निर्णय नं. ६१९४ - अंश

निर्णय नं. ६१९४ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
२०५० सालको दे.पु. नं. १७७८
फैसला मितिः- २०५३।२।२८।२
मुद्दा: अंश ।
पुनरावेदक/प्रतिवादीः- इलाम जिल्ला फिक्कल गा.वि.स. वडा नं. ६ बस्ने रत्न बहादुर फागो ।
विरुद्ध
विपक्षी/वादीः- ऐ.ऐ. बस्ने शिव कुमारी फागो ।
विवादको जग्गा प्रतिवादी पुनरावेदकको निजी आर्जनको कमाइको हो भन्ने पक्का प्रमाण आउन सकेको पाइएन । यी वादी प्रतिवादी सगोलमा भएकोमा विवाद देखिन्न । प्रमाण ऐन, २०३१ को दफा (क) मा एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्नु पर्ने भनी लेखिएको पाइन्छ । निजी सम्पत्तिको पक्का प्रमाणको अभावमा एकाघरसंगको लोग्नेको नाउँमा रहेको अचल सम्पत्तिलाई बण्डा हुन पर्ने होइन भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्र.नं. ९)
पुनरावेदक प्रतिवादी तर्फबाटः- ×
विपक्षी तर्फबाटः- ×
अबलम्बित नजीरः- ×
फैसला
न्या. त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत इलामको इन्साफमा चित्त नबुझी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छः-
2. लोग्ने रत्नबहादुरको दुई श्रीमतीमा जेठी फिरादी हुँ । प्रतिवादी कमल कुमारीलाई २०१४ सालमा ल्याई २ छोरा विपक्षी अशोक कुमार र बाल कुमारको जन्म भएकोमा म फिरादीबाट जन्मिएको मिनादेवी फागो हाल म संगै छ । विपक्षी स्वामीले सौता ल्याएपछि फिरादीलाई हेला गरी गाली गलौज गर्दै आई २०१६ सालमा हामी आमा छोरीलाई करिब दुई रोपनी जग्गा कमाई खानु भनी देखाई दिए, छोरीलाई पढाउन र दुईजनाको गुजारा गर्न दुई रोपनी जग्गाले सम्भव नभई कठिन परेको हुँदा अंश र छोरीको विवाह खर्च छुट्याई दिनुहोस् भन्दा अंश दिन इन्कार गरेको हुँदा प्रतिवादीहरुको नाउँमा दर्ता भएको चल अचल सम्पत्तिको फाँटवारी लिई त्यसमध्ये अंशवण्डाको १७ नं. बमोजिम छोरीको विवाह भाग परसारी बाँकीबाट ५ भाग वण्डा लगाई मैले पाउने एक भाग वण्डा दिलाई पाऊँ भन्ने व्यहोराको वादीको फिराद ।
3. म रत्नबहादुर घरको मुख्य भै व्यवहार चलाउँदा लागेको ऋणको भाग र मैले जागिरबाट आर्जन गरे बाहेकको सम्पत्तिको वण्डा लिन मंजूर भै माग गरेको भए म घरसारमा नै वादीलाई वण्डा दिई रजिष्ट्रेशन पास गरी दिने थिएँ । मैले घरको मुख्य भै जेठी कान्छी दुबैलाई समान व्यवहार गरी लालन पालन गरी व्यवहार चलाई आएको छु भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर ।
4. वादीले प्रतिवादीबाट तायदातीमा लेखिएको सम्पत्ति मध्ये छोरी मिना देवीको विवाह खर्च परसारी प्रतिवादी कमला देवीको नाउँको जग्गा बाहेकको अरु सम्पत्ति मध्येबाट ५ भागको १ भाग अंश छुट्टयाई लिन पाउने ठहर्छ भन्ने शुरु इलाम जिल्ला अदालतबाट मिति २०४७।८।१९ मा भएको फैसला ।
5. प्रतिवादी कमल कुमारी अंश नभएको अंशियार हुन भने अंशियार मध्ये कै नाउँमा दर्ता भएको जग्गा वण्डा नलाग्ने भन्न मिल्दैन । सो जग्गा निज कमल कुमारीले माइती मावलीबाट दाइजो पेवा पाएको प्रमाण पेश गर्न सकेको नहुँदा शुरुले दर्ताकै नाताको आधारमा वण्डा नलाग्ने भन्ने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा शुरुको इन्साफमा कमल कुमारी दर्ताको जग्गा वण्डा नहुने ठहराएको इन्साफ उल्टाई सो जग्गा समेत वण्डा लाग्ने ठहर गरी पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन ।
6. म पुनरावेदक रत्न बहादुरले जागीर खाई जागिरको पैसाबाट खरीद गरेको कि.नं. ७, १५५, ९९, २२४, ५२, ९६ र ९८ समेतका जग्गाहरु मेरा निजी आर्जन हुन भन्ने सिद्ध हुन आएकोमा सो अंशवण्डा नलाग्ने ठहराई शुरुको फैसला उल्टाई सो जग्गाहरु वादीले वण्डा नपाउने इन्साफ गरी पाऊँ भन्ने समेत प्रतिवादी रत्न बहादुरको पुनरावेदन पत्र ।
7. वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ । २ कित्ता जग्गाबाट अंश नपाउने ठहराएको शुरुको इन्साफ त्रुटिपूर्ण हुँदा केही उल्टी हुन्छ । रत्न बहादुर घरका मूल अंशियार देखिएबाट यी वादी निजकी जेठी पत्नी नाताकी भै सम्पत्ति आर्जन गर्न निजको सहयोग एवं सहभागिता रहेको छैन भन्न सकिने अवस्था नभएबाट कि.नं. ७, १५५, ९९, २२४, ५२ को जग्गाहरु सगोलको सम्पत्ति भै अंश पाउने नै देखिँदा अंश भाग लाग्ने ठहर गरेको शुरुको इन्साफ मिलेकै देखिँदा प्रतिवादी रत्न बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, इलामको फैसला ।
8. सो फैसलामा स्त्री अंश धनको ५ नं. प्रमाण ऐन, २०३१ को दफा ६(क) समेतको प्रत्यक्ष त्रुटी भएकोले सो उल्टाई इन्साफ पाऊँ भन्ने यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।
9. नियम बमोजिम दैनिक पेशी सुचिमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी रत्न बहादुर घरको मुख्य र वादीको पति हुँदा निजले आर्जन गरेको विवादको कि.नं. ७, १५५, ९९, २२४ र ५२ का जग्गाहरु मेरो निजी आर्जनको हो, त्यस्तो कित्ता जग्गाहरुलाई वादी दावी बमोजिम अंक पाउने ठहराई वादीलाई अंश दिलाएको मिलेन भन्ने प्रतिवादीको मुख्य पुनरावेदन जिकिर भएको पाइन्छ । उक्त विवादको जग्गा प्रतिवादी पुनरावेदकको निजी आर्जनको कमाइको हो भन्ने पक्का प्रमाण आउन सकेको पाइन्न । यी वादी प्रतिवादी सगोलमा भएकोमा विवाद देखिन्न । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्नु पर्ने भनी लेखिएको पाइन्छ । निजी सम्पत्तिको पक्का प्रमाणको अभावमा एकाघरसंगको लोग्नेको नाउँमा रहेको अचल सम्पत्तिलाई वण्डा हुन पर्ने होइन भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अंश भाग लाग्ने ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला मुनासिव ठहर्छ । कोर्ट फी रही पुनरावेदन दायर भएको देखिँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्बत् २०५३ साल जेष्ठ २८ गते रोज २ शुभम् ।