसी मण्डल समेतका व्यक्तिहरुले गरेको बकपत्र ।
११. अभियुक्तहरुसंग पूर्व अवस्था देखि नै रिसइवी भइराखेको हुँदा डाँका जस्तो जघन्य अपराधमा सावित सबूद प्रमाणको अभावमा शंकाको भरमा सजायँ गर्दा न्यायोचित नहुँने हुँदा अभियुक्त प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३७।३।२८।६ को धनुषा जिल्ला अदालतको फैसला ।
१२. शुरुको फैसलामा चित्त बुझेन, दावी अनुसार सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारको तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्रमा विपक्षीहरु झिकाउने आदेश भएको रहेछ ।
१३. जाहेरवालाको घरमा डकैतीको वारदात भए गरेको कुरामा कुनै सन्देह छैन, सो डकैती वारदात हुँदा सरिक हुने डाँकाहरु भनी देख्ने चस्मदिद जाहेरवाला मधुसुदन पाण्डे, चौधरी मण्डल, राजेन्द्र दुवे, सजेन्द्र मण्डल, रमेश मण्डल, रामलखन मण्डल, जैसी मण्डल समेतका व्यक्तिहरुले अदालतमा आई प्रष्ट रुपमा बकपत्र गरिदिएको देखिन्छ । उता प्रतिवादीका साक्षीहरुले जाहेरवालाका घरमा डाँका वारदात भएकै छैन भनी भनेको देखिन्छ । यसरी जाहेरवालाको घरमा डाँका वारदात भएको कुरा प्रतिवादी स्वयंले पनि खण्डन गर्न नसकेको यस्तो अवस्थामा केवल भेष नबदली डाँकाको वारदात प्रतिवादीहरुले गरेको नहुनु पर्ने भनी अनुमान लगाई प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको शुरु धनुषा जि.अ.को फैसला मनासिब भन्न सकिएन । प्रतिवादीहरुले डाँका वारदात गरेकै हुँदा धनुषा जि.अ. को इन्साफ उल्टी हुन्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला रहेछ ।
१४. सो फैसला उपर स.अ. मा मैले पुनरावेदनको अनुमतिको माग गर्दा क्षे.अ. को निर्णयमा त्रुटि नभएको भन्दै अस्वीकार गरिएकोले कानुनको ठाडो उल्लंघन गरी सबूद प्रमाणको उपेक्षा तथा नजीरको प्रतिकूल हुने गरी भएको सो निर्णयमा चित्त बुझेन, इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र.बक्स गरिपाउँ भन्ने निवेदक प्रतिवादी वैजनाथ मण्डलले दिएको विन्तिपत्रमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको यसमा लेखिएको डाँका मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गरी निर्णय गर्नु भनी हु.प्र. बक्स भएको रहेछ ।
१५. यसमा वारदात मिति भन्दा ६ दिन पछि मात्र हुलाकद्वारा जाहेरी दर्खास्त परेको देखिन्छ । जाहेरी दर्खास्त र जाहेरवालाले अदालतमा गरेको बकपत्र एकै मिलानको देखिंदैन । संगै सुत्ने भनिएका व्यक्तिलाई अदालतमा उपस्थित गराइएको छैन, जाहेरी तथा चस्मदिद व्यक्तिको भनाईमा एकरुपता छैन । अतः यस्तो अवस्थामा प्र.वैजनाथ मण्डललाई डाँका गरेको ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ फरक पर्ने देखिएकोले अ.बं.२०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासबाट भएको आदेश ।
१६. यसमा प्रतिवादी मध्येका यी वैजनाथ मण्डलले समेत अदालतमा बयान गर्दा जाहेरवालाको घा जाँच भएको कुरालाई स्वीकार गरी बयान गरेकोले वारदात भएको कुरालाई खण्ड गर्न सकेको भन्न मिल्ने अवस्था देखिंदैन । वारदात गरेको कुरा जाहेरी दर्खास्त, जाहेरवालाको बकपत्र, सरजमीन मुचुल्का र चस्मदिद व्यक्तिहरुको कथनबाट देखिएकै छ । डाँकाको वारदात देख्ने भनिएका चस्मदिद व्यक्ति जाहेरवाला बाहेकका अन्य व्यक्ति चौधरी मण्डल, रामचन्द्र दुवे, राजेन्द्र मण्डल, रमेसर मंडल, रामलखन मण्डल र जैसी मण्डल समेतका व्यक्तिहरुले अदालतमा समेत आई बकपत्र गर्दा डाँका वारदात भएकै हो, सो वारदातमा सरिक हुने व्यक्ति मध्ये प्रतिवादी वैजनाथ मण्डल समेत थिए भनी आफ्नो बकाइमा फरक नपारी बकी लेखाई दिएको देखिन्छ । निजहरुले बकपत्र गर्दा भनेका कुराहरुमा भिन्नता आएको छ भनी निवेदकतर्फका विद्वान अधिवक्ताले उठाउनु भएको प्रश्नका सम्बन्धमा एकपटक आफूले बके भनेको कुरा अक्षरसः त्यही नै हुनैपर्छ भन्नु स्वाभाविक हुन सक्ने देखिन आउँदैन । एकपटक व्यक्त गरिसकेको कुरा पुनः केही समय पछि व्यक्त गर्नु पर्दा सामान्य फेर बदल हुँदैमा त्यसलाई आफैंले भनेको कुरा एक आपसमा बाझियो भनी भन्न मिल्ने देखिँदैन । यसरी अक्षरको फेरबदल हुन जानु सामान्य कुरा हो । डाँका वारदात भएको हो डाँका गर्नमा प्रतिवादी मध्येका वैजनाथ समेत सरिक थिए भन्ने कुरामा कसैको पनि र कहीँ पनि भिन्नता भई फरक परेको देखिन आउँदैन । यसरी डाँकाहरुलाई मौकैमा देखे चिनेको भनी चस्मदिद व्यक्तिहरुले अदालतमा समेत प्रष्ट रुपमा बकपत्र गरी लेखाई दिएको अवस्थामा डाँका वारदात भएको छैन भनी स्वयं प्रतिवादीहरुले नै खण्डन गर्न नसकेकोमा प्रतिवादीहरुको साक्षीले जाहेरवालाको घरमा डाँका वारदात नै भएको छैन भनी लेखिदिएको भरमा नै यी प्र. मध्येका वैजनाथ मण्डलले डाँका वारदात नगरेको होला भनी भन्न मिल्ने नदेखिंदा प्र.मध्येका यी वैजनाथ मण्डल समेतले जाहेरवालाको घरमा डकैती गरेको ठहराई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै हुँदा इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४४।४।१७।१ को फैसला ।
१७. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा दोहर्याई पाउँ भनी चढाएको विन्तिपत्र पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट तोक लागी आए अनुसार पेश हुन आएकोमा निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता द्वय श्री प्रकाश वस्ती र वालकृष्ण न्यौपानेले जाहेरवालाको घरमा डाँका वारदात भएकै छैन किनकि डाँका वारदात भएको भए घटनाबाट पीडित पक्षले ७।८ दिन सम्म जाहेरी नगरी बसेका र ७।८ दिन पछि जाहेर गरे पनि सामान्य रुपले हुलाकबाट जाहेरी दर्खास्त दिएको, निजको कृयाबाट नभए नगरेको वारदात घटना सृजना गरिएको भन्ने प्रष्टै देखिन्छ । सरजमीन बाहेक अरु कुनै कुरा खोजतलास गरेको देखिंदैन । सिर्फ व्यक्तिको भनाईको भरमा मुद्दा चलाइएको कुरा यो एउटा सृजित काल्पनिक वारदात हो । जाहेरवालाले दिएको जाहेरी र निजले अदालतमा बयान गरेको कुरा एक आपसमा नमिली फरक भएको तथ्यले पनि यस कुराको पुष्टि गरेको छ । घटनाबाट पीडित पक्षले भनेका कुरा एक आपसमा नमिल्नु वादीका साक्षीहरुले भनेको कुराहरु पनि एकले भनेको कुरा अर्कोसंग नमिल्नुबाट पनि वारदात कपोलकल्पित हो भन्ने स्पष्ट भएकै छ । कुन डाँकाले के के कार्य गरे ? प्रत्यक्ष्यदर्शी भनाउँदाहरुबाट खुल्दैन भन्ने र विपक्षी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले कसैले पनि पहिले भनेको कुरा धेरै समयपछि भन्नु पर्दा सामान्य कुरा तल माथि पर्न जानु स्वाभाविकै हुन्छ । यसै गरी जाहेरवाला वादी पक्षका साक्षीहरुले भनेको कुरामा सामान्यतया साना तिना कुरा तलमाथि परे पनि सारभूत कुरामा फरक परेको छैन । वारदात भएकै हो, डाँका गर्नेमा यी वैजनाथ मण्डल समेत थिए भनी भनेको कुरा कहीं कतै फरक परेको छैन । प्रत्यक्षदर्शी व्यक्तिहरुले पनि लेखिएको कुरा समेतको आधारमा श्री सर्वोच्च अदालत संयुक्तइजलासले जाहेरवालाको घरमा डाँका गरेको ठहर्याई गरेको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्तइजलासको निर्णय आदेश मिलको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१९. प्रस्तुत मुद्दाको उठान मिति २०३५।१०।१२ मा हु.द्वारा परेको जाहेरीबाट भएको छ । सो टाइप गरिएको जाहेरी दर्खास्त मिति लेखिएको ठाउँमा १२ गते र रोज ६ को अंक मसीले लेखिएको पाइन्छ । सो जाहेरी दर्खास्तमा ३०।३५ जना बन्दूक, भाला, गढासा, लठ्ठी समेतका हतियारले लेस भएका व्यक्तिहरु म सुतेको ठाउँमा आई मलाई पिट्दै ए साले उठ् अलमारी र बाकसहरुको साँचो कहाँ छ दे भनी उठाउँदा व्यूझेँ हेर्दा बली रहेको लालटिनको बत्तिमा बैजनाथ समेतका व्यक्तिलाई चिने अरु गाउँका नहुँदा चिन्न सकिन तिनीहरुलाई मैले अनुनय, विनय गर्दै यसरी निर्दयता पूर्वक नकुट भन्दा तीन चार जनाले मलाई बाँधे, असर्फी मण्डलले फरसाले हानी देब्रे गाला काटी रगतपच्छे भई घाइते भई म भुईमा लडें पाता फर्काई लुड्डीले बाँधेकोमा म नेर सुतेका छोरा श्यामानन्द पाण्डे –१ रामानन्द पाण्डेको साला बबलुकुमार मिश्र टाढाको भाइ नाता पर्ने गणेश दुवेलाई भागी उम्कन नदिई राखे चटपटायौ वा हल्ला ग¥यौ भने बन्दुकले गोली हानी मारी दिन्छु । आँगन र दलानको बीचमा बन्दूक लिई उभिने बैजनाथले भने अरु भाला गडासा लिएका विपक्षी हामी भएको ठाउँमा थिए । आँगनको उत्तरमुखको दक्षिण बिट भएको फुसको छाना भएको घरमा साहिला छोरा रामानन्दको १० जना परिवार सुतेको घरको ढोका फोरी निज रामानन्दलाई जथाभावी कुटपिट गरी आलमारीको ताला फोडी त्यहाँ भएको सरसामान र आलमारी भित्र रहेको पेटीहरु नगदी, कपडा, सुन–चाँदी गहना बुहारी सबिताले लगाई राखेको सुनको लकेट समेत विपक्षीहरुले डकैती गरी लगे । आँगनको उत्तरपट्टिको खपडाको छानो भएको दक्षिणमुख भएको घरको ढोका फोडी मेरो श्रीमतीलाई पिटपाट गरी काठको सन्दूसको दुई ताल्चा खोली हाँडो, भाँडो लगी, पश्चिमपट्टिको घरमा सुतीरहेकी माहिली बुहारीको कोठामा प्रवेश गरी त्यहाँ रहेका सामान डकैती गरी लगे बालबच्चा र स्वास्नी मानिस कराएको सुनी छिमेकीहरु जुट्न थालेपछि डाँकाहरु सामान लिई भागी गए मलाई बाँधी राखेको लुड्डी र भाग्दा हतार हतारमा छोडी गएको ओड्ने यसै दर्खास्त साथ पेश गरेको छु । डाँकाको प्रहारबाट मलाई लागेको चोटको प्राथमिक उपचार गराई पूर्ण होस् ठेगानमा आएपछि यो जाहेरी गर्न आएको छु भन्ने समेत उल्लेख गरेको पाइन्छ सो हु.द्वारा परेको जाहेरी प्रहरी कार्यालयमा ०३५।१०।१६ मा दाखिल भएको र सोही दिन जाहेरवालाको सनाखत बयान गरेको पाइन्छ । सो सनाखतमा जाहेरीमा लेखिएका बैजनाथ मण्डल समेतले कुटपिट गरी डाँका गरी लगेको मलाई र छोरा रामानन्द पाण्डेलाई निजहरुको कुटाइबाट घाउ चोट लागेकोले अस्पतालबाट घा जाँच गराई पाउँ भन्ने समेत उल्लेख गरेको पाइन्छ । रामानन्द पाण्डेको नाम लेखिएको मिति ०३५।१०।१७ मिति अंकित केश फाराम जिल्ला प्रहरी कार्यालय धनुषा लेखिएको कालम माथि कुटपिट भन्ने र हतियारमा धार नभएको सामान्य भन्ने अंकित भएको पाइन्छ । ऐ. मितिको मधुसुदन पाण्डेको नाम अंकित केश फाराममा पनि माथि लेखिए बमोजिम कुटपिट उल्लेख भएको धार भएको र धार नभएको हतियार उल्लेख भएको, केश फारामको पुछारमा बिरामी ०३५।१०।७ मा भर्ना भई ऐ. १४ गते डिस्चार्ज भएको घा. चोटहरु विरामी भर्ना चार्ट र इमरजेन्सी रजिष्ट्ररबाट टिपिएको भन्ने उल्लेख गरेको पाइन्छ ।
२०. उपरोक्त लेखिए अनुसार जिल्ला प्रहरी कार्यालय धनुषा मार्फत् २०३५।१०।७ मा घा, जाँच गराएको अवस्थामा जाहेरी नपरेको डाँकाले कुटेकोबाट घा. चोट जँचाउन गएको नभई कुटपिटको वारदातको सिलसिलामा घा. चोट परी उपचार गराउन अस्पताल भर्ना भएको देखिन आउँछ । कुटपिटको २० नं. बमोजिम कुटपिटको सिलसिलामा सम्म घा.जाँच गराएको देखिन्छ । सोही भर्ना चार्ट र इमरजेन्सी रजिष्टरमा २०३५।१०।७ मा टिपेको घाउ चोटलाई हु. द्वारा जाहेरी दर्खास्त परी सकेपछि २०३५।१०।१७ मा केश फाराममा अंकित गरेको कुरा घा जाँच गरी पाउँ भनी सनाखत गरेकै दिन केश फाराममा मेडिकल अफिसरले सही परेको देखिन आई जाहेरी दर्खास्त र सनाखत बयानमा माग गरे बमोजिम छुट्टै केश फाराम गराएको नभई ०३५।१०।७ मा अस्पताल भर्ना हुँदा एडमीशन चार्ट र इमरजेन्सी रजिष्ट्ररमा उल्लेख भएका घा चोटलाई नै नोट गरेको देखिन आउँछ । यसरी डाँकाको वारदातमा डाँकाले कुटपिट गरेकोले डाँका मुद्दाको अनुसन्धान र कारवाही चलाउने सिलसिलामा सो केश फाराम तयार भएको नभई उक्त केश फाराममा उल्लेख भए अनुसार कुटपिटको सिलसिलामा तयार भएको भन्ने देखिन आउने घा जाँच गरी पाउँ भन्ने दर्खास्त र केश फाराम अस्पतालबाट आएको चलानी आदि कुनै कागज प्रमाण नदेखिएको हुँदा यसै डाँका मुद्दाको वारदात सिलसिलामा परेको घा जाँच गराएको होइन, जाहेरवालाका भैयादका बीच अंशबण्डाको विषयमा झगडा कुटपिट हुँदा परेको घा चोट भन्ने प्रतिवादीको कथन भएको प्रस्तुत मुद्दाको परिप्रेक्ष्यमा सो केश फारामहरुलाई प्रतिवादीहरुको विरुद्धको प्रमाण मान्न मनासिब देखिन नआउने । जाहेरी दर्खास्तमा अस्पताल भर्ना भएको वाक्य खोलिएको छैन ।
२१. यस मुद्दामा जा.द., प्रहरी प्रतिवेदन, मध्यमाञ्चल क्षेत्रीय अदालत र स.अ. संयुक्तइजलासको निर्णयको मूल आधार जा.वा. र निजले जा. दर्खास्तमा उल्लेख गरेका र नगरेका समेतका प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरुको मौखिक भनाइलाई बनाइएको पाइन्छ । ती प्रत्यक्षदर्शीहरुको भनाई अन्य वस्तुगत आधार, मौका तहकिकात मुचुल्का, दशी, बरामदी, अभियुक्तको बयान आदिबाट समर्थित भएको अवस्था छैन । यस्तो मौखिक प्रमाणलाई कसूरदार कायम गर्ने आधारको रुपमा ग्रहण गर्न बहुत होसियारी वर्तनु पर्ने हुन्छ । त्यस्ता प्रत्यक्षदर्शीको हैसियतमा रहेका व्यक्तिहरुको मैले वारदात देखेको हुँ भन्ने कथन मात्र पर्याप्त हुँदैन । निजहरुको भनाइबाट निजहरुको प्रत्यक्षदर्शीताको लक्षण, गुण विद्यमान हुनुपर्दछ । साक्षीको बकाइको प्रमाणिक मूल्य निजहरुको भनाइको विश्वसनीयता युक्तिसंगतता हुन्छ ।
२२. ०३५।१०।१६ मा दर्ता हुन आएको जाहेरीको आधारमा जाहेरीमा उल्लेख भएका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरी खटाइएको वा फेला नपरेको, प्रहरी प्रतिवेदन समेत मिसिल सामेल कागजातले देखाउँदैन । जाहेरी दर्खास्त र सनाखत भएको ०३५।१०।१६ पश्चात ०३५।११।१६।४ मा घटनास्थल विवरण र सरजमीन भएकोछ । घटना विवरणमा घटनास्थल भनिएको घर कोठाहरुमा हाल केही तोडफोड नदेखिएको र घटनास्थल वरिपरी कुनै पनि घटना सम्बन्धी सबूद प्रमाण लाग्ने चिज वस्तु नदेखिएको भन्ने उल्लेख छ । घटना विवरणबाट जाहेरीमा उल्लेख भए अनुसार कोठाको ढोका तोडिएको आल्मारी ठूलो र सन्दूकको पेटीको ताल्चा तोडिएको समेत कुनै कुराको घटना विवरणबाट समर्थन गरेको पाइँदैन । सरजमीनका जैसी मण्डल, रामलखन मण्डल, रामकर मण्डल, चौधरी मण्डल, रामचन्द्र दुवे र रमेशर मण्डलले वैधनाथ मण्डल समेतका अभियुक्तहरुलाई देखे चिन्हेको भन्ने आधारमा प्रहरी प्रतिवेदन दायर भएको र जाहेरवाला र सरजमीनका उपरोक्त व्यक्तिहरुले अदालतमा आई, सरजमीनमा व्यक्त गरेको कुरालाई समर्थन हुने गरी बकपत्र गरेको भन्ने आधारमा प्रतिवादीहरु उपरको प्रहरी प्रतिवेदन दावी कायम गरेको पाइन्छ ।
२३. प्रस्तुत मुद्दामा प्रतिवादीको कसूर कायम गर्न आधार लिएको, जाहेरवालाको जाहेरी, निजको अदालतमा भएको बकपत्र र सरजमीनका जैसी मण्डल समेतको कथन र अदालतमा निजहरुले गरेको बकपत्रलाई नै मूल्यांकन गर्नु पर्ने हुन आएको छ । सरजीनका जैसी मण्डलले मार्यो पिट्यो भन्ने जाहेरवाला कहाँबाट आवाज आएको सुनी वारदातस्थलमा गएको भन्ने भनाई छ, तर अदालतको बकपत्रमा ढोका तोडफोडको आवाजबाट व्युँझी वारदातस्थलमा गएको भन्ने जिकिर लिएको छ । जैसी मण्डल डाँकाहरुले वारदात गर्दाकै अवस्थामा जाहेरवालाको घरमा पुगेको र बैजनाथ मण्डल समेतका ९ जनालाई चिन्हेको भनी किटान गरेको पाइन्छ । वारदातको रात अधेंरी रात भएकोमा विवाद छैन । डाँकाहरुलाई लखेट्दै जाँदा नजिकै पुगेकोबाट चिन्हेको भन्दछन् । जाहेरी दर्खास्तको लेखाई र सरजमीनका व्यक्तिहरुको भनाईबाट डाँकाहरु बन्दूक सहितका हातहतियारले सज्जित रहेको भन्ने देखिन्छ । हातहतियारले सज्जित डाँकाहरुलाई अधेंरी रातमा चिन्ह सक्ने दूरीमा जैसी मण्डल पुगेको र उनले ९ जना डाँकालाई एकैसाथ चिन्हेको भन्ने छ, अदालतको बकपत्रमा वारदातस्थलमा गई उभिइरहेको ठाउँबाट चिन्हेको भन्ने भनाई छ । निजको सरजमीनको भनाई र अदालतमा गरेको बकपत्रमा व्यक्त कुराबाट तथ्य मै फरक देखिन्छ । जैसी मण्डलको भनाई र बकाई अस्वाभाविक छ र यस्तो भनाई प्रतिवादीको कसूर प्रमाणित गर्ने भरपर्दो आधार हुन सक्दैन । अर्का चश्मदिद रामलखन मण्डलको सरजमीन र अदालतमा गरेको बकपत्रतर्फ विचार गर्दा रामलखन मण्डलले सरजमीनमा आफ्नो राय व्यक्त गर्दा ५०।६० जना डाँकाहरुलाई जाहेरवालाको घरमा जम्मा भएका मध्ये वैजनाथलाई हातमा बन्दूक लिएको देखेको भन्छन् । त्यसका अतिरिक्त विश्वनाथ, रवैयाका मण्डल, असर्फी मण्डल, मनसिफ मण्डल पनि वारदातमा रहेको बताएका छन् । डाँका डाँकाको हल्ला गाउँ भरी गर्दा कोही गाउँले पनि नआएको कुरा पनि बताउँछन् । डाँकाहरु डाँका गर्दा जाहेरवालाको घर देखि पश्चिमतर्फ भागी गएपछि मात्र गाउँलेहरु जम्मा हुँदै गएको बताइएको छ । निजको भनाइबाट निज वारदात स्थलमा नगई गाउँमा हल्ला गर्दै हिंडेको भन्ने देखिएपछि निजले प्रतिवादीहरुलाई चिन्ह सक्ने अवस्था कसरी पर्यो कुनै विश्वसनीय आधार निजबाट खुल्न सकेको पाइँदैन । अँधेरी रातमा आवाजबाट ब्यूँझी हेर्दा चिन्हेको भन्ने भनाई छ । कुन प्रकाशको माध्यमबाट चिन्हेको निजले बताउन सकेको पाइएको छैन । जाहेरवालाको भनाइसंग र सरजमीनमा व्यक्त गरेको कुरासंग अदालतमा गरेको बकपत्र मेल खाँदैन । डाँकाहरु मध्ये ५ जनालाई पछिबाट चिन्हेको बताउँछन् । रातको अँधेरीमा हातहतियारले सज्जित डाँकाहरुलाई पछिबाट देख्दा चिन्हेको भन्ने निजको भनाई विश्वसनीय मान्न मिल्ने अवस्था देखिँदैन । चौधरी मण्डलले वारदात हुँदाको अवस्थामा डाँकाहरुलाई चिन्हेको भन्ने सरजमीनमा र अदालतको बकपत्रमा भाग्न लाग्दा चिन्हेको भन्ने भनाई छ । रामचन्द्र दुवे जाहेरवालासंग संगै सुतेको बताउँछन् तर जाहेरवालाले निज सुतेको कुरा बताएका छैनन् । जाहेरवालाको लेखाई बकाई र निजको लेखाई बकाइमा भिन्नता छ । यस्तै रामेश्वर मण्डलले रामचन्द्र दुवेको व्यहोरामा सहिछाप गरेको छ । निजको आफ्नो राय व्यक्त नगरेकोबाट मान्य नहुने छ । निजको स्वयंको स्वेच्छापूर्वकको घटनासंग सम्बन्ध राख्ने अभिकथनको अभावको अवस्थामा कार्य र घटनाको सम्बन्धमा अरुको अभिव्यक्तिहरुलाई समर्थन हुने गरी सहिछाप गर्ने रामेश्वर मण्डलको कथन स्वतन्त्ररुपको देखिन नआएकोले विश्वसनीय प्रमाणको रुपमा यसलाई ग्रहण गर्न मिल्ने देखिँदैन । देख्ने भनेका साक्षी मध्ये जाहेरवालाका नातेदार निजमा आश्रित निजका निजहरुको हितैषी भन्ने जिकिर पनि लिएको पाइन्छ ।
२४. जाहेरवाला मधुसुदन दुवेले जाहेरीमा नलेखेको कुरा पनि बकपत्रमा खुलाएको छ । बकपत्रमा व्यक्तिको नाम थपिएको छ र, जाहेरीमा लुंगीले बाँधी दलानमा राखेको भन्ने र अदालतमा खाटमा राखेको भन्ने छ । यस प्रकार चश्मदिद भनिएका व्यक्तिहरुको सबैका बकाइमा शब्दको मात्र होइन, सारवान तथ्यमा नै भिन्नता पाइन्छ । प्रतिवादी मध्येका वैद्यनाथ मण्डल र जाहेरवालाका बीच चुनावको कारणबाट वैमनश्य रहेको कुरा देखाइएको छ । गाउँ ठाउँका व्यक्तिहरु गाउँमै डाँका गर्न गएको भन्न ठोस विश्वसनीय प्रमाणको आवश्यकता पर्छ, सो देखिँदैन । डाँका भएको चीज वस्तु बरामद हुनसकेको छैन । अभियुक्तहरु खोजतलास र पक्राउ गर्ने मौकामै प्रयास पनि गरिएको मिसिलबाट देखिँदैन । यस अवस्थामा विश्वसनीय मान्न नसकिने जाहेरवाला र सरजमीनका व्यक्तिहरुको परस्पर बाझिएको भनाइको आधारमा शंकारहित तवरबाट अभियोग प्रमाणित नभएसम्म कसूरदार कायम गर्न मिल्ने देखिँदैन ।
२५. मिति २०३५।११।१६ मा वारदात भएको धेरै समय पछि भएको सरजमीनमा ५ जनाले प्रतिवादीहरुलाई गढाउ गरी र ५ जनाले सफाई दिने गरी लेखाई दिएको देखिँदा सरजमीनको संख्या बराबर हुन आएकोमा अदालतले गढाउ गरी बक्ने सरजमीनलाई झिकाई बयान गराएको तर सफाई दिने सरजमीनका मानिसहरुलाई नझिकाइएको प्रतिवादीका साक्षीहरुले प्रतिवादीको समर्थन हुने गरी बकेको, अदालतमा पूर्ण इन्कारी रही बयान गरेको अवस्था समेत हुँदा ठोस वस्तुगत निश्चयात्मक आधार प्रमाणको अभावमा परस्पर बाझिएको, तथ्यमा नै फरक पर्ने गरी बकेको साक्षीको मौखिक प्रमाणलाई एक मात्र आधारमा कसूरदार ठहर्याउन नमिल्ने हुँदा प्रतिवादी वैद्यनाथ मण्डललाई सजायँ नहुने ठहर्याएको धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालत र सर्वोच्च अदालत संयुक्तइजलासको फैसला नमिली बदर हुन्छ । अन्य प्रतिवादीहरुको सम्बन्धमा अ.बं. २०५ नं. को व्यवस्थालाई हेर्नु पर्ने हुन्छ । अ.बं. २०५ मा “एकै मुद्दामा हार्ने झगडिया मध्ये कसैको पुनरावेदन उजूर परेकोबाट जाँचिदा इन्साफको सजायँ उल्टिने भई सो इन्साफ सजायँ उल्टाई फैसला गर्दा पुनरावेदन उजूर नदिने झगडियाको हकमा समेत इन्साफ सजायँ उल्टीन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजूर परेको छैन भने पनि सदर गरी दिनु हुँदैन । पुनरावेदन नदिनेका हकमा समेत पुनरावेदन उजूर दिने सरह उल्टाई छिनी दिनुपर्छ” भन्ने उल्लेख छ । उक्त व्यवस्थाबाट एकजनाको हकमा उल्टी हुन्छ भने पुनरावेदन नगर्ने वा दोहोर्याई इन्साफ जाँच गर्न नआएका हकमा पनि कानुन र न्यायको सिद्धान्तमा एकरुपता ल्याउन त्यस्ता व्यक्तिहरुको हकमा पनि, इन्साफ वा सजायँ उल्टाउन सकिने उक्त अ.बं. २०५ नं. को व्यवस्था हो । वैजनाथ मण्डललाई जुन प्रमाणको आधारमा अभियोग कायम गरी सजायँ भएको थियो सोही आधार र प्रमाणको आधारमा अन्य प्रतिवादीहरुलाई सजायँ गरेको पाइन्छ । वैजनाथ मण्डलका हकमा ती प्रमाणहरु शंकास्पद र विश्वसनीय नभएपछि अन्य प्रतिवादीहरुको हकमा पनि ती प्रमाणहरु शंकारहित र विश्वसनीय मान्न सकिंदैन । बैजनाथ मण्डललाई कसूरदार कायम गर्न ग्रहण गरिएको प्रमाणको अतिरिक्त अन्य प्रतिवादीहरुका हकमा गढाउ गर्ने अन्य कुनै छुट्टै प्रमाण मिसिलबाट देखिँदैन । जाहेरवाला र सरजमीनका व्यक्तिहरुले मौकामा देखे चिन्हेको भनी अदालतमा आई व्यक्त गरेको बकपत्रलाई नै आधार बनाइएको छ । वैजनाथ मण्डलका हकमा इन्साफ जाँच गर्दा ती भनाई र बकाइको तथ्यमा नै भिन्नता रहेको, दशी बरामद नभएको, मौकामा जाहेरी नपरेको भन्ने समेत आधारमा, बैजनाथ मण्डलले सफाई पाएको हुँदा उस्तै अवस्थामा अन्य प्रतिवादीहरुलाई कसूरदार ठहर्याउनु न्याय र कानुनको दृष्टिमा उचित ठहरिदैन । वैजनाथ मण्डल बाहेकका अन्य प्रतिवादीहरुलाई गढाउ गर्ने अन्य स्वतन्त्र प्रमाणको सर्वथा अभाव देखिएकोले त्यसको विवेचना गर्नु पुनरोक्ति मात्र हुने हुँदा आवश्यक रहेन । अन्य प्रतिवादीहरुको विरुद्ध अभियोग प्रमाणित हुने अन्य स्वतन्त्र प्रमाणको अभावमा जाहेरवालाका सरजमीनको व्यक्तिहरुले तथ्य मै फरक पर्ने गरी अविश्वसनीय शंकास्पद बकाइको आधारमा अभियोग प्रमाणित गर्न नमिल्ने हुँदा अन्य प्रतिवादीहरु विश्वनाथ मण्डल धानुक, असर्फी मण्डल धानुक, मनसिफ मण्डल, गंगाई मण्डल धानुक, किशोरी शाह हलुवाई, सिरिया मण्डल धानुक, रौदिया मण्डल धानुक, समेत जम्मा ८ प्रतिवादीहरुले समेत दावीको अभियोगबाट सफाई पाउने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई सदर गर्ने गरेको सर्वोच्च अदालत संयुक्तइजलासको फैसला बदर भई शुरु धनुषा जिल्ला अदालतले सजायँ नहुने ठहराएको फैसला सदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिमको सबै प्रतिवादीहरुले कसूरबाट सफाई पाउने ठहरेकोले मिति २०३८।१०।१२।२ को क्षे.अ. को फैसला बमोजिम राखिएको लगत राख्न नपर्ने हुँदा कट्टा गर्नु भनी शुरु ध.जि.अ. मा लेखी पठाई दिनु...१, सोही मितिको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले प्रतिवादीहरु वैजनाथ मण्डल समेतबाट जाहेरवालाले भराई लिन पाउने भनी ठहर्याएको बिगो समेत सो बमोजिम गराउन नपर्ने हुँदा उक्त लगत समेत कट्टा गर्नु भनी ध.जि.अ.मा लेखी पठाउनु...१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...१
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.लक्ष्मणप्रसाद अर्याल,
न्या.केदारनाथ उपाध्याय
इति सम्वत् २०४९ साल मंसीर ४ गते रोज ५ शुभम् ।